प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 १०/१ pp. २३-२७
  • प्रेम (अगापे) के होइन र के हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेम (अगापे) के होइन र के हो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रेम के होइन
  • प्रेम अरू के के होइन
  • प्रेम के हो
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
  • “यिनमा सर्वोत्तम चाहिं प्रेम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • प्रेम—एउटा अनमोल गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 १०/१ pp. २३-२७

प्रेम (अगापे) के होइन र के हो

“तिमीहरूका . . . भ्रातृस्नेहमा प्रेम थप।”—२ पत्रुस १:५, ७.

१. (क) बाइबलले कुन गुणलाई प्राधान्यता दिएको छ? (ख) कुन चारवटा युनानी शब्दहरूलाई प्रायः “प्रेम” भनेर अनुवाद गरिन्छ र १ यूहन्‍ना ४:८-मा कुन चाहिंको उल्लेख गरिएको छ?

परमेश्‍वरको वचन, बाइबलले कुनै गुण वा सद्‌गुणलाई प्राधान्यता दिएको छ भने, त्यो हो प्रेम। मसीही शास्त्रको मूल भाषा अर्थात्‌ युनानीमा चार वटा शब्दहरू छन्‌ जसलाई प्रायः “प्रेम” भनी अनुवाद गरिन्छ। तर अहिले हामीले विचार गर्न लागेको प्रेम, लैङ्‌गिक आकर्षणमा आधारित इरोस होइन (जसको उल्लेख मसीही युनानी शास्त्रमा पाइँदैन); रगतको नातामा आधारित भावना स्टोर्जे पनि होइन; न अघिल्लो लेखमा पढेको न्यानो मित्रैलो प्रेम फिलिया नै हो, जुन आपसी सम्मान (श्रद्धा) मा आधारित हुन्छ। हामीले विचार गर्न लागेको त्यो प्रेम अगापे हो अर्थात्‌ सिद्धान्तमा आधारित प्रेम, जसलाई निस्वार्थताको समानार्थक भन्‍न सकिन्छ। “परमेश्‍वर प्रेम हुनुहुन्छ” भन्दा यूहन्‍नाले यही प्रेमको उल्लेख गरेका थिए।—१ यूहन्‍ना ४:८.

२. प्रेम (अगापे) को सम्बन्धमा कुन सही कुरा भनिएको छ?

२ यस प्रेमको (अगापे) सम्बन्धमा प्रोफेसर विलियम बार्कले आफ्नो पुस्तक न्यु टेष्टामेन्ट वर्ड्‌स-मा यसो भन्छन्‌: “अगापे-को सम्बन्ध मन-सँग छ: यो हाम्रो मनमा चालै नपाइकन आउने भावना मात्र होइन [जुन फिलिया-मा हुनसक्छ]; यो त्यस्तो सिद्धान्त हो जस अनुरूप हामी स्वेच्छापूर्वक बाँच्दछौं। अगापे-को सम्बन्ध मुख्यतः इच्छा-सँग छ। यो विजय, जित र उपलब्धि हो। कसैले आफ्नो शत्रुलाई स्वभावतः प्रेम गरेको छैन। आफ्नो शत्रुलाई प्रेम गर्नु आफ्नो स्वाभाविक झुकाव र भावनाहरूमाथि विजयी हुनु हो। वास्तवमा अगापे . . . अप्रियलाई प्रेम गर्ने अर्थात्‌ आफूलाई मन नपरेको व्यक्‍तिलाई प्रेम गर्ने शक्‍ति हो।”

३. येशू ख्रीष्ट र पावलले प्रेममा के जोड दिए?

३ हो, अरू किसिमका उपासना र यहोवा परमेश्‍वरको शुद्ध उपासनाबीचको एउटा भिन्‍नता त्यस प्रकारको प्रेमलाई दिइने महत्त्व पनि हो। येशूले औचित्यकासाथ सबैभन्दा ठूलो दुईवटा आज्ञाहरू बताउनुभयो: “पहिलो चाहिं . . . ‘तैंले [यहोवा न्यु व०] आफ्ना परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर।’ दोस्रो चाहिं यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूलो आज्ञा अरू छैन।” (मर्कूस १२:२९-३१) पहिला कोरिन्थीको १३वौं अध्यायमा प्रेरित पावलले प्रेममाथि यस्तै जोड दिए। प्रेम प्रमुख अपरिहार्य गुण हो भनेर जोड दिइसकेपछि, तिनले अन्तमा यसो भने: “विश्‍वास, आशा, प्रेम यी तीन रहन्छन्‌, र यिनमा सर्वोत्तम चाहिं प्रेम हो।” (१ कोरिन्थी १३:१३) आफ्नो अनुयायीहरूको परिचय गराउने चिन्ह प्रेम हुनेछ भनेर येशूले औचित्यकासाथ भन्‍नुभयो।—यूहन्‍ना १३:३५.

प्रेम के होइन

४. पावलले १ कोरिन्थी १३:४-८ मा प्रेमको कतिवटा नकारात्मक र सकारात्मक पक्षहरूको उल्लेख गरेका छन्‌?

४ भनिन्छ, प्रेम के हो भन्‍नु भन्दा, के होइन भन्‍नु सजिलो छ। यसमा केही सार्थकता देखिन्छ, किनभने प्रेरित पावलले १ कोरिन्थी अध्याय १३-को पद ४ देखि ८-मा प्रेम के होइन भनेर नौवटा र के हो भनेर सातवटा कुराहरू बताएका छन्‌।

५. “डाह”-लाई कसरी परिभाषित गरिएको छ र त्यसलाई शास्त्रमा सकारात्मक अर्थमा कसरी प्रयोग गरिएको छ?

५ प्रेम के होइन भन्‍ने कुराको थालनीमा, प्रेमले “डाह गर्दैन” भनेर पावल भन्छन्‌। डाहको नकारात्मक र सकारात्मक दुवै पक्ष हुने भएकोले यसका लागि छोटो स्पष्टिकरणको जरुरत पर्छ। एउटा शब्दकोशले “डाह”-लाई “प्रतिद्वन्दलाई सहन नसक्नु” र “ऐकान्तिक भक्‍तिको माग गर्नु” भनेर परिभाषित गर्दछ। यसकारण प्रस्थान ३४:१४-मा मोशाले भने: “तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु [यहोवा न्यु व०] जसको नाउँ डाही हो, डाही परमेश्‍वर हुनुहुन्छ।” प्रस्थान २०:५-मा यहोवा यसो भन्‍नुहुन्छ: “म यहोवा, तेरा परमेश्‍वर, ऐकान्तिक भक्‍तिको माग गर्ने परमेश्‍वर हुँ [न्यु व०]।” यस्तैगरि, प्रेरित पावलले पनि लेखे: “ईश्‍वरीय डाहले म तिमीहरूमाथि डाही भएको छु।”—२ कोरिन्थी ११:२.

६. प्रेम डाही हुँदैन भन्‍ने कुरालाई कुन शास्त्रीय उदाहरणले देखाउँछ?

६ तथापि, धेर थोर “डाह”-को नराम्रो अर्थ पनि छ। यही कारणले गर्दा गलाती ५:२०-मा यसलाई शरीरको कामहरू अन्तर्गत सूचिबद्ध गरिएको छ। हो, त्यस प्रकारको डाह स्वार्थी हुन्छ अनि त्यसले घृणा उत्पन्‍न गराउँछ र घृणा प्रेमको विपरीत हो। डाहले गर्दा नै कयिनले हाबिलको हत्या गऱ्‍यो। युसूफका दस जना सौतेलो भाइहरूले डाहकै कारण तिनलाई घृणा गरे र हत्या समेत गर्न खोजे। प्रेम डाहले फुल्दै अरूहरूको सम्पत्ति वा उन्‍नतीहरूको आरिस गर्दैन, जस्तो राजा आहाबले डाही भएर नाबोतको दाखबारीको आरिस गरेथे।—१ राजा २१:१-१९.

७. (क) सेखी गर्नेसित यहोवा अप्रसन्‍न हुनुहुन्छ भन्‍ने कुरालाई कुन घटनाले देखाउँछ? (ख) किन प्रेमले विचारै नुपऱ्‍याइकन पनि सेखी गर्दैन?

