ज्ञानमा बढ्दै जानुहोस्
“तिमीहरूका विश्वासमा . . . बुद्धि [ज्ञान न्यु व०] . . . थप।”—२ पत्रुस १:५.
१, २. (क) आकाशमा हेरेर तपाईं के सिक्नु सक्नुहुन्छ? (रोमी १:२०) (ख) मानिसको ज्ञान कुन हदसम्म मात्र बढेको छ?
राती सफा आकाशमा टहटहाइरहेको जून र अनगिन्ती ताराहरूलाई हेरेर तपाईं के सिक्न सक्नु हुन्छ? तपाईं ती सबै बनाउने एक जना व्यक्तिको विषयमा केही कुरा सिक्न सक्नुहुन्छ।—भजनसंग्रह १९:१-६; ६९:३४.
२ त्यस विषयमा ज्ञान बढाउन चाहेको भए के तपाईं आफ्नो घरको छानामा गएर मास्तिर हेर्नुहुन्थ्यो? पक्कै पनि तपाईं त्यसो गर्नुहुन्न। ब्रह्माण्डको विषयमा वैज्ञानिकहरूले वास्तवमा त्यति धेरै कुराहरू सिकेका छैनन् र त्यो सृष्टि गर्ने व्यक्तिबारे ज्यादै कम कुराहरू जान्दछन् भन्ने कुरा देखाउन अल्बर्ट आइन्सटाइनले एक पटक त्यस्तै खालको एउटा उदाहरण चलाएका थिए।a डा० लुइस थोमसले यसो भनेर लेखे: “वैज्ञानिक दृष्टिमा अति नै फलदायी साबित भएको यस शताब्दीको एक मात्र महान उपलब्धि, हामीहरू अति नै अज्ञानी रहेछौं भनेर थाहा पाउनु हो; प्रकृतिको विषयमा हामीसित कम ज्ञान छ र त्यस विषयमा हामी ज्यादै कम बुझ्दछौं।”
३. कुन अर्थमा ज्ञानले दुःख बढाउँछ?
३ त्यस विषयमा ज्ञान प्राप्त गर्न तपाईंले आफ्नो बाँकि जीवनलाई बिताउनु भयो भने पनि जीवन कति छोटो रहेछ भनेर महसुस गर्नुहुनेछ र बुद्धिको प्रयोग गर्ने मानिसको क्षमता, असिद्धता र यस संसारको ‘बाङ्गोपना’-ले गर्दा कति सीमित भएको छ भन्ने कुरा अझ स्पष्टसँग देख्नुहुनेछ। सुलेमानले पनि त्यस कुराको उल्लेख गर्दै लेखे: “किनभने धेरै विरक्ति हुन्छ, औ मानिसले जति धेरै जान्यो त्यतिनै धेरै दुःख पाउँछ।” (उपदेशक १:१५, १८) हो, परमेश्वरका उद्देश्यहरूसँग कुनै सम्बन्ध नभएका ज्ञान र बुद्धि प्राप्त गर्दा प्रायः पीडा र विरक्ति आउँछ।—उपदेशक १:१३, १४; १२:१२; १ तिमोथी ६:२०.
४. कुन प्रकारको ज्ञान प्राप्त गर्न हामी इच्छुक हुनुपर्छ?
४ तर के यहाँ आफ्नो ज्ञान बढाउन इच्छुक नहुनु भनेर बाइबलले सल्लाह दिइरहेको हो? यसबारे प्रेरित पत्रुसले यसो भनेर लेखे: “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्।” (२ पत्रुस ३:१८) यस सल्लाहलाई आफूमाथि प्रयोग हुने र ज्ञानमा बढ्न हामीलाई नै आग्रह गरेझैं सम्झी हामी स्वीकार्न सक्छौं र स्वीकार्नु पर्छ। तर कस्तो किसिमको ज्ञानमा? हामी कसरी त्यसमा बढ्न सक्छौं? र के हामी साँच्चै नै त्यस्तै गरिरहेका छौं?
५, ६. हामीले ज्ञान लिनु आवश्यक छ भनेर पत्रुसले कसरी जोड दिए?
५ ब्रह्माण्डको सृष्टिकर्ता र येशूको सही ज्ञानमा बढ्दै जानु पत्रुसको दोस्रो पत्रको मुख्य विचार थियो। पत्रको सुरुआतमा तिनले लेखे: “परमेश्वर र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा वृद्धि हुँदैजाओस्। उहाँको ईश्वरीय शक्तिले जीवन र भक्तिसँग सम्बन्ध राख्ने, हामीलाई उहाँको आफ्नै महिमा र पुण्यले बोलाउने, उहाँको ज्ञानद्वारा हामीलाई यी सबै कुरा मञ्जूर गर्नुभएको छ।” (२ पत्रुस १:२, ३) अतः परमेश्वर र उहाँको पुत्रको ज्ञान प्राप्त गर्नुसित तिनी अनुग्रह र शान्तिलाई जोड्छन्। त्यो व्यावहारिक पनि छ किनभने हाम्रो सृष्टिकर्ता यहोवा, वास्तविक ज्ञानको केन्द्र बिन्दु हुनुहुन्छ। परमेश्वरको डर मान्ने व्यक्तिले कुनै पनि विषयलाई सही दृष्टिकोणले हेर्न र ठीक निर्णयहरूमा आइपुग्न सक्छ।—हितोपदेश १:७.
६ त्यसपछि पत्रुसले यो आग्रह गरे: “तिमीहरूका विश्वासमा सद्गुण, सद्गुणमा बुद्धि, [ज्ञान न्यु व०] बुद्धिमा संयम, संयममा धीरज, धीरजमा भक्ति, भक्तिमा भ्रातृस्नेह, भ्रातृस्नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्तसँग छन् भने हाम्रो प्रभु येशू ख्रीष्ट चिन्ने ज्ञानमा तिनीहरूले तिमीहरूलाई बेकम्मा र निष्फल तुल्याउनेछैनन्।” (२ पत्रुस १:५-८)b ज्ञान प्राप्त गर्नाले मानिसहरूलाई यस संसारको अशुद्धताबाट बच्न मदत गर्छ भनेर हामी अर्को अध्यायमा पढ्छौं। (२ पत्रुस २:२०) यसप्रकार पत्रुसले स्पष्ट पारे कि यहोवाको सेवा गरिरहेका व्यक्तिहरूलाईझैं भर्खरै मसीही बन्न लागेकाहरूलाई पनि ज्ञानको आवश्यकता पर्छ। के तपाईं यी दुई श्रेणीमध्ये कुनै एउटामा हुनुहुन्छ?
सिक्नुहोस्, दोहऱ्याउनुहोस् र प्रयोगमा ल्याउनुहोस्
७. धेरैजनाले बाइबलका आधारभूत सत्यहरूको सही ज्ञान कसरी पाएका छन्?
७ यहोवाका साक्षीहरूले दिने समाचारमा सच्चाइ पाउनु भएको हुनाकारण तपाईं तिनीहरूसँग बाइबल अध्ययन गरिरहनु भएको होला। त्यसो हो भने तपाईं हप्ताको एक पटक, एक घण्टा वा त्योभन्दा बढी समय लगाएर पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ भन्ने जस्ता पुस्तकबाट बाइबलका विभिन्न विषयहरूमाथि छलफल गर्नुहुन्छ। तपाईंको काम अति नै सराहनीय छ! यहोवाका साक्षीहरूसित यसरी अध्ययन गरिसकेका थुप्रै व्यक्तिहरूले सही ज्ञान प्राप्त गरेका छन्। यद्यपि, आफूले व्यक्तिगत रूपमा सिकिरहनु भएका कुरालाई अझ बढाउन तपाईं के गर्न सक्नुहुन्छ? यसका लागि तल केही सुझावहरू दिइएका छन्।c
८. अध्ययनका लागि तयारी गर्दा एक जना विद्यार्थीले अझ बढी सिक्न के गर्नसक्छ?
८ अध्ययनको तयारी गर्दा, पढ्नु पर्ने विषय-वस्तुलाई सरसरती जाँच्नुहोस्। यसको अर्थ अध्यायको शीर्षक, उपशीर्षकहरू, र विषय-वस्तुलाई चित्रण गर्न प्रयोग गरिएका चित्रहरूलाई हेर्नु हो। त्यसपछि त्यस प्रकाशनको अनुच्छेद वा अशं पढ्दै जाँदा, त्यहाँ प्रस्तुत गरिएको मुख्य विचार र त्यसलाई समर्थन गर्ने शास्त्रपद खोज्नुहोस्। त्यसपछि त्यसलाई रेखाङ्कित वा चिह्न लगाउनुहोस्। आफूले पढेका सत्य कुराहरूबाट केही सिकियो कि सिकिएन भनेर थाहा लगाउन विभिन्न अनुच्छेदहरूमा दिइएको प्रश्नहरूको जवाफ दिने कोशिश गर्नुहोस्। प्रश्नहरूका जवाफ आफ्नै शब्दहरूमा दिने प्रयास गर्नुहोस्। अन्तमा, मुख्य बुँदाहरू र त्यसको समर्थन गर्ने सहायक तर्कहरूलाई दोहोऱ्याउदैं त्यस पाठको पुनरावलोकन गर्नुहोस्।
९. अध्ययनबारे दिइएको सुझावहरूलाई प्रयोगमा ल्याउँदा एक जना व्यक्तिलाई कसरी सिक्न मदत पुग्छ?
९ यी सुझावहरूलाई प्रयोगमा ल्याउनु भयो भने ज्ञानमा बढ्दै जाने आशा गर्न सक्नुहुन्छ। कसरी? एउटा कारण तपाईंले सिक्ने गहिरो इच्छाका साथ त्यस विषय-वस्तुलाई पढिरहेको अथवा माटोलाई तयार गरिरहेको हुनेछ। विषय-वस्तुको सारांश थाहा लागेपछि तपाईं त्यसका मुख्य बुँदाहरू र तर्कहरूको खोजी गर्नुहुन्छ। यसो गर्दा त्यहाँ दिइएको विवरण शीर्षक र समापनसँग कसरी मेल खान्छ भनेर तपाईंले देख्नुहुनेछ। अन्तमा सिकेका कुराहरूलाई फेरि एक पटक पुनरावलोकन गर्दा आफूले अध्ययन गरेको कुराहरू सम्झन मदत गर्नेछ। तर पछि बाइबल अध्ययनको दौडान कुन कुराले मदत गर्नेछ?
१०. (क) तथ्य वा नयाँ जानकारीलाई केवल मुखस्त गर्दा किन सीमित फाइदा हुन्छ? (ख) “क्रमिक अन्तराल दोहोऱ्याइ”-मा कुन कुरा समावेश छ? (ग) कुराहरूलाई पुनरावृत्ती गर्दा इस्राएली छोराले कसरी फाइदा उठाएको हुनसक्छ?
१० शैक्षिक क्षेत्रका विशेषज्ञहरू सामयिक र उद्देश्यपूर्ण दोहोऱ्याइको महत्त्व जान्दछन्। सिकेका कुराहरूलाई दोहोऱ्याउनु शब्दहरूलाई सुगाले रट्नु जस्तो मात्र होइन। शायद स्कूलमा हुँदा कुनै नाउँ, तथ्य वा विचारलाई घोकेर सिक्दा तपाईंले त्यसो गर्नुभएको थियो होला। तथापि आफूले मुखस्त गरेका ती कुराहरू आफ्नो स्मरणबाट चाँडै नै बिर्सेर गएको के तपाईंले याद गर्नुभएको थियो? त्यसो किन भएको? एउटा नयाँ शब्द वा तथ्यलाई रट्नु पट्ट्याइँलाग्दो हुनसक्छ र रटेको कुरा कम समयसम्म मात्र याद हुन्छ। त्यसो नहुन के गर्न सकिन्छ? तपाईंमा साँच्चै नै सिक्ने इच्छा भएमा त्यसले मदत गर्नेछ। यसको अर्को कुञ्जी उद्देश्यपूर्ण दोहोऱ्याइ हो। एउटा बुँदा सिकेको केही मिनेटपछि, आफ्नो स्मरणबाट मेट्नु अगावै त्यसलाई भित्रदेखि सम्झने कोशिश गर्नुहोस्। यसलाई “क्रमिक अन्तराल दोहोऱ्याइ” भनिन्छ। आफ्नो स्मरणबाट कुराहरू मेटिनु अगावै त्यसलाई ताजा बनाइराख्दा निकै लामो समयसम्म ती कुराहरूलाई स्मरणमा राख्न सकिन्छ। इस्राएलमा, बाबुले आफ्ना छोराहरूलाई परमेश्वरको आज्ञा सिकाउनु पर्थ्यो। (व्यवस्था ६:६, ७) “सिकाउनु”-को अर्थ कुराहरूलाई दोहोऱ्याएर सिकाउनु हो। सम्भवतः धेरैजसो ती पिताहरूले आफ्ना छोराहरूका सामने व्यवस्थालाई सुरुमा प्रस्तुत मात्र गर्थे; त्यसपछि ती जानकारीहरूलाई फेरि दोहोऱ्यार आफ्ना छोराहरूलाई तिनीहरूले सिकेका कुराहरू सम्बन्धी प्रश्नहरू सोध्थे।
११. ज्ञान बढाउन बाइबल अध्ययनको दौडान के गर्न सकिन्छ?
११ तपाईं एक जना साक्षीसित बाइबल अध्ययन गर्नु हुँर्दैछ भने पढेका कुराहरूलाई अध्ययनको बीच-बीचमा क्रमिक र सङ्क्षेपमा बताएर तिनले तपाईंलाई सिक्न मदत गर्नेछ। यो कुनै बचकना होइन। यो ज्ञान बढाउने एउटा तरिका हो। अतः बीच-बीचमा गरिने पुनरावलोकनमा खुशीसाथ भाग लिनुहोस्। त्यसपछि अध्ययनको अन्तमा, आफ्नो स्मृतिबाट उत्तरहरू दिंदै अन्तिम पुनरावलोकनमा भाग लिनुहोस्। अर्को व्यक्तिलाई सिकाउँदा तपाईं जसरी भन्नुहुन्छ त्यसरीनै आफूले सिकेका कुराहरूलाई आफ्नै शब्दहरूमा बयान गर्नसक्नुहुन्छ। (१ पत्रुस ३:१५) यसो गर्नुभयो भने आफूले सिकेका कुराहरूलाई लामो समयसम्म स्मरण राखिराख्न त्यसले मदत गर्नेछ।—भजनसंग्रह ११९:१, २, १२५; २ पत्रुस ३:१.
१२. आफ्नो स्मरण शक्ति बढाउन एकजना विद्यार्थीले के गर्न सक्छ?
१२ सिकेका कुराहरूलाई एक-दुई दिन भित्रमै आफ्ना स्कूलका साथीहरू, सहकर्मीहरू, छिमेकीहरू वा अरू कुनै व्यक्तिहरूलाई सुनाउनु अर्को मदतकारी तरिका हो। तपाईं ती व्यक्तिहरूलाई शीर्षक बताउन सक्नुहुन्छ। त्यसपछि तर्कणाका मुख्य बुँदाहरू वा त्यसलाई समर्थन गर्ने बाइबल पदहरू बताउने कोशिश गर्छु भनेर तपाईं भन्न सक्नुहुन्छ। यसो गर्दा अर्को व्यक्तिमा चासो जाग्न सक्छ। जागेन भने पनि आफूले सिकेका ती नयाँ जानकारीहरूलाई एक दुई दिनको अन्तरालमा त्यसरी दोहोऱ्याउँदा ती कुराहरू तपाईंको स्मृतिमा राम्रोसँग बस्नेछ। यसप्रकार २ पत्रुस ३:१८-ले भनेझैं तपाईंले साँच्चै नै सिकेको हुनेछ।
सक्रियताकासाथ सिक्नु
१३, १४. हामीमा जानकारी प्राप्त गर्ने र स्मरण गर्नेभन्दा बढी गर्ने चाहना किन हुनुपर्छ?
१३ सिक्नु भनेको तथ्यहरूलाई जान्नु वा जानकारीहरूलाई याद गर्न सक्नु मात्र होइन। उसो त येशूका दिनका धार्मिक मानिसहरूले पनि आफ्नो प्रार्थनालाई दोहोऱ्याइ दोहोऱ्याइकन त्यस्तै गर्थे। (मत्ती ६:५-७) तर त्यसप्रकारको जानकारीले तिनीहरूमाथि कस्तो असर पाऱ्यो त? के तिनीहरूले धार्मिक फलहरू फलाइरहेका थिए? कदापि, थिएनन्। (मत्ती ७:१५-१७; लूका ३:७, ८) यसो नहुनको एउटा कारण तिनीहरूले सिकेका ज्ञान तिनीहरूको मन भित्र पसेन र असल फलहरू फलाउन तिनीहरूलाई प्रभावित गरेन।
१४ पत्रुस अनुसार त्यतिबेला र अहिले दुवै समयका मसीहीहरूमा ती कुराहरू लागु हुनुहुँदैन। हाम्रो विश्वासमा ज्ञान थप भनेर तिनी आग्रह गर्छन् जसले हामीलाई निष्क्रिय र अफलदायी हुनदेखि बच्न मदत गर्नेछ। (२ पत्रुस १:५, ८) यो कुरा हामीमाथि लागु भएको चाहन्छौं भने ज्ञानमा बढ्दै जाने र ज्ञानले हाम्रो भित्री व्यक्तित्वलाई गहिराइसम्म असर गरेको हामीले चाहनुपर्छ। तर सधैं त्यस्तो हुँदैन।
१५. केही हिब्रू मसीहीहरूमा कस्तो समस्या विकसित भयो?
१५ पावलका समयमा हिब्रू मसीहीहरूको यस्तै समस्या थियो। यहूदी भएका हुनाकारण तिनीहरूसँग शास्त्रको केही ज्ञान थियो। यहोवा र उहाँका नियमहरू तिनीहरूलाई थाहा थियो। पछि मसीह सम्बन्धी ज्ञानलाई पनि तिनीहरूले थपे र त्यसमाथि विश्वास गरेर मसीहीको रूपमा बप्तिस्मा लिए। (प्रेरित २:२२, ३७-४१; ८:२६-३६) महीनौं र वषौंसम्म तिनीहरूले मसीही सभाहरू अवश्य धाए होलान् जहाँ तिनीहरू शास्त्र पढ्न र टिप्पणी गर्न सक्थे। भएपनि, केही व्यक्तिहरू ज्ञानमा बढेनन्। यसैकारण पावलले यसो भनेर लेखे: “यतिका समयसम्म ता तिमीहरू शिक्षक होइसक्नुपर्दथियो, तर अझै तिमीहरूलाई कसैले परमेश्वरको वचनको शुरूका शिक्षाहरू सिकाइदिनु परेको छ। तिमीहरूलाई खँदिलो खानेकुराको होइन, तर अझै दूधैको दरकार पर्नेजस्ता तिमीहरू भएका छौ।” (हिब्रू ५:१२) कसरी यस्तो हुनसक्थ्यो? के हामीलाई पनि त्यस्तै हुनसक्छ?
१६. स्थायी तुषार भूमि के हो, र त्यसले बिरुवाहरूलाई कसरी असर गर्छ?
१६ उदाहरणका लागि स्थायी तुषार भूमिलाई लिनुहोस्। सामान्य तापक्रम बरफ जम्ने तापक्रम भन्दा कम भएको आर्कटिक र अन्य केही क्षेत्रहरूमा त्यस्ता भूमि पाइन्छ जुन स्थायी रूपमा जमेर रहेको हुन्छ। कहिले काहिं ९०० मिटरको गहिराइसम्म माटो, चट्टान र जमीनमुनिको पानी एउटा ठोस सिङ्गो ढिक्को भएर जमेको हुन्छ। ग्रीष्म ऋतुमा सतहको जमेको माटो (जसलाई सक्रिय तह भनिन्छ) पग्लिन थाल्छ। तथापि, पग्लेको पानी स्थायी तुषार भूमिको तल्लो तहसम्म सोसिएर जान नसक्ने भएकोले माटोको पातलो तह हिलोको रूपमा हुन्छ। यसप्रकारको माटोमा उम्रने बिरुवाहरू प्रायः राम्रोसँग हुर्केको हुँदैन र सानो हुन्छ; त्यसका जराहरू स्थायी तुषार भूमिमा बढेर तलसम्म पुग्न सक्दैन। ‘तर बाइबलको सत्य ज्ञानमा म बढ्दै छु वा छैन भन्ने कुरासित स्थायी तुषार भूमिको के सम्बन्ध?’ भनेर तपाईं सोचमा पर्नुहोला।
१७, १८. केही हिब्रू मसीहीहरूमाथि भएको कुरालाई चित्रित गर्न स्थायी तुषार भूमि र त्यसको सक्रिय तहलाई कसरी प्रयोग गर्न सकिन्छ?
१७ सही ज्ञान लिने, सम्झने र प्रयोगमा ल्याउने काममा मानसिक शक्ति सक्रिय रूपमा सम्मिलित नभएको एक जना मानिसको अवस्थालाई स्थायी तुषार भूमिले राम्रोसँग चित्रित गर्छ। (मत्ती १३:५, २०, २१ तुलना गर्नुहोस्।) त्यस व्यक्तिसँग बाइबलको सत्य लगायत अरू थुप्रै विषयहरू सिक्ने मानसिक क्षमता हुनसक्छ। उसले “परमेश्वरका वचनको शुरूका शिक्षाहरू” अध्ययन गरेको हुनसक्छ र ती हिब्रू मसीहीहरू झैं बप्तिस्माको लागि योग्य ठहरिएको होला। यद्यपि, “परमेश्वरका वचनको शुरूका शिक्षाहरू”-बाट उन्नति गर्दै गएर ऊ “[परिपक्वता न्यु व०]” तर्फ नबढ्न सक्छ—हिब्रू ५:१२; ६:१.
१८ पहिलो शताब्दीका केही त्यस्ता मसीहीहरूलाई सभामा भएको कल्पना गर्नुहोस्। तिनीहरू उपस्थित र जागा थिए, तर के तिनीहरूको मन सिक्ने काममा व्यस्त थियो? के तिनीहरू सक्रिय र गम्भीरतापूर्वक ज्ञानमा बढ्दै गइरहेका थिए? शायद थिएनन्। अपरिपक्व व्यक्तिहरूका निम्ति, सभाहरूमा भएको कुनै पनि कुरा पातलो सक्रिय तहमा मात्र हुन्थ्यो किनकि त्यसको तलको सतह जमेर बसेको थियो। ठोस वा जटिल सत्यका जराहरू मानसिक स्थायी तुषार भूमिको तलसम्म बढेर जान सकेनन्।—यशैया ४०:२४ तुलना गर्नुहोस्।
१९. एक जना अनुभवी मसीही कुन तरिकामा हिब्रू मसीहीहरू जस्तै बन्न सक्छ?
१९ आज एक जना मसीहीमाथि पनि यही कुरा लागु हुन सक्छ। सभाहरूमा उपस्थित भए तापनि ती मौकाहरूलाई उसले ज्ञानमा बढ्दै जान प्रयोग नगर्न सक्छ। सभाहरूमा सक्रिय रूपले भाग लिने सम्बन्धमा के भन्न सकिन्छ नि? नयाँ र जवान व्यक्तिहरूलाई एउटा शास्त्रपद पढ्न वा हुबहु अनुच्छेदबाट टिप्पणी दिन निकै प्रयत्न गर्नुपर्ला र त्यसो गर्दा तिनले आफ्नो क्षमताको सराहनीय र राम्रो प्रयोग गरिरहेको हुन्छ। तर बाँकि रहेकाहरूको सम्बन्धमा पावलले देखाए कि तिनीहरू ज्ञानमा बढ्दै जाने इच्छा गर्छन् भने तिनीहरूले आफू मसीही भएर बिताएको समयलाई विचार गर्दै सभाहरूमा भाग लिने प्रारम्भिक अवस्थाबाट अघि बढ्दै जानुपर्छ।—हिब्रू ५:१४.
२०. हामी प्रत्येकले कस्तो आत्म-विश्लेषण गर्नुपर्छ?
२० एक जना अनुभवी मसीहीले कुनै प्रगति नगरिकन केवल बाइबल पद पढ्ने वा सिधै अनुच्छेदबाट आधारभूत टिप्पणीहरू दिने मात्र गर्छ भने सम्भवतः उसको सहभागिता उसको मनको माथिल्लो “सक्रिय तह”-बाट मात्र आएको हुनसक्छ। एक पछि अर्को सभा बित्दै जाला तर उसको मानसिक क्षमता भने त्यही स्थायी तुषार भूमिझैं जमेको अवस्थामै रहिरहनसक्छ। अतः हामी प्रत्येकले आफैलाई यी प्रश्नहरू सोध्नुपर्छ: ‘के मलाई पनि त्यस्तै भइरहेको छ? के मैले मानसिक रूपमा स्थायी तुषार भूमि बन्न दिइरहेको छु? सिक्ने सम्बन्धमा मानसिक रूपमा म कतिको सजग र इच्छुक छु?’ हाम्रा इमान्दार उत्तरहरू प्रति हामी असन्तुष्ट छौं भने पनि हामी अहिले देखि नै ज्ञानमा बढ्दै जाने कदम उठाउन सक्छौं।
२१. यस अघि छलफल गरेका कुन कुन कदमहरूलाई तपाईं सभाहरूका लागि तयारी गर्दा र उपस्थित हुँदा प्रयोगमा ल्याउन सक्नु हुन्छ?
२१ हामी सबैले व्यक्तिगत रूपमा अनुच्छेद ८-मा दिइएका सुझावहरूलाई प्रयोगमा ल्याउन सक्छौं। जतिसुकै लामो समयदेखि मण्डलीसँग सङ्गत गर्दै आएको भए तापनि हामी सबै जना परिपक्वता र अझ बढी ज्ञानमा बढ्दै जानसक्छौं। कसै कसैको निम्ति यसको अर्थ अझ लगनशीलताकासाथ सभाहरूको तयारी गर्नु हुन सक्छ। शायद वर्षौंअघि पालन गरेको तर बीचमा बिस्तारै छुट्दै गएको बानीलाई फेरि सुरु गर्नु पर्न सक्छ। अध्ययनको तयारी गर्दा मुख्य बुँदाहरू के के हुन् भनेर निश्चित गर्ने र तर्कलाई समर्थन गर्न प्रयोग गरिएका अपरिचित शास्त्रपदहरूलाई बुझ्ने प्रयास गर्नुहोस्। अध्ययन विषय-वस्तुमा नयाँ दृष्टिकोण वा पक्षलाई खोज्नुहोस्। त्यस्तैगरि सभाको दौडान अनुच्छेद १० र ११-मा दिइएका सुझावहरूलाई प्रयोग गर्ने कोशिश गर्नुहोस्। मानो आफ्नो दिमागलाई तातो बनाइराख्ने कोशिश गरेझैं, मानसिक रूपमा सजग हुने प्रयास गर्नुहोस्। यसो गर्नाले “स्थायी तुषार भूमि” बन्न सक्ने कुनै पनि झुकावलाई त्यसले प्रभावहीन बनाइदिन्छ; र बितेका समयमा हाम्रो मानसिक स्थिति “जमेको” अवस्थामा थियो भने पनि यसप्रकारको सजग प्रयत्नले त्यसलाई पगाल्नेछ।—हितोपदेश ८:१२, ३२-३४.
ज्ञान, फलदायी हुने एउटा सहायता
२२. आफ्नो ज्ञान बढाउने काममा लाग्यौं भने हामीले के फाइदा उठाउनेछौं?
२२ हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाने काममा लाग्यौं भने हामी प्रत्येकले कसरी फाइदा उठाउनेछौं? सजग प्रयत्नका साथ हाम्रो मानसिक शक्तिलाई सतर्क र ज्ञान लिन तयार राख्यौं भने बाइबलका नयाँ र जटिल सत्य कुराहरूले तल गहिराइसम्म जरा गाड्नेछ र हाम्रो समझ बढेर स्थायी हुनेछ। विभिन्न प्रकारका हृदयका विषयमा येशूले भन्नुभएको एउटा भिन्दै दृष्टान्तसँग यो तुलना गर्न योग्य हुनेछ। (लूका ८:५-१२) असल माटोमा परेको बीउले फल फलाउने बिरुवालाई थाम्न बलिया जराहरू बढाउन सक्छन्।—मत्ती १३:८, २३.
२३. दोस्रो पत्रुस ३:१८-मा भनेको कुरालाई हृदयङ्गम गऱ्यौं भने के परिणामहरू हुनसक्छ? (कलस्सी १:९-१२)
२३ येशूको दृष्टान्त भिन्दै भए तापनि यसका असल नतिजाहरू भने पत्रुसले प्रतिज्ञा गरेका यी कुराहरूझैं थिए: “यही कारणले तिमीहरूले सबै किसिमका प्रयत्नले तिमीहरूका विश्वासमा सद्गुण, सद्गुणमा बुद्धि [ज्ञान न्यु व०] . . . थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्तसँग छन् भने हाम्रा प्रभु येशू ख्रीष्ट चिन्ने ज्ञानमा तिनीहरूले तिमीहरूलाई बेकम्मा र निष्फल तुल्याउनेछैनन्।” (२ पत्रुस १:५-८) हो, ज्ञानमा बढ्नाले हामीलाई फलदायी हुन मदत गर्नेछ। अझ बढी ज्ञानहरू लिनु हामीलाई अझ बढी आनन्ददायी लाग्नेछ। (हितोपदेश २:२-५) अरूहरूलाई चेला बनाउन सिकाउँदा आफूले सिकेका कुराहरूलाई तपाईं अझ राम्रोसँग सम्झन सक्नु हुनेछ र तपाईंको लागि उपयोगी हुनेछ। अतः यस तरिकाबाट पनि तपाईं अझ फलदायी हुनुहुनेछ र परमेश्वर र उहाँको पुत्रको महिमा गर्नुहुनेछ। अन्तमा पत्रुस यसो भन्दै आफ्नो दोस्रो पत्र टुङ्ग्याउँछन्: “हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्।”—२ पत्रुस ३:१८. (w93 8/15)
[फुटनोटहरू]
a “हाम्रो ज्ञानको वृद्धिलाई चन्द्रमाको विषयमा बढी जान्ने उत्सुक एक जना व्यक्तिले आफ्नो छानामा गएर चन्द्रमालाई नजिकबाट हेर्दा पाएको ज्ञानसित तुलना गर्न सकिन्छ।”
b यस परिच्छेदमा उल्लिखित पहिलो दुई गुण, विश्वास र सद्गुणलाई जुलाई १, १९९३-को अङ्कमा छलफल गरिएको थियो।
c निकै समयदेखि सच्चाइमा रहेका मसीहीहरूलाई पनि आफ्नो व्यक्तिगत अध्ययन र सभाहरूका तयारीहरूबाट अझ बढी फाइदा उठाउन यी सल्लाहरूलले मदत गर्नसक्छ।
के तपाईं सम्झन सक्नु हुन्छ?
▫ आफ्नो ज्ञान बढाउन तपाईं किन इच्छुक हुनुपर्छ?
▫ एक जना नयाँ बाइबल विद्यार्थीले आफ्नो अध्ययनबाट अझ बढी फाइदा कसरी उठाउन सक्छ?
▫ स्थायी तुषार भूमिले चित्रित गरे झैं कुन चाहिं खतरादेखि तपाईं टाढा बस्न चाहनु हुनेछ?
▫ ज्ञान बढाउने तपाईंको क्षमतामा उन्नति गर्न तपाईं किन सङ्कल्पित हुनुपर्छ?
[पृष्ठ २३-मा भएको चित्र]
मानसिक तवरमा के म स्थायी तुषार भूमि जस्तै भएको छु?