७
परमेश्वरको उद्देश्य चाँडै पूरा हुने
१, २. परमेश्वरले दुष्टता र दुःख निवारण गर्न कदम चाल्नुहुनेछ भनेर हामी किन निश्चिन्त हुन सक्छौं?
१ मानिसको दृष्टिकोणमा परमेश्वरले दीर्घकालीन असिद्धता र दुःख रहिरहन दिनुभएको भए तापनि उहाँले सधैंभरि नराम्रो परिस्थिति रहन दिनुहुनेछैन। परमेश्वरले एउटा निश्चित समयसम्म मात्र यी कुरा हुन दिनुहुनेछ भनेर बाइबलले हामीलाई बताउँछ।
२ “सबै कुराको लागि समय छ।” (उपदेशक ३:१) अतः दुष्टता र दुःखलाई अनुमति दिनुभएको निश्चित समय सकिएपछि उहाँले मानव क्रियाकलापमा हस्तक्षेप गर्नुहुनेछ। उहाँले दुष्टता र दुःखको अन्त गर्नुहुनेछ। त्यसपछि प्रमोदवनको सुन्दर परिस्थितिमा पूर्ण शान्ति तथा आर्थिक सुरक्षाबीच मानव परिवारले यस पृथ्वीलाई भर्ने आफ्नो मूल उद्देश्यलाई उहाँले पूरा गर्नुहुनेछ।
परमेश्वरको न्यायदण्ड
३, ४. परमेश्वरको हस्तक्षेपका नतिजाहरूलाई हितोपदेशको पुस्तकले कसरी वर्णन गर्छ?
३ परमेश्वरको हस्तक्षेप वा अर्को अर्थमा भन्ने हो भने उहाँको न्यायदण्डको परिणामले चाँडै नै मानव परिवारको लागि के अर्थ राख्नेछ भनेर बाइबलका केही भविष्यवाणीहरूले के बताउँछन्, ध्यान दिनुहोस्:
४ “सोझाहरू पृथ्वीमा बास गर्नेछन्। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्।”—हितोपदेश २:२१, २२.
५, ६. परमेश्वरले हस्तक्षेप गर्नुहुँदा के हुनेछ भनेर भजन ३७ ले कसरी देखाउँछ?
५ “कुकर्मीहरू नष्ट हुनेछन्। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्। किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:९-११.
६ “परमप्रभुको बाटो हेर्, उहाँकै मार्गमा हिंड्, र उहाँले तँलाई देश अधिकार गर्न बढ़ाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्। सिद्ध मानिसलाई दृष्टि लगा, र धर्मात्माहरूलाई हेर्, किनभने त्यस्ता मानिसको आखिरको अवस्था शान्तिमय हुन्छ। अपराधीहरू चाहिं सबै सँगसँगै नाश हुनेछन्, दुष्टको आखिर अवस्था सर्वनाशको हुनेछ।”—भजन ३७:३४, ३७, ३८.
७. परमेश्वरको वचनले हामीलाई कस्तो राम्रो सल्लाह दिन्छ?
७ मानवमाथि सर्वशक्तिमान सृष्टिकर्त्ताको शासन गर्ने अधिकारलाई स्वीकार्नेहरूका लागि यस्तो सुन्दर भविष्यले पर्खिरहेको हुँदा हामीलाई यो आग्रह गरिएको छ: “मेरो आज्ञालाई तेरो हृदयमा जोगाइराख्। किनभने त्यसले तँलाई दीर्घायु र धेरै वर्ष र तँलाई उन्नति पनि दिन्छन्।” वास्तवमा भन्ने हो भने परमेश्वरको इच्छा अनुरुप चल्न रोज्नेहरूले अनन्त जीवन पाउनेछन्! त्यसैकारण परमेश्वरको वचनले हामीलाई यो सल्लाह दिन्छ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:१, २, ५, ६.
स्वर्गबाट परमेश्वरको शासन
८, ९. कुन माध्यमद्वारा परमेश्वरले यस पृथ्वीको सफाइ गर्नुहुनेछ?
