मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्याउनेछ?
मानिसको प्रयासबाट शान्ति आउन सक्तैन भन्नुको अर्थ के हामीले कहिले शान्ति देख्ने छैनौं? होइन, हामीहरू भन्दा शक्तिशाली शैतानले गर्दा शान्तिमा बाधा आइरहेछ भने, शैतान भन्दा पनि बढ़ी शक्तिशाली एक जना हुनुहुन्छ जसले हामीहरूलाई शान्तिको बाटोमा डोऱ्याउनु हुनेछ। बाइबल, जसमा शैतान बारे सूचना दिइएको छ, त्यसै पुस्तकले ती एक जना व्यक्तिबारे पनि भन्दछ। त्यसमा यस प्रकार लेखिएको छ: “शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदेकका युक्ति निकाल्नु हुने, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ।” (यशैया ९:६, ७) शान्तिका यी राजकुमार को हुनुहुन्छ? येशू ख्रीष्ट बाहेक अरू कोही होइन, र उहाँले शान्ति ल्याउनु हुनेछ किनकि हामीहरू भन्दा उहाँ धेरैनै योग्य व्यक्ति हुनुहुन्छ। उहाँका योग्यताहरू के हुन्?
मानवीय योग्यताहरू भन्दा बढ़ी
एउटा ता, येशू मरणशील हुनु हुन्न। यो साँचो हो कि उहाँ मानिस भएर बाँच्नु भयो र उहाँको बलिदान रूपी मृत्यु भयो। तर अमर स्वर्गीय जीवनमा उहाँको पुनरुत्थान भयो, र यस अवस्थामा उहाँ शान्तिका राजकुमार हुनुहुन्छ। त्यसैकारण, एउटा अगमवाणीले यसो भन्दछ: “उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३२, ३३) पूर्वीय सम्राट अशोक जस्ता नभएर, येशू अनन्तसम्म बाँची रहनु हुनेछ र उहाँले गर्नु भएका असल कामलाई पछि आउने, योग्यता न भएका उत्तराधिकारीहरूले कदापि बिर्गान पाउने छैनन्।
अरू, येशू पाप रहित हुनुहुन्छ। उहाँको शासन परमेश्वरको बुद्धि र न्यायोचित सिद्धान्तमा आधारित छ। यशैया अगमवक्ताले अगमवाणी गरे: “परमप्रभुको (यहोवाको न्यु. व.) आत्मा उहाँमा रहनुहुनेछ—बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुप्रतिको (यहोवाप्रतिको न्यु. व.) श्रद्धाको आत्मा। औ परमप्रभुको (यहोवाको न्यु. व.) भयमानै उहाँको आनन्द हुनेछ। उहाँले मुख हेरी इन्साफ गर्नु हुनेछैन, औ कानले सुनेर मात्र विचार गर्नुहुनेछैन। तर गरीबहरूको न्याय उहाँले ठीकसित गर्नु हुनेछ।” (यशैया ११:२-४) पहिलेका समयका युरोपेली मानिसहरू जस्ता, येशूले आफ्नो घरमा चाहिं शान्ति कायम गरेर अरू देशका विरुद्धमा युद्ध छेड़नु हुनेछैन। उहाँका मातहतमा शान्ति विश्व-व्यापी हुनेछ।
यस बाहेक येशूसित शान्ति ल्याउने शक्ति छ। अगमवाणी भन्दछ: “यहोवाको आत्मा . . . सल्लाह र शक्तिको आत्मा” उहाँमाथि छ। बाइबलमा उल्लेखित सबैनै न्यायसङ्गत शक्तिशाली कामहरू र ब्रह्माण्डको सृष्टिका पछाड़ि यही शक्तिले काम गरिरहेको थियो। परमेश्वरको आत्माको शक्तिसँग त्यो महान विरोधी शैतानले पनि सफलतापूर्वक मुकाबिला गर्न सक्तैन।
शान्तिका निम्ति कदमहरू
येशूले मानवजातिलाई शान्तितर्फ कसरी डोऱ्याउनु हुनेछ? तपाईंलाई यो सुनेर ताजुब लाग्ला कि उहाँले त्यो काम शुरू गरी सक्नु भएको छ। अगमवाणीको पुस्तक, प्रकाशमा, येशूले परमेश्वरबाट स्वर्गको राज्यमा राज्याधिकार पाउनु भएको देखिन्छ। (प्रकाश ११:१५) यदि हामीले बाइबलका अगमवाणीहरू माथि ध्यानपूर्वक विचार गऱ्यौं र तिनीहरूलाई हाम्रो समयमा भएका घटनाहरूसित तुलना गऱ्यौं भने, १९१४ मा नै स्वर्गमा येशूको राज्याभिषेक भइसकेको कुरा बुझ्ने छौं। (मत्ती २४:३-४२) पृथ्वीमा शान्ति ल्याउने त्यो एउटा ठूलो कदम थियो।
तर त्यसो हो भने, १९१४ मा प्रथम विश्व-युद्ध किन शुरू भयो? औ इतिहासमा कहिले नभएका भयङ्कर युद्धहरू हाम्रै शताब्दीमा किन भए? किनभने स्वर्गीय राजाको प्रथम काम शैतानलाई सदाका निम्ति स्वर्गबाट भगाउनु थियो र त्यसलाई तल पार्थिव इलाकामा फाल्नु थियो। त्यसको परिणाम के भयो? अगमवाणी भन्दछ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:७-१२) हाम्रा शताब्दीका ठूल-ठूला युद्धहरू शैतानको क्रोधसित सम्बन्धित छ। तर ध्यान दिनुहोस्: शैतानको क्रोध “अल्प समय” कालागि हो। यो संकट चाँड़ैनै समाप्त हुनेछ!
