प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ११/१ पृ. १२-१६
  • एक जना राजाले यहोवाको पवित्रस्थानको अनादर गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक जना राजाले यहोवाको पवित्रस्थानको अनादर गर्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अन्तिम समयको भिडन्त
  • राजाले युद्ध हार्छन्‌
  • राजाले प्रभावशाली ढङ्‌गमा कारबाई गर्छन्‌
  • “घृणित वस्तु”
  • राजा र करार
  • परमेश्‍वरका जनहरूलाई सफा गर्ने काम
  • प्रतिद्वन्द्वी राजाहरूको अन्त नजिकै
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • प्रतिद्वन्द्वी राजाहरू २० औं शताब्दीमा प्रवेश गर्छन्‌
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • अन्तको समयमा “उत्तरका राजा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • ठूला कप्तान माइकलको अन्तिम विजय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ११/१ पृ. १२-१६

एक जना राजाले यहोवाको पवित्रस्थानको अनादर गर्छन्‌

“तर आफ्ना परमेश्‍वरतिर विश्‍वासी मानिसहरू दृढ़ बसेर तिनीसित लड़ाइँ गर्नेछन्‌।” —दानियल ११:३२.

१, २. मानव इतिहासलाई २,००० भन्दा बढी वर्षसम्म कुन नाटकीय भिडन्तले चिह्नित गरेको छ?

आफ्नो सम्पूर्ण जोश र शक्‍तिका साथ दुई जना राजाहरू प्रधानताका लागि सङ्‌घर्ष गर्छन्‌। पालैसँग पहिलो त्यसपछि दोस्रोले प्रभुत्व पाउँछन्‌, यसप्रकार दुई हजार वर्षभन्दा लामो समयसम्म यो युद्ध चलिरहन्छ। हाम्रो समयमा आएर यस सङ्‌घर्षले पृथ्वीका धेरै मानिसहरूको जीवनलाई असर गरेको छ र परमेश्‍वरका जनहरूको निष्ठामाथि समेत चुनौती खडा गरेको छ। तर यस सङ्‌घर्षको अन्त ती दुवै शक्‍तिद्वारा अकल्पित एउटा घटनाबाट हुन्छ। यस नाटकीय इतिहासलाई पहिले नै पुरातन भविष्यवक्‍ता दानियललाई प्रकट गरिएको थियो।—दानियल, अध्याय १० देखि १२।

२ त्यो भविष्यवाणी उत्तरका राजा र दक्षिणका राजाबीचको अटुट दुश्‍मनीसँग सम्बन्धित छ। यसै दुश्‍मनीबारे “योर वील बी डन अन अर्थ” भन्‍ने पुस्तकमा विस्तृतरूपमा छलफल गरियो।a यस पुस्तकमा यो देखाइयो कि मूलरूपमा उत्तरका राजा इस्राएलको उत्तरमा पर्ने सिरिया थियो। पछि यो भूमिका रोमले लियो। सुरुआतमा दक्षिणका राजा मिस्र देश थियो।

अन्तिम समयको भिडन्त

३. स्वर्गदूतअनुसार उत्तरका राजा र दक्षिणका राजाबारे गरिएको भविष्यवाणीको अर्थ कहिले बुझिनेछ र कसरी?

३ यी कुराहरू प्रकट गर्ने स्वर्गदूतले दानियललाई यसो भन्यो: “तर तिमीले चाहिं, हे दानियल, यी वचनहरूलाई गुप्तमा राख, र अन्तको समयको लागि यो पुस्तकमा छाप लगाएर बन्द गरिराख। धेरै जना खोजी हिंड्‌नेछन्‌ र साँचो ज्ञान प्रशस्त हुनेछ।” (दानियल १२:४ न्यु व०) हो, यो भविष्यवाणी अन्तको समय अर्थात्‌ १९१४ देखि सुरु भएको समयसित सम्बन्धित छ। यस चिह्नित समयको दौडान धेरैले पवित्र शास्त्रमा “खोजी हिंड्‌नेछन्‌” र पवित्र आत्माको मदतद्वारा साँचो ज्ञान र बाइबलका भविष्यवाणीको ज्ञान समेत प्रशस्त मात्रामा पाउनेछन्‌। (हितोपदेश ४:१८) जसै हामी त्यस समयको गहिराइमा पुग्दै जान्छौं, दानियलका भविष्यवाणीहरू झन्‌ झन्‌ खुलस्त हुँदै जान्छन्‌। त्यसोभए “योर वील बी डन अन अर्थ” भन्‍ने पुस्तक प्रकाशित भएको ३५ वर्षपछि, आज १९९३-मा उत्तरका राजा र दक्षिणका राजाबारे दिइएको भविष्यवाणीलाई हामीले कसरी बुझ्नु पर्ने हो?

४, ५. (क) उत्तरका राजा र दक्षिणका राजाबारे दानियलले गरेको भविष्यवाणीमा १९१४ लाई कहाँ इङ्‌गित गर्न सकिन्छ? (ख) स्वर्गदूतअनुसार १९१४-मा के हुने थियो?

४ सन्‌ १९१४-मा सुरु भएको अन्तको समयको प्रारम्भलाई प्रथम विश्‍व युद्ध र येशूले बताउनु भएका अन्य विश्‍वव्यापी विपत्तिहरूले चिह्नित गऱ्‍यो। (मत्ती २४:३, ७, ८) के हामी दानियलको भविष्यवाणीमा त्यो वर्षलाई इङ्‌गित गर्न सक्छौं? अवश्‍य सक्छौं। वास्तवमा अन्तको समयको प्रारम्भ नै दानियल ११:२९-मा उल्लिखित “तोकिएको समय” हो। (“योर वील बी डन अन अर्थ”, पृष्ठ २६९-७० हेर्नुहोस्‌।) यो समय दानियलकै दिनमा यहोवाले तोकिदिनुभएको समय थियो। किनभने यो समय दानियल ४ अध्यायमा वर्णन गरिएका भविष्यसूचक महत्वका घटनाहरूमा उल्लिखित २,५२० वर्षको अन्तपछि आयो।

५ दानियल जवान छँदा अर्थात्‌ सा०यु०पू० ६०७-मा यरूशलेमको विनाश देखि सा०यु० १९१४-बीचको यस २,५२० वर्षलाई “अन्यजातिको समय” भनियो। (लूका २१:२४ न्यु व०) तिनीहरूको अन्तलाई कुन राजनैतिक घटनाहरूले चिह्नित गर्ने थियो? यो कुरा एक जना स्वर्गदूतले दानियललाई यसरी प्रकट गऱ्‍यो: “तोकिएको समयमा तिनले [उत्तरका राजाले] फेरि दक्षिणमा चढ़ाइ गर्नेछन्‌, तर अघि सफल भएझैं तिनी सफल हुनेछैनन्‌।”—दानियल ११:२९.

राजाले युद्ध हार्छन्‌

६. सन्‌ १९१४-मा उत्तरका राजा को को थिए, दक्षिणका राजा नि?

६ सन्‌ १९१४-तिर उत्तरका राजाको भूमिका जर्मनीले लिइसकेको थियो, जसको तत्कालिन नेता कैजर भिल्हैम थिए। (“कैजर” पद “सिजर” भन्‍ने रोमी पदबाट निकालिइएको थियो।) युरोपमा सुरु भएको वैमनस्यता उत्तर र दक्षिणका राजाबीचको मुठभेडको एउटा भाग थियो। दक्षिणका राजाको भूमिकालाई भने अहिले ब्रिटेनले ओगट्यो, जसले तुरुन्तै दक्षिणका मूल राजाको क्षेत्र मिस्रको ठाउँ लियो। युद्ध चर्किंदैजाँदा, ब्रिटेनलाई त्यसको पुरानो उपनिवेश संयुक्‍त राज्य अमेरिकाले सहयोग गऱ्‍यो। यसप्रकार दक्षिणका राजा इतिहासको सबैभन्दा शक्‍तिशाली साम्राज्य, एङ्‌गलो-अमेरिकन विश्‍व शक्‍ति बन्‍न पुग्यो।

७, ८. (क) प्रथम विश्‍व युद्धमा कसरी “अघि भए झैं सफल” भएनन्‌? (ख) प्रथम विश्‍व युद्धको के नतिजा भयो तर भविष्यवाणीअनुसार, उत्तरका राजाले कस्तो प्रतिक्रिया देखायो?