८ मानवजातिले पाउनसक्ने सर्वोत्तम सरकारद्वारा परमेश्वरले पृथ्वीको सफाइ कार्य सम्पन्न गर्नुहुनेछ। यो सरकार स्वर्गीय बुद्धि प्रतिबिम्बित गर्ने सरकार हो। किनभने स्वर्गबाट परमेश्वरको निरीक्षणमा यसले शासन गर्छ। अनि यस सरकारले पृथ्वीबाट सबै प्रकारका मानव सरकारहरूलाई हटाउनेछ। परमेश्वरबाट अलग भई स्वायत्त शासन चलाउने विकल्प मानिसहरूले फेरि कहिल्यै पाउनेछैनन्।
९ यस प्रसंगमा दानियल २:४४ को भविष्यवाणीले यसो भन्छ: “ती राजाहरूका [वर्तमान सरकारहरू] समयमा स्वर्गका परमेश्वरले [स्वर्गमा] एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ [परमेश्वरबाट अलग भई स्वायत्त शासन चलाउने मौका मानिसहरूलाई फेरि कहिल्यै दिइनेछैन]। त्यसले [अहिले अस्तित्वमा भएका] यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ।”—प्रकाश १९:११-२१; २०:४-६ पनि हेर्नुहोस्।
१०. परमेश्वरको स्वर्गीय शासनको अधीनमा फेरि कहिल्यै भ्रष्ट शासन देखा पर्नेछैन भनेर हामी किन निश्चिन्त हुन सक्छौं?
१० अतः मानिसहरूले भ्रष्ट सरकार कहिल्यै देख्न पाउनेछैनन्, किनकि परमेश्वरले यस रीतिरिवाजको अन्त गर्नु भइसकेपछि मानव स्वायत्त शासनको अस्तित्व हुनेछैन। स्वर्गबाट चल्ने यो राज्य भ्रष्ट हुनेछैन। किनभने स्वयं परमेश्वर त्यसको रचनाकार र रक्षक हुनुहुन्छ। बरु आफ्ना प्रजाहरूको सर्वहितका लागि त्यो सरकार चल्नेछ। त्यसपछि स्वर्गमा जस्तै सारा पृथ्वीभरि परमेश्वरको उद्देश्य पूरा हुनेछ। यी कारणहरूले गर्दा नै येशूले आफ्ना चेलाहरूलाई यसो भनेर परमेश्वरलाई प्रार्थना गर्न सिकाउन सक्नुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:१०.
हामी कति नजिक छौं?
११. हामी यस संसारको अन्तको कति नजिक छौं भनेर निश्चित गर्न मदत गर्ने भविष्यवाणीहरू बाइबलको कुन ठाउँमा पाउँछौं?
११ यस असन्तोषजनक रीतिरिवाजको अन्त र परमेश्वरको नयाँ संसारको थालनीको हामी कति नजिक छौं त? बाइबलले हामीलाई यसको स्पष्ट उत्तर दिन्छ। उदाहरणको लागि, बाइबल भविष्यवाणीले बताएअनुसार “जगतको अन्त” आउँदा हामी के कस्तो अवस्थामा हुनुपर्छ भनेर भेउ पाउन हामीले दृष्टिगत गर्नुपर्ने कुराहरूको विषयमा येशू आफैले अगमवाणी गर्नुभयो। ती कुराहरू मत्ती अध्यायहरू २४ र २५, मर्कूस १३ अनि लूका २१ मा पाउँछौं। त्यस्तै गरी २ तिमोथी अध्याय ३ को रेकर्डअनुसार प्रेरित पावलले “आखिरी दिन” भनिने अवधि आउनेछ भनी अगमवाणी गरे। यस अवधिमा हुने घटनाहरूले समयको गतिमा हामी कहाँनेर छौं भनेर अझ पुष्टि गर्ने थियो।
१२, १३. अन्तको समयबारे येशूले के बताउनुभयो र पावलले के उल्लेख गरे?
१२ यो समयावधि निम्न घटनाहरूद्वारा प्रारम्भ हुनेछ भनेर येशूले भन्नुभयो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ।” (मत्ती २४:७) “औ विभिन्न ठाउँहरूमा रूढ़ी” हुनेछन् भनेर पनि येशूले बताउनुभयो भनी लूका २१:११ ले भन्छ। अनि “अधर्म” बढ्ने चेतावनी पनि उहाँले दिनुभयो।—मत्ती २४:१२.
