के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्छ?
जापानकी एउटी वृद्ध महिलाले यसो भनिन्: “म मर्नदेखि डराउँदिनँ। तर यी फूलहरूसित बिछोडिनुपर्ने कुराले मलाई पिरोल्छ।” ती महिलाले त्यसो भन्नुको कारण तिनको घरमा जाने मसीही सेवकले बुझ्न सके किनकि तिनको एउटा सुन्दर बगैंचा थियो। मर्न डराउँदिनँ भन्ने धेरै व्यक्तिहरू सृष्टिको चमत्कार देखेर मन्त्रमुग्ध हुन्छन् अनि तिनीहरूमा पनि सधैंभरि बाँच्ने चाहना उत्पन्न हुन सक्छ।
सधैंभरि बाँच्ने? धेरैले यो विचारलाई एकातिर पन्छाउलान्। कसै-कसैले त आफूलाई सधैंभरि बाँच्ने चाहनै छैन समेत भन्न सक्छन्। तिनीहरूलाई यस्तो लाग्नुको कारण के हो?
अनन्त जीवन—के पट्यारलाग्दो हुन्छ?
कसै-कसैलाई लाग्छ, सधैंभरि बाँच्नु पट्यारलाग्दो हुन्छ। तिनीहरूले अवकाशप्राप्त धेरै मानिसहरूको एकोहोरो जीवनलाई औंल्याउन सक्छन्—बसेर टेलिभिजनमा आँखा तन्काउनुबाहेक तिनीहरूको अरू कुनै कामै हुँदैन। यदि तपाईंलाई पनि यस्तै लाग्छ भने खगोलविद् रबोर्ट ज्यास्ट्रोलाई अनन्त जीवन वरदान हो या श्राप भन्ने प्रश्न सोध्दा उनले कस्तो जवाफ दिए, ध्यान दिनुहोस्। ज्यास्ट्रोले यस्तो जवाफ दिए: “कौतूहल मन अनि सिक्ने असीम चाहना हुनेहरूका लागि अनन्त जीवन एउटा वरदान हुनेछ। सधैंभरि ज्ञान हासिल गरिरहने सोचाइ तिनीहरूको लागि धेरै रोमाञ्चक हुन्छ। तर जति सिक्नु थियो, सिकिहालियो भन्नेहरू अनि जसको मन बन्द छ, तिनीहरूको लागि अनन्त जीवन एउटा डरलाग्दो श्राप हुनेछ। समय बिताउने तिनीहरूसित अरू कुनै उपाय हुनेछैन।”
तपाईंलाई अनन्त जीवन पट्यारलाग्दो लाग्ने या नलाग्ने कुरा धेरै हदसम्म तपाईंको मनोवृत्तिमा भर पर्छ। तपाईंको मन कौतूहलता अनि सिक्ने असीम चाहनाले भरिएको छ’ भने सोच्नुहोस् त, तपाईंले कला, सङ्गीत, वास्तुकला, बगैंचाको काम अथवा कुनैपनि अर्थपूर्ण रुचिमा कत्ति धेरै सफलता हात पार्न सक्नुहुनेछ। पृथ्वीमा अनन्त जीवनले विविध क्षेत्रहरूमा तपाईंका अन्तर्निहित क्षमताहरूलाई तिर्खाने अद्भुत सम्भाव्यताहरू दिनेछ।
सदाको लागि प्रेम प्रकट गर्ने अनि महसुस गर्ने क्षमताले अनन्त जीवनलाई वास्तवमा धेरै सन्तोषजनक बनाउनेछ। हामीलाई प्रेम देखाउने क्षमतासहित सृष्टि गरिएको थियो अनि प्रेम पाएको महसुस हुँदा हामी फल्छौं-फुल्छौं। अरूलाई साँचो प्रेम गर्दा हामीलाई गहिरो सन्तुष्टिको अनुभूति हुन्छ जुन सन्तुष्टि समय बित्दै जाँदा सेलाएर जाँदैन। सधैंभरि बाँच्दा आफ्ना सँगी मानवहरूको लागि मात्र नभई विशेष गरेर परमेश्वरको लागि प्रेम खेती गर्ने अनन्त अवसर पाउनेछौं। प्रेरित पावलले यसो भने, “तर कसैले परमेश्वरलाई प्रेम गर्दछ भने त्यो उहाँबाट चिनिएको हुन्छ।” (१ कोरिन्थी ८:३) ब्रह्माण्डको सार्वभौमलाई चिन्नु अनि उहाँद्वारा चिनिन पाउनु कस्तो अद्भुत प्रत्याशा! साथै, हाम्रो मायालु सृष्टिकर्ताबारे सिक्ने कुराको कुनै अन्त्य छैन। त्यसोभए अनन्त जीवन कसरी पट्यारलाग्दो र बेकार हुन सक्छ र?
जीवन—क्षणिक अनि बहुमूल्य
कसै-कसैलाई लाग्छ, जीवन छोटो भएकोले गर्दा नै यो यत्तिको बहुमूल्य भएको हो। तिनीहरूले जीवनलाई सीमित मात्रामा भएको सुनसित तुलना गर्न सक्छन्। तिनीहरू तर्क गर्छन्, यदि सुन छ्यासछ्यासती पाउन सकियो भने यसको महत्त्व घट्छ। तर यसो हुँदैमा सुनको सुन्दरतामा कमी आउँदैन। जीवनको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ।
हामी अनन्त जीवनको आनन्दलाई प्रचुर मात्रामा पाइने हावासित तुलना गर्न सक्छौं। कल्पना गर्नुहोस्, एक जना मानिसले समुद्रमा डुबुल्की लगायो र ऊ डुब्यो अनि माथि उत्रनै सकेन भने के अब उसको लागि हावाले विशेष महत्त्व राख्दैन र? तर के तपाईंलाई यस्तो लाग्छ, आफ्नो उद्धार भएपछि प्रचुर मात्रामा हावा पाएकोमा अकृतज्ञ हुँदै उसले गुनासो गर्छ? पक्कै गर्दैन!
समुद्रमा डुबेको मानिसको उद्धार गर्न सम्भव भए जस्तै त्योभन्दा त कता हो कता उत्कृष्ट अनन्त जीवनको प्रत्याशासहित हाम्रो उद्धार गरिने कुरा सम्भव छ। प्रेरित पावलले यस्तो लेखे, “किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) येशू ख्रीष्टको छुडौतीको बलिदानमार्फत परमेश्वरले मानव असिद्धता र मृत्युलाई हटाउनुहुनेछ र आज्ञाकारी मानिसजातिलाई अनन्त जीवनको उपहार दिनुहुनेछ। यस्तो मायालु प्रबन्धको लागि हामी कत्ति धेरै कृतज्ञ हुनुपर्छ!
तपाईंका प्रियजनहरू नि?
कसै-कसैको सोचाइ होला: मेरा प्रियजनहरू नि? तिनीहरू भएनन् भने पृथ्वीमा बिताउने अनन्त जीवनले मेरो लागि खासै कुनै अर्थ राख्ने छैन।’ सम्भवतः तपाईंले बाइबलको ज्ञान हासिल गर्नुभएको अनि पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउने प्रत्याशाबारे सिक्नुभएको छ। (लूका २३:४३; यूहन्ना ३:१६; १७:३) आफ्नो परिवार, अन्य प्रियजन अनि हितैषी मित्र पनि त्यहाँ होउन् अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको धार्मिकताको नयाँ संसारमा आफूले आशा राखेको त्यो आनन्द तिनीहरूले पनि पाउन् भन्ने चाहना हुनु त स्वाभाविक नै हो।—२ पत्रुस ३:१३.
तर तपाईंको साथी अनि प्रियजनहरूले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने कुनै चासो नै देखाउँदैनन् भने नि? निरुत्साहित नहुनुहोस्। निरन्तर धर्मशास्त्रको सही ज्ञान लिइरहनुहोस् अनि त्यसै अनुरूप गरिरहनुहोस्। प्रेरित पावलले यस्तो लेखे: “तिमीले तिम्रो पतिलाई कतिसम्म बचाउने हो, ए स्त्री, तिमी यो कसरी जान्दछौ? अथवा तिमीले तिम्रो पत्नीलाई कतिसम्म बचाउने हो, ए पुरुष, तिमी यो कसरी जान्दछौ?” (१ कोरिन्थी ७:१६) मानिस परिवर्तन हुन सक्छ। उदाहरणको लागि मसीहीधर्मको विरोध गर्ने एक जना मानिस परिवर्तन भएर पछि मसीही मण्डलीका एक जना प्राचीन बने। उनी यसो भन्छन्: “मेरा सबै विरोधहरूको बावजुद मेरो प्रिय परिवार वफादारीपूर्वक आफ्नो बाइबल सिद्धान्तमा अडिग रहेकोमा म तिनीहरूप्रति असाध्यै कृतज्ञ छु।”
तपाईं अनि तपाईंका प्रियजनहरूको जीवनमा परमेश्वर धेरै चासो लिनुहुन्छ। वास्तवमा, “प्रभु [“यहोवा,” NW] . . . कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९) यहोवा परमेश्वर तपाईं अनि तपाईंको परिवार सधैंभरि बाँचेको चाहनुहुन्छ। असिद्ध मानवहरूको तुलनामा उहाँको प्रेम धेरै महान् छ। (यशैया ४९:१५) त्यसोभए पहिले आफैले परमेश्वरसित असल सम्बन्ध विकास गरे कसो होला? त्यसपछि तपाईंले आफ्ना प्रियजनहरूलाई पनि यसो गर्न मदत दिन सक्नुहुन्छ। तिनीहरूसित अहिले सधैंभरि बाँच्ने आशा नभए तापनि तपाईं बाइबलको सही ज्ञानअनुसार चलेको देख्दा तिनीहरूको मनोवृत्ति परिवर्तन हुन सक्छ।
तपाईंले मृत्युमा गुमाउनुभएका ती प्रियजनहरू नि? मरेका करोडौं व्यक्तिहरूलाई बाइबलले पुनरुत्थान अर्थात् मृत्युबाट बिउँतने अनि पार्थिव प्रमोदवनमा बस्ने अद्भुत आशा दिन्छ। येशू ख्रीष्टले यस्तो प्रतिज्ञा गर्नुभयो: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबै . . . निस्किआउनेछन्।” (यूहन्ना ५:२८, २९) परमेश्वरबारे थाह नपाएर मर्नेहरू समेतलाई जीवन दिइनेछ किनकि बाइबल यसो भन्छ: “धर्मी र अधर्मीहरूसमेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) त्यस्ता व्यक्तिहरूलाई स्वागत गर्न पाउँदा कस्तो आनन्द हुनेछ!
अनन्त जीवन—एउटा आनन्दमय प्रत्याशा
अहिलेको यो संसारका अनेकन् समस्याहरूको बावजुद त तपाईंले आनन्द र सन्तुष्टि पाउन सक्नुहुन्छ भने पार्थिव प्रमोदवनमा त झन् तपाईंले अनन्त जीवनको कति धेरै आनन्द उठाउन सक्नुहुन्छ होला। यद्यपि, एक जना यहोवाको साक्षीले एउटी स्त्रीलाई अनन्त जीवनले ल्याउने आशिष्बारे बताउँदा तिनले यसो भनिन्: “म सधैंभरि बाँच्न चाहन्नँ। मलाई अहिलेको ७० वा ८० वर्षको जीवन भए पुग्छ।” त्यसबेला त्यहाँ एक जना मसीही प्राचीन पनि थिए र उनले तिनलाई यस्तो प्रश्न गरे: “तपाईं मर्नुभयो भने तपाईंका बच्चाहरूको हालत के होला, के तपाईंले कहिल्यै सोच्नुभएको छ?” आमा गुमाउनुपर्दा आफ्ना बच्चाहरूले भोग्ने दुःखलाई सम्झेर तिनले आँसु थाम्न सकिनन्। तिनले यसो भनिन्, “साँच्चै म कत्ति स्वार्थी रहेछु, अनन्त जीवन केवल एउटा स्वार्थी आशा नभएर अरूको लागि बाँच्नु पनि रहेछ भनेर मैले यसअघि सोचेकै थिइनँ।”
कसै-कसैलाई लाग्ला, कोही मरोस् या बाँचोस्, यहाँ कसलाई मतलब छ र! तर हाम्रो जीवनदातालाई मतलब छ, जो यसो भन्नुहुन्छ: “म जीवित छु, . . . दुष्टहरूको मृत्युमा म खुशी हुन्नँ, तर तिनीहरूले आफ्नो चाल त्यागेर बाँचून् भनी म चाहन्छु।’ (इजकिएल ३३:११, NRV) परमेश्वर दुष्टको जीवनप्रति त त्यत्तिको चिन्तित हुनुहुन्छ भने उहाँलाई प्रेम गर्नेहरूको उहाँले पक्कै पनि चासो लिनुहुन्छ।
यहोवाको मायालु हेरचाहमा पुरातन इस्राएलका राजा दाऊद विश्वस्त थिए। दाऊदले एक पटक यसो भने: “किनकि मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।” (भजन २७:१०) दाऊदले पक्कै पनि आमाबाबुको प्रेम महसुस गरेका थिए। तर आफ्नो सबैभन्दा नजिकको नाता आमाबाबुले नै छाडेता पनि परमेश्वरले तिनलाई त्याग्नुहुने छैन भनेर दाऊदलाई थाह थियो। प्रेम अनि चासोले गर्दा यहोवाले हामीलाई अनन्त जीवन अनि कहिल्यै नटुट्ने उहाँसितको मित्रता दिनुहुन्छ। (याकूब २:२३) के हामीले यी अद्भुत उपहारहरूलाई कृतज्ञ भई स्वीकार्नु पर्दैन र?
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वर र छिमेकीप्रतिको प्रेमले सधैंभरि बाँच्नुलाई अर्थपूर्ण बनाउनेछ