आफ्नो पारिवारिक जीवनमा परमेश्वरलाई प्रथम स्थान दिनु होस्!
बाब र जीनले—अघिल्लो लेखमा हामी सित परिचित गराइएका विवाहित दम्पती—पारपाचुके लिएनन्। बरु, तिनीहरूले एकजना मसीही सेवकसँग आफ्ना समस्याहरू छलफल गरे। तिनीहरूका बीच उठेका कठिनाइहरूको आधारभूत कारण तिनीहरूको बेग्ला-बेग्लै पृष्ठभूमिहरू रहेछन् भनी बाबलाई चाँड़ैनै थाह भयो।
उदाहरणकालागि, बाब व्यापारी र हस्तकार्य गर्ने मजदूर परिवारबाट आएका थिए र आफैले पनि हस्तकार्य गर्ने हुनाले, प्रत्येक बिहान टन्न जलपान खान चाहन्थे। जीन चाँहि जागिरदारहरूको परिवारबाट आएकी हुनाले, बाबलाई काफी र पाउरोटी मात्र जलपानमा दिन्थिन्। अतः जलपानका निम्ति शुरु भएको झगड़ा बढ़ेर युद्धस्तरमा पुग्दथियो!
बाब र जीनले आपसमा वार्तालाप बढ़ाउनु जरुरी थियो। तथापि, तिनीहरूको क्लेशको खास कारण अर्कै थियो। ती सेवकले सोधे: “के तपाईंहरू १ कोरिन्थी १३:४ मा दिएको सल्लाह अनुसार एक अर्काबारे विचार गर्नुहुन्छ? त्यो बाइबल पद्यले यसो भन्दछ: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन।” त्यस पछिको पद्यले भन्दछ कि प्रेम “आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाइ खोज्दैन, रिसाउँदैन, खराबीको वास्ता गर्दैन।” आफ्ना आपस्तका सम्बन्धमा दुवै बाब र जीन यी शब्दहरूलाई प्रयोग गर्न इच्छुक थिए।
यी विवाहित दम्पतीका समस्याहरूका निम्ति मूलतः एउटा आध्यात्मिक समाधानको आवश्यकता थियो। बाब र जीनले परमेश्वरसँग एउटा राम्रो सम्बन्ध कायम राख्ने इच्छा जाहेर गरेका हुनाले, सबै भन्दा पहिले तिनीहरूले बाइबल सिद्धान्तहरूलाई प्रयोगमा ल्याउनु आवश्यक थियो र “परमप्रभुले [यहोवाले न्यु. व.] घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्” भन्ने कुरा तिनीहरूले स्वीकार्नु परेको थियो। (भजनसंग्रह १२७:१) ३ देखि ५ सम्मका पद्यहरू परिवार सपार्ने विषयसँग सम्बन्धित छन्। र पारिवारिक जीवनमा परमेश्वरलाई प्राथमिकता दिनु भयो भने, पारिवारिक आनन्द प्राप्त गर्नमा तपाईं अति नै सफल हुनु हुनेछ।—एफिसी ३:१४, १५.
परमेश्वरलाई प्रथम स्थान दिंदा, कुन कुन कुराहरू बिथोलित छन्
आफ्नो पारिवारिक जीवनमा परमेश्वरलाई प्राथमिकता दिनुको अर्थ “सङ्गै प्रार्थना गर्ने परिवार, सङ्गै बस्ने पनि छ” भन्ने उखानमा सीमित छैन। फ्यामिली रिलेशन्स भन्ने पत्रिका अनुसार, धेरैले विश्वास गर्दछन् कि “धर्मले निर्दिष्ट र स्वस्थकर पारिवारिक अन्तरक्रिया कायम गर्नमा सजिलो पार्दछ र परिवारका सदस्यहरूको जीवनमा संतुष्टिको बृद्धि गराउँदछ।” तर एउटा धर्म मान्नु र परमेश्वरलाई प्रथम स्थानमा राख्नु, एउटै कुरा होइन। बानी, परिवार, परम्परा, वा सामाजिक सुविधाका निम्ति, धेरैलै नाम मात्रकालागि धर्म मान्ने गर्छन्। तिनीहरूको दैनिक जीवनमा परमेश्वरको केही विशेष प्रभाव परेको देखिंदैन। त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, सबैनै धर्म “हाम्रा परमेश्वरका सामने शुद्ध धर्म” होइनन्।—याकूब १:२७.