१३ प्रेरित पावलले यसो भनेर अगमवाणी गरे: “तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। . . . खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।”—२ तिमोथी ३:१-५, १३.
१४, १५. हामी साँच्चै नै आखिरी दिनमा छौं भनेर यस २० औं शताब्दीका घटनाहरूले कसरी पुष्टि गर्छन्?
१४ येशू र पावलको अगमवाणीका ती घटनाहरू के हाम्रो समयमा घटेका छन्? निश्चय नै घटेका छन्। प्रथम विश्वयुद्ध तत्कालीन समयसम्मको सबैभन्दा भयानक युद्ध थियो। त्यो युद्ध पहिलो चोटि लडिएको विश्वव्यापी युद्ध थियो र त्यसै समयदेखि आधुनिक इतिहासले एउटा नयाँ मोड लियो। त्यस युद्धसँगसँगै अनिकाल, रूढी अनि अरू विपत्तिहरू आए। सन् १९१४ देखि यता भएका यी घटनाहरू येशूको शब्दमा भन्ने हो भने “कष्टका सुरु” थिए। (मत्ती २४:८) यी नै घटनाहरूद्वारा “आखिरी दिन” भनी अगमवाणी गरिएको समयावधि अर्थात् त्यस अन्तिम पुस्ताको समयावधि प्रारम्भ भयो जुन पुस्तापछि परमेश्वरले दुष्टता र दुःखको अनुमति दिनुहुनेछैन।
१५ सम्भवतः तपाईं यस २० औं शताब्दीका घटनाहरूसित परिचित हुनुहुन्छ होला। हाम्रो सामु खडा भएको भद्रगोलको स्थितिसँग तपाईं अनभिज्ञ हुनुहुन्न। युद्धमा मात्र लगभग १० करोड मानिसहरू मारिएका छन्। भोक र रोगले गर्दा अरू करोडौं मृत्युको सिकार भएका छन् भने भैंचालोहरूले अनगिन्ती मानिसहरूको ज्यान लिएको छ। जीवन र सम्पत्तिप्रतिको अवहेलना बढ्दैछ। अपराधको डर दैनिक जीवनको भाग बनिसकेको छ। जनसंख्या विष्फोटले अर्को समस्या खडा गरेको छ, जसलाई समाधान गर्न सकिएको छैन। प्रदूषणले जीवनस्तरलाई बिगारेको मात्र होइन खतरामा समेत पारेको छ। साँच्चै नै १९१४ देखि हामी आखिरी दिनमा छौं र हाम्रो समयलाई लिएर बाइबलमा उल्लिखित भविष्यवाणीहरूको पराकाष्ठा नजिक पुगेका छौं।
१६. आखिरी दिन कति लामो छ?
१६ यो आखिरी दिनको समयावधि कति समयसम्म चल्नेछ? सन् १९१४ देखि “कष्टको सुरु” भोग्ने युगको सम्बन्धमा येशूले यसो भन्नुभयो: “यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।” (मत्ती २४:८, ३४-३६) तसर्थ, आखिरी दिनका सबै लक्षणहरू एउटा सीमित समयावधिभित्र पूरा हुनैपर्छ। शैतानलाई पृथ्वीतलमा फ्याँकिएपछि त्यसको अल्प समय मात्र बाँकी रहनेछ भनी प्रकाश १२:१२ ले बताउँछ।
१७, १८. हामी यस संसारको अन्तको नजिकै छौं भनेर कुन भविष्यवाणीले देखाउँछ?
