विश्वव्यापी पानीहरूमा मानिसहरू पक्रन जाल हान्नु
“किनभने यदि मैले सुसमाचार सुनाएँ भने मलाई घमण्ड गर्न पर्ने केही छैन, किनकि मलाई करै लागेको छ, किनकि सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ!”—१ कोरिन्थी ९:१६.
१, २. (क) १ कोरिन्थी ९:१६ मा संकेत गरिएको चुनौतीको मुकाविला वास्तवमा कसले गरेका छन्, र त्यस प्रकारको जवाफ तपाईं किन दिनुहुन्छ? (ख) यहोवाका साक्षीहरूले के गर्ने जिम्मावारी स्वीकारेका छन्?
माथि उल्लेखित पावलका शब्दहरूले प्रस्तुत गरेको चुनौतीको मुकाबिला यो २० वीं शताब्दीमा वास्तवमा कसले गरेका छन्? “आत्मामा दरिद्र हुने” पुरुष र महिलाहरूलाई पक्रनका निम्ति जाल हान्न आज लाखौंका संख्यामा संसारभरि को गइरहेछन्? (मत्ती ५:३) मत्ती २४:१४ मा उल्लेखित येशूका आज्ञा पूरा गर्दा, कैद र मृत्युको खतरा बाहेक अनेक देशहरूमा सतावट भोग्नेहरू को हुन्?
२ वास्तविकता भन्छ: तिनीहरू यहोवाका साक्षीहरू हुन्। गएको सालमा मात्र चालीस लाखभन्दा बढी साक्षीहरू २११ देशहरू र क्षेत्रहरू र २०० भन्दा बढी भाषाहरूमा ‘सुसमाचारको घोषणा गर्दै’ घर घर प्रचार गर्न गए। यिनीहरू प्रशिक्षित मिशनेरीहरूका कुनै एउटा विशेष समूह थिएनन्। होइन, यहोवाका सबै नै साक्षीहरूले प्रत्येक अवसरमा र घरघर गएर प्रचार गर्ने र शिक्षा दिने काममा आफ्नो जिम्मावारी महसुस गर्दछन्। अरूहरूलाई आफ्नो विश्वासबारे भन्न तिनीहरू किन आवश्यक ठान्छन्? किनभने ज्ञानले जिम्मावारी बढाउँछ।—इजकिएल ३३:८, ९; रोमी १०:१४, १५; १ कोरिन्थी ९:१६, १७.
मानिसहरू पक्रनका लागि जाल हान्ने काम एउटा विश्वव्यापी चुनौती
३. मानिस पक्रन जाल हान्ने यो काम कतिको विस्तृत रूपमा गरिनु पर्दछ?
३ मानिसहरू पक्रनका लागि जाल हान्ने यो महान काम कुनै नदी वा ताल वा एउटा समुद्रमा सीमित छैन। यो यस प्रकार सीमित हुनै सक्तैन किनकि येशूले अह्राउनु भए अनुसार यो कार्य “सबै जातिहरूमा” गरिनु पर्नेछ। (मर्कूस १३:१०) पिताकहाँ माथि जानुभन्दा अघि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:१९, २०.
४. (क) येशूका पहिलेका यहूदी अनुयायीहरू कुन कुराले गर्दा छक्क परे होलान्? (ख) यहोवाका साक्षीहरूले आफ्नो प्रचार कार्यलाई कतिको विस्तृत ठान्दछन्?
४ यो जिम्मेवारी पाउँदा येशूका यहूदी अनुयायीहरू छक्क परे होलान्। उहाँले तिनीहरूलाई अब सबै देशका “अशुद्ध” अन्यजातिहरूकहाँ गएर त्यहाँका मानिसहरूलाई शिक्षा दिन भन्नु हुँदै थियो। त्यस प्रकारको कामलाई मनैबाट स्वीकार्न अथवा कार्यान्वयन गर्न तिनीहरूले आफ्नो सोचाईमा काँटछाँट गर्नु आवश्यक पऱ्यो। (प्रेरित १०:९-३५) अरू कुनै उपाय पनि थिएन; “खेत संसार हो” भनेर येशूले आफ्नो एउटा उखानमा तिनीहरूलाई भनी सक्नु भएको थियो। त्यसैकारण, आज यहोवाका साक्षीहरूको नजरमा सारा संसार नै जलारी काम गर्न आफ्नो हक लाग्ने क्षेत्र हो। आफ्नो देशको किनारदेखि “२० किलोमिटर” टाढासम्मका पानीहरूमा मात्र माछा पक्रन सक्ने नियम अथवा कुन ठाउँको पानी कुन देशको मातहत अन्तर्गत पर्छ भन्ने कानुनहरूले यहोवाका साक्षीहरूको ईश्वर-प्रदत्त जिम्मावरीमा बाधा पुर्याउन सक्तैनन्। धार्मिक स्वतन्त्रता नभएको ठाउँमा होशियारीको खाँचो परे तापनि, यहोवाका साक्षीहरू मानिस पक्रनका लागि जाल हान्ने काम जोडतोडका साथ गर्दछन्। किन? किनभने संसारका घटनाहरू र बाइबलमा उल्लेखित भविष्यवाणीको पूर्तिद्वारा बोध हुँदछ कि हामी जाल हानेर मानिसहरू पक्रने विश्वव्यापी कामको अन्ततिर आइ पुगेका छौं—मत्ती १३:३८; लूका २१:२८-३३.
जाल हान्ने विश्वव्यापी काममा प्रगति
५. विश्वव्यभरि मानिस पक्रन जाल हान्ने यो काम गर्नका लागि कुन प्रकारका मानिसहरू अघि बढदै छन्?
५ राज्यका धेरै जसो अभिषिक्त उत्तराधिकारीहरू १९३५ भन्दा पहिले नै अन्य राष्ट्रहरूबाट “पक्रिएका” थिए, अतः तिनीहरूको सम्पूर्ण संख्या मूलतः पूरा भइसकेको थियो। त्यसकारण, विशेषगरी १९३५ देखिन् यहोवाका साक्षीहरू ती नम्र व्यक्तिहरूको खोजीमा छन् जसलाई “देश अधिकार गर्ने” “नम्र” जनहरूको रूपमा वर्णन गर्न सकिन्छ। (भजनसंग्रह ३७:११, २९) यी तिनै मानिसहरू हुन् जो “सबै घीनलाग्दा कामहरू देखेर शोक र विलाप गर्दछन्।” “महा सङ्कष्टले” शैतानको पतित र भ्रष्ट रीतिरिवाजमाथि प्रहारगर्न अघि नै र त्यसका उपासकहरू चाहिं “आगोको धूनिमा” अनन्त विनाशका निम्ति फालिन पहिले नै, यी नम्र जनहरूले परमेश्वरको राज्यको पक्ष लिइ रहेका छन्।—इजकिएल ९:४; मत्ती १३:४७-५०; २४:२१.
६, ७. (क) प्रचार कार्यको सम्बन्धमा १९४३ मा के कस्ता पाइलाहरू चालिएका थिए? (ख) परिणामस्वरूप के भएको छ?
६ यो विश्वव्यापी स्तरमा जाल हानेर मानिसहरू पक्रने काम के अहिलेसम्म सफल भएको छ? यसको जवाफ वास्तविकताले दिन्छ। १९४३ ताका दोस्रो विश्वयुद्ध धुमधामसित चलिरहेकै बेलामा पनि, ब्रुकलिन, न्यु योर्कमा स्थित यहोवाका साक्षीहरूको मुख्यालयका विश्वासी अभिषिक्त भाइहरूले मानिसहरू पक्रन जाल हान्ने एउटा विशाल विश्वव्यापी काम गर्ने आवश्यकता देखे। अतः के कदमहरू उठाइयो?a—प्रकाश १२:१६, १७.
७ वाचटावर सोसाइटीले गिल्यद (हिब्रूमा, “साक्षीको थुप्रो”; उत्पत्ति ३१:४७, ४८) मिशनेरी स्कूल १९४३ मा स्थापित गरे। त्यहाँ छ-छ महिनामा, १०० जना मिशनेरीहरूलाई प्रशिक्षण दिएर, तिनीहरूलाई लाक्षणिक जलारीहरूलाईझैं विश्वभरि पठाउन सुरु गरियो। त्यस बेला जम्मा ५४ देशहरूमा यो जाल हान्ने काममा सक्रिय भाग लिने १,२६,३२९ जना साक्षीहरू मात्र थिए। दश वर्षभित्र नै त्यो सङ्खया बढेर १४३ देशहरूमा ५,१९,९८२ साक्षीहरू हुन गयो! निश्चय नै, विदेशी संस्कार भएको ठाउँहरूमा गएर, नयाँ पानीहरूको माझमा काम गर्ने बानी बसाल्दै जाल हान्न तैयार हुने निडर र दृढ़ पुरुष र स्त्रीहरू गिल्यद स्कूलबाट निस्कन थाले। फलःस्वरूप, शुद्ध हृदय भएका हजारौं मानिसहरूले राम्रोसित वचन सुन्न सुरु गरे। ती मिशनेरीहरू र तिनीहरूसित काम गर्ने स्थानीय साक्षीहरूले आज भइरहेको अद्भुत बृद्धिको जग बसाले।—यशैया ६०:२२.
८, ९. (क) मिशनेरी सेवा सम्बन्धी कुन विशिष्ट उदाहरणहरू दिन सकिन्छ? (ख) मिशनेरीहरूले आ-आफ्ना क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको कसरी देखेका छन्? (यहोवाका साक्षीहरूको १९९२ को वार्षिक पुस्तक [नेपालीमा उपलव्ध छैन] हेर्नुहोस्।)
८ गिल्यदका ती सुरु-सुरुका क्लासहरू धाएका विश्वासी र अनुभवी व्यक्तिहरू, आज ७० वा ८० वर्षभन्दा बढी उमेरका भए तापनि, अझ विदेशमै अथवा जहाँ तिनीहरूलाई खटाइएको थियो, त्यहीं नै छन्। उदाहरणका लागि, १९५० मा गिल्यदको १५ वाँ क्लास पास गरेर गएका ८२ वर्षीय एरिक ब्रिट्टन र उनकी पत्नी क्रिस्टिनालाई हेर्नुहोस् जो अहिलेसम्म ब्राजिलमा सेवा गरिरहेका छन्। तिनीहरू ब्राजिलमा सेवा गर्न जाँदा, त्यस देशमा ३,००० भन्दा कम साक्षीहरू थिए। अहिले त्यहाँ ३,००,००० भन्दा बढी छन्! मानिसहरू पक्रन जाल हान्ने काम फलदायक भएको हुनाले, निश्चय नै ब्राजिलमा ‘तुच्छ चाहिं एउटा सामर्थी जाति’ भएको छ।—यशैया ६०:२२.
९ अफ्रिकामा हुने मिशनेरीहरूबारे हामी के भन्न सक्तछौं? धेरैले एउटा बिल्कुलै भिन्न प्रकारको संस्कृतिमा आफूलाई ढालेर अफ्रिकाका मानिसहरूलाई प्रेम गर्न थालेका छन्। यसको एउटा राम्रो उदाहरण, १९४७ मा आठौं क्लासबाट पास गरेका र हाल दक्षिण अफ्रिका मै सेवा गरिरहका भाइहरू जोन र एरिक कुक र तिनीहरूका पत्नीहरू क्याथलिन र मरटल हुन्। तिनीहरूले समय समयमा अङ्गोला, जिम्बाबवे, मोजाम्बिक, र दक्षिण अफ्रिकामा सेवा गरेका छन्। केही मिशनेरीहरू रोगको कारण र केही चाहिं सतावटले गर्दा अफ्रिकामै मरे। उदाहरणका लागि यालन बेटी र आर्थर लोसन लाइबेरियामा हालसालैको गृह-युद्धमा मारिए। तापनि, अफ्रिकाको पानी धेरै नै उत्पादनशील साबित भएको छ। अहिले त्यस विशाल महाद्वीपभरि ४,००,००० भन्दा बढी साक्षीहरू ठाउँ-ठाउँमा फैलिएका छन्।
सबैको एउटा योगदान छ
१०. अग्रगामीहरूले किन र कुन तरिकामा एउटा प्रशंसनीय काम गरिरहेका छन्?
१० तथापि, यो कुरा मान्नु पर्दछ कि विदेशी मिशनेरीहरूको सङ्खया केही हजार हुँदा, स्थानीय प्रकाशकहरू र अग्रगामीहरूको सङ्खया चाहिं लाखौं भएका छन्। यिनीहरूले नै पृथ्वीभरि प्रचारको मुख्य भार उठाइरहेका छन्। १९९१ मा सरदर ५,५०,००० भन्दा बढी अग्रगामीहरूb र परिभ्रमण अध्यक्षहरू थिए। प्रत्येक महिना ६० देखि १४० घण्टा प्रचार कार्यमा बिताउँदै, मानिस पक्रन जाल हान्ने महान काममा विशेष प्रयत्न गर्ने यी विश्वासी साक्षीहरूबारे सोच्ता, तिनीहरूको त्यो संख्या साँच्चै नै प्रभावशाली देखिन्छ। धेरैले ठूलो व्यक्तिगत त्याग र नोक्सानी सहेर पनि यो काम गर्न चाहन्छन्। तर किन? किनभने तिनीहरूले आफ्ना परमेश्वर यहोवालाई आफ्ना सारा हृदय, प्राण, र शक्तिले प्रेम गर्दछन् र आफ्ना छिमेकीहरूलाई आफैलाई जस्तै प्रेम गर्दछन्।—मत्ती २२:३७-३९.
११. यहोवाका जनहरूका बीचमा उहाँको आत्माले काम गरिरहेको छ भनी कुन कुराले निश्चित प्रमाण दिन्छ?
११ साढे तीस लाखभन्दा बढी अरू साक्षीहरूबारे के भन्न सकिन्छ नि, जो पूर्ण समय सेवक नभए तापनि आफ्ना परिस्थितिअनुसार पूरा सेवा गरिरहेका छन्? यिनीहरूमध्ये कोही गृहणीहरू पनि छन् जसले एकातिर आफ्ना साना केटा-केटीहरूको हेर-विचार गर्दै, यो विश्वव्यापी जलारी कामका लागि पनि आफ्नो बहुमूल्य समय लगाउँछन्। धेरै पतिहरू अथवा पिताहरू पनि छन् जसले पूर्ण समय कुनै एउटा सांसारिक जागिरमा बिताउँछन्; तापनि, सप्ताहन्तमा र बेलुकी पख अपरिचित मानिसहरूलाई सच्चाइ सिकाउने गर्छन्। साथसाथै, अविवाहित पुरुष र महिलाहरू र युवा-युवतीहरूको एउटा ठूलो भीड छ जसले प्रचार कार्यमा भाग लिन्छन् र आफ्ना चालचलनद्वारा अरूहरूको सामुन्ने सच्चाइलाई ग्रहणयोग्य तुल्याउँछन्। प्रत्येक महिना परमेश्वरको राज्य शासनको सुसमाचार यस प्रकार प्रचार गर्ने ४० लाखभन्दा बढी अवैतनिक स्वयंसेवकहरू कुन धार्मिक समूहमा छन् र? निश्चय पनि यसबाट प्रमाणित हुँदछ कि यहोवाको आत्मा सक्रिय रूपमा काम गरिरहेको छ!—भजनसंग्रह ६८:११; प्रेरित २:१६-१८; जकरिया ४:६ सङ्ग तुलना गर्नुहोस्।
वृद्धि गराउने कारणहरू
१२. किन र कति जना मानिसहरूले सच्चाइ सुनेर त्यसलाई ग्रहण गरिरहेका छन्?
१२ प्रत्येक वर्ष यस विशाल प्रचार कार्यले अद्भुत फल ल्याइरहेको छ। १९९१ मा ३,००,००० भन्दा बढी नयाँ साक्षीहरूले पानीमा डुबुल्की लगाएर बप्तिस्मा लिएका थिए। यो सङ्खया त सय-सय जना साक्षीहरू भएका ३,००० भन्दा बढी मण्डलीहरूको बराबर हो! यी सबै कसरी सम्पन्न भइरहेछ? येशूले भन्नुभएको कुरालाई हामी याद गरौं: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन . . . ‘अनि ती सबै जना परमेश्वरबाट सिकाइएका हुनेछन्’ भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ। पिताबाट सुन्ने र सिक्ने प्रत्येक मकहाँ आउँछ।” यसकारण, मानवीय प्रयासद्वारा मात्र जालभित्र मानिसहरू पसेका होइनन्। यहोवाले मानिसको हृदय जाँच गर्नुहुन्छ र योग्यहरूलाई आफूतिर तान्नुहुन्छ।—यूहन्ना ६:४४, ४५; मत्ती १०:११-१३; प्रेरित १३:४८.
१३, १४. धेरै साक्षीहरूले कुन प्रकारको असल मनोवृत्ति प्रदर्शित गरेका छन्?
१३ तथापि मानव जलारीहरू चाँहि माध्यम हुन्, जसद्वारा यहोवाले मानिसहरूलाई आफूतिर तान्नु हुन्छ। यसैकारण, ती जलारीहरूले मानिसहरू र आफू काम गर्ने क्षेत्रप्रति कुन प्रकारको मनोवृत्ति राख्तछन्, त्यो महत्त्वपूर्ण हो। अत्यधिक बहुमतले गलातीहरूलाई पावलले भनेका यी शब्दहरूलाई हृदयङ्गम गरेका छन् भनी देख्न पाउँनु कति उत्साहवर्धक कुरा हो: “भलाइ गर्नमा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।”—गलाती ६:९.
१४ संसारका घटनाहरूलाई बडो गहिरिएर ध्यान दिंदै धेरै विश्वासी साक्षीहरूले केही दशकहरू देखिन् प्रचार गर्दै आएका छन्। तिनीहरूले नाजीवाद, फासिस्टवाद, र अन्य सर्वसत्तावादी व्यवस्थाहरूको उत्थान र पतन भएको देखेका छन्। केहीले १९१४ देखिन् भएका अनेक युद्धहरू देखेका छन्। सांसारिक नेताहरूले आफ्नो पूरा भरोसा लीग आफ नेशन्स र संयुक्त राष्ट्र सङ्घहरूमाथि राखेका पनि तिनीहरूले देखेका छन्। धेरै देशहरूमा यहोवाका काममा प्रतिबंध लगाएको र पछि फेरि छुट दिइएको देखेका छन्। यी सबै हुँदा हुँदै पनि, यहोवाका साक्षीहरूले मानिस पक्रन जाल हान्ने तथा अन्य असल काम गर्न छाडेका छैनन्। सम्पूर्ण निष्ठाको एउटा कति महान उदाहरण!—मत्ती २४:१३.
१५. (क) हाम्रा विश्वव्यापी क्षेत्रका आवश्यकताहरूसित मिल्न हामीलाई के ले मद्दत पुर्याउँछ? (ख) तपाईंले पाउनु भएको जिम्मावारी निभाउँदा, प्रकाशनहरूले के मद्दत पुऱ्याएको छ?
१५ यो विश्वव्यापी वृद्धिमा योगदान दिने अझै अरू कारणहरू छन्। एउटा त, आफ्नो क्षेत्रसित मिल्नका लागि जलारीहरूले आफूमा आवश्यक परिवर्तन ल्याउने तत्परता हो। विभिन्न संस्कृति, धर्म, र भाषाहरूका मानिसहरूले बसाइँ सराइ गरेको हुनाले, तिनीहरूका विभिन्न दृष्टिकोणहरूलाई यहोवाका साक्षीहरूले विस्तृत रूपमा बुझ्ने प्रयास गरेका छन्। र विश्वव्यापी मण्डलीले बाइबलहरू र बाइबल सम्बन्धी साहित्यहरू २०० भन्दा बढी भाषाहरूमा तयार पारिदिएर ठूलो मदत पुर्याएका छन्। द न्यु वर्ल्ड ट्रान्सलेशन आफ द होली स्किप्चर्स, सम्पूर्ण अथवा केही भागमा, आज चेक र स्लोवाक भाषाहरू लगायत १३ भाषाहरूमा उपलव्ध छ। पृथ्वीमा सँधै जीवनको आनन्द उठाउनु होस् भन्ने पुस्तिकाको ७ करोड २० लाख प्रति, १९८ भाषाहरूमा छपाइएको छ। आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष भन्ने पुस्तक ६९ भाषाहरूमा उपलव्ध भइ सक्यो। २९ भाषाहरूमा प्रकाशित म्यानकाइड्स सर्च फर गाड [परमेश्वरका लागि मानिवजातिको खाजी, नेपालीमा उपलव्ध छैन] भन्ने पुस्तकले संसारका प्रमुख धर्महरूको उत्पत्ति र विश्वासहरूमाथि परिज्ञान दिनका साथै विश्वव्यापी जाल हान्ने कामलाई एउटा अद्वितीय सहायता दिइरहेको छ।
१६. अन्य देशहरूमा परेका आवश्यवकताहरूबारे सुनेर, कसै कसैले के गरेका छन्?
१६ विश्वव्यापी स्तरमा जाल हान्ने कामलाई अरू कुन कुराले मदत पुर्याइ रहेको छ? हजारौं व्यक्तिहरूले ‘मेसीडोनी गुहार’ सुनी दिइएका छन्। जसरी पावल एसिया माइनरबाट मेसिडोनिया जान तयार थिए, त्यसरी नै यहोवाका धेरै साक्षीहरूले ईश्वरीय आह्वान पाउनसाथै राज्य प्रचारकहरू तथा प्राचीन र सहायक सेवकहरूको बढी आवश्यकता भएका मुलुकहरू र इलाकाहरूमा बसाइँ सरेका छन्। आफ्ना स्थानीय पानीहरूमा अति नै धेरै जलारीहरूले धरै मात्रामा माछा मारी सकेको हुनाकारण, थारै डुङ्गाहरू र धेरै माछाहरू भएका अन्य पानीहरूमा जाने साँच्चैका जलारीहरू जस्तै यी साक्षीहरू पनि छन्।—प्रेरित १६:९-१२; लूका ५:४-१०.
१७. ‘मेसीडोनि गुहार’ सुनेर अघि बढ्नेहरू मध्ये हामी कस-कसको उदाहरण दिन सक्तछौं?
१७ गिल्यद मिशनेरी स्कूलका हालसालका क्लासहरूमा युरोपका विभिन्न देशका विद्यार्थीहरू सम्मिलित थिए, जसले अंग्रेजी सिकेर अन्य देशहरू र वेग्लै संस्कृति भएका ठाउँहरूमा गएर सेवा गर्न आफूलाई अर्पण गरेका छन्। त्यसैगरी, धेरै अविवाहित भाइहरूलाई सेवकाई प्रशिक्षण स्कूल [मिनिस्टेरियल ट्रेनिङ्ग स्कूल] द्वारा दुई महिनासम्म अति नै गहकिलो प्रशिक्षण दिइन्छ र तिनीहरूलाई अरू देशका मण्डलीहरूलाई र सर्किटहरूलाई बल दिन पठाइन्छ। मानिस पक्रन जाल हान्ने अन्य विशिष्ट क्षेत्रहरू पूर्वीय युरोपमा र पहिलेको सोभियत गणतन्त्रमा हाल खुल्दै छन्।—रोमी १५:२०, २१ सङ्ग तुलना गर्नुहोस्.
१८. (क) अग्रगामीहरू किन अक्सर प्रभावकारी सेवकहरू हुन्? (ख) मण्डलीमा तिनीहरूले अरूहरूलाई कसरी मदत दिन सक्तछन्?
१८ विश्वव्यापी जाल हान्ने काममा मद्दत दिने अझ अर्को कुरा हो अग्रगामी सेवा स्कूल (पायनियर सर्विस स्कूल) जसमा नियमित अग्रगामीहरू उपस्थित हुन्छन्। अग्रगामीहरूका लागि नै विशेष रूपले तयार पारिएको संसारमा ज्योतिवाहकहरू झैं चम्कने [Shining as Illuminators in the World, नेपालीमा छैन] भन्ने प्रकाशनलाई दुई हप्तासम्म गहरिएर अध्ययन गर्दा, “प्रेमको बाटो पछ्याउँनु,” “येशूको उदाहरण अनुसरण गर्नु होस्” र “शिक्षा दिने कलाको विकाश गर्नु होस्” जस्ता विषयहरूमाथि छलफल गर्ने गर्छन् र यस प्रकार तिनीहरू आफ्नो सेवकाईमा अझ निपुण हुन्छन्। घर-घर जाने यस प्रकारका योग्य जलारीहरूको टोली आफूसित भएकोमा सबै नै मण्डलीहरू कति कृतज्ञ छन्, किनकि तिनीहरूले यो महान जाल हान्ने काममा अरू धेरैलाई प्रशिक्षण दिन सक्तछन्!—मत्ती ५:१४-१६; फिलिप्पी २:१५; २ तिमोथी २:१, २.
के हामी प्रगति गर्न सक्तछौं?
१९. प्रेरित पावलले जस्तै हामीहरूले पनि आफ्नो सेवकाईमा कसरी उन्नति ल्याउन सक्तछौं?
१९ पावलले जस्तै हामी एउटा निश्चित, सम्मुखवर्ती मनोवृत्ति राख्न चाहन्छौं। (फिलिप्पी ३:१३, १४) तिनी हर प्रकारका मानिसहरू र परिस्थितिहरूको माझमा मिलेर बस्न सक्तथिए। मानिसहरूसित कुरा गर्दा, आपसमा मिल्ने कुरा फेला पार्न र स्थानीय धारणाहरू र संस्कृतिको आधारमा तर्क गर्न तिनलाई थाह थियो। राज्यको समाचारप्रति घरपट्टिले देखाएको प्रतिक्रियालाई विशेष ध्यान दिएर उसैको आवश्यकतासित मिल्ने ढङ्गमा कुरा प्रस्तुत गर्यौं भने, हामीले बाइबल अध्ययनहरू सुरु गर्न सक्ने छौं। बाइबल अध्ययन गर्दा मद्दत दिने यतिका विभिन्न प्रकारका पुस्तकहरू हामीसित भएको हुनाले, ती मध्येबाट घरपट्टीको दृष्टिकोणलाई सुहाउने कुनै एउटा पुस्तक हामी पेस गर्न सक्तछौं। फलदायी जलारी हुनका लागि परिस्थितिसित मिल्न सक्नु र सतर्क हुनु दुवै महत्त्वपूर्ण छन्।—प्रेरित १७:१-४, २२-२८, ३४; १ कोरिन्थी ९:१९-२३.
२०. (क) मानिसहरू पक्रन जाल हान्ने हाम्रो यो काम अहिले यत्तिका महत्त्वपूर्ण किन छ? (ख) अहिले हाम्रो व्यक्तिगत जिम्मावारी के हो?
२० मानिसहरू पक्रन जाल हान्ने यो विश्वव्यापी काम आज यति महत्त्वपूर्ण किन छ? किनभने घटेका र घटी रहेका घटनाहरूद्वारा पूरा भइरहेका बाइबलका अगमवाणीहरूबाट बोध हुँदछ कि शैतानको विश्व-रीतिरिवाज एउटा अनर्थपूर्ण चरमविन्दुतर्फ बढदै छ। अतः हामी यहोवाका साक्षीहरू के गरिरहेको हुनु पर्छ? हाम्रो हिस्सामा पर्ने विश्वव्यापी पानीहरूमा, मानिस पक्रन जाल हान्ने यो काम परिश्रमी र उत्साही भएर गर्ने हाम्रो जिम्मावारीलाई यस पत्रिकामा उल्लेखित तीनवटा लेखहरूले महत्त्व दिएको छ। बाइबलबाट हामीले पक्का आश्वासन पाएका छौं कि यो जाल हान्ने काममा हामीले गरेको मेहनतलाई यहोवाले कहिले बिर्सनु हुनेछैन। पावलले भने: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न। औ तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्ने हामी इच्छा गर्दछौं।”—हिब्रू ६:१०-१२. (w92 6/15)
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी आफ न्यु योर्क, इनकोरपोरेटेड द्वारा प्रकाशित्, रेवेलेशन—इट्स ग्रैण्ड क्लाइम्याक्स एट् ह्याड!, १८५, १८६ पानाहरू पनि हेर्नुहोस्।
b “अग्रगामी प्रचारक . . . यहोवाका साक्षीहरूका पूर्ण समय कार्यकर्त्ता।”—वेब्सटर्स थर्ड न्यु इन्टरन्याशनल डिक्सनरी।
के तपाईं सम्झनुहुन्छ?
◻ यहोवाका साक्षीहरूले सारा संसारलाई नै आफ्नो जाल हान्ने कार्य-क्षेत्र किन सम्झिन्छन्?
◻ मानिसहरू पक्रन जाल हान्ने कामका लागि, गिल्यद मिशनेरी स्कूल आशिषको स्रोत किन भएको छ?
◻ यहोवाका साक्षीहरूको सफलताका केही विशेष कारणहरू के हुन्?
◻ आफ्नो मसीही सेवकाईमा हामीले व्यक्तिगत रूपमा उन्नति कसरी गर्न सक्तछौं?
[पृष्ठ २८-मा भएको चार्ट]
अन्तर्राष्ट्रिय जाल हान्ने कार्यका परिणामहरू
वर्ष देशहरू साक्षीहरू
१९३९ ६१ ७१,५०९
१९४३ ५४ १,२६,३२९
१९५३ १४३ ५,१९,९८२
१९७३ २०८ १७,५८,४२९
१९८३ २०५ २६,५२,३२३
१९९१ २११ ४२,७८,८२०
[पृष्ठ २५-मा भएको चित्र]
गालीलका जलारीहरूलाई साक्षी दिने काम अझै गरिंदैछ