यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्याउँदछ
“तपाईंको आत्मा भला छ, मलाई सोझो बाटोमा डोऱ्याउनुहोस्।”—भजनसंग्रह १४३:१०.
१, २. यहोवाका वफादार सेवकहरूका निम्ति कुन कुन कुराहरू कष्टदायक हुन सक्छ?
‘म यति साह्रो निराश छु! अलिकती भए पनि सान्त्वना कहाँ पाइन्छ होला? परमेश्वरले मलाई त्याग्नु भएको हो कि?’ के तपाईंलाई कहिले काहीं यस्तो लाग्छ? लाग्छ भने, तपाईं एकलो हुनुहुन्न। हो, यहोवाका वफादार सेवकहरू लहलहाउँदो आत्मिक प्रमोदवनमा बसोबास गर्दछन्। तर कहिले काहीं, तिनीहरूले पनि सबै मानिसहरूलाई साधारणतया आइपर्ने कष्टदायक समस्याहरू, कठिनाइहरू र परीक्षाहरूको सामना गर्दछन्।—१ कोरिन्थी १०:१३.
२ सायद तपाईं पनि धेरै समयदेखि चलिरहेको कुनै कठिनाइ अथवा ठूलो चिन्ताको कारणवश हैरान हुनुहुन्छ। सम्भवतः तपाईं कुनै प्रिय जनको मृत्युले गर्दा शोकाकुल हुनुहोला। तपाईं आफूलाई अति नै एकलो महसुस गरिरहनु भएको होला। अथवा तपाईंको कुनै प्रिय मित्र बिरामी परेको हुनाकारण तपाईंको हृदय विचलित भएको होला। यस प्रकारका परिस्थितिहरूको कारण, तपाईंले आफ्नो आनन्द र शान्ति गुमाउनु भएको हुन सक्छ। तपाईंको विश्वास समेत खतरामा परेको हुन सक्छ। यसो हो भने, तपाईंले के गर्नु पर्छ?
परमेश्वरसँग उहाँको आत्मा माग्नु होस्
३. कुनै कारणवश, तपाईंले आफ्नो शान्ति र आनन्द जस्ता गुणहरू गुमाउनु हुँदैछ भने, के गर्नु बुद्धिमानीको कुरा हुनेछ?
३ कुनै कारणवश तपाईंले आफ्नो शान्ति, आनन्द अथवा अन्य ईश्वरीय गुण गुमाउनु हुँदैछ भने, परमेश्वरको पवित्र आत्मा अथवा सक्रिय शक्ति माग्नु बुद्धिमानीको कुरा हुनेछ। किन? किनभने यहोवाको आत्माले असल फल फलाउन सक्छ र यसबाट एक जना मसीहीले समस्याहरू, कठिनाइहरू र परीक्षाहरूको सामना गर्ने मद्दत पाउन सक्छ। “शरीरका कामहरू” बारे चेताउनी दिएपछि, प्रेरित पावलले यस प्रकार लेखे: “तर आत्माको फल चाहिं—प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्, यस्ताका विरुद्धमा कुनै व्यवस्था छैन।”—गलाती ५:१९-२३.
४. कुनै कठिनाइ अथवा परीक्षाको सामना गर्नु पर्दा, निश्चित कुराका लागि प्रार्थना गर्नु किन उचित हुन सक्छ?
४ जुन प्रकारको समस्या तपाईंले सामना गरिरहनु भएको छ, त्यसले गर्दा सायद तपाईंलाई आफ्नो धीरज अथवा क्रोधलाई वशमा राख्ने क्षमता गुमाउने डर होला। यस्तो हो भने, आत्माको फल धीरज नै पाउँ भनेर यहोवा परमेश्वरसित किटेर माग गर्नुहोस्। कुनै परीक्षाको सामना गर्नु हुँदैछ भने चाहिं, तपाईंलाई संयमको विशेष खाँचो हुन्छ। साथै, सफलतापूर्वक परीक्षाको सामना गर्न र शैतानबाट छुटकारा पाउनका लागि ईश्वरीय मद्दत माग्नु पनि उचित हुनेछ। यस बाहेक, त्यो कठिनाइको सामने धैर्य धारण गर्न आवश्यक बुद्धिका लागि पनि प्रार्थना गर्नु उपयुक्त हुनेछ।—मत्ती ६:१३; याकूब १:५, ६.
५. परिस्थितिहरू अति नै सङ्कष्टमय भएको हुनाकारण, आत्माको कुन चाहिं फलका लागि प्रार्थना गर्नु पर्ने हो, सो तपाईंलाई थाह छैन भने, के गर्न सकिन्छ?
५ तर कुनै कुनै बेला परिस्थिति यति साह्रो कष्टदायक अथवा अलमलाउने हुन सक्छ, कि आत्माको कुन चाहिं फलको आफूलाई खाँचो छ, त्यो तपाईंलाई नै थाह नहोला। भनौं भने, आनन्द, शान्ति, धीरज र अरू सबै ईश्वरीय गुणहरू गुमाउने खतरामा हुनुहोला। यस्तो बेलामा के गर्ने? परमेश्वरसित पवित्र आत्मा नै माग्नु भएर त्यसलाई तपाईंमा खाँचो परेका गुणहरूको विकास गर्न दिनु भए, कसो होला? खाँचो परेका ती गुणहरू सायद प्रेम अथवा आनन्द अथवा शान्ति होला। होइन भने तपाईंलाई आत्माका एक भन्दा बढी फलहरूको नै खाँचो परेको हुन सक्छ। यसका साथसाथै, उहाँका आत्माको निर्देशनअनुसार हिंड्ने मद्दतका लागि पनि परमेश्वरसित प्रार्थना गर्नुहोस् किनकि उहाँले आफ्ना मानिसहरूलाई डोऱ्याउँदा त्यही आत्माको प्रयोग गर्नुहुन्छ।
यहोवा मद्दत दिनका लागि तयार हुनु हुन्छ
६. निरन्तर प्रार्थना गरिरहने आवश्यकतालाई येशूले आफ्ना चेलाहरूको सामने कसरी जोर दिनु भयो?
६ येशू ख्रीष्टका चेलाहरूले प्रार्थनाबारे शिक्षा माग्दा, परमेश्वरको आत्माका लागि प्रार्थना गर्नु भनी उहाँले तिनीहरूसित आग्रह गर्नु भयो। तिनीहरूलाई निरन्तर प्रार्थना गर्न प्रेरित गराउनका लागि येशूले प्रथमतः एउटा उदाहरणको प्रयोग गर्नु भयो। उहाँले यसो भन्नुभयो: “तिमीहरूमध्ये कसको एउटा मित्र होला, जसकहाँ उनी आधा रातमा गएर भन्ला, ‘ए मित्र, मलाई तीनवटा रोटी पैंचो दिनुहोस्, किनकि मेरा एक जना मित्र सफरबाट मकहाँ आएका छन् र तिनलाई टक्राउनलाई मसँग केही छैन।’ औ तिनले भित्रबाट जवाफ दिएर भन्ला, ‘मलाई तक्लीफ नदिनुहोस्। ढोका बन्द भइसकेको छ, औ मेरा केटा-केटीहरू मैसित ओछ्यानमा छन्। म उठेर तपाईंलाई दिनसक्तिनँ।’ म तिमीहरूलाई भन्दछु, उनी तिनका मित्र हुनाले तिनलाई नदिए तापनि तिनी खुरन्धार लागेकाले उठेर तिनलाई दरकार परे जति दिनेछन्।”—लूका ११:५-८.
७. लूका ११:११-१३-मा उल्लिखित येशूका शब्दहरूको निचोड के हो र परमेश्वर र उहाँको आत्माबारे त्यसले हामीलाई के विश्वास दिलाउँछ?
७ यहोवा आफ्ना प्रत्येक विश्वासी र समर्पित सेवकहरूलाई मद्दत दिन इच्छुक हुनुहुन्छ। तिनीहरूले गरेका बिन्ती पनि उहाँ सुन्नुहुन्छ। तर यस प्रकारको व्यक्तिले येशूले आग्रह गर्नु भए झैं ‘मागी रहँदा’ उसले आफ्नो हृदयको साँचो इच्छा व्यक्त गर्छ र यो विश्वासको एउटा प्रदर्शन पनि हो। (लूका ११:९, १०) ख्रीष्टले अझ यो कुरा पनि थप्नु भयो: “तिमीहरू मध्ये कुनचाहिं बाबु होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुङ्गा देला कि माछा मागेमा माछाको सट्टा साँप देला? अथवा अण्डा मागेमा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भइकन आफ्ना छोरा-छोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढता गरेर पवित्र आत्मा दिनु हुनेछ।” (लूका ११:११-१३) वंशानुगत प्राप्त पापको कारण, एक जना पार्थिव आमा वा बाबु धेरथोर दुष्ट हुन सक्छन्। तापनि तिनले आफ्ना बच्चालाई असल थोकहरू नै दिने गर्छन्। यसकारण, निश्चय नै स्वर्गमा हुनुहुने हाम्रा पिताले उहाँका पवित्र आत्मा नम्रतापूर्वक माग्ने उहाँका कुनै पनि वफादार सेवकलाई त्यो दिइ नै रहनु हुनेछ।
८. भजनसंग्रह १४३:१०-का शब्दहरू दाऊद, येशू र परमेश्वरका आधुनिक सेवकहरूमा कसरी लागू हुन्छन्?
८ परमेश्वरको आत्माबाट लाभ उठाउनका लागि, हामी त्यसको निर्देश अनुसार हिंड्न, दाऊद झैं तत्पर हुनु पर्दछ। तिनले यस प्रकार प्रार्थना गरे: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनु होस्, किनकि तपाईं मेरा परमेश्वर हुनुहुन्छ।” (भजनसंग्रह १४३:१०) दाऊदलाई इस्राएली राजा शाऊलले देशनिकालावास गरिदिएका थिए। यस्तो बेलामा तिनी परमेश्वरको आत्माको डोऱ्याइअनुसार हिंड्न चाहन्थे। किनभने यसरी नै तिनी धार्मिकताको मार्गमा हिंडेका छन् वा छैनन् भन्ने विषयबारे तिनी निश्चित हुन सक्तथिए। समयमा पूजाहारीले लाउने एपोद लिएर एबीयातार आए। परमेश्वरको इच्छा पता लगाउँदा, यो एपोदको प्रयोग गरिन्थ्यो। परमेश्वरका याजकीय प्रतिनिधिको हैसियतमा काम गर्दै, एबीयातारले दाऊदलाई त्यस मार्ग अनुसार हिंड्ने निर्देश दिए जसबाट यहोवा प्रसन्न हुनु हुने थियो। (१ शमूएल २२:१७–२३:१२; ३०:६-८) दाऊदलाई झैं, येशूलाई पनि यहोवाको आत्माले डोऱ्याएको थियो। ख्रीष्टका अभिषिक्त अनुयायीलाई पनि सामूहिक रूपमा यस्तै भएको छ। सन् १९१८ देखि १९१९ सम्म, मानव समाजमा तिनीहरू पनि हेलाका पात्रहरू भएका थिए। तिनीहरूका धर्म-विरोधीहरूले तिनीहरूलाई नष्ट पार्ने आँट गरे। यी अभिषिक्त जनहरूले आफ्नो निष्क्रिय अवस्थाबाट मुक्त हुन पाउँ भनेर प्रार्थना गरे। १९१९ मा परमेश्वरले तिनीहरूले गरेका प्रार्थनाहरूको जवाफ दिनु भयो। तिनीहरूलाई छुटकारा दिनु भयो र उहाँका सेवाका लागि तिनीहरू पुनः सक्रिय भए। (भजनसंग्रह १४३:७-९) निश्चय नै, त्यति खेर यहोवाको आत्माले उहाँका जनहरूलाई मद्दत दिनका साथसाथै डोऱ्याई रहेको थियो जसरी आजको दिनसम्म पनि डोऱ्याइ रहेको छ।
आत्माले कसरी मद्दत गर्छ
९. (क) पवित्र आत्माले एउटा “शान्तिदाता”-को हैसियतमा कसरी सेवा गर्दछ? (ख) पवित्र आत्मा एक जना व्यक्ति होइन भनेर हामी कसरी जान्दछौं? (न्यु व०-मा पाद टिप्पणी हेर्नु होस्।)
९ येशू ख्रीष्टले पवित्र आत्मालाई “शान्तिदाता” भन्नुभयो। उदाहरणका लागि, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ। अर्थात् सत्यका आत्मा जसलाई संसारले ग्रहण गर्नसक्तैन, किनभने त्यसले उहाँलाई नता देख्छ न चिन्छ, तिमीहरू ता उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसित रहनुहुन्छ, र तिमीहरूमा हुनुहुनेछ।” अन्य अरू कार्य गर्नका साथै, त्यो “शान्तिदाता”-ले एउटा शिक्षकको काम पनि गर्ने थियो किनभने ख्रीष्टले यसरी प्रतिज्ञा गर्नु भएको थियो: “तर शान्तिदाता, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँलेनै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ।” त्यो आत्माले ख्रीष्टबारे साक्षी पनि दिने थियो किनकि उहाँले आफ्ना चेलाहरूलाई यस प्रकार आश्वासन दिनु भयो: “म जानु नै तिमीहरूको निम्ति फाइदा छ। किनभने म गइनँ भने, शान्तिदाता तिमीहरूकहाँ आउनु हुनेछैन। तर गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।”—यूहन्ना १४:१६, १७, २६; १५:२६; १६:७.a
१०. पवित्र आत्मा कुन कुन ढङ्गमा एउटा मद्दतगार साबित भएको छ?
१० येशूले त्यो प्रतिज्ञा गरिएको पवित्र आत्मा, स्वर्गबाट आफ्ना चेलाहरू माथि, सा०यु० ३३ को पेन्तिकोसको दिनमा खन्याइ दिनु भयो। (प्रेरित १:४, ५; २:१-११) शान्तिदाताको हैसियतमा आत्माले तिनीहरूलाई परमेश्वरको इच्छा अझ राम्रोसँग बुझ्ने मद्दत दियो र भविष्यवाणीहरू पनि तिनीहरूका लागि अझ खुलस्त भयो। (१ कोरिन्थी २:१०-१६; कलस्सी १:९, १०; हिब्रू ९:८-१०) त्यो शान्तिदाताले येशूका चेलाहरूलाई पृथ्वीभरि उहाँका साक्षी हुने सामर्थ्य पनि दियो। (लूका २४:४९; प्रेरित १:८; एफिसी ३:५, ६) आज पनि पवित्र आत्माले एक जना समर्पित मसीहीलाई आफ्नो ज्ञान बढाउने मद्दत दिन सक्छ। तर ती मसीहीले भने “विश्वासी र बुद्धिमान दास” द्वारा परमेश्वरले गर्नु भएका प्रबन्धहरूको राम्रो प्रयोग गर्नुपर्छ। (मत्ती २४:४५-४७) यहोवाका एक जना सेवकको हैसियतमा साक्षी दिंदा खाँचो पर्ने साहस र बल परमेश्वरको आत्माले दिन सक्तछ। (मत्ती १०:१९, २०; प्रेरित ४:२९-३१) तथापि, पवित्र आत्माले परमेश्वरका जनहरूलाई अरू ढङ्गहरूमा पनि मद्दत दिने गर्दछ।
“बयान गर्न नसक्ने सोरले”
११. कुनै कठिनाइ आफ्नो शक्तिले भ्याइ नसक्ने जस्तो छ भने, एक जना मसीहीले के गर्नु पर्दछ?
११ आफ्नो शक्तिले भ्याउन नसक्ने कुनै कठिनाइको कारण एक जना मसीही विचलित छ भने, तिनले के गर्नु पर्दछ? पवित्र आत्माका लागि प्रार्थना गर्ने र त्यसलाई आफ्नो काम गर्न दिने! प्रेरित पावलले भने: “औ त्यसै गरी आत्माले पनि हाम्रा दुर्बलतामा मदत गर्नुहुन्छ। किनभने जसरी प्रार्थना गर्नुपर्ने हो, हामी त्यसरी गर्न जान्दैनौं, तर बयान गर्न नसक्ने सोरले आत्मा आफैले हाम्रा निम्ति अन्तरबिन्ती गर्नुहुन्छ। औ हृदयका कुरा खोजी गर्नेले आत्माको मन के छ भनी जान्नुहुन्छ। किनकि परमेश्वरको इच्छाअनुसार उहाँले पवित्र जनहरूका निम्ति अन्तरबिन्ती गर्नुहुन्छ।”—रोमी ८:२६, २७.
१२, १३. (क) अति नै गाह्रो परिस्थितिहरूको सामने चढाइएका प्रार्थनाहरूमा, रोमी ८:२६, २७-का शब्दहरू कसरी प्रयोग गर्न सकिन्छ? (ख) पावल र तिनका सहकर्मीहरूले एशियाको इलाकामा घोर सङ्कष्टको सामना गर्नु पर्दा, के गरे?
१२ स्वर्गीय आशा हुने येशूका अभिषिक्त अनुयायीहरूको तर्फबाट पवित्र आत्माले बिन्ती गर्दछ। तर तपाईंको आशा स्वर्गीय होस् वा पार्थिव, तपाईंले परमेश्वरको पवित्र आत्माबाट मद्दत पाउन सक्नु हुन्छ। कुनै विशेष प्रार्थनाका लागि यहोवाले कहिले काहीं विशेष जवाफ दिनु हुन्छ। कुनै कुनै बेला चाहिं, तपाईं साह्रै नै विचलित हुनु होला। यहाँसम्म कि तपाईं आफ्ना भावनाहरूलाई शब्दमा व्यक्त गर्नै नसक्नु होला। यस्तो बेलामा, तपाईंले शब्दहरूमा व्यक्त गर्न न सकिने मानसिक वेदनाद्वारा मात्र यहोवासित बिन्ती गर्न सक्नु होला। सायद, तपाईंका लागि कुन कुरा राम्रो हो, त्यो पनि तपाईंलाई थाह न हुन सक्छ। पवित्र आत्माका लागि प्रार्थना गर्नु भएन भने, सम्भवतः तपाईंले कुनै गलत कुराका लागि बिन्ती गरिरहनु भएको हुनु सक्छ। तपाईं परमेश्वरकै इच्छा पूरा भएको चाहनु हुन्छ र तपाईंलाई खासमा कुन कुराको खाँचो छ, त्यो सबै उहाँ जान्नु हुन्छ। यसका साथसाथै, उहाँको पवित्र आत्माद्वारा उहाँले धेरै प्रार्थनाहरू उहाँको वचनमा सुरक्षित राख्नु भएको छ। यी प्रार्थनाहरू अति नै कठिन परिस्थितिहरू सित सम्बन्धित छन्। (२ तिमोथी ३:१६, १७; २ पत्रुस १:२१) अतः यी प्रेरित प्रार्थनाहरूमा व्यक्त गरिएका कुनै कुनै भावनाहरूलाई उहाँका एक जना सेवकले व्यक्त गर्न चाहेको भावना भनी उहाँले स्वीकार्न सक्नु हुन्छ। साथै, यी प्रेरित प्रार्थनाहरूमा व्यक्त गरिएको बिन्तीहरूको जवाफ उहाँले तपाईंलाई दिनु हुनेछ।
१३ एसियाली इलाकामा पावल र तिनका सहकर्मीहरूले सङ्कष्ट भोग्नु परेको बेलामा, के को निम्ति प्रार्थना गर्नु पर्ने हो, सो तिनीहरूलाई थाह थिएन होला। तिनीहरू ‘यतिसम्म साह्रो गरी मिचिएका थिए कि आफ्नो सामर्थ्य देखि बाहिर भई, अब मृत्युदण्डको आज्ञा आफैमाथि पाएका’ जस्तै तिनीहरूले ठाने। तर अरूहरूले तिनीहरूका निम्ति अन्तर्बिन्ती गरी दिउन् भनी तिनीहरूले चाहे। साथै, मरेकाहरूलाई जीवित पारिदिन सक्ने परमेश्वरमाथि भरोसा गरे र उहाँले तिनीहरूलाई वास्तवमा बचाउनु पनि भयो। (२ कोरिन्थी १:८-११) यहोवा परमेश्वरले उहाँका विश्वासी जनहरूका प्रार्थनाहरू सुन्नुहुन्छ र त्यसको जवाफ पनि दिनुहुन्छ भनी थाह पाउनु कति सान्त्वनादायक कुरा हो!
१४. यहोवाले केही समयका लागि कुनै कठिनाइ रहिरहन दिनु भयो भने, त्यसबाट के कस्ता असल परिणाम हुन सक्छ?
१४ परमेश्वरका जनहरूले सङ्गठनात्मक रूपमा पनि अक्सर कठिनाइहरूको सामना गर्दछन्। अघि उल्लिखित गरे झैं, प्रथम विश्व युद्धको समयमा तिनीहरूले सतावट भोगे। त्यति खेर के गर्नु पर्ने थियो, सो तिनीहरूले राम्रोसँग बुझेका थिएनन्। अतः के का लागि प्रार्थना गर्नु पर्ने हो, त्यो पनि तिनीहरू स्पष्टगरी जान्दैन थिए। तापनि, यहोवाका वचनमा भविष्यवाणी युक्त प्रार्थनाहरू थिए र त्यही प्रार्थनाहरूको जवाफ उहाँले तिनीहरूलाई दिनुभयो। (भजनसंग्रह ६९, १०२, १२६; यशैया, अध्याय १२) तर यहोवाले कुनै कठिनाइलाई केही समयका लागि रहिरहन दिनु भयो भने के नि? यसो हुँदा, साक्षी दिने काम सम्पन्न हुन सक्छ। यसको परिणामस्वरूप केही मानिसहरू सच्चाइ अपनाउन प्रेरित हुन सक्छन्। साथै, मसीहीहरूले एक अर्काका लागि प्रार्थना गर्दै अथवा कष्टमा परेका सङ्गी भाइहरूलाई मद्दत दिंदै, भ्रातृप्रेम देखाउने मौका पाउँन सक्छन्। (यूहन्ना १३:३४, ३५; २ कोरिन्थी १:११) यहोवाले आफ्ना जनहरूलाई उहाँको पवित्र आत्माद्वारा डोऱ्याउनु हुन्छ, तिनीहरूको सबैभन्दा बढी हित हुने कुरा गरिदिनु हुन्छ र उहाँको आफ्नो पवित्र नाउँलाई सम्मानित र दोषमुक्त तुल्याउने गरी सबै कार्य सम्पन्न गर्नुहुन्छ भन्ने कुरा कहिले नबिर्सनु होस्।—प्रस्थान ९:१६; मत्ती ६:९.
आत्मालाई कहिले पनि दुःखी नपार्नु होस्
१५. यहोवाको आत्माले मसीहीहरूका लागि के गरिदिन सक्छ भनेर तिनीहरूले आशा राख्न सक्छन्?
१५ यसकारण, तपाईं यहोवाको एक जना सेवक हुनु हुन्छ भने, कठिनाइहरू परेको र अरू बेलामा, पवित्र आत्माका लागि प्रार्थना गर्नुहोस्। यसपछि, त्यसको डोऱ्याइअनुसार हिंड्ने निश्चित फैसला गर्नु होस् किनकि पावलले लेखे: “औ परमेश्वरको आत्मालाई सन्ताप [दुःखी नतुल्याओ, न्यु व०] न देऊ, जसमा उद्धारको दिनको निम्ति तिमीहरू छाप लगाएका छौ।” (एफिसी ४:३०) विश्वासी अभिषिक्त मसीहीहरूका लागि परमेश्वरको आत्मा, स्वर्गमा अमरत्व पाउने एउटा छाप अथवा ‘बैना’ थियो र अझ पनि हो। (२ कोरिन्थी १:२२; रोमी ८:१५; १ कोरिन्थी १५:५०-५७; प्रकाश २:१०) यहोवाको आत्माले तिनीहरूका निम्ति धेरै कुरा गरिदिन सक्छ भनेर अभिषिक्त मसीहीहरू र पार्थिव आशा हुनेहरू, दुवैले भरोसा राख्न सक्छन्। परमेश्वरको आत्माले तिनीहरूलाई विश्वासिलो भएर जीवन बिताउन डोऱ्याउन सक्छ। परमेश्वरलाई अप्रसन्न तुल्याउने, पवित्र आत्मा गुमाउने र अनन्त जीवन पाउन असमर्थ बनाउने पापपूर्ण कार्यहरू देखि पनि अलग्ग रहने सहायता त्यसले तिनीहरूलाई दिन सक्छ।—गलाती ५:१९-२१.
१६, १७. एक जना मसीहीले आत्मालाई कसरी दुःखी तुल्याउन सक्छ?
१६ एक जना मसीहीले जानीजानी अथवा अनजानमा आत्मालाई कसरी दुःखी तुल्याउन सक्तछ? यहोवाले मण्डलीमा एकता कायम गर्नका लागि र पुरुषहरूलाई जिम्मावारी सुम्पिनु हुँदा, उहाँको आत्माको प्रयोग गर्नु हुन्छ। तसर्थ मण्डलीको कुनै एक सदस्यले नियुक्त प्राचीनहरूको विरुद्धमा गनगन गर्ने, अर्काको नाउँ बदनाम हुने गरी कुरा काट्ने इत्यादि गर्दछ भने, तिनी शान्ति र एकता तर्फ लैजाने परमेश्वरको आत्माको डोऱ्याइ अनुसार हिंडेको हुने छैन। सरल ढङ्गमा भन्ने हो भने, तिनले आत्मालाई सन्ताप दिएको हुनेछ।—१ कोरिन्थी १:१०; ३:१-४, १६, १७; १ थिस्सलोनिकी ५:१२, १३; यहूदा १६.
१७ एफिसीका मसीहीहरूलाई पत्र लेख्दा, पावलले झूट बोल्ने, धेरै बेरसम्म रिस राख्ने, अनुचित भाषाको प्रयोग गर्ने, व्यभिचार, निर्लज्ज कार्यहरू र अश्लील बोली जस्ता कुराहरूमा नचाहिंदो चासो लिने प्रवृत्ति बारे चेताउनी दिए। यस प्रकारका कुराहरू तिर एक जना मसीहीले आफूलाई लाग्न दिएमा, तिनी आत्माले प्रेरित बाइबलको सल्लाहको विपरीत गइरहेको हुनेछ। (एफिसी ४:१७-२९; ५:१-५) हो, तिनले परमेश्वरको आत्मालाई केही हद्सम्म दुःखी तुल्याइरहेको हुनेछ।
१८. परमेश्वरको प्रेरित वचनमा दिएको सल्लाहलाई उपेक्षा गर्न थाल्ने कुनै पनि मसीहीलाई के हुन सक्छ?
१८ वास्तवमा, यहोवाको आत्माद्वारा प्रेरित वचनको सल्लाहलाई उपेक्षा गर्ने कुनै पनि मसीहीले त्यस प्रकारको मनोवृत्ति अथवा गुणहरूको विकास गर्न सक्तछन् जसले तिनलाई जानीजानी गरिएको पाप र ईश्वरीय अनुग्रहबाट वञ्चित हुने स्थिति तर्फ लैजान सक्छ। तिनी हाल पापमा फँसेको नभए तापनि, तिनी अन्ततोगत्वा फँसने बाटोमा लागेको हुन सक्छन्। यसरी आत्माको डोऱ्याइको विपरीत हिंड्ने मसीहीले आत्मालाई सन्ताप नै दिएको हुनेछ। तिनले यस प्रकार पवित्र आत्माको स्रोत, स्वयं यहोवाको नै विरोध गरेको र उहाँलाई नै दुःखी तुल्याएको हुने छ। परमेश्वरलाई प्रेम गर्ने कुनै पनि व्यक्तिले यसो गर्न चाहने छैन!
पवित्र आत्माका लागि प्रार्थना गरी नै रहनुहोस्
१९. यहोवाका मानिसहरूलाई आज उहाँको आत्माको विशेष खाँचो किन छ?
१९ तपाईं यहोवाको एक जना सेवक हुनु हुन्छ भने उहाँको पवित्र आत्माका लागि प्रार्थना गरी नै रहनुहोस्। विशेष गरी आजका यी “अन्तिम दिनहरू”-मा कठिन समयहरूको सामना गर्नु पर्दा मसीहीहरूलाई परमेश्वरको आत्माको मद्दत चाहिन्छ। (२ तिमोथी ३:१-५) दियाबल र त्यसका दूतहरू स्वर्गबाट हटाइएर हाल पार्थिव इलाकामा छन्। तिनीहरूले जोडतोडका साथ यहोवाको सङ्गठनको विरोध गर्ने अभियान चलाइ रहेका छन्। अतः, परमेश्वरका मानिसहरूलाई पहिलेभन्दा पनि आज उहाँको पवित्र आत्माको ठूलो आवश्यकता छ। तिनीहरूलाई पवित्र आत्माको डोऱ्याइ अथवा निर्देशन र कष्टहरू र सतावट सहने मद्दतको खाँचो छ।—प्रकाश १२:७-१२.
२०, २१. यहोवाको वचन, आत्मा र सङ्गठनको निर्देशको अनुसरण गर्नु किन उचित हो?
२० यहोवा परमेश्वरले उहाँको पवित्र आत्माद्वारा दिनु हुने मद्दतको सधैं नै मूल्याङ्कन गर्नुहोस्। उहाँकै आत्माद्वारा प्रेरित वचन बाइबलको निर्देशनअनुसार हिंड्ने गर्नुहोस्। परमेश्वरको आत्माद्वारा निर्देशित उहाँको पार्थिव सङ्गठनलाई हर सहयोग दिनु होस्। शास्त्रको विपरीत जाने मार्गतर्फ न लाग्नु होस्। यसो गर्नुको अर्थ पवित्र आत्मालाई दुःखी पार्नु हो। यसको परिणामस्वरूप तपाईंबाट पवित्र आत्मा हटाइन सकिन्छ र त्यो एउटा आत्मिक विपत्ति हुन सक्छ।—भजनसंग्रह ५१:११.
२१ यहोवाको आत्मानुसार हिंड्नु नै उहाँलाई प्रसन्न तुल्याउने र एउटा शान्तिमय र आनन्दायक जीवन बिताउने एक मात्र उपाय हो। येशूले पवित्र आत्मालाई एउटा “शान्तिदाता” वा “मद्दतगार” पनि भन्नु भएको कुरा नबिर्सनु होस्। (यूहन्ना १४:१६) यसैद्वारा परमेश्वरले मसीहीहरूलाई सान्त्वना र कठिनाइहरूको सामना गर्ने बल दिनु हुन्छ। (२ कोरिन्थी १:३, ४) यहोवाका आत्माले उहाँका मानिसहरूलाई सुसमाचार प्रचार गर्ने सामर्थ्य दिन्छ र प्रभावशाली साक्षी दिन सक्नका लागि शास्त्रका कुराहरूको सम्झना गराउँदछ। (लूका १२:११, १२; यूहन्ना १४:२५, २६; प्रेरित १:४-८; ५:३२) प्रार्थना र आत्माको डोऱ्याइद्वारा मसीहीहरूले ईश्वरीय बुद्धिका साथ विश्वासका जाँचहरूको सामना गर्न सक्छन्। त्यसैकारण, जीवनमा आइ पर्ने हरेक परिस्थितिमा तिनीहरू परमेश्वरसित पवित्र आत्माका लागि प्रार्थना गरिरहन्छन्। फलःस्वरूप, यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्याउँदछ। (w92 9/15)
[फुटनोट]
a पवित्र आत्मालाई “शान्तिदाता” भने तापनि, त्यो एउटा व्यक्ति चाहिं होइन। किनभने त्यसका लागि युनानी भाषामा नपुङ्सक लिङ्ग (त्यो) प्रयोग गरिएको छ। यसै प्रकार, बुद्धिलाई पनि एउटा व्यक्तिको रूपमा प्रस्तुत गर्दा, हिब्रू भाषामा स्त्री लिङ्ग प्रयोग गरिएको छ। (हितोपदेश १:२०-३३; ८:१-३६) साथै, पवित्र आत्मा “खन्याइएको” थियो। कुनै व्यक्ति खन्याइनु सकिन्दैन।—प्रेरित २:३३.
तपाईंका जवाफहरू के हुन?
▫ यहोवाको पवित्र आत्माका लागि किन प्रार्थना गर्ने?
▫ पवित्र आत्मा कसरी एउटा शान्तिदाता हो?
▫ आत्मालाई दुःखी तुल्याउनुको अर्थ के हो र त्यसो गर्नदेखि हामी कसरी अलग रहन सक्छौं?
▫ पवित्र आत्माका लागि निरन्तर प्रार्थना गर्नु र त्यसको डोऱ्याइ अनुसार हिंड्नु किन उचित हो?
[पृष्ठ २६-मा भएको चित्र]
एक जना मायालु बाबुले आफ्नो छोरालाई असल थोकहरू दिए झैं, यहोवाले पनि पवित्र आत्मा आफ्ना ती सेवकहरूलाई दिनुहुन्छ जसले प्रार्थनाद्वारा त्यसका लागि माग गर्दछन्
[पृष्ठ २८-मा भएको चित्र]
प्रार्थना गर्ने मसीहीहरूका लागि परमेश्वरको आत्माले कसरी बिन्ती गरिदिन्छ, के तपाईंलाई थाह छ?