प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ११/१ pp. ४-७
  • जीवनको अनमोल वरदानको मोल गर्नु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको अनमोल वरदानको मोल गर्नु
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवर्तन सम्भव छ
  • परमेश्‍वरले प्रदान गर्नुहुने अनन्त जीवनको भेंट
  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपहारस्वरूप पाएको जीवनको कदर गर्नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवनको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ११/१ pp. ४-७

जीवनको अनमोल वरदानको मोल गर्नु

जीवन—कस्तो अनमोल सम्पत्ति! यसको बिना हामी केही गर्न सक्‍तैनौं। यो एकपल्ट हरायो भने, यसलाई कुनै पनि मानव उपायद्वारा फेरि फर्काउन सकिदैंन। यही जीवन खतरामा पर्दा यसलाई बचाउन हामी हाम्रो समझले भ्याएसम्म सबै गर्छौं। सङ्‌कष्ट परेको बेलामा कसै-कसैले त दैविक शक्‍तिलाई समेत गुहार्ने गर्छन्‌।

यसबाट हामीलाई समुद्री तुफानमा फँसेको एउटा जहाजको बाइबलमा उल्लेखित घटना याद आउँछ। जहाज नष्ट हुनै लागेको बेलामा, “मल्लाहहरूले डराएर आफ्ना आफ्ना देवताहरूको पुकारा गरे।” पछि तिनीहरू सबै मिलेर साँचो परमेश्‍वरलाई यसो भनेर पुकारे: “बिन्ती छ हे परमप्रभु, हामी नष्ट हुनु नपरोस्‌।” बाइबलको त्यो उल्लेख अझ यसो भन्छ: “तिनीहरूले आफ्नो निम्ति जहाज हलुङ्‌गो बनाउनलाई त्यसमा भएका व्यापारका मालहरू समुद्रमा फाल्नलागे।”—योना १:४-६, १४; प्रेरित २७:१८, १९ तुलना गर्नुहोस्‌।

जीवन बचाउन ती मल्लाहहरू आफ्ना प्रिय वस्तुहरू समेत फ्याँक्न तयार थिए। भौतिक सम्पत्तिहरू हामी फेरि पनि प्राप्त गर्नसक्‍तछौं—तर जीवन भने पुनः प्राप्त गर्न सकिन्दैन। हामी स्वभावैले जीवनलाई बहुमूल्य र प्रिय ठान्छौं। त्यसैकारण त हामी खतरा देखि टाढा बस्छौं। हामी आफ्नो शरीरलाई खुवाउँछौं, कपडा पहिराउँछौं र त्यसलाई हृष्ट-पुष्ट राख्छौं। बिरामी परेको बेलामा औषधी उपचार समेत गर्छौं।

तथापि, हामीले यी आत्मरक्षाका स्वभाविक ज्ञानको अनुसरण गरेको मात्र हाम्रा जीवन-दाता चाहनुहुन्‍न। उहाँ यो भन्दा बढी चाहनु हुन्छ। आखिर, ब्रह्‍माण्डको सबैभन्दा महत्त्वपूर्ण व्यक्‍तिबाट आउने यो जीवन एउटा अति नै मूल्यवान्‌ उपहार हो। जीवन-दाता र उहाँले दिनु भएको उपहार, दुवैका लागि हार्दिक मूल्याङ्‌कन प्रकट गर्दै, के हामीले जीवनलाई प्रिय ठान्‍नु पर्दैन र? साथै, अरूहरूको जीवनको पनि के हामीले यसरी नै मोल गर्नु पर्दैन र?

नभन्दै, यहोवा परमेश्‍वरले प्राचीन इस्राएललाई दिनु भएको व्यवस्थामा अरूहरूको जीवन र स्वास्थ्य संरक्षण गर्ने आज्ञाहरू पनि सम्मिलित थिए। (प्रस्थान २१:२९; व्यवस्थाविवरण २२:८) यसैकारण आज मसीहीहरू शारीरिक सुरक्षा बारे सचेत हुनुपर्छ। उदाहरणका लागि, तपाईंको घरमा साना केटाकेटीहरू छन्‌ भने के तपाँई कीलाकाँटी, सेफ्टी पिन, केशमा लाउने पिनहरू र सानुतिनु गेडा-गुडीहरू वा कुनै धारिलो वस्तुहरू लापरवाहीका साथ जताततै छाड्‌नुहुन्छ? यस्ता कुराहरूसँग खेल्दा वा निल्दा, ती बच्चाहरूलाई ठूलो हानि हुन सक्छ। के हानिकारक रासायनिक कुराहरू र औषधीहरू बच्चाहरूले नभेट्‌ने ठाउँमा राख्नु भएको छ? भुँइमा पानी पोखिएको छ भने के तपाईं कोही चिप्लेर नलडोस्‌ भनेर त्यसलाई तुरुन्तै पुछ्‌नुहुन्छ? के तपाईं बिग्रेको उपकरणहरूको तुरुन्त मर्मत गर्नुहन्छ? के तपाईंले नियमित रूपमा आफ्नो गाडीको देखरेख गर्नु हुन्छ? के तपाईं एक जना सावधान सवारी चालक हुनुहुन्छ? तपाईं साँच्चैनै जीवनको मोल गर्नु हुन्छ भने, तपाईंले यी र यस्ता अन्य अरू क्षेत्रहरूमा मनासिब सुरक्षात्मक कदमहरू चाल्नु हुनेछ।

तर दुःखको कुरा आज कुनै कुनै व्यक्‍तिहरूले आफ्नै जीवनको पनि मोल गर्दैनन्‌। उदाहरणका लागि चुरोट पिउनु अस्वस्थकर कुरा हो भनेर आज कसलाई पो थाहा छैन र? तैपनि लाखौं मानिसहरू आज यस लतको कैदमा परेका छन्‌। शरीर भित्र ती विषालु धुँवा निलेर आफ्नो स्वास्थ्यलाई बिगारीरहेका छन्‌। आफ्नै शरीरलाई हानि पुऱ्‍याउने गरी, केही मानिसहरू चाहिं लागुपदार्थको र कोही कोही चाहिं मद्यपानको दुरुपयोग गर्छन्‌। त्यस्तै एड्‌स एउटा अति खतरनाक रोग हो जसको उपचार कसैलाई थाह लागेको छैन। तर लैङ्‌गिक अनैतिकता, कुनै कुनै लागू पदार्थको दुरुपयोग र रक्‍तक्षेपणबाट टाढा बसेका भए धेरै जनालाई यो रोग लाग्ने नै थिएन। जीवन प्रति मूल्याङ्‌कनको कस्तो दुःख लाग्दो अभाव।—रोमी १:२६, २७; २ कोरिन्थी ७:१

परिवर्तन सम्भव छ

तर महान सृष्टिकर्ता यहोवाको मूल्याङ्‌कन गर्नेहरूसँग जीवनलाई मूल्यवान्‌ ठान्‍ने ठोस कारण छ। जीवन उहाँको पवित्र वरदान हो। त्यसकारण जीवनलाई एउटा ईश्‍वरीय वरदानको रूपमा लिनका लागि तिनीहरू हर आवश्‍यक परिवर्तन गर्न इच्छुक हुन्छन्‌। घाना देशका एक जना शिक्षक क्वाकुलाई नै लिनुहोस्‌। उसले जँड्याहा भएर लापरवाहीसाथ आफ्नो जीवन खेर फालिरहेको थियो।

क्वाकु आफ्ना बितेका कुराहरूको यसरी वर्णन गर्छन्‌: “मेरी श्रीमतीलाई म जबरदस्ती मेरो आदर गर्न लगाउने कोशिश गर्थें र यसले गर्दा बरम्बार चर्को भनाभन र झगडा भइरहन्थ्यो। प्रायः नशाले धूत भएको बेला यस्तो हुने गर्थ्यो। र हर बखत रक्सी पिउने बानी लागेको हुनाकारण मसित प्रायः पैसा हुँदै हुँदैन थियो। धेरै पटक म परिवारलाई खर्च समेत दिन असमर्थ हुन्थें। स्वभाविकतः, यसले गर्दा मेरी श्रीमती साह्रै दिक्क मान्थी। जब जब म सँग पैसा हुँदैन थियो (र यस्तो अक्सर भइरहन्थ्यो) तब तब रक्सी पिउनका लागि पैसा निकाल्न म जे गर्न पनि तयार हुन्थें। एक पटक त सार्वजनिक परीक्षाका लागि नाम दर्ता गराइ दिन भनेर मैले विद्यार्थीहरूबाट लिएको पैसा समेत उडाइ दिंए। मज्जाले रक्सी खाने कार्यक्रम बनाएँ र आफ्नो जँड्याह मित्रहरूलाई पनि रक्सी किनेर दिएँ। तर मैले गरेका यी कामहरूको लेखा दिने दिन चाँडै आयो। मेरो प्रधानाध्यापकले समयमै हस्तक्षेप नगर्नु भएको भए, मैले मेरो जागिर समेत गुमाउने थिएँ।

“मेरो हालत अति नै खराब थियो। म आफूसित लज्जित थिएँ। तर चाँडै मलाई लाज लाग्न पनि छोड्यो। त्यसपछि आफू जीवनमा असफल भएको हुनाकारण, ममा आत्महत्या गर्ने विचार खेल्न थाल्यो। तरै पनि रक्सी खाने बानी चाहिं मैले छाड्‌न सकिन। एक दिन भट्टीमा म जँड्याहहरूको झगडामा ग्रस्त भएँ र मलाई एक जनाले छुरी समेत हान्यो। अब रक्सीको लागि मेरो प्रेमले गर्दा कुनै दिन मेरो ज्यान समेत गुमाउनु पर्ला भन्‍ने नमीठो वास्तविकता मैले महसुस गरें।

“त्यति खेर बाइबलमा हाम्रो चासो जगाउन यहोवाका साक्षीहरू बेला बेला हाम्रो घरमा आउने गरिरहेका थिए। तर तिनीहरूलाई नचाहिंदो झन्झट ठानेर म र मेरी श्रीमती सधैं तिनीहरू बाट भागी-भागी हिंड्‌ने गर्थ्यौं। तर एकपल्ट चाहिं तिनीहरूका लागि दया लागेर मैले तिनीहरूको कुरा सुनिदिने निर्णय गरें। केही समय बाइबल अध्ययन गरे पछि, चाँडै आउने परमेश्‍वरको राज्यमा सधैंभरि बाँच्न पाउने आशा बारे मैले जानकारी पाएँ। जति जति मैले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्दै गएँ, त्यति त्यति नै यहोवा परमेश्‍वर, हाम्रो जीवनदाता र उहाँले दिनु भएको जीवनको उपहारका लागि मेरो मूल्याङ्‌कन बढ्‌दै गयो। साथै बाइबलको सल्लाहको व्यावहारिकता देखेर म ज्यादै प्रभावित भएँ। यसबाट मैले आफ्नो जीवनलाई स्वच्छ पार्ने प्रोत्साहन पाएँ। तर मेरो लागि यो कुनै सजिलो काम थिएन, किनभने रक्सी र मेरा ती पुराना मित्रहरू देखि आफूलाई अलग्ग राख्ने प्रयास मैले निरन्तर गरिनै रहनु पर्दथियो। तर समयमा, प्रार्थना सुन्‍नुहुने यहोवाले मेरो हृदयको दृढ संकल्प देख्नु भयो र मेरो प्रार्थना सुनिदिनुभयो।a

“मेरी श्रीमती यहोवाको एउटा साक्षी नभए तापनि, हाम्रो वैवाहिक सम्बन्धमा भएको उन्‍नति र ममा भएको ठूलो परिवर्तन देखेर, मलाई र मेरो धर्मलाई ठूलो आदर गर्छिन्‌। अब हाम्रा छिमेकीहरूलाई म र मेरी श्रीमती बीचको झगडा शान्त गराउन हस्तक्षेप गर्न आउनु पर्दैन। अहिले मैले अनुभव गरेको मनको शान्तिको म ज्यादै कदर गर्छु र प्रिय ठान्छु। वास्तवमा यहोवालाई जीवन-दाता मान्दै उहाँको मूल्याङ्‌कन गर्नु, जीवनलाई उहाँले झैं मूल्यवान्‌ ठान्‍नु र उहाँले दिनु भएका निर्देशनहरू अनुसार जीवन बिताउनु नै जीवन बिताउने एक मात्र उत्तम तरिका हो।”

परमेश्‍वरले प्रदान गर्नुहुने अनन्त जीवनको भेंट

क्वाकु जस्ता हजारौंले यहोवाका साक्षीहरूद्वारा “परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको” “नयाँ मानिसलाई धारण गर्न” सहायता पाएका छन्‌। (एफिसी ४:२४) तिनीहरूले आफ्नो वर्तमान जीवनको मात्र होइन तर पार्थिव प्रमोदवनमा सधैंभरि जीवित रहने आशाको समेत मूल्याङ्‌कन गर्न सिकेका छन्‌। बाइबलले आश्‍वासन दिंदछ कि परमेश्‍वरले स्थापित गर्नु हुने त्यो प्रमोदवनमा पृथ्वीको कुनै पनि मानिसले फेरि भोकको पीडा खप्नुपर्ने छैन; किनभने “सेनाहरूको परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति असल, असल स्वदिष्ट थोकहरू [को] भोज लाउनुहुनेछ।”—यशैया २५:६

हुन तः, अहिले पनि जीवन एउटा अद्‌भुत वरदान हो। तर यो क्षणिक मात्र छ। हामी सबै जना एक न एकदिन मर्नु पर्छ र मृत्यु कस्तो गहिरो आघात पुऱ्‍याउने कुरा हो! तपाईंले माया गर्नु भएको जनलाई एकदिन चिहानमा निर्जीव र अचल रूपमा पुगेको देख्नु साह्रै नै चित्त दुख्ने कुरा हो, जसको बयान गरेर साध्ये छैन। तर ख्रीष्टद्वारा शासित परमेश्‍वरको राज्य अन्तर्गत यहोवाको यो प्रतिज्ञा पूरा हुनेछ: “फेरि मृत्यु हुनेछैन। औ शोक, रूवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाशितवाक्य २१:४

त्यस समयमा जीवनको वरदानले एउटा अचम्मलाग्दो रूप धारण गर्नेछ। यस पृथ्वीको अन्तिम सङ्‌कष्ट पार गर्नेहरूले जीवनको पूर्णतामा प्रवेश गर्ने मौका पाउने छन्‌। त्यसपछि, चिहानमा निर्जीव पडी रहेका व्यक्‍तिहरूलाई यहोवाले पुनरुत्थानद्वारा, पुनः जीवित पारेर फेरि एकपल्ट त्यो बहुमूल्य वरदानको उपभोग गर्ने मौका प्रदान गर्नुहुनेछ। (यूहन्‍ना ५:२४, २८, २९) यसको अर्थ मरिसकेका प्रिय जनहरू र यहोवाको डर मान्‍ने ती सबै प्राचीन सेवकहरू फेरि जीवित फर्कि आउनु हो।

के यी सबै पूरा हुनेछ भनेर विश्‍वास गर्नु अति गाह्रो छ? छैन, “किनकि परमेश्‍वरतर्फबाट हुने कोही कुरो असम्भव हुँदैन।”—लूका १:३७; अय्यूब ४२:२ सँग तुलना गर्नुहोस्‌।

यसबाहेक, स्वंय यहोवा परमेश्‍वरले मानवजातिलाई यो कुरा पूरा हुनेछ भनेर पक्का आश्‍वासन दिनुभएको छ। कसरी? हामीलाई पाप र मृत्युबाट छुटकारा दिनका लागि, आफ्नो सबैभन्दा प्यारो एकमात्र पुत्र, येशू ख्रीष्टलाई बलिदान दिनु भएर। यसै कुरालाई लिएर रोमी ८:३२ ले हामीलाई यसरी विश्‍वस्त पार्दछ: “जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबका निम्ति उहाँलाई सुम्पिदिनुभयो। उहाँले हामीलाई सबै थोक पनि उहाँको साथमा सित्तैंमा कसरी दिनुहुनछैन र?” बाइबलले हामीलाई बताउँछ कि मानवजातिलाई नैतिक भ्रष्टताबाट सफा पार्नु र सबै प्रकारको अन्याय, अपराध र हिंसा निर्मूल पार्ने कुराहरू यसमा समावेश हुनेछ। (यशैया ११:९) तत्पश्‍चात्‌ फेरि कहिल्यै जीवनलाई सस्तो ठानिने छैन।

अहिले यस्तो असिद्ध अवस्थामा पनि जीवन अति नै आनन्दायक हुन सक्छ। मुखै रसाउने मिठो खानाको बासना, गरम दिनमा मधुर हावाको आभास, सुन्दर एवं विशाल हिमालको दृश्‍य, वैभवशाली सुर्यास्तको लाली, शान्तसँग बग्ने खोलाहरू, मनै हर्ने ती फुलहरू, सङ्‌गीतको मिठो धुन, अथवा चराहरूको त्यो मिठो चिरबिर मन नपराउने को होला र? एकछिन थामिनुहोस्‌ र यसो सोच्नुहोस्‌, यी सबै कुराहरूको सधैंभरि आनन्द उठाउन पाए झन कस्तो हुन्थ्यो होला?

त्यसकारण, अविवेकी र अनियन्त्रित विलासी जीवन शैलीबाट पाइने क्षणिक आनन्दका लागि सधैंभरि बाँच्न पाइने मौकालाई पन्छ्याउनु, के मूर्खता होइन र? (तुलना गर्नुहोस, हिब्रू ११:२५) ‘शरीरको बाँकी समय फेरि मानिसको अभिलाषामा होइन, तर परमेश्‍वरको इच्छामा बिताओ’ भनेर बाइबलले हामीलाई बुद्धिमानीपूर्वक सल्लाह दिन्छ। (१ पत्रुस ४:२) यसो गर्न हामी तपाईंलाई हार्दिक प्रोत्साहन दिन्छौं; हो आग्रह गर्छौं। यो काम तपाईंले परमेश्‍वरको वचन, बाइबलको अध्ययन गरेर र सिकेका कुराहरूलाई प्रयोगमा ल्याएर गर्न सक्नुहुन्छ। (यूहन्‍ना १३:१७) यसो गर्नुभयो भने दया र भलाइले भरिपूर्ण हुनु भएको परमेश्‍वर यहोवासँग तपाईंको सम्बन्ध अझ राम्रो हुनेछ। उहाँले नै तपाईंलाई अनन्त जीवनको इनाम दिन सक्नुहुनेछ। (w92 8/1)

[फुटनोट]

a मद्यपानको लतबाट मुक्‍त हुनु एउटा विकट काम हो र प्राय पेसेवर मदतको आवश्‍यकता पर्दछ। यस विषयमा थप मदतकारी जानकारीका लागि हाम्रो सहायक पत्रिका अवेक!-को मई २२ १९९२ अङ्‌क (अंग्रेजी) हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

के तपाईंले आफ्नो जीवन-शैलीद्वारा जीवन प्रति मूल्याङ्‌कन्‌ व्यक्‍त गर्नु हुन्छ?

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारले हामीलाई अनन्त कालसम्म जीवनको आनन्द उठाउन दिनेछ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने