प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 १/१ पृ. ४
  • हामीलाई एउटा नया संसार चाहिएको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीलाई एउटा नया संसार चाहिएको छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • युद्धले आफ्नो अनुहार फेरेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • जीवनमा यति धेरै समस्याहरू किन?
    जीवनमा यति धेरै समस्याहरू किन?
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 १/१ पृ. ४

हामीलाई एउटा नया संसार चाहिएको छ

अलिकता टाढ़ाबाट, तपाईंका वरिपरि भएका परिस्थितिहरूलाई हेर्नु होस्‌। तपाईं जे देख्नु हुन्छ, के तपाईंलाई त्यो मन पर्छ?

शायद, व्यक्‍तिगत रूपमा, कुनै एउटा मनोरम र सफा-सुग्घर इलाकामा तपाईंको घर छ होला। शायद तपाईंलाई मन पर्ने र राम्रो तलब पाउने तपाईंको जागिर पनि होला। साथै, तपाईं र तपाईंका प्रिय जनहरूको स्वास्थ्य पनि केही हदसम्म राम्रै होला। साधारणतया, तपाईं प्राय सापेक्षिक तौरमा आफूलाई सुरक्षित र सुखी ठान्‍नु हुन्छ होला।

तर अन्य अरू छिमेकका इलाकाहरू, तपाईं बस्नु भएको देशका अन्य भागहरू र अरू मुलुकहरूको विषयमा सोच्नु होस्‌। सारा संसारलाई हेर्नु होस्‌। के तपाईं एउटा सुन्दर दृश्‍य देख्नु हुन्छ? के यो वास्तवमा एउटा सन्तोष, शान्ति र सम्पन्‍नताको दृश्‍य हो?

यस शताब्दीमा केही समय अघि गरिएका कुनै कुनै अग्रिमवाणीहरू अनुसार, विज्ञानले आजसम्म त सबै ठूला-ठूला रोगहरूको उन्मूलन, सबैका लागि प्रशस्त मात्रामा खाने कुराको प्रबन्ध, वातावरणमा स्थिरता र सुधार र एउटा शान्तिको युगको सुरूआत गरी सकेको हुनुपर्ने हो। तर वास्तवमा के त्यो भएको छ?

शान्ति हाम्रो ग्रहबाट उम्केको कुरा बुझ्नका लागि धेरै जाँचपड़ताल गरिरहने आवश्‍यकता पर्दैन। स्टेट अफ दी वर्ल्ड १९९० मा माइकल रेनरले लेखेका छन्‌: “बाइबलका समयहरू देखिन्‌, मानिसहरूलाई आफ्नो तरवार पिटेर हलोको फाली बनाउने प्रोत्साहन दिंदै आइएको छ। यो सुझाव पहिले भन्दा आज अति नै उपयुक्‍त छ। निरन्तर सैनिक शक्‍तिको पछि लाग्नाले मानव जातिलाई सर्वनाशको छेउसम्म पुऱ्‍याएको छ।”

पृथ्वीभरि, यतिका धेरै देशहरूलाई भुस्कुट पारि दिने गृह-कलह र युद्धहरूको समाचार जता-ततै सुनिन्छ। एउटा स्रोत अनुसार, १९८८ मा २२ वटा युद्धहरू अझै चलिरहेका थिए।a ती युद्धहरूमा कति जना मरे? त्यो साल सम्म र त्यो साल लगायत, “१९८८ मा लड़िएका युद्धहरूमा मारिने मानिसहरूको कुल सङ्‌खया ४,६४५,००० थियो। यसरी मारिनेहरूमा ७६ प्रतिशत मानिसहरू साधारण नागरिकहरू थिए,” भनी सन्त लुवी पोस्ट-डिस्पेचमा दिइएको छ।

