पूर्व र पश्चिम दुवै दिशामा यहोवा आफ्ना जनहरूलाई बलियो बनाउनु हुन्छ
प्रचार कार्यमाथि प्रतिबन्ध लागेका क्षेत्रहरू, हिंसाग्रस्त मुलुकहरू र हालसालै प्रतिबन्ध हटाइएका देशहरूमा—साँच्चै नै यहोवाले विश्वव्यापी क्षेत्रभरि आफ्ना साक्षीहरूलाई “असाधारण शक्ति” दिइरहनु भएको छ।—२ कोरिन्थी ४:७ न्यु व०
प्रतिबन्धको बावजूद समृद्धि
सुदूर पूर्व द्वीपसमूहमा प्रचार कार्यमाथि प्रतिबन्ध लागेको अहिले १७ वर्ष भइसकेको छ। तर के त्यहाँका साक्षीहरू निरुत्साहित छन्? रत्तिभर छैनन्! गत मे महिनामा तिनीहरू १०,७५६ प्रकाशकहरूको नयाँ शिखर संख्यामा पुगे जसमध्ये १,२९७ जना पूर्ण समय सेवकको रूपमा सेवारत थिए। विश्व परिस्थिति ह्रास हुँदै गइरहेको देखेर द्वीपवासीहरू सत्यप्रति झनै आकृष्ट भएका छन्। अतः यी चासो लिने व्यक्तिहरूको घरमा १५,६५४ वटा बाइबल अध्ययनहरू सञ्चालन भइरहेको रिपोर्ट ती प्रकाशकहरूले दिइरहेका छन्। योभन्दा अघि, येशूको मृत्युको स्मरणार्थ मनाउन आयोजित गोप्य सभामा २५,३९७ जना उपस्थित थिए।
फेरि स्थानीय परिस्थितिलाई ध्यानमा राखी सावधानीपूर्वक “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलनहरूको आयोजना गरियो। संयुक्त राज्य अमेरिकामा विमोचित पुस्तकहरू आफ्नै स्थानीय भाषामा पाउँदा त्यहाँका भाइहरू हर्ष विभोर भए। सयौं पृष्ठ भएका मुख्य साहित्यलाई समयमै तयार गर्न अनुवादकहरू, संशोधकहरू र अन्यले राजीखुशी बढी समय काम गरे। संगठन बाहिरको एउटा सहयोगी छापाखानाले पनि खुशीसाथ छाप्ने र जिल्दबद्ध गर्ने काम गरिदिए। यसप्रकार हजारौं रङ्गिन चित्रहरूले भरिएको त्यस पुस्तक पाउँदा सम्मेलनमा उपस्थित हुनेहरू प्रफुल्लित थिए। धेरैजसो सरकारी अधिकारीहरू यहोवाका साक्षीहरूको आदर गर्छन्। मुख्यतः मसीहीजगतका पादरीहरूबाट विरोध आउने गर्छ। आशा छ, शायद चाँडै नै प्रतिबन्ध पनि हट्नेछ।
अमेरिकी मुलुकहरू बारे नि?
आफ्ना समस्याहरूलाई साहसीपूर्वक समाधान गर्ने सम्बन्धमा यी पश्चिमी देशहरूका यहोवाका साक्षीहरू पूर्वीय मुलुकका आफ्ना भाइहरूसँग एक जुट छन्। यहोवाको पवित्र आत्माले तिनीहरूलाई कठिन परिस्थितिहरू पार गर्न मदत गरिरहेको छ। उदाहरणको लागि जंगलमा अवैध लागू पदार्थ ओसार पसार गरिने एउटा ल्याटिन-अमेरिकी मुलुकको यस रिपोर्टलाई लिनुहोस्।
साक्षीहरूको एक झुण्ड एउटा दुर्गम क्षेत्रतर्फ बसयात्रा गर्दैथिए। बसबाट ओर्लिएपछि तिनीहरूले गाउँ बाहिर जाने सानो गोरेटो बाटो देखे। अतः बहिनीहरू र केटाकेटीहरूलाई गाउँमै प्रचार गर्न खटाएर पाँच जना जति भाइहरू त्यस सानो गोरेटो बाटोको गन्तव्य स्थान थाहा लगाउन हिंडे। एक जना भाइ यसरी आफ्नो यात्रा वर्णन गर्छन्:
“दुई घण्टाजति हिंडेपछि हामीले केही फाटफूट घरहरू भेट्यौं। अचानक नजिकैको जंगलबाट आठ जना सशस्त्र नकाबधारीहरू आएर हामीलाई रिङ्गै घेरे। तिनीहरूमध्ये कसैले मेशिन गन त कसैले ठूलो चुपीहरू बोकेका थिए। यो हामी कहाँ फस्न पुग्यौं? हामीले तिनीहरूको मनसाय सोध्यौं तर तिनीहरूले हामीलाई चुपचाप अघि बढ्न हुकुम गरे। हामीले उनीहरूले भनेझैं गऱ्यौं! घना जंगलको झारहरूबीच अरू दुई घण्टाजति हिंडिसकेपछि हामी एउटा सफा अनि खुला ठाउँमा आइपुग्यौं, जुन स्पष्टतः सशस्त्र शिविर थियो। शिविरको चारैतिर बन्दुकधारी गारतहरू थिए। शिविरको बीचतिर एउटा सुव्यवस्थित घर थियो र हामीलाई त्यतै लगियो।
“हामी बसिसकेपछि, हेर्दा स्पष्टतः शिविरको नेताजस्तो देखिने व्यक्तिले हामीलाई केरकार गरे। तिनले सुकिलो लुगा लगाएका थिए र शिक्षित तथा भद्र देखिन्थे। एककुनामा बसेको हाम्रो भाइलाई औंल्याउदैं तिनले उठ्ने आज्ञा दिए। त्यसपछि तिनले यो प्रश्न गरे: ‘हाम्रो समूहबारे तिम्रो कस्तो विचारधारा छ?’ आफ्नो परिस्थितिप्रति पूर्णतः सजग हुँदै त्यस भाइले यस्तो जवाफ दिए: ‘हामीलाई तपाईंको समूहबारे जानकारी त छ तर त्यसमा वा अरू कुनै राजनैतिक समूहमा हामी कुनै चासो राख्दैनौं। हामी यहाँ आएको एउटै मात्र कारण ख्रीष्टद्वारा आउने यहोवा परमेश्वरको राज्य प्रचार गर्नु हो। यही राज्यले चाँडै यस रीतिरिवाजका सबै राजनैतिक सरकारलाई नाश गर्नेछ र यस पृथ्वीमा प्रमोदवन जस्तो परिस्थिति स्थापित गरेर मानिसहरूको निम्ति अद्भुत आशिष ल्याउनेछ। यस्तो काम न कुनै मानिस न ता मानिसहरूको कुनै समूहले नै गर्नसक्छ।’
“यो सुनेर त्यस नेताको मनोवृत्ति परिवर्तन भयो। तिनले प्रश्नहरू सोध्न थाले। ‘यी सबै कुरा तिमीहरूले कहाँबाट सिक्यौ? यसरी कुरा गर्न तिमीहरूलाई कसले सिकायो?’ करीब डेढ घण्टाजति हामीले विश्व परिस्थिति र बाइबलले दिने एकमात्र आशाबारे एउटा राम्रो साक्षी दियौं। हामीले रोमी १३ अध्यायको पनि चर्चा गऱ्यौं। शासनारूढ अधिकारीहरूको आज्ञा मान्ने तर यहोवाको वचन र तिनीहरूबीच विवाद हुँदा यहोवाको आज्ञालाई पहिलो प्राथमिकता दिने कुरा पनि बतायौं। अन्तमा हामीले तिनलाई आफूसँग भएका पुस्तकहरू देखायौं। तिनले तीन वटा किताब र एउटा बाइबल लिए र हामीलाई छक्कै पार्ने गरी त्यसको चन्दास्वरुप दाम पनि दिए। ती पुस्तकहरूलाई पढ्नेछु भनेर तिनले भने।
“त्यसपछि त्यस नेताले हामीलाई शिविरबाहिर लैजान भनी एक जना मानिसलाई इशारा गरे। चाँडै नै हामी पहिलेकै ठाउँमा फर्क्यौं र साक्षी दिने अर्को क्षेत्रमा पाएको विजयका लागि यहोवालाई धन्यवाद चढायौं।”
कलहग्रस्त अफ्रिकामा
सुदूर पूर्व र सुदूर पश्चिमको बीचमा अफ्रिका महादेश पर्छ। यहाँ साम्प्रदायिक झगडाको कारण केही देशहरू हिंसाको भुमरीमा फँसेका छन्। लाइबेरियामा फेरि गृहयुद्ध चर्कदैं गएको हुँदा यहोवाका जनहरू गम्भीर रूपमा प्रभावित भएका छन्। गत १९९२-को अक्टोबर र नोभेम्बरतिर राजधानी भित्र र बाहिर ठूलो मारकाट चल्यो। देशको चारैतिर युद्ध फैलदैं गएपछि त्यहाँका भाइहरू बाँकि जनतासँगसँगै जंगलतिर लुक्न जाँदा पूरै मण्डली छरप्रष्ट भयो। तथापि, तिनीहरूको जोश भने कम भएन। आफू जहाँ-जहाँ भागे त्यहीं-त्यहीं तिनीहरूले प्रचार गरे। यसले गर्दा देशको अति दुर्गम क्षेत्रहरूमा पनि एउटा भव्य साक्षी दिने कार्य सम्पन्न भयो।
आफ्नो घरबार छाड्न बाध्य भएका भाइहरूको एउटा मण्डलीले रबर खेतको बीचमै अस्थायी राज्य भवन बनाए। युद्ध मोर्चा नजिकैको शहरमा बस्ने नागरिकहरू दिउँसोपख हवाई बमवर्षाबाट बच्न वरपरको रबर खेतमा लुक्न जान्थे। यो देखेर त्यहाँका स्थानीय भाइहरूले (मोनरोभियाबाट घरबार छाडेर आएका भाइहरूसहित) क्षेत्र सेवकाइको आयोजना गरे। यी भाइहरूलाई प्रायः त्यही रबरका रूखहरूमुनि लुकेका हजारौं मानिसहरूलाई प्रचार गरिरहेको देख्न सकिन्थ्यो! हवाईजहाज आएको थाहा पाउने बित्तिकै यी भाइ-बहिनीहरू नजिकैको खाडलमा हाम्फाल्थे र खतरा टलिसकेपछि फेरि आफ्नो प्रचार कार्यलाई सुरु गर्थे।
आश्चर्यलाग्दो कुरा, सोसाइटीलाई आफ्नो रिपोर्ट पठाउन सफल भएका त्यस्तै हजार वा हजारभन्दा बढी भाइहरूले यस्तो गृहयुद्धग्रसित परिस्थितिमा पनि क्षेत्र सेवकाइमा औसतन १८.१ घण्टा बिताएका छन् र मासिक ३,१११ वटा बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका छन्।
अफ्रिकामा गत चार वर्षभित्र १८ देशहरूमा यहोवाका साक्षीहरूको कार्यमाथि लगाइएको प्रतिबन्ध हटाइएको छ। कत्रो आनन्दको कुरा! यहि अगस्त १२-मा मलावीका साक्षीहरूमाथि अक्टोबर १९६७ देखि लगाइएको प्रतिबन्ध पनि हटाइयो। बितेका समयमा भूमिगत रूपमा गरिएको सुसमाचारको प्रचार सधैं फस्टाएको थियो तर अहिले भने स्वतन्त्रतापूर्वक तिनीहरू अघि बढ्न पाइरहेका छन्। यद्यपि, अत्याचारीहरूको हातबाट हत्याको शिकार भएका आफ्ना असंख्य प्रिय जनहरूको स्वागत गर्न तिनीहरूले पुनरुत्थानलाई पर्खनु पर्नेछ।