१७ यस रीतिरिवाजको अन्त अब नजिकै छ भनेर देखाउने अर्को भविष्यवाणीको उल्लेख प्रेरित पावलले गरे, तिनले यसो भने: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन, तब . . . तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।”—१ थिस्सलोनिकी ५:२, ३; लूका २१:३४, ३५ पनि हेर्नुहोस्।
१८ अहिले शीत युद्धको अन्त भइसकेको हुँदा अन्तरराष्ट्रिय युद्ध ठूलो डरको कारण नहोला। राष्ट्रहरू आफू एउटा नयाँ विश्व व्यवस्था नजिकै पुगेको महसुस गर्लान्। तर सफलता महसुस गरेकै बेला त्यसको नतिजा तिनीहरूले सोचेभन्दा ठीक विपरीत हुनेछ। किनभने परमेश्वरले यस रीतिरिवाजको नाश गर्नै लाग्नुभएको छ भनेर त्यसले आखिरी संकेत दिनेछ। स्मरण रहोस्, राजनैतिक सम्झौताहरू र सन्धिहरूले मानिसहरूमा कुनै वास्तविक परिवर्तन गरेको छैन। त्यस्ता कुराहरूले मानिसहरूलाई आपसमा प्रेम गर्न लगाएको छैन। अनि संसारका नेताहरूले न अपराधलाई रोक्न सकेका छन् नता रोग र मृत्युलाई नै हटाउन सकेका छन्। त्यसकारण शान्ति र सुरक्षा वृद्धि भयो भन्दैमा भरोसा गरिनहाल्नुहोस्। संसारले आफ्नो समस्या सुल्झाउँदैछ भनी नसोच्नुहोस्। (भजन १४६:३) वास्तवमा शान्ति र सुरक्षाको त्यस्तो नाराको अर्थ नै यो संसार अन्त हुनै लागेको संकेत हो।
सुसमाचारको प्रचार
१९, २०. आखिरी दिनमा हुने प्रचार कार्यसित सम्बन्धित कुन भविष्यवाणीको पूर्ति हामी देख्दैछौं?
१९ सन् १९१४ देखि हामी आखिरी दिनमा छौं भनेर संकेत गर्ने अर्को भविष्यवाणी, येशू यसरी बताउनुहुन्छ: “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।” (मर्कूस १३:१०) वा मत्ती २४:१४ का शब्दहरूमा भन्ने हो भने: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”
२० आज विश्वको चारै कुनामा यस संसारको अन्त अनि परमेश्वरको राज्यले ल्याउँदै गरेको प्रमोदवनरूपी नयाँ संसारको सुसमाचार प्रचार अपूर्व ढङ्गमा गरिंदैछ। तर कसद्वारा? यहोवाका लाखौं साक्षीहरूद्वारा। तिनीहरूले पृथ्वीको हरेक देशमा प्रचार गरिरहेका छन्।
२१, २२. यहोवाका साक्षीहरू साँचो मसीहीहरू हुन् भनी चिनाउने विशेष गुण के हो?
२१ परमेश्वरको राज्यको प्रचार गर्नुको अलावा यहोवाका साक्षीहरूले तिनीहरू ख्रीष्टका साँचो अनुयायीहरू हुन् भनी चिनाउने काम पनि गरिरहेका छन्। किनभने येशू आफैले यसो भन्नुभएको थियो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” अतः प्रेमको अटुट बन्धनद्वारा यहोवाका साक्षीहरू एउटा विश्वव्यापी भ्रातृत्वमा बाँधिएका छन्।—यूहन्ना १३:३५; यशैया २:२-४ पनि हेर्नुहोस्; कलस्सी ३:१४; यूहन्ना १५:१२-१४; १ यूहन्ना ३:१०-१२; ४:२०, २१; प्रकाश ७:९, १०.
२२ यहोवाका साक्षीहरू बाइबलमा भनिएको यस कुरामाथि विश्वास गर्छन्: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) जुनसुकै जाति वा रंगका किन नहोऊन्, तिनीहरू सबै देशका सँगी साक्षीहरूलाई आफ्नो आध्यात्मिक भाइ-बहिनी ठान्छन्। (मत्ती २३:८) अनि आज संसारमा त्यस्तो विश्वव्यापी भ्रातृत्व हुनु नै परमेश्वरको उद्देश्य चाँडै पूरा हुनेछ भन्ने थप प्रमाण हो।
[पृष्ठ २६-मा भएको चित्र]
नयाँ संसारमा मानिसहरूको एक मात्र सरकार परमेश्वरको सिद्ध स्वर्गीय राज्य हुनेछ