प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ३/१ पृ. ८
  • मानिसलाई के ले अशुद्ध तुल्याउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसलाई के ले अशुद्ध तुल्याउँछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • मानिसलाई केले अशुद्ध बनाउँछ?
    सबैभन्दा महान्‌ पुरुष
  • केले मानिसलाई अशुद्ध बनाउँछ?
    येसु—बाटो, सत्य र जीवन
  • येसु विश्रामदिनमा निको पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पहिलाको अन्धो मानिसलाई फरिसीहरू प्रश्‍न गर्छन्‌
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ३/१ पृ. ८

येशूको जीवन र सेवकाई

मानिसलाई के ले अशुद्ध तुल्याउँछ?

येशूको विरुद्धमा विरोध बढ़दै जान्छ। उहाँका धेरै चेलाहरू उहाँका पछि लाग्न छाड़छन्‌ र ई. स. ३१ को निस्तारको बेलामा झैं, यहूदीहरूले उहाँको हत्या गर्न फेरि मौका खोज्दैछन्‌।

हाल ई. स. ३२ को निस्तार हो। शायद, परमेश्‍वरको आदेश पालना गर्ने हेतुले, येशू पनि यरूशलेममा निस्तार मनाउन जानु हुन्छ। तथापि, उहाँ होशियारी साथ जानु हुन्छ किनभने उहाँको ज्यान खतरामा छ। केही समय पश्‍चात्‌ उहाँ गालिलमा फर्कनु हुन्छ।

शायद येशू कफर्नहुम मै छँदा, यरूशलेमबाट शास्त्रीहरू र फरिसीहरू उहाँलाई भेट्‌न आउँछन्‌। तिनीहरूले उहाँलाई धार्मिक विधानको उल्लङ्‌घनको दोषी ठहराउन चाहन्छन्‌। “तपाईंहरूका चेलाहरूले किन पुर्खाहरूको रीति भङ्‌ग गर्दछन्‌?” भनेर तिनीहरूले उहाँलाई सोध्छन्‌। “किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्‌।” यो परमेश्‍वरले अह्राउनु भएको कुनै नियम नभएता पनि, माथि कुहिनाहरू सम्म धुने यस परम्परा पूरा नगर्नु, फरिसीहरूको विचारमा एउटा गम्भीर अपराध हो।

तिनीहरूले लगाएको आरोपको जवाफ सोझो ढङ्‌गमा दिनुको सट्टा, परमेश्‍वरको नियमलाई तिनीहरूले जानी-जानीकन र दुष्टता साथ उल्लङ्‌घन गरेको कुरालाई येशूले औंलाउनु हुन्छ। “तिमीहरू पनि किन तिमीहरूको रीति द्वारा परमेश्‍वरका आज्ञा भङ्‌ग गर्दछौ?” भनेर येशूले जान्‍न चाहनु हुन्छ। “किनभने परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्ना बाबु र आमाको आदर गर’ र ‘बाबु वा आमालाई अपशब्द लाउने चाहिं अवश्‍य मारिओस्‌।’ तर तिमीहरू चाहिं भन्दछौ, ‘जसले आफ्ना बाबु वा आमालाई भन्ला, ‘मसँग जे जत्ति कुरा छ जसबाट तपाईंलाई लाभ होला, ती जम्मै परमेश्‍वरलाई चढ़ाइएको उपहार हो,’ [NW] त्यसलाई आफ्ना बाबु वा आमालाई आदर गर्ने जरूरत छैन।’”

हो, पैसा, सम्पत्ति अथवा परमेश्‍वरलाई भेंटीको रूपमा समर्पण गरेको कुनै पनि कुरा मन्दिरको हुन जान्छ र ती चीजहरूलाई फेरि अरू कुनै कामका लागि चलाउन सकिन्दैन भनेर फरिसीहरूले शिक्षा दिन्छन्‌। तर वास्तवमा, त्यो समर्पित उपहार, चढ़ाउने मान्छेले नै राखेको हुन्छ। यस प्रकार, एउटा छोराले उसको पैसा अथवा सम्पत्ति “र्कोबान” हो—अर्थात परमेश्‍वर या मन्दिरलाई चढ़ाइ सकेको भेंटी हो—भने पछि, खाँचोमा परेका, उसका वृद्ध आमा-बाबुलाई मदद गर्ने जिम्मेवारीबाट उसले आफूलाई मुक्‍त पार्थियो।

