उच्च अख्तियारवालाहरूको भूमिका
“किनभने असलै कामको लागि तिनी तिम्रो लागि परमेश्वरका सेवक हुन्। तर तिमीले खराब काम गऱ्यौ भने डराऊ।”—रोमी १३:४.
१, २. मसीही जगतका धेरै मानिसहरूले कसरी क्रान्तिमा भाग लिएका छन्?
दुई वर्ष अघि लन्डनमा भएको विशपहरूको भेलालेगर्दा न्यु योर्क पोस्टमा एउटा रोषयुक्त सम्पादकीय छापियो। त्यो भेला हुवाई लाम्वेथ कनफरेन्स थियो जहां ५०० भन्दा बढी एङ्गलिकन मतका विशपहरू उपस्थित थिए। “अन्य अरू सबै उपायहरू नाकाम भए पछि, न्याय पाउनका लागि एक मात्र सशस्त्र सङ्घर्षको बाटो छान्ने मानिसहरू प्रति” त्यस भेलामा सहानुभूतिको प्रस्ताव पास भएको हुनाले, त्यो रोष व्यक्त गरिएको थियो।
२ पोस्ट अनुसार, त्यस प्रकारको प्रस्तावले, वास्तवमा, आतङ्कलाई अनुमोदन गर्दछ। तथापि, विशपहरू आजको बढ़दो प्रवृत्तिलाई अनुसरण मात्र गरिरहेका थिए। तिनीहरूको मनोवृत्ति घानाका क्याथोलिक पादरी भन्दा कुनै फरक थिएन, जसले अफ्रिकाको छुटकाराका निम्ति सबै भन्दा छिटो, निश्चित, र सुरक्षित उपाय गुरिल्ला लड़ाइँनै हो भनी सिफारिस गरेकाथिए। अथवा, “स्वतन्त्रताकालागि अन्तिम दमसम्म सङ्घर्ष गर्ने” भनी शपथ खाने अफ्रिकी मेथोडिस्ट विशप, वा एशिया, र दक्षिण अमेरिकामा स्थापित सरकारहरूका विरुद्धमा विद्रोहीहरूसँग मिलेर सङ्घर्ष गर्ने मसीही जगतका धेरै धर्मप्रचारकहरूका जस्तै मनोवृत्ति तिनीहरूले व्यक्त गरिरहेका थिए।
साँचो मसीहीहरू ‘अख्तियारवालाको विरोध गर्दैनन्’
३, ४. (क) क्रान्तिलाई बढ़ावा दिने मसीही भनाउँदाहरूले कुन सिद्धान्तहरू भङ्ग गर्दैछन्? (ख) यहोवाका साक्षीहरूको विषयमा एक जना व्यक्तिले के थाहा लगाए?
३ पहिलो शताब्दीमा, आफ्ना चेलाहरूवारे येशूले भन्नुभयो: “तिनीहरू संसारका होइनन् जस्तो म होइन।” (यूहन्ना १७:१४) आफूलाई मसीही कहलाउने कसैले पनि क्रान्तिलाई सघाउ पुर्याउँछ भने त्यो निश्चय संसारको भाग हो। त्यो येशूको चेला होइन, नता त्यो “उच्च अख्तियारवालाहरूका अधीनमा बसेको हुनेछ।” (रोमी १३:१) त्यसताले प्रेरित पावलको यस चेताउनीलाई ध्यान दिएमा असल हुनेछ: “अख्तियारवालाको विरुद्धमा खड़ा हुनेले परमेश्वरको धार्मिक विधानको विरोध गर्दछ, औ जस जसले विरोध गर्दछन्, तिनीहरू आफैले दण्डको आज्ञा पाउनेछन्।”—रोमी १३:२.
