के तपाईंले परमेश्वरको दयाको अनुकरण गर्नु हुनेछ?
“प्रिय बालकहरू झैं, परमेश्वरका देखा-सिकी गर्नेहरू होओ।”—एफिसी ५:१.
१. अरूहरूको अनुकरण गर्ने विषय, हामी सबैका लागि किन चासोको विषय हो?
राम्रो होस् अथवा खराब होस्, धेरै जसा मानिसहरूले अरूहरूको देखासिकी गर्दछन्। हामी जस-जससँग सङ्गत गर्दछौं र जस-जसको हामी अनुकरण गर्दछौं, यसबाट हामीमा अति नै गहिरो प्रभाव पर्न सक्तछ। हितोपदेश १३:२० का प्रेरित लेखकले यो चेताउनी दिए: “बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमानी होइन्छ, मूर्खहरूसित लागेमा बरालिन्छ।” यसैकारण, परमेश्वरको वचन भन्दछ: “हे प्रिय हो, खराबीको होइन, तर भलाइको देखा-सिकी गर।”—३ यूहन्ना ११.
२. हामीले कसको अनुकरण गर्नु पर्ने हो र कुन कुन ढङ्गमा?
२ हामीले अनुकरण गर्न सक्ने, पुरुषहरू र स्त्रीहरूका सर्वोत्तम उदाहरणहरू बाइबलमा पाइन्छन्। (१ कोरिन्थी ४:१६; ११:१; फिलिप्पी ३:१७) तापनि, हामीले सबै भन्दा प्रथम अनुकरण गर्नु पर्ने व्यक्ति परमेश्वर हुनु हुन्छ। हामीले आफूबाट हटाउनु पर्ने आनीबानी र सोंच-विचारहरूबारे टिप्पणी गरे पछि, प्रेरित पावलले एफिसी ४:३१–५:२ मा, हामीहरूलाई “एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ” भनेर आग्रह गरे। अनि यस पछि यो मुख्य आग्रह पनि गरे: “यसकारण, तिमीहरू प्रिय बालकहरू झैं, परमेश्वरका देखा-सिकी गर्नेहरू होओ . . . औ प्रेममा चल।”
३, ४. परमेश्वरले आफ्नो वर्णन कसरी गर्नु भएको छ र उहाँ एक जना न्यायसँगत परमेश्वर हुनु हुन्छ भन्ने विषयमा हामीले किन ध्यान दिनु पर्दछ?
३ परमेश्वरका कुन-कुन मार्गहरू र गुणहरूको हामीले अनुकरण गर्नु उचित हो? उहाँका व्यक्तित्व र कार्यहरूका विभिन्न पक्षहरू छन्, जुन कुरा मोशाको सामुन्ने उहाँले आफ्नो विषयमा गर्नु भएको यो वर्णनबाट देखिन्छ: “परमप्रभु [यहोवा, न्यु.व.] टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। हजारौं हजारमाथि कृपा देखाउनु हुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता-पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति . . . सम्म दिनु हुने हुनुहुन्छ।”—प्रस्थान ३४:६, ७.
४ यहोवाले “धार्मिकता र न्यायलाई निको मान्नु” भएको हुनाकारण, हामीले उहाँको व्यक्तित्वको यो पक्ष निश्चित रूपमा चिन्नु पर्दछ र त्यसको अनुकरण पनि गर्नु पर्दछ। (भजनसंग्रह ३३:५; ३७:२८) उहाँ सृष्टिकर्ताका साथै मानिस जातिको सर्वोच्च न्यायाधीश र कानुन-दाता पनि हुनु हुन्छ र यसैकारण उहाँले सबै प्रति इन्साफ गर्नु हुन्छ। (यशैया ३३:२२) यो कुरा उहाँले आफ्ना जन अर्थात् इस्राएलीहरू र पछि मसीही मण्डली भित्र पनि इन्साफलाई आवश्यक ठान्नु हुँदै, इन्साफ कार्यान्वयन गर्नु भएकोबाट स्पष्टसँग देखिन्छ।
ईश्वरीय न्यायको कार्यान्वयन
५, ६. इस्राएलीहरूसँग गर्नु भएको व्यवहारमा परमेश्वरको न्याय कसरी प्रदर्शित भयो?