फरिसीहरूले यस प्रकार दुष्टतासाथ परमेश्‍वरको व्यवस्थालाई बङ्‌गाएको देख्नु भएर येशू न्यायोचित रूपमा अप्रसन्‍न हुनु हुँदै, एसो भन्‍नु हुन्छ: “तिमीहरूले आफ्नो रीतिले गर्दा परमेश्‍वरको वचनलाई बेकम्मा गराएका छौ। ए कपटी हो, यशैयाले तिमीहरूका विषयमा यसो भनेर ठीक ठीक अगमवाणी बोले, ‘यस जातिले आफ्ना ओठले मेरो आदर गर्दछ। तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। औ मानिसहरूका आदेशहरू तिनका सिद्धान्त जस्तागरी, तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्‌।’”

येशूलाई प्रश्‍न गर्न फरिसीहरूलाई सजिलो होस्‌ भनेर शायद भीड़ पछि हटेको थियो होला। तर अब येशूले गर्नु भएको कड़ा आलोचनाको केही उत्तर फरिसीहरूले दिन न सक्दा, भीड़लाई येशूले एसो भन्‍नु हुँदै नजीक बोलाउँनु हुन्छ, “सुनेर बुझ। जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध गराउँदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसलाई अशुद्ध तुल्याउँछ।”

पछि, घर भित्र पसेर, उहाँका चेलाहरूले उहाँलाई सोध्छन्‌: “यो भनाइ सुनेर फरिसीहरू चिढ़िए भनेर के तपाईंले थाह पाउनु भयो?”

येशूले यो उत्तर दिनु हुन्छ: “मेरा पिताले नरोपेको हरेक बोट उखेलिनेछ। तिनलाई जान देओ, ती अन्धा अगुवाहरू हुन्‌। अन्धाले अन्धालाई डोर्‌याउँछ भने, दुवै खाल्डामा पर्नेछन्‌।”

मानिसलाई अशुद्ध पार्ने विषयमा चेलाहरूको तर्फबाट पत्रुसले स्पष्टीकरण माँगदा, येशू छक्क पर्नु हुन्छ। “के तिमीहरू अझ बेसमझका छौ? के तिमीहरूलाई थाह छैन, जे मुख भित्र पस्छ त्यो पेटमा गइहाल्छ, र दिसामा जान्छ? तर जुन कुराहरू मुखबाट बाहिर निस्कन्छन्‌, ती हृदयबाट निस्केर आउँछन्‌, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्‌। किनकि हृदयबाट नै दुष्ट विचार, हत्या, जारी, व्यभिचार, चोरी, झूटो साक्षी, निन्दा बाहिर निस्कन्छन्‌। मानिसलाई अशुद्ध पार्ने कुराहरू यिनै हुन्‌। तर हात नधोई खानाले मानिसलाई अशुद्ध तुल्याउँदैन।”

येशूले यहाँ दैनिक शारीरिक सफाइको विरोध गर्नु भएको होइन। मानिसले खाने कुरा पकाउन अथवा खानको अघि हात धुनु पर्दैन भनेर पनि तर्क गर्नु भएको होइन। किनकि, यहाँ परमेश्‍वरका धार्मिक नियमहरूलाई धुर्ताईं साथ बङ्‌ग्याउँदै, शास्त्रमा हुँदै नभएका नियमहरूको पालनामा जोर दिने धर्म गुरूहरूको कपटको येशूले भर्त्सना गर्नु हुँदैछ। हो, दुष्ट कार्यहरूले मानिसलाई अशुद्ध तुल्याउँछ र यी कुराहरू मानिसको हृदयबाट शुरू हुन्छ भनेर येशूले देखाउँनु हुन्छ। यूहन्‍ना ७:१; व्यवस्था १६:१६; मत्ती १५:१-२०; मर्कूस ७:१-२३; प्रस्थान २०:१२; २१:१७; यशैया २९:१३.

◆ येशूले अब कुन प्रकारको विरोधको सामना गर्नु हुन्छ?

◆ फरिसीहरूले उहाँलाई के को आरोप लगाउँछन्‌ तर येशूको भनाइ अनुसार, फरिसीहरूले परमेश्‍वरका नियमहरूको, जानी बुझीकन, कसरी उल्लङ्‌घन गरिरहेका छन्‌?

◆ मानिसलाई अशुद्ध तुल्याउने कुराहरू येशूले कसरी प्रकट गरी दिनु हुन्छ? (w87 11/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने