साँचो शान्ति—कुन स्रोतबाट?
“पृथ्वीको अन्तसम्मै [यहोवाले] युद्धहरू रोक्नुहुन्छ।”—भजन ४६:९.
१. यशैयाको भविष्यवाणीमा हामी शान्तिको कुन अद्भुत प्रतिज्ञा पाउँछौं?
“धार्मिकताको परिणाम शान्ति हुनेछ र त्यसको नतिजा चाहिं सदाको शान्ति र निश्चयता हुनेछ। मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्।” (यशैया ३२:१७, १८) कत्ति मनमोहक प्रतिज्ञा! यो, परमेश्वरले ल्याउन लाग्नुभएको साँचो शान्तिको प्रतिज्ञा हो।
२, ३. साँचो शान्ति के हो, व्याख्या गर्नुहोस्।
२ तर, साँचो शान्ति भनेको के हो? के यसको अर्थ युद्ध नहुनु मात्रै हो? वा राष्ट्रहरूले अर्को युद्धको लागि तयारी गर्ने समयावधि हो? कतै साँचो शान्ति सपना मात्र त होइन? यी प्रश्नहरूको हामीलाई पत्यारिलो जवाफ चाहिन्छ। प्रथम कुरो त के हो भने, साँचो शान्ति सपना मात्र होइन। परमेश्वरले प्रतिज्ञा गर्नुभएको शान्ति यस संसारले कल्पना गरेको कुराभन्दा बिल्कुलै भिन्न छ। (यशैया ६४:४) यो केही वर्ष वा केही दशकसम्म रहने शान्ति होइन। यो सधैंभरि रहन्छ! अनि यो केही विशेष व्यक्तिहरूले मात्र प्राप्त गर्ने होइन। तर यसमा स्वर्ग, पृथ्वी, स्वर्गदूत र मानिसहरू सबै समावेश छन्। यो शान्ति त सबै राष्ट्र, जाति, भाषा र वर्णका मानिसहरूले प्राप्त गर्छन्। यसको कुनै सीमा अनि छेकबार छैन र यो अवश्यै सफल हुनेछ।—भजन ७२:७, ८; यशैया ४८:१८.
३ साँचो शान्तिको अर्थ सधैं शान्ति भइरहनु हो। प्रत्येक दिन युद्धको डर नहुनु हो, तपाईंको, छोराछोरीको र नातिनातिनीको भविष्यबारे समेत चिन्ता गर्न नपर्नु हो। यसको अर्थ, पूर्ण मनोशान्ति हो। (कलस्सी ३:१५) साँचो शान्ति छाउँदा अपराध, हिंसा, परिवारमा फाटो हुँदैन नता घरबारविहीन मानिस नै हुन्छन् र मानिसहरू भोकै बस्नु वा मर्नु पर्दैन अनि हतोत्साह र निराशा हुँदैन। त्योभन्दा अझ, परमेश्वरको शान्ति भनेको बिमारी, पीडा, दुःख वा मृत्युबिनाको संसार हो। (प्रकाश २१:४) सधैंभरि साँचो शान्ति अनुभव गर्न पाउने कत्ति अद्भुत आशा हामीले पाएका छौं! के यो हामीले चाहेकै जस्तो शान्ति र आनन्द होइन त? यही शान्तिको लागि त हामीले प्रार्थना र काम गर्नुपर्छ हैन र?
मानिसजातिका असफल प्रयासहरू
४. शान्तिको लागि राष्ट्रहरूले कस्ता प्रयासहरू गरेका छन् र परिणाम के भएको छ?
४ शताब्दीयौंदेखि मानिस र राष्ट्रहरू शान्ति शान्ति भन्दै कराइरहेका छन्, त्यसबारे तर्कवितर्क गरेका छन् र सयौं शान्ति सन्धिहरूमा हस्ताक्षर गरेका छन्। त्यसको परिणाम? गत ८० वर्षभित्र राष्ट्र वा समूहले युद्ध नगरेको प्रायः कुनै क्षण नै छैन। स्पष्टतया, मानिसजातिले शान्ति पाउने कुरा त बालुवाको घर बनाउनु जस्तै भएको छ। अब प्रश्न उठ्छ, विश्वभरि शान्ति ल्याउन मानिसजातिको सम्पूर्ण प्रयास किन खेर गएको र मानिसले चिरकालीन साँचो शान्ति कायम गर्न किन नसकेको?
५. शान्तिको लागि मानिसजातिका प्रयासहरू किन घरीघरी असफल भएका छन्?
५ यसको सरल जवाफ हो, मानिसजातिले साँचो शान्तिको सही स्रोतपट्टि आँखा चिम्लेका छन्। शैतान अर्थात् दियाबलको लोलोपोतोमा परेर मानिसहरूले संगठनहरू बनाएका छन् र ती मानिसहरूकै कमजोरी र दुर्गुणहरू अर्थात् लोभ, लक्ष्य अनि शक्ति तथा मर्यादा प्राप्त गर्ने तीव्र इच्छाको घेराभित्र ती संगठनहरू निस्सासिन्छन्। ती मानिसहरूले उच्च शिक्षा हासिल गरेर अरूको लागि उज्ज्वल भविष्यको बाटो देखाउने संगठन र सर-सल्लाह दिने संस्थाहरू स्थापित गरेका छन् तर त्यसको साथसाथै तिनीहरूले थिचोमिचो र विनाशको अझ धेरै मूलहरू पनि फुटाएका छन्। कुन स्रोततिर मानवजाति डोरिएका छन्? तिनीहरूले कतातिर दृष्टि घुमाएका छन्?
६, ७. (क) राष्ट्र संघले कस्तो नाउँ कमायो? (ख) संयुक्त राष्ट्र संघको चाहिं कस्तो नाउँ चलेको छ?
६ सन् १९१९ मा राष्ट्रहरूले साँचो शान्ति स्थापित गर्नको लागि राष्ट्र संघमाथि भरोसा राखे। तर सन् १९३५ मा मुसोलिनीले इथियोपियामाथि चढाइ गर्दा र सन् १९३६ मा स्पेनमा गृहयुद्ध सुरु हुँदा त्यो आशा चकनाचूर भयो। सन् १९३९ मा दोस्रो विश्वयुद्धको गर्जनसितै त्यो संघ निस्क्रिय भयो। तथाकथित त्यो शान्ति २० वर्ष पनि टिकेन।
७ संयुक्त राष्ट्र संघबारे नि के भन्न सकिन्छ? के यसले विश्वभरि चिरकालीन शान्तिको साँचो आशा दिएको छ? अहँ, दिएको छैन। सन् १९४५ मा यो स्थापित भएदेखि यता लगभग १५० भन्दा बढी युद्ध तथा सशस्त्र झैझगडाहरू भएका छन्! त्यसैले, युद्ध र यसको सुरुआतबारे शोधकार्य गरिरहेका क्यानाडावासी ग्विन डायरले संयुक्त राष्ट्र संघलाई “साधुहरूको समूह नभई शिकारीहरूको संगठनबाट बनेका शिकार जुटाइदिने व्यक्तिहरू र मुखले मात्र बखान गर्ने शक्तिहीन संस्था” भनेर वर्णन गर्नु कुनै अचम्म होइन।—तुलना गर्नुहोस्, यर्मिया ६:१४; ८:१५.
८. राष्ट्रहरूले शान्तिबारे कुरा गरे तापनि के गरिरहेका छन्? (यशैया ५९:८)
८ राष्ट्रहरूले शान्तिको बखान गरेर मात्रै के गर्ने, तिनीहरूले नै हातहतियारको आविष्कार र उत्पादन गर्न छाडेका छैनन्। शान्ति बैठक सम्मेलनहरू प्रायोजन गर्ने राष्ट्रहरूले नै हातहतियार उत्पादन गर्छन्। यी देशहरूमा व्यापारबाट अत्यधिक लाभ हुने हुनाले जीवनघातक अस्त्र-शस्त्रहरूको उत्पादनलाई यी देशहरूले बढाउँछन्। यसमा जमीनमुनि बिछ्याउने खतरनाक विस्फोटक वस्तु पनि समावेश छन्, जसले हरेक वर्ष लगभग २६,००० गैरसैनिक वयस्क तथा केटाकेटीको ज्यान लिन्छ वा अंगभंग गर्छ। लोभ र भ्रष्टाचारले गर्दा नै यस्ता घटनाहरू हुन्छन्। घूस र अवैध कारोबारबाट पाइने हिस्सा अन्तरराष्ट्रिय हातहतियार व्यापारको मुख्य भाग हो। कतिपय राजनीतिज्ञहरू यसै स्रोतबाट धनी बनेका छन्।
९, १०. संसारका विशेषज्ञहरूले युद्ध र मानव प्रयासहरूबारे के अवलोकन गरेका छन्?
९ शान्तिको लागि नोबेल पुरस्कार विजेता तथा पोल्याण्डका भौतिकशास्त्री युजेफ रोटब्ल्याटले सन् १९९५, डिसेम्बरमा राष्ट्रहरूलाई हातहतियारको होडबाजी अन्त गर्न आह्वान गरे। तिनले भने: “[हातहतियारको नयाँ होडबाजीलाई] रोक्ने एउटै तरिका हो, युद्धलाई पूर्णतया ठप्प बन्द गर्नु।” के तपाईंलाई यस्तो गर्न सकिन्छ जस्तो लाग्छ? सन् १९२८ देखि यता ६२ राष्ट्रहरूले युद्धलाई मतभेद हटाउने तरिकाको रूपमा स्वीकार्दै केल्लग-ब्राइण्ड सन्धिप्रति औपचारिक समर्थन जनाए। त्यो सन्धि व्यवहारिक रूपमा उपयोगी भएन भनेर दोस्रो विश्वयुद्धले प्रष्टै देखायो।
१० निस्सन्देह, युद्ध नै मानव प्रगतिको अवरोधक भएको छ। ग्विन डायरले लेखेझैं, “मानव सभ्यताको केन्द्रबिन्दु युद्ध हो र यो मानव सभ्यतासँगै सुरु भएको छ।” हो, प्रत्येक सभ्यताको खुड्किलो र साम्राज्यमा सैनिक शूरवीरहरू, मर्यादित सैनिक बल, प्रसिद्ध युद्धहरू, अति पवित्र कहलिएका सैनिक प्रतिष्ठानहरू हुनुका साथै हातहतियारको सारा ढेर थुप्रेका थिए। तथापि, अरू शताब्दीभन्दा हाम्रो शताब्दीमा झन् विनाशकारी र जीवनघातक युद्धहरू लडिएका छन्।
११. शान्तिको खोजी गर्दा संसारका नेताहरूले कुन आधारभूत कुराहरूलाई बेवास्ता गरेका छन्?
११ यसबाट के कुरा स्पष्ट हुन्छ भने, संसारका नेताहरूले यर्मिया १०:२३ को आधारभूत बुद्धिलाई बेवास्ता गरेका छन्: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” परमेश्वरलाई बेवास्ता गरेर साँचो शान्ति पाउन सकिंदैन। तर के यसको अर्थ कुनै पनि सभ्य समाजमा युद्ध अपरिहार्य छ भनेको हो त? के त्यसोभए साँचो शान्ति सार्थक हुनै नसक्ने सपना मात्र हो?
मूल कारण पत्ता लगाउने
१२, १३. (क) युद्धको मुख्य अदृश्य कारणलाई बाइबलले कसरी प्रकट गर्छ? (ख) कसरी शैतानले संसारका समस्याहरूको वास्तविक समाधानबाट मानिसहरूको ध्यान हटाएको छ?
१२ उपरोक्त प्रश्नहरूको जवाफ पाउन हामीले युद्धका कारणहरू बुझ्नुपर्छ। विद्रोही स्वर्गदूत अर्थात् शैतान नै सुरुको “हत्यारा” र “झूट” हो अनि “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनेर बाइबलले स्पष्ट बताउँछ। (यूहन्ना ८:४४; १ यूहन्ना ५:१९) आफ्नो चर्तिकलालाई उक्साउन त्यसले के के गरेको छ? हामी २ कोरिन्थी ४:३, ४ मा यस्तो लेखिएको पाउँछौं: “तर हाम्रो सुसमाचारमा पनि घुम्टो लागेको छ भने, यो नष्ट हुनेहरूका निम्तिनै घुम्टो लागेको हुन्छ। जसमा ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस् भनेर यस संसारको देवले अविश्वासीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिएको छ।” संसारका समस्याहरू समाधान गर्ने परमेश्वरको राज्यबाट मानिसजातिको ध्यान हटाउन शैतानले हर प्रयास गर्छ। मानिसहरूबीच फाटो ल्याउने सामाजिक, राजनैतिक र धार्मिक विवादहरू खडा गर्दै शैतानले तिनीहरूको आँखामा घोडालाई जस्तै पट्टि बाँधेर महत्त्वपूर्ण कुराबाट ध्यान हटाइदिएको छ। त्यसैकारणले ती कुराहरू परमेश्वरको उपासनाभन्दा निकै महत्त्वपूर्ण देखिन्छन्। हालै चलिरहेको राष्ट्रियताको आँधी यसको एउटा उदाहरण हो।
१३ शैतान अर्थात् दियाबलले राष्ट्रिय तथा जनजातीय भावना अर्थात् तेरो राष्ट्रभन्दा मेरो राष्ट्र वा तेरो जातिभन्दा मेरो जाति ठूलो भन्ने मनोवृत्तिलाई सकेसम्म उक्साउँछ। शताब्दीयौंसम्म वास्तै नगरिएको गहिरो जरा गाडेको घृणा अब युद्ध र झै-झगडालाई अझ चर्काउन फेरि जुर्मुराउन थालिरहेको छ। युनेस्कोका महानिर्देशक फेडेरीको मायोरले यस्तो झुकाउबारे यसरी चेताउनी दिए: “मेलमिलापका साथ सहनशीलता कायम गरिरहेका देशहरूमा समेत विदेशीहरूप्रति डरको भावना राखिएको स्पष्ट देखिंदैछ र विगतका पुराना कुराजस्तो लाग्ने अत्यधिक पक्षपाती वा जातीय भावना राख्नेहरूको भनाइ घरीघरी सुनिंदैछ।” परिणाम? पहिलाको युगोस्लाभियामा भीषण संहार भयो र रूवाण्डामा जातीय रक्तपात मच्चियो। यी दुइटै परिणामहरू विश्वभरिको मुख्य समाचार बनेको छ।
१४. प्रकाश ६:४ ले हाम्रो समयको युद्ध र त्यसको प्रभावलाई कसरी चित्रण गर्छ?
१४ बाइबलले यस रीतिरिवाजको अन्तको समयबारे अगमवाणी गरेको थियो। युद्धलाई चित्रित गर्ने उज्ज्वल घोडा पृथ्वीभरि दौडनेछ भनेर यसले बताएको थियो। हामी प्रकाश ६:४ मा यस्तो लेखिएको पाउँछौं: “अर्को एउटा उज्ज्वल घोड़ा निस्केर आयो, र एउटाले अर्कोलाई काटमार गराई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार त्यस घोड़ामाथि चढ़नेलाई दिइयो, र तिनलाई एउटा ठूलो तरवार दिइयो।” सन् १९१४ देखि यस प्रतीकात्मक घोडचढीले “शान्ति हरण” गरेको अनि राष्ट्रहरू लगातार युद्धमा होम्मिरहेको हामीले देखिरहेका छौं।
१५, १६. (क) युद्ध र हत्याहरूमा धर्मले कस्तो भूमिका निर्वाह गरेको छ? (ख) धर्महरूको क्रियाकलापप्रति यहोवा कस्तो दृष्टि राख्नुहुन्छ?
१५ यी युद्ध र हत्याहरूमा धर्मले निर्वाह गरेको भूमिकाप्रति आँखा चिम्लिनु पटक्कै मिल्दैन। मानव इतिहास रक्तपातले रंगिनुको मुख्य कारण कुबाटोमा डोऱ्याउने झूटो धर्मको प्रभावलाई मान्न सकिन्छ। क्याथोलिक धर्मविद् हान्स कुन्जले लेखे: “[धर्महरू] नकारात्मक र विनाशकारी तरिकाले युद्धहरूमा मुछिएका छन् र अहिले पनि त्यसै गरिरहेका छन् भन्ने कुरामा दुइ मत छैन। वास्तवमा यति धेरै भिडन्त र रक्तपातको दोषी ‘धार्मिक कहलिएका युद्धहरू’ हुन्; . . . र यो कुरा दुइ विश्वयुद्धमा पनि देख्न सकिन्छ।”
१६ हत्या र युद्धहरूमा झूटो धर्मको सहभागितालाई यहोवा परमेश्वरले कुन दृष्टिले हेर्नुहुन्छ? परमेश्वरले झूटो धर्मलाई दोषी ठहराउनुभएको कुरा प्रकाश १८:५ मा यसरी लिपिबद्ध गरिएको छ: “त्यसका पाप स्वर्गसम्मै चुल्लिएका छन्, र परमेश्वरले त्यसका अधर्म सम्झनुभएको छ।” झूटो धर्मले संसारका राजनैतिक शासकहरूसित मितेरी गाँसेको परिणामस्वरूप रक्तपात मच्चिनुका साथै पापको घडा भरिएको छ। परमेश्वरले यी कुराहरूप्रति अवश्य आँखा चिम्लनुहुन्न। साँचो शान्तिमा बाधा बन्ने यो कुरालाई उहाँले चाँडै नामोनिसान नरहनेगरि हटाउनु हुनेछ।—प्रकाश १८:२१.