४ मसीही जगतमा भएका धेरै मानिसहरू जस्ता न भएर, यहोवाका साक्षीहरू हात-हतियारसित कुनै सरोकार राख्दैनन्। एक जना मानिसले युरोपमा यो कुरा पत्ता लगाए। तिनले यसरी लेखेकाछन्: “धर्म र राजनीतिले ल्याएको फल देखेर, स्थापित सामाजिक व्यवस्थालाई भताभुङ्ग पार्नकालागि मैले आफूलाई समर्पण गरें। म एउटा आतङ्ककारी समूहमा सम्मिलित भएँ र सबै किसिमका हात-हतियारहरू चलाउने तालिम पाएँ; र मैले धेरै हतियारबन्द डकैतीहरूमा भागलिएँ। मेरो जीवन निरन्तर जोखिममा थियो। समय बित्दै जाँदा यो स्पष्ट भयो कि हामी एउटा जित्न नसक्ने युद्ध लड़िरहेका थियौं। म एउटा निरुत्साहित मानिस भएँ जसलाई आशारहित जीवनले घेरेको थियो। तब एक जना साक्षीले हाम्रो ढोका घच्घच्याइन्। तिनले मलाई परमेश्वरको राज्यवारे भनिन्। त्यो एउटा व्यर्थको कुरा लागेर मैले मेरी श्रीमतीलाई सुन्नु भनी सल्लाह दिएँ। उनले सुनिन् र गृह बाइबल अध्ययन शुरू भयो। अन्तमा अध्ययनमा उपस्थित हुन मपनि तयार भएँ। मानवजातिलाई दुष्ट्याइँतर्फ घचेटने शक्तिवारे जानकारी पाउँदा, जुन आराम अनुभव मैले गरें त्यसलाई म शब्दमा व्यक्त गर्न सक्तिन। राज्यको अद्भुत प्रतिज्ञाले मलाई बाँच्ने आशा र जीवनमा एउटा उद्देश्य दिएको छ।”
५. मसीहीहरू उच्च अख्तियारवालाहरूका अधीनमा शान्तिपूर्वक किन बस्दछन्, र कहिलेसम्म यसो हुनेछ?
५ मसीहीहरू परमेश्वर र ख्रीष्टका राजदूत वा प्रतिनिधिहरू हुन्। (यशैया ६१:१, २; २ कोरिन्थी ५:२०; एफिसी ६:१९, २०) तसर्थ, यस संसारका सङ्घर्षमा तिनीहरू तटस्थ रहन्छन्। कुनै राजनीतिक प्रणाली आर्थिक दृष्टिले अरू भन्दा बढ़ी सफल देखिएतापनि, अनि कुनैले अरूभन्दा बढ़ी स्वतन्त्रा दिएतापनि, मसीहीहरू कुनै एउटा प्रणालीलाई अर्को भन्दा उच्च ठान्दैनन् नता त्यसको सिफारिसनै गर्दछन्। तिनीहरूलाई थाह छ कि यी सबै प्रणालीहरू असिद्ध छन्। परमेश्वरको राज्य नआउञ्जेलसम्म यी प्रणालीहरू चलिरहनु “परमेश्वरको प्रबन्ध हो।” (दानियल २:४४) यसकारण, मसीहीहरू सुसमाचार प्रचार गरेर अरूको अनन्त भलाइका कामलाई अघि बढ़ाउँदै, अख्तियारवालाहरूका अधीनमा रहेर शान्तिपूर्वक बस्दछन्।—मत्ती २४:१४; १ पत्रुस ३:११, १२.
कानूनलाई मान्दै
६. “सारा संसार दुष्टका अधीनमा” रहेता पनि, किन धेरै जसा मानवीय कानूनहरू असलै हुन्छन्?
६ राष्ट्रिय सरकारहरूले कानुनी व्यवस्था स्थापित गर्दछन् र यी धेरै जसो कानूनहरू असल हुन्छन्। “सारा संसार त्यस दुष्टको अधीनमा परेको” हुनाले, के यो कुनै छक्क पर्ने कुरा हो? (१ यूहन्ना ५:१९) होइन! यहोवा परमेश्वरले हाम्रा शुरूका पुर्खा आदमलाई एउटा अन्तस्करण दिनु भएको थियो, र असल र खराब छुट्ट्याउन सक्ने त्यही जन्मजात चेतना मानवीय कानूनहरूमा झल्किन्छ। (रोमी २:१३-१६) प्राचीन बेबिलनका कानूनबेत्ता, हम्मुराबीले आफ्नो ऐनको किताबको भूमिकामा यसरी लेखे: “त्यस समयमा, म हम्मुराबी, धर्मपरायण, धर्मभीरु राजकुमारलाई राज्यमा न्यायको स्थापना गर्न, दुष्ट र खराबीलाई नाश गर्न, बलियोले कमजोरलाई दबाउन न दिन, र मानिसको भलाइमा बृद्धि गराउनको निम्ति मलाई छानेका थिए।”
७. कसैले कानून उल्लङ्घन गर्छ भने, त्यसलाई सजाय दिने अधिकर कसको हुन्छ र किन?