तथापि, त्यो भन्दा पहिले, शान्तिका राजकुमारले अझै महत्वपूर्ण तयारीहरू गर्नुहुनेछ। सबै भन्दा पहिले, मानवजातिले ख्रीष्ट मार्फत शान्ति ल्याउने परमेश्वरको उद्देश्यलाई बुझ्नु पर्दछ। त्यसै अनुरूप येशूले अगमवाणी गर्नु भयो कि हाम्रो समयमा “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिने छ।” (मत्ती २४:१४) यसको पूर्तिमा, यहोवाका साक्षीहरूले सुसमाचारलाई पृथ्वीको प्रत्यक कुनासम्ममा प्रचार गरिरहेकाछन्।
अनि, असल हृदय भएकाहरूले शान्तिको मार्ग बारे शिक्षा पाउनु पर्छ। बाइबल प्रतिज्ञा गर्दछ: “औ तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट (यहोवाबाट न्यु. व.) सिकाइएका हुनेछन्, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:१३) अहिले पनि लाखौं-लाख असल हृदय भएकाहरूले त्यो शिक्षा पाइरहेका छन्।
अर्को कदम
शान्ति ल्याउने काममा एउटा अर्को निर्णायक कदम चाल्ने समय प्रायः आइसकेको छ। त्यो के हो? त्यसको नाउँ धेरैले जान्दछन् तर त्यसको सही उद्देश्य चाहिं कमैले जानेका छन्। बाइबलले त्यसलाई “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लडाइँ” अर्थात आर-मागेडोन भन्दछ। (प्रकाश १६:१४, १६) धेरैको विचारमा त्यो एउटा आणविक युद्ध हो जसले सारा सभ्यतालाईनै नष्ट गरिदिनेछ। तर त्यसको विपरीत, शान्तिका राजकुमार, येशूले शान्ति स्थापनाका लागि आवश्यक कुराहरू सम्पन्न गर्नका निम्ति चाल्नु हुने यो एउटा प्रत्यक्ष कदम हो।
प्रथमतः, शान्तिको बाटोमा खड़ा हुने मानव वाधकहरू आरमागेडोनमा हटनेछन्। भजनसंग्रह ३७:१० को अगमवाणीले यसो भन्दछ: “किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। तैले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन।” हो, येशूले “दुष्टहरूलाई”—युद्ध रचनेहरू, अपराधीहरू, आतंकवादीहरू, र महान शान्तिका राजकुमारलाई स्वीकार नगर्नेहरूलाई—धरतीबाटै हटाइ दिनुहुनेछ। त्यस पछि यस ग्रहमा बस्ने तिनीहरूको अधिकार हुनेछैन।—प्रकाश १९:१९-२१.
दोस्रो, आर-मागेडोनमा, दानियलको यो भविष्यवाणी पूरा हुनेछ: “औ ती राजाहरूका समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चकनाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) राष्ट्रिय विभाजनहरू जसले गर्दा बारम्बार युद्धहरू भएका छन्, तिनीहरू पनि समाप्त हुनेछन्। आखिरमा, हामीले विश्वास गर्न सक्ने शासकको हातमा एउटा विश्व सरकार कायम हुनेछ!
आर-मागेडोन कहिले आउनेछ? बाइबलले केही भन्दैन। तर अगमवाणीको पूर्तिमा, जुन घटनाहरू संसारमा भइरहेछन्, त्यसले सङ्केत गर्दछ कि यो चाँड़ैनै हुनेवाला छ। बाइबलले स्पष्टतया एउटा घटनावारे भविष्यवाणी गर्दछ, जुन घटना आर-मागेडोनको ठीक अगाड़ि हुनेछ। त्यस विषयमा पावलले भन्दछन्: “जब मानिसहरूले शान्ति र सुरक्षा भनिरहेका हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ।” (१ थिस्सलोनिकी ५:३) अनि, आर-मागेडोनमा अचानक आइ पर्ने विनाश पछि, शान्तिको मार्गबाट एउटा ठूलो बाधक हटाइनेछ। शैतानको “अल्प समय” समाप्त हुनेछ, र त्यसलाई यस्तो स्थितिमा राखिने छ कि त्यहाँबाट त्यसले पृथ्वीमा कुनै प्रकारले पिर्नु सक्नेछैन। (प्रकाश २०:१-३) कस्तो आराम हुनेछ!
एउटा विश्व-व्यापी शान्ति
त्यस बेलाको स्थितिको कल्पना गर्नुहोस्। भजनसंग्रहका लेखकले भविष्यवाणी गरे: “तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (भजनसंग्रह ३७:११) यी नम्रहरूले यशैयाको यो सुन्दर अगमवाणी निरन्तर पूरा गरिरहेछन्। “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।”—यशैया २:४.
बल्ल, अदनको बगैंचा पछि, प्रथम पटक, सबै जीवित मनुष्यहरूले यहोवा परमेश्वरको आशिष को आनन्द उठाउनेछन्, र उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ: “हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४.
एउटा ठोस आशा
उसो भए शान्तिको बाटोमा मानवजातिलाई कसले डोऱ्याउने छ? नियुक्त शान्तिका राजकुमार, येशू ख्रीष्टले। आज हाम्रो निम्ति के यो एउटा व्यावहारिक आशा हो? बाइबलमा भएका प्रतिज्ञाहरू भरपर्दो नभएका भए, शान्तिका लागि एउटा वास्तविक आशा हुने नै थिएन। मनुष्यहरूले आपसमा झगड़ा गर्दै एक अर्कालाई सँधैनै हत्या गरिरहने थिए। तर बाइबल भरपर्दो छ, र ख्रीष्टको मातहतमा परमेश्वरले निश्चयनै शान्ति ल्याउनु हुनेछ। यहोवाका साक्षीहरूले तपाईंको घरमा ल्याउने राज्यको सुसमाचारलाई सुन्नुहोस् भनी तपाईंलाई हामी प्रोत्साहित गर्दछौं र तपाईं स्वयंनै यसवारे विचार गर्नुहोस्। अनि, जब समय आउँछ, तपाईंपनि ती नम्रहरूमध्यका हुनुहोस् जसले देश अधिकार गर्नेछन् र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्। (w90 4/1)
यस लेखमा छलफल गरिएको, शान्तिको आशाको विषय, बाइबलबाट लिइएको हो। आज धेरैले बाइबलमा विश्वास नगर्ने हुनाले, तपाईं सोध्न सक्नुहुन्छ कि यो विश्वास व्यावहारिक छ वा छैन। यहोवाका साक्षीहरू दृढ़तापूर्वक विश्वास गर्दछन् कि यो व्यावहारिक छ। तिनीहरू बाइबललाई परमेश्वरबाट प्रेरणा भएको वचन हो भनी स्वीकार्दछन्, त्यसकारण यो पूर्ण विश्वसनीय छ। १९८९ मा तिनीहरूले एउटा पुस्तक प्रकाशित गरे जसको शिर्षक छ द बाइबल— गोड्स वर्ड ओर म्यान्स? र त्यस पुस्तकमा यस तथ्यको धेरै प्रमाणहरू प्रस्तुत गरिएको छ।
शान्ति सम्बन्धी बाइबलका प्रतिज्ञावारे अरू अधिक जानकारी “विश्वशान्ति—यसको वास्तविक अर्थ के हुने हो” भन्ने लेख प्रहरीधरहरा को नवम्बर १, १९९१ को अङ्कमा छापिनेछ।
[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]
मानव जातिलाई शान्ति तर्फ डोर्याउने योग्यता येशूसँग मात्र छ
[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]
आज पृथ्वीको हर भागमा राज्यको सुसमाचारको प्रचार भइ रहेछ