आफ्नो परिवारमा परमेश्वरलाई प्रथम स्थान दिनका निम्ति, हामी र हाम्रा प्रियजनहरू सबैले, “सारा पृथ्वीमा सर्वोच्च हुनुहुने” यहोवालाई उहाँले चाहनु भए अनुसार, उपासना गर्नु पर्दछ। (भजनसंग्रह ८३:१८) परमेश्वरका पुत्र येशूले भन्नुभयो: “बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नु पर्दछ।” (यूहन्ना ४:२३, २४) “आत्मामा” यहोवा परमेश्वरलाई पुज्नका निम्ति, प्रेम र विश्वासले भरिपूर्ण हृदयबाट प्रेरित भएर हामीले उहाँको पवित्र सेवा गर्नु पर्दछ। (मर्कूस १२:२८-३१; गलाती २:१६) “सत्यतामा” यहोवालाई पुज्नका निम्ति हामीले धार्मिक पाखण्डतालाई इन्कार गरेर बाइबलमा प्रकाश गरिएको उहाँको इच्छालाई पूर्ण रूपले पालन गर्नु पर्दछ। हाम्रो धर्म उहाँको मापदण्ड अनुरुप भएन भने हामीले यहोवालाई प्रथम स्थानमा राख्नै सक्तैनौं।a ती मापदण्डहरूमध्ये केही के हुन्? र तिनीहरूलाई प्रयोगमा ल्याउनाले तपाईंको परिवारलाई कसरी लाभ हुनसक्तछ?
एउटा पतिको हैसियतमा परमेश्वरलाई प्रथम स्थान दिनु
१ कोरिन्थी ११:३ मा, बाइबल भन्दछ: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।” तपाईं एउटा पति हुनु हुन्छ भने, परिवारमा मुख्य निर्णेता हुने ईश्वर-प्रदत्त जिम्मावारी तपाईंको हो। तर यसको अर्थ कुनै पनि पतिलाई अत्याचारी र निरङ्कुश हुने छुट दिइएको होइन।
पत्नीमाथि असर पर्ने कुनै पनि निर्णय लिंदा पतिले आफ्नी पत्नीका भावनाहरूको पनि विचार गर्नु पर्दछ भनी बाइबलले पतिहरूलाई प्रोत्साहित गर्दछ। (उत्पत्ति २१:९-१४ सँग तुलना गर्नुहोस्) वास्तवमा, धर्मशास्त्रले हामी सबैलाई ‘आफ्नै कुरामा मात्र होइन, तर हरेक अरूहरूका कुरामा पनि ध्यान दिन’ आग्रह गर्दछ। (फिलिप्पी २:२-४) बाइबलको कुनै सिद्धान्त विथोलित छैन भने, मसीही पतिले आफ्नी पत्नीको अभिरुचिलाई मानिदिनु पर्दछ। पत्नीको हितलाई व्यक्तिगत रूपले ध्यान दिएर, उसमाथि अत्यधिक भार र जिम्मावारी नपरोस भनी पतिले राम्ररी विचार गर्नु पर्दछ। उदाहरणकालागि, घरको काम-काजमा पतिले मदत पुऱ्याइ दिन सक्तछ, खासगरी यदि पत्नीको जागिर पनि छ भने।
प्रेरित पावलले लेखे: “पतिहरूले आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नु पर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्दछ।” (एफिसी ५:२८, २९) येशू ख्रीष्टले मण्डलीका सदस्यहरूसँग मायालु ढ़ङ्गले व्यवहार गर्नुहुन्छ।
प्रेरित पत्रुसको सल्लाह पनि ध्यान दिने योग्यको छ: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदार भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्।” (१ पत्रुस ३:७) आफ्नी पत्नीलाई हेला गर्नाले पतिका प्रार्थनाहरू परमेश्वरका सामुन्ने नपुग्न पनि सक्छ भन्ने कुरा सोंचनीय हो, होइन र? हो, आफ्ना प्रार्थनाहरू परमेश्वरले सुन्नु भएर तिनीहरूको जवाफ दिनु भएको कसैले चाहन्छ भने, त्यस मानिसले आफ्नी पत्नीसँग मायालु ढ़ङ्गमा व्यवहार गर्नु पर्दछ।
परमेश्वरलाई प्रथम स्थानमा राख्दा, एउटा बाबुले उसका छोरा-छोरीसित राखेको सम्बन्धमा पनि प्रभाव पर्दछ। छोरा-छोरीको आत्मिक हितबारे उसले गहिरो चासो लिनु पर्दछ। तथापि, अमेरिकामा एउटा विस्तृत सर्वेक्षण गर्दा, “धर्मशास्त्रको अध्ययन वा छलफलमा भाग लिने काम-कुरा” ‘तिनीहरूको पारिवारिक आत्मिक विकाशमा बहुतै महत्त्वपूर्ण थियो’ भनी आधा जति मानिसहरूले मात्र भने। बाँकी अरूहरूले चाहिं “धार्मिक प्रवचनहरूको प्रसारणहरू हेर्ने वा सुन्ने” अथवा ‘जीवनको अर्थबारे मनन गर्ने’ जस्ता कुराहरूको उल्लेख गरे।
तथापि, बाबुहरूलाई बाइबल भन्दछ: “तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको [यहोवाको न्यु. व.] शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यहोवाका साक्षीहरूको परिवारमा, पारिवारिक उपासनामा अगुवाइ लिने काम बाबुहरूले लिनेछन् भनी आशा गरिन्छ। नियमित रूपमा पारिवारिक बाइबल अध्ययन संचालन गरेर, मसीही सभाहरू धाएर, र शास्त्र अनुसारका अन्य आवश्यकताहरूलाई पालन गर्दै, यस्ता मानिसहरूले पारिवारिक जीवनमा परमेश्वरलाई प्रथम स्थान दिंदछन्।
एउटी पत्नीको हैसियतमा, परमेश्वरलाई प्रथम स्थान दिनु
तपाईं एउटी पत्नी हुनु हुन्छ भने, आफ्नो पतिलाई परिवारको शिर ठानेर तिनको सहयोग गर्दै, तपाईंले परमेश्वरलाई प्रथम स्थानमा राख्न सक्नुहुन्छ। बाइबल भन्दछ: “प्रभुमा खुल्ने जस्तैगरी पतिका अधीनमा बस।” (कलस्सी ३:१८) पति कम बोल्ने वा पारिवारिक उपासनामा अगुवाइ लिनमा अल्छी मान्ने खालका छन् भने यो अलिकता कठिन हुनसक्तछ। तापनि, तिनका गफलतहरूलाई निरन्तर औंल्याइ रहेमा र यतिले न पुगेर, तिनीसँग झन जोरी खोजेमा, पारिवारिक तनाव अझ बढ़नेछ।
हितोपदेश १४:१ भन्दछ: “बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।” एउटी साँच्चैकै बुद्धिमान विवाहित स्त्रीले आफ्नो पतिको अधीनमा बसेर, परमेश्वरलाई प्राथमिकता दिंदै ‘आफ्नो घर निर्माण गर्न’ सक्नेछ। (१ कोरिन्थी ११:३) ‘आफ्नो मुख खोल्दा बुद्धिको कुरा गरेर’ तिनले नचहिंदो किसिमबाट आफ्नो पतिको आलोचना गर्ने छैनन्। (हितोपदेश ३१:२६) आफ्नो पतिका निर्णयहरूलाई सफल पार्न तिनले मेहनत पनि गर्छिन्।
परिश्रमी पत्नी हुनु पनि, विवाहित स्त्रीले परमेश्वरलाई प्रथम स्थान दिने एउटा अर्को तरीका हो। तर तिनले बाहिरको काम पनि गर्नु पर्ने भयो भने, आफूले चाहे जस्तो गरी आफ्नो घरको हेर-चाह गर्ने नता समय न स्फूर्तिनै तिनमा हुनेछ। तथापि, अझै पनि तिनले “सुयोग्य पत्नी” हुने प्रयास कायमै राख्न सक्छिन्, जसबारे बाइबल भन्दछ: “तिनी आफ्नो परिवारको कामको हेर-विचार गर्छिन्, र परिश्रम विनाको कमाइ खाँदिनन्।”—हितोपदेश ३१:१०, २७.
सर्वोपरि, एउटी पत्नीले परमेश्वरको उपासनालाई आफ्नो जीवनमा प्रथम स्थान दिनु पर्दछ। यहोवाका साक्षीहरूको राज्य-सभागृहमा पहिलो पटक आउँने धेरैले त्यहाँका सफा-सुघर केटा-केटीहरूबारे टिप्पणी गर्दछन्। यस काममा एउटी पत्नीको योगदान अमूल्य हुन्छ। तर प्रार्थना, अध्ययन, र परमेश्वरको सेवाद्वारा तिनले आफ्नो आध्यात्मिकतालाई कायम राख्ने काम पनि गर्नु पर्दछ।
नौजवानहरूले परमेश्वरलाई प्रथम स्थान दिने
एडोलेसेन्ट काउन्सेलर भन्ने पत्रिकाको एउटा लेखमा भनिएको छ: “आफ्ना आमा-बाबुहरूलाई आफ्नो बशमा पार्ने किसिमका मनोवृत्तिहरू र दर्शनहरूको आफूमा विकाश गर्ने प्रवृत्ति केटा-केटीहरूमा हुन थालेको छ। . . . आफ्ना इच्छाहरू भन्नेबित्तिकै पूरा गर्ने भाव र भौतिक धनलाई महत्त्व दिने र महिमित पार्ने आजको समाजमा हुर्केका नौजवानहरूले जे कुरामा पनि, ‘त्यो मलाई अहिलेनै चाहिन्छ’ भन्ने प्रवृत्ति विकाश गर्दछन्।” तपाईं एउटा नौजवान हुनुहुन्छ भने, के तपाईंको पनि त्यस्तै प्रकारको प्रवृत्ति छ?
कलस्सी ३:२० ले भन्दछ: “ए बालक हो, सबै कुरामा आमा-बाबुको आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुशी तुल्याउनेहुन्छ।” यस प्रकारको आज्ञा पालन गर्ने कुरा एउटा दैवी आवश्यकता हो भनी ठान्ने नौजवानले आफ्ना आमा-बाबुसँग सहयोग गर्नेछ। उदाहरणकालागि, आमा-बाबुले मन नपराएका स्कूलका साथीहरूसित उसले गोप्य रूपमा सङ्गत गर्ने छैन; नता आफूले चाहेको कुरा पाउन, उसले आमा या बाबुलाई चतुऱ्याइसँग चलाउनेछ। (हितोपदेश ३:३२) बरु, परमेश्वरलाई जीवनमा प्रथम स्थान दिने कुनै पनि नौजवान आमा-बाबुको मायालु निर्देशनको अधीनमा रहनेछ।
परमेश्वरलाई प्रथम स्थानमा राख्नुहोस्!
पारिवारिक क्षेत्रमा हाम्रो जे स्थान भएता पनि, हामीले परमेश्वरलाई आफ्नो जीवनमा प्रथम स्थान दिनु पर्दछ र उहाँसँग एउटा नजिकको सम्बन्धको विकाश गर्नु पर्दछ। के तपाईं र तपाईंको परिवारले त्यसो गरी रहनु भएको छ?
यी “आखिरी दिनमा,” हामी सबैले “डरलाग्दो समयको” सामना गर्नु परेको छ। (२ तिमोथी ३:१-५) तापनि, यो रीतिरिवाजको अन्त हुँदा, हामी आत्मिक रूपमा फस्टाएकाछौं भने बाँच्न सम्भव हुनेछ। (मत्ती २४:३-१४) बाइबलको सही ज्ञान लिएर हिंड्नाले, तपाईं र तपाईंको परिवारले एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशा राख्न सकिन्छ। (लूका २३:४३; यूहन्ना १७:३; प्रकाश २१:३, ४) हो, आफ्नो पारिवारिक जीवनमा तपाईंले परमेश्वरलाई प्रथम स्थान दिनु भयो भने, त्यो आशा राख्न सक्नु हुनेछ। (w91 5/15)
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी आफ न्यु योर्क, इनको. द्वारा प्रकाशित, यु क्यान लिभ फोरएभर इन पैराडाइज ओन अर्थ भन्ने पुस्तकको २२ अध्याय हेर्नुहोस्.