७ यी दुई राजाहरूबीचको पूर्ववर्ती कलहहरूमा उत्तरका राजाको रूपमा रोमी साम्राज्यले लगातार विजय पाइरहेको थियो। तर अहिले भने, ‘अघि भएझैं तिनी सफल हुनेथिएनन्‌।’ किन? किनभने उत्तरका राजा युद्धमा पराजित भए। यसो हुनुको एउटा कारण उत्तरका राजासँग लड्‌न “पश्‍चिमबाट [कित्तिम न्यु व०] तिनको विरुद्धमा जहाजहरू” आएका थिए। (दानियल ११:३०) के थिए यी जहाजहरू? दानियलको समयमा साइप्रसको मुलुक कित्तिम थियो र पहिलो विश्‍व युद्धको प्रारम्भतिर ब्रिटेनले साइप्रसलाई आफ्नो कब्जामा लियो। यसबाहेक द जोनदरभान पिक्टोरियल इनसाइक्लोपिडिया अफ द बाइबल-अनुसार कित्तिम भन्‍ने नाउँले “सामान्यतया पश्‍चिमलाई र विशेषगरि सामुद्रिक यात्रा गर्ने पश्‍चिमी भू-भागहरूलाई जनाउँछ।” न्यु इन्टरनेशनल भर्सन-मा “कित्तिमका जहाजहरू” भन्‍ने शब्दलाई “पश्‍चिमी तटवर्ती जहाजहरू” भनेर अनुवाद गरिएको छ। प्रथम विश्‍व युद्धताका युरोपको पश्‍चिमी तटवर्ती इलाकामा अड्डा जमाएका ब्रिटिश जहाजहरू कित्तिमका जहाजहरू साबित भए। पछि पश्‍चिमी महादेश उत्तर अमेरिकाबाट आएका जहाजहरूद्वारा ब्रिटिश जलसेना अझ सुदृढ भयो।

८ यस किसिमको आक्रमणबाट उत्तरका राजा “पराजित” भए र १९१८-मा आफ्नो हार मानिलिए। तर ऊ त्यतिकैमा चुप लागेर बसेन। स्वर्गदूतको भविष्यवाणीअनुसार “तिनी फर्कनेछन्‌, र पवित्र करारमाथि तिनले आफ्नो रीस पोखाउनेछन्‌। तिनी फर्केपछि तिनलाई त्याग्नेहरूको तिनले राम्ररी सुधि लिनेछन्‌।” (दानियल ११:३०) र स्वर्गदूतले भविष्यवाणी गरेझैं भयो पनि।

राजाले प्रभावशाली ढङ्‌गमा कारबाई गर्छन्‌

९. कुन स्थितिले गर्दा अडोल्फ हिटलरको उत्थान भयो र कसरी तिनले “प्रभावकारी ढङ्‌गमा” कारबाई गरे?

९ सन्‌ १९१८-मा युद्धविरामपछि प्रत्यक्षतः जर्मनीवासीहरूलाई अनिश्‍चित कालसम्म भोकमरीमा राख्न विजयी मित्र राष्ट्रहरूले जर्मनीसँग प्रतिकारी शान्ति सन्धि गरे। फलस्वरूप केही वर्षसम्म यस्तो अचाक्ली दुर्गतीमा लड्‌खडाइसकेको जर्मनी अडोल्फ हिटलरको उत्थानको लागि तयार थियो। सन्‌ १९३३-मा सर्वोच्च शक्‍ति हत्याएको लगत्तैपछि तिनले येशू ख्रीष्टका अभिषिक्‍त भाइहरूद्वारा प्रतिनिधित्व गरिएको “पवित्र करार” माथि एउटा भीषण आक्रमण सुरु गऱ्‍यो। यसप्रकार निष्ठावान मसीहीहरूको विरुद्धमा तिनले प्रभावकारी ढङ्‌गमा कारबाई गरे र धेरै मसीहीहरूलाई सताए।

१०. हिटलरले समर्थन जुटाउन कोसित मित्रता गाँसे र यसको कस्तो नतिजा भयो?

