अध्याय अठार
के मैले आफ्नो जीवन परमेश्वरलाई समर्पण गरेर बप्तिस्मा गर्नुपर्छ?
१. यो किताब राम्ररी अध्ययन गरेपछि तपाईँलाई कस्तो लाग्न सक्छ?
यो किताब अध्ययन गरेर तपाईँले बाइबलमा पाइने थुप्रै सत्य कुरा सिकिसक्नुभयो। जस्तै: परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त जीवन, मरेकाहरूको अवस्था र फेरि जीवित हुने आशाबारे। (उपदेशक ९:५; लुका २३:४३; युहन्ना ५:२८, २९; प्रकाश २१:३, ४) तपाईँ यहोवाका साक्षीहरूको सभाहरूमा जान थालिसक्नुभयो होला र तिनीहरू साँचो उपासना गर्छन् भन्ने कुरामा पक्का हुनुहुन्छ होला। (युहन्ना १३:३५) तपाईँ यहोवा परमेश्वरसित घनिष्ठ मित्रता गाँस्दै हुनुहुन्छ होला र उहाँको सेवा गर्ने निर्णय पनि गरिसक्नुभयो होला। त्यसैले तपाईँलाई लाग्ला, ‘परमेश्वरको सेवा गर्न अब मैले के गर्नुपर्छ?’
२. एक इथियोपियाली पुरुषले किन बप्तिस्मा गर्न चाहे?
२ येसुको समयका एक इथियोपियाली पुरुषलाई पनि त्यस्तै लागेको थियो। येसु जीवित हुनुभएको केही समयपछि येसुका चेला फिलिपले ती पुरुषलाई प्रचार गरे। फिलिपले तिनलाई येसु नै मसीह हुनुहुन्छ भनेर बुझाइदिए। आफूले सिकेको कुराबाट अत्यन्तै प्रभावित भएर ती इथियोपियाली पुरुषले तुरुन्तै यसो भने: “हेर्नुहोस्, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ र?”—प्रेषित ८:२६-३६.
३. (क) येसुले आफ्ना चेलाहरूलाई कस्तो आज्ञा दिनुभयो? (ख) बप्तिस्मा कसरी गर्नुपर्छ?
३ तपाईँ यहोवा परमेश्वरको सेवा गर्न चाहनुहुन्छ भने तपाईँले बप्तिस्मा गर्नुपर्छ भनेर बाइबलमा स्पष्टसित बताइएको छ। येसुले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; . . . बप्तिस्मा गराओ।” (मत्ति २८:१९) बप्तिस्मा गरेर येसु आफैले उदाहरण बसाल्नुभयो। येसुको बप्तिस्मा टाउकोमा पानी छर्केर गरिएको थिएन। उहाँलाई पानीमा पूरै डुबाइएको थियो। (मत्ति ३:१६) आज पनि कुनै व्यक्तिले बप्तिस्मा गर्दा उसलाई पानीमा चुर्लुम्मै डुबाउनुपर्छ।
४. तपाईँको बप्तिस्माबाट अरूले के थाह पाउँछन्?
४ तपाईँले बप्तिस्मा गर्नुहुँदा अरूले तपाईँ साँच्चै परमेश्वरको मित्र हुन र उहाँको सेवा गर्न चाहनुहुन्छ भनेर थाह पाउँछन्। (भजन ४०:७, ८) तर तपाईँलाई लाग्ला, ‘बप्तिस्मा गर्न मैले के गर्नुपर्छ?’
ज्ञान र विश्वास
५. (क) बप्तिस्मा गर्नुअघि तपाईँले के गर्नुपर्छ? (ख) ख्रिष्टियन सभाहरू किन महत्त्वपूर्ण छन्?
५ बप्तिस्मा गर्नुअघि तपाईँले यहोवा परमेश्वर र येसु ख्रिष्टलाई चिन्नुपर्छ। तपाईँले बाइबल अध्ययन गरेर उहाँहरूलाई चिन्न सुरु गरिसक्नुभयो। (युहन्ना १७:३ पढ्नुहोस्) तर त्यति गरेर पुग्दैन। तपाईँ यहोवा परमेश्वरको इच्छाबारे “सही ज्ञानले भरिपूर्ण” हुनुपर्छ भनेर बाइबल बताउँछ। (कलस्सी १:९) यहोवाका साक्षीहरूको सभाले तपाईँलाई यहोवा परमेश्वरसित अझ घनिष्ठ हुन मदत गर्छ। तपाईँ नियमित रूपमा यी सभाहरूमा उपस्थित हुनुपर्ने एउटा महत्त्वपूर्ण कारण यही हो।—हिब्रू १०:२४, २५.
बप्तिस्मा गर्नुअघि तपाईँले बाइबल अध्ययन गर्नुपर्छ
६. बप्तिस्मा गर्नुअघि तपाईँले बाइबलको कति कुरा थाह पाएको हुनुपर्छ?
६ बप्तिस्मा गर्नुअघि तपाईँले बाइबलको सबै कुरा थाह पाएको हुनुपर्छ भन्ने आशा यहोवा परमेश्वर गर्नुहुन्न। इथियोपियाली पुरुषको सन्दर्भमा पनि उहाँले त्यस्तो आशा गर्नुभएन। (प्रेषित ८:३०, ३१) परमेश्वरबारे सिक्ने काम कहिल्यै सिद्धिँदैन। (उपदेशक ३:११) तर बप्तिस्मा गर्नको लागि तपाईँले कम से कम बाइबलको आधारभूत शिक्षा सिकेको र स्विकारेको हुनुपर्छ।—हिब्रू ५:१२.
७. बाइबल अध्ययन गरेकोले तपाईँले के गर्न सक्नुभएको छ?
७ बाइबल भन्छ: “विनाविश्वास परमेश्वरलाई खुसी पार्न असम्भव छ।” (हिब्रू ११:६) त्यसैले बप्तिस्मा गर्नुअघि तपाईँसित विश्वास हुनुपर्छ। प्राचीन कोरिन्थ सहरका केही मानिसले येसुका चेलाहरूले सिकाइरहेको कुरा सुनेपछि प्रभुमा “विश्वास गर्न थाले अनि बप्तिस्मा गरे” भनी बाइबल बताउँछ। (प्रेषित १८:८) त्यसैगरि बाइबल अध्ययन गरेकोले तपाईँले परमेश्वरका प्रतिज्ञाहरूमा अनि येसु ख्रिष्टको बलिदानले हामीलाई पाप र मृत्युबाट मुक्त गर्छ भन्ने कुरामा विश्वास गर्न सक्नुभएको छ।—यहोसु २३:१४; प्रेषित ४:१२; २ तिमोथि ३:१६, १७.
बाइबलबाट सिकेको सत्य कुरा अरूलाई बताउनुहोस्
८. आफूले सिकेको कुरा अरूलाई सुनाउन तपाईँलाई केले उत्प्रेरित गर्नेछ?
८ बाइबलबाट अझ धेरै कुरा सिक्दै जाँदा र यसले तपाईँलाई फाइदा पुऱ्याएको महसुस गर्दा तपाईँको विश्वास अझ बलियो हुन्छ। तपाईँलाई आफूले सिकिरहेको कुरा अरूलाई सुनाउन मन लाग्छ। (यर्मिया २०:९; २ कोरिन्थी ४:१३) तर तपाईँले क-कसलाई सुनाउनुपर्छ?
विश्वासले तपाईँलाई आफूले सिकिरहेको कुरा अरूलाई बताउन उत्प्रेरित गर्नुपर्छ
९, १०. (क) तपाईँ आफूले सिकेको कुरा क-कसलाई बताउन सुरु गर्न सक्नुहुन्छ? (ख) मण्डलीसित मिलेर प्रचार गर्न चाहनुहुन्छ भने तपाईँले के गर्नुपर्छ?