मोजाम्बिकमा पनि यही अक्टोबर ४, १९९२ देखि शान्ति सम्झौता लागू भयो। विगत सोह्र बर्षसम्म चलेको युद्धको कारण पहिले पुग्न नसकिएका क्षेत्रहरूमा अहिले भाइहरू पुगिरहेका छन्। उदाहरणको लागि विगत सात वर्षदेखि सङ्गठनसँग सम्पर्क हराएका कारिओको क्षेत्र वरपरका ३७५ जना भाइ-बहिनीहरूसित फेरि सम्बन्ध स्थापना गरियो। यसै अवसरमा मिलान्ज भन्ने ठाउँमा एउटा विशेष एकदिने सम्मेलन सम्पन्न भयो। मिलान्ज पहिले यातना शिविर तथा यहोवाका साक्षीहरूको सोचविचार परिवर्तन गर्न स्थापित “पुनःशिक्षा” केन्द्र भएको क्षेत्रको सदरमुकाम थियो। ती यहोवाका साक्षीहरूमध्ये अधिकांश मलावीका शरणार्थीहरू थिए। यहोवाका साक्षीहरूलाई स्वागत गर्ने नगर प्रशासक समेत गरी आश्चर्यलाग्दो ढङ्गमा कुल २,९१५ मानिसहरू त्यस सम्मेलनमा उपस्थित थिए। अतः पहिलेको “पुनःशिक्षा” केन्द्र त्यस दिन ईश्वरीय शिक्षा केन्द्र बन्न पुग्यो।
टेटका एक जना मिसनरी यसरी लेख्छन्: “टेट प्रान्तका शरणार्थी शिविरहरूमा राखिएका हाम्रा भाइहरूको सम्बन्धमा युएनएचसिआर (युनाइटेड नेसन्स हाइ कमिस्नर फर रेफ्युजिस) का एक जना प्रतिनिधिले चाखलाग्दो अवलोकन गरे। तिनको भनाइअनुसार यहोवाका साक्षीहरूले अरू समूहहरूभन्दा बेग्लै शिविरको व्यवस्था गरेका थिए। तिनले भने, ‘तिनीहरूका शिविर मात्र सुव्यवस्थित छन्।’ त्यसपछि फेरि तिनले भने, ‘यहोवाका साक्षीहरू सफा, व्यवस्थित र शिक्षित छन्।’ त्यसपछि तिनले मलाई हवाईजहाज चढेर आफैले झाडीहरूबीच ती शिविर हेर्ने निमन्त्रणा दिए। माथि आकाशबाट विमान चालकले मलाई दुई वटा शिविरहरू देखाए। एउटा चाहिं माटोको घरहरूले कोचाकोच भरिएको झुत्रो र फोहर थियो। अर्को शिविरमा भने बाटोको दुई छेउ घरहरू सुव्यवस्थित ढङ्गमा बनाइएका थिए। घर अगाडिका चौक समेत बढारिएको हुनाले ती घरहरू सफा देखिन्थे। कुनै-कुनै घरहरूमा घरेलु रङ्ग समेत पोतिएको थियो। ‘यीमध्ये कुन चाहिं शिविर तपाईंहरूको होला, अनुमान लगाउनु होस् त,’ त्यस विमान चालकले मलाई सोध्यो। शिविरमा आफ्ना भाइहरूलाई भेट्न पाएकोमा मलाई साह्रै खुशी लाग्यो। हाल साक्षीहरूको यस गाउँमा आठ वटा मण्डलीहरू छन्।”
“चीलको मुलुकमा”
अहँ, यो अमेरिकी चीलको प्रतीक होइन! पूर्व र पश्चिमको माझमा एउटा युरोपेली देश अल्बेनिया पर्छ। औपचारिक भाषामा यस देशको नाउँ शकिपेरिया हो, जसको अर्थ “चीलको मुलुक” हो। पचास वर्षदेखि यस मुलुकका यहोवाका साक्षीहरूमाथि लगाएको क्रूर प्रतिबन्ध हालसालै हटाइएको छ। अब भने तिनीहरू पूर्व र पश्चिमका आफ्ना भाइहरूसित एक भएर स्वतन्त्रतापूर्वक उपासना गर्ने आनन्द उठाउन सक्छन्। तिनीहरूले साँच्चै नै “समयको अवसर विचार” गरिरहेका छन्। (एफिसी ५:१६) राजधानी तिरानामा मार्च २१ आइतबारको दिन राष्ट्रिय रङ्गशालामा एक दिने सम्मेलन सम्पन्न भयो। उक्त सम्मेलन अल्बेनियाली इतिहासको पहिलो सम्मेलन थियो। सम्मेलन हुनु अगावै शनिबार दिउँसो ७५ जना साक्षी स्वंयसेवकहरूले जीर्ण अवस्थामा रहेको त्यस रङ्गशालालाई चम्किलो र सफा सम्मेलन भवनमा परिवर्तन गरिसकेका थिए। यो देखेर रङ्गशालाका व्यवस्थापकहरू स्तब्ध भए। उल्लेखनीय कुरा ती ७५ स्वयंसेवकहरूमध्ये २० जना मात्र बप्तिस्मा प्राप्त साक्षी थिए!