१० आर्थिक र कुटनैतिक क्षेत्रमा हिटलर प्रभावकारी ढङ्‌गमा चले र ती क्षेत्रहरूमा सफलता पनि पाए। केही वर्ष भित्रै हिटलरले जर्मनीलाई सबैले चिन्‍ने एउटा शक्‍तिशाली राष्ट्र बनाए। तिनको यस प्रयत्नमा “तिनलाई [पवित्र करार न्यु व०] त्याग्नेहरू”-ले साथ दिए। को हुन्‌ यी व्यक्‍तिहरू? प्राप्त प्रमाणअनुसार तिनीहरू मसीहीजगतका नेताहरू हुन्‌। यिनीहरूले परमेश्‍वरसँग एउटा करारनामा सम्बन्ध छ भनेर दाबी त गरे तर धेरै अघि नै तिनीहरू येशू ख्रीष्टको चेला हुन छाडिसकेका थिए। हिटलरले सफलतापूर्वक “पवित्र करारलाई त्याग्नेहरू”-सँग समर्थनका लागि अपील गरे। रोमको पोपले हिटलरसँग धर्मसन्धि गरे र रोमन क्याथोलिक चर्चका साथै जर्मनीको प्रोटस्टेन्ट चर्चहरूले त्रास र डरले भरिएको हिटलरको १२ वर्षीय शासनकालभरि तिनलाई साथ दिए।

११. दक्षिणका राजाले कसरी ‘पवित्रस्थान बिटुलो पारे’ र ‘नित्यको बलिदान रोके’?

११ हिटलर यति सफल भए कि स्वर्गदूतले ठीक अगमवाणी गरेझैं ऊ युद्ध गर्न गए। “तिनले पठाएका सैन्य-दलहरूले पवित्रस्थान र किल्लाहरू बिटुलो पार्नेछन्‌, र नित्यको बलिदान रोक्नेछन्‌।” (दानियल ११:३१क) प्राचीन इस्राएलमा, पवित्रस्थान यरूशलेमस्थित मन्दिरको भाग थियो। तथापि, यहूदीहरूले येशूलाई तिरस्कार गरेपछि यहोवाले तिनीहरूलाई र तिनीहरूको मन्दिरलाई त्यागीदिनुभयो। (मत्ती २३:३७–२४:२) प्रथम शताब्दीदेखि यता यहोवाको मन्दिर वास्तवमा आत्मिक मन्दिर भएको छ जसको अति पवित्रस्थान स्वर्गमा र आत्मिक चोक पृथ्वीमा छ। यसै पार्थिव चोकमा येशूका अभिषिक्‍त भाइहरू अर्थात्‌ मुख्य पूजाहारीहरूले सेवा गर्छन्‌। यस शेष अभिषिक्‍त जन सँगसँगै उपासना गर्न १९३० देखि ठूलो भीड पनि सामेल भएको छ; यसर्थ, तिनीहरूले पनि ‘परमेश्‍वरको मन्दिरमा’ सेवा गर्छन्‌ भनी भनिएको छ। (प्रकाश ७:९, १५; ११:१, २; हिब्रू ९:११, १२, २४) उत्तरका राजाको आधिपत्य भएका मुलुकहरूमा यी शेष अभिषिक्‍त जनहरू र तिनीहरूका सहचरहरूमाथि गरिएको क्रुरतापूर्ण सतावटद्वारा परमेश्‍वरको मन्दिरको पार्थिव चोक अपवित्र भयो। तिनीहरूलाई यति तीव्र सतावट दिइयो कि नित्यको बलि अर्थात्‌ यहोवाको नाउँको खुलेआम गरिने प्रशंसाको बलि नै रोकियो। (हिब्रू १३:१५) तैपनि, यस्तो विकराल दुःखको बावजूद विश्‍वासी अभिषिक्‍त मसीहीहरूका साथै “अरू भेड़ा”-ले भूमिगत प्रचार गरी नै रहे भन्‍ने कुराको इतिहास साक्षी छ।—यूहन्‍ना १०:१६.

