भ्रातृ प्रेम क्रियाशील छ
फिलेमोनको विवरणिका
येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई “नया आज्ञा” दिनु भयो अर्थात् जसरी उहाँले तिनीहरूलाई प्रेम गर्नु भएको थियो, त्यसरी नै तिनीहरूले पनि एकअर्कालाई प्रेम गर्नु परेको थियो। (यूहन्ना १३:३४, ३५) त्यस प्रकारको प्रेमले गर्दा, तिनीहरू एकअर्काका लागि मर्न पनि तयार हुने थिए। हो, भ्रातृ प्रेम त्यत्तिको बलियो र क्रियाशील छ।
एशिया मायनरमा स्थित कलस्सीका मण्डलीको फिलेमोन नाउँको एक जना मीसीहीलाई पनि यस्तै प्रेमले प्रेरणा दिनेछ भनेर प्रेरित पावल विश्वस्त थिए। मसीहीहरू भेला हुने ठाउँ होस् भनेर, फिलेमोनले, प्रेम कै कारण, आफ्नो घरको प्रयोग गरिरहेका थिए। फिलेमोनको दास, आनेसिमस, तिनीबाट भागेर गएको थियो। ओनेसिमस भाग्दा उसले रोम जान फिलेमोनबाट पैसा पनि चोरेर गएको हुन् सक्थियो। तर पछि पावलसँग उसको भेट भयो र उसले पनि मसीही धर्म अपनायो।
रोममा ई. स. ६०-६१ बीच, झ्यालखानमा परेको बेलामा, पावलले फिलेमोनलाई नै सम्बोधन गर्दै एउटा पत्र लेखे। भ्रातृ प्रेमसाथ ओनेसिमसलाई स्वीकार्ने कुरा पढ़ेर फिलेमोन खुशी भए। यो पत्र पढ़नु होस् र प्रेम र दक्षताको यो एउटा असल उदाहरण हो भनेर देख्नु हुनेछ—एउटा यस्तो उदाहरण जसलाई यहोवाका मानिसहरूले स्वीकार्न सक्छन्।
प्रेम र विश्वासका लागि प्रशंसा
फिलेमोन र अरूहरूलाई सम्बोधन गर्दै, पावलले सर्व प्रथम प्रशंसा प्रस्तुत गर्छन्। (१-७ पदहरू) फिलेमोनले ख्रीष्टका लागि र सबै पवित्र जनहरूका लागि देखाएको प्रेम र तिनको विश्वास बारे पावलले सुनी सकेका थिए। यसले गर्दा पावलले यहोवालाई धन्यबाद चढ़ाए र यसबाट तिनले ठूलो आनन्द र सान्त्वना प्राप्त गर्न सके। व्यक्तिगत रूपमा, के हामी पनि अनुकरणीय प्रेम र विश्वास हुने सङ्गी भाइहरूको प्रशंसा गर्ने गर्छौं? हामीहरूले गर्नु पर्ने हो।
पावलका शब्दहरूले देखाएझैं, प्रेमको आधारमा सङ्गी मसीहीहरूलाई आग्रह गर्नु सधैं नै असल कुरा हो। (८-१४ पदहरू) दक्षता साथ कुरा शुरू गरे पछि, प्रेरित पावलले फिलेमोनलाई “उचित कुरा गर्न” आदेश दिन सक्ने थिए, तापनि तिनले फिलेमोनलाई आग्रह गर्न रूचाए। तर के गर्न भनेर आग्रह गरे? दास ओनसिमसलाई दयापूर्वक फिर्ता लिनु भनेर! ओनेसिमसको सेवा पावलले आफ्नै लागि राख्न चाहेता पनि, तिनले फिलेमोनको अनुमति बिना केही गर्न चाहेनन्।
कुनै कुनै बेला, बाहिरबाट खराब लाग्ने परिस्थितिहरू पनि पछि गएर लाभदायक साबित हुन सक्छन्, भनेर पावलले भने। (१५-२१ पदहरू) वास्तवमा, ओनेसिमस भागेर गएको परिणाम असल भएको थियो। किन? किनभने अब फिलेमोनले ओनेसिमसलाई एउटा बेइमान र अनिच्छुक दास होइन, तर एक जना इमानदार, इच्छुक मसीही भाइको रूपमा फिर्ता लिन सम्भव भयो। पावलले ओनेसिमसलाई त्यस प्रकारको स्वागत दिनु भने, जुन प्रकारको स्वागत तिनले पावललाई दिने थिए। ओनेसिमसले फिलेमोनको केही नोकसानी गरेको रहेछ भने, त्यसको हिसाब प्रेरित पावलले चुकाउने भए। फिलेमोनलाई अझ मनाउनका लागि, प्रेरित पावल प्रति फिलेमोन स्वयं पनि ऋणी थिए भनेर याद दिलाए किनभने फिलेमोनलाई पावलले नै मसीही बनाएका थिए। यसकारण, पावलले आग्रह गरेको भन्दा फिलेमोनले बढ़ी नै गर्नेछन् भन्ने आशा पावलले व्यक्त गरे। पावलले यहाँ कति प्रेम र दक्षतासाथ आफ्नो कुरा प्रस्तुत गरे! निश्चय नै, हामीहरूले पनि आफ्ना सङ्गी मसीहीहरूसँग यस्तै गरी व्यवहार गर्नु पर्ने हो।
पावलले आफ्नो पत्र आशा, सलाम र शुभेच्छा साथ टुङ्ग्याए। (२२-२५ पदहरू) तिनका लागि अरूहरूले गरेका प्रार्थनाहरू द्वारा तिनी चाँड़ै नै झ्यालखानबाट मुक्त हुने आशा व्यक्त गरे। (पावलले तिमोथीलाई पठाएको दोस्रो पत्र अनुसार, ती प्रार्थनाहरूको सुनवाइ भएछ भनी देखिन्छ) आफ्नो पत्र टुङ्गाउदै, पावलले सलाम पठाए र येशू ख्रीष्टको अनुग्रह फिलेमोन र यहोवाको उपासना गर्ने तिनका सङ्गीहरूसँग रहोस् भन्ने शुभेच्छा व्यक्त गरे। (w91 2/15)
[पृष्ठ ११-मा भएको पेटी/चित्र]
कमाराभन्दा पनि बढ़ता: फिलेमोनकहाँ बाट भागेर गएको दास, ओनेसिमस फर्किने बारे, पावलले एसो भने: “सायद, केही समयसम्म त्यो तिमीबाट अलग भएको कारण, त्यसलाई अब सधैंभरि तिमीसित बस्नुपर्छ होला। अबलाई कमारा जस्तो गरेर होइन, तर कमाराभन्दा पनि बढ़ता, प्रिय भाइ जस्तो गरेर, खास गरी मेरो निम्ति, तर झन बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रै निम्ति।” (फिलेमोन १५, १६) रोमी साम्राज्यमा, दासत्वलाई सम्राटको कानूनले नै मान्यता दिएको थियो र पावलले यस प्रकारका “उच्च अख्तियारवालाहरूलाई” स्वीकार गर्द थिए। (रोमी १३:१-७) दासहरू मिलेर आफ्नो मालिकको विद्रोह गर्ने विचारको पक्षमा पावल थिएनन् तर तिनले यी दासहरूलाई मसीहीहरू भएर आध्यात्मिक स्वतन्त्रता प्राप्त गर्न मदद दिने गर्थिए। दासहरू आ-आफ्ना मालिकको अधीनमा बस्नु पर्छ भनेर स्वयंले दिएको सल्लाह अनुसार, तिनले ओनेसिमसलाई फिलेमोनकहाँ फिर्ता पठाइ दिए। (कलस्सी ३:२२-२४; तितस २:९, १०) अब ओनेसिमस एउटा सांसारिक दास भन्दा बढ़ी थिए। विश्वास गर्ने तिनी एउटा प्रिय सङ्गी पनि थिए र तिनी अब फिलेमोनको अधीनमा, ईश्वरीय सिद्धान्तहरूको पालना गर्ने र भ्रातृ-प्रेम भएका एउटा अझ असल दास भएर बस्ने थिए।