हावापानी एकदम रमणीय थियो। समुद्रपारका प्रतिनिधिहरू पनि आइपुगे। इशारा अनि अङ्कमालले भरिएको तिनीहरूको अभिवादनले त्यस विशेष सम्मेलनलाई अति विशेष बनायो। सम्मेलनको आरम्भमा भाइ नाशो दोरीले आफ्नो हात आकाशतर्फ फैलाउँदै प्रार्थना चढाए। सन् १९३०-मा बप्तिस्मा लिएका यो भाइ लगभग अन्धा थिए। कार्यक्रम अल्बेनियाली भाषामा थियो र विदेशी विशेष अग्रगामीहरूले कार्यक्रमका अधिकांश भागहरू प्रस्तुत गरे। ग्रीसका अतिथि भाइहरूले स्थानीय राज्य भवनमा तयार पारेका पोखरीमा ४१ जना नयाँ भाइ-बहिनीहरूले प्रवेश गर्दा सम्मेलनमा उपस्थित ५८५ जनाले “क्रिश्चियन डेडिकेसन” भन्ने गीत गाइरहेका थिए। यो गीत सम्मेलनका लागि अल्बेनियाली भाषामा अनुवादित छ वटा गीतहरूमध्ये एउटा थियो। कस्तो परिवर्तन! पहिले एउटा बाइबल समेत राख्नुको अर्थ श्रम शिविरमा जानु पर्ने हुन्थ्यो र दुई वा तीन जनाभन्दा बढी व्यक्तिहरू समेत एकसाथ भेला हुन पाउँदैन थिए।
सम्मेलनको लगत्तै भोलिपल्ट वाच टावर कार्यालयमा रङ्गशाला संचालकको फोन आयो। साधारणतया तिनी रङ्गशालाको प्रयोग गर्ने मानिसहरूप्रति त्यति चासो राख्दैनन्। किनभने त्यो काम उप-संचालकको हो। तिनले भने: “तपाईंहरूलाई धन्यवाद दिन फोन नगरी म बस्नै सकिंन। मैले कहिल्यै यो ठाउँ यति सफा देखेको थिइँन। मलाई भन्न दिने हो भने, म त हाम्रो रङ्गशालामा हिजो स्वर्गबाट हावाको एक झोक्का आयो नै भन्छु। हाम्रो रङ्गशालाको प्रयोग गर्नुपरेमा कृपया कुनै पनि बेला हामीकहाँ आउनुहोस्, हामी तपाईंहरूलाई पहिलो प्राथमिकता दिनेछौं। मलाई त तपाईंहरू हरेक तीन-तीन महिनामा बिना भाडा रङ्गशाला लिन आइदिए हुन्थ्यो जस्तो लाग्छ।”
ती साक्षीहरू स्फूर्ति अनि कृतज्ञतासाथ आ-आफ्ना शहर फर्के र येशूको मृत्युको स्मरणार्थको तयारी गर्न तर्फ लागे। सम्मेलनको ठीक १५ दिनपछि अप्रिल ६, मंगलबारको दिन सात स्थानहरूमा खुला स्मरणार्थ मनाइयो।
बेरत शहरको सभा उपस्थिति संख्या १७० पुगिसकेको छ र यो देखेर त्यहाँका स्थानीय पादरी रीसले मुरमुरिएका छन्। यही शहरका ३३ जना राज्य प्रचारकहरूमध्ये २१ जनाले हालै सम्पन्न सम्मेलनमा बप्तिस्मा लिएका थिए। बेरत शहरको रिपोर्टअनुसार त्यहाँको स्मरणार्थ सभामा ४७२ जना उपस्थित थिए। अरू ठाउँहरूको स्मरणार्थ उपस्थिति संख्या पनि त्यति नै उल्लेखनीय छ र यस पछाडि विशेष अग्रगामीहरूले दिएका उत्तम नेतृत्वको ठूलो भूमिका छ।