वर्तमान विश्‍व घटनाहरूले के एउटा शान्तिमय संसार अगाड़ि आउनेछ भनी सङ्‌केत दिन्छ? संयुक्‍त राष्ट्र अमेरीका, केलिफरनियाको सान होसे मरक्युरी न्युज भन्छ: “शीत युद्ध कम हुँदै गएको छ र शान्तिले अब मौका पाउने छ भन्‍ने हल्ला सुनिन्छ। तर राम्रोसँग फेरि हेर्नु होस्‌, तेस्रो विश्‍वमा, युद्धहरू मची नै रहेका छन्‌ र समाधानको आशा थोरै मात्र छ। विश्‍वका यी लुकेका युद्धहरू हुन्‌। धेरै जसो यी त्यस प्रकारका कलहहरू हुन्‌ जहाँ सरकारहरू आफ्नै जनताका विरुद्धमा जाइ लाग्छन्‌: जग्गा, धर्म, जात-पातका भिन्‍नताहरू, राजनैतिक शक्‍ति र मादक पदार्थहरू जस्ता विषयहरूलाई लिएर हुने यी रक्‍तपातपूर्ण गृह-संघर्षहरू हुन्‌। . . . अफ्रिकाको पूर्वीय टुप्पो देखिन्‌ दक्खिन-पूर्वीय एशिया सम्म, युद्धको कारण, लाखौं मानिसहरू आफ्ना घरहरूबाट भाग्न बाध्य भएका छन्‌। खेतहरूमा बीउ छर्ने काम हुँदैन, स्वास्थ्य-सेवा केन्द्रहरूमाथि आक्रमण गरिन्छ, गाई-वस्तुहरू नष्ट गरिन्छ—आफ्नै छोरा-छोरीका सामुन्‍ने आमा-बाबुहरूको क्रूरतासाथ हत्या गरिन्छ, १० वर्ष पुगेका केटाहरूलाई पहिले भरिया र त्यस पछि सिपाही बनाइन्छ, जवान केटीहरूलाई बलात्कार गरिन्छ। यी धेरै जसो यादै नगरिएका देशहरूमा, युद्धले विध्वंस र अव्यवस्थाको डाम छाड़ेको छ, जसबाट यी समाजहरूले शायद फेरि कहिले पनि पूर्णतया उद्धार पाउन सक्ने छैनन्‌ . . . अनुसन्धान अनुसार, १९८० को दशकले भन्दा बढ़ी युद्धहरू इतिहासमा अरू कुनै पनि दशकले देखेको छैन।”

कोही चाहिं अझ विकसित देशहरूमा भागेर जान्छन्‌। तर त्यहाँको हिंसात्मक अपराधको खतराको कारण तिनीहरूले खोजेको शान्ति चूर-चूर भएको छ। यु. एस. न्युज एन्ड वर्ल्ड रिपोर्टको खबर अनुसार, “[संयुक्‍त राष्ट्र अमेरीकामा] अपराधको हमला कम हुनेछ भनी गरिएका अग्रिमवाणीहरूको विपरीत, १९८० को दशकभरि अपराधको आक्रमण कायम छ। कुनै पनि सालमा, साधारणतया ८१ लाख हत्या, कुट-पीट र चोरी जस्ता घोर अपराधहरू हुन्छन्‌। . . . तर रक्‍तपात यति व्याप्त र आकस्मिक भएको देख्नु चाहिं सबै भन्दा पीड़ाजनक कुरा भएको छ। एक अर्कालाई शिकार पार्ने चलन, कहिले निको नहुने रोग जस्तै भइरहेको छ। संयुक्‍त राष्ट्र अमेरीकाको न्याय सम्बन्धी तथ्याङ्‌कले लगाएको अनुमान अनुसार, अपराधको गति यस्तै रह्‍यो भने, आज १२ वर्ष पुगेका ८३ प्रतिशत केटा-केटीहरू हिंसा अथवा हिंसाको प्रयासका शिकार हुनेछन्‌ . . .। समाजका अपराधीहरूलाई सजाय न तुरुन्त न त निश्‍चित रूपमा दिइन्छ। राष्ट्रभरि, प्रहरीले ५ वटा घोर अपराधहरू मध्ये एउटाको मात्र समाधान गर्न सकेका छन्‌।” यस्तै प्रकारको परिस्थिति विश्‍वभरि पाइन्छ। संयुक्‍त राष्ट्र संघको साधारण सभाको रिपोर्ट अनुसार, “संसारका धेरै भागहरूमा अपराधको परिमाण र क्रूरता, दुवैमा वृद्धि भएको छ।”

तर सबै युद्ध, हात-हतियार र अपराध पृथ्वीबाट तुरुन्त गायब भएता पनि, जीवन अझै खतरायुक्‍त नै रहनेछ। “महा दरिद्रता, व्यापक रोग र विस्तृत निरक्षरता अविकसित देशहरूमा बस्ने लाखौं मानिसहरूका जीवनको क्रम भइ सकेको छ” भनेर वर्ल्ड वाच इनष्टीच्युटले स्टेट अफ दी वर्ल्ड १९९० ले रिपोर्ट दिएको छ। “सारा मानव जातिले—धनी होस्‌ वा गरीब, सैन्य रूपमा शक्‍तिशाली होस्‌ वा कमजोर—वातावरणको अपूर्व ध्वंसको छायाको सामना गरिरहेको छ।”

हो, सारा मानव-जाति भरपर्ने जीवन टिकाउका प्रबन्धहरूलाई नै भित्र-भित्रैबाट कमजोर पारिंदैछन्‌। डिस्कवर पत्रिकामा, सम्पादक पावल होफमान लेख्छन्‌, “[१९७० मा भन्दा] आज सारा पृथ्वी धेरै नै खराब अवस्थामा छ। फोहर पुर्ने खाल्टाहरू पनि अब अँटाइ-नअँटाइ भइ सक्यो। वातावरणलाई दूषित पार्ने ग्यासहरूको कारण वायुमंडलको ताप बढ़दो छ। पृथ्वी ग्रहमाथि भएको रक्षात्मक ओजोन ग्यासको तह पातलो हुँदैछ। मरूभूमिहरू फैलिंदै छन्‌ र प्रशस्त मात्रामा वर्षा हुने जङ्‌गलहरू घट्‌दै छन्‌। विभिन्‍न जातका बाली-बिरुवा र जनावरहरू, प्रति घण्टा १७ वटाको दरमा अस्तित्वहीन हुँदैछन्‌।”

यी सबै कुरा बाहेक, जमीन र पानी निरन्तर प्रदूषित पारिएको परिणाम थप्नु होस्‌। साथै, बढ़दो जनसङ्‌खयाको कारण, बढ़ी मात्रामा उत्पादक जमीन माथि घरहरू अथवा सड़कहरू बनाइँदैछन्‌ जसले गर्दा, विभिन्‍न जातका जनावर र बाली-बिरुवाहरूको नाश पनि बढ़दो छ। ताजा पानीका स्रोतहरूको अभाव र तेजाबी वर्षाको समस्यालाई विचार गर्नु होस्‌। यस माथि थप्नु होस्‌, अति नै दूषित हावा र हानिकारक फोहरहरूको कारण स्वास्थ्यमाथि पर्ने खतरनाक असर। यी सबैको अर्थ मानव जातिको सर्वनाश हो। हामी जो भए तापनि, जहाँ बसेको भएता पनि, हामीलाई आफ्नो अस्तित्वका लागि, हावा, खाने-कुरा, पानी र कच्चा पदार्थहरू चाहिन्छ। यी कुराहरू हामीलाई शुद्ध रूपमा र प्रशस्त गरी चाहिन्छन्‌। अहिले नै, स्टेट अफ दी वर्ल्ड १९९० अनुसार, “असीको दशक, गरीब मानिसहरूका लागि अपुग खाने कुरा र बढ़दो मृत्यु सङ्‌खयाको समय, अर्थात्‌ शमन नगरिएको एउटा दुर्घटना थियो।”

मानव परिवार माथि, यतिका विभिन्‍न तरिकाहरूबाट खतराहरू आइ परेको देख्दा, एउटा नया संसारको अति नै आवश्‍यकता छ भन्‍ने कुरा के कसैले इन्कार गर्न सक्छ र? तर के त्यो एउटा वास्तविक सम्भावना हो र? त्यस प्रकारको एउटा संसार कुन स्रोतबाट आउने हो? हाम्रो ग्रह वास्तवमा सुरक्षित हुन र सप्रनका लागि कुन कुन वाधाहरू हटाइनु पर्नेछ? हामी अब हेरौं। (w10/1/90)

[फुटनोटहरू]

a “युद्धको” परिभाषा यस प्रकार गरिएको छ: एउटा झगड़ा जसमा कमसेकम एउटा सरकार विथोलित हुन्छ र जसले गर्दा एक सालमा कम्तीमा पनि १,००० मानिसहरू मारिन्छन्‌।

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

WHO photo by P. Almasy

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने