परमेश्वरको स्वतन्त्रताको नयाँ संसारलाई स्वागत गर्न
“उहाँले [परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि कहिले हुनेछैन।”—प्रकाश २१:४.
१, २. कसले मात्र साँचो स्वतन्त्रता ल्याउन सक्नु हुन्छ र उहाँ बारे बाइबलबाट हामी के सिक्न सक्तछौं?
अगमवक्ता यर्मियाले भनेका यी कुराहरूलाई इतिहासले प्रमाणित गरेको छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।” मानिसको पाइलालाई कसले मात्र ठीक मार्गमा हिंडाउन सक्तछ? यर्मियाले अगाडि भनेका छन्: “हे परमप्रभु, [यहोवा न्यु. व.] मलाई सुधार्नुहोस्।” (यर्मिया १०:२३, २४) हो, मानव परिवारलाई पीडित पार्ने समस्याहरूबाट साँचो स्वतन्त्रता यहोवाले मात्र ल्याउन सक्नुहुन्छ।
२ उहाँको सेवा गर्नेहरूलाई स्वतन्त्र तुल्याउन सक्ने यहोवाको योग्यताबारे बाइबलमा धेरै नै उदाहरणहरू दिइएका छन्। “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्।” (रोमी १५:४) झूटो उपासनाका विरुद्धमा यहोवाको इन्साफबारे पनि लेखिएको छ, र तिनीहरू “हाम्रो चेताउनीका निम्ति लेखिएका हुन्, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।”—१ कोरिन्थी १०:११.
आफ्ना जनहरूलाई मुक्त गर्नु भएको
३. आफ्ना जनहरूलाई छुटकारा दिन सक्ने आफ्नो योग्यता यहोवाले मिस्रमा कसरी देखाउनु भयो?
३ परमेश्वरले झूटो उपासनाका विरुद्धमा इन्साफ गर्न सक्नु हुने र उहाँको इच्छा गर्नेहरूलाई स्वतन्त्र तुल्याउनु हुने योग्यताको एउटा उदाहरण पुरातन समयमा मिस्रमा उहाँका जनहरू दासत्वमा परेको बेलामा देखियो। प्रस्थान २:२३-२५ भन्दछ: “दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वरकहाँ पुग्यो। परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नु भयो।” मिस्रीहरूका झूटा देवताहरूको माझमा आफ्नो श्रेष्ठताको डरलाग्दो प्रदर्शन गर्नु हुँदै सर्वशक्तिमान परमेश्वरले त्यस राष्ट्रमाथि दस विपत्तिहरू ल्याउनु भयो। प्रत्येक विपत्तिको उद्देश्य मिस्रको एउटा देवतालाई तुच्छ तुल्याउँदै त्यो झुट्टा हो र त्यसका मिस्री उपासकहरूलाई त्यसले मदत गर्न सक्तैन भनी साबित गर्नु थियो। यसप्रकार परमेश्वरले आफ्ना जनहरूलाई स्वतन्त्र पार्नु भयो र फिरऊन र त्यसका फौजहरूलाई लाल सागरमा नष्ट पारिदिनु भयो।—प्रस्थानको ७ देखि १४ अध्यायहरू.
४. कनानीहरूका विरुद्धमा इन्साफ गर्नु हुँदा यहोवाले किन अन्याय गर्नु भएन?
४ परमेश्वरले इस्राएललाई कनान देशमा ल्याउनु भए पछि त्यहाँका प्रेत-उपासक बासिन्दाहरूलाई नष्ट गरियो र त्यो देश परमेश्वरका जनहरूलाई दिइयो। पतित धर्महरूका विरुद्धमा इन्साफ गर्ने अधिकार यहोवालाई छ किनभने उहाँ ब्रह्माण्डका सार्वभौमसत्ताधारी हुनु हुन्छ। (उत्पत्ति १५:१६) र कनानी धर्मबारे ह्यालिको बाइबल ह्यान्ड बुक भन्दछ: “कनानी देवताहरूको उपासना . . . अति नै अनियन्त्रित किसिमका यौन-क्रियाहरू सित सम्बन्धित थियो; त्यहाँका मन्दिरहरू दुराचारका केन्द्रहरू थिए। . . . देवताहरूका सामुन्ने कुनै रोक टोक बिना गरिएको अनैतिक काम कुरा तिनीहरूको धार्मिक रीतिको एउटा भाग थियो। र अनि ती देवताहरूका निम्ति आफ्ना पहिलौठो बच्चाहरूलाई बलिदान चढाउने गरिन्थ्यो। कनान देश राष्ट्रिय स्तरमा एक प्रकारको सोदोम र गोमोरा नै भएको थियो जस्तो देखिन्छ।” उनी अगाडि भन्दछन्: “के यस प्रकारको घिनलाग्दो र नृशंश सभ्यतालाई टिकिरहने अधिकार थियो र? . . . परमेश्वरले ती शहरहरूलाई त्यो भन्दा धेरै नै अघि किन नष्ट गर्नु भएन भनी आज पनि कनानी खण्डहरहरूको खोदाइ गर्ने विशेषज्ञहरू छक्क पर्दछन्।”
५. पुरातन समयमा आफ्ना जनहरूलाई परमेश्वरले छुटकारा दिलाउनु भएको कुरा हाम्रो समयको निम्ति एउटा नमुना कसरी हो?
५ झूटो उपासनाको विरुद्धमा परमेश्वरले यो कार्वाई गर्नु भएर, उहाँ सित वाचामा बाँधिएका जनहरूलाई स्वतन्त्र तुल्याउनु हुँदै उनीहरूलाई प्रतिज्ञा गरिएको एउटा देश उपलब्ध गराउनु भएका घटनाहरूको क्रममा हामी भविष्यमा हुने कुराको एउटा नमुना प्रस्तुत भएको देख्छौं। अब चाँड नै भविष्यमा परमेश्वरले यस संसारका झूटा धर्महरू र त्यसका समर्थकहरूलाई नाश पार्नु भएर आधुनिक समयका उहाँका सेवकहरूलाई धार्मिकताको एउटा नयाँ संसारमा प्रवेश गराउनु हुनेछ भन्ने कुराको सङ्केत त्यसबाट मिल्दछ।—प्रकाश ७:९, १०, १३, १४; २ पत्रुस ३:१०-१३.
परमेश्वरको नयाँ संसारमा साँचो स्वतन्त्रता
६. नयाँ संसारमा परमेश्वरले कुन कुन अद्भुत स्वतन्त्रताहरू प्रदान गर्नु हुनेछ?
६ परमेश्वरको उद्देश्य बमोजिम मानव-परिवारले पाउनु पर्ने हर प्रकारको स्वतन्त्रता परमेश्वरले नयाँ संसारमा उहाँका जनहरूलाई आशिषको रूपमा दिनु हुनेछ। राजनैतिक, आर्थिक, र झूटो धर्मको दबावबाट स्वतन्त्रता प्राप्त हुनेछ। पाप र मृत्युबाट स्वतन्त्र भएर मानिसहरूको सामुन्ने यस पृथ्वीमा सधैंभरि बाँच्ने सम्भावना हुनेछ। “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सँधैभरि रहन्छन्।”—भजनसंग्रह ३७:२९; मत्ती ५:५.
७, ८. नयाँ संसारमा पूर्ण स्वास्थ्य पुनः प्राप्त गर्दा के अनुभव गरिनेछ?