५ इस्राएललाई आफ्ना जनहरूको रूपमा छान्नु हुँदा, तिनीहरूले उहाँको “कुरा साँच्चैनै नै” सुन्नेछन् वा छैनन् र उहाँको “करार पालन” गर्नेछन् वा छैनन् भनेर परमेश्वरले सोध्नु भयो। सिनै पवर्तको फेदीमा एकत्रित भएर, तिनीहरूले यो जवाफ दिए: “परमप्रभुले [यहोवाले, न्यु. व.] भन्नु भएका सबै कुराहरू हामी पालन गर्नेछौं।” (प्रस्थान १९:३-८) यो एउटा अति नै गम्भीर जिम्मेवारी थियो! स्वर्गदूतहरू द्वारा परमेश्वरले इस्राएलीहरूलाई करीब ६०० वटा नियमहरू दिनु भयो र एउटा समर्पित जाति भएका हुनाले, ती नियमहरू पालन गर्ने तिनीहरूको जिम्मेवारी थियो। कसैले पालन न गरेमा के हुने थियो? परमेश्वरका व्यवस्थाका एक जना विशेषज्ञले यो व्याख्या गरे: “स्वर्गदूतहरू द्वारा बोलिएका वचन दृढ़ प्रमाणित भयो . . . र हरेक अपराध र अनाज्ञाकारिताले ठीक ठीक बदला पाए।”—हिब्रू २:२.
६ हो, आज्ञा पालन न गर्ने एक जना इस्राएलीले कुनै मानिसको हातको अपूर्ण इन्साफ होइन, तर हाम्रा सृष्टिकर्ताबाट “ठीक, ठीक बदला” पाउने थियो। कानुन भङ्ग गर्नेहरूका लागि परमेश्वरले विभिन्न सजाय तोक्नु भएको थियो। सबै भन्दा कड़ा सजाय ‘बहिष्कार’ हुनु अथवा मृत्यु दण्ड पाउनु थियो। यो सजाय मूर्ति-पुजा, व्यभिचार, हाड़नाता करणी, पशुमेह, पुरुषमेह, बालक-बलि, हत्या र रगतको दुरुपयोग जस्ता गम्भीर नियमहरूको उल्लङ्घनहरू भएको खण्डमा प्रयोग हुन्थ्यो। (लेवी १७:१४; १८:६-१७, २१-२९) साथै, कुनै पनि ईश्वरीय कानुनको जानी-जानी उल्लङ्घन गरेर पश्चाताप नगर्ने इस्राएली “बहिष्कृत” हुन सक्तथियो। (गन्ती ४:१५, १८; १५:३०, ३१) यस प्रकार ईश्वरीय इन्साफको कार्यान्वयन हुँदा, यसको असर कुकर्म गर्ने व्यक्तिको सन्तानहरूमाथि सम्म पनि पर्न सक्तथियो।
७. परमेश्वरका प्राचीन मानिसहरूको बीच न्याय कार्यान्वयन गर्दा प्रतिफलहरू के के भए?
७ यस प्रकारका सजायहरूले ईश्वरीय कानुनको उल्लङ्घन गर्न अति नै गम्भीर कुरा हो भनी जोड् दिन्थ्यो। उदाहरणका लागि, एक जना छोरा मतवाला अथवा घिचुवा भएको खण्डमा, उसलाई परिपक्व न्यायाधीशहरूको सामुन्ने ल्याउँन पर्दथियो। तिनीहरूले उसलाई एउटा पश्चातापको भावना बिना, जानी-जानी गलती गर्ने दुष्कर्मी ठहराएमा त्यसका आमा-बाबुहरूले पनि न्यायको कार्यान्वयनमा भाग लिन पर्दथियो। (व्यवस्था २१:१८-२१) र यसो गर्न सजिलो थिएन भनी हामी आमा-बाबुहरूले अनुमान लाउन सक्तछौं। तापनि, साँचो उपासकहरूका माझमा दुष्टता न फैलिओस् भनेर यसो गर्न आवश्यक छ भनी परमेश्वरलाई थाह थियो। (इजकिएल ३३:१७-१९) यो प्रबन्ध उहाँले नै गर्नु भएको थियो जसको विषयमा यी शब्दहरू भन्न सकिन्थ्यो: “उहाँका सबै काम न्यायसँगत छन्। परमेश्वर विश्वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यवस्था ३२:४.