अल्बेनियामा सबैभन्दा बढी क्याथोलिक मत भएको शहर श्कोडर हो र त्यहाँ बासिलिका पनि छ। यही शहरको गिर्जाले मासिक पर्चाहरू छाप्न थाले जसको हरेक अङ्कमा “यहोवाका साक्षीहरूदेखि कसरी बच्ने?” भन्ने विषयमा छलफल गरिएको हुन्थ्यो। सोही पर्चाको अन्तिम अङ्कमा यस्तो लेखिएको थियो: “श्कोडर शहरमाथि यहोवाका साक्षीहरूको अतिक्रमण”! दुई जना साक्षीहरूको विशाल सेनाले स्मरणार्थको दिन ७४ जना भद्र तथा गम्भीर व्यक्तिहरूलाई भेला गराए। स्मरणार्थ भाषण सुनिसकेपछि १५ परिवारले गृह बाइबल अध्ययनका लागि आग्रह गरे। चार जना साक्षीहरूको सेना भएको डुरस भन्ने अर्को शहरमा ७९ जनाको शानदार उपस्थिति थियो।
क्याथोलिक युवाहरूले साक्षीहरूलाई ढुङ्गा हानेर भगाइदिने धम्की दिंदै विरोध गरेको हुनाले क्यालमेटी इ फोगेल भन्ने पहाडी गाउँको स्मरणार्थ सभालाई स्थानीय भाइको घरमा सार्नुपऱ्यो। शान्तिपूर्वक २२ जना त्यहाँ उपस्थित भए। यो समूहमा पाँच जना प्रकाशकहरू छन्, जसमध्ये तीन जनाले हालै तिरानामा सम्पन्न सम्मेलनमा बप्तिस्मा लिएका थिए।
भ्लोर भन्ने ठाउँका दुई जना युवकहरूले द वाचटावर-को एक प्रति पाएछन् र त्यसलाई पढेर सोसाइटीलाई यस्तो लेखेछन्: “द वाचटावर-बाट सिकेको सत्यको कारण अबदेखि हामीहरू आफैलाई यहोवाका साक्षी भन्छौं। कृपया हामीलाई मदत गर्नुहोस्।” यी युवकहरूलाई भेट्न दुई जना विशेष अग्रगामीहरू खटाइयो र तिनीहरूमध्ये एक जना चाँडै नै प्रकाशक पनि भए। भ्लोरको स्मरणार्थमा उपस्थित हुने ६४ बीच आफूलाई पाएकोमा त्यस युवक हर्षित थिए।
संयुक्त राज्य अमेरिकामा सत्य सिकेका एक जना अल्बेनियाली भाइ १९५० तिर आफ्नै शहर, जिरोकास्टरमा फर्के। त्यहाँ तिनले आफ्नो मृत्युसम्मै यथासक्य सेवा गरे। तिनले आफ्नो छोराको हृदयमा सत्यको बीऊ रोपे। प्रतिबन्ध हटेपछि तिनको छोराले वाच टावर सोसाइटीसित मदत मागे। त्यही गाउँको उत्तरतिर बस्ने अर्को जिज्ञासु व्यक्तिले पनि मदतका लागि लेखेका थिए। अतः चार जना विशेष अग्रगामीहरूलाई त्यहाँ पठाइयो। स्मरणार्थ दिनको भोलिपल्ट बुधबार बिहान ती दुईमध्ये एकले तिरानास्थित सोसाइटीको कार्यालयमा फोन गरेर यसो भन्यो: “यहोवाको आत्माले कति धेरै काम गऱ्यो भनेर तपाईंहरूलाई नभनी बस्नै सकिंन। हामीहरू अति खुशी छौं! स्मरणार्थ एकदम सफल भयो।” तिनीहरूका सात जना राज्य प्रचारकहरूको समूह समेत गरी स्मरणार्थको उपस्थिति संख्या १०६ थियो।
स्मरणार्थको कुल उपस्थिति संख्या कति थियो त? सन् १९९२-मा जम्मा ३० जना प्रकाशकहरू हुँदा उपस्थिति संख्या ३२५ थियो भने १९९३-मा १३१ जना प्रकाशकहरूले १,३१८ जना मानिसहरू भेला गराए। दुवै वर्षको उपस्थिति संख्या प्रकाशकहरूको संख्याभन्दा दश गुना बढी भएको छ। यति छोटो अवधिमा “थोरै चाहिं हजार” भएको हेर्नु पाउनु कस्तो उत्साहवर्धक कुरा हो!—यशैया ६०:२२.
“तेरो पालको डोरी लामो पार”
यहोवाका साक्षीहरूको काम पृथ्वीको चारै कुनामा बढ्दै जाँदा यो आह्वान पनि सँगसँगै अघि बढ्छ: “तेरो पालको ठाउँ बढ़ा। तेरो डेराको [विशाल पवित्रस्थानको न्यु व०] पाटा तन्काइऊन्। न थाम्, [तेरो पालको डोरी न्यु व०] लामो पार्, र तेरा कीलाहरू बलियो गर्। किनकि तिमीहरू बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछौ।” (यशैया ५४:२, ३) परमेश्वरको “विशाल पवित्रस्थान”-मा भएको वृद्धि—यहोवाका उपासकहरूको विश्वव्यापी मण्डलीहरूमा देखिन्छ। पूर्वीय यूरोपमा र विशेषगरि पहिलेको सोभियत संघमा पनि यो कुरा साँच्चै नै प्रष्ट देखिएको छ। दशकौंदेखि दमन र विरोधमा आफ्ना सेवकहरूलाई सम्हाल्दै आउनुभएपछि यहोवाले अहिले संगठन विस्तार गर्न र सुदृढ पार्न आफ्ना साक्षीहरूलाई चाहिने शक्ति दिंदै हुनुहुन्छ।
मास्को, रूसको लोकोमोटिभ रङ्गशालामा २३,७४३ जना जुलाई २२-२५ का दिन “ईश्वरीय शिक्षा” विषयक गत वर्षको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भए। यस्तो हुनसक्छ भनेर दुई वर्ष अघि मात्र कसले सोच्न सक्थ्यो होला र? जापान र कोरियाबाट १,००० भन्दा बढी प्रतिनिधिहरू आए भने झण्डै ४,००० जना संयुक्त राज्य अमेरिका अनि क्यानाडाबाट आए र दक्षिणी प्रशान्त क्षेत्र, अफ्रिका, यूरोप र अन्य इलाकाका ३० भन्दा बढी मुलुकहरूबाट अरू हजारौं मानिसहरू आए—साँच्चै नै पूर्व र पश्चिमको मिलन। पन्ध्र हजारभन्दा बढी रूसी भाइ-बहिनीहरूसँग यसरी घुलमिल गर्न पाउनु यिनीहरू सबैका निम्ति अति प्रोत्साहनदायी थियो! हर्षको कुनै अन्त नै थिएन।
खुशीको कुरा कुल १,४८९ नयाँ साक्षीहरूले उक्त सम्मेलनमा बप्तिस्मा लिए। द न्यु योर्क टाइम्स-को पहिलो पृष्ठमा बप्तिस्माको एउटा सुन्दर तस्वीर छापिएको थियो, यस बाहेक अन्य समाचार, पत्र-पत्रिकाहरूले संसारभरि त्यस बप्तिस्माको ठूलो प्रचार प्रसार गऱ्यो। बप्तिस्माको दौडान बादल गर्जिएजस्तो गडगडिएको ताली अन्तिम भाषणको दौडान वक्ताले ४,७५२ जना स्वयंसेवक र अधिकारीहरूलाई धन्यवाद दिंदा चरमसिमामै पुग्यो। तिनले भने: “हामी यहोवालाई सबैभन्दा धेरै धन्यवाद दिन्छौं!” हो, यहोवाको आत्माले कट्टरपन्थी धर्मावलम्बीहरूको कडा विरोधलाई रोकेर अत्यावश्यक शक्ति प्रदान गऱ्यो जसले त्यस सम्मेलनलाई एउटा रोमाञ्चकारी वास्तविकता बनायो।
तथापि, युकरेनी शहर किभमा अगस्त ५-८ का दिन अझ थुप्रै कुरा हुन बाँकि नै थियो। यहाँ पनि, इच्छुक स्वयंसेवकहरूले रङ्गशालाको पूरै अनुहार नै बदलिदिए। बडेमानको यस राज्य भवनमा सम्मेलनमा उपस्थित सबैभन्दा धेरैसंख्या, ६४,७१४ समेत सुविस्तासाथ अटाए। फेरि एकपल्ट पूर्व, पश्चिम र त्यसबीचका सबै ठाउँहरूबाट साक्षीहरू भेला भए। मुख्य भाषणहरूलाई १२ भाषाहरूमा अनुवाद गरियो। हवाईजहाज, रेलगाडी र बसबाट रेल स्टेसन र विमानस्थल आइपुग्ने ५३,००० जना प्रतिनिधिहरूलाई होटेल, विद्यालय र निजी घरका साथै डुङ्गाहरूमा बसोबास गराइयो। सबै कुरा कम खर्च र सुलभ तथा दक्ष व्यवस्थासाथ सुचारुरूपले सम्पन्न भएको देखेर नगर प्रहरीले दङ्ग पर्दै प्रशंसा गरे।
सम्मेलनको रोमाञ्चकारी कार्यक्रम साढे दुई घण्टा लामो बप्तिस्मा थियो। विशाल रङ्गशालामा गुञ्जिएका तालीको करतल ध्वनिबीच ७,४०२ जना नयाँ भाइ-बहिनीहरूले यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतिकात्मक रूप दिए। यो बप्तिस्मा संख्या सन् १९५८-मा न्यु योर्क शहरमा २,५३,९२२ भेला हुँदा भएको अहिलेसम्मको उच्चतम बप्तिस्मा संख्या ७,१३६ भन्दा बढी छ।
न्यायको समय त्यसको अन्ततर्फ बढ्दै गइरहेको बेला पूर्व, पश्चिम र “पृथ्वीको अन्तसम्म” भेडाखालका मानिसहरूलाई मानव इतिहासको अतुलनीय एकतामा ल्याइँदैछ। निस्सन्देह, “हरेक जातिबाटको र सबै कुलको र मानिसको र भाषा भाषाहरूको एक ठूलो भीड़” परमेश्वरको आत्मिक इस्राएलसँग मिलेर येशूको त्यस अनमोल बलिदानमाथि आफ्नो विश्वासको घोषणा गर्ने काममा लागिरहेका छन्, जुन बलिदान यहोवाको सार्वभौम शासनलाई उच्च पार्न गरिएका सबै कामहरूको आधारशिला हो।—प्रेरित १:८; प्रकाश ७:४, ९, १०. (w94 1/1)
[पृष्ठ ८, ९-मा भएको चित्र]
मास्को र किभमा पूर्वले पश्चिमलाई भेट्छ