प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rj भाग ४ पृ. १०-११
  • दोषी भावना—“मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोषी भावना—“मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌”
  • यहोवाकहाँ फर्कनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “आओ, हामी बसेर कुरा गरौँ”
  • “आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ”
  • “क्षमा गर्न सधैँ तयार” परमेश्‍वर
    यहोवासित नजिक हुनुहोस्‌
  • यहोवा, ‘क्षमा गर्न तयार’ परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवा तपाईँलाई क्षमा गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवाले दिनुहुने क्षमाबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
यहोवाकहाँ फर्कनुहोस्‌
rj भाग ४ पृ. १०-११

भाग ४

दोषी भावना​— “मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌”

“मेरो नयाँ जागिरले गर्दा मेरो परिवारको आर्थिक स्तर राम्रो भयो। तर मैले ख्रिष्टियनहरूलाई नसुहाउने कामहरू गरेँ। मैले चाडपर्व मान्‍न थालेँ, राजनैतिक समारोहहरूमा भाग लिन थालेँ अनि चर्चसमेत जान थालेँ। म ४० वर्षसम्म निष्क्रिय भएँ। जति-जति समय बित्दै गयो, त्यति-त्यति नै मलाई आफू यहोवाको क्षमा पाउन लायकको छैनँ जस्तो महसुस हुन थाल्यो। मैले आफैलाई पनि क्षमा दिन सक्दिनँ जस्तो लाग्यो। किनकि गलत बाटोमा लाग्नुअघि नै मैले सत्य सिकिसकेकी थिएँ।”—मार्था।

दोषी भावना गह्रौँ भारीजस्तै हुन सक्छ। राजा दाउदले यस्तो लेखे: “मेरा गल्तीहरू मेरो शिरभन्दा माथि चुलिएका छन्‌; ती मेरो लागि गह्रौँ भारीजस्तै भएका छन्‌, म ती बोक्नै सक्दिनँ।” (भजन ३८:४) केही ख्रिष्टियनहरू यत्ति साह्रो निराश भएका छन्‌ कि तिनीहरू यहोवाले कहिल्यै क्षमा गर्नुहुन्‍न भन्‍ने निष्कर्षमा पुगेका छन्‌। (२ कोरिन्थी २:७) के त्यस्तो सोचाइ राख्नु ठीक हो? तपाईँले गम्भीर गल्ती गर्नुभएको छ भने पनि के तपाईँ यहोवाले कहिल्यै क्षमा दिन नसक्नेगरि उहाँबाट टाढा हुनुभएको छ र? त्यसो त पक्कै होइन!

“आओ, हामी बसेर कुरा गरौँ”

पापको पश्‍चात्ताप गर्नेहरूलाई यहोवा त्याग्नुहुन्‍न। बरु उहाँ तिनीहरूलाई मदत गर्न अग्रसर हुनुहुन्छ! उडन्ते छोराको उदाहरणमा येसुले यहोवालाई एक जना मायालु बुबासित तुलना गर्नुभयो, जसको छोरा परिवारलाई त्यागेर गयो अनि भोगविलासको जीवन बिताउन थाल्यो। पछि उसले घर फर्कने निर्णय गऱ्‍यो। “बुबाले टाढैबाट ऊ आउँदै गरेको देख्यो र टिठायो अनि दौडँदै गएर उसलाई अङ्‌गालो हाल्यो र चुम्बन गऱ्‍यो।” (लुका १५:११-२०) तपाईँ यहोवाको नजिक जान चाहनुहुन्छ होला। तर के तपाईँलाई आफू उहाँदेखि धेरै ‘टाढा’ छु जस्तो लाग्छ? येसुको उदाहरणको बुबाजस्तै यहोवा पनि तपाईँलाई कोमल कृपा देखाउन चाहनुहुन्छ। उहाँ तपाईँलाई फेरि स्वागत गर्न उत्सुक हुनुहुन्छ।

तर के तपाईँलाई आफूले असाध्यै गम्भीर वा असङ्‌ख्य पाप गरेकोले यहोवाले क्षमा दिनुहुन्‍न जस्तो लागेको छ? कृपया यसैया १:१८ मा यहोवाले दिनुभएको यो निम्तोबारे विचार गर्नुहोस्‌: “आओ, हामी बसेर कुरा गरौँ। तिमीहरूका पापहरू सिन्दूरे रङ्‌गका भए पनि ती हिउँजस्तै सेता हुनेछन्‌।” हो, तपाईँलाई आफ्नो पाप सेतो लुगामा लागेको गाढा रातो दागजस्तै लाग्न सक्छ। तर त्यो पाप यहोवाले क्षमा दिनै नसक्ने हदसम्मको त पक्कै छैन।

