चाँड़ै बिमारी वा मृत्यु फेरि हुनेछैन!
बिमारी हुन कोही पनि चाँहदैन, नता मानिसहरू मर्नै चाहन्छन्। चिकित्सा सम्बन्धी समाजशास्त्रका एक जना प्राध्यापक जिकिर गर्दछन्: “इतिहासभरि र धेरै जस्ता समाजहरूमा लामो जीवनको खोजी एउटा विश्वव्यापी कुरा जस्तो देखिन्छ। आत्म-संरक्षणको आधारभूत अभिलाषासँग यो सम्बन्धित छ . . . एउटा लामो जीवनको खोजीमा आफ्नो सारा जिन्दगी बिताउने मानिसहरूको एउटा लामो पंक्तिमा हुनेहरू मध्ये पोन्स डी. लियोन मात्र एक जना सुप्रसिद्ध छन्। रोग र मृत्युसँग लड़ाइँ गरेर जीवनलाई लामो समयसम्म बचाइ राख्ने कुरामानै चिकित्सा विज्ञानको धेरै जसो प्रयास केन्द्रित छ।”
मृत्युले हाम्रो आन्तरिक स्वभावलाई अक्सर ठेस पुर्याउँछ। हाम्रा मित्रहरू अथवा परिवारका सदस्यहरूमाथि मृत्यु विजयी हुँदा, त्यसबाट पाउने चोटलाई हामी स्वभाविकतः कम पार्न खोज्दछौं। फ्युनरल कस्टम्स द वर्ल्ड ओभर भन्ने पुस्तकमा लेखेको छ: “कुनै पनि सभ्य असभ्य मानिसहरूको समूह छैन जसले स्वेच्छासाथ र आफ्नो साधनले भ्याएसम्म, आफ्नो समाजका सदस्यहरूको अन्त्येष्टि क्रिया गर्दैनन्। . . . यो कार्यले विश्वभरि अनुभव गरिने गहिरो आकाड़ाहरू पूरा गर्दछ। यी काज-क्रियाहरू गर्नु ‘उचित’ मानिन्छन्। र विशेषगरी पारिवारिक, भावनात्मक, सामाजिक अथवा एकै किसिमको अनुभवमा आधारित बन्धनहरूको कारण हामीसित सम्बन्धित व्यक्तिहरूका निम्ति अन्तिम संस्कार न गर्नु चाहिं ‘गलत’ अथवा एउटा अप्राकृतिक हेलचक्राई, खेद प्रकट गर्नु पर्ने वा लज्जित हुने कुरा मानिन्छ। . . . [मानिसनै] एउटा यस्तो प्राणी हो जसले आफ्ना मृतकहरूलाई रीतिपूर्वक गाड्दछ।”
बिमारी र मृत्युको उत्पत्ति
बिमारी र मृत्यु एक दिन हटेर जानेछ भन्ने कुरा बड़ो घतलाग्दो त छ, तर यसमा विश्वास गर्ने कुनै आधार छ र? जरुर छ, र त्यो आधार, जायज, भरपर्दो, र अचूक छ। त्यो आधार हाम्रो सृष्टिकर्त्ताको प्रेरित वचन—पवित्र बाइबल हो।
त्यस पुस्तकले स्पष्टसँग मानव विपत्तिको उत्पत्तिबारे व्याख्या गर्दछ। प्रथम मानव, आदमलाई परमेश्वरले सृष्टि गर्नु भयो र उसलाई मध्यपूर्वको कुनै ठाउँमा स्थित एउटा प्रमोदवनीय बगैंचामा राख्नु भयो। आदम सृजिंदा सिद्ध थियो; बिमारी र मृत्यु भनेको उसलाई थाहै थिएन। चाँड़ैनै उसले उत्तिकै सिद्ध पत्नी पायो, र दुवै जनाले मिलेर पृथ्वीमा अनन्त जीवन पाउने आशाको आनन्द उठाए।—उत्पत्ति २:१५-१७, २१-२४.
यस प्रकारको आदर्श स्थिति धेर समयसम्म रहेन। किन? किनभने आदमले स्वार्थबस परमेश्वरबाट स्वतन्त्र हुने जीवन शैली रोज्यो। परिणाम स्वरूप, कड़ा मेहनत, पीड़ा, बिमारी, र अन्ततोगत्वा मृत्यु आइलाग्यो। (उत्पत्ति ३:१७-१९) आदमले छानेको दुःखी जीवन, उसका सन्तानले वंशानुगत पाए। रोमी ५:१२ ले व्याख्या गर्दछ: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” रोमी ८:२२ ले अझ भन्छ: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ भनी हामी जान्दछौं।”
पृथ्वीमाथि वा स्वर्गमा?
तरपनि, आदम र हब्बाले हराएको आनन्दमय अवस्थालाई परमेश्वरले आज्ञाकारी मानव जातिका निम्ति पुनःस्थापित गर्नु हुनेछ भनी बाइबलले हामीलाई आश्वस्त पार्दछ। प्रकाश २१:३, ४ ले भन्दछ: “परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” एकजना पुरातनका अगमवक्ताले पनि त्यही समयको अग्रिम दृष्टि गर्दै भने: “त्यहाँका बासिन्दाहरूले यसो भन्ने छैनन्, ‘म बिरामी परें।’”—यशैया ३३:२४.
के तपाईं अस्पतालहरू, लाश राख्ने घरहरू, र चिहानहरू न भएको एउटा संसारको कल्पना गर्न सक्नुहुन्छ? के दुःख र मृत्युको डर बिना, सदा बाँची रहने कल्पना तपाईं गर्न सक्नुहुन्छ? हो, परमेश्वरको प्रतिज्ञाले हामी सबैका आन्तरिक भावनाहरूलाई स्पर्श गर्दछ। तापनि, यो अद्भुत प्रतिज्ञा स्वर्गका निम्ति नभएर हाम्रो ग्रह, यस पृथ्वीका निम्ति हो भनी हामी कसरी विश्वस्त हुन सक्तछौं? माथि उल्लेख गरिएका शास्त्रपदहरूको संदर्भलाई ध्यान दिनुहोस्। प्रकाश २१ का प्रथम पद्यहरूले “एउटा नया स्वर्ग र एउटा नया पृथ्वीको” कुरा गर्दछ। परमेश्वर मानव जातिसँग हुनुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन् भनी स्पष्ट रूपमा भनिएको छ। कोही पनि बिरामी हुनेछैनन् भनी यशैयाको पुस्तकमा गरिएको प्रतिज्ञा पछि लेखिएको छ, “त्यहाँ बस्ने [त्यस मुलुकमा बस्ने, न्यु. व.] मानिसहरूका अधर्म क्षमा गरिनेछ।”
अतः यी उत्साहवर्धक प्रतिज्ञाहरूले पृथ्वीमाथिको जीवनलाई सङ्केत गर्दछ! र ती कुराहरू येशूले आफ्ना पितालाई गर्नु भएको प्रार्थनासित मिल्दछ: “तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:१०.
चाँड़ै किन?
यी प्रतिज्ञाहरू निकट भविष्यमै पूरा हुनेछन् भन्ने कुरा बुझ्न यहोवाका साक्षीहरूले लाखौं मानिसहरूलाई मदत गरेका छन्। तथापि, के आधारमा तिनीहरू यस कुराबारे यति निश्चित छन्? हामीहरू पृथ्वीमा यो रीतिरिवाज, वा प्रबन्धहरूको “आखिरी दिनहरूमा” बसिरहेका छौं भन्ने कुराको अत्यधिक प्रमाणको आधारमा। (२ तिमोथी ३:१-५) यो जगतको रीतिरिवाजको अन्त कहिले हुने हो भनी येशूका चेलाहरूले एउटा चिन्ह माँगेका थिए। प्रत्युत्तरमा, १९१४ मा प्रथम विश्व-युद्ध शुरु भए देखिन्को बढ़दो सांसारिक घटनाहरूबारे येशूले विस्तृत अगमवाणी गर्नुभयो।a अनि उहाँले थप्नुभयो: “त्यसरीनै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब उ नजीकै, ढोकाहरूमै छ भनी जान। म तिमीहरूलाई साँच्चै भन्दछु, कि यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।” अतः १९१४ मा बाँचेका पुस्ताका केहीले वर्तमान रीतिरिवाजको अन्त देख्नेछन्।—मत्ती २४:३३, ३४.
त्यस बेला, यहोवा परमेश्वरले आफ्ना पुत्र, येशू ख्रीष्टलाई यस सुन्दर धरतीबाट दुःख र पीड़ाका सबै कारणहरू नष्ट पार्नका निम्ति अघि बढ़ने जिम्मावारी दिनु हुनेछ। दुष्टताको यो विनाशलाई, बाइबलमा आर-मागेडोनमा “परमेश्वरको ठूलो दिनको लड़ाइँ” भनिएको छ।—प्रकाश १६:१४, १६.
परमेश्वरको भय राख्ने मानिसहरूको एउटा ठूलो संख्या यो डरलाग्दो घटनाबाट बाँच्नेछ र येशू ख्रीष्टको शान्तमय शासन शुरु भएको देख्नेछ। (प्रकाश ७:९, १४; २०:४) उहाँको शासन स्वर्गबाट भएता पनि, यस पृथ्वीमा बाँच्ने सबैले नै, अथवा आर-मागेडोनको लड़ाइँमा बाँचेकाहरू र मृतक अवस्थाबाट जीवित पारिनेहरू लाखौंलाखले त्यस शासनबाट हुने लाभदायक प्रतिफलको आनन्द उपभोग गर्नेछन्। अनि यो प्रतिज्ञा एउटा वास्तविकता हुनेछ: “उहाँले [ख्रीष्टले] सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।”—१ कोरिन्थी १५:२५, २६.
यस प्रकार हामी बड़ो विश्वासका साथ भन्न सक्छौं: “चाँड़ैनै रोग वा मृत्यु हुनेछैन!” यो कुनै गँजेड़ीको गफ वा मनको लड्डिं होइन। यो “झूट नबोल्नु हुने” यहोवा परमेश्वरको पक्का प्रतिज्ञा हो। के तपाईंले यस आशामाथि भरोसा राख्नु हुनेछ? यसबाट अनन्तसम्म तपाईंको हित हुनेछ!—तितस १:२. (w 06/15/91)
[फुटनोट]
a मानव जाति आखिरी दिनहरूमा बाँची रहेका छन् भन्ने कुराको अझ बढ़ी प्रमाणका निम्ति, वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी आफ न्यु योर्क, इनकोरपोरेटेड, द्वारा प्रकाशित पुस्तक यु क्यान लिभ फोरएवर इन पैराडाइज ओन अर्थको १८ अध्याय हेर्नुहोस्।