‘आफ्नो परिवारको पालनपोषण गर्ने’
विकासोन्मुख मुलुकहरूमा चुनौतीको सामना गर्ने
“कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” उक्त शब्दहरू प्रेरित पावलले भनेका हुन्। (१ तिमोथी ५:८) सम्पन्न राष्ट्रहरूमा परिवारलाई पाल्नु प्रतिदिन गाह्रो भइरहेको छ भने विकासोन्मुख मुलुकहरूमा त अक्सर झन् धेरै विकट चुनौतीहरूको सामना गर्नुपर्छ।
उदाहरणका लागि, अफ्रिकामा अक्सर आर्थिक कठिनाइ सामान्य भइसक्यो। रोजगारी पाउनु मुस्किल छ र पाएको खण्डमा पनि केवल आधारभूत आवश्यकताहरू जुटाउन पतिपत्नी दुवैले काम गर्नुपर्ने हुनसक्छ। काम पाउन परिवारका शिरहरूले आफ्नी पत्नी र छोराछोरीलाई महिनौं वा वर्षौंसम्म छाडेर धेरै टाढा जानुपर्ने हुनसक्छ। सुविधाजनक घर पाउन पनि गाह्रो पर्ला। धेरैजसो अफ्रिकी परिवारहरू ठूलो हुन्छन्। त्यसैकारण बस्ने ठाउँहरू साँगुरो हुनुका साथै आधारभूत सुविधाहरूको अभाव हुन्छ। स्वास्थ्य समस्याहरूले बारम्बार घेरिरहन्छन्।
यसबाहेक, स्थानीय प्रथाहरू, प्रचलित परम्पराहरू र लोकप्रिय विचारधाराहरू परमेश्वरको वचन बाइबलको दृष्टिकोण विपरीत होला। विवाह र छोराछोरीहरूप्रति व्याप्त केही मनोवृत्तिहरुबारे विचार गर्नुहोस्। केही परिवारका शिरहरूले घरभाडा र स्कूलका अनिवार्य शुल्कहरू तिर्नु मात्रै आफ्नो जिम्मेवारी हो भन्ठान्छन्। तिनीहरूका पत्नीहरू र कहिलेकाहीं त हुर्किसकेका छोराछोरीले खाना र लत्ताकपडाजस्ता आधारभूत कुराहरू उपलब्ध गराउनुपर्ने हुन्छ।
यस अतिरिक्त, केही पतिहरूले “मेरो पैसा मात्र होइन मेरो पत्नीको पैसा पनि मेरै हो” भन्ने सोचाइ राख्छन्। यसले पैसा आर्जन गर्ने पत्नीहरूमा अक्सर रोष पैदा गराउँछ। एक तान्जेनियाली स्त्रीले यस्तो गुनासो पोखिन्: “पैसा, हाम्रो वा छोराछोरीको लागि नभई पिउनको लागि खर्च गरिन्छ। हामी सबै मिलेर काम गर्छौं र अझ भन्ने हो भने हामी बढी गर्छौं तर लिने बेला चाहिं तिनले कमाएको भनेर सबै पैसा लिन्छन्।”
तथापि, मसीहीहरूले स्थानीय संस्कृति वा लोकप्रिय अवधारणाभन्दा परमेश्वरको वचनलाई प्राथमिकता दिन्छन्। आफ्नो परिवारको देखभाल गर्ने सम्बन्धमा बाइबलले मदतकारी निर्देशनहरू दिन्छ। उदाहरणका लागि, यसले यसो भन्छ: “आमा-बाबुको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीको निम्ति आमा-बाबुले धन साँच्नु पर्दछ।” (२ कोरिन्थी १२:१४) अतः काम गर्न सक्षम ईश्वरभीरु पुरुषहरूले अल्छीपनको कारण आफ्ना पत्नीहरू वा हुर्किसकेका छोराछोरीहरूको हातमा परिवारको लागि खाना र लत्ताकपडाको प्रबन्ध गर्ने जिम्मेवारी छाड्दैनन्। ती जिम्मेवारीहरू पूर्णतया परिवारको शिरको काँधमा पर्छ।—१ कोरिन्थी ११:३.
हो, पतिको आय परिवारका सम्पूर्ण आवश्यकताहरू पूरा गर्न पर्याप्त नहोला। तर तिनकी पत्नीले पैसा कमाउन घरबाहिर काम गर्छिन् भने मसीही पुरुष अप्रसन्न हुनेछैनन्। बरु, तिनले आफ्नी पत्नीलाई आदरका साथ “जीवन-साथी[को]” रूपमा व्यवहार गर्नेछन्। (मलाकी २:१४) अतः, पत्नीले परिश्रम गरी कमाएको पैसा तिनले निर्दयतासाथ लिएर तिनका भावनाहरूको ख्यालै नराखी बेकाममा खर्च गर्नेछैनन्। यसको विपरीत, पति र पत्नीले सम्पूर्ण परिवारको लाभ हुनेगरि सर्वोत्तम तरिकामा कसरी खर्च गर्न सकिन्छ, सँगै बसेर ‘सर-सल्लाह’ गर्नेछन्। (हितोपदेश १३:१०) बाइबलकालीन “सुयोग्य पत्नीले” आनन्द उठाएझैं सम्भव भएका ठाउँमा पतिले आफ्नो पत्नीलाई केही हदसम्म आर्थिक स्वतन्त्रता दिन्छन्। (हितोपदेश ३१:१०, ११, १६) यस्ता कुराहरूमा बाइबलका निर्देशनहरू पछ्याउँदा परिवारमा आनन्द र सन्तुष्टि हुन्छ।
बेरोजगारीका चुनौतीहरू सामना गर्ने
बेरोजगारीको समस्यालाई विचार गर्नुहोस्। काम थोरै र तलब कम्ती हुँदा अधिकांश अफ्रिकी परिवारका शिरहरूले घरदेखि टाढा खानी, कारखाना, खेत तथा बगानहरूमा काम खोज्न गएका छन्। मसीही पुरुषले यस्तो परिस्थितिको सामना गर्नुपर्दा आफूलाई सँगी उपासकहरूबाट अलग भएको र असाध्यै नराम्रो संगतबीच हुनुपरेको पाउलान्। (हितोपदेश १८:१; १ कोरिन्थी १५:३३) तिनको परिवारले परिस्थिति सँभाल्न यथासक्दो कोसिस त गर्लान् तर आध्यात्मिक नेतृत्व लिन वा भावनात्मक समर्थन दिन बुबा घरमा नभएकोले सम्भवतः तिनीहरूले कष्ट भोग्नेछन्। हास्यास्पद कुरा त के हो भने, आर्थिक कठिनाइ अर्थात् जुन कुरा हट्नुपर्ने थियो त्यो त लामो समयको अनुपस्थितिले गर्दा झन् खराब हुन्छ।
एउटी आमा यसो भन्छिन्: “मेरो पति सुन खानीमा काम गर्न जानुभयो। एक महिना वा हद भए दुइ महिनापछि फर्कने उहाँको योजना थियो। तर एक वर्ष बितिसक्यो! मैले चाहिं छ जना छोराछोरीहरूको देखभाल गर्नुपऱ्यो। अनि त्यसमाथि घरभाडा तिर्नुपऱ्यो। मेरो स्वास्थ्य खराब भएकोले अस्पताल खर्च बेहोर्नुपऱ्यो। हामीलाई लुगा चाहिन्थ्यो र दिनदिनै खाना पनि खानै पऱ्यो। मेरो कुनै जागिर थिएन। स्थिति अप्ठ्यारो थियो। सबैभन्दा गाह्रो कुरा त छोराछोरीको पारिवारिक अध्ययन, सभाहरू र प्रचारकार्यजस्ता आध्यात्मिक कुराहरूको देखभाल गर्नु थियो। यहोवाको सहयोगद्वारा हामीले जसोतसो जीवन धान्यौं।”
केही आमाहरू समेत कामको निम्ति आफ्नो परिवारलाई लामो समयसम्म छाडेर जान बाध्य भएका छन्। कसै कसैले घुमन्ते व्यापारीको रूपमा जीवन बिताउँछन् र घरमा विरलै देखिन्छन्। अतः, हुर्किसकेका छोराछोरीहरू भोजनको प्रबन्ध गर्न, घरायसी काम गर्न र भाइबहिनीलाई अनुशासनसमेत दिएर आमाबाबुको भूमिका निर्वाह गर्न बाध्य हुन्छन्। आध्यात्मिक क्रियाकलापहरूमा कमी आउँछ। हो, परिवारमा असाध्यै तनाउ हुनसक्छ!
निस्सन्देह, आर्थिक स्थिति अचाक्ली खराब हुँदा परिवारको पालनपोषण गर्न आमाबाबुले घरदेखि टाढा गएर जागिर खोज्नु सिवाय अरू कुनै उपाय रहँदैन। बाइबल समयमा याकूबका छोराहरूले मिश्रबाट खानेकुरा ल्याउन आफ्ना परिवारहरूलाई छाड्नु पऱ्यो। (उत्पत्ति ४२:१-५) अतः आज पनि त्यस्तै परिस्थितिहरू आइपरेर जागिर खाँदा जतिसुकै भौतिक लाभहरू हुने भए तापनि धेरै समयसम्म अलग हुँदा हुने आध्यात्मिक र भावनात्मक हानिलाई परिवारका शिरहरूले राम्ररी विचार गर्नैपर्छ। लामो समयसम्म छुट्टिनुभन्दा आर्थिक कठिनाइ भोग्न नै धेरैजसो परिवारहरूले रुचाउँछन्। तिनीहरूले १ तिमोथी ६:८ मा उल्लिखित पावलका शब्दहरूलाई मनमा लिन्छन्: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—हितोपदेश १५:१७ तुलना गर्नुहोस्।
जागिरका निम्ति विदेशिनुको साटो त्यसका प्रायः विकल्पहरू हुन्छन्। अग्रसर भएर, तौरतरिका चलाएर उपयोगी सेवाहरू गर्दै केही मानिसहरू जागिर सृजना गर्न सक्षम भएका छन्।a (हितोपदेश ३१:२४ तुलना गर्नुहोस्।) वा अरूको दृष्टिमा निम्न दर्जाका सानातिना जागिरहरू स्वीकार्नुपर्ने स्थिति होला। (एफिसी ४:२८) प्रेरित पावलले अरूमाथि आर्थिक बोझ नलाद्न आफैले ‘दिन-रात परिश्रम र कष्टसाथ काम गरे।’ (२ थिस्सलोनिकी ३:८) आज मसीही पुरुषहरूले त्यही उदाहरण अनुसरण गर्नसक्छन्।
शिक्षाका समस्याहरू
अर्को समस्या शिक्षा हो। केही दुर्गम क्षेत्रहरूका आमाबाबुहरूले साधारणतया आफ्ना छोराछोरीलाई पर्याप्त शिक्षा दिन घरदेखि टाढा आफन्तहरूकहाँ लामो समयको लागि पठाउँछन्। आमाबाबुदेखि छुट्टिएका यस्ता छोराछोरीलाई सभाहरू धाउन वा क्षेत्र सेवकाईमा भाग लिन अक्सर गाह्रो पर्छ। आवश्यक अनुशासनको अभावमा तिनीहरू खराब संगतको सहजै शिकार बन्छन्। परिणामस्वरूप, थुप्रैले मसीही जीवनपद्धति त्यागेका छन्।
निस्सन्देह, सांसारिक शिक्षाका आफ्नै लाभहरू छन्। तर बाइबलले आध्यात्मिक शिक्षालाई बढी मूल्यवान् ठान्छ र छोराछोरीलाई यस्तो शिक्षा दिने जिम्मेवारी परमेश्वरले आमाबाबुलाई दिनुभएको छ। (व्यवस्था ११:१८, १९; हितोपदेश ३:१३, १४) तथापि, छोरा वा छोरीलाई धेरै समयको लागि घरदेखि टाढा पठाउँदा तिनलाई “प्रभुको शिक्षा र चे[ता]उनीमा पालन-पोषण” गर्न आमाबाबुले गरेका प्रयासहरू सम्भवतः कमजोर हुनेछ।—एफिसी ६:४.b
शिक्षाका स्थानीय प्रबन्धहरू पर्याप्त नहुँदा छोराछोरीलाई टाढा पठाउनुबाहेक आमाबाबुसित अरू कुनै उपाय नहोला। तर तिनीहरू आफैले छोराछोरीलाई आधारभूत शिक्षाहरू दिनसक्छन्। ‘महान् शिक्षक,’ यहोवाले पनि मदत गर्नुहुन्छ। (यशैया ३०:२०) यहोवाका साक्षीहरूको स्थानीय मण्डलीहरूले थुप्रै शैक्षिक प्रबन्धहरू गर्छन्। थुप्रै मण्डलीहरूले साक्षरता कक्षाहरू सञ्चालन गर्छन्। त्यस्तैगरि, ईश्वरतान्त्रिक सेवकाई पाठशाला पनि मदतकारी प्रबन्ध हो। यस प्रबन्धले बालकलाई स्पष्टसित लेख्ने र बोल्ने योग्यतामा तीक्ष्ण बनाउनसक्छ।
छोराछोरी जन्माउनेबारे सन्तुलित दृष्टिकोण
खासगरि थुप्रै छोराछोरी छन् भने तिनीहरूको पालनपोषण गर्न गाह्रो हुन्छ। हामीलाई छोराछोरी मन पर्छ भनेर अफ्रिकी आमाबाबुहरू अक्सर भन्ने गर्छन्। त्यसर्थ, तिनीहरूले यथाशक्य धेरै छोराछोरी जन्माउँछन्! छोराछोरीलाई आर्थिक मदत दिने सहायकको रूपमा लिनाले थुप्रै आमाबाबुहरूले अधिक छोराछोरीको उचित पालनपोषण गर्न सक्दैनन्।
निस्सन्देह, “छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्” भनेर बाइबलले बताउँछ। (भजन १२७:३) तथापि, इस्राएलमा परिस्थितिहरू राम्रो हुँदा ती शब्दहरू लेखिएका थिए भनेर याद गर्नुहोस्। पछि, प्रचण्ड अनिकाल र युद्धले गर्दा छोराछोरी जन्माउनु कष्टप्रद नै भयो। (विलाप २:११, २०; ४:१०) विकासोन्मुख थुप्रै मुलुकहरूमा व्याप्त कठिन परिस्थितिलाई दृष्टिगत गर्दै वास्तवमा कति जना छोराछोरीको निम्ति गाँस, बास, कपडा र शिक्षाको प्रबन्ध गर्न सकिन्छ भनेर जिम्मेवार मसीहीहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ। खर्चपातको हिसाब निकालेपछि थुप्रै दम्पतीहरू के निष्कर्षमा पुग्छन् भने, धेरै छोराछोरी जन्माउनुपर्छ भन्ने परम्परागत धारणालाई त्यागेर सीमित संख्यामा छोराछोरी जन्माउनु सर्वोत्तम हुनेछ।c—लूका १४:२८ तुलना गर्नुहोस्।
स्पष्टतया, यी “डरलाग्दो समय” हुन्। (२ तिमोथी ३:१-५) यस रीतिरिवाज त्यसको अवश्यम्भावी अन्ततिर जति चाँडो लम्कँदैछ, निस्सन्देह विकासोन्मुख मुलुकहरूका परिवारहरूमा त्यति नै दबाबहरू बढ्नेछन्। यद्यपि, परमेश्वरको वचनका सिद्धान्तहरूलाई राम्ररी पालन गरेर परिवारका शिरहरूले आफ्ना परिवारको भौतिक तथा आध्यात्मिक दुवै आवश्यकताहरूको हेरचाह गर्न सफल हुनसक्छन्। किनभने यहोवालाई वफादारीसाथ सेवा गर्नेहरूलाई उहाँ यसरी प्रतिज्ञा गर्नुहुन्छ: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्यागनेछैनँ।” (हिब्रू १३:५) हो, गरिब मुलुकहरूमा समेत मसीहीहरूले आफ्नो परिवारको पालनपोषण गर्ने चुनौतीको सफलतापूर्वक सामना गर्नसक्छन्।
[फुटनोटहरू]
a हाम्रो सहायक पत्रिका ब्यूँझनुहोस्! (अंग्रेजी) अक्टोबर २२, १९९४ अंकको “विकासोन्मुख देशहरूमा जागिरहरू सृजना गर्ने” लेख हेर्नुहोस्।
b थप जानकारीको लागि प्रहरीधरहरा, (अंग्रेजी) अगस्त १५, १९८२ को “पाठकहरूका प्रश्नहरू” हेर्नुहोस्।
c ब्यूँझनुहोस्! मार्च १, १९९३ को “परिवार नियोजन—एउटा विश्वव्यापी समस्या[का]” श्रृंखलाहरूमा मदतकारी जानकारी दिइएको छ।