तपाईंले सोंच्नु भएको भन्दा अबेर भइसकेको छ कि?
आफ्नो मृत्यु हुनु भन्दा तीन दिन अघि, यरूशलेममा येशूले एउटा अतिनै व्यस्त दिन बिताउनु भयो। सो दिन, आज बाँच्ने मसीहीहरूका निम्ति अत्यन्तै महत्त्वपूर्ण साबित हुन गएको छ। यहूदी धर्मगुरुहरूले उहाँलाई फसाउनकालागि सोधेका धेरै प्रश्नहरूको मुखभरी जवाफ दिंदै, उहाँले मन्दिरमा सिकाउनु भयो। अन्तमा, उहाँले फरिसीहरू र शास्त्रीहरूको धुनधान निन्दा गर्नुहुँदै तिनीहरूलाई गेहेन्ना तर्फ लागेका कपटीहरू र सर्पहरू भन्नुभयो।—मत्ती, अध्याय २२, २३.
जसै उहाँ मन्दिर क्षेत्रलाई छाड्दै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्य एक जनाले उहाँलाई भने: “गुरुज्यू, हेर्नुहोस् कस्ता कस्ता ढुङ्गाहरू, र कस्ता कस्ता भवनहरू!” येशू त्यसबाट प्रभावित नभइकन तिनलाई भन्नुभयो: “के तिमी यी ठूला ठूला भवनहरू देख्तछौ? ढुङ्गामाथि ढुङ्गा छाड़िनेछैन जो भत्काइँदैन।” (मर्कूस १३:१, २) त्यस पछि येशू मन्दिरबाट आखिरी पटक निस्किनु भएर, किदरोन उपत्यकामा झर्नु भयो, र त्यसलाई पार गरेर जैतूनको डाँड़ामाथि उक्लिनु भयो।
उपत्यका पारि मारियाह पर्वतमा स्थित मन्दिर देखिने गरी, डाँड़ामा दिउँसोको घाम ताप्नुहुँदै उहाँ बसी रहनु भएको बेलामा, पत्रुस, याकूब, यूहन्ना, र अन्द्रियास चुपचाप उहाँका नजीक आए। मन्दिर भत्काइने विषयमा उहाँले भन्नु भएको कुराबाट तिनीहरूको दिमाग खलबली रहेको थियो। तिनीहरूले सोधे: “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन [उपस्थिति न्यु. व.] र जगत्को अन्तको चिन्ह के हुन्छ?” (मत्ती २४:३; मर्कूस १३:३, ४) जैतूनको डाँड़ामा त्यस अपरान्ह उहाँले दिनु भएको तिनीहरूको प्रश्नको जवाफ हाम्रा निम्ति अत्यन्त महत्त्व राख्तछ। यसले हामीलाई धेरै अबेर भइसके पछि मात्र “जगत्को अन्त” बारे सोंच्न देखिन् बचाउन सक्तछ।
तिनीहरूको प्रश्नको दुई भाग थियो। एक भाग मन्दिर र यहूदी रीतिरिवाजको अन्तबारे थियो; अर्को चाहिं राजाको रूपमा येशूको भविष्यमा उपस्थिति र जगत्को अन्तको सम्बन्धमा थियो। मत्ती २४ र २५, मर्कूस १३ र लूका २१ मा दिइएका येशूका जवाफले यी दुवै प्रश्नहरूको उत्तर दिन्छ। (प्रकाश ६:१-८ पनि हेर्नुहोस्) यस जगत्को वा रीतिरिवाजको अन्तबारे येशूले अनेक विशेषताहरूको वर्णन गर्नुभएकोछ, र ती सबैलाई एकसाथ मिलाएर हेर्दा अन्तका दिनहरूलाई चिनाउने एउटा चिन्ह बन्दछ। के त्यो मिश्रित चिन्ह पूरा हुँदैछ? के यस अनुसार हामी बाइबलमा भनिएको अन्तिम दिनहरूमा छौं? हामीले सोंचेको भन्दा अबेर भइसकेको हुनसक्छ भनेर के त्यसको पूर्तिले हामीलाई चेताउनी दिन्छ?