९ तपाईँ आफ्नो परिवारका सदस्यहरू, साथीभाइ, छरछिमेक वा सहकर्मीहरूलाई आफूले सिकिरहेको कुरा सुनाउन चाहनुहुन्छ होला। त्यो एकदमै राम्रो कुरा हो तर अरूलाई सुनाउँदा दयालु तरिकामा सुनाउनुहोस्। अनि समय बित्दै जाँदा तपाईँ मण्डलीसित मिलेर प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ। आफू तयार छु जस्तो लागेमा तपाईँलाई बाइबलको कुरा सिकाइरहेको साक्षीलाई ‘म पनि मण्डलीसित मिलेर प्रचारकार्यमा भाग लिन चाहन्छु’ भन्नुहोस्। यदि तिनलाई तपाईँ तयार हुनुहुन्छ र तपाईँले बाइबल स्तरअनुरूप जीवन बिताउँदै हुनुहुन्छ भन्ने लागेमा मण्डलीका दुई जना एल्डरले तपाईँको बाइबल अध्ययन सञ्चालकसँगै तपाईँलाई भेट्नेछन्।
१० त्यस भेटमा के हुन्छ? तपाईँले बाइबलका आधारभूत शिक्षाहरू बुझ्नुभएको छ कि छैन र तपाईँ ती कुराहरूमा विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न भनेर ती एल्डरहरूले पक्का गर्नेछन्। साथै बाइबलका कुराहरू तपाईँ आफ्नो दैनिक जीवनमा लागू गर्दै हुनुहुन्छ कि हुनुहुन्न अनि तपाईँ साँच्चै यहोवाको साक्षी हुन चाहनुभएको हो कि होइन भनेर पनि पक्का गर्नेछन्। एल्डरहरू तपाईँलगायत मण्डलीका सबै सदस्यको हेरविचार गर्छन्। त्यसैले उनीहरूसित कुरा गर्न नडराउनुहोस्। (प्रेषित २०:२८; १ पत्रुस ५:२, ३) तपाईँ मण्डलीसित मिलेर प्रचार गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर यो भेटपछि एल्डरहरूले तपाईँलाई बताउनेछन्।
११. मण्डलीसित मिलेर प्रचार गर्नुअघि तपाईँले किन परिवर्तनहरू गर्नुपर्छ?
११ मण्डलीसित मिलेर प्रचार गर्नुअघि तपाईँले अझै केही परिवर्तन गर्नुपर्छ भनेर पनि एल्डरहरूले तपाईँलाई बताउन सक्छन्। यी परिवर्तनहरू गर्नु किन आवश्यक छ? किनकि अरूसित परमेश्वरबारे कुरा गर्दा हामीले यहोवा परमेश्वरको तर्फबाट बोलिरहेका हुन्छौँ। त्यसैले हामीले उहाँको आदर हुने तरिकामा जीवन बिताएको हुनुपर्छ।—१ कोरिन्थी ६:९, १०; गलाती ५:१९-२१.
पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्
१२. किन सबै मानिसले पश्चात्ताप गर्नुपर्छ?
१२ बप्तिस्मा गर्नुअघि तपाईँले अर्को कदम पनि चालेको हुनुपर्छ। प्रेषित पत्रुसले भने: “त्यसैले पश्चात्ताप गर्नुहोस् अनि फर्केर परमेश्वरकहाँ आउनुहोस् ताकि तपाईँहरूको पाप मेटियोस्।” (प्रेषित ३:१९) पश्चात्ताप गर्नुको अर्थ के हो? यसको अर्थ आफूले गरेको गलत कामको निम्ति मनैदेखि दुःख मान्नु हो। जस्तै, तपाईँले छाडा जीवन बिताउनुभएको थियो भने पश्चात्ताप गर्नुपर्छ। तपाईँले जीवनभर असल काम गर्न प्रयास गर्नुभएको थियो भने पनि पश्चात्ताप गर्नुपर्छ। किन? किनकि हामी सबै जना पापी छौँ, त्यसैले क्षमाको लागि परमेश्वरसित बिन्ती गर्नुपर्छ।—रोमी ३:२३; ५:१२.
१३. ‘फर्कनुको’ अर्थ के हो?
१३ आफूले गरेको गल्तीको लागि दुःख महसुस गरेर मात्र पुग्छ? पुग्दैन। पत्रुसले ‘फर्कनुपर्छ’ भनेर पनि बताए। यसको मतलब आफूमा भएको खराब आनीबानीलाई त्याग्नुपर्छ र जे सही छ, त्यही गर्न सुरु गर्नुपर्छ। यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौँ। कल्पना गर्नुहोस्, तपाईँ कुनै ठाउँमा पहिलो पटक आफ्नो सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ। केही समयपछि तपाईँले आफू गलत दिशातिर गइरहेको कुरा थाह पाउनुभयो। तपाईँ के गर्नुहुन्छ? पक्कै पनि तपाईँ आफ्नो सवारी साधनको गति घटाउनुहुन्छ, रोकिनुहुन्छ, फर्कनुहुन्छ अनि जानुपर्ने दिशातिर जानुहुन्छ। त्यसैगरि बाइबल अध्ययन गर्दै जाँदा तपाईँले आफ्नो आनीबानी वा अन्य केही परिवर्तन गर्नुपर्ने कुरा थाह पाउन सक्नुहुन्छ। त्यस्तो अवस्थामा ‘फर्कन’ अर्थात् आवश्यक परिवर्तन गरेर सही कुरा गर्न तयार हुनुहोस्।
आफ्नो जीवन परमेश्वरलाई समर्पण गर्नुहोस्
के तपाईँले यहोवा परमेश्वरलाई उहाँको सेवा गर्छु भनेर प्रतिज्ञा गरिसक्नुभयो?
१४. तपाईँ कसरी आफ्नो जीवन परमेश्वरलाई समर्पण गर्नुहुन्छ?
१४ बप्तिस्मा गर्नुअघि चाल्नुपर्ने अर्को महत्त्वपूर्ण कदम भनेको तपाईँले आफ्नो जीवन यहोवा परमेश्वरलाई समर्पण गर्नुपर्छ। यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्दा तपाईँले एउटा प्रार्थना गर्नुहुन्छ, जुन प्रार्थनामा तपाईँले उहाँको मात्र उपासना गर्ने र उहाँको इच्छा पूरा गर्नुलाई जीवनमा पहिलो स्थान दिने प्रतिज्ञा गर्नुहुन्छ।—व्यवस्था ६:१५.
१५, १६. परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्न कुनै व्यक्तिलाई केले उत्प्रेरित गर्छ?
१५ यहोवा परमेश्वरको मात्र सेवा गर्ने प्रतिज्ञा गर्नु भनेको आफूले माया गर्ने व्यक्तिसित जिन्दगी बिताउने प्रतिज्ञा गर्नुजस्तै हो। एउटा उदाहरण विचार गर्नुहोस्। एक जना केटो आफूले मन पराएको केटीसित चिनजान बढाउँदै छ। केटीलाई अझ राम्ररी चिन्दै गएपछि ऊप्रतिको माया बढ्दै जान्छ र ऊसित विवाह गर्न चाहन्छ। हुन त यो ठूलो निर्णय हो तैपनि केटीप्रतिको प्रेमले गर्दा ऊ यो जिम्मेवारी स्विकार्न इच्छुक हुन्छ।
१६ त्यसैगरि यहोवा परमेश्वरबारे सिक्दै जाँदा उहाँप्रतिको तपाईँको प्रेम बढ्दै जान्छ र तपाईँ उहाँको सेवामा सक्दो गर्न चाहनुहुन्छ। त्यसपछि तपाईँ प्रार्थना गरेर उहाँको मात्र सेवा गर्ने प्रतिज्ञा गर्न उत्प्रेरित हुनुहुन्छ। येसुको पछि लाग्न चाहनेहरू सबैले ‘आफूलाई इन्कार गर्नुपर्छ’ भनी बाइबल बताउँछ। (मर्कुस ८:३४) यसको अर्थ के हो? यसको अर्थ यहोवा परमेश्वरप्रति आज्ञाकारी हुनु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हुनुपर्छ। आफ्नो चाहना र लक्ष्यलाई भन्दा यहोवा परमेश्वरको इच्छा पूरा गर्नुलाई महत्त्वपूर्ण ठान्नुपर्छ।—१ पत्रुस ४:२ पढ्नुहोस्।
असफल भइएला भनेर नडराउनुहोस्
१७. कसै-कसैले यहोवा परमेश्वरलाई किन आफ्नो जीवन समर्पण गर्दैनन्?
१७ यहोवा परमेश्वरको सेवा गर्ने प्रतिज्ञाअनुरूप जीवन बिताउन नसकिएला भन्ने डरले कसै-कसैले उहाँलाई आफ्नो जीवन समर्पण गर्दैनन्। तिनीहरू यहोवा परमेश्वरलाई दुःखित बनाउन चाहँदैनन् अथवा उहाँलाई आफ्नो जीवन समर्पण गरेको छैन भने आफ्नो कामको लेखा दिनु पर्दैन जस्तो तिनीहरूलाई लाग्न सक्छ।
१८. यहोवा परमेश्वरलाई दुःखित बनाउने हो कि भन्ने डर हटाउन तपाईँलाई केले मदत गर्छ?
१८ यहोवा परमेश्वरप्रतिको प्रेमले उहाँलाई दुःखित बनाउने हो कि भन्ने डर हटाउन मदत गर्छ। तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ, त्यसैले उहाँसित गरेको प्रतिज्ञा पूरा गर्न सक्दो गर्नुहुन्छ। (उपदेशक ५:४; कलस्सी १:१०) यहोवा परमेश्वरको इच्छाअनुसार गर्न असाध्यै गाह्रो छ भनेर तपाईँ सोच्नुहुन्न। प्रेषित युहन्नाले पनि यस्तो लेखे: “परमेश्वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्।”—१ युहन्ना ५:३.
१९. यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्न तपाईँ किन डराउनु पर्दैन?
१९ यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्न तपाईँ त्रुटिरहित हुनु पर्दैन। उहाँ कहिल्यै पनि हामीले गर्न सक्नेभन्दा धेरै माग गर्नुहुन्न। (भजन १०३:१४) उहाँले तपाईँलाई जे सही छ, त्यो गर्न मदत दिनुहुन्छ। (यसैया ४१:१०) सारा हृदयले यहोवा परमेश्वरमा भरोसा राख्नुहोस् अनि ‘उहाँले तपाईँलाई सही बाटो देखाउनुहुनेछ।’—हितोपदेश ३:५, ६.
उद्धार पाउन जनसमक्ष घोषणा गर्नुपर्छ
२०. यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेपछि चाल्नुपर्ने अर्को कदम के हो?
२० के तपाईँलाई आफू यहोवा परमेश्वरलाई जीवन समर्पण गर्न तयार छु जस्तो लाग्छ? उहाँलाई आफ्नो जीवन समर्पण गरेपछि तपाईँ अर्को कदम चाल्न तयार हुनुहुन्छ। त्यो हो, बप्तिस्मा।
२१, २२. तपाईँ कसरी आफ्नो विश्वास “जनसमक्ष घोषणा” गर्नुहुन्छ?
२१ तपाईँको मण्डलीको एल्डरहरूको निकायको संयोजकलाई तपाईँले आफ्नो जीवन यहोवा परमेश्वरलाई समर्पण गरिसक्नुभयो र तपाईँ बप्तिस्मा गर्न चाहनुहुन्छ भनेर बताउनुहोस्। त्यसपछि तपाईँसित बाइबलका आधारभूत शिक्षा पुनरावृत्ति गर्न तिनले केही एल्डरहरूको प्रबन्ध मिलाउनेछन्। यदि तिनीहरूलाई तपाईँ बप्तिस्माको लागि तयार हुनुहुन्छ भन्ने लागेमा यहोवाका साक्षीहरूको आउँदो सम्मेलन वा अधिवेशनमा तपाईँले बप्तिस्मा गर्न सक्नुहुन्छ भनेर तपाईँलाई बताउनेछन्। सम्मेलन वा अधिवेशनमा बप्तिस्मासम्बन्धी एउटा भाषण दिइन्छ। त्यो भाषण दिने वक्ताले बप्तिस्मा गर्न तयार भएकाहरूलाई दुई वटा सरल प्रश्न सोध्छन्। ती प्रश्नहरूको जवाफ दिएर तपाईँले आफ्नो विश्वास “जनसमक्ष घोषणा” गर्नुहुन्छ।—रोमी १०:१०.
२२ त्यसपछि तपाईँले बप्तिस्मा गर्नुहुन्छ। तपाईँलाई पानीमा चुर्लुम्म डुबाइन्छ। तपाईँले आफ्नो जीवन यहोवा परमेश्वरलाई समर्पण गर्नुभयो र अबउसो तपाईँ यहोवाको साक्षी हुनुभयो भनेर तपाईँको बप्तिस्मापछि सबैले थाह पाउँछन्।
तपाईँको बप्तिस्माको अर्थ के हो?
२३. “बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा” गर्नुको अर्थ के हो?
२३ आफ्ना चेलाहरूले “बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा” गर्नेछन् भनेर येसुले भन्नुभयो। (मत्ति २८:१९ पढ्नुहोस्) यसको अर्थ के हो? यसको अर्थ तपाईँले यहोवा परमेश्वरको अख्तियार र उहाँको उद्देश्यमा येसु ख्रिष्टको भूमिकालाई स्विकार्नुहुन्छ। साथै परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्न पवित्र शक्तिलाई चलाउनुहुन्छ भनेर मानिलिनुहुन्छ।—भजन ८३:१८; मत्ति २८:१८; गलाती ५:२२, २३; २ पत्रुस १:२१.
बप्तिस्मा गर्दा तपाईँले यहोवा परमेश्वरको इच्छा गर्न तयार भएको कुरा देखाइरहनुभएको हुन्छ
२४, २५. (क) बप्तिस्माले कुन महत्त्वपूर्ण कुरालाई बुझाउँछ? (ख) यस किताबको अन्तिम अध्यायमा हामी कुन विषयमा चर्चा गर्नेछौँ?
२४ बप्तिस्माले एउटा अत्यन्तै महत्त्वपूर्ण कुरालाई बुझाउँछ। तपाईँलाई पानीमा चुर्लुम्म डुबाइनुको अर्थ तपाईँले आफ्नो पुरानो जीवनशैली त्याग्नुभएको छ भन्ने हो। अनि तपाईँ पानीबाट बाहिर निस्कनुको अर्थ परमेश्वरको इच्छाअनुसार नयाँ जीवन सुरु गर्नु हो। यसले अबउसो तपाईँले यहोवा परमेश्वरको सेवा गर्नुहुनेछ भनेर स्पष्ट पार्छ। नबिर्सनुहोस्, तपाईँले कुनै मानिस, सङ्गठन वा कामलाई आफ्नो जीवन समर्पण गर्नुभएको होइन। तपाईँले यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नुभएको हो।
२५ तपाईँको समर्पणले तपाईँलाई परमेश्वरसित नजिकको सम्बन्ध विकास गर्न मदत गर्नेछ। (भजन २५:१४) तर यसको अर्थ बप्तिस्मा गर्दैमा उद्धार पाइन्छ भन्ने त होइन। प्रेषित पावलले यस्तो लेखे: “तिमीहरू यसरी नै आफ्नो उद्धारको निम्ति डर र कम्पसहित प्रयत्न गरिरहो।” (फिलिप्पी २:१२) बप्तिस्मा त सुरुवात मात्र हो। तर तपाईँ कसरी यहोवा परमेश्वरसित नजिक भइरहन सक्नुहुन्छ? यस किताबको अन्तिम अध्यायमा यस विषयमा चर्चा गरिनेछ।