७ धेरैजसो सरकारहरूले भन्नेछन् कि तिनीहरूका कानूनहरूको उद्देश्य प्राय: एउटै हुन्छ, अर्थात् नागरिकहरूको भलाइ गर्नु र समाजमा राम्रो सुव्यवस्थाको बृद्धि गराउनु। त्यसकारण, तिनीहरूले हत्या, चोरी जस्ता असामाजिक कार्य गर्नेहरूलाई दण्ड दिन्छन्, र बाहनको गति सीमा र बाहन बिसाउने ठाउँ सम्बन्धी नियमहरू बनाउँछन्। जाना-जानी कसैले ती नियमहरू भङ्ग गर्छन् भने, त्यसले अख्तियारवालाको विरोध गरेको हुन्छ र त्यसले “दण्डको आज्ञा” पाउनेछ। दण्डको आज्ञा कसबाट? परमेश्वरबाटनै हुनु कुनै जरुरी छैन। यहाँ न्याय भनेर अनुवाद गरिएको युनानी शब्दले यहोवाबाट आउने न्याय भन्दा निजामती कार्यप्रणालीलाई सङ्केत गरेको हुनसक्तछ। (१ कोरिन्थी ६:७ सँग तुलना गर्नु होस्) कसैले गैर कानुनी काम गर्दछ भने, त्यसलाई दण्ड दिने अधिकार उच्च अख्तियारवालाको छ।
८. एउटा सदस्यले अपराध गऱ्यो भने, मण्डलीले उसमाथि कस्तो कारबाई गर्नेछ?
८ मानव अख्तियारवालाहरूको विरोध नगरेर यहोवाका साक्षीहरूले राम्रो नाउँ कमाएका छन्। यदि मण्डलीका कुनै सदस्यले कानून भङ्ग गर्छ भने, कानुनी दण्डबाट उम्कन उसलाई मण्डलीले मद्दत दिनेछैन। यदि कसैले चोर्छ, कर छल्छ, बलात्कार गर्छ, ठग्छ, लागू पदार्थ उपयोग गर्छ, या अन्य कुनै तरिकाले कानून भङ्ग गर्दछ भने, उसले मण्डलीबाट कड़ा अनुशासनको सामना गर्नु पर्ने छ—र सांसारिक अख्तियारवालाबाट दण्ड पाएमा उसले आफूलाई खेदोमा परेको महसुस गर्नु भएन।—१ कोरिन्थी ५:१२, १३ १ पत्रुस २:१३-१७, २०.
डरको एउटा प्रतीक
९. अराजक तत्त्वहरूले धम्काएमा यहोवाका साक्षीहरूले कुन बाटो अपनाउन उचित हुनेछ?
९ उच्च अख्तियारवालाहरूवारे छलफल जारी राख्दै पावल भन्छन्: “किनभने हरेक असल कामको निम्ति होइन, तर खराब कामको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी अख्तियारवालाको डर राख्न चाहन्नौ? असल काम गर, र तिनीहरूबाट तिमीलाई प्रशंसा मिल्नेछ।” (रोमी १३:३) वफादार मसीहीहरूले होइन, तर गलत काम गर्नेहरू, जसले ‘खराब कामहरू,’ अपराधपूर्ण कार्यहरू गर्दछन्, तिनीहरूले अख्तियारवालाबाट दण्ड पाउने डर राख्नु पर्दछ। त्यसप्रकारका अराजक तत्वहरूले धमकाउँदा, यहोवाका साक्षीहरूले अख्तियारवालाबाट प्रहरी वा सैनिक संरक्षण उचित ढ़ङ्गबाट स्वीकार गर्न सक्तछन्।—प्रेरित २३:१२-२२.