७ त्यो नयाँ संसारको शुरुआत हुनासाथै त्यहाँका वासिन्दाहरूले चमत्कारपूर्ण ढङ्गमा सिद्ध स्वास्थ्य फेरि प्राप्त गर्नेछन्। अय्यूब ३३:२५ ले भन्दछ: “त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन् बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।” यशैया ३५:५, ६ प्रतिज्ञा गर्दछ: “तब अन्धाहरूका आँखा खोलिनेछन्, बहिराहरूका कान उघारिनेछन्। तब लङ्गडा मृगझैं उफ्रनेछ, र गुङ्गाको जिब्रोले स्तुति गर्नेछ।”
८ वृद्धावस्था वा अस्वस्थताले गर्दा तपाईं जसजसलाई शारीरिक व्यथाले पीडित पारेको छ, प्रत्येक बिहान स्वस्थ र बलियो भएर जाग्नु भएको कल्पना गर्नुहोस्। तपाईंका चाउरी परेका छालाहरू चिल्लो भइसक्यो—छालामा प्रयोग गरिने क्रीमहरूको अब कुनै आवश्यकता पर्नेछैन। मधुरो वा अन्धो भएका तपाईंका आँखाहरूले फेरि सम्पूर्ण दृष्टि-शक्ति पाइसकेको छ—ती चस्माहरू अब चाहिंदैनन्। फेरि स्पष्टसँग सुन्न सक्नु हुन्छ—सुन्नमा मदत दिने ती यन्त्रहरू फालि दिनु होस्। अपङ्ग हात-खुट्टाहरू अब फेरि बलियो र जस्ताको तस्तै भएको छ—ती छँडीहरू, बैशाखीहरू, र पांग्रे मेचहरू मिल्काइ दिनु होस्। अब कुनै रोगै छैन—ती सबै औषधीहरू फालिदिनुहोस्। यसप्रकार, यशैया ३३:२४ भविष्यवाणी गर्दछ: “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें!’” तिनी यसो पनि भन्छन्: “तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछ।”—यशैया ३५:१०.
९. सदाका निम्ति युद्धको अन्त कसरी हुनेछ?
९ युद्धमा अब कसैलाई बलिदान चढाइने छैन। “पृथ्वीका अन्तसम्मै उहाँले [परमेश्वरले] युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।” (भजनसंग्रह ४६:९) परमेश्वरको राज्यका शासक, येशू ख्रीष्ट अथवा यशैया ९:६ अनुसारका “शान्तिका राजकुमारले” फेरि कहिले पनि युद्धका अस्त्रहरू रहन दिनु हुनेछैन। सातौं पद्यले अझ भन्छ: “उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिल्यै हुनेछैन।”
१०, ११. पृथ्वीका निम्ति सम्पूर्ण शान्तिको अर्थ के हुनेछ?
१० युद्धका अस्त्रहरूबाट मुक्त हुनु यस धरती र मानवजातिका निम्ति कस्तो आशिषको कुरा हुनेछ! किन? किनभने पहिले पहिलेका युद्धहरूमा प्रयोग गरिएका अस्त्रहरूद्वारा वर्तमान समयसम्मै मानिसहरू नष्ट भइरहेका छन्। जस्तो कि फ्रान्समा, पहिले पहिलेका युद्धहरूबाट बाँकी रहेका विस्फोटक पदार्थहरूलाई हटाउँदा, १९४५ देखि यता, विस्फोटक पदार्थहरू हटाउने करीब ६०० विशेषज्ञहरू मारिएका छन्। त्यहाँ बम् हटाउने संस्थाका हाकिमले भने: “१८७० को फ्र्याङ्को-प्रसियन युद्ध देखि बाँकी रहेका विष्फोटनशील तोप-गोलाहरू हामी अझै पनि भेट्टाउँदैछौं। कति पोखरीहरू प्रथम विश्व-युद्धका विषालु हतगोलाहरूले भरिएका छन्। दोस्रो विश्व-युद्धमा ट्याङ्कहरू उडाउन भुइँमनि गाडिएका विस्फोटकहरूको माथिबाट कति पटक एक जना किसानले आफ्नो ट्रयाक्टर हिंडाउदा न्रङ्ग पडकेर सबै खत्म भएको छ। यी कुराहरू जताततै छन्।” दुई वर्ष अघि, द न्यु योर्क टाइम्सले टिप्पणी गरेको थियो: “दोस्रो विश्व-युद्ध समाप्त भए देखि यता ४५ वर्ष भित्र, बम हटाउने निकायहरूले फ्रान्सीसी माटोबाट मात्र १ करोड ६० लाख विस्फोटक गोलीहरू, ४ लाख ९० हजार बम्हरू र ६ लाख पानीमनिका विस्फोटक पदार्थहरू हटाएका छन्। . . . लाखौं एकड जमीनमा, गोडा डुब्नेसम्मगरी अस्त्रहरूको थाक पाइन्छ र त्यहाँ चारै तिर यस प्रकारको चेताउनी सङ्केत चिन्हहरू टाङ्गिएका छन्: ‘न छुनुहोस्। यसले मार्छ!’”
११ नयाँ संसार कति फरक हुनेछ! हरेकले राम्रो घर, प्रशस्त भोजन, र सारा पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने इनामदायी, शान्तपूर्ण काम पाउनेछन्। (भजनसंग्रह ७२:१६; यशैया २५:६; ६५:१७-२५) फेरि कहिले पनि मानिसहरू र पृथ्वीमाथि लाखौं विस्फोटक यन्त्रहरूद्वारा बमबारी हुनेछैन। यस्तै किसिमको नयाँ संसारको परिकल्पना गर्नु हुँदै येशूले उहाँमाथि विश्वास गर्ने एक जनालाई भन्नु भएकोथियो: “तिमी मसित . . . [प्रमोदवनमा न्यु. व.] हुनेछौ।”—लूका २३:४३.
जीवनका निम्ति विश्वव्यापी शिक्षा
१२, १३. हाम्रो समयका निम्ति येशू र यशैयाद्वारा कुन् विश्व-व्यापी शैक्षिक कार्यबारे भविष्यवाणी गरिएको थियो?
१२ एउटा व्यक्तिले परमेश्वरको नयाँ संसारबारे शिक्षा लिंदा यहोवाले हाम्रा दिनमा साँचो उपासनाका निम्ति एउटा विश्व-व्यापी मण्डली पनि सङ्गठित गर्नु भएको छ भन्ने कुरा पनि सिक्तछ। यो मण्डली नयाँ संसारको केन्द्र-बिन्दु हुनेछ र यसैलाई प्रयोग गर्नु हुँदै परमेश्वरले अरूहरूलाई आफ्ना उद्देश्यहरूबारे जानकारी दिने गर्नु हुँदैछ। यो मसीही सङ्गठनले आज सम्म कहिले नभएको र नदेखिएको ढङ्गमा एउटा विश्व-व्यापी शैक्षिक काम गर्दैछ। यसो हुनेछ भनी येशूले भविष्यवाणी गर्नु भएको थियो। उहाँले भन्नु भयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४; मत्ती ६:९, १० पनि हेर्नुहोस्.
१३ यशैयाले पनि यो विश्व-व्यापी शैक्षिक कामबारे चर्चा गरेका थिए: “पछिल्ला दिनमा [हाम्रो समयमा] परमप्रभुको [यहोवाको न्यु. व.] भवन [उहाँको उच्च उपासना] बसालिएको पर्वत . . . उच्च पारिनेछ। . . . सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको [यहोवाको न्यु. व.] पर्वतमा उक्लेर जाऔं . . . उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंडनेछौं।”—यशैया २:२, ३.
१४. परमेश्वरका जनहरूलाई आज कसरी चिन्न सकिन्छ?
१४ त्यसकारण, परमेश्वरको राज्यबारे विश्व-व्यापी प्रचार एउटा ठोस प्रमाण हो कि हामी यस दुष्ट रीतिरिवाजको अन्तको नजिक छौं र साँचो स्वतन्त्रता अब आउनै लागेको छ। परमेश्वरको नयाँ संसारबारे यो आशापूर्ण समाचार लिएर अरूहरूकहाँ जानेहरूलाई “[परमेश्वरका] नाउँको निम्तिका . . . एक जाति” भनि प्रेरित १५:१४ मा वर्णन गरिएको छ। यहोवाको नाउँ लिएर यहोवा र उहाँको राज्यबारे कसले विश्व-व्यापी साक्षी दिइरहेकाछन्? २० वीं शताब्दीको इतिहास अनुसार: यहोवाका साक्षीहरूले मात्र। आज सारा संसारभरि ६६,००० भन्दा अधिक मण्डलीहरूमा उनीहरूको संख्या ४० लाख भन्दा बढी छ।—यशैया ४३:१०-१२; प्रेरित २:२१.
१५. राजनैतिक मामलाहरूमा परमेश्वरका साँचो सेवकहरूलाई कसरी चिन्न सकिन्छ?
१५ राज्य-प्रचार सम्बन्धी कामबारे गरिएका भविष्यवाणीहरू यहोवाका साक्षीहरूले नै पूरा गरिरहेकाछन् भन्ने एउटा अर्को प्रमाण यशैया २:४ मा उल्लेख गरिएको छ: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।” अतः परमेश्वरको राज्यबारे विश्व-व्यापी प्रचार गर्नेहरूले ‘युद्ध गर्न सिक्नु’ भएन। येशूले भन्नुभयो कि तिनीहरू “संसारका होइनन्।” (यूहन्ना १७:१६) यसको अर्थ तिनीहरू राजनैतिक मामलाहरूमा तटस्थ रहनु पर्दछ, र राष्ट्रहरू बीचको विवादहरू र युद्धहरूमा कसैको पक्ष लिनु हुँदैन। संसारका सहभागी न भइकन कसले युद्ध गर्न सिकेका छैनन्? फेरि पनि २० वी शताब्दीको एतिहासिक प्रमाण अनुसार: यहोवाका साक्षीहरूले मात्र।
१६. परमेश्वरको विश्व-व्यापी शैक्षिक कार्य कतिको सम्पूर्ण हुनेछ?
१६ यो दुष्ट रीतिरिवाजलाई परमेश्वरले अन्त गर्नु भइ सके पछि पनि यहोवाका साक्षीहरूको यो विश्व-व्यापी शैक्षिक कार्यक्रम कायम नै रहने छ। यशैया ५४:१३ भन्दछ: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट [यहोवाबाट न्यु. व.] सिकाइएका हुनेछन्।” यो शैक्षिक कार्य यति सम्पूर्ण ढङ्गमा हुनेछ कि यशैया ११:९ मा उल्लेखित भविष्यवाणी अनुसार: “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको [यहोवाको न्यु. व.] ज्ञानले भरिपूर्ण हुनेछ।” यो पुरानो संसार अन्त हुँदा बाँच्नेहरू र सायद नयाँ संसारमा जन्मने बच्चाहरूका लागि मात्र न भएर, पुनरुत्थानद्वारा आउने अरबौं मानिसहरूका निम्ति पनि नियमित रूपमा यस प्रकारको शिक्षा लिइरहन आवश्यक हुनेछ। अन्ततोगत्वा, यस पृथ्वीमा बस्ने प्रत्येकलाई परमेश्वरका नियमहरूका सीमा भित्र रहेर आफ्नो स्वेच्छाको प्रयोग गर्न सिकाइनेछ। यसको परिणाम? “नम्रहरूले देश अधिकार गर्नेछन्, र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजनसंग्रह ३७:११.
अहिले पनि महान स्वतन्त्रता उपलव्ध छ
१७. परमेश्वरका पुरातनका मानिसहरूलाई मोशाले के गर्न भने?
१७ पुरातनका इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लागेको बेलामा मोशाले तिनीहरूलाई भने: “परमप्रभु [यहोवा न्यु. व.] मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधि-विधान सिकाएको छु। यसकारण तिमीहरूले ती मान र पालन गर, किनकि अरू जातिको अगि तिमीहरूका ज्ञान र समझको प्रचार हुनेछ। औ यी सबै विधिहरू सुनेर तिनीहरूले भन्नेछन्, ‘अवश्य यस महान् जातिका मानिसहरू खूबै ज्ञानी र समझदार रहेछन्।’ हामीले पुकारा गर्दा परमप्रभु [यहोवा न्यु. व.] हाम्रा परमेश्वर हाम्रो यति नजिक हुनुभएझैं ईश्वर यति नजिक भएको अरू कुनचाहिं महान् जाति छ?”—व्यवस्था ४:५-७.
१८. परमेश्वरको सेवा गर्नेहरूले अहिलेनै पनि कुन महान स्वतन्त्रताहरू प्राप्त गर्न सक्छन्?
१८ आज यहोवालाई उपासना गर्ने लाखौं मानिसहरू पनि प्रतिज्ञा गरिएको एउटा देशमा—अथवा नयाँ संसारमा प्रवेश गर्नै लागेका छन्। उनीहरूले परमेश्वरका नियमहरू पालन गरेका हुनाकारण उहाँ उनीहरूको नजिक हुनु हुन्छ र अन्य अरू मानिसहरू भन्दा यिनीहरू छुट्टै देखिन्छन्। झूटा धार्मिक विचारहरू, जातिवाद, अबैध लागूपदार्थको सेवन, राष्ट्रियता, युद्ध, र मैथुनिक क्रियाबाट उत्पन्न हुने बिमारीको महामारीबाट परमेश्वरले अहिले पनि यिनीहरूलाई बचाउनु भएको छ। यति मात्र न भएर उहाँले यी जनहरूलाई एउटा बलियो अन्तःराष्ट्रिय भ्रातृत्वको प्रेममा एकताबद्ध पार्नु भएको छ। (यूहन्ना १३:३५) यिनीहरू भविष्यबारे चिन्तित छैनन् तर “हृदयमा आनन्द भएकाले गाउने” गर्दछन्। (यशैया ६५:१४) परमेश्वरलाई शासक मानेर सेवा गर्नाले यिनीहरूले अहिले पनि कस्ता महान स्वतन्त्रताहरूको आनन्द उठाइ रहेका छन्!—प्रेरित ५:२९, ३२; २ कोरिन्थी ४:७; १ यूहन्ना ५:३.
अरूहरूलाई झूटा विश्वासहरूबाट मुक्त पार्नु
१९, २०. मृतकहरूको स्थितिबारे बाइबलको शिक्षाले मानिसहरूलाई कसरी मुक्त पार्दछ?
१९ यहोवाका साक्षीहरूले जस-जसलाई गएर प्रचार गरेका छन् उनीहरू मध्यका धेरै मानिसहरूले पनि यी स्वतन्त्रताहरू प्राप्त गर्न थालेका छन्। उदाहरणकालागि, पूर्खाहरूको पूजा गरिने देशहरूमा यहोवाका साक्षीहरूले अरूहरूलाई यस कुराको जानकारी दिंदैछन् कि मरेकाहरू कुनै ठाउँमा जीवित छैनन् र बाँचेकाहरूलाई कुनै नोकसान पुऱ्याउन सक्तैनन्। साक्षीहरूले उपदेशक ९:५ लाई सङ्केत गर्दछन्, जहाँ भनिएको छ कि “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्।” उनीहरूले भजनसंग्रह १४६:४ पनि देखाउने गर्छन् जसमा लेखिएको छ, मानिस मरे पछि “त्यो माटैमा मिलिहाल्छ; त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्।” अतः निको पार्ने वा जीवितहरूलाई तर्साउने कार्यहरू गर्न सक्ने मानिसमा कुनै भूत वा अमर प्राण हुँदैन भनी बाइबलले देखाउँछ। त्यसकारण, धामी-झाँक्री वा धर्मगुरुहरूबाट मदत पाउनका लागि आफूले मेहनत गरेर कमाएको रकम खर्च गर्न आवश्यक छैन।
२० बाइबलमा उल्लेखित यस प्रकारको सत्य ज्ञानले मानिसहरूलाई नरक कुण्ड र परगेटरी जस्ता झूटा शिक्षाहरूबाट मुक्त गराउँछ। मृतकहरू गहिरो निद्रामा परेकाहरू जस्तै अचेत हुन्छन् भन्ने बाइबलमा सिकाइएको सत्य कुरा मानिसहरूले बुझेपछि उनीहरूका मरेका प्रियजनहरूलाई के भयो होला भनी उनीहरू चिन्तित हुन छाडछन्। बरु, त्यो अद्भुत समयको प्रतीक्षामा बस्दछन् जब प्रेरित पावलका शब्दहरू अनुसार: “धर्मी र अधर्मीहरूसमेतको पुनरुत्थान हुनेछ।”—प्रेरित २४:१५.
२१. पुनरुत्थानमा निश्चय नै को को पनि आउन सक्छन् र तिनीहरूको सम्भवतः के प्रतिक्रिया हुनेछ?
२१ पुनरुत्थान हुँदा, आदमबाट वंशानुगत्मा पाएको मृत्युबाट सदाकालागि मुक्त भएको पृथ्वीमा मरेका जनहरू फेरि जीवित हुनेछन्। निश्चय नै मोलेक जस्ता कनानी देवताहरूलाई बलिदान चढाइएका केटा-केटीहरू, एजटेक देवताहरूलाई बलि चढाइएका नौजवानहरू, र युद्धको देवतालाई बलि चढाइएका अनगिनित लाखौं मानिसहरू पनि पुनरुत्थानमा आउन सक्ने छन्। झूटा विश्वासहरूबाट कुनै समयमा शिकार भएका ती मानिसहरू कति आश्चर्यचकित र आनन्दित हुनेछन्! पुनरुत्थान भएका त्यस्ता मानिसहरूले आनन्दका साथ यो घोषणा गर्न सक्नेछन्: “ए मृत्यु, तेरो विध्वंसक प्रकोप कहाँ छ, ए चिहान, [शिओल न्यु. व.] तेरो नाश गर्ने शक्ति कहाँ छ?”—होशे १३:१४.
यहोवाको खोजी गर्नु होस्
२२. परमेश्वरको नयाँ संसारमा हामीहरू बाँच्न चाहन्छौं भने, हामीले कुन कुरालाई मनमा राख्नु पर्दछ?
२२ के तपाईं परमेश्वरको धार्मिक नयाँ संसारमा बस्न चाहनु हुन्छ जहाँ साँचो स्वतन्त्रता हुनेछ? चाहनु हुन्छ भने, २ इतिहास १५:२ मा भनिएको कुरालाई हृदयबाटै ध्यान दिनु होस्: “जब तिमीहरू परमप्रभुसँग [यहोवासंग न्यु. व.] हुन्छौ तब उहाँ पनि तिमीहरूसंग हुनुहुनेछ। र यदि तिमीहरूले उहाँको खोजी गऱ्यौ भने, तिमीहरूले उहाँलाई पाउने छौ, तर तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” र यस कुरालाई न बिर्सनु होस् कि परमेश्वरबारे ज्ञान लिने र उहाँलाई खुशी पार्ने तपाईंको निष्कपट प्रयास परमेश्वरको नजरबाट लुकेर बस्ने छैन। हिब्रू ११:६ भन्दछ कि परमेश्वर “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” र रोमी १०:११ भन्दछ: “उहाँमाथि विश्वास गर्ने कोही शर्ममा पर्नेछैन।”
२३. परमेश्वरको स्वतन्त्रताको नयाँ संसारको हामीहरूले किन स्वागत गर्नु पर्दछ?
२३ साँचो स्वतन्त्रतायुक्त परमेश्वरको नयाँ संसार बिल्कुलै सामने आइसकेको छ। त्यहाँ “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” र “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन।” (रोमी ८:२१; प्रकाश २१:४) अनि यहोवाका सबै नै सेवकहरूले आफ्नो शिर उठाउनेछन् र आनन्दका साथ स्वतन्त्रतायुक्त परमेश्वरको नयाँ संसारको स्वागत गर्दै चर्को स्वरमा भन्नेछन्, ‘बल्ल साँचो स्वतन्त्रता हामीले पाउन सकेकोमा, यहोवा, तपाईंलाई धन्यवाद छ!’ (w 4/01/92)
तपाईं कसरी जवाफ दिनुहुन्छ
◻ आफ्ना जनहरूलाई मुक्त गराउनुमा यहोवाले आफ्नो योग्यता कसरी देखाउनु भयो?
◻ परमेश्वरको नयाँ संसारमा कुन् कुन् अद्भुत स्वतन्त्रताहरू हुनेछन्?
◻ जीवनका निम्ति मानिसहरूलाई यहोवाले कसरी शिक्षा दिनु हुँदैछ?
◻ यहोवालाई सेवा गरेर अहिले पनि परमेश्वरका जनहरूले कुन् कुन् स्वतन्त्रताहरूको आनन्द उठाउँदैछन्?
[पृष्ठ १४-मा भएको चित्र]
यहोवाले आफ्ना उपासकहरूलाई मुक्त गराउनु भएर मिस्रका झुट्टा देवताहरूमाथिको आफ्नो श्रेष्ठता देखाउनु भयो
[पृष्ठ १७-मा भएको चित्र]
आज, परमेश्वरको विश्व-व्यापी शैक्षिक कार्य संचालन गर्दै उहाँको नाउँ धारण गरेको हुनाले उहाँका सच्चा सेवकहरू चिनिन्छन्