यहोवा तपाईँले दोषी अन्तस्करणको बोझ बोकेर हिँडेको चाहनुहुन्‍न। यहोवाको क्षमा पाउँदा र अन्तस्करण सफा हुँदा प्राप्त हुने राहत तपाईँ कसरी अनुभव गर्न सक्नुहुन्छ? राजा दाउदले चालेको दुई वटा कदमबारे विचार गर्नुहोस्‌। पहिलो, तिनले यसो भने: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।” (भजन ३२:५) नबिर्सनुहोस्‌, यहोवाले तपाईँलाई प्रार्थनामार्फत उहाँकहाँ आउन र उहाँसँगै ‘बसेर कुरा गर्न’ निम्तो दिइसक्नुभएको छ। त्यो निम्तो स्विकार्नुहोस्‌। यहोवासामु आफ्नो पाप स्विकार्नुहोस्‌ र उहाँलाई आफ्नो भावना पोखाउनुहोस्‌। परमेश्‍वरको क्षमा पाएका दाउदले निर्धक्क भएर यसरी प्रार्थना गरे: “मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌। . . . हे परमेश्‍वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार गर्नुहुन्‍न।”—भजन ५१:२, १७.

दोस्रो, दाउदले यहोवाको प्रतिनिधि, भविष्यवक्‍ता नातानबाट मदत पाए। (२ समुएल १२:१३) आज यहोवाले मण्डलीमा एल्डरहरूको प्रबन्ध गर्नुभएको छ। तिनीहरूले पश्‍चात्ताप गर्नेहरूलाई यहोवासित फेरि सम्बन्ध गाँस्न मदत दिने तालिम पाएका छन्‌। एल्डरहरूकहाँ जानुभयो भने तिनीहरूले बाइबल प्रयोग गरेर अनि तपाईँसँगै बसेर मनैदेखि प्रार्थना गरेर तपाईँलाई दिलासा दिनेछन्‌, नकारात्मक भावनाहरू कम गर्न वा हटाउन अनि आध्यात्मिक रूपमा निको हुन मदत गर्नेछन्‌।—याकुब ५:१४-१६.

मण्डलीका एल्डरहरू एक जना निष्क्रिय भाइसँगै बसेर प्रार्थना गर्दै

तपाईँले अन्तस्करण सफा हुँदा पाइने राहत अनुभव गरेको यहोवा चाहनुहुन्छ

“आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ”

यहोवा परमेश्‍वरसामु आफ्नो पाप स्विकार्नु र एल्डरहरूकहाँ गएर मदत माग्नु जत्तिको गाह्रो काम अरू कुनै छैन जस्तो तपाईँलाई लाग्न सक्छ। दाउदलाई पनि त्यस्तै लागेको थियो। केही समय तिनी आफ्नो पापबारे कसैलाई नभनी “चुप” बसे। (भजन ३२:३) तर पछि तिनले आफ्नो पाप स्विकारेर सही मार्गमा हिँड्‌दा हुने फाइदा आफैले अनुभव गरे।

सबैभन्दा ठूलो फाइदा भनेको दाउद फेरि आनन्दित हुन सके। तिनले यस्तो लेखे: “आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ, जसको पाप ढाकिएको छ।” (भजन ३२:१) तिनले यसरी प्रार्थना गरे: “हे यहोवा, मेरो मुख खोलिदिनुहोस्‌ ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।” (भजन ५१:१५) परमेश्‍वरबाट क्षमा पाएपछि तिनी आफूलाई पिरोलिरहेको दोषी भावना हटाउन सफल भए। साथै तिनी अरूलाई यहोवाबारे बताउन पनि उत्प्रेरित भए।

तपाईँले अन्तस्करण सफा हुँदा पाइने राहत अनुभव गरेको यहोवा चाहनुहुन्छ। तपाईँले दोषी भावना बोकेर होइन बरु निष्कपट मनले र आनन्दित हुँदै अरूलाई उहाँबारे र उहाँका उद्देश्‍यहरूबारे बताएको पनि यहोवा चाहनुहुन्छ। (भजन ६५:१-४) हाम्रो “पाप मेटियोस्‌ अनि . . . स्वयम्‌ यहोवा परमेश्‍वरबाट स्फूर्ति प्राप्त होस्‌” भनेर उहाँले गर्नुभएको आग्रह पनि नबिर्सनुहोस्‌।—प्रेषित ३:१९.

मार्थाले पनि यस्तै अनुभव गरिन्‌। तिनी भन्छिन्‌: “मेरो छोराले मलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका पठाइरहन्थ्यो। बिस्तारै मैले यहोवालाई फेरि चिन्‍न थालेँ। तर उहाँकहाँ फर्कने क्रममा मलाई सबैभन्दा गाह्रो लागेको कुरा भनेको आफ्नो सबै पापको लागि क्षमा माग्नु थियो। तर मैले बल्लतल्ल यहोवालाई प्रार्थना गरेर क्षमा मागेँ। यहोवाकहाँ फर्कन मलाई ४० वर्ष लाग्यो! यो कुरा सोच्दा मलाई पत्यारै लाग्दैन। धेरै वर्ष बितिसकेपछि पनि फेरि यहोवाको सेवा गर्न र उहाँको माया पाउन सकिन्छ भन्‍ने कुराको प्रमाण म आफै हुँ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने