एउटा सम्पन्न देशमा बसाइँ सर्न अघि राम्ररी सोच-विचार गर्ने
भर्खरै विकसित हुन लागेका सबै जसो देशहरूका दूतावासहरूमा देखिने यो एउटा साधारण दृश्य हो: बैठक-कोठामा अटाइ नअटाइ गरी बसेर तिनीहरूको अन्तर्वार्ताका लागि त्रसित भएर पर्खिरहेका मानिसहरूको जमघट। त्यो छोटो तर महत्त्वपूर्ण छलफलको आधारमा तिनीहरूले पश्चिमका कुनै औद्योगिक देशमा जाने प्रवेशाज्ञा पाउने न पाउने कुराको फैसला हुनेछ। धेरैको विचारमा, यो प्रवेशाज्ञा तिनीहरूलाई सम्पन्नता तिर लैजाने एउटा टिकट हो। पश्चिम अफ्रिकाका एक जना जवान मानिसले यस प्रकार गुनासो गरे, “मैले चार वर्ष देखिन् कड़ा मेहनत गरिरहेछु तर आजसम्म एउटा रेडियो समेत किन्न सकेको छैन। म यदि बेलायत अथवा संयुक्त राष्ट्र अमेरिकामा हुँदो हो त अहिले सम्म मोटर गाड़ी र बस्ने आफ्नो घर भइ सक्ने थियो।”
गरीब र भर्खरै विकसित भइरहेका देशहरूमा बस्ने धेरै जसो मानिसहरूका यस प्रकारका भावनाहरूलाई बुझ्न गाह्रो छैन। तिनीहरूका लागि, जागिर पाउन गाह्रो छ र तलब थोरै हुन्छ। मुद्रा-स्फितिले गर्दा, बचाएको रकमको क्रय-शक्ति घट्दछ। बस्ने घर पाउनु अति नै मुश्किल छ र सानो ठाउँमा अटाइ नअटाइ गरी धेरै मानिसहरू बस्ने गर्छन्। धनि देशहरूका मानिसहरूले फालेका कपड़ाहरू त्यहाँका मानिसहरू लगाउँछन्। धेरैलाई एउटा आर्थिक दलदलमा फँसेको जस्तो लाग्छ।
र अर्को तिर सम्पन्न पश्चिमले कति जोड़सँग कुतकुत्याइ रहन्छ! सिरिया लिओनका एक जना जवान मानिसले यसो भने: “विदेश गएका केही व्यक्तिहरू फर्के पछि हामीलाई यस प्रकारका कथाहरू सुनाउँछन् जसले गर्दा ती औद्योगिक देशहरूलाई आफै गएर हेर्ने साहस हामीमा उत्पन्न हुन्छ। तिनीहरू भन्छन् कड़ा मेहनत गर्नु पर्छ तर आफ्नो पालन-पोषण गर्न र मोटर गाड़ी जस्ता अन्य केही सुविधाहरू पनि प्राप्त गर्न सकिने गरी राम्रो सँग कमाइ गर्न सकिन्छ। र तपाईं यहाँ करीब दुई हजार डलर लिएर आउनु भयो भने, आफ्नै व्यापार शुरू गर्न र विवाह गर्न सक्नु हुनेछ।”
परमेश्वरका केही सेवकहरूले पनि यसै प्रकार सोच्न थालेकोमा केही आश्यर्चको कुरा होइन। एउटी अफ्रिकि बहिनीले यसो भनिन्: “विदेश गएकाहरूले त्यहाँ कति राम्रोसँग जीवन बिताइ रहेकाछन् भन्ने कुरा परमेश्वरको सङ्गठनमा भएका हामी जवान मानिसहरू सुन्छौं। यसकारण, कहिले काहिं म आफूले आफैलाई सोध्ने गर्दछु, ‘म के गर्ने? म चाहिं यहाँ बसेर किन दुःख भोगी रहेछु? म जाउँ कि नजाउँ?’”
तपाईं एउटा गरीब देशमा बस्नु भएको छ भने, यस प्रकार बसाइँ सरेर तपाईंको जीवन स्तरमा उन्नति होला कि भनी तपाईं पनि सोच्ने गर्नु होला। तथापि, नौलो देशमा बसाइँ सर्ने एउटा ठूलो जिम्मेवारी र धेरै पैसा खर्च हुने एउटा गम्भीर कदम हो। यसमा, एउटा नया भाषा सिक्न, नया-नया कामका सीपहरू हासिल गर्न, एउटा नया सभ्यतासँग मिल्न, धेरैले विदेशीहरू प्रति प्रकट गर्ने पूर्वाग्रह सहन र एउटा सम्पूर्णतया बेग्लै प्रकारको जीवनशैली अपनाउनु पर्ने कुराहरू यसमा समावेश हुन सक्छ। तापनि, धेरै मसीहीहरूले यी सबै कुरा सफलतापूर्वक गरेकाछन् र तिनीहरू गएका नया देशहरूमा तिनीहरू धाउने मण्डलीहरूमा अनुकरणीय प्रकाशकहरू, अग्रगामीहरू, प्राचीनहरू र सहायक-सेवकहरूको हैसियतमा धेरै नै उपयोगी हुन सकेका छन्।
तथापि सबै जनाका लागि यति राम्रो भएको छैन। बसाइँ सर्नाले परि आउने मानसिक तनाव र दबाउको कारण, कसै कसैको आध्यात्मिकतामा दखल परेको छ। यसैकारण, प्रार्थनापूर्वक, गम्भीरतासाथ विचार नगरी बसाइँ सर्न हुँदैन। बाइबलले हितोपदेश ३:५, ६ मा यो सल्लाह दिन्छ: “तेरो सारा भरोसा परमेश्वरमा [यहोवामा, न्यु.व.] राख र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरो बाटोहरू सुगम तुल्याइदिनु हुनेछ।” हो, यहोवाको इच्छा अनुसार तपाईं काम गर्नु हुँदैछ भन्ने कुरामा निश्चित हुनु आवश्यक छ। (याकूब ४:१३-१५) र येशूले आफ्ना स्रोताहरूलाई पहिले ‘बसेर हिसाब’ गर्न आग्रह गर्नु हुँदा, तपाईंका लागि पनि व्यवहारिक मदत दिनु भएको छ। (लूका १४:२८) यसको अर्थ आर्थिक कुराको मात्र हिसाब गर्नु होइन। यसको अर्थ, बसाइँ सर्नाले, आफ्नो आध्यात्मिकता माथि पर्ने सम्भाव्य असरको पनि हिसाब गर्नु हो।
विदेशको जीवनबारेका वास्तविकताहरू
कुनै ठाउँमा पनि बसाइँ सर्नु अघि, त्यहाँ पुग्नु भए पछि के कस्तो कुराको सामना तपाईंले गर्नु पर्नेछ भन्ने विषयमा एउटा राम्रो र वास्तविक ज्ञान हुनु आवश्यक छ। सम्भव भए, त्यहाँ एक पटक पहिले स्वयं जानु भएर त्यहाँको वातावरणको हेर विचार गर्नु होस्। नत्रता तपाईंले अरूहरूले भनेको कुरामा भर पर्नु पर्नेछ। यस सम्बन्धमा, बाइबलले यो चेताउनी दिन्छ: “निर्बुद्धि मानिसले आफूले भनेका एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यकतालाई बुझ्छ।”—हितोपदेश १४:१५.
कतिलाई चाहिं पश्चिम देशको विषयमा जे जति थाह छ, ती जम्मै कुरा चल-चित्रहरू र टेलिभिजनका कार्यक्रमहरूबाट प्राप्त गरिएका हुन्। यी व्यक्तिहरू ठान्छन् त्यहाँ सबै नै सम्पन्न छन्, सबैले नै नया मोटर गाड़ी हाँक्छन् र सबै नै हर सुविधाले युक्त घरहरूमा बस्छन्। तर वास्तविकता निकै नै फरक छ। अन्य सम्पन्न देशहरूमा पनि डरलाग्दो मात्रामा दरिद्रता, घर-विहीनता र बेरोजगारी पाइन्छ। र अकसर गरी, भर्खरै बसाइँ सरेर आएकाहरू नै सबै भन्दा दरिद्र बासिन्दाहरू हुन्छन्। एउटा गरीब मुलुकमा स्थित संयुक्त राष्ट्र अमेरीकाको दूतावासका एक जना अफसरले यसो भने: “अमेरीकामा स्थापित हुन कति गाह्रो छ भन्ने कुरा मानिसहरूले बुझ्दै बुझ्दैनन्। कसै कसैले कति प्रगति गरिरहेछन्—कसरी दुईवटा मोटर गाड़ी र घर किनेका छन्—भन्दै घरमा पत्र पठाउँछन्—तर वास्तवमा, तिनीहरू त्यहाँ साँच्चैकै सङ्घर्ष गरिरहेका छन्।”
अन्य ठाउँहरूमा पनि परिस्थिति त्यस्तै छ। लण्डनमा बसोबास गरेर त्यहीं नै शिक्षा प्राप्त गरेका श्रीमान साहर सोरी एउटा पश्चिम अफ्रिकी शिक्षाविद् हुन्। तिनले टिप्पणी गरे: “अफ्रिकाबाट बेलायत बसाइँ सर्न सजिलो छैन। यसरी बाहिरबाट आएका धेरै जसो मानिसहरू अति नै दरिद्र जीवन बिताउँछन्। तिनीहरूको अनुहारभरि दुःखको रेखा कोरिएको हुन्छ। एक पटक फोन चलाउनका लागि २० पेन्स मात्र पनि निकाल्न कतिलाई गाह्रो हुन्छ। अकसर, तिनीहरू धेरै जनासँग एउटै कोठामा बस्छन् र तिनीहरूलाई न्यानो पार्न एउटा सानो हीटर मात्र हुन्छ। तिनीहरूले निम्न स्तरका कामहरू मात्र पाउँछन् र त्यो तिनीहरूको दैनिक खर्चका लागि पनि यथेष्ट हुँदैन। दरिद्रताबाट भाग्न अफ्रिका छाड़ेकाहरू अकसर युरोपका गल्लीहरूमा झन साह्रो दुःख पाइरहेका हुन्छन्।”
एउटा नया देशमा स्थापित हुँदा आइ पर्ने आर्थिक दबाउहरू आफ्नो आध्यात्मिकताका लागि सजिलैसँग हानिकारक हुन सक्तछ। (मत्ती १३:२२) यो साँचो हो कि बाइबलमा कड़ा परिश्रम गर्ने प्रोत्साहन दिइएको छ। (हितोपदेश १०:४; १३:४) तर विदेश जाने धेरैले त आफ्ना आर्थिक आकाँक्षाहरू पूरा गर्न—अथवा मात्र आफ्नो दैनिक जीविका चलाउनका लागि, दिनमा दुई वा तीन ठाउँ काम गर्न बाध्य हुन्छन्। परमेश्वरको उपासनाका लागि समय नै हुँदैन भने पनि हुन्छ। मसीही सभाहरू, बाइबल अध्ययन र अरूहरूलाई बाइबलका सत्य कुराहरू सुनाउने कामको हेलचक्राइ हुन्छ। येशू ख्रीष्टले भन्नु भएका शब्दहरू दुःखदायी ढङ्गमा सत्य साबित हुन्छ: “तिमीहरूले परमेश्वर र धन दुवैको चाकरी गर्नसक्तैनौं।”—मत्ती ६:२४.
नैतिक दबाउहरू
तपाईं जान लाग्नु भएको नया देशको नैतिक वातावरण बारे पनि विचार गर्नु होस्। बाइबल भन्दछ कि लूतले यरदन जिल्लामा बस्न रुचाए। भौतिक दृष्टिकोणबाट, तिनले गरेको फैसला बुद्धिमत्तापूर्ण थियो, किनभने त्यो ठाउँ “प्रभुको [यहोवाको, न्यु.व.] बगैंचा जस्तै चारैतिर पानीले भिजेको थियो।” (उत्पत्ति १३:१०) तथापि, लूतका नया छिमेकीहरू “परमप्रभुको [यहोवाको, न्यु.व.] विरुद्धमा साह्रै पाप गर्थे”—तिनीहरू यौनिक विकार भएका व्यक्तिहरू थिए! (उत्पत्ति १३:१३) फलःस्वरूप, “ती धार्मिक मानिस तिनीहरूसँग रहँदा तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर तिनका सच्चा मन दिनहुँ दुःखित हुन्थयो।”—२ पत्रुस २:८.
त्यसैगरी, आज पनि, पश्चिम तिर बसाइँ सर्नु भयो भने, तपाईं र तपाईंका परिवारले आफ्नो देशमा भन्दा धेरै नै घोर अनैतिक दबाउ र परीक्षाहरूको सामना गर्नु पर्नेछ। साथै, बुज्रुकहरूको जसरी आफ्नो समाजमा आदर गरिन्छ, त्यसरी आदर नगरिएला। आमा-बाबुको सम्मान गर्ने प्रोत्साहन नहोला। यस प्रकारका दबाउहरूले तपाईं र तपाईंको परिवारमाथि के कस्तो असर पार्न सक्छ? यस विषयमा प्रार्थनापूर्वक सोच-विचार गर्नु आवश्यक छ।
अनुपस्थित आमा-बाबुहरू
केही आमा-बाबुहरूले चाहिं परिवारलाई आफ्नै देशमा छाड़ेर, एकलै विदेश जान रूचाएका छन्। त्यहाँ तिनीहरू स्थापित भइ सके पछि आफ्ना परिवारलाई बोलाइ पठाउने अथवा धेरै मात्रामा पैसा लिएर घर फर्कने तिनीहरूको उद्देश्य हुन्छ। के यस प्रकारको प्रबन्ध बुद्धिमतापूर्ण हो?
शास्त्रहरू अनुसार, आमा-बाबुहरूले आफ्ना परिवारहरूका आवश्यकताहरू पूरा गर्ने प्रबन्ध मिलाउनै पर्छ र कुनै कुनै असाधारण परिस्थितिको सामुन्ने, यस प्रकारको प्रबन्ध मिलाउनका लागि, विदेश गएर काम गर्नु बाहेक आमा-बाबुको सामुन्ने अर्को उपाय नै नहोला। (१ तिमोथी ५:८) तर आमा-बाबुहरूले आफ्ना परिवारहरूको आध्यात्मिकतालाई ध्यान दिनु पर्दछ। परमेश्वरको वचनले भन्दछ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको [यहोवाको, न्यु.व.] शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४.
के कुनै बाबुले यो काम आफ्नो घरबाट महिनौं अथवा वर्षौं बाहिर बसेर सफलतापूर्वक गर्न सक्छ होला र? सम्भव देखिंदैन। यसकारण, तपाईंका छोरा-छोरीहरूमाथि तपाईंको अनुपस्थितिको असर र तपाईंलाई प्राप्त हुने भौतिक लाभको तुलना गरेर तपाईंले विचार गर्नु आवश्यक छ। यस बाहेक, बाहिरबाट नया देशमा आएकाहरूले त्यति सजिलैसँग तिनीहरूले सोचे अनुसारको “धन” कमाउन सक्तैनन्। तिनले आफ्नो परिवारको बाटो खर्च कमाउन नसकेमा, तिनी आफ्नो परिवारबाट वर्षौंका लागि अलग हुनु पर्ला। यसले गर्दा, गम्भीर प्रकारका नैतिक खतराहरू पनि आइ पर्न सक्छ। (१ कोरिन्थी ७:१-५ सँग तुलना गर्नु होस्) दुःखको कुरा, यस प्रकारका कठिन परिस्थितिहरूमा परेका केहीले आफूलाई यौनिक अनैतिकताको शिकार हुन दिएका छन्।
परमेश्वरले मिलाइ दिनु भएका प्रबन्धहरूमा निर्धक्क हुनु होस्
यो संसारको आर्थिक गतिविधि बिग्रँदै गएता पनि, परमेश्वरका सेवकहरू कहिले पनि त्यागिने छैनन् भनी याद राख्नु राम्रो कुरा हो। येशूले भन्नु भयो: “यसकारण के खाउँला? कि के पिऔंला? कि के पहिरौंला? भनेर फिक्री नगर, अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दरकार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।”—मत्ती ६:३१-३३.
यहोवाका साक्षीहरूले आज सुसमाचार जोशिला भएर प्रचार गर्दै परमेश्वरको राज्यको खोजी गर्दछन्। (मत्ती २४:१४; २८:१९, २०) धेरै गरीब देशहरूमा, राज्य प्रचारकहरूको ठूलो खाँचो छ। विशेषगरी, परिपक्व प्राचीनहरू र सहायक सेवकहरूको खाँचो छ। धेरै खाँचो नभएको, आर्थिक तौरमा सम्पन्न देशमा जानुको सट्टा, धेरैले आफ्नै देशहरूमा बस्न रुचाएका छन्। यिनीहरू मध्ये केहीले कति उन्नति गरिरहेका छन्?
आफ्नै देशमा बितेको तीस वर्ष देखिन्, पूर्ण समय सेवकाईमा लागेकी, पश्चिम अफ्रिकाकी आलेथ्या भन्छिन्: “मलाई विदेश जाने मौका थियो। तर म नगएको कारण मलाई आफ्नै मानिसहरू र आफन्तहरूसँग बस्नु मन पर्छ। तिनीहरूलाई सच्चाइ सिकाउन र मिलेर यहोवाको सेवा गर्न मलाई रमाइलो लाग्छ। यहाँ बसेर मलाई कुनै कुराको अभाव भएको छैन र कुनै कुराको पछुतो पनि छैन।”
त्यस्तै गरी विनिफ्रेड पनि एउटा अफ्रिकि देशमा बस्छिन्। त्यस ठाउँको जीवन स्तर संसारमा सबै भन्दा निम्न स्तरको छ। तर ४२ वर्ष पूर्ण समय-सेवकाईमा बिताइ सकेर तिनी भन्छिन्: “आर्थिक चाँजो मिलाउन सँधै सजिलो हुँदैन। शैतानले मामला कठिन पारि दिन खोज्छ तर जहिले पनि यहोवाले मेरा लागि प्रबन्ध मिलाइ दिनु भएको छ र मेरा आवश्यकताहरूलाई ध्यानमा राख्नु भएको छ।”
प्राचीन समयहरूमा, अब्राहामलाई पूरा विश्वास थियो कि परमेश्वरले जे “प्रतिज्ञा गर्नु भएको छ, त्यो पूरा पनि गर्न सक्नु हुन्छ।” (रोमी ४:२१) त्यस्तैगरी, तपाईंले पनि यहोवाको राज्यलाई प्रथम स्थान दिनु भयो भने, उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्न र तपाईंको हेर-विचार गर्न सक्नु हुन्छ भनी के तपाईं विश्वस्त हुनु हुन्छ? यी शब्दहरू लेख्ने भजनसंग्रहका लेखकसँग के तपाईं सहमत हुनु हुन्छ: “तपाईंको मुखबाट निस्केको व्यवस्था मेरो निम्ति हजारौं सुन र चाँदीभन्दा असल छ”? (भजनसंग्रह ११९:७२) कि के प्रेरित पावलले दिएको सल्लाह अझ राम्रोसँग प्रयोगमा ल्याउने तपाईंलाई खाँचो छ? १ तिमोथी ६:८ मा तिनले यस प्रकार लेखे: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” शायद, नया वातावरणको खोजी गर्नुको सट्टा आफ्नो वर्तमान वातावरणबाट नै बढ़ी मात्रामा तपाईंले लाभ उठाउन सिक्नु नै बुद्धिमत्ताको कुरा हुने होला कि?
धेरै देशहरूका आर्थिक अवस्थाहरूको कारण मसीहीहरू माथि कठिनाइहरू आइ पर्न सक्छन्। यसकारण, सबै विथोलित कुराहरूलाई राम्रोसँग विचार गरेर, कुनै परिवारले आफ्नो बसाइँ सर्ने फैसला गरेमा, तिनीहरूको अरूहरूले आलोचना गर्नु पर्ने खाँचो छैन। (गलाती ६:५) बसाइँ नसर्नेहरूले चाहिं यो रीतिरिवाजको कठिनाइहरूको सामना गर्न यहोवाबाट मदत माँग्न र परमेश्वरले दिनु हुने आत्मिक आशिषहरूबाट आनन्दित हुन सक्छन्। सम्झनु होस्, चाँड़ै नै यो संसारको अन्याय र बेइन्साफी परमेश्वरको राज्य अन्तर्गत हटाइनेछ। त्यस बेला, भजनसंग्रहका लेखकले लेखे झैं हुनेछ: “तपाईंले आफ्नो मुठी खोल्नु हुन्छ र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भजन संग्रह १४५:१६. (w04/1/91)