१०. यहोवाका साक्षीहरूले अख्तियारवालाबाट कसरी ‘प्रशंसा पाएका छन्’?
१० उच्च अख्तियारवालाको कानूनलाई मान्यता दिने मसीहीलाई पावल भन्दछन्: “यसबाट तिमीहरूले प्रशंसा पाउनेछौ।” उदाहरणकालागि, जिल्ला सम्मेलन पछि ब्राजिलका यहोवाका साक्षीहरूले पाएका केही पत्रहरूवारे विचार गर्नुहोस्। एउटा नगरपालिकाको खेलकुद विभागका अध्यक्षले यस प्रकार लेखेर पठाए: “तपाईंहरूको शान्तिपूर्ण व्यवहार साँच्चैनै प्रशंसनीय छ। आजको समस्यापूर्ण संसारमा यति धेरै मानिसहरूले अझै परमेश्वरमा विश्वास गर्दछन् र उहाँको उपासना गर्दछन् भनेर बुझ्न पाउँदा सान्त्वना मिल्दछ।” नगरपालिकाको रङ्गशालाका निर्देशकबाट यो सन्देश आयो: “यति धेरै जना उपस्थित हुँदा पनि त्यहाँ कुनै नराम्रो किसिमको घटना भएन, त्यसकालागि तपाईंको त्रुटिहीन संस्थालाई धन्यबाद छ।” नगरपालको कार्यालयबाट: “तपाईंहरूको सुव्यवस्थित र देख्दा अचम्म लाग्ने किसिमको स्वभाविक अनुशासनकालागि हामी तपाईंहरूलाई धन्यबाद दिन चाहन्छौं र भविष्यमा हुने तपाईंहरूका कार्यक्रमहरूको हर सफलताको कामना गर्दछौं।”
११. सुसमाचारको प्रचारलाई कुनै रीतिले पनि खराब काम भन्न किन सकिंदैन?
११ “असल काम” भन्नाले, उच्च अख्तियारवालाहरूका कानूनहरू अनुसार गरेका कामहरूलाई सङ्केत हुँदछ। साथै, मानिसले होइन, परमेश्वरले अह्राउनु भएको हाम्रो प्रचारको काम, कुनै खराब काम होइन भनेर राजनैतिक अख्तियारवालाहरूले स्वीकार गर्नु पर्दछ। यो एउटा जनसेवा हो जसबाट यसलाई ग्रहण गर्नेहरूको नैतिक सुधार हुन्छ। त्यसकारण, हामी यो आशा राख्दछौं कि उच्च अख्तियारवालाहरूले अरूहरूलाई प्रचार गर्ने हाम्रो अधिकारको सुरक्षा गर्नेछन्। पावलले सुसमाचार प्रचार गर्ने कानुनी मान्यताकालागि उच्च अख्तियारवालाहरूसित माग गरे। (प्रेरित १६:३५-४०; २५:८-१२; फिलिप्पी १:७) हाल सालै, यहोवाका साक्षीहरूले त्यसैगरी पूर्व जर्मनी, हङ्गेरी, पोलैण्ड, रोमानिया, बेनिन, र म्यानमारमा (बर्मामा) आफ्नो कामको कानुनी मान्यताकालागि अनुरोध गरे र सो प्राप्त पनि गरे।
“यो परमेश्वरको सेवक हो”
१२-१४. उच्च अख्तियारवालाहरूले परमेश्वरका सेवकको रूपमा कसरी काम गरेकाछन् (क) बाइबलको पालोमा? र (ख) आधुनिक समयमा?
१२ सांसारिक अख्तियारवालावारे कुरा गर्दै पावल भन्दछन्: “असलै कामको लागि तिनी तिम्रो निम्ति परमेश्वरका सेवक हुन्। तर तिमीले खराब काम गर्यौ भने डराऊ, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। किनकि तिनी खराब गर्नेमाथि क्रोधको निम्ति बदला लिने परमेश्वरका सेवक हुन्।”—रोमी १३:४.
१३ कहिलेकाहीं राष्ट्रिय अख्तियारवालाहरूले विशेष ढ़ङ्गहरूमा परमेश्वरका सेवकको रूपमा काम गरेका छन्। कोरेस राजाले यसै गरे जब तिनले यहूदीहरूलाई बेबिलनबाट फर्केर जान र परमेश्वरको भवनको पुनर्निमाण गर्न आज्ञा दिए। (एज्रा १:१-४; यशैया ४४:२८) त्यो भवनको पुनःनिर्माणका लागि, अनुदान साथमा लिएर, प्रथम एज्रालाई र पछिबाट नहेम्याहलाई यरूशलेमका पर्खालहरूको पुनःनिर्माण गर्ने अधिकार सहित पठाउँदा, आर्ट-जारसेजले पनि परमेश्वरका सेवकको हैसियतमा काम गरे। (एज्रा ७:११-२६; ८:२५-३०; नहेम्याह २:१-८) पावललाई यरूशलेममा घेराउबाट छुटकारा दिएर, जहाज दुर्घटनाबाट बचाएर, रोममा तिनलाई आफ्नै घरको बन्दोवस्त गर्ने व्यवस्था मिलाइ दिएर, रोमी उच्च अधिकारीले पनि त्यही हैसियतमा काम गरे।—प्रेरित २१:३१, ३२; २८:७-१०, ३०, ३१.
१४ यसै प्रकारले आधुनिक समयमा, सांसारिक अख्तियारवालाहरूले पनि परमेश्वरका सेवकको रूपमा काम गरेका छन्। उदाहरणकालागि, १९५९ सालमा, क्वेबेकमा यहोवाका एक जना साक्षीलाई विप्लवकारी र निन्दाजनक खालका लेखहरू प्रकाश गर्ने आरोप लगाइएको थियो तर क्यानाडाको सर्वोच्च अदालतले यो साक्षीलाई निर्दोष ठहरायो। यसले गर्दा, क्वेबेका त्यस बेलाका प्रधान मंत्री, मौरिस डुप्लेसिसको पूर्वाग्रही दृष्टिकोण पनि खण्डण भयो।
१५. अख्तियारवालाहरू साधारणतया, कुन रूपमा परमेश्वरका सेवकझैं काम गर्दछन्, र यसले तिनीहरूलाई के गर्ने अधिकार दिन्छ?
१५ परमेश्वरको सरकारले आफ्नो हातमा जिम्मेवारी नलिएसम्म, राष्ट्रिय सरकारहरूले जनतामा साधारणतया शान्ति र सुरक्षा कायम राख्दै परमेश्वरको सेवकको रूपमा काम गरिनै रहनेछन्। पावलले भने अनुसार, यसैकालागि अख्तियारवालाले “तरवार” भिर्दछन्। र यो तरवार सजाय दिने तिनीहरूको अधिकारको एउटा प्रतीक हो। साधारणतया, तिनीहरूले दिने सजायमा जेल अथवा जरिमाना समावेश हुन्छ। कुनै कुनै देशहरूमा, मृत्यु दण्ड पनि दिने गर्छन्।a तर, धेरै राष्ट्रहरूले मृत्यु दण्ड नदिने निर्णय गरेकाछन्, र त्यो पनि तिनीहरूको अधिकारको कुरा हो।
१६. (क) अख्तियारवाला परमेश्वरका सेवक भएको हुनाले, परमेश्वरका केही सेवकहरूले के गर्न उचित ठानेका छन्? (ख) कुन् प्रकारको जागिर मसीहीहरूले स्वीकार गर्दैनन्, र किन?
१६ दानियल, तीन जना हिब्रूहरू, नहेम्याह, र मोर्डकाइले बेबिलन र फारसी सरकारहरूमा जिम्मेवारीका काम स्वीकार गर्न सकेकाहुनाले, उच्च अख्तियारवालाहरू परमेश्वरका सेवक हुन् भन्ने तथ्य स्पष्ट हुन्छ। यसप्रकार तिनीहरूले परमेश्वरका जनहरूका भलाइकालागि अख्तियारवालाहरूसँग निवेदन पनि गर्न सके। (नहेम्याह १:११; एस्तर १०:३; दानियल २:४८, ४९; ६:१, २) आज पनि केही मसीहीहरू सरकारी सेवामा छन्। तर तिनीहरू संसार भन्दा अलग रहेका हुनाले, राजनैतिक दलहरूका सदस्य हुँदैनन्, राजनैतिक ओहदा खोज्दैनन्, वा राजनैतिक सङ्गठनहरूमा नीति निर्धारणगर्ने जिम्मेवारीहरू स्वीकार गर्दैनन्।
विश्वासको आवश्यकता
१७. कुन प्रकारका परिस्थितिहरूले गर्दा केही गैर मसीहीहरू अख्तियारवालाहरूको विरोध गर्ने मन गर्लान्?
१७ तथापि, अख्तियारवालाले यदि भ्रष्टाचार वा शोषण जस्ता कुराहरू हुन दिन्छन् भने हामी के गर्ने? के त्यसको ठाउँमा, मसीहीहरूले त्यो भन्दा अझ उत्तम लाग्ने, अर्को अख्तियारवालालाई ल्याउने प्रयास गर्नु उचित होला र? सरकारी भ्रष्टाचार र अन्याय कुनै नया कुरा होइन। प्रथम शताब्दीमा, रोमी साम्राज्यले दासत्व जस्ता अन्यायी कुराहरू हुन दियो। त्यसले भ्रष्ट अधिकारीहरूलाई समेत ओहदामा रहन दियो। बाइबलमै हामी मानिसहरूलाई ठगेर महसुल उठाउने अधिकृतहरू, अन्यायी न्यायाधीश र घूस चाहने प्रान्तीय बड़ा हाकिमवारे पढ़दछौं।—लूका ३:१२, १३; १८:२-५; प्रेरित २४:२६, २७.
१८, १९. (क) सरकारी अधिकारीहरू बीच भ्रष्टाचार र दुर्व्यवहार छ भने, मसीहीहरूले के कस्तो प्रतिक्रिया देखाउँनेछन्? (ख) एक जना इतिहासकारको भनाइ र तल बाकसमा दिइएको पत्र अनुसार, मसीहीहरूले अन्य व्यक्तिहरूको जीवनमा कसरी सुधार ल्याएका छन्?
१८ त्यस बेला पनि यस प्रकारका दुर्व्यवहारलाई अन्त गर्ने प्रयास मसीहीहरूले गर्न सक्थे, तर तिनीहरूले गरेनन्। उदाहरणकालागि, पावलले दासत्वको अन्त गर्न भनी प्रचार गरेनन्, र मसीही मालिकहरूलाई आफ्ना दासहरूलाई छुटकारा दिन पनि भनेनन्। बरू, तिनले मालिकहरू र दासहरू दुवैलाई एक अर्कासित व्यवहार गर्दा मसीही सहानुभूति दर्शाउन सल्लाह दिए। (१ कोरिन्थी ७:२०-२४; एफिसी ६:१-९; फिलेमोन १०-१६; १ पत्रुस २:१८ पनि हेर्नुहोस्) त्यसैगरी, मसीहीहरू क्रान्तिकारी क्रियाकलापमा लागेनन्। तिनीहरू “शान्तिको सुसमाचार” प्रचार गर्न व्यस्त थिए। (प्रेरित १०:३६) सा. यु. ६६ मा एउटा रोमी फौजले यरूशलेमलाई घेरा हाल्यो र फेरि पछि फर्केर गयो। शहरका विद्रोही रक्षकहरूका साथमा लागेर शहरमै बसिरहनुको सट्टा, हिब्रू मसीहीहरू ‘येशूका निर्देशनलाई पालन गर्दै पहाड़ तर्फ भागे।’—लूका २१:२०, २१.
१९ प्राचीन मसीहीहरू, आफ्नो वरिपरि जे जस्तो स्थिति थियो, त्यसैमा बस्ने गर्थे र मानिसहरूलाई बाइबलका सिद्धान्तहरूमा चल्ने मद्दत दिएर तिनीहरूको जीवन सुधार्ने प्रयत्न गर्दथे। आफ्नो पुस्तक दि ओल्ड रोमन वर्ल्ड मा इतिहासकार जोन लर्डले लेखे: “देखावटी लोकप्रिय संस्थाहरू वा सरकारहरू वा नियमहरूलाई बदलिनुको सट्टा आफ्ना मत अनुसार चल्नेहरूको जीवनमा सुधार ल्याउँनुमानै मसीही धर्मको विजय देखिन्थ्यो।” के आजका मसीहीहरूले यो भन्दा बेग्लै व्यवहार गर्नु उचित हुनेछ र?
कुन बेला सरकारले मद्दत दिने छैन
२०, २१. (क) एउटा सांसारिक अख्तियारवाला असल कामको निम्ति परमेश्वरको सेवकको रूपमा काम गर्न कसरी असफल भए? (ख) सरकारी मिलेमेतोबाट सतावट आइलाग्दा यहोवाका साक्षीहरूले के कस्तो प्रतिक्रिया देखाउन उचित हुनेछ?
२० १९७२ को सितम्बर महिनामा, मध्य अफ्रिकाको एउटा देशमा यहोवाका साक्षीहरूक विरुद्धमा भयङ्कर सतावट शुरू भयो। हजारौंका सरसामानहरू लुटिए र तिनीहरूले कुट-पिट, यातना र हत्या जस्ता अन्य प्रकारका अत्याचारहरू सहनु पर्यो। उच्च अख्तियारवालाहरूले यहोवाका साक्षीहरूको रक्षा गर्ने आफ्नो कर्त्तव्य त्यस बेला के पूरा गरे ता? गरेनन्! बरू, अझ हिंसालाई प्रोत्साहन दिए र ती निर्दोष मसहीहीहरू आफ्नो सुरक्षाकालागि छिमेकी देशतर्फ भाग्न बाध्य भए।
२१ यस प्रकार सताउनेहरूको विरूद्धमा के यहोवाका साक्षीहरू क्रोधित भएर खड़ा हुन उचित हुनेछैन र? हुने छैन! नम्रतापूर्वक येशूको अनुकरण गर्दै, मसीहीहरूले धैर्यसाथ यस्ता अपमानहरू सहनु पर्दछ: “जसले गाली खाएर आफूले फेरि गाली गर्नु भएन। दु:ख भोगेर धम्काउनु भएन, तर धर्मसँग इन्साफ गर्नेकहाँ आफैलाई सुम्पिदिनुभयो।” (१ पत्रुस २:२३) येशूलाई गेतसमनीको बगैंचामा गिरफ्तार गर्दा, उहाँको रक्षा गर्न तरवार लिएर एउटा चेला अघि आउँदा, उहाँले तिनलाई हप्काउनु भएको कुरा यहोवाका साक्षीहरूले बिर्सेका छैनन्। साथै, पछि उहाँले पोन्तियस पिलातसलाई यसो भन्नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनालाई मेरा चाकरहरूले लडाइँ गर्नेथिए, तर अब मेरो राज्य यहाँको होइन।”—यूहन्ना १८:३६; मत्ती २६:५२; लूका २२:५०, ५१.
२२. अत्यन्तै कठिन सतावट भोग्नु पर्दा, अफ्रिकामा यहोवाका केही साक्षीहरूले कुन राम्रो उदाहरण कायम गरेका छन्?
२२ येशूको उदाहरणलाई मनमा राख्दै, अफ्रिकाका ती साक्षीहरूले पावलको यस सल्लाहलाई प्रयोगमा ल्याउने साहस गर्नसके: “कसैलाई खराबको बदला खराब नगर। जुन कुरा सबै मानिसको सामने आदरणीय छ, त्यसमा ध्यान देओ। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ यहोवा भन्नुहुन्छ, ‘म बदला फेर्नेछु।’ (रोमी १२:१७-१९; हिब्रू १०:३२-३४ सङ्ग तुलना गर्नुहोस्) हाम्रा अफ्रिकाका भाइहरू आज हाम्रालागि कस्तो उत्साहबर्धक उदाहरण भएका छन्! अख्तियारवालाहरूले उचित व्यवहार गर्न अस्वीकार गर्दा पनि, साँचो मसीहीहरूले बाइबलका सिद्धान्तहरू त्याग्दैनन्।
२३. कुन प्रश्नहरूको छलफल हुन बाँकी छ?
२३ तथापि, उच्च अख्तियारवालाहरूले मसीहीहरूबाट के आशा राख्न सक्छन्? अनि तिनीहरूले गर्ने उचित मागहरूको केही सीमा छ? यस वारे अर्को लेखमा छलफल गरिनेछ। (w90 11/1)
[फुटनोट]
a प्राचीन इस्राएलीहरूलाई परमेश्वरले दिनु भएको कानून अनुसार, ठूला-ठूला अपराधहरूको निम्ति मृत्युदण्ड समावेश थियो।—प्रस्थान ३१:१४; लेवी १८:२९; २०:२-६; गन्ती ३५:३०.
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
▫ एउटा व्यक्तिले कुन् कुन् ढङ्गमा ‘उच्च अख्तियारवालाहरूको विरोध गर्न सक्दछ?
▫ सरकारी अख्तियारवालाहरूको सम्बन्धमा “परमेश्वरको प्रबन्ध” के छ?
▫ कुन रीतिले अख्तियारवालाहरू “डरका कारण” हुन्?
▫ मानवसरकारहरू “परमेश्वरका सेवकको” रूपमा कसरी काम गर्दछन्?
[पृष्ठ १९-मा भएको पेटी]
एउटा प्रहरी प्रमुखबाट आएको पत्र
“मिनास गेरास प्रान्तको निम्ति जन-सेवा” भन्ने मोहर लागेको एउटा पत्र ब्राजिलको बाच टावरको शाखा कार्यालयमा आयो। यो पत्र कोन्क्विस्ता शहरका प्रहरी प्रमुखले पठाएको थियो। कतै केही गलती पो भएको थियो कि? पत्र आफैलेनै यहाँ स्पष्ट गरोस्। पत्र यस प्रकार छः
महोदय:
“यस पत्रद्वारा आफ्नो परिचय दिन पाउँदा मलाई खुशी लागेको छ। करीब तीन वर्ष देखि, मिनास गेरासको कोन्क्विस्ता शहरको प्रहरी प्रमुख भएर काम गरिरहेकोछु। काममा, म सदैव विवेकी हुन खोज्दछु, तर झ्यालखानमा शान्ति कायम राख्न मलाई सँधैनै समस्या हुन्थियो। कैदीहरू विशेष कामहरूमा प्रशिक्षित भएतापनि, तिनीहरू अशान्त रहन्थिए।
“केही महिना अघि, श्री ओ— हाम्रो शहरमा आउनु भयो र आफूलाई यहोवाको एउटा साक्षी हुँ भनी आफ्नो परिचय दिनुभयो। केही कैदीहरूलाई उहाँले बाइबल प्रचार गर्न थाल्नु भयो। तिनीहरूलाई पढ्न र लेख्न सिकाउनु भयो। स्वास्थ्य सम्बन्धी आधारभूत कुराहरू र सामाजिक कौशलतावारे बताउँनका साथै पवित्र बाइबलवारे तिनीहरूलाई भन्नुभयो। यी प्रचारकको काम गर्ने ढ़ङ्गमा समर्पणा, प्रेम, र निस्वार्थताको भावना देखिन्थियो। कैदीहरूको व्यवहारमा दृश्य रूपमा राम्रो परिवर्त्तन आयो र तिनीहरूलाई देख्ने सबैले अचम्म माने र यसको मुल्याङ्कन गरे।
“हाम्रो झ्यालखानमा भएको घटनालाई ध्यानमा राख्दै, हाम्रो समाजमा ती योग्य प्रचारकले गर्नुभएको कामको मुल्याङ्गन गर्दछौं भनी औपचारिक रूपमा वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीलाई म सूचना दिन चाहन्छु।”
सरकारी अख्तियारवारे प्रेरित पावलले भने: “असल काम गर, र तिनीहरूबाट तिमीलाई प्रशंसा मिल्नेछ।” (रोमी १३:३) यो कुरा माथि दिएको घटनामा वास्तवमा सत्य साबित भयो। दण्ड सम्बन्धी सरकारी कानुनी व्यवस्थाले वषौं देखिन् गर्न नसकेको कुरा, केही महिनामा नै सुसमाचारद्वारा सम्पन्न भयो। मानिसहरूमा परिवर्तन ल्याउने शक्ति परमेश्वरको वचनमा छ भन्ने कुराको यो कति ठूलो प्रमाण हो!—भजनसंग्रह १९:७-९.