७ त्यसपछि पावल प्रेमले “आफै सेखी गर्दैन” भनेर भन्छन्‌। सेखी गर्नुले प्रेमको कमीलाई देखाउँछ किनभने त्यसले आफूलाई अरू व्यक्‍तिहरूभन्दा माथि राख्न उस्काउँछ। सेखी गर्ने व्यक्‍तिहरूदेखि यहोवा अप्रसन्‍न हुनुहुन्छ। राजा नबूकदनेसरले सेखी गर्दा उहाँले जुन तरिकाले तिनलाई नम्र तुल्याउनु भयो त्यसबाट यो कुरा स्पष्ट देखिन्छ। (दानियल ४:३०-३५) आफ्नो सफलता वा सम्पत्तिसँग अत्यधिक प्रसन्‍न हुनाकारण प्रायः विचारै नपुऱ्‍याइकन सेखी गरिन्छ। केही व्यक्‍तिहरू मसीही सेवकाईमा आफूले पाएको सफलताको धक्कु लगाउने खालका हुनसक्छन्‌। अरूहरू चाहिं, त्यस प्राचीन जस्तै हुन्छन्‌ जो अरूहरूलाई आफूले ५०,००० हजार डलर जाने नयाँ गाडी किनेको खबर नदिइ चित्त बुझाउँदैन। यी सबै अप्रिय कुराहरू हुन्‌ किनभने त्यसले सेखी गर्ने व्यक्‍तिलाई तिनको कुरा सुन्‍नेहरूभन्दा ठूलो बनाउँछ।

८. (क) घमण्डले फुल्ने व्यक्‍तिहरूप्रति यहोवाको मनोवृत्ति कस्तो छ? (ख) प्रेमले त्यस्तो व्यवहार किन देखाउँदैन?

८ हामीलाई त्यसपछि प्रेम “घमण्डले फुल्दैन” भनेर भनिएको छ। घमण्डले फुल्ने वा अभिमानी व्यक्‍तिले अरूहरूको ख्यालै नगरि आफूलाई अरूहरूभन्दा ठूलो बनाउँछ। यस प्रकारको मनोवृत्ति राख्नु साह्रै नै अव्यावहारिक हो किनभने “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (याकूब ४:६) प्रेम यसको ठीक विपरीत चल्दछ; त्यसले अरूहरूलाई श्रेष्ठ ठान्दछ। यस सम्बन्धमा पावलले फिलिप्पी २:२, ३ मा यसरी लेखे: “तिमीहरू एउटै मनका होओ, एउटै प्रेम राखेर, एउटै चित्तका भएर, एउटै कुरामा मन लाएर मेरो आनन्द पूरा गर। विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर।” यस्तो मनोवृत्ति सामु अरूहरू आराम महसुस गर्छन्‌ भने अभिमानी व्यक्‍तिको विरोधी प्रवृत्तिले गर्दा अरूहरू अप्ठ्यारो महसुस गर्छन्‌।

९. प्रेम बेकायदासाथ किन चल्दैन?

९ यसबाहेक पावल भन्छन्‌ कि प्रेम “बेकायदासाथ चल्दैन।” “बेकायदा” भन्‍ने शब्दलाई शब्दकोशले “शिष्टता वा नैतिकताको अति नै असङ्‌गत वा अपमानजनक कुरा” भनेर परिभाषित गर्दछ। बेकायदासाथ चल्ने (अप्रिय व्यवहार गर्ने) व्यक्‍तिले अरूहरूको भावनालाई ख्याल गर्दैन। यस अर्थ बुझाउने युनानी शब्दलाई निकै बाइबल संस्करणहरूले “कठोर” भनी अनुवाद गर्छन्‌। त्यस्तो व्यक्‍तिले उचित र ठीक मानिएका कुराहरूको अनादर गर्छ। निश्‍चय नै, अरूहरूप्रति प्रेमपूर्ण ढङ्‌गले विचार पुऱ्‍याउनुको अर्थ कठोर वा बेकायदाका कुराहरू, अरूहरूलाई ठेस पुऱ्‍याउने र स्तब्ध पार्न सक्ने वचनहरूदेखि टाढा बस्नु हो।

प्रेम अरू के के होइन

१०. कुन तरिकामा प्रेम आफ्नै भलाइ खोज्दैन?

१० त्यसपछि हामीलाई प्रेमले “आफ्नै भलाइ खोज्दैन” भनेर भनिएको छ। जब आफ्नो र अरूहरूको व्यक्‍तिगत इच्छाको कुरा आउँछ तब यो लागू हुँदछ। अर्को ठाउँमा प्रेरित फेरि यसो भन्छन्‌: “कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर . . . त्यसको पालन पोषण गर्दछ।” (एफिसी ५:२९) यद्यपि, हाम्रो इच्छा अरूहरूको इच्छासँग जुध्छ र बाइबलको अरू सिद्धान्त मुछिएको छैन भने हामीले अब्राहमले लूतसँग गरेझैं, प्रेमपूर्ण ढङ्‌गले अरूहरूलाई नै पहिलो मौका दिनुपर्छ।—उत्पत्ति १३:८-११.

११. प्रेम रिसाउँदैन भन्‍नुको अर्थ के हो?

११ प्रेमले तुरुन्तै आफ्नो चित्त दुखाउँदैन। अतः पावल हामीलाई भन्छन्‌ कि प्रेम “रिसाउँदैन।” प्रेम अनावश्‍यक रूपमा संवेदनशील हुँदैन। त्यसले आत्मसंयम देखाउँछ। विशेषतः विवाहित दम्पतीले यस सल्लाहलाई हृदयङ्‌गम गर्नुपर्छ र एकअर्कासँग स्वर उचाल्दै कराउनु वा चिच्याउनुदेखि टाढा बस्नु पर्छ। तर सजिलै रिसाउन सकिने परिस्थितिहरू पनि छन्‌ त्यसैकारण त पावलले तिमोथीलाई यो सल्लाह दिनुपर्ने आवश्‍यकता महसुस गरे: “प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला, सिकाउनसक्ने, सहनशील”—रिसाउने होइन—“आपसमा विरोध गर्नेहरूलाई नम्रसँग सच्याउने हुनुपर्छ।”—२ तिमोथी २:२४, २५.

१२. (क) प्रेमले कसरी खराबीको वास्ता गर्दैन? (ख) खराबीको वास्ता गर्नु किन अव्यावहारिक कुरा हो?

१२ प्रेम के के होइन भन्‍ने कुरालाई अघि बढाउँदै पावल सल्लाह दिन्छन्‌: “प्रेमले . . . खराबीको वास्ता गर्दैन।” यसको अर्थ प्रेमले खराबीको ख्यालै गर्दैन भनेको होइन। हामीलाई कसैले गम्भीर खराबी गरेमा के गर्नुपर्छ भनेर येशूले देखाउनुभयो। (मत्ती १८:१५-१७) तर प्रेमले अरूहरूप्रति कुँढिने र कटु भावना राखी रहने छुट हामीलाई दिंदैन। खराबीको वास्ता नगर्नुको अर्थ, कुनै पनि समस्यालाई एकपटक शास्त्रीय ढङ्‌गमा समाधान गरिसकेपछि त्यसलाई माफी दिनु र बिर्सनु हो। हो, खराबीको वास्ता नगर्नुहोस्‌, गलतीहरू सम्झी सम्झीकन आफैलाई नकोस्नुहोस्‌ वा आफैलाई दुःखी नबनाउनुहोस्‌!

१३. अधर्ममा खुशी नहुनु भन्‍नुको अर्थ के हो र प्रेमले त्यसो किन गर्दैन?

१३ यस बाहेक, प्रेम “अधर्ममा खुशी हुँदैन” भनेर पनि हामीलाई भनिएको छ। यो संसार अधर्ममा खुशी हुन्छ। हिंसा र अश्‍लिलता भरिएको साहित्य, चलचित्र र टिभी कार्यक्रमहरूले पाएको ख्यातिबाट यो कुरा स्पष्ट देखिन्छ। यस प्रकारका सबै मोजमज्जा स्वार्थीपना हो र त्यसले परमेश्‍वरका धार्मिक सिद्धान्तहरू अथवा अरूहरूको हितको कुनै ख्याल राख्दैन। त्यस प्रकारका स्वार्थी मोजमज्जाहरूमा लाग्नु शरीरको लागि रोप्नु हो, जसले समयमा शरीरैबाट विनाशको कटनी गर्नेछ।—गलाती ६:८.

१४. प्रेम कहिल्यै टल्दैन भनेर निर्धक्कसाथ किन भन्‍न सकिन्छ?

१४ अब अन्त्यमा प्रेमले नगर्ने अन्तिम कुरा: “प्रेम कहिल्यै टल्दैन।” प्रेम कहिल्यै नटल्नु वा अन्त नहुनुको एउटा कारण परमेश्‍वर प्रेम र ‘अनन्तको राजा’ हुनुभएकोले हो। (१ तिमोथी १:१७) हामीप्रति यहोवाको प्रेम कहिल्यै टल्नेछैन भनेर रोमी ८:३८, ३९-ले हामीलाई यो आश्‍वासन दिन्छ: “म यो निश्‍चय जान्दछु, कि नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानका कुराहरूले, न पछि हुने कुराहरूले, न शक्‍तिहरूले, न उँचाइले, न गहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।” प्रेम कहिल्यै नटल्नुको अर्को कारण प्रेममा कहिल्यै कुनै कुराको कमी नहुनु पनि हो। प्रेम हर अवसर र चुनौतीको माग पूरा गर्न सक्षम छ।

प्रेम के हो

१५. प्रेमको सकारात्मक पक्षको अग्रपङ्‌कतिमा पावलले आत्मसंयमलाई किन राख्छन्‌?

१५ त्यसपछि प्रेमको सकारात्मक पक्षमा, प्रेम के हो भनेर पावल बताउन सुरु गर्छन्‌: “प्रेम धीरजी हुन्छ।” भनिन्छ, धीरज अर्थात्‌ एक अर्कालाई धैर्यपूर्वक सहने प्रवृत्ति बिना मसीही सङ्‌गति सम्भव हुनै सक्‍तैन। हामी सबै नै असिद्ध र हाम्रो असिद्धता र कमजोरी अरूहरूको निम्ति एउटा चुनौती भएको हुँदा हामीलाई धीरजको खाँचो भएको हो। नभन्दै प्रेरित पावल यस पक्षलाई प्रेम के हो भन्‍ने कुराको अग्रपङक्‍तिमा राख्छन्‌!

१६. परिवारका सदस्यहरूले कुन कुन तरिकामा एकअर्काप्रति दया देखाउन सक्छन्‌?

१६ प्रेम “दयालु” पनि हुन्छ भनेर पावल भन्छन्‌। अर्थात्‌, प्रेम अरूहरूप्रति मदतकारी, विचारशील र सहानुभूतिशील हुन्छ। दया भन्‍ने कुरा सानो, ठूलो दुवै कुरामा प्रकट हुन्छ। डाँकुहरूले बाटोमा मिल्काएर गएको त्यस मानिसलाई निश्‍चय नै त्यस कृपालु सामरीले दया देखाइरहेका थिए। (लूका १०:३०-३७) प्रेम “कृपया” भन्‍न मन पराउँछ। “रोटी देऊ” भन्‍नु आज्ञा दिनु हो। तर त्यसको अगाडि “कृपया” जोडिदिंदा त्यो एउटा आग्रह बन्‍न जान्छ। पहिलो पत्रुस ३:७-मा दिएको सल्लाहलाई पालन गर्दा पतिहरू आफ्नी पत्नीहरूतर्फ दयालु हुन्छन्‌। त्यहाँ यसो भनिएको छ: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्‌।” त्यस्तैगरि पतिहरूलाई “गहिरो आदर” देखाउँदा पत्नीहरू आफ्ना पतिहरूतर्फ दयालु हुन्छन्‌। (एफिसी ५:३३ न्यु व०) बाबुहरूले एफिसी ६:४-को सल्लाहलाई पालन गर्दा आफ्ना छोराछोरीहरूप्रति दयालु हुन्छन्‌। त्यहाँ भनिएको छ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेतावनीमा पालन-पोषण गर।”

१७. सत्यसँग प्रेम खुशी हुने दुई तरिकाहरू के के हुन्‌?

१७ प्रेम अधर्ममा होइन “सत्यमा खुशी हुन्छ।” प्रेम र सत्य एकआपसमा अविछिन्‍न छन्‌—परमेश्‍वर प्रेम हुनुहुन्छ तर सँगसँगै उहाँ “सत्य परमेश्‍वर” पनि हुनुहुन्छ। (भजनसंग्रह ३१:५) झूटलाई पर्दाफास गरेको र त्यसमाथि सत्य विजयी भएको हेर्न पाउँदा प्रेम रमाउँछ; आज यहोवाका उपासकहरू बीच भइरहेको ठूलो वृद्धिमा यस कुराले केही हदसम्म ठूलो भूमिका खेलेको छ। तथापि, सत्यलाई अधर्मसँग तुलना गरिएको हुँदा शायद त्यसको अर्थ प्रेम धार्मिकतामा रमाउँछ भन्‍ने पनि हुनसक्छ। प्रेम, धार्मिकताको विजयमा रमाउँछ, जस्तो यहोवाका उपासक- हरूलाई पनि महान बेबिलोनको पतनमा खुशी मनाउन आज्ञा गरिएको छ।—प्रकाश १८:२०.

१८. कुन अर्थमा प्रेमले सबै कुरा सहन्छ?

१८ प्रेमले “सबै कुरा सहन्छ” भनेर पनि पावल भन्छन्‌। किङ्‌गडम इन्टरलिनियर-अनुसार, त्यसको अर्थ प्रेमले सबै कुरालाई ढाक्दछ। दुष्ट मानिसहरू जस्तो ‘भाइको विरुद्धमा बोल्न’ प्रेम उत्सुक हुँदैन। (भजनसंग्रह ५०:२०; हितोपदेश १०:१२; १७:९) हो, यहाँ भन्‍न खोजिएको कुरा, १ पत्रुस ४:८-मा भनिएको यस कुरासँग मिल्दछ: “प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।” तर यहोवा र मसीही मण्डलीको विरुद्धमा गरिएको गम्भीर पापहरूलाई ढाकछोप गर्न देखि एक जना व्यक्‍तिलाई निश्‍चय नै उसको निष्ठाले रोक्नेछ।

१९. प्रेमले कसरी सबै कुराको पत्यार गर्छ?

१९ प्रेमले “सबै कुराको पत्यार गर्छ।” प्रेम नकारात्मक होइन सकारात्मक हुन्छ। तर यसले प्रेम एकदम सुधो हुन्छ भन्‍न खोजेको होइन। अरूहरूले भनेको सनसनीपूर्ण कुराहरूलाई त्यसले तुरुन्तै पत्यार गरिहाल्दैन। तर परमेश्‍वरमाथि भरोसा गर्नका लागि विश्‍वास गर्ने इच्छा पनि हुनुपर्छ। अतः प्रेम शङ्‌कालु वा अनावश्‍यक रूपमा आलोचक हुँदैन। हठधर्मी भएर परमेश्‍वर छैन भन्‍ने नास्तिकले झैं प्रेमले विश्‍वास गर्नदेखि इन्कार गर्दैन नता अज्ञेयवादी जस्तो नै त्यो छ, जो हामीहरू कहाँबाट आएका हौं, यहाँ किन छौं र भविष्य कस्तो हुनेछ भन्‍ने कुरा जान्‍नु असम्भव छ भनेर हठधर्मीकासाथ दावा गर्छन्‌। तर परमेश्‍वरको वचनले भने ती सबै कुराहरूको आश्‍वासन दिन्छ। प्रेम विश्‍वास गर्न तयार हुन्छ किनभने त्यसले अरूहरूमाथि भरोसा गर्दछ र अनावश्‍यक रूपमा शङ्‌कालु हुँदैन।

२०. प्रेमलाई कसरी आशासँग जोडिएको छ?