८. मसीही मण्डलीसँग परमेश्वरले गर्नु भएको व्यवहार कसरी न्यायसँगत थियो?
८ धेरै शताब्दी पश्चात्, परमेश्वरले इस्राएली जातिलाई त्यागनु भयो र मसीही मण्डलीलाई छान्नु भयो। तर यहोवा बदलिनु भएन। उहाँ अझै पनि इन्साफको पक्षमा हुनु हुन्थ्यो र “भस्म गर्ने अग्नि” भनेर उहाँको वर्णन गर्न सकिन्थ्यो। (हिब्रू १२:२९; लूका १८:७, ८) गलत काम गर्नेहरूलाई बहिष्कार गरेर सारा मण्डलीमा ईश्वरीय भय स्थापित राख्ने प्रबन्ध उहाँले कायम नै राख्नु भयो। समर्पित मसीहीहरू पश्चाताप न गर्ने दुष्कर्मीहरू भएमा, तिनीहरूलाई बहिष्कार गर्न पर्दथियो।
९. बहिष्कार गर्नुको अर्थ के हो र यसबाट के सम्पन्न हुन्छ?
९ बहिष्कार गर्नुमा के के समावेश हुन्छ? प्रथम-शताब्दीमा एउटा समस्याको समाधान जुन ढङ्गमा गरियो, त्यसबाट हामी एउटा विशेष शिक्षा लिन सक्छौं। कोरिन्थमा एउटा मसीहीले आफ्नै पिताको स्वास्नीसँग अनैतिक सम्बन्ध राखेको थियो र उसले पश्चाताप पनि न गरेको हुनाकारण, उसलाई त्यस मण्डलीबाट बहिष्कार गर्न भनी पावलले निर्देशन दिए। परमेश्वरका जनहरूको शुद्धताको रक्षा गर्नका लागि यसो गर्नु आवश्यक थियो, किनकि “अलिकता खमीरले जम्मै ढिकालाई खमिरी बनाइहाल्छ।” त्यस व्यक्तिलाई बहिष्कार गरेमा, उसको दुष्टताको कारण परमेश्वर र उहाँका जनहरूको अनादर हुन पाउने थिएन। बहिष्कारको कड़ा अनुशासन द्वारा उ होशमा आउन सक्थ्यो र ईश्वरीय भयको प्रभाव उसमा र मण्डली, दुवैमा पर्न सक्तथियो।—१ कोरिन्थी ५:१-१३; व्यवस्था १७:२, १२, १३ सँग तुलना गर्नु होस्।
१०. कुनै व्यक्ति बहिष्कृत भएको खण्डमा, परमेश्वरका सेवकहरूले के कस्तो प्रतिक्रिया व्यक्त गर्नु पर्दछ?
१० एउटा दुष्ट मानिस बहिष्कार भएमा, उससँग मसीहीहरूले “सङ्गत” गर्नु अथवा “त्यस्तो मानिससित ता खाँदै पनि” खानु हुँदैन भन्ने ईश्वरीय आज्ञा थियो।a यस प्रकार, परमेश्वरको नियमको आदर गर्ने र त्यस बमोजिम हिंड्न चाहने मानिसहरूको सङ्गति बाट त्यो व्यक्ति बहिष्कृत हुन्छ। ती मध्य कोही यो बहिष्कृत हुने व्यक्तिकै परिवारका सदस्यहरू न भएता पनि, तिनको नजिकका नाता-गोताहरू हुन सक्छन्। यी नातेदारहरूलाई यो ईश्वरीय निर्देशन प्रयोगमा ल्याउन गाह्रो पर्न सक्छ जसरी मोशाको व्यवस्था अन्तर्गत हिब्रू आमा-बाबुहरूलाई एक जना दुष्ट छोरालाई मार्ने काममा भाग लिन सजिलो थिएन। तापनि, परमेश्वरको नियम स्पष्ट छ; र बहिष्कार गर्ने प्रबन्ध न्यायोचित छ भनी हामी निर्धक्क हुन सक्छौं।—१ कोरिन्थी ५:१, ६-८, ११; तितस ३:१०, ११; २ यूहन्ना ९-११; सितम्बर १५, १९८१ को दी वाचटावर, पाना २६-३१ र अप्रिल १५, १९८८, पाना २८-३१ हेर्नु होस्.
११. कसैलाई बहिष्कार गर्दा, परमेश्वरको व्यक्तित्वका विभिन्न पक्षहरू कसरी प्रकट हुन सक्छन्?
११ तथापि याद गर्नु होला, हाम्रा परमेश्वर न्यायसङ्गत मात्र हुनु हुन्न; उहाँ “अति करुणामय, अधर्म र अपराध क्षमा गर्नु हुने” पनि हुनु हुन्छ। (गन्ती १४:१८) बहिष्कार गरिएको व्यक्तिले पश्चाताप गर्दै, ईश्वरीय क्षमाको खोजी गर्न सक्तछ भनी उहाँको वचनमा स्पष्टसँग बताइएको छ। त्यस पछि, के गर्ने? जुन गलत कामका लागि बहिष्कृत भएको थियो, त्यसका लागि त्यस व्यक्तिले पश्चातापको प्रमाण दिएको छ कि छैन भनी प्रार्थनापूर्वक र सावधानीसाथ पत्ता लगाउन तिनी सँग अनुभवी अध्यक्षहरूले भेट गर्न सक्छन्। (प्रेरित २६:२० सँग तुलना गर्नु होस्) पश्चाताप गरेको प्रमाण छ भने, त्यस व्यक्तिलाई मण्डलीमा पुनःस्थापित गर्न सकिन्छ, जस्तो कि कोरिन्थका त्यो मानिससँग गरियो भनी २ कोरिन्थी २:६-११ मा सङ्केत गरिएको छ। तापनि, बहिष्कृत गरिएका केही व्यक्तिहरू परमेश्वरका मण्डली देखिन् टाढ़ा भएका वर्षौं भइ सकेको होला। के तिनीहरूलाई फर्केर आउने बाटो देखाउने मद्दत दिनका लागि केही गर्न सकिन्छ?
न्याय र दयाको संतुलन्
१२, १३. परमेश्वरको अनुकरण गर्ने सम्बन्धमा, हामीले आफ्नो जीवनमा उहाँको न्याय मात्र दर्शाएर किन पुग्दैन?
१२ प्रस्थान ३४:६, ७ मा उल्लेखित् परमेश्वरका गुणहरूको एउटा पक्ष बारे मात्र हामीले अहिलेसम्म छलफल गर्यौं। तर ती पदहरूमा परमेश्वरको न्याय भन्दा अझ बढ़ी कुराहरूको वर्णन गरिएको छ र उहाँको अनुकरण गर्न चाहनेहरूले न्यायको कार्यान्वयन गर्नुमा मात्र आफ्नो ध्यान केन्द्रित गर्दैनन्। सुलेमानले निर्माण गरेका मन्दिरको तपाईंले एउटा नमुना बनाउनु हुँदा, के त्यस मन्दिरको एउटा खामालाई मात्र राम्रोसँग अध्ययन गर्नु हुन्थ्यो र? (१ राजा ७:१५-२२) कदापि गर्नु हुने थिएन किनकि यसरी तपाईंले मन्दिरको उद्देश्य र प्रकृतिबारे एउटा संतुलित दृष्टिकोण पाउनु हुने थिएन। यसै प्रकार, हामी पनि परमेश्वरको अनुकरण गर्न चाहन्छौं भने, “टिठाउनमा भरिपूर्ण र दयालु . . . रीस गर्नमा ढीलो र कृपा र सत्यतामा प्रशस्त” हुने उहाँका अन्य अरू गुणहरू र मार्गहरूको पनि हामीले अनुकरण गर्नु आवश्यक छ।
१३ परमेश्वरले इस्राएलीहरूसँग गर्नु भएको व्यवहारबाट हामी देख्तछौं कि कृपा र क्षमाशीलता उहाँका आधार-भूत गुणहरू हुन्। तिनीहरूले बारम्बार गलती गर्दा, न्यायका परमेश्वरले तिनीहरूलाई सजायबाट उम्कनु दिनु न भएता पनि, प्रशस्त मात्रामा कृपा र क्षमाशीलता प्रकट गर्नु भयो। “उहाँले मोशालाई आफ्नो मार्ग, र इस्राएलीहरूलाई आफ्नो काम प्रकट गर्नु भयो। परमप्रभु [यहोवा, न्यु. व.] दयासागर र अनुग्रही, रीसमा ढीला र अति करुणामय हुनु हुन्छ। उहाँले सधैं हप्काइरहनुहुन्न। नता उहाँले सधैंभरि रीस लिइरहनुहुन्छ।” (भजनसंग्रह १०३:७-९; १०६:४३-४६) हो, सयौं वर्षको दौड़ानमा, उहाँले गर्नु भएको व्यवहारलाई फर्केर हेर्दा, यी शब्दहरू सत्य साबित भएका देख्तछौं।—भजनसंग्रह ८६:१५; १४५:८, ९; मीका ७:१८, १९.
१४. येशूले परमेश्वरको दयाको अनुकरण गरेर कसरी देखाउनु भयो?
१४ येशू ख्रीष्ट “[परमेश्वरकै] महिमा उज्वल र परमेश्वरकै तत्त्वको प्रतिबिम्बनै” हुनु भएकोले, उहाँलेपनि परमेश्वरकै जस्तो दया र क्षमाशीलता व्यक्त गर्नु हुनेछ भनी हामीले आशा गर्नु उचित हो। (हिब्रू १:३) र उहाँले अरूहरूसँग गर्नु भएको आफ्नो व्यवहारमा यी गुणहरू प्रकट गर्नु पनि भयो। (मत्ती २०:३०-३४) लूका १५ वाँ अध्यायमा उल्लेखित् उहाँका शब्दहरू द्वारा उहाँले दयामा पनि जोड् दिनु भएको छ। येशूले यहोवाको अनुकरण गर्नु भएको कुरा, त्यहाँ दिएका तीनवटा उदाहरणहरू बाट प्रमाणित हुन्छ र ती द्वारा हामी महत्त्वपूर्ण शिक्षा प्राप्त गर्न सक्तछौं।
हराएकाहरूका लागि चासो
१५, १६. लूका १५ मा उल्लेखित् उखानहरू येशूले दिनु पर्ने कारण के थियो?
१५ हामीले अनुकरण गर्नु पर्ने एउटा संतुलित तस्वीर प्रस्तुत गर्दै, पापीहरूमा परमेश्वरले लिनु हुने कृपापूर्ण चासोको प्रमाण ती उदाहरणहरूले दिन्छन्। ती उदाहरणहरूको भूमिका विचार गर्नु होस्: “अब सबै महसूल उठाउनेहरू र पापीहरू उहाँको वचन सुन्नालाई उहाँको नजीक नजीक सर्दै थिए। औ ‘यस मानिसले ता पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसित खान्छ’ भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे।”—लूका १५:१-२.
१६ यस कुरामा सम्मिलित सबै जना नै यहूदीहरू थिए। फरिसीहरू र शास्त्रीहरूको विचारमा तिनीहरूले मोशाको व्यवस्थालाई सूक्ष्म नियम-निष्ठासाथ मानेका थिए र यसका निम्ति तिनीहरू गर्व गर्द थिए। यो एक प्रकारको कानुनी धार्मिकता थियो। यद्यपि, यस प्रकारको आत्मघोषित धार्मिकतासँग परमेश्वरको सहमती थिएन। (लूका १६:१५) स्पष्टतया, यहाँ उल्लेखित महसुल उठाउनेहरू रोमका लागि महसुल जम्मा गर्ने यहूदीहरू थिए। धेरैलै आफ्ना सङ्गी यहूदीहरूबाट ज्यादै बढ़ी रकम करकापले लिने गरेको हुनाकारण, महसुल उठाउनेहरूको समूहलाई घृणाको दृष्टिले हेर्दथिए। (लूका १९:२, ८) तिनीहरू “पापीहरू” अर्थात् वेश्याहरू जस्ता अनैतिक व्यक्तिहरू मध्ये गनिन्थिए। (लूका ५:२७-३२; मत्ती २१:३२) तर येशूले गनगन गर्ने ती धर्मगुरुहरूलाई सोध्नु भयो:
१७. लूका १५ मा येशूको प्रथम उखान के थियो?
१७ “तिमीहरूमध्ये कुन चाहिं मानिस होला, जसको सय भेड़ा भएर तीमध्ये एउटा हराउँदा उनान्सयलाई वनमा छोड़ेर त्यो हराएको पछि लागेर त्यसलाई नपाउञ्जेल खोजिगर्दैन? औ भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, औ घरमा आएर उसले आफ्ना मित्रहरूलाई यसो भन्छ, ‘मसित रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा भेट्टाएको छु।’ म तिमीहरूलाई भन्दछु, ‘यसरी पश्चाताप गर्न नपर्ने उनान्सय धार्मिक जनहरूप्रति भन्दा पश्चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ।’” ती धर्म-गुरुहरूले यो उपमा राम्रोसँग बुझ्न सके किनभने भेड़ाहरू र गोठालाहरू तिनीहरूका लागि एउटा सामान्य दृश्य थियो। विशेष चासो व्यक्त गर्दै, गोठालाले ९९ भेड़ाहरूलाई परिचित चरनमा चर्न छाड़े र हराएको एउटा भेड़ालाई खोज्न गए। त्यसलाई न भेट्टाउञ्जेल तिनले खोजी गरी नै रहे र अन्तमा त्यो त्रसित् भेड़ालाई स्नेहसाथ फेरि बगालमा बोकेर ल्याए।—लूका १५:४-७.
१८. लूका १५ मा उल्लेखित् येशूको दोस्रो उखान अनुसार, आनन्द मनाउने के कारण उठ्यो?
१८ येशूले दोस्रो उदाहरण पनि थप्नु भयो: “अथवा कुन चाहिं स्त्रीको साथमा दश चाँदीको सिक्का भएर एउटा हराई भने बत्ती बालेर घर बढ़ारीकन मेहनतसँग नभेट्टाउञ्जेल त्यसलाई खोज्दिन? औ भेट्टाए पछि, त्यसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसित रमाओ, किनभने मैले मेरो हराएको सिक्का भेट्टाएकी छु।’ म तिमीहरूलाई भन्दछु, ‘यसरीनै परमेश्वरका दूतहरूका सामने पश्चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।’” (लूका १५:८-१०) एक सिक्का एउटा ज्यामीको करीब एक दिनको ज्याला हुन्थियो। यो उखानकी स्त्रीको सिक्का शायद तिनको पुस्तैनी सम्पत्ति हुन सक्छ अथवा गहनामा जोड़िएका सिक्काहरूमध्येको थियो होला। त्यो हराउँदा, मेहनत साथ त्यसलाई भेट्टाउन तिनले खोज तलाश गरिन् र पछि, तिनी र तिनका मित्रहरू मिलेर आनन्द मनाए। यसले हामीलाई परमेश्वरको विषयमा के भन्दछ?
स्वर्गीय आनन्द—के का लागि?
१९, २०. लूका १५ मा, येशूले दिनु भएको प्रथम दुईवटा उखानहरू कसका विषयमा थिए र ती उखानहरू द्वारा कुन मूल बुँदा भन्न खोजिएको थियो?
१९ आफ्ना भेड़ाहरूका लागि आफ्नो प्राण दिने “असल गोठालासँग” आफूलाई केही महिना अघि मात्र तुलना गर्नु हुँदा, येशूको आलोचना गर्नेहरूका लागि, प्रतिक्रियाको रूपमा, यी दुई उपमाहरू प्रस्तुत् गरिएका हुन्। (यूहन्ना १०:११-१५) तापनि, यी उखानहरू प्रथमतः येशूका विषयमा थिएनन्। शास्त्रीहरू र फरिसीहरूले यसबाट लिनु पर्ने शिक्षाहरू परमेश्वरको दृष्टिकोण र मार्गहरूमा केन्द्रित हुनु परेको थियो। यसैकारण, पश्चाताप गर्ने एउटा पापीको विषय लिएर स्वर्गमा आनन्द मनाइन्छ भनी येशूले भन्नु भयो। ती धर्मगुरुहरूले यहोवाको सेवा गर्ने दाबी गरेता पनि, तिनीहरूले उहाँको अनुकरण गरेका थिएनन्। तर अर्को तिर, येशूका कृपापूर्ण मार्गहरूले उहाँका पिताको इच्छालाई प्रतिनिधित्व गर्द थियो।—लूका १८:१०-१४; यूहन्ना ८:२८, २९; १२:४७-५०; १४:७-११.
२० सय मध्येबाट एक ता आनन्दको कारण भयो भने, दसवटा सिक्का मध्यबाट एउटा सिक्का अझ ठूलो आनन्दको कारण थियो। त्यो सिक्का पाएकोमा ती स्त्रीहरूको रमाहट हामी आज पनि महसुस गर्न सक्छौं! यसमा पनि, उखानको शिक्षा स्वर्गमा केन्द्रित छ, किनभने “पश्चाताप गर्ने एक जना पापीप्रति” “परमेश्वरका दूतहरू” यहोवासँग रमाउँछन्। यहाँ “पश्चाताप” भन्ने आखिरी शब्दलाई ध्यान दिनु होस्। यी उखानहरू वास्तवमा पश्चाताप गर्ने पापीहरूको विषयमा थियो। र तिनीहरूले गरेका पश्चातापको कारण आनन्द मनाउने औचित्यलाई दुवै उखानले जोड् दिंदछ भनी तपाईं बुझ्न सक्नु हुन्छ।
२१. लूका १५ मा येशूका उखानहरूबाट हामीले के शिक्षा लिनु पर्दछ?
२१ व्यवस्थालाई देखावटी ढङ्गमा पालन गर्दै ढुक्क मान्ने, बाटो बिराएका ती धर्म-गुरुहरूले परमेश्वर “टिठाउनमा भरिपूर्ण र दयालु . . . दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने” हुनु हुन्छ भन्ने कुराको वास्ता गरेनन्। (प्रस्थान ३४:६, ७) तिनीहरूले परमेश्वरका मार्गहरू र व्यक्तित्वको यो पक्षको अनुकरण गरेका भए, पश्चाताप गर्ने पापीहरू प्रति येशूले देखाउनु भएको दयाको तिनीहरूले मूल्याङ्कन गर्ने थिए। हामीहरूको विषयमा के भन्न सकिन्छ? के हामीले पनि हृदयबाट शिक्षा ग्रहण गर्दै त्यसलाई आफ्नो जीवनमा प्रयोग गरेका छौं? अब, येशूले दिनु भएको तेस्रो उखान तर्फ ध्यान दिनु होस्।
पश्चाताप र कृपा, दुवै व्यवहारमा
२२. लूका १५ मा, येशूले दिनु भएको तेस्रो उखान संक्षिप्तमा भन्नु होस्?
२२ यसलाई अकसर उड़न्ता पुत्रको उखान भनिन्छ। तापनि, यसलाई पढ़नु हुँदा तपाईंले बुझ्नु हुनेछ कि कसै कसैले यसलाई किन एउटा पिताको प्रेम सम्बन्धी उखान हो भन्दछन्। यसले एउटा परिवारको कान्छो छोरोको विषयमा भन्दछ जसले पिताबाट आफ्नो अंश प्राप्त गर्छ। (व्यवस्थाविवरण २१:१७ सँग तुलना गर्नुहोस्) यो पुत्र एउटा टाढ़ा देशमा जान्छ, त्यहाँ आफूसँग भएको धन जम्मै व्यभिचारको जीवनमा फुकिदिन्छ, बङ्गुर चराउने काम गर्न बाध्य हुन्छ र बङ्गुरले खाने चारो समेतको निम्ति भोकाउने अवस्थामा पुग्छ। अन्तमा, उ होशमा आउँछ र आफ्नो पिताको एक जना खेताला भएर काम गर्नु परेता पनि, घरै फर्कने फैसला गर्छ। उ जसै घर नजिक आइ पुग्छ, उसलाई स्वागत गर्ने सकारात्मक कदम उसको पिताले बढ़ाउँदै एउटा भोजको पनि प्रबन्ध गर्दछ। घरैमा बसेर काम गरेको जेठो छोरोले दयाको यो प्रदर्शन देखेर अप्रसन्नता व्यक्त गर्छ। तर तिनीहरू आनन्दित हुनु पर्छ भनी पिताले भन्दछ किनकि जुन छोरा मरेको थियो, त्यो अब जीवित भएको छ।—लूका १५:११-३२.
२३. उड़न्ता पुत्रको उखानबाट हामीले के शिक्षा लिनु पर्ने हो?
२३ कान्छा छोरा जस्ता पापीहरूको विपरीत, तिनीहरूलाई जेठो छोरासँग तुलना गरियो भनी केही शास्त्रीहरू र फरिसीहरूले ठाने होलान्। तर के तिनीहरूले उखानको मूल बुँदा बुझ्नु सके र के हामीले पनि बुझ्नु सकेका छौं? हाम्रा कृपापूर्ण स्वर्गीय पिताको एउटा प्रमुख गुण अर्थात् एक जना पापीको हार्दिक पश्चाताप र मन परिवर्तनको आधारमा क्षमा दिन उहाँ इच्छुक हुनुहुन्छ भन्ने कुरामा यस उखानले ज्योति दिन्छ। पश्चाताप गर्ने पापीहरूको मुक्ति बारे सुनेर येशूका स्रोताहरूले आनन्द मनाउनु पर्ने थियो। परमेश्वरले यस प्रकारको दृष्टिकोण र कार्यप्रणाली अपनाउनु हुन्छ र उहाँको अनुकरण गर्नेहरूले पनि यसै गर्नु पर्छ।—यशैया १:१६, १७; ५५:६, ७.
२४, २५. परमेश्वरका कुन मार्गहरूको हामीले अनुकरण गर्नु पर्ने हो?
२४ स्पष्टतया, परमेश्वरका सबै मार्गहरू न्यायसँगत छन् र यहोवाको अनुकरण गर्न चाहनेहरूले पनि न्यायको पिछा गर्छन् र त्यसलाई मूल्यवान ठान्छन्। तर हाम्रा परमेश्वर कड़ा अथवा भावहीन न्यायले मात्र प्रेरित हुनु हुन्न। उहाँका कृपा र प्रेम महान छन्। साँचो पश्चातापको आधारमा क्षमा दिन इच्छुक हुनु भएर उहाँले यी गुणहरू प्रदर्शन गर्नु हुन्छ। यसैकारण, हाम्रो क्षमाशीलता, परमेश्वरको अनुकरण गर्नुसँग सम्बन्धित् छ भनी पावलले भनेको उपयुक्त छ। “औ जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नु भयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर . . . यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ। . . . र . . . तिमीहरू पनि प्रेममा चल।”—एफिसी ४:३२–५:२.
२५ साँचो मसीहीहरूले यहोवाको न्यायका साथै कृपा र क्षमाशीलताको अनुकरण गर्ने कोशिश धेरै समय देखिन् गर्दै आएका छन्। हामी उहाँलाई जति राम्रोसँग चिन्दै जान्छौं, यी विषयहरूमा उहाँको अनुकरण गर्न हामीलाई उति नै सजिलो हुनु पर्ने हो। तथापि, कुनै व्यक्तिले पापको मार्ग अपन्याएको हुनाले कड़ा अनुशासन न्यायसङ्गत् ढङ्गमा पाएको छ भने, त्यस्ता व्यक्ति प्रति हामीले यो सिद्धान्त कसरी प्रयोग गर्न सक्छौं? हामी हेरौं। (w04/15/91)
[फुटनोट]
a “बहिष्कार गर्नुको साधारण अर्थ, एउटा समूहले आफ्नो मान्यता प्राप्त केही सदस्यहरूलाई आफ्नो सदस्य हुने अधिकारबाट, राम्रोसँग सोंची सम्झीकन वञ्चित गर्ने कार्वाइ हो। . . . मसीही युगमा, बहिष्कारको अर्थ, कुनै एउटा धार्मिक समाजले आफ्नो नियम उल्लङ्घन गर्ने सदस्यहरूलाई धार्मिक काज-क्रिया र सङ्गठनात्मक उपासनामा भाग लिन र सम्भवतः कुनै प्रकारको सामाजिक सम्पर्क समेत राख्न न दिनु हुन गयो।”—दी इन्टरनेशनल स्टेन्डर्ड बाइबल एनसायक्लोपिडिया.
तपाईंले के सिक्नु भयो?
▫ इस्राएली र मसीही मण्डलीहरूमा परमेश्वरको न्याय कसरी प्रदर्शित भयो?
▫ हामीले परमेश्वरको न्यायका साथ साथै, उहाँको दयाको अनुकरण किन गर्नु पर्दछ?
▫ लूका १५ मा उल्लेखित् तीन वटा उखानहरू किन दिनु पर्यो र तिनीहरूले हामीलाई के पाठ सिकाउन पर्दछ?
[पृष्ठ १२-मा भएको चित्र]
सीनै पर्वतको सामुन्ने, एर-रहाको मैदान (देब्रे र पछिल्तिर)