धर्मको विषयमाथि किन गम्भीरतापूर्वक ध्यान दिनु?
“मानिस रोटीले मात्र बाँच्तैन।” (मत्ती ४:४, दी न्यु इङ्गलिश बाइबल) अकसर उद्धृत हुने यी शब्दहरूबाट एउटा मौलिक मानव आवश्यकताको बोध हुन्छ जसलाई आज धेरैले बिर्सिसकेकाछन्। हाम्रो बनौटको एउटा आध्यात्मिक पक्ष छ जसलाई सन्तुष्ट पार्नु आवश्यक छ भनी ती शब्दहरूले सङ्केत गर्दछन्। त्यसै कारण, ती शब्दहरू भन्नु हुने येशू ख्रीष्टले एसो पनि भन्नु भयो: “तिनीहरू कति धन्यका हुन् जसले परमेश्वरको आवश्यकता महसुस गर्दछन्।”—मत्ती ५:३, द न्यु इङ्गलिश बाइबल.
धर्मले मात्र “परमेश्वरको हाम्रो आवश्यकतालाई” पूरा गर्न सक्तछ। धर्मले मात्र उत्पत्ति, उद्देश्य र जीवनको अर्थ सम्बन्धी हाम्रा मौलिक प्रश्नहरूको उत्तर दिन सक्तछ। र धर्मले मात्र हाम्रो जीवनलाई वास्तवमा अर्थपूर्ण र सारयुक्त पारिदिन सक्तछ। तर यी सबै कुरा जुन सुकै धर्मले गर्न सक्तैन। येशूले एक जना सामरी स्त्रीलाई भन्नु भयो: “साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्।” (यूहन्ना ४:२३) ‘सत्यतामा पुज्नुको’ अर्थ बितेका धेरै समय देखिन् चल्दै आएका परम्पराहरू मात्र मान्नु होइन। यी परम्पराहरूबाट तिनीहरूका अनुयायीहरूले अकसर एकछिनको आनन्दको भावना बाहेक अरू केही पाउँदैनन् र आध्यात्मिक तौरमा चाहिं भोकै रहन्छन्।
उदाहरणका लागि, एन्रि ओ. रायशावर, जापानमा संयुक्त अमेरीकाका भूतपूर्व राजदूतले यसो भने: “धेरै जसा मानिसहरूका लागि शिन्टो र बौद्ध धर्म, अर्थपूर्ण विश्वास भन्दा पनि एउटा परम्परा र सामाजिक रीतिथितिको विषय मात्र हो।” र यो कुरा ठीक हो कि यस प्रकारको स्थितिसँग धेरै जसा जापानीहरू सन्तुष्ट छन्। तर जापानमा “नया धर्महरूका” बाढ़ी आइ रहेछन् जसबाट, परम्परागत धर्महरू प्रति एउटा बढ़दो असन्तुष्टि देखिन्छ।
ती “नया धर्महरूले” परमेश्वरमा होइन—तर चित्ताकर्षक गुरुहरूमा ध्यान केन्द्रित पार्न खोज्छन्। त्यस प्रकारका धेरै गुरुहरूले ईश्वरीय प्रेरणा पाएका दाबी गर्दछन्। तर तिनीहरूले सिकाएका धर्म-सिद्धान्तहरू साधारणतया बौद्ध, शिन्टो र अन्य विश्वासहरूका मिसावट बाहेक केही हुँदैन—र प्रशस्त मात्रामा गुरुको आफ्नै दर्शन पनि बीच-बीचमा थपिएको हुन्छ। तिनीहरूले अकसर एउटा अझ उच्च स्तरको जीवन दिने प्रतिज्ञा र तिनीहरूसँग दैवी अथवा निको पार्ने शक्ति छ भन्ने दाबीको आधारमा मानिसहरूलाई आकर्षित पार्दछन्। के यस प्रकारका धर्महरूले आफ्ना अनुयायीहरूलाई “आत्मा र सत्यतामा” पुज्न सिकाएको प्रमाण प्रस्तुत् गरेका छन् र? पटक्कै छैन। एउटा त, यस प्रकारका धर्म-पन्थहरू आज छन् भने, भोली न पनि हुन सक्छन्। तिनीहरू मानिसहरूका होहोमा आधारित भएको हुनाकारण, तिनीहरूलाई गम्भीरतापूर्वक ध्यान दिने विशेष कारण देखिन्दैन।