२० प्रेरित पावल हामीलाई अझै आश्‍वासन दिंदै प्रेमले “सबै कुराको आशा गर्छ” भनी भन्छन्‌। प्रेम नकारात्मक नभइ सकारात्मक भएको कारण परमेश्‍वरको वचनले प्रतिज्ञा गरेका सबै कुरा माथि त्यसको दृढ आशा हुन्छ। हामीलाई यसो भनिएको छ: “जोत्नेले आशामा जोत्नुपर्छ, र अन्‍न चुट्‌नेले हिस्सा पाउने आशामा चुट्‌नुपर्छ।” (१ कोरिन्थी ९:१०) प्रेम भरोसाले भरिएको हुन्छ र त्यो आशावादी पनि हुन्छ, त्यसले सधैं उत्तम कुराको आशा गर्छ।

२१. प्रेम सबै कुरामा स्थिर रहन्छ भन्‍ने बारे कुन शास्त्रीय आश्‍वासन छ?

२१ अन्तमा, प्रेम “सबै कुरामा स्थिर रहन्छ” भनेर हामीलाई आश्‍वासन दिइएको छ। प्रेम सबै कुरामा स्थिर रहन सक्नुको कारण प्रेरित पावल १ कोरिन्थी १०:१३-मा यसरी बताउँछन्‌: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” शास्त्रमा उल्लिखित धीरजवान व्यक्‍तिहरूको उदाहरणलाई विचार गर्न प्रेमले हामीलाई उत्प्रेरित गर्नेछ। जसमध्ये येशू ख्रीष्ट सबै भन्दा महान उदाहरण हुनुहुन्छ। र यस सम्बन्धमा हामीलाई हिब्रू १२:२, ३-मा सम्झना दिलाइएको छ।

२२. परमेश्‍वरको सन्तानको हैसियतमा कुन चाहिं सर्वश्रेष्ठ गुणलाई प्रकट गर्न हामी इच्छुक हुनुपर्छ?

२२ साँच्चै नै प्रेम (अगापे), यहोवाका साक्षीहरूले मसीहीको रूपमा खेती गर्नुपर्ने सर्वश्रेष्ठ गुण हो। र यसमा प्रेम के हो र के होइन भन्‍ने दुवै पक्षहरू समावेश छन्‌। परमेश्‍वरको सन्तानको हैसियतमा हामी पवित्र आत्माको यस गुणलाई प्रकट गर्न सधैं इच्छुक होऔं। त्यसो गर्नु परमेश्‍वर जस्तै हुनु हो किनभने “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (w93 10/15)

के तपाईंलाई याद छ?

▫ येशू ख्रीष्ट र पावलले प्रेमको प्राधान्यतालाई कसरी देखाउँछन्‌?

▫ कुन अर्थमा प्रेम डाही हुँदैन?

▫ प्रेमले कसरी ‘सबै कुरा सहन्छ’?

▫ प्रेम कहिल्यै टल्दैन भनेर किन भन्‍न सकिन्छ?

▫ कुन दुई तरिकामा प्रेम सत्यमा खुशी हुन्छ?

[पृष्ठ २७-मा भएको पेटी]

प्रेम (अगापे)

के होइन के हो

१. डाह गर्दैन १. आत्मसंयम

२. सेखी गर्दैन २. दयालु

३. घमण्डले फुल्दैन ३. सत्यमा खुशी हुन्छ

४. बेकायदासाथ चल्दैन ४. सबै कुरा सहन्छ

५. आफ्नै भलाइ खोज्दैन ५. सबै कुराको पत्यार गर्छ

६. रिसाउँदैन ६. सबै कुराको आशा गर्छ

७. खराबीको वास्ता गर्दैन ७. सबै कुरामा स्थिर रहन्छ

८. अधर्ममा खुशी हुँदैन

९. कहिल्यै टल्दैन

[पृष्ठ २४-मा भएको चित्र]

सेखी गर्ने नबूकदनेसरलाई यहोवाले नम्र बनाउनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने