पर्खन सिक्नुको समस्या
आफूले चाहेको कुरा पाउन पर्खनु, शायद हामी मानवजातिलाई स्वीकार्नु अति नै कठिन लागेका पाठहरूमध्ये एक होला। साना केटाकेटीहरू स्वाभाविकता अधीर हुन्छन्। आफ्नो आँखाले देखे जति कुरा तिनीहरूलाई चाहिन्छ, त्यो पनि तुरुन्तै! तर आफ्नो वर्षौंको अनुभवबाट तपाईंलाई थाह नै होला, आफूले भने जस्तो कुरा नपाउनु जीवनको अकाट्य सत्य हो। स्वाभाविक इच्छाहरूलाई पूरा गर्न मात्र पनि उपयुक्त समयका लागि पर्खन सिक्नु पर्ने हुन्छ। धेरैले यस पाठलाई सिक्छन्; अरूहरू भने जस्ताको त्यस्तै रहन्छन्।
ईश्वरीय अनुमोदन प्राप्त गर्न चाहने मानिसहरूका लागि पर्खन सिक्नु पर्ने विशेष कारणहरू छन्। यहोवाको मसीही-पूर्व सेवक, यर्मियाले यस कुरामाथि यसरी जोड दिए: “चूपचाप परमप्रभुको उद्धारको बाटो हेर्न, मानिसहरूलाई असल हुन्छ।” पछि, मसीही चेला याकूबले यसो भने: “यसकारण हे भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर।”—विलाप ३:२६; याकूब ५:७.
यहोवासँग आफ्ना ईश्वरीय उद्देश्यहरू पूरा गर्ने आफ्नै समय तालिका छ। कुनै निश्चित कुरालाई पूरा गर्ने उहाँको समय नआउञ्जेल हामीले पर्खन सकेनौं भने, हामी असन्तुष्ट अनि खिन्न हुनसक्छौं र त्यसले हाम्रो आनन्दलाई धमिल्याउनेछ। आनन्द बिना परमेश्वरको एक जना सेवक आध्यात्मिक तवरमा कमजोर हुनेछ, जस्तो नहेम्याहले आफ्नो देशवासीलाई यसो भने: “परमप्रभुको आनन्दनै तिमीहरूको बल हो।”—नहेम्याह ८:१०.
पर्खन सिक्नुको बुद्धिमत्ता
अविवाहित व्यक्तिहरूले विवाह गर्न चाहनु वा निस्सन्तान दम्पतीहरूले सन्तान पाउन चाहनु स्वाभाविक इच्छा हो। त्यस्तैगरि उचित भौतिक आवश्यकताहरू वा इच्छाहरू पूरा गर्न चाहनु पनि कुनै नराम्रो कुरो होइन। यद्यपि, यस रीतिरिवाजको समय कम भएको र चाँडै नै परमेश्वरले आउँदै गरेको नया रीतिरिवाजमा ‘आफ्नो मुठी खोलेर सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुनेछ’ भन्ने कुरामाथि विश्वास भएको हुँदा धेरै मसीहीहरूले आफ्ना केही भौतिक इच्छाहरूलाई अझ उपयुक्त समयमा पूरा गर्ने निर्णय गरेका छन्।—भजनसंग्रह १४५:१६.
तथापि, यसप्रकारको दृढ मसीही आशा नभएकाहरूले भने त्यसरी स्थगित गर्नु पर्ने कुनै कारण देख्दैनन्। “हरेक असल दान र हरेक उत्तम वरदान” दिनुहुने यहोवामाथि विश्वास नभएको हुँदा आफूलाई आशङ्का लागेका कुराहरूलाई झन् त्यसरी पछि सार्ने कुराको बुद्धिमत्तामाथि तिनीहरू प्रश्न खडा गर्छन्। तिनीहरू यस सिद्धान्त अनुसार बाँच्छन्: “आओ, हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।”—याकूब १:१७; १ कोरिन्थी १५:३२; यशैया २२:१३.
आफ्नो इच्छालाई तत्काल तृप्त गर्ने लहर आज विकसित राष्ट्रहरूमा स्पष्ट देखिएको छ। विज्ञापन व्यापारले त्यस्तो प्रवृत्तिको फाइदा उठाउँछ। आफूलाई पुल्पुल्या- उन मानिसहरूलाई प्रोत्साहित गरिन्छ। आधुनिक सर-सुविधा र आराम अपरिहार्य छन् भनेर व्यापारिक संसारले हामीलाई विश्वास दिलाउन सक्छ। क्रेडिट कार्ड, किस्ताबन्दी योजनाहरू र “सामान अहिले—पैसा पछि” भन्ने जस्ता आयोजनाहरूबाट सबै कुराहरू अहिले नै पाउन सकिन्छ भने ती सामानहरू किन नलिने भनी मानिसहरू तर्क गर्छन्। यसबाहेक लोकप्रिय नाराहरू पनि दावा गर्दै भन्छन्, ‘तपाईं उत्कृष्ट कुराको योग्य हुनुहुन्छ; आफूप्रति कठोर नहुनुहोस्! नबिर्सनुहोस् तपाईंले अहिले आनन्द उठाउन सक्नु भएन भने, पछि कहिल्यै सक्नु हुनेछैन!’
जबकि, विकासोन्मुख मुलुकहरूमा करोडौं मानिसहरू साधारण वा त्योभन्दा पनि तल्लो अवस्थामा जीवन गुजारिरहेका छन्। मानव सरकार र आर्थिक परिपाटीको असफलता र अन्यायलाई के अरू कुनै कुराले यति स्पष्टताका साथ औंल्याउन सक्छ र?
पर्खन नचाहने वा पर्खने आवश्यकता नदेख्ने यस्ता लाखौं मानिसहरू आफ्ना तात्कालिक इच्छाहरूलाई पूरा गर्न ऋणमा चुर्लम्म डुबेका छन्—यसबाट पर्खन सिक्नु पर्ने बुद्धिमत्ता झल्किन्छ। बिरामी वा बेकारीपन जस्ता पूर्व कल्पना नगरिएका घटनाहरू, विपत्ति साबित हुन सक्छन्। जर्मनी समाचारपत्र फ्र्यान्कफर्टर अलजेमाइन जाइटुन्ग-ले जर्मनीमा रिपोर्ट गरिएका १० लाख मानिसहरू किन घरबार विहिन छन् भनेर यसप्रकार वर्णन गऱ्यो: “प्रायजसो बेकारीपन वा अत्यधिक ऋणको कारण नै मानिसहरू घरबारविहिन हुन्छन्।”
आफ्नो ऋण चुक्ता गर्न नसक्दा यस्ता असफल व्यक्तिहरू दुःखदायी ढङ्गमा आफ्नो घर र सम्पत्ति दुवै गुमाउँछन्। दबाब बढ्दै जाँदा प्रायः परिवारमा तनाव उत्पन्न हुन्छ। कमजोर विवाहहरू टुक्रिन थाल्छन्। घरि घरि हुने निराशा र अन्य शारीरिक समस्याहरू सामान्य हुन थाल्छन्। मसीहीहरूको सम्बन्धमा भने, तिनीहरूको आध्यात्मिकता कमजोर हुनसक्छ। परिणामस्वरूप त्यसले गलत सोचाइ र गलत अचारणतर्फ लैजान्छ। यसरी बुद्धि विहीन भएर सबै कुरा चाहने व्यक्तिहरू अन्तमा खाली हात हुन्छन्।
धेरै जनाका निम्ति एउटा नयाँ चुनौती
येशूले हामी होशियार हुनुपर्छ भनेर स्पष्ट पार्नुभयो नत्रता “जगत्का चिन्ता र धनको धोका र अरू थोकका लालच भित्र पसी वचनलाई निसासिदिन्छन्।” (मर्कूस ४:१९) येशूले भर्खरै भन्नुभएको आर्थिक लगायत कुनै पनि चिन्तालाई राजनीतिक प्रणालीले हटाउन सकेको छैन भनेर हामीले मनमा राख्नुपर्छ।
पूर्वीय युरोपेली मुलुकहरूले बहिष्कार गरिसकेको साम्यवादले पनि सरकार-नियन्त्रित अर्थतन्त्रद्वारा आर्थिक समानता ल्याउने कोशिश गरेको थियो। खुला व्यापार प्रणालीको तुलनामा त्यस पुरानो प्रणालीले ती मुलुकहरूमा केही हदसम्म आर्थिक सुरक्षा दियो जसलाई पूँजीवादी प्रणालीले प्रायः दिन सकेको छैन। यसो भए तापनि, येशूले भन्नुभएका चिन्ताहरू ती मुलुकहरूमा उपभोग्य वस्तुहरूको कमी र वैयक्तिक स्वतन्त्रताको अभावको रूपमा यथावत थिए।
हाल, ती अधिकांश मुलुकहरूले खुला बजार अर्थतन्त्र सुरु गरिरहेका छन्। यसप्रकार तिनीहरूका नागरिक सामु एउटा नयाँ चुनौती खडा भएको छ। हालसालैको एउटा रिपोर्टले यसो भन्छ: “पश्चिमी उपभोग स्तरमा चाँडै पुग्ने इच्छालाई स्वाभाविकतासँग गाँसिएको छ।” यसलाई प्राप्त गर्न “पूर्वी जर्मनीका नयाँ प्रान्तहरू ऋणको भुमरीमा फँसेका छन्।” रिपोर्टले अझ यसो भन्छ: “नयाँ आर्थिक स्वतन्त्रताको प्रारम्भिक सुखपछि अहिले डर र निराशा फैलिरहेको छ।” प्रणाली परिवर्तन भएर पूँजीवादको नयाँ रूप लिइसक्यो तर चिन्ताहरू भने यथावतै छन्।
ठूलो राजनीतिक र आर्थिक स्वतन्त्रताले आर्थिक समृद्धिका लागि नयाँ सम्भावनाहरू खोलिदिएका छन्। तसर्थ, आफ्नो छुट्टै व्यापार सुरु गर्ने वा जागीर गर्ने राम्रा मौकाहरू खुला भएका मुलुकहरूमा जाने सम्बन्धमा गम्भीरतासाथ सोच्न थुप्रै मानिसहरू प्रलोभित हुनसक्छन्।
यस्ता निर्णयहरू व्यक्तिगत कुराहरू हुन्। एक जना मसीहीले आफ्नो आर्थिक स्थितिमा सुधार ल्याउन चाहनु गलत होइन। तिनी आफ्नो परिवारको हेरचाह गर्ने इच्छाले उत्प्रेरित भएको हुनसक्छ र “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरू- भन्दा पनि खराब हुन्छ” भन्ने कुराप्रति तिनी सजग हुनसक्छ।—१ तिमोथी ५:८.
यसकारण, अरूहरूले गरेको निर्णयको आलोचना गर्नु उपयुक्त कुरो होइन। तर आफूलाई पासोमा पार्न सक्ने अत्यधिक ऋण लिएर आर्थिक समस्याहरूबाट बच्न खोज्नु बुद्धिमानी होइन भन्ने कुरालाई पनि तिनले बिर्सनु हुँदैन। त्यस्तैगरि आफ्नो आध्यात्मिक जिम्मेवारीहरू र कामहरू नै अस्त-व्यस्त हुनेगरि बच्न खोज्नु पनि ठीक कुरो होइन।
अरूहरूबाट सिक्ने
दोस्रो विश्व युद्ध सकेको केही वर्षपछि थुप्रै जर्मनीबासीहरू युद्धग्रसित युरोपबाट अन्य मुलुकहरूमा, विशेषगरि अस्ट्रेलिया र क्यानाडामा बसाइँ सरे। यसरी धेरैले आफ्नो आर्थिक अवस्थामा सुधार त ल्याउन सके तर येशूले भन्नुभएका चिन्ताबाट भने तिनीहरूमध्ये कोही पनि पूर्णतः मुक्त हुन सकेनन्। आर्थिक समस्याहरूलाई टाल्न खोज्दा कहिलेकाहीं झन् नयाँ समस्याहरू अर्थात् घरको सम्झना, एउटा नौलो भाषा, नौलो खाना, भिन्न चलन, नयाँ मित्र वा भिन्न प्रकारको मनोवृत्तिको सामना गर्नु पऱ्यो।
माथि उल्लिखित प्रवासीहरूमध्ये यहोवाका केही साक्षीहरू पनि थिए। तर प्रशंसनीय कुरो तिनीहरूमध्ये प्रायः धेरैले आफ्नो आध्यात्मिकतालाई बसाइँ सर्दा हुने समस्याहरूले निस्सासिन दिएनन्। तर यसका अपवादहरू पनि थिए। तिनीहरूमध्ये कोही कोही धनको भ्रमात्मक शक्तिको शिकार भए। तिनीहरूको आर्थिक सुदृढीकरणसँग ईश्वरीय उन्नतिले मेलो राख्न सकेन।
मूर्खतापूर्ण साबित हुन सक्ने कुनै पनि निर्णय गर्नुभन्दा अघि आफ्नो परिस्थितिलाई राम्रोसँग केलाउनु पर्ने बुद्धिमत्तालाई निश्चय नै यसले चित्रण गर्दछ। मसीहीहरूलाई अह्राइएको फेरि-कहिल्यै-नदोहोरिने काम अर्थात् चेला बनाउने काममा भौतिकवादी प्रवृत्तिहरूले हामीलाई सुस्त बनाउँदै लानेछ। कुनै पनि मुलुकका नागरिकहरू आर्थिक चिन्ताहरूबाट मुक्त छैनन्। अतः हामी जहाँसुकै बसौं हामीमाथि उक्त कुरा लागू हुन्छ।
उत्तम लडन्त लड्नु
तिमोथीलाई पावलले यो सल्लाह दिए: “तर तिमी, हे परमेश्वरका मानिस, यी कुराहरूबाट दूर बस, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, धीरज, नम्रताको पछि लाग। विश्वासको उत्तम लडन्त लड। अनन्त जीवन पक्री राख, जसमा तिमीलाई बोलावट भएको थियो।” कोरिन्थका मसीहीहरूलाई तिनले भने: “ए मेरा प्रिय भाइ हो, स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ।”—१ तिमोथी ६:११, १२; १ कोरिन्थी १५:५८.
यस सल्लाहलाई पालन गर्नु भौतिकतासँग लड्ने सबैभन्दा उत्तम उपाय हो र एक जना मसीहीले गर्नुपर्ने काम निश्चय नै थुप्रै छ! राज्य प्रचारकहरू कम भएका केही मुलुकहरूमा कम व्यक्तिहरूले मात्र सत्य सिक्ने मौका पाएका छन्। येशूले ठीकै भन्नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्।”—मत्ती ९:३७.
आफ्नो आर्थिक चिन्ताहरूमा डुबेर हातैमा भएको यस आध्यात्मिक कामलाई पन्छ्याउनुको सट्टा ती मुलुकका साक्षीहरू हाल आफूसँग भएको मौकाहरूको पूरा प्रयोग गरेर स्थितिको फाइदा उठाउँछन्। केही समयसम्म बेरोजगार भएर बस्नु पर्दा तिनीहरूमध्ये धेरै जना प्रचार कार्यलाई बढाउन संलग्न हुन्छन्। तिनीहरूको यस सेवाले यहोवाको जय जयकारको आवाजलाई चर्काउँदछ। यस बाहेक आर्थिक समस्याहरूलाई सहन चाहिने आनन्द पनि त्यसले दिन्छ।
यी साक्षीहरू प्रचारको कार्यलाई प्राथमिकता दिन्छन् र आर्थिक कठिनाईहरूलाई दोस्रो स्थानमा राख्छन्। यहोवाले तिनीहरूको चिन्ता गर्नु हुन्छ भन्ने कुरामा यस विश्वव्यापी बन्धुत्वले निर्विवाद भरोसा गर्छन् भन्ने कुरालाई यसले प्रदर्शन गर्दछ। उहाँले प्रतिज्ञा गर्नुभएको छ: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।”—मत्ती ६:३३.
साँचो उपासना १९१९-मा स्थापना भए देखिन् यहोवाले आफ्ना जनहरूलाई लड्खडाउन दिनु भएको छैन। उहाँले तिनीहरूलाई कठोर सतावट र कुनै कुनै ठाउँहरूमा कयौं दशकको भूमिगत क्रियाकलापहरूको दौडान जोगाउनु भएको छ। दियाबलले जुन कुरा सतावटबाट पाउन सकेन त्यो कुरा भौतिकताको धूर्त पासोबाट पाउन नसकोस् भनेर यहोवाका साक्षीहरू कटिबद्ध छन्!
हर कुरामा पर्खन सिक्नु
लम्बा-चौडा राज्य भवन, कीमती ध्वनि उपकरणहरू, सभा भवन र आकर्षक बेथेल घरहरूले परमेश्वरको महिमा गर्दछ र उहाँले आफ्ना जनहरूलाई आशिष दिइरहनुभएको छ भन्ने कुराको मौन साक्षी दिन्छ। धेरैसमयदेखि प्रतिबन्ध लागेका मुलुकहरूका साक्षीहरूले शायद आफू यस सम्बन्धमा निकै पिछडिएको महसुस गर्नसक्छन्। तर वास्तवमा भन्ने हो भने आध्यात्मिक तवर-मा उन्नति गरिरहनु नै सबै भन्दा महत्त्वपूर्ण कुरा हो। समयमा, परमेश्वरको आशिषको बाहिरी सङ्केत भौतिक तरिकाबाट पनि देखिनेछ।
यहोवाका सेवकहरू होशियार हुनु आवश्यक छ अन्यथा व्यक्तिगत इच्छाहरूको पछि लाग्दा लाग्दै, भौतिक कुरालाई छाड्नै मन नलाग्ने परिस्थिति पनि आउन सक्छ। आर्थिक तथा सामाजिक असमानताबाट मुक्त हुन खोज्नु स्वाभाविक हो तर आफूले मात्र होइन, परमेश्वरका सबै सेवकहरूले त्यस्ता मुक्ति चाहिरहेका छन् भन्ने कुरालाई यहोवाका जनहरू बिर्सदैनन्। अन्धा व्यक्तिहरू पुनः हेर्न पाउने इच्छा गर्छन्, जीर्ण अवस्थाका बिरामीहरू स्वस्थ शरीरको इच्छा गर्छन्, निराश व्यक्तिहरू स्वस्थ मनस्थितिको चाह गर्छन् र शोकाकुलहरू आफ्ना मृतक प्रिय जनहरूलाई भेट्ने मन गर्छन्।
परिस्थितिवश हरेक मसीही आफ्ना समस्या समाधानको लागि कुनै न कुनै ढङ्गमा यहोवाको नयाँ संसारलाई पर्खन बाध्य भएका छन्। तसर्थ, यसले हामीलाई यो सोध्न लाउनु पर्ने हो, ‘के म अहिले आफूले खान, लाउन र बस्न पाएको कुरामा चित्त बुझाएर आर्थिक समस्याहरूबाट मुक्ति पाउन पर्खन तयार छु?’—१ तिमोथी ६:८.
पर्खन इच्छुक भएमा आफ्ना सबै जायज इच्छा र आवश्यकताहरू चाँडै नै पूरा हुनेछन् भन्ने कुरामा यहोवामाथि पूर्ण भरोसा राख्ने मसीहीहरू निर्धक्क हुनसक्छन्। कसैले व्यर्थैमा पर्खेको छैन। अन्तमा पावलका ती शब्दहरूलाई हामी फेरि दोहोऱ्याउछौं: “हे मेरा भाइ हो, स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरिन्थी १५:५८.
अतः पर्खन सिक्नु के वास्तवमा त्यति ठूलो समस्या हो त? (w93 10/15)
[पृष्ठ ८-मा भएको चित्र]
पर्खन सिक्नाले तपाईंको जीवन बच्न सक्छ