गम्भीरतापूर्वक ध्यान दिनु पर्ने धर्म
तथापि, अन्य कुनै प्रकारको उपासना भन्दा धेरै समय अघि देखिन् कायम रहेको एउटा धर्म छ। त्यो पवित्र बाइबलमा सिकाइएको धर्म हो। बाइबल लेख्ने काम करीब ३५ शताब्दी अघि शुरू भएको थियो र त्यसका प्रारम्भिक अध्यायहरूमा साँचेर राखिएका केही ‘इतिहासहरू’ त्यो भन्दा अझ हजार वर्ष पहिलेका हुन्।a त्यसमा धर्मको सुरूआत् सम्बन्धी सबै भन्दा प्राचीन रिकर्डहरू पाइन्छन्। बाइबलको धर्मलाई गम्भीरतापूर्वक ध्यान दिनु पर्ने, त्यो नै कारण यथेष्ट छ।
बाइबलबारे एनसायक्लोपेड्या अमेरीकाना भन्छ: “त्यसको ज्योति ‘संसारभरि फैलिएको’ छ। त्यसलाई मानिसहरूले आज एउटा नैतिक र धार्मिक धनराशि ठान्दछन् र जसै एउटा विश्व-सभ्यताको आशा बढ़दै जान्छ, बाइबलका कहिले समाप्त न हुने शिक्षाहरू झन झन् बहुमूल्य हुँदै गएका छन्।” तर कुनै पुस्तक, साँचो धर्मको एउटा विश्वसनीय मार्गदर्शक वास्तवमा हो भने, त्यसको सबैभन्दा विस्तृत वितरण भएर, सच्चाइको खोजी गर्ने सबैका लागि त्यो उपलब्ध भएको के तपाईं देख्ने आशा गर्नु हुँदैन र?
बाइबल त्यस्तै एउटा पुस्तक हो। त्यसको सम्पूर्ण भाग अथवा केही भागहरू १,९२८ भाषाहरूमा अनुवाद भएको छ र इतिहासमा त्यो सबै भन्दा विस्तृत वितरण भएको पुस्तक हो। साथै, त्यो एतिहासिक र वैज्ञानिक दृष्टिकोणबाट पनि ठीक साबित भएको छ। बाइबलमा पाइने अग्रिमवाणीहरू ठीक-ठीकसँग पूरा भएको कुरालाई इतिहास र पुरातत्वशास्त्रले पुष्टि दिन्छ। यो पुस्तक हर प्रकारको प्रेत-वाद, जादु-टुना र तन्त्र-मन्त्रबाट मुक्त छ। बाइबल ईश्वरीय प्रेरणा द्वारा लेखिएको हो भनी स्वंय बाइबलले गरेको दाबीसँग यी कुराहरू मिल्दछन्।b—२ तिमोथी ३:१६.
साँचो धर्मका “फलहरू”
तर धेरै धर्महरू बाइबलकै अनुसरण गर्ने दाबी गर्द छन् भन्ने कुरा के साँचो होइन र? र मसीही हुने दाबी गर्ने धेरै मानिसहरूका माझमा कलह, शत्रुता र कपट प्रत्यक्ष रूपमा देखिन्छ, होइन र? हो, तर यी कारणहरूले गर्दा, बाइबलको अवहेलना गर्न मिल्दैन। स्वयं येशू ख्रीष्टले नै सङ्केत गर्नु भयो कि मसीही धर्म मान्ने दाबी गर्ने धेरै जसा मानिसहरूसित परमेश्वर अप्रसन्न हुनु हुनेछ। (मत्ती ७:१३, १४, २१-२३ हेर्नु होस्) उसो भए, बाइबलमा सिकाइएको साँचो धर्म पालन गर्नेहरूलाई कसरी चिन्ने? येशूले यो जवाफ दिनु भयो: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्ने छौ। के काँढ़ाका बोटहरूबाट अङ्गूर अथवा सिउँड़ीहरूबाट नेभारा बटुलिन्छ र? त्यसैगरी हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ। यसकारण तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।”—मत्ती ७:१६, १७, २०.
हो, साँचो धर्म असल गराउने एउटा जोरदार शक्ति हुनु पर्छ जसले आफ्ना उपासकहरूको जीवनमा लाभदायक प्रभाव पार्न सकोस्। उदाहरणका लागि, आकिनोरी नाउँ भएका एक जना जापानीलाई विचार गर्नु होस्, जो तिनका आफ्नै शब्दहरू अनुसार, “प्रतियोगितात्मक प्रवृत्तिको प्रतीक” भएका थिए। एउटा नामी विश्वविद्यालयबाट आफ्नो पढ़ाइ समाप्त गर्ने र एउटा नाउँ चलेको कम्पनीमा जागिर हासिल गर्ने लक्ष्य तिनले सफलतापूर्वक प्राप्त गरे। तिनले आफ्नो जीवनमा धर्मलाई ठाउँ दिने कारण नै देखेनन्। ‘धर्म भन्ने कुरा कमजोर मानिसहरूका लागि हो जसलाई जीवनमा एउटा टेक्ने लठ्ठी चाहिन्छ’ भन्ने तिनको विचार थियो।
सबै राम्रै चलिरहेको थियो जब अचानक तनाव र थकानको परिणाम स्वरूप, तिनी सिकिस्त बिरामी परे। तिनको घाँटी बाङ्गो भयो र तिनको च्यापु देब्रे पट्टिको कुममा टाँसियो। आकिनोरीको कम्पनीका धेरै “मित्रहरूबाट” यो कष्टमय समयमा तिनले कुनै विशेष सान्त्वना पाउन सकेनन्। (हितोपदेश १७:१७ सँग तुलना गर्नु होस्) तिनी जँड्याहा भएर गए र आत्म-हत्या गर्ने विचार पनि गरे।
समयमा, आकिनोरीकी पत्नीले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थालिन्। एक दिन, कुराको सिलसिलामा, तिनले आकिनोरीलाई गलाती ६:७ बारे भनिन् जहाँ लेखिएको छ: “मानिसले जे रोप्तछ, त्यसैको कट्नी पनि गर्नेछ।” यी शब्दहरूबाट प्रभावित भएर, आकिनोरी पनि तिनकी पत्नी सँग-सँगै अध्ययनमा सामेल भए र त्यहाँ सिकेका कुराहरूद्वारा जीवनको अर्थ बारे तिनको दृष्टिकोण बदलियो। आकिनोरीको दृष्टिकोण जसै उज्यालो हुँदै गयो, मानसिक तनावको कारण आइ परेको तिनको व्यथा हराउन थाल्यो! बाइबलको एउटा आहानमा उल्लेखित भए झैं: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” (हितोपदेश १४:३०) हो, साँचो धर्मले असल फल फलाउँछ!
टोशिरो नाउँ भएका एउटा अर्का जापानीले पनि साँचो धर्म कसरी असल काम गराउनमा एउटा जोरदार प्रेरणा हुन सक्तछ भनी देखे। धर्म पालन गर्नु लाभदायक कुरा हो भनी विश्वास गरेता पनि, तिनले यस विषयमा केही गरेका थिएनन्। एउटा आफ्नै घर प्राप्त गर्नमा तिनको ध्यान केन्द्रित थियो। तर त्यो लक्ष्यको प्राप्तिबाट तिनले सोंचे जस्तो सन्तोष अनुभव गरेनन्। अझ, आफ्नो काम गर्ने ठाउँमा वरिपरि हेर्दा, तिनले जताततै बेइमान चलनहरू देखे जसले गर्दा एक अर्कासँगको व्यक्तिगत सम्बन्ध खराब हुन्थ्यो। आफूले देखेका कुराहरूबाट टोशिरो दिक्क भए।
एक दिन तिनकी पत्नीले यहोवाका साक्षीहरूको स्थानीय मण्डलीबाट एक जना प्राचीनलाई टोशिरोसँग भेट गर्न बोलाइ पठाइन्। टोशिरोले तुरुन्तै महसुस गरे कि आफू काम गर्ने ठाउँका सहकर्मीहरू भन्दा यी प्राचीन बेग्लै प्रकारका रहेछन्। कारण? यी प्राचीनले साँचो हृदयसाथ बाइबलका सिद्धान्तहरूलाई आफ्नो जीवनमा प्रयोग गरी रहेका थिए। यो देखेर टोशिरो प्रभावित भए र बाइबल अध्ययन गर्ने निम्तो स्वीकार गरे र बाइबलको धर्मलाई नै आफ्नो जीवन-पद्धति बनाउन लागे।
हामी तपाईंलाई पनि यहोवाका साक्षीहरूसँग चीनजान गर्न निम्ताउँदछौं। तिनीहरू “आत्मा र सत्यतामा” उपासना गरी रहेकाछन् भन्ने कुरा तिनीहरूको “फलहरूले” नै प्रमाण दिन्छ। बाइबलका शिक्षाहरू बमोजिम आफ्नो जीवन बिताउन तिनीहरू धेरै नै मेहनत गर्छन्। र व्यक्तिगत रूपमा तिनीहरू सिद्धता भन्दा धेरैनै टाढ़ा भए तापनि, साँचो धर्म असल काम गराउनमा एउटा अति नै जोरदार आध्यात्मिक शक्ति हुन सक्तछ भन्ने कुरा तिनीहरूले सामूहिक रूपमा प्रदर्शित गर्दछन्।
हजारौं साक्षीहरू, एक समयमा आफ्ना जीवन-पद्धतिसँग अप्रसन्न थिए। तर बाइबलका सिद्धान्तहरू प्रयोगमा ल्याएर, तिनीहरू मध्येका धेरै जनाले जीवनमा प्रभावशाली परिवर्तनहरू ल्याउन सकेका छन्। बाइबलले जसलाई “आत्माको फल” भन्दछ अर्थात् प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता र संयम जस्ता गुणहरूको आफूमा वृद्धि गरेर, तिनीहरूले व्यक्तिगत आनन्दको रहस्य प्राप्त गरेका छन्।—गलाती ५:२२, २३.
साँचो धर्मको पालना द्वारा अनन्तकालीन लाभहरू
तथापि, साँचो धर्मले व्यक्तित्वहरूको परिवर्तन र व्यक्तिगत समस्याहरूको समाधान भन्दा बढ़ी कुराहरू गर्न सक्नु पर्दछ। हाम्रो सुन्दर ग्रहलाई दूषित वातावरण, आणविक युद्धको डर र वातावरणको शोषण जस्ता विश्व-व्यापी समस्याहरूले सखाप पार्ने खतरा छ। आर्थिक समस्याहरूले, लाखौं मानिसहरूको कुशलता र आनन्दमा बाधा पुऱ्याएको छ। यी विश्व-व्यापी समस्याहरू समाधान गर्ने केही आशा प्रस्तुत न गरुञ्जेल, कुनै पनि धर्मलाई गम्भीरतापूर्वक ध्यान दिन सकिन्दैन।
बाइबलको धर्मले यस प्रकारको आशा प्रस्तुत गर्दछ। परमेश्वरले एउटा स्वर्गीय सरकार अथवा “राज्य” अन्तर्गत, एउटा धार्मिक नया संसारको स्थापना गर्ने प्रतिज्ञा गर्नु भएको छ। (मत्ती ६:९, १०; २ पत्रुस् ३:१३; प्रकाश २१:३, ४) मानिस जातिका सबै पीड़ाहरू हर्ने सर्वोपरी औषधी परमेश्वरको यो राज्य हो। र पृथ्वीभरि हुने लाभहरूको स्थायित्वबारे बाइबलले हामीलाई विश्वास दिलाउँछ: “संसार बिति जान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” हो, आनन्दसाथ अनन्त जीवन बिताउन पाउँनु, प्रत्येक साँचो मसीहीको आशा हो! (१ यूहन्ना २:१७) तर साँचो धर्मको पालनालाई गम्भीरतापूर्वक ध्यान दिनेहरूले मात्र यो आउने राज्यबाट लाभ उठाउनेछन्। यसकारण, गम्भीरतापूर्वक बाइबल अध्ययन गर्न शुरू गर्नु होस् भनी हामी तपाईंलाई आग्रह गर्द छौं।c (यूहन्ना १७:३) परमेश्वरको वचनको ज्योतिलाई जसै तपाईंले आफ्नो जीवनमा प्रवेश गर्न दिनु हुन्छ, तपाईंले ठूलो आनन्द अनुभव गर्नु हुनेछ किनकि ‘परमेश्वरको निम्ति तपाईंको आवश्यकता’ क्रमसः पूरा भइरहेको हुनेछ। वास्तवमा, तपाईंले धर्मलाई—साँचो धर्मलाई—गम्भीरतापूर्वक ध्यान दिनु भएको हुनाकारण, अनन्तकालीन आशिषहरू तपाईंका आफ्ना हुनेछन्। (w02/01/91)
[फुटनोटहरू]
a उदाहरणका लागि, उत्पत्ति २:४; ५:१; ६:९ हेर्नु होस्.
b अझ जानकारीका लागि, यसै पत्रिकाका प्रकाशकहरूबाट प्राप्त गर्न सकिने, द बाइबल—गड्स वर्ड अर मेन्स? भन्ने पुस्तक हेर्नु होस्।
c यस सम्बन्धमा, यहोवाका साक्षीहरू तपाईंलाई मद्दत दिन खुशी हुनेछन्। यो पत्रिकाका प्रकाशकहरू अथवा तपाईं बस्नु हुने इलाकाका यहोवाका साक्षीहरूको स्थानीय मण्डलीसँग सम्पर्क राख्नु भएर, एउटा निःशुल्क बाइबल अध्ययनको प्रबन्ध मिलाउन सकिन्छ।
[पृष्ठ ५-मा भएको चित्र]
बाइबल १,९०० भन्दा बढ़ी भाषाहरूमा उपलब्ध भएको कुरा, यो पुस्तक ईश्वरीय प्रेरणाद्वारा लेखिएको हो भन्ने त्यसको दाबीसँग मिल्दछ
[पृष्ठ ७-मा भएको चित्र]
बाइबलको धर्मले एउटा स्वर्गीय सरकार अन्तर्गत विश्वभरि शान्तिपूर्ण अवस्था कायम हुने आशा प्रस्तुत गर्दछ