यतिको निराशा किन?
एउटा उच्चतम जीवनका लागि आशा—बल्ल पूरा भयो! नोभेम्बर १९८९ मा बर्लिनको पर्खाल भत्कन्दा, पूर्व जर्मनी कहलाइने इलाकामा बस्ने धेरै मानिसहरूले यही विश्वास गरे। तथापि, वर्ष दिन नबित्दै, “पुँजीवादी प्रजातान्त्रिक संसारको कठोरताको सामना गर्न बर्लिनको पर्खालपछाडि बिताइएको सुरक्षित जीवनशैलीभन्दा धेरै नै गाह्रो रहेछ” भनेर तिनीहरूले सिकायत गर्न थाले। यसको परिणाम? धोका र बढदो निराशा।
पारिवारिक र सामाजिक हिंसाले गर्दा कतिपय मानिसहरू आफ्नो गाउँ-घर छाडेर सुरक्षाको खोजीमा हिंड्न बाध्य हुन्छन्। तर सुरक्षा भने कमैले मात्र पाउँछन्। धेरै जसो त शहरका सडकहरूमा नै रात काट्ने घरविहीन व्यक्तिहरूसित बस्न पुग्छन्। कुनै कुनै देशहरूमा चाहिं यिनीहरू मध्ये धेरै जना लम्बेतान कानुनी उलझनहरूमा फँस्तछन्। उदाहरणका लागि, जागिर नभएको हुनाले घर भाडामा लिन सक्तैनन् तर घर अथवा आफ्नो कुनै ठेगाना नभएको हुनाले जागिर पाउँन सक्तैनन्। सरकारी एजेन्सीहरूले मद्दत दिने कोशिस त गर्दछन् तर फेरि यी समस्याहरू सुल्झ्याउन समय लाग्छ। अतः सुरु हुन्छ हतोत्साह र निराशा।
नैराश्यले गर्दा, कतिपय आइमाईहरू आफूले कहिले गर्नु पर्ला भनी सोच्दै नसोचेका कामहरू गर्न बाध्य हुन्छन्। १९९० को दशकमा आइमाईहरू र अपराध (Women and Crime in the 1990s) भन्ने रिर्पोटमा, कानुन प्राध्यापक, डाक्टर सुसन एड्वड्र्स भन्छिन्: “आर्थिक आवश्यकताले गर्दा नै जवान स्त्रीहरू वेश्यवृत्तिमा लागेका हुन्छन्। यसको कारण आत्मसंयमको अभाव अथवा पारिवारिक पृष्ठभूमि हो भन्नु मिल्दैन।” त्यस्तै गरी, जागिरको खोजीमा घर छाडेका धेरै जवान मानिसहरूले अक्सर जागिर पटक्कै पाउँदैनन्। फलःस्वरूप, निराश भएर कतिले खाने र बस्ने ठाउँ पाएको वापत पुरुषगामीहरूलाई आफ्नो शरीर दान दिन्छन् अथवा घोर अपराधीहरूका गिरोहहरूको कठपुतली हुन पुग्छन्।
कठोर राजनैतिक वास्तविकताहरू, हिंसा, आर्थिक कठिनाइहरू जस्ता कुराहरूले विभिन्न ढङ्गमा नैराश्य उत्पन्न गर्न सक्तछ। बढदो आर्थिक समस्याहरूको सामना गर्दै आफ्नो सम्पन्न जीवन-शैली कायम राख्ने कोशिश गर्ने पेसेवर मानिसहरू पनि नैराश्यबाट उम्कन सकेका छैनन्। यसको परिणाम? प्राचीन समयका पुरातनका राजा सुलेमानले भने झैं: “दबावमा पर्दा बुद्धिमान मानिस पनि मूर्ख जस्तो व्यवहार गर्न सक्तछ!”a (उपदेशक ७:७, न्यु०व०) वास्तवमा, निराशाले धेरै मानिसहरूलाई आत्महत्या जस्तो सबैभन्दा गाह्रो उपाय अपनाउन बाध्य पार्दछ।
सबैभन्दा गाह्रो उपाय
जवान मानिसहरूले गरेका आत्महत्याका धेरै नै घटनाहरूबाट बुझिन्छ कि तिनीहरू पनि निराशाको व्यथाले पीडित छन्। ब्रिटेनकी एउटी स्तम्भ लेखिकाले यो प्रश्न गरिन्: “हाम्रो समयसालमा त्यस्तो कुन कुरा छ जसले किशोर-किशोरीहरूमा यतिको निराशा उत्पन्न गरिरहेछ?” विष खाएर मर्ने प्रयास गरेका ८ देखिन् १६ वर्षका केटा-केटीहरूबारे गरिएको अध्ययनको सिलसिलामा लन्डनको मनोवैज्ञानिक संस्थानका डा० एरिक टेलरले यो रिपोर्ट दिए: “यतिका धेरै केटा-केटीहरू निराश र हताश हुनु नै एउटा छक्क पर्ने कुरा हो।” ब्रिटेनमा प्राप्त रिर्पोटअनुसार प्रत्येक साल मानिसहरू जानाजानी विष खाएर मर्न खोजेका लगभग १,००,००० काण्डहरू हुन्छन्। यी काण्डहरूमा मानिस नमरे तापनि, यो तिनीहरूले आफ्नो निस्सहाय अवस्थाबाट गुहार माँगेको बराबर हो।
ब्रिटेनको एउटा परोपकारी संस्थानले निराश व्यक्तिहरूको कुरा सहानुभूतिपूर्वक सुनी दिने अभियान सुरु गर्यो। यो अभियानद्वारा सल्लाहकारहरूले “मृत्युको सट्टा अन्य वैकल्पिक उपायहरू” प्रस्तुत गर्ने दाबी गरे। तापनि, मानिसहरूलाई निराश पार्ने कारणहरूको समाधान गर्न चाहिं असमर्थ भएको कुरा तिनीहरूले स्वीकार गरेका छन्।
द सन्डे करेस्पन्डेन्ट पत्रिकाको टिप्पणीअनुसार, आत्महत्या दरबाट “समाजमा बिरानापनको मात्रा र मेलमिलापको अभाव” देख्न सकिन्छ। आज आत्महत्या-दरमा यस्तो वृद्धि किन? त्यो पत्रिकाअनुसार, “घरविहीनता, बढी मात्रामा जाँड खाने बानी, एड्स जस्तो रोगको शिकार हुने तथा पागल-खानाहरूमा थुनिने डर” केही यस्ता कारणहरू हुन् जसले मानिसहरूलाई निराशाको गहराइमा चुर्लुम्मै डुबाइ दिएर तिनीहरूका समस्याहरूको एक मात्र उपाय मृत्यु नै हो भनी सोच्न बाध्य पार्दछन्।
निराशालाई हटाउने के कुनै आशा छ र? छ! सुन्नुहोस्, येशूको उत्साहवर्धक आह्वान: “शिर उठाएर माथि हेर।” (लूका २१:२८) उहाँको भनाइको अर्थ के थियो? के आशा छ? (w92 7/1)
[फुटनोट]
a हेरिस, आर्चर र वाल्टकेद्वारा सम्पादित पुरानो नियमका धर्मदर्शन सम्बन्धी शब्दावली (Theological Wordbook of the Old Testament) अनुसार, “दबाव” भनेर अनुवाद गरिएको मूल शब्द “बोझ लादनु, कुल्चीमिल्ची गर्नु र आफूभन्दा तल्लो स्तरका मानिसहरूलाई थिचोमिचो गर्नु” सँग सम्बन्धित छ।