जीवनतर्फ डोऱ्याउने सही ज्ञान हासिल गर्न अरूलाई मदत गर्नुहोस्
१ ‘सबै मानिसहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा परमेश्वर गर्नुहुन्छ’ भनेर प्रेरित पावलले व्याख्या गरे। (१ तिमो. २:४) हामी अरूलाई कसरी त्यो ज्ञान लिन मदत गर्नसक्छौं? त्यसो गर्ने एउटा तरिका, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकप्रति चासो देखाएका मानिसहरूसित पुनःभेट गर्नु हो। यस प्रकाशनले बाइबल सच्चाइलाई स्पष्ट, सरल र मीठा शब्दहरूमा प्रस्तुत गरेको छ। यसलाई अध्ययन गर्ने सबै मानिसहरूलाई जीवनतर्फ डोऱ्याउन सकिन्छ। अरूलाई हामीसित यो पुस्तक अध्ययन गर्ने इच्छा जगाउन हामी के भन्नसक्छौं?
२ बाइबललाई व्यवहारिक निर्देशनको रूपमा प्रस्तुत गर्नुभएको ठाउँमा फर्केर जाँदा यसो भन्दै अध्ययन गर्ने सुझाउ राख्न सक्नुहुन्छ:
▪“अघिल्लो पटक तपाईंकहाँ आउँदा बाइबललाई व्यवहारिक निर्देशनको स्रोत भनेर विश्वास गर्नसक्छौं भन्नेबारे छलफल गरेका थियौं। बाइबल आफैले यो परमेश्वरद्वारा प्रेरित भएको हो भन्ने दाबी गर्छ। त्यसैकारण यो सान्त्वना र आशाको पक्का स्रोत हो भनेर त्यसका लेखकहरूमध्ये एक जनाले स्वीकारे। [रोमी १५:४ पढ्नुहोस्।] हाम्रो वार्तालापको अन्तमा मैले एउटा प्रश्न राखेको थिएँ। त्यो थियो, बाइबलमा पाइने ज्ञानबाट हामीले व्यक्तिगत तवरमा कसरी फाइदा उठाउनसक्छौं?” ज्ञान पुस्तकको पृष्ठ ११ अनुच्छेद १८ पढ्नुहोस्। विश्वभरि यहोवाका साक्षीहरूले लगभग ५० लाख बाइबल अध्ययनहरू सञ्चालन गरेर चारैतिरका मानिसहरूलाई अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान लिन मदत गरिरहेका कुरा औंल्याउनुहोस्। अध्याय १ का प्रथम पाँच अनुच्छेदहरू प्रयोग गर्दै अध्ययन कसरी सञ्चालन गरिन्छ छोटकरीमा देखाउनुहोस्।
३ पहिलो भेटमा तपाईंले प्रार्थनाको विषयमा छलफल गर्नुभएको थियो भने अध्ययन सुरु गर्न तपाईंले यो प्रस्तुति प्रयोग गर्न सक्नुहुन्छ:
▪“ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकमा हामीले प्रार्थनाबारे छलफल गरेको जानकारीबाट तपाईंले आनन्द उठाउनुभयो होला भन्ने आशा गरेको छु। परमेश्वरलाई प्रार्थना गर्नेहरूले उहाँको कुरा कसरी सुन्नसक्छन्, यस विषयमा तपाईंसित छलफल गर्नेछु भनेर मैले तपाईंलाई वचन पनि दिएको थिएँ। पृष्ठ १५८ मा के भनिएको छ, यसो ध्यान दिनुहोस् त। [अनुच्छेद १८ पढ्नुहोस्।] यसरी व्यक्तिगत बाइबल अध्ययनद्वारा परमेश्वरले हामीलाई के भन्दै हुनुहुन्छ त्यो हामी सुनिरहेका हुन्छौं। यसो गर्नाले हामी उहाँसित घनिष्ठ हुन्छौं र दैनिक जीवनमा आइपर्ने समस्याहरू समाधान गर्ने मदत पाऊँ भनी उहाँलाई गरेको प्रार्थनाको जवाफ पाउँछौं। तपाईंसित बाइबल अध्ययन गर्न म खुशी हुनेछु।” त्यस व्यक्ति इच्छुक छन् भने ज्ञान पुस्तकको पहिलो अध्यायबाट छलफल थाल्नुहोस्।
४ तपाईंले सोझै अध्ययन सञ्चालन गर्ने प्रस्ताव राख्नुभएको थियो भने, प्रथम पटकको त्यस वार्तालापलाई कायम राख्न यस्तै केही भन्न सक्नुहुन्छ:
▪“तपाईंलाई फेरि भेट्न मैले विशेष यत्न गरेको छु। किनकि म तपाईंलाई हाम्रो निश्शुल्क गृह बाइबल अध्ययन कार्यक्रमबारे अझ धेरै कुरा बताउन चाहन्थें। ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ शीर्षक भएको यस पुस्तकको एक प्रति मैले तपाईंसित छाडेको थिएँ। हामी यसै पुस्तकबाट बाइबल अध्ययन गर्छौं। यसले परमेश्वरको वचनमा मनन गर्न कसरी प्रोत्साहित गर्छ यहाँ हेर्नुहोस् त। [पृष्ठ २२ को अनुच्छेद २३ पढ्नुहोस्।] कृपया तपाईंले लिनुभएको यस्तै पुस्तक ल्याउनुहोस् न। अघिल्लो पटक हामीले जहाँसम्म पढेका थियौं त्यहींबाट अध्ययन थाले कसो होला?” पहिलो भेटमा अध्ययन थालिएको थिएन भने, तपाईं यसो भन्न सक्नुहुन्छ: “हामी कसरी बाइबल अध्ययन गर्छौं, तपाईंलाई त्यो देखाउने राम्रो मौका आजै हुनसक्छ।” केही अनुच्छेदहरू पढिसकेपछि फेरि आएर अर्को अध्ययन गर्न निश्चित समय मिलाउनुहोस्।
५ अरूले पनि आशिष् पाऊन् भन्ने हेतुले प्रभावकारी रूपमा सही ज्ञान फैलाउन ज्ञान पुस्तकले हामीलाई बल दिनेछ। (हितो. १५:७) सही हृदय भएकाहरूलाई यस्तो ज्ञानले आनन्द दिनेछ र यहोवाको धार्मिक स्तरअनुरूप जीवन बिताउन तिनीहरूलाई उत्प्रेरणा दिनेछ अनि अन्तमा अनन्त जीवनतर्फ डोऱ्याउनेछ।