येशूले दिनु भएको मिश्रित चिन्हको एउटा विशेषता हो: “जातिको विरुद्धमा जाति, राज्यको विरुद्धमा राज्य उठ्नेछ।” (मत्ती २४:७) १९१४ मा प्रथम विश्वयुद्ध शुरु भयो। त्यस दशकका यहोवाका साक्षीहरू तुरुन्तै सतर्क भए। किन? केही ३५ वर्ष अघि, १८७९ मा नै, बाइबल कालक्रम अनुसार, १९१४ साल, मानव इतिहासको एउटा निर्णायक वर्ष हुनेछ भनी द वाचटावर पत्रिकाले भनेको थियो। एउटा साँच्चैनै विश्व-व्यापी स्तरमा भएको यो प्रथम युद्ध, जसमा अन्ततोगत्वा २८ वटा राष्ट्रहरू सम्मिलित भएका थिए र एक करोड़ चालिस लाख जति मानिसहरू मारिएका थिए, कतै त्यो येशूले दिनु भएका मिश्रित चिन्हको पूर्ति हुने घटनाहरूको शुरुआत ता थिएन? त्यस चिन्हका अरू विशेषताहरू पनि के पछि पछि पूरा हुनेवाला थियो?
“येशू ख्रीष्टको प्रकाशमा,” यस्तै खुनखराबीबारे भविष्यवाणी गरिएको छ। यहाँ एउटा उज्ज्वल रातो घोड़ा र त्यसमाथि चढनेले “पृथ्वीबाट शान्ति हरण गर्दछ।” (प्रकाश १:१; ६:४) निश्चित रूपमा त्यो १९१४ देखि १९१८ सम्ममा भयो। र प्रथम विश्वयुद्ध ता एउटा शुरुआत मात्र थियो। त्यस पछि १९३९ मा, दोस्रो विश्वयुद्ध भयो। त्यस भिड़न्तमा ५९ राष्ट्रहरू मुछिए, र केही ५ करोड़ जति मानिसहरू मारिए। दोस्रो विश्वयुद्ध पछिका ४५ वर्षहरूमा, १२५ वटा भन्दा बढ़ी युद्धहरू लड़िए, जसमा २ करोड़ भन्दा बढ़ी मानिसहरू मारिए।
त्यस चिन्हको अर्को विशेषता हो: “ठाउँ ठाउँमा अनिकाल हुनेछ।” (मत्ती २४:७) प्रथम विश्वयुद्ध र त्यस पछिको समयमा, व्यापक अनिकाल भएको थियो। एउटा रिपोर्ट अनुसार, १९१४ देखिन्, यता ६० भन्दा बढ़ी ठूला अनिकालहरू भएका थिए, जसबाट लाखौंको ज्यान गएको थियो। त्यस बाहेक, अझै पनि प्रत्येक दिन ४०,००० केटा-केटीहरू कुपोषण र रोकथाम गर्न सकिने रोगहरूबाट मर्दछन्।
“ठूला ठूला भैंचालो जानेछन्।” (लूका २१:११) प्रथम युद्ध शुरु भए पछि यी भैंचालाहरूले पृथ्वीलाई हल्याए। १९१५ मा, एउटा भैंचालोबाट इटलीमा ३२,६१० जनाको ज्यान गयो; १९२० मा, अर्कोले चीनमा २००,००० लाई माऱ्यो; १९२३ मा, जापानमा ९९,३०० जना मरे; १९३५ मा, आज जसलाई पाकिस्तान भनिन्छ, त्यहाँ २५,००० जनाले ज्यान गुमाए; १९३९ मा, टर्कीमा ३२,७०० जना नष्ट भए; १९७० मा, पेरूमा, ६६,८०० जना मारिए; १९७६ मा, चीनमा, २४०,००० (कसै कसै अनुसार ८००,०००) मरे; १९८८ मा, अर्मेनियामा, २५,००० जनाले आफ्नो ज्यान गुमाए। निश्चय पनि, १९१४ देखिन् ठूला ठूला भैंचालाहरू गएका छन्!
“विभिन्न ठाउँहरूमा रूढ़ी।” (लूका २१:११) १९१८ र १९१९ का दौडानमा, केही १,०००,०००,००० मानिसहरू स्प्यानिश फ्लू भन्ने रोगबाट बिरामी परे, र २०,०००,००० भन्दा बढ़ी मानिसहरू मरे। तर त्यो शुरुआत मात्र थियो। विकासशील संसारमा, औलो, स्नेल फिवर, रिभर ब्लाइन्डनेस, चर्को झाड़ा, र अन्य रोगहरूले लाखौंलाख मानिसहरूलाई यात अपाङ्ग पारिरहेको छ, या मारिरहेको छ। त्यसमाथि थप, हृदय रोग र क्यान्सरले अझै लाखौं जीवन खतम पार्दछ। यौन सम्बन्धी सरुवा रोगहरूले मानवजातिलाई ध्वंश पारिरहेको छ। आज मानिसहरूको हृदय एड्स भन्ने घातक रोगबाट कम्पित छ, जुन रोगले प्रत्येक मिनेटमा एउटा नया शिकार बनाउँछ भनी अनुमान लगाइएको छ र जसको निदान अझै देखिंदैन।
“अधर्म बढ़ने हुनाले।” (मत्ती २४:१२) १९१४ देखिन् अधर्म बेपत्तासित बढ़ेको छ, र आज यो एउटा विस्फोटक अवस्थामा पुगेको छ। हत्याहरू, बलात्कारहरू, डकैतीहरू, र अपराधी समूहहरूका बीचका युद्धहरू—यस्ता कुराहरूनै समाचारपत्रको प्रमुख समाचार र रेडियो र टेलिभिजनको समाचार प्रसारणका विषय हुन्छन्। अर्थहीन हिंसा कुनै रोकटोक बिना बढ़ी रहेछ। संयुक्त राष्ट्र अमेरिकामा, एउटा बन्दूकधारीले आफ्नो स्वचालित बन्दूकले एकसय गोली दाग्छ—५ जना मर्दछन्, र २९ जना घायल हुन्छन्। इङ्गलैण्डमा, एउटा बौलठ्ठी मानिसले एके-४७ भन्ने राइफलले १६ जना मानिसको हत्या गर्दछ। क्यानाडामा, आइमाईहरूलाई घृणा गर्ने एउटा मानिस मोन्ट्रियल विश्वविद्यालयमा जान्छ र त्यहाँ भएकी आइमाईहरू मध्ये १४ जनालाई मार्दछ। यस प्रकारका मानिसहरू ब्वाँसाहरू, सिंहहरू, जङ्गली जनावरहरू, तर्कहीन जन्तुहरू जस्ता हुन्, जो समातिएर नाश गर्नकालागिनै जन्मिएका हुन् ।—इजकि- एल २२:२७; सपन्याह ३:३; २ पत्रुस २:१२ सङ्ग तुलना गर्नुहोस्.
“संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्।” (लूका २१:२६) प्रथम परमाणु बम बिस्फोटन भएको केही दिन पछिनै, परमाणविक बैज्ञानिक ह्यारोल्ड सी. उरेले भविष्यबारे भने: “हामी डरलाई खाने छौं, डरमा सुत्ने छौं, डरमा बाँच्ने छौं र डरमै मर्ने छौं।” आणविक युद्धको डरका साथ अझ अपराध, अनिकाल, आर्थिक अस्थिरता, नैतिक पतन, पारिवारिक ह्रास, पृथ्वीको प्रदूषण थपिएको छ। यथार्थमा, दैनिक समाचारपत्रहरू र टेलिभिजनका समाचार प्रसारणहरूबाट हाम्रो सामुन्ने दिनहूँ देखाइएका खराब समयहरूले डरलाई सर्वत्र फैलाएकोछ।
यस रीतिरिवाजको अन्तका दिनहरूमा हुने स्थितिहरूबारे प्रेरित पावलले पनि लेखे। तिनका वचनहरू पढ़दा, दैनिक समाचारहरू पढ़ेको जस्तै हुन्छ। तिनले लेखे: “तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वर भन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यिनीहरूबाट पनि पर बस।”—२ तिमोथी ३:१-५.
“सृष्टिको शुरूदेखि जस्तैगरी” सबै कुराहरू चलिआएका छन्
अन्तिम दिनको अर्को विशेषताबारे प्रेरित पत्रुसले भविष्यवाणी गरेका छन्: “पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै आभिलाषामा यसो भन्दै आउनेछन्, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्।’”—२ पत्रुस ३:३, ४.
आज, अन्तिम दिनहरूबारे कुरा गर्दा, धेरै मानिसहरूले पत्रुसले भनेका अगमवाणीलाई पूरा गर्दछन्, र गिल्लागर्दै यसो भन्छन्: ‘ओहो, यी सबै कुराहरू ता पहिले पनि भएका हुन्। यो ता इतिहास दोहरिएको मात्र हो।’ यसप्रकार तिनीहरू चेताउनीलाई ध्यान दिंदैनन् र “तिनीहरूका आफ्नै अभिलाषामा” हिंड़ि रहन्छन्। यतिका स्पष्ट रूपमा चिनाउने गरी पूर्ति भएका भविष्यवाणीहरूलाई “आफ्नै अभिलाषाले गर्दा” तिनीहरूले ध्यान दिंदैनन्।—२ पत्रुस ३:५.
तथापि, येशूले भविष्यवाणी गर्नु भएको मिश्रित चिन्हका विभिन्न विशेषताहरू सबैनै यसप्रकार, यति छोटो समयमा, यति जोड़दार ढ़ङ्गमा, यति विस्तृत रूपमा प्रभाव पार्ने गरी पहिले कहिले पूरा भएको थिएन। (उदाहरणका लागि, मत्ती २४:३-१२; मर्कूस १३:३-८; लूका २१:१०, ११, २५, २६ को पुनरावलोकन गर्नुहोस्) र प्रकाशितवाक्यमा अन्तिम दिनहरूबारे वर्णन गरिएको अझ अर्को विशेषता तर्फ तपाईंको ध्यान आकर्षित गर्न हामी चाहन्छौं।
प्रकाश ११:१८ लाई हेरौं। यसले भन्दछ कि जब ख्रीष्टको राज्यले राज गर्न थाल्दछ र राष्ट्रहरू क्रोधित हुन्छन् र इन्साफ गर्ने समय आउँछ, अनि यहोवाले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नु हुनेछ।” के आज प्रदूषणले वातावरणलाई नष्ट गरी रहेको छैन र? यो सत्य हो, आफूलाई धनी तुल्याउन मानिसहरूले सदानै पृथ्वीका साधनहरूको दुरुपयोग गरेका छन्। तर पृथ्वीलाई नष्ट गरेर, यसलाई बस्नै नहुने ग्रह तुल्याउन सक्ने अवस्थामा चाहिं मानिसहरू पुगेका थिएनन्। अब, १९१४ देखिन्को बैज्ञानिक तकनिकी ज्ञानको विकाशले गर्दा, मानिसहरूमा त्यो शक्ति आएको छ, र लोभी भएर धन हत्याउँदै, तिनीहरूले वास्तवमा पृथ्वीलाई नष्ट गर्दैछन्, वातावरणलाई प्रदूषित पार्दैछन् र जीवन धान्न सक्ने पृथ्वीको क्षमतालाई खतरामा पार्दैछन्।
एउटा लोभी, भौतिकवादी समाजले यो काम एउटा अत्याउने किसिमबाट गरी रहेकोछ। यी अत्याचारहरूका केही फलहरू यी हुन्: तेजाबी वर्षा, उष्ण भू-मण्डल, ओजोनको पत्मा छिद्रहरू, फोहोरको ओइरो, विषालु पदार्थको ढेडी, खतरनाक जड़ीबूटीहरू र कीटनाशक औषधीहरू, आणविक विकार, जताततै पोखिएको तेल, अपरिष्क्रित फोहोर नालीमा खाँदिनु, प्राणी-विशेषहरूलाई परेको खतरा, सुखा तालहरू, पाताले पानीको प्रदूषण, जङ्गल विनाश, प्रदूषित माटो, मलिलो माटोको ह्रास, र रूखहरू, र बालीहरू र साथै मानव स्वास्थ्यलाई पनि हानि गर्ने धूइरो।
प्राध्यापक बैरी कमनर भन्छन्: “मेरो विश्वास छ कि पृथ्वीको प्रदूषणलाई नरोक्ने हो र चलिरहन दिने हो भने, अन्ततोगत्वा यो ग्रह मानव जीवन योग्यको स्थल हुनेछैन . . . यो कठिनाई बैज्ञानिक अज्ञानताको कारण नभएर, लोभपूर्ण अभिलाषाले गर्दा हुनेछ।” स्टेट आफ द वर्ल्ड १९८७ भन्ने पुस्तकको पाना ५ मा भनिएको छ: “पृथ्वी एउटा बसी नसक्ने ठाउँ हुने खतरा मानव गतिविधिकै मात्राबाट भइ रहेछ।” संयुक्त राष्ट्र अमेरिकामा, १९९० मा टेलिभिजनद्वारा “ग्रहलाई बचाउने दौड़” भन्ने एउटा विशेष धारावाहिक कार्यक्रम प्रसारण गरिएको थियो।
प्रदूषण गर्ने काम मानिसले कहिले बन्द गर्ने छैन; यो काम परमेश्वरले मात्र बन्द गर्नु हुनेछ जब उहाँले पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्नु हुनेछ। परमेश्वर र स्वर्गमा हुनुहुने उहाँका फिल्ड-मार्शल, येशू ख्रीष्टले आर-मागेदोनको अन्तिम युद्धमा भौतिकवादी राष्ट्रहरूमाथि इन्साफको फैसला कार्यान्वयन गर्नु भएर यो काम गर्नु हुनेछ।—प्रकाश १६:१४, १६; १९:११-२१.
अन्तमा, अन्तिम दिनहरू बारे येशूका भविष्यवाणीका निम्नलिखित उल्लेखनीय विशेषतामाथि ध्यान दिनुहोस्: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (मत्ती २४:१४) परमेश्वरको राज्य अहिले स्वर्गमा राज गरिरहेको छ र अब चाँड़ैनै यो दुष्ट रीतिरिवाजलाई नष्ट गरेर त्यसले पृथ्वीमा प्रमोदवनको पुनर्स्थापन गर्नेछ भनी यो सुसमाचारले भन्दछ। सुसमाचार पहिले पनि प्रचार गरिएको थियो, तर सारा संसारलाई ढाक्ने गरी कहिले गरिएको थिएन। तथापि, १९१४ देखि, येशूले भविष्यवाणी गर्नु भए अनुसार—सरकारी प्रतिबन्धहरू, भीड़द्वारा हिंसा, कारावास, यातना, र धेरैले मृत्यु समेत भोग्नु परेता पनि, यहोवाका साक्षीहरूले सो काम गरिनै रहेका छन्।
१९१९ मा, ४,००० यहोवाका साक्षीहरूले मात्र यो सुसमाचार प्रचार गर्ने काम गरी रहेका थिए। तिनीहरूको संख्या दिन-प्रतिदिन बढ़ी रहेको छ, र गएको वर्षमा ४,०००,००० भन्दा बढ़ीले २१२ वटा देशहरूमा, करीब २०० भाषाहरूमा लाखौंलाख बाइबल पुस्तकहरू, र पत्रिकाहरूका वितरणका साथै लाखौं मानिसहरूसँग तिनीहरूका घरमा बाइबल अध्ययन गर्दै र संसारका सबै भागहरूमा ठूलाठूला खेल-स्थलहरूमा सम्मेलनहरू आयोजित गरेकाछन्। १९१४ भन्दा पहिले यस प्रकार विस्तृत रूपमा संसारभरि पहिले कहिले पनि सुसमचारको प्रचार गरिएको थिएन। यस मात्रामा यो काम सम्पन्न गर्नका निम्ति आधुनिक तेज रफ्तारका मुद्रण छापाखानाहरू, भ्रमण सुविधाहरू, कम्प्युटरहरू, फ्याक्स मसीनहरू, र साथै मालसमान पठाउने र संचार सुविधाहरूको आवश्यकता पर्दछ र यी कुराहरू हाम्रो समयमा अपूर्व रूपले उपलब्ध छन्।
यर्मियाको समयको यरूशलेमलाई त्यसको नाश हुनेछ भनी चेताउनी दिइएको थियो; त्यहाँका निवासीहरूले त्यसको खिसी मात्र गरे, तर तिनीहरूले सोंचेको भन्दा अबेर भइसकेको थियो। आज, आर-मागेदोनबाट हुने नाशबारे अझ ठूलो ढ़ङ्गमा, र त्यसलाई समर्थन गर्ने अत्यधिक प्रमाणका साथ चेताउनी दिइँदैछ। (प्रकाश १४:६, ७, १७-२०) लाखौंले सुन्न मन पराउँदैनन्। तर समय सिद्धिन लागेको छ; तिनीहरूले सोंचेको भन्दा अबेर भइसकेको छ। के तपाईंले सोंचेको भन्दा पनि अबेर भइसक्यो कि? (w91 4/1)
[पृष्ठ ७-मा भएको चित्र]
यर्मियाको दिनमा, तिनीहरूले सोंचेको भन्दा अबेर भइसकेको थियो