शान्तितर्फको मार्ग
१७, १८. (क) चिरकालीन शान्ति सम्भव छ भनेर विश्वास गर्नु किन सपनामा महल सजाउनुजस्तो मात्र होइन? (ख) साँचो शान्ति अवश्य हुनेछ भनेर पक्का गर्न यहोवाले के गरिसक्नुभएको छ?
१७ संयुक्त राष्ट्र संघजस्ता संगठनहरूको माध्यमद्वारा मानिसहरूले साँचो र चिरकालीन शान्ति ल्याउन सक्तैनन् भने, कुन स्रोतबाट साँचो शान्ति आउला त? र आयो भने कसरी आउला? चिरकालीन शान्ति सम्भव छ भनेर विश्वास गर्नु के सपनामा महल सजाउनुजस्तै हो? शान्तिको साँचो स्रोततिर दृष्टि लगायौं भने यो असम्भव छैन। अनि ती स्रोत को हुनुहुन्छ? यसको जवाफ दिंदै भजन ४६:९ ले हामीलाई भन्छ, यहोवाले “पृथ्वीको अन्तसम्मै . . . युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।” अनि यहोवाले युद्धहरू अन्त गर्न र साँचो शान्ति स्थापित गर्न पाइला चालिसक्नुभएको छ। कसरी? सन् १९१४ मा ख्रीष्ट येशूलाई उहाँको हकको राजसिंहासनमा राख्नुभएर अनि शान्तिको लागि मानव इतिहासको सबैभन्दा महान् शैक्षिक अभियानलाई अघि बढाउनुभएर। यशैया ५४:१३ का भविष्यसूचक शब्दहरूले हामीलाई यस्तो आश्वासन दिन्छन्: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।”
१८ यो भविष्यवाणीले कारण र परिणामको सिद्धान्तलाई देखाउँछ। त्यो हो, प्रत्येक परिणामको कारण छ। यस भविष्यवाणीले बताएअनुसार यहोवाले सिकाउनुको कारण युद्धप्रेमी मानिसलाई परमेश्वरसित शान्तिमा बस्ने शान्तिप्रिय मानिस बनाउनु हो। त्यसको परिणामस्वरूप, हृदय बदलिएर मानिसहरू शान्तिप्रिय बन्छन्। लाखौंले “शान्तिका राजकुमार” अर्थात् येशू ख्रीष्टको उदाहरण अनुसरण गरिरहेका छन्, यसरी मानिसको हृदय र मन परिवर्तन गर्ने यो शिक्षा संसारभरि फैलिरहेको छ।—यशैया ९:६.
१९. येशूले साँचो शान्तिबारे के सिकाउनुभयो?
१९ येशूले साँचो शान्तिबारे के सिकाउनुभयो? साँचो शान्ति भनेको राष्ट्रहरूबीचको शान्ति मात्र होइन तर मानिसहरूको सम्बन्धमा शान्ति र असल अन्तस्करणद्वारा उत्पन्न हुने आन्तरिक शान्ति हो भनेर उहाँले भन्नुभयो। यूहन्ना १४:२७ मा येशूले आफ्ना चेलाहरूलाई भन्नुभएका शब्दहरू यस्तो छ: “शान्ति म तिमीहरूको निम्ति छोड़दछु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तो ता मैले तिमीहरूलाई दिने होइन। तिमीहरूको हृदय नता विचलित होस्, न भयभीत होस्।” येशूले भन्नुभएको शान्ति संसारको शान्तिभन्दा कसरी बेग्लै थियो?
२०. येशूले कुन माध्यमद्वारा साँचो शान्ति ल्याउनुहुनेछ?
२० प्रथमतः, येशूले भन्नुभएको शान्ति र उहाँको राज्य सन्देशको सम्बन्ध नङमासुजस्तै छ। आफू र आफ्ना १,४४,००० सहशासकहरूद्वारा बनेको स्वर्गीय सरकारले युद्ध र युद्ध मच्चाउनेहरूको अन्त गर्नेछ भनेर उहाँलाई थाह थियो। (प्रकाश १४:१, ३) त्यस सरकारले यस पृथ्वीलाई शान्तिमय प्रमोदवनरूपी अवस्थामा परिणत गर्नेछ भनेर येशूलाई थाह थियो। त्यही प्रमोदवनको विषयमा उहाँले उहाँसित उहाँकै छेउमा मर्न लागेको कैदीलाई बताउनुभएको थियो। येशूले तिनलाई स्वर्गीय राज्यबारे बताउनुभएको थिएन तर उहाँले यसो भन्नुभयो: “म तिमीलाई साँच्चै भन्दछु आजै, तिमी मसित स्वर्ग-लोकमा [“प्रमोदवन,” NW] हुनेछौ।”—लूका २३:४३.
२१, २२. (क) साँचो शान्तिमा कुन अद्भुत आशा समावेश छ? (ख) त्यो आशिष् देख्न हामीले के गर्नैपर्छ?
२१ येशूमा विश्वास गर्ने पीडित मानिसहरूलाई उहाँको राज्यले आराम दिनेथियो भनेर पनि उहाँलाई थाह थियो। उहाँले भन्नुभएको शान्तिमा पुनरुत्थानको अद्भुत आशा समावेश छ। यूहन्ना ५:२८, २९ मा लिपिबद्ध उहाँका प्रोत्साहनदायी शब्दहरूको स्मरण गर्नुहोस् त: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरू चाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्।”
२२ के तपाईं त्यो समयको प्रतीक्षामा हुनुहुन्छ? के तपाईंका प्रियजनहरूको मृत्यु भएको छ? के तपाईं तिनीहरूलाई फेरि भेट्न चाहनुहुन्छ? त्यसो हो भने, येशूले दिनुहुने शान्ति ग्रहण गर्नुहोस्। लाजरसकी दिदी मार्थाले जस्तो विश्वास गर्नुहोस्, जसले येशूलाई यसो भनेकी थिइन्: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” तर येशूले मार्थालाई दिनुभएको प्रोत्साहनदायी जवाफलाई ध्यान दिनुहोस्: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन। के तिमी यो विश्वास गछ्र्यौ?”—यूहन्ना ११:२४-२६.
२३. साँचो शान्ति प्राप्त गर्न परमेश्वरको वचनको सही ज्ञान लिनु किन अत्यावश्यक छ?
२३ तपाईं पनि त्यो प्रतिज्ञामा विश्वास गरेर लाभ उठाउन सक्नुहुन्छ। कसरी? परमेश्वरको वचनको सही ज्ञान लिएर। प्रेरित पावलले सही ज्ञानको महत्त्वलाई कसरी जोड दिनुभयो, ध्यान दिनुहोस् त: “हामीले पनि तिमीहरूका निम्ति प्रार्थना र बिन्ती गर्न छोड़ेका छैनौं, हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै परमेश्वरको ज्ञानमा बढ़दै” जाऊ। (कलस्सी १:९, १०) यहोवा परमेश्वर नै साँचो शान्तिको स्रोत हुनुहुन्छ भनेर यही सही ज्ञानले तपाईंलाई विश्वस्त बनाउनेछ। अब तपाईंले गर्नुपर्ने कुरा के हो, त्यो पनि यसले बताउनेछ ताकि तपाईं पनि भजनरचयिताका यी शब्दहरूसित सहमत हुन सक्नुहुन्छ: “शान्तिमा म पल्टूँला र निदाऊँला; किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित रहनदिनुहुन्छ।”—भजन ४:८.
[पृष्ठ ८-मा भएका चित्र]
साँचो शान्ति सपना होइन। यो परमेश्वरको प्रतिज्ञा हो
[पृष्ठ १०-मा भएका चित्र]
सन् १९१४ देखि प्रतीकात्मक उज्ज्वल घोडाले पृथ्वीबाट शान्ति हरण गरेको छ
[पृष्ठ ११-मा भएका चित्र]
के धर्म र संयुक्त राष्ट्र संघले शान्ति ल्याउनसक्छ?
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ शान्तिको लागि मानिसजातिले गरेका प्रयासहरू किन घरीघरी असफल भएका छन्?
◻ युद्धको मूल कारण के हो?
◻ चिरकालीन शान्ति किन सपनामा महल सजाउनुजस्तो मात्र होइन?
◻ साँचो शान्तिको स्रोत के हो?
[स्रोत]
UN तस्बिर