“घृणित वस्तु”

१२, १३. “घृणित वस्तु” के थियो र विश्‍वासी अनि बुद्धिमान दासले पूर्वाभास पाएअनुसार कहिले र कसरी त्यसको पुनस्थापना भयो?

१२ दोस्रो विश्‍व युद्ध अन्त हुन लाग्दा एउटा अर्को कुरा हुँदै थियो। “औ त्यहाँ तिनीहरूले ‘नाश गर्ने घृणित वस्तुलाई’ स्थापना गर्नेछन्‌।” (दानियल ११:३१ख) येशू मसीहले पनि उल्लेख गर्नुभएको यो “घृणित वस्तु” राष्ट्रसंघ (लिग अफ नेसन्स) वा प्रकाशको पुस्तकअनुसार अगाध खाँदमा जाने वैजनी रङ्‌गको जङ्‌गली जनावर हो भनेर पहिले नै चिनारी दिइसकेको थियो। (मत्ती २४:१५; प्रकाश १७:८; लाइट, भाग २, पृष्ठ ९४ हेर्नुहोस्‌।) दोस्रो विश्‍व युद्ध सुरु हुँदा साँच्चै नै त्यो माथि भनेझैं अगाध खाँदमा गयो। तथापि, १९४२ सालमा यहोवाका साक्षीहरूको नयाँ संसार ईश्‍वरतान्त्रिक सम्मेलनमा वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीका तेस्रो अध्यक्ष नेथन एच० नोरले प्रकाश १७-को भविष्यवाणी छलफल गर्दै त्यस जनावर अगाध खाँदबाट फेरि निस्केर आउनेछ भनी चेतावनी दिए।

१३ तिनका शब्दहरूको सत्यतालाई इतिहासले पुष्टि गऱ्‍यो। सन्‌ १९४४-को अगस्तदेखि अक्टोबर महिनाबीच संयुक्‍त राज्य अमेरिकाको डम्बरटन ओक्स भन्‍ने भवनमा चाँडै नै संयुक्‍त राष्ट्र संघ कहलाइने सङ्‌गठनको घोषणा पत्र तयारी हुँदै थियो। यस घोषणा पत्रलाई पहिलेको सोभियत संघ लगायत अन्य ५१ वटा राष्ट्रहरूले पारित गऱ्‍यो। पछि अक्टोबर २४, १९४५-मा आफ्नो पूरा शक्‍तिमा आएपछि निष्क्रिय भइसकेको राष्ट्रसंघ साँच्चै नै अगाध खाँदबाट निस्कियो।

१४. उत्तरका राजाको चिनारी कहिले र कसरी परिवर्तन भयो?

१४ दुवै विश्‍व युद्धमा दक्षिणका राजाको मुख्य शत्रु जर्मनी थियो। दोस्रो युद्धको अन्तपछि दक्षिणका राजासँग सम्बन्ध गाँस्न जर्मनी टुक्रियो। तर जर्मनीको अर्को भागले अहिले भने अर्को सम्भावित साम्राज्यसँग मैत्री सम्बन्ध गाँस्यो। हालै मात्र जर्मनीको आधा भाग सामेल हुन गएको साम्यवादी गुट एङ्‌गलो-अमेरिकन मैत्री सम्बन्धको कडा विरोधमा खडा भयो। यी दुई राजाहरूबीचको दुश्‍मनी एउटा शीत युद्ध भयो।—योर वील बी डन अन अर्थ, पृष्ठ २६४-८४ हेर्नुहोस्‌।

राजा र करार

१५. ‘करार इन्कार गर्न तयार हुनेहरू’ को हुन्‌ र उत्तरका राजासँग तिनीहरूको के सम्बन्ध छ?

१५ त्यसपछि स्वर्गदूतले यसो भन्छ: “तिनले करार इन्कार गर्न तयार भएकाहरूलाई झूटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्‌।” (दानियल ११:३२क) करार इन्कार गर्न तयार हुने यी व्यक्‍तिहरू को हुन्‌? यो अरु कोही नभइ फेरि त्यही मसीहीजगतका नेताहरू हुनसक्छन्‌। यिनीहरू मसीही भएको दाबी त गर्छन्‌ तर तिनीहरूको कामैले मसीही धर्मको नाउँलाई अपवित्र गर्छ। दोस्रो विश्‍व युद्धमा “आफ्नो मातृभूमिको रक्षाको लागि सोभियत सरकारले गिर्जाहरूको भौतिक सम्पत्ति र नैतिक सहायता प्राप्त गर्ने कोशिश गऱ्‍यो।” (वाल्टर कोलार्सको रिलिजियन इन द सोभियत युनियन) भर्खरै उत्तरका राजा हुन पुगेको यस शक्‍तिसँग त्यसको अनिश्‍वरवादी नीतिको बावजूद गिर्जाका नेताहरूले युद्धपछि आफ्नो मैत्रीलाई कायम राख्ने प्रयत्न गरे।b यसप्रकार मसीहीजगत पहिलेभन्दा झन्‌ बढी यस संसारको एउटा भाग बन्‍न पुग्यो—यहोवाको नजरमा एउटा घृणित धर्मत्याग।—यूहन्‍ना १७:१४; याकूब ४:४.

१६, १७. “ज्ञानी अगुवाहरू” को हुन्‌ र उत्तरका राजाको अधीनमा तिनीहरू कस्तो अवस्था भएको छ?

१६ यद्यपि, साँचो मसीहीहरूको विषयमा के भन्‍न सकिन्छ? “तर आफ्ना परमेश्‍वरतिर विश्‍वासी मानिसहरू दृढ़ बसेर तिनीसित लड़ाइँ गर्नेछन्‌। जातिका ज्ञानी अगुवाहरूले साधारण मानिसहरूलाई बाटो देखाउनेछन्‌। तापनि तिनीहरू केही समयको निम्ति आगो र तरवार, कैद र लूटका शिकार हुनेछन्‌।” (दानियल ११:३२ख, ३३) उत्तरका राजाको अधीनमा बस्ने मसीहीहरू ठीकसँग “उच्च अख्तियारवालाहरूका अधीनमा” बसे तापनि तिनीहरू यस संसारको भाग भएका छैनन्‌। (रोमी १३:१; यूहन्‍ना १८:३६) सिजरको कुरा सिजरलाई नै दिन सजग हुनुको साथै तिनीहरूले “जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई” दिन्छन्‌। (मत्ती २२:२१) तिनीहरूले यसो गरेको हुँदा तिनीहरूको निष्ठाको जाँच भयो।—२ तिमोथी ३:१२.

१७ यसको नतिजा? तिनीहरू “दृढ़” रहनुको साथै “शिकार” पनि भए। तिनीहरू यस अर्थमा शिकार भए कि तिनीहरूले अचाक्ली सतावट र कष्ट भोग्नु पऱ्‍यो, केहीले ज्यान समेत गुमाए। तर तिनीहरू यस अर्थमा दृढ भए कि तिनीहरू लगभग हर पटक विश्‍वासी भइरहे। हो, येशूलेझैं तिनीहरूले पनि यस संसारलाई जिते। (यूहन्‍ना १६:३३) यसको अलावा जेलमा वा यातना शिविरमा हुँदा समेत तिनीहरूले कहिल्यै प्रचार गर्न बन्द गरेनन्‌। यसप्रकार तिनीहरूले ‘धेरै मानिसहरूलाई बाटो देखाए।’ उत्तरका राजाले शासन गरेका धेरैजसो मुलुकहरूमा सतावटको बावजूद पनि यहोवाका साक्षीहरूको सङ्‌खयामा बढौती भयो। ती “ज्ञानी अगुवाहरू”-को विश्‍वासिलोपना धन्यका हुन्‌, किनभने तिनीहरूकै कारण ती मुलुकहरूमा बढ्‌दो “ठूलो भीड़” देखा परेको छ।—प्रकाश ७:९-१४.

१८. उत्तरका राजाको अधीनमा बस्ने शेष अभिषिक्‍त जनहरूले के “थोरै मदत” पाएका छन्‌?

१८ परमेश्‍वरका जनहरूमाथि गरिने सतावटको प्रसङ्‌गमा चर्चा गर्दा, स्वर्गदूतले त्यसबारे यस्तो अगमवाणी गऱ्‍यो: “तर यी शिकारमा परेकाहरूलाई थोरै मदतद्वारा सहायता गरिनेछ।” (दानियल ११:३४क न्यु व०) यो कसरी भयो? एउटा कुरा त, दोस्रो विश्‍व युद्धमा प्रतिद्वन्द्वी राजामाथि दक्षिणका राजाले पाएको विजयले गर्दा उत्तरी राजाको अधीनमा बस्ने मसीहीहरूले ठूलो छुटकारा पाए। (प्रकाश १२:१५, १६-सँग तुलना गर्नुहोस्‌।) त्यसपछि उत्तरका उत्तराधिकारी राजाद्वारा सताइएकाहरूले पनि समय समयमा आराम महसुस गरे। शीत युद्ध सकिएपछि धेरैजसो नेताहरूले यी विश्‍वासी मसीहीहरू आफ्नो लागि खतरा साबित नहुने कुरा देखे। अतः तिनीहरूले यी मसीहीहरूलाई कानुनी मान्यता दिए।c ठूलो भीडको बढ्‌दो सङ्‌खयाबाट पनि ठूलो मदत आएको छ। अभिषिक्‍त जनहरूको विश्‍वासी प्रचारकार्यलाई तिनीहरूले स्वीकारेकाछन्‌ र मत्ती २५:३४-४० मा भनेझैं तिनीहरूलाई मदत गरेका छन्‌।

परमेश्‍वरका जनहरूलाई सफा गर्ने काम

१९. (क) कसरी केही व्यक्‍तिहरू “तिनीहरूको चापलुसीबाट . . . तिनीहरूसित” लागे? (ख)“अन्तको दिन नसकेसम्म” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (फुटनोट हेर्नुहोस्‌।)

१९ तर यस दौडान परमेश्‍वरको सेवा गर्ने इच्छा देखाउने सबैको मनोवृत्ति राम्रो थिएन। यसबारे स्वर्गदूतले यसो भनेर चेतावनी दियो: “तिनीहरूको चापलुसीबाट धेरै जना तिनीहरूसित लाग्नेछ। तिनीहरू जाँचिन, खारिन र उज्जवल सेता हुनलाई ती अगुवाहरूमध्येका कुनै कुनै केही समयको लागि [अन्तको समय नसकेसम्म न्यु व०] स्वयं शिकार बनिनेछन्‌। तापनि तोकिएको समयको अझै अन्त हुनेछैन।”d (दानियल ११:३४ख न्यु व०, ३५) सच्चाइप्रति केहीले चासो त देखाए तर परमेश्‍वरप्रति साँचो समर्पण गर्न तिनीहरू इच्छुक थिएनन्‌। बाँकि ज-जसले सुसमा- चारलाई स्वीकारेको जस्तो देखिन्थ्यो, वास्तवमा तिनीहरू अधिकारीहरूका जासुसहरू निक्ले। एउटा मुलुकबाट आएको रिपोर्टले यसो भन्छ: “प्रभुको सङ्‌गठनमा पस्ने यस्ता केही बेइमान व्यक्‍तिहरू खुलेआम आफूलाई साम्यवादी भन्‍नेहरू थिए। यिनीहरूले निकै जोश देखाए र ठूल-ठूलो जिम्मेवारी पूरा गर्न समेत नियुक्‍त भए।”

२०. यहोवाले किन आफ्ना विश्‍वासी जनहरूलाई ढोङ्‌गी अतिक्रमणकारीहरूको “शिकार” बन्‍न दिनुभयो?

२० यस्ता अतिक्रमणकारीहरूको कारण केही विश्‍वासी जनहरू अधिकारीहरूको हातमा समेत परे। यहोवाले किन यस्तो हुन दिनुभयो? जाँचिन र खारिन। जसरी येशूले आफूले “भोग्नुभएको शासनाद्वारा उहाँले आज्ञा पालन गर्नु सिक्नुभयो” त्यसरी यी विश्‍वासी जनहरूले आफ्नो विश्‍वासको जाँचबाट धीरज धर्न सिके। (हिब्रू ५:८; याकूब १:२, ३; मलाकी ३:३ सँग तुलना गर्नुहोस्‌।) यसप्रकार तिनीहरू ‘जाँचिए, खारिए, उज्जवल सेता भए।’ जसै यी विश्‍वासी जनहरूको धीरज पुरस्कृत हुने नियोजित समय आइपुग्छ यिनीहरूलाई ठूलो खुशीयालीले पर्खन्छ। दानियलको भविष्यवाणी छलफल गर्दै जाँदा हामी यो देख्नेछौं। (w93 11/1)

[फुटनोटहरू]

a सन्‌ १९५८-मा यहोवाका साक्षीहरूको “ईश्‍वरीय इच्छा” नामक अन्तर्राष्ट्रिय सम्मेलनमा विमोचित वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीको पुस्तक।

b नोभेम्बर १९९२-को वर्ल्ड प्रेस रिभ्यु-मा द टोरोन्टो स्टार-को एउटा लेख प्रस्तुत गऱ्‍यो। त्यस लेखमा यसो भनिएको थियो: “निकै वर्षदेखि रूसीहरूले आफ्नो देशको इतिहासबारे पहिले देख्दै आएका दर्जनौं ठोस स्वप्नहरू तथ्य सामू टूटेर गएको देखेको छ। तर साम्यवादी शासनलाई गिर्जाले दिएको सहयोगको पर्दाफास सबैभन्दा ध्वंसात्मक प्रहार हो।”

c जुलाई १५, १९९१-को द वाचटावर, पृष्ठ ८-११ हेर्नुहोस्‌।

d “अन्तको समय नसकेसम्म” भन्‍नुको अर्थ “अन्तको समय दौडान” हुनसक्छ। दानियल ७:२५-मा “नसकेसम्म” भनेर अनुवाद गरिएको शब्दको अर्थ आरामिक भाषामा “दौडान” वा “मा” हुन्छ। २ राजा ९:२२, अय्यूब २०:५, र न्यायकर्त्ता ३:२६-को हिब्रू पदमा पनि यसको त्यही अर्थ लाग्छ। तथापि, दानियल ११:३५-को धेरैजसो अनुवादहरूमा यसलाई “नआएसम्म” भनेर अनुवाद गरिएको छ। यदि यो अर्थ ठीक हो भने, “अन्तको समय”-को अर्थ यहाँनिर परमेश्‍वरका जनहरूले धीरज धारण गर्नु पर्ने समयको अन्त हुनुपर्छ।—“योर वील बी डन अन अर्थ”, पृष्ठ २८६ सँग तुलना गर्नुहोस्‌।

के तपाईंलाई याद छ?

▫ दानियलको भविष्यवाणीलाई आज हाम्रो समयमा अझ स्पष्ट बुझ्ने आशा किन गर्नुपर्ने हो?

▫ उत्तरका राजाले कसरी ‘पवित्र करारमाथि रीस पोखे’?

▫ दास वर्गले “घृणित वस्तु” पुनःप्रकट हुने पूर्वाभास कसरी पाए?

▫ शेष अभिषिक्‍त जनहरू कुन अर्थमा ‘शिकार भए, दृढ भए, थोरै मदत’ पाए?

[पृष्ठ १४-मा भएको चित्र]

सन्‌ १९१८-मा दक्षिणका राजाबाट पराजित उत्तरका राजा, हिटलरको अधीनमा सम्पूर्णतया पूर्वास्थामा आए

[पृष्ठ १४-मा भएको चित्र]

मसीहीजगतका नेताहरूले उत्तरका राजासँग सम्बन्ध बढाउने प्रयत्न गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने