मानिसहरू पक्रने जलारी भएर सेवा गर्ने
“येशूले शिमोनलाई भन्नुभयो: ‘नडराऊ, अब उपरान्त तिमी मानिसहरू पक्रने हुनेछौ।’”—लूका ५:१०.
१, २. (क) मानवजातिको इतिहासमा माछा पक्रने कामले के भूमिका खेलेको छ? (ख) लगभग २,००० वर्षअघि कुन नयाँ किसिमको जलारी हुने काम सुरु गरिएको थियो?
हजारौं वर्षदेखि मानवजातिले पृथ्वीका समुद्रहरू, तालहरू र खोलाहरूमा खाने कुराहरूको खोजी गर्दै आएका छन्। पुरातन मिश्रमा नील नदीको माछा तिनीहरूको भोजनको एउटा मुख्य भाग हुन्थ्यो। मोशाका दिनमा नील नदीका पानीहरू रगतमा परिणत हुँदा, मिश्रीहरू पानीको अभावले मात्र पीडित भएनन् तर माछाहरू मरेको हुनाले, तिनीहरूको खाद्यन्नसामग्रीमाथि समेत असर पर्यो। पछि, सीनैमा यहोवाले इस्राएललाई व्यवस्था दिनुहुँदा खास किसिमका माछाहरू खान सकिन्छ तर अरूहरू चाहिं अशुद्ध भएका हुनाले खानु हुँदैन भन्ने आदेश तिनीहरूलाई दिनुभयो। यसबाट यो बुझियो कि प्रतिज्ञा गरिएको देशमा आएपछि तिनीहरूले माछा खाने रहेछन्, अतः तिनीहरू मध्येका केही मानिसहरूले जलारी काम गर्ने रहेछन्।—प्रस्थान ७:२०, २१; लेवी ११:९-१२.
२ तथापि, केही २,००० वर्षअघि, मानवजातिको सामुन्ने एउटा अर्कै किसिमको माछा पक्रने काम प्रस्तुत गरियो। यो एउटा आध्यात्मिक किसिमको माछा पक्रने काम थियो। यसबाट जलारीहरूका साथै माछासमेतलाई लाभ हुने थियो! यस प्रकारको माछा पक्रने काम आज पनि कायम छ र यसबाट विश्वभरि लाखौंले लाभ उठाइरहेका छन्।
“मानिसहरू जिऊँदै पक्रने”
३, ४. येशू ख्रीष्टप्रति कुन दुई जना जलारीहरूले ठूलो चाख देखाए?
३ सा० यु० २९ सालमा, यो नयाँ किसिमको माछा पक्रने काम सुरु गर्नुहुने येशूको बप्तिस्मा यर्दन नदीमा बप्तिस्मा दिने यूहन्नाद्वारा भएको थियो। केही हप्तापछि, यूहन्नाले येशूतर्फ सङ्केत गर्दै आफ्ना दुई जना चेलाहरूलाई भने: “हेर, परमेश्वरका थुमा!” तीमध्येका एक जना चेला अथवा अन्द्रियासले झट्ट आफ्ना दाज्यू शिमोन पत्रुसलाई भने: “हामीले मसीहलाई भेट्टाएका छौं!” चाखलाग्दो कुरा के हो भने, अन्द्रियास र पत्रुस दुवै जना माछा मार्ने जलारीहरू थिए।—यूहन्ना १:३५, ३६, ४०, ४१; मत्ती ४:१८.
४ केही समयपछि, पत्रुस र अन्द्रियासहरूकै घर नजिक, गालीलको समुद्रको छेउमा येशू मानिसहरूका भीडलाई प्रचार गर्दै हुनु हुन्थ्यो। उहाँ मानिसहरूलाई भन्दै हुनुहुन्थ्यो: “पश्चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।” (मत्ती ४:१३, १७) पत्रुस र अन्द्रियास उहाँको सन्देश सुन्न जरुर पनि इच्छुक थिए होलान्। तर येशूले अब तिनीहरूलाई एउटा यस्तो कुरा भन्नै लाग्नु भएको थियो जसद्वारा तिनीहरूको जीवन सदाका निम्ति बदलिने छ। यो चाहिं तिनीहरूलाई सायद थाह थिएन होला। यस बाहेक, तिनीहरूका सामुन्ने येशूले जे भन्नुभयो र गर्नुभयो, त्यसले आज हाम्रालागि एउटा महत्त्वपूर्ण अर्थ राख्तछ।
५. जलारी पत्रुसले येशूको सेवा कसरी गर्न सके?
५ हामी पढ्दछौं: “अब भीड़ उहाँमाथि ठेलमठेला गरेर परमेश्वरको वचन सुन्दा उहाँ गनसरेत तालको किनारमा उभिरहनुभएको थियो। औ उहाँले दुइवटा डुङ्गा तालमा किनार लागिरहेका देख्नुभयो, तर जलारीचाहिं तीबाट निस्केर आफ्ना जालहरू धोइरहेका थिए।” (लूका ५:१, २) त्यस ताका, पेसेवार जलारीहरू अक्सर राती काम गर्दथिए, र रातभरि माछा पक्रने काम गरेपछि यी मानिसहरू अब आ-आफ्ना जालहरू धोइरहेका थिए। भीडलाई अझ प्रभावकारी ढङ्गमा प्रचार गर्नका निम्ति तिनीहरूको एउटा डुङ्गाको प्रयोग गर्न येशूले निर्णय गर्नुहुन्छ। “उहाँ, डुङ्गाहरूमध्ये एउटा, शिमोनको चाहिंमा चढ़ेर डुङ्गालाई जमीनबाट अलि पर लैजानलाउनुभयो, र बसेर उहाँले भीड़हरूलाई डुङ्गाबाटै शिक्षा दिनुभयो।”—लूका ५:३.
६, ७. माछा पक्रने सम्बन्धमा येशूले के चमत्कार देखाउनु भयो र यस सिलसिलामा माछा पक्रनबारे के भनियो?
६ येशूको मनसाय भीडलाई शिक्षा दिनु मात्र थिएन। उहाँको मनमा यो भन्दा अझ महत्त्वपूर्ण कुरा थियो। ध्यान दिएर सुन्नु होस्: “औ बोलिसक्नुभएपछि, उहाँले शिमोनलाई ‘गहीरोतिर लगेर माछा पक्रनालाई आफ्ना जाल हान’ भन्नुभयो।’” अब यी जलारीहरूले रातभरि जाल हानी सकेका थिए। अनि त पत्रुसले यस प्रकार जवाफ दिए: “हजूर, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं तापनि, तपाईंको वचनमा म जाल हान्नेछु।” तिनीहरूले यसो गरेपछि के भयो? “तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्नलागे। औ तिनीहरूले अर्को डुङ्गामा भएका हिस्सेदारहरूलाई ‘आएर हामीलाई गुहार’ भन्ने इशारा गरे, औ तिनीहरूले आएर दुवै डुङ्गा भरे। यहाँसम्म कि डुङ्गाहरू डुब्नलागे।”—लूका ५:४-७.
७ येशूले यहाँ एउटा चमत्कार गर्नुभयो। समुद्रको त्यस भागमा रातभरि एउटै माछा थिएन; तर अहिलेचाहिं त्यही पानी माछैमाछाले भरिभराउ थियो। पत्रुसमाथि यस चमत्कारले एउटा गहिरो प्रभाव पाऱ्यो। “‘हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हूँ’ भनेर शिमोन पत्रुस येशूका पाउमा घोप्टो परे। किनकि आफूले पक्रेका माछाहरूको थुप्रो देखेर तिनी र तिनीसित हुनेहरू सबैले सारै अचम्म माने। त्यसैगरी जब्दीका छोराहरू, याकूब र यूहन्ना पनि छक्क परे। तिनीहरू शिमोनसित हिस्सेदार थिए।” येशूले पत्रुसलाई शान्त पार्नुभयो। त्यसपछि पत्रुसको जीवनलाई बद्ली दिने यी शब्दहरू भन्नुभयो: “नडराऊ, अब उपरान्त तिमी मानिसहरू पक्रने हुनेछौ।”—लूका ५:८-१०.
मानिसहरूका जलारी
८. ‘मानिसहरू [जिउँदै] पक्रने’ आमन्त्रण पाएपछि चार जना पेसेवार जलारीहरूले के गरे?
८ यस प्रकार येशूले मानिसहरूलाई माछासित तुलना गर्नुभयो। यी नम्र जलारीलाई चाहिं आफ्नो सांसारिक व्यवसाय छोडेर त्योभन्दा धेरै नै उच्च स्तरको माछा पक्रने काम—अर्थात् मानिसहरूलाई जिउँदै पक्रने काम गर्न आमन्त्रित गर्नुभयो। पत्रुस र तिनका भाइ अन्द्रियासले सो आमन्त्रण स्वीकार गरे। “उत्तिखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।” (मत्ती ४:१८-२०) त्यसपछि, डुङ्गामा बसेर आ-आफ्ना जाल ठीक पारिरहेका याकूब र यूहन्नालाई येशूले बोलाउनु भयो। यिनीहरूलाई पनि उहाँले मानिसहरूका जलारी हुने निमन्त्रणा दिनुभयो। तिनीहरूले के गरे? “उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे।” (मत्ती ४:२१, २२) येशू प्राणीहरूका एक जना निपुण जलारी हुनु हुन्थ्यो। यस अवसरमा उहाँले चार जना मानिसलाई जिउँदै पक्रनु भयो।
९, १०. पत्रुस र तिनका साथीहरूले कस्तो विश्वास देखाए, र आध्यात्मिक जलारी हुने कामका लागि तिनीहरूले प्रशिक्षण कसरी पाए?
९ पेसेवार जलारीले आफूले पक्रेको माछा बेचेर आफ्नो जीविका चलाउँछ। तर एक जना आध्यात्मिक जलारीले यसो गर्न सक्तैन। अतः, सबै कुरा छाडेर येशूको पछि लाग्दा ती चेलाहरूले ठूलो विश्वास देखाए। तिनीहरूको यो आध्यात्मिक जाल हान्ने काम सफल हुनेछ भन्ने कुरामा तिनीहरूलाई कुनै शङ्का थिएन। येशूले माछा नै नभएको पानीलाई त माछैमाछाले भरिदिन सक्नु भएको थियो। यसकारण, इस्राएली राष्ट्रका पानीहरूमा पनि आफ्ना जालहरू खसाल्दा परमेश्वरको मदतद्वारा तिनीहरूले मानिसहरूलाई जिउँदै पक्रन सक्नेछन्। यस विषयमा चेलाहरू विश्वस्त हुन सक्तथिए। त्यस बेला सुरु भएको आध्यात्मिक जलारी हुने काम अहिलेसम्मै कायम छ, र यहोवाले यस कार्यलाई अति नै फलदायक पार्नु हुँदैछ।
१० ती चेलाहरूले येशूबाट मानिसहरू पक्रने कामका निम्ति दुई वर्षभन्दा बढी समयसम्म प्रशिक्षण पाए। बेला बेलामा उहाँले तिनीहरूलाई विस्तृत निर्देशनहरू दिनु हुन्थ्यो र आफू जान लाग्नु भएको ठाउँमा तिनीहरूलाई अघि अघि पठाउनु हुन्थ्यो। (मत्ती १०:१-७; लूका १०:१-११) येशूलाई विश्वासघात र हत्या गरिंदा चेलाहरू अकमक्क भएका थिए। तर के येशूको मृत्यु भयो भन्दैमा मानिसहरू पक्रनका निम्ति जाल हान्ने काम बन्द हुने थियो र? त्यसको जवाफ, घटेका घटनाहरूले चाँडै नै दियो।
मानवजातिको समुद्रमा जाल हान्ने काम
११, १२. आफ्नो पुनरुत्थानपछि, माछा पक्रने कुरासँग सम्बन्धित के चमत्कार येशूले गर्नुभयो?
११ येरूशलेमबाहिर येशूको मृत्यु र उहाँको पुनरुत्थान भएको केही समय पश्चात नै चेलाहरू गालीलमा फर्के। एक पटक तिनीहरूमध्ये सात जना गालीलको समुद्रको छेउमा एकै साथ थिए। पत्रुसले माछा मार्न जान्छु भनेपछि अरूहरू पनि तिनका साथ लागे। सदाझैं, तिनीहरू माछा मार्न राती गए। तथापि तिनीहरूले फेरि रातभरि आ-आफ्ना जाल समुद्रमा हाले तर केही फेला परेन। अनि बिहानको झिसमिसे उज्यालोमा पारीपट्टिको किनारमा उभिरहेको व्यक्तिले तिनीहरूलाई यसरी आवाज दिए: “नानी हो, तिमीहरूसित केही खाने कुरा छ?” चेलाहरूले उत्तर दिए: “छैन!” अतः किनारमा उभिएका ती मानिसले तिनीहरूलाई भने: “‘जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि भेट्टाउनेछौ।’ तब तिनीहरूले जाल हाने, माछाहरूका थुप्रोले गर्दा तिनीहरूले जाल तान्नसकेनन्।”—यूहन्ना २१:५, ६.
१२ कस्तो उदेकलाग्दो अनुभव! माछा पक्रने सम्बन्धमा पहिलो पटकको चमत्कार सम्भवतः यस बखत चेलाहरूलाई याद भयो होला। साथै, तिनीहरू मध्ये कमसे कम एक जनाले चाहिं किनारमा उभिने व्यक्तिलाई चिनि हाले। “येशूले प्रेम गर्नुहुने त्यस चेलाले पत्रुसलाई भन्यो, ‘उहाँ प्रभु हुनुहुन्छ।’ शिमोन पत्रुसले ‘उहाँ प्रभु हुनुहुन्छ’ भन्ने सुनेर आफ्नो ओढ़ने कम्मरमा बेहेरे, [किनभने तिनी नाङ्गै थिए] समुद्रमा हामफाले। अरू चेलाहरू माछाहरूले भरिएको सानो डुङ्गामा जाल तान्दै आए। [किनभने तिनीहरू किनारदेखि प्रायः सय गज जतिमात्र टाढा थिए]।”—यूहन्ना २१:७, ८.
१३. येशूको स्वर्गारोहणपछि, अन्तर्राष्ट्रिय स्तरमा जाल हान्ने के काम सुरु भएको थियो?
१३ यो चमत्कारले के सङ्केत गऱ्यो? यही कि मानिसहरू पक्रनका लागि जाल हान्ने काम समाप्त भएको थिएन। यही तथ्यलाई जोड दिनुहुँदै येशूले पत्रुसलाई—र पत्रुसद्वारा उहाँका सबै चेलाहरूलाई—उहाँका भेडाहरूलाई चराउन तीन पटक भन्नुभयो। (यूहन्ना २१:१५-१७) हो, भविष्यमा आध्यात्मिक भोजन खुवाउने एउटा कार्यक्रम बाँकी थियो। आफ्नो मृत्यु हुनुभन्दा अघि, उहाँले यो अग्रिमवाणी गर्नु भएको थियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (मत्ती २४:१४) यो भविष्यवाणी अब प्रथम शताब्दीमा पूरा हुनै लागेको थियो। उहाँका चेलाहरूले मानवजातिका समुद्रमा आफ्ना आफ्ना जालहरू खसाल्नै आँटेका थिए र ती जालहरू माथि तानेर निकाल्दा रित्तो हुने थिएन।—मत्ती २८:१९, २०.
१४. यरूशलेम नाश हुनुभन्दा पहिलेका वर्षहरूमा येशूका चेलाहरूले गरेका जलारी कामले परमेश्वरको आशिष कसरी पायो?
१४ स्वर्गमा आफ्ना पिताको सिंहासनका सामुन्ने उक्लिनु अघि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) सा० यु० ३३ को पेन्तिकोसको दिन चेलाहरूमाथि पवित्र आत्मा खनाइन्दा, आत्मिक तवरमा मानिसहरूका जलारी हुने महान काम सुरु भयो। पेन्तिकोसको दिनमा मात्र, तीन हजार प्राणीहरूलाई जिउँदै पक्रन सकियो र त्यसको केही समय पछि “मानिसहरूको संख्या प्रायः पाँच हजार जति हुनआयो।” (प्रेरित २:४१; ४:४) वृद्धि हुने क्रम जारी नै रह्यो। लेखोटअनुसार: “विश्वास गर्नेहरू झन् बढ़ता गरी प्रभुमा थपिन लागे—लोग्नेमानिस र स्वास्नी मानिसहरू दुवैको भीड़।” (प्रेरित ५:१४) चाँडै नै, सामरीहरूले सुसमाचार स्वीकार गरे र त्यसको केही समयपछि खतना नभएका अन्यजातिहरूले पनि त्यसै गरे। (प्रेरित ८:४-८; १०:२४, ४४-४८) पेन्तिकोसको दिनदेखिन् केही २७ वर्षपछि, प्रेरित पावलले कलस्सीका मसीहीहरूलाई लेखेको पत्रअनुसार सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा” प्रचार भइ सकेको थियो। (कलस्सी १:२३) निःसन्देह, येशूका चेलाहरूले गालीलका पानीहरूभन्दा धेरै टाढा टाढासम्म मानिसहरू पक्रन जाल हानेका थिए। तिनीहरूले रोमी साम्राज्यका चारै तर्फ फिंजिएका यहूदीहरू बीच र त्यतिका फलदायी नदेखिने गैर-यहूदीहरूका समुद्रहरूमा पनि आ-आफ्ना जालहरू खसालेका थिए। तिनीहरूका जालहरू भरिभराउ भएर माथि आयो। सा० यु० ७० मा यरूशलेम नाश हुनुभन्दा पहिले नै मत्ती २४:१४ मा उल्लेखित् येशूको भविष्यवाणी प्रथम शताब्दीका मसीहीहरूका लागि पूरा भयो।
“प्रभुको दिनमा” मानिसहरू पक्रने जलारीको काम
१५. जाल हान्ने अझ कुन कामबारे प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएको थियो, र त्यो काम कहिले गरिने थियो?
१५ तथापि, अझ धेरै कुरा हुन बाँकी नै थियो। प्रथम शताब्दीको अन्ततिर, अन्तिम जीवित प्रेरित यूहन्नालाई यहोवाले “प्रभुको दिनमा” हुने कुराहरू प्रकाश गरी दिनु भयो। (प्रकाश १:१, १०) ती कुराहरूको एउटा विशेषता, विश्वव्यापी स्तरमा सुसमाचारको प्रचार हुनु थियो। हामी पढ्दछौं: “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा, र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गका बीचमा उड़िरहेको देखें।” (प्रकाश १४:६) स्वर्गदूतको निर्देशनमा परमेश्वरका सेवकहरूले रोमी साम्राज्यभरि मात्र नभएर सारा संसारमै सुसमाचारको प्रचार गर्ने थिए। प्राणीहरू पक्रनका लागि जाल हान्ने एउटा विश्वव्यापी कामको जिम्मा लिनु परेको थियो र त्यो दर्शन हाम्रो समयमा पूरा भएको छ।
१६, १७. पछिल्ला दिनका आध्यात्मिक जलारी हुने काम कहिलेदेखिन् सुरु भयो, र यहोवाले त्यस कामलाई कसरी आशिष दिनु भएको छ?
१६ यस बीसौं शताब्दीमा त्यो जाल हान्ने काम कस्तो चलिरहेछ? सुरु सुरुमा जलारीहरू तुलनात्मक दृष्टिले थोरै थिए। प्रथम विश्वयुद्ध अन्त हुँदा सुसमाचारका सक्रिय प्रचारकहरू करीब चार हजार जति मात्र थिए। यिनीहरू मध्ये धेरै जसो अभिषिक्त वर्गका उत्साही पुरुष र महिलाहरू थिए। यहोवाले जहाँ जहाँ बाटो खोलिदिनु हुन्थ्यो, त्यहीं त्यहीं गएर तिनीहरूले आ-आफ्ना जालहरू खसाल्ने गर्दथिए र यसरी धेरै प्राणीहरू जिउँदै समातिए। दोस्रो विश्वयुद्धपछि, नयाँ नयाँ इलाकाका पानीहरूमा जाल हान्न यहोवाले सम्भव पारिदिनु भयो। वाचटावर बाइबल सोसाइटीको गिल्यद स्कूलमा प्रशिक्षिण प्राप्त मिशनेरीहरूले धेरै मुलुकहरूमा जोडतोडका साथ काम अघि सारे। सुरु सुरुमा फलदायी नदेखिने जापान, ईटाली, र स्पेनजस्ता देशहरूमा पनि अन्ततोगत्वा प्रशस्त प्राणीहरू पक्रन सकियो। पूर्वीय युरोपमा पनि यो जाल हान्ने काम कति सफल भएछ, सो हामीले भर्खरै थाहा पायौं।
१७ आज, धेरै देशहरूमा जालहरू झन्डै झन्डै च्यातिन आँटेका छन्। धेरै नै ठूलो सङ्ख्यामा मानिसहरू भित्र आएका हुनाले, नयाँ मण्डलीहरू र सर्किटहरू सङ्गठित गर्न आवश्यक भएको छ। यिनीहरूलाई अँटाउनका निम्ति नयाँ राज्य सभा-गृहहरू र सम्मेलन हलहरूको निर्माण लगालग भइरहेछ। यो वृद्धिको हेर विचार गर्नका निम्ति अझै अरू प्राचीनहरू र सहायक सेवकहरूको आवश्यकता परेको छ। १९१९ मा ती विश्वासी जनहरूले एउटा विशाल कार्य सुरु गरेका थिए। आज यशैया ६०:२२ का शब्दहरू अक्षरशः पूरा भएको छ। ती चार हजार जलारी आज चालीस लाखभन्दा बढी भएर, साँच्चै नै ‘थोरै चाहिं हजार भएका छन्।’ तर अन्त चाहिं अझ पनि आएको छैन।
१८. प्रथम शताब्दीमा मानिसहरूका जलारीहरू हुनेहरूको राम्रो उदाहरणलाई हामी कसरी अनुकरण गर्न सक्तछौं?
१८ यी सबै कुराहरूले हाम्रालागि व्यक्तिगत रूपमा के अर्थ राख्तछन्? शास्त्र भन्दछ कि पत्रुस, अन्द्रियास, याकूब र यूहन्नाले मानिसहरूका जलारी हुने आमन्त्रण पाउना साथै “तिनीहरू [ले] . . . सबै छोड़ेर उहाँका [येशूको] पछि लागे।” (लूका ५:११) विश्वास र आत्म-समर्पणको कस्तो राम्रो उदाहरण! हामीहरूले पनि त्यस्तै प्रकारको आत्म-त्यागको भावना र जे जस्तो कुरा सहनु परे तापनि यहोवाको सेवा गर्ने तत्परता के आफूमा विकास गर्न सक्तछौं? गर्न सक्तछौं भनेर लाखौंले जवाफ दिएका छन्। प्रथम शताब्दीमा यहोवाले जहाँ जहाँ बाटो खोल्नु हुन्थ्यो, त्यहाँ त्यहाँ चेलाहरू पनि मानिसहरू पक्रन जाल हान्ने गर्दथिए। यहूदीहरू वा अन्यजातिहरूका बीच, जहाँ भए तापनि कुनै संकोच नमानी तिनीहरूले जाल हान्थे। हामीहरू पनि कुनै हिचकिचाहट वा पूर्वाग्रहको भाव बिना प्रत्येकलाई प्रचार गरौं।
१९. हामीले जाल हान्ने पानीहरू फलदायी नदेखिएको खण्डमा के गर्नु उचित हुन्छ?
१९ तथापि, तपाईंले वर्तमान समयमा प्रचार गरिरहनु भएको क्षेत्र फलदायी देखिंदैन भने के गर्ने? निरुत्साहित नहुनुहोस्। चेलाहरूले सारा रात जाल हानेर एउटै माछा पक्रन नसके तापनि, येशूले तिनीहरूका जालहरूलाई भरिभराउ पारिदिनु भएको थियो। आध्यात्मिक तवरमा पनि यस्तै हुन सक्तछ। उदाहरणका लागि, आयरलैण्डमा विश्वासी साक्षीहरूले वषौंसम्म मेहनत गेरेर पनि थारै मात्र फल प्राप्त हुन सक्यो। तर हालसालैमा परिस्थिति बदलिएको छ। यहोवाका साक्षीहरूका १९९१ को वार्षिक पुस्तकको [1991 Yearbook of Jehovah’s Witnesses, नेपालीमा उपलव्ध छैन] रिर्पोटअनुसार १९९० को सेवकाई वर्षको अन्तसम्म आयरलैण्डका प्रकाशकहरूको सङ्ख्या २९ पटक नयाँ शिखरहरूमा पुगेको थियो। सम्भवतः तपाईंको कार्य-क्षेत्र पनि कुनै दिन त्यसै प्रकार फलदायक हुन सक्तछ। यसकारण यहोवाले अनुमति दिउञ्जेल जाल हान्न नछाडनु होस्!
२०. मानिसहरू पक्रनका लागि हामीले जाल कहिले हान्नु बेस हुनेछ?
२० इस्राएलमा, राती सबै जना बिछौनामा न्यानोभएर आरामसाथ निदाएको बेलामा जलारीहरू माछा पक्रन जाने गर्दथिए। तिनीहरू आफ्नो सुविधाअनुसारको समयमा जानुको सट्टा सबैभन्दा बढी माछा पक्रन सकिने बेलामा जाने गर्द थिए। हामीले पनि आफ्नो कार्य-क्षेत्रको राम्ररी अध्ययन गरेर धेरै जसो मानिसहरू आ-आफ्ना घरमा हुने बेलामा अथवा वचन सुन्ने मनोस्थिति तिनीहरूमा भएको बखतमा जाल हान्नु पर्दछ। यो सायद बेलुकी पख, सप्ताहन्त, वा अरू कुनै पनि समय हुन सक्तछ। जुन बेला भए तापनि, असल हृदय भएका मानिसहरूलाई फेला पार्न हामी हर प्रयास गरौं।
२१. हाम्रो क्षेत्रमा बारम्बार प्रचार गरिन्छ भने हामीले के याद राख्नु पर्दछ?
२१ यदि हाम्रो क्षेत्रमा बारम्बार प्रचार गरिन्छ भने, के गर्ने? सांसारिक जलारीहरू अक्सर सिकायत गर्दछन् कि तिनीहरूले जाल हान्ने क्षेत्रहरूमा अति नै धेरै जलारीहरू काम गरिरहेका छन् र त्यहाँ अब पक्रनका लागि धेरै माछाहरू पनि छैनन्। यस प्रकार हाम्रा जाल हान्ने आत्मिक क्षेत्रहरूमा पनि अब केही कामै छैन भनी हामीले भन्न मिल्छ र? पटक्कै मिल्दैन! बारम्बार प्रचार गरिएका क्षेत्रहरूबाट पनि धेरै फल आइरहेको छ। साथै बारम्बार प्रचार गरिएको क्षेत्रहरूमा पनि विशेष उन्नति भइरहेको हामी पाउँछौं। कुनै कुनै इलाकामा त बारम्बार प्रचार गरेर नै धेरै फल प्राप्त गर्न सकिएको छ। तथापि, कुन कुन घरहरूमा मानिसहरू फेला पार्न सकिएन, त्यसलाई लेखेर राख्नुहोस् र पछि त्यहाँ फेरि जाने प्रबन्ध निश्चय मिलाउनुहोस्। कुराकानी बढाउने विभिन्न विषयहरू सिकेर राख्नुहोस्। चाँडै नै कुनै अर्को साक्षी फेरि त्यस घरमा आउने भएको हुनाले, धेरै बेरसम्म बसेर तपाईंलाई गरिएको स्वागतको दुरुपयोग नगर्नु होस् अथवा घरपट्टीलाई कुनै ढङ्गमा पनि रीस नउठाउनु होस्। बाटो-घाटोमा हिंडिरहेका मानिसहरूलाई प्रचार गर्ने तथा अनौपचारिक साक्षी दिने काममा सिपालु बन्नु होस्। आफ्ना आत्मिक जालहरूलाई हर अवसर र हर सम्भव ढङ्गमा हान्नुहोस्।
२२. यस समयमा हामीले कुन महान सौभाग्यको आनन्द उठाइ रहेका छौं?
२२ यस प्रकारको जाल हान्ने कामद्वारा जलारी र माछा, दुवैले लाभ उठाउँछन्। हामीले पक्रेका व्यक्तिहरूले धैर्य धारण गरे भने तिनीहरू सधैं बाँच्न सक्ने छन्। पावलले तिमोथीलाई यस प्रकार प्रोत्साहन दिए: “यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१६) आध्यात्मिक जलारी हुने कामका लागि आफ्ना चेलाहरूलाई स्वयं येशूले प्रशिक्षण दिनु भएको थियो र सो काम आज पनि उहाँ कै निर्देशन अन्तर्गत गरिंदैछ। (प्रकाश १४:१४-१६ सङ्ग तुलना गर्नुहोस्) उहाँमनि बसेर यो काम पूरा गर्न पाउनु हाम्रालागि एउटा ठूलो सौभाग्यको कुरा हो! जबसम्म यहोवाले अनुमति दिनुहुन्छ, तबसम्म आफ्ना जालहरू पानीमा हान्न नछाडौं। जिउँदा प्राणीहरूलाई पक्रने कामभन्दा अझ महान कार्य अरू के हुन सक्तछ र? (w92 6/15)
के तपाईलाईं याद छ?
◻ येशूले आफ्ना अनुयायीहरूलाई के कामका लागि प्रशिक्षण दिनु भयो?
◻ उहाँको मृत्युका साथ-साथै आध्यात्मिक जलारीहरू हुने काम समाप्त भएन भनेर येशूले कसरी देखाउनु भयो?
◻ प्रथम शताब्दीमा यहोवाले आध्यात्मिक जाल हान्ने कामलाई कसरी आशिष दिनुभयो?
◻ “प्रभुको दिनमा” माछाहरूको कुन ठूलो सङ्ख्या जालमा परेका छन्?
◻ हामी व्यक्तिगत रूपमा मानिसहरूका अझ अधिक सफल जलारी कसरी बन्न सक्तछौं?
[पृष्ठ १७-मा भएको चित्र]
येशूको पुनरुत्थानपछि, उहाँका प्रेरितहरूले मानिसहरू पक्रनका लागि जाल हान्ने ईश्वरीय कामलाई अघि सारे