प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १/१ pp. २४-२८
  • यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल सच्चाइ सिक्ने
  • विरोधको बावजूद प्रचार
  • दोस्रो विश्‍वयुद्धताका कठिनाइ
  • तटस्थताको कारण हाम्रो परीक्षा
  • म आफ्नो गाउँ फर्कें
  • साहित्य आउन बन्द हुन्छ
  • कठिनाइहरू बढ्‌छन्‌
  • नाटकीय परिवर्तन
  • परमेश्‍वरको राज्यका लागि मात्र
  • यहोवाले “असामान्य शक्‍ति” दिनुभएको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—अल्बेनिया र कोसोभो
    यहोवाका साक्षीहरूको अनुभव
  • मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो
    ब्यूँझनुहोस्‌!—२००३
  • पूर्व र पश्‍चिम दुवै दिशामा यहोवा आफ्ना जनहरूलाई बलियो बनाउनु हुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १/१ pp. २४-२८

यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन

नाशो दोरीको वृतान्तमा आधारित

ग्रीस नजीकै पर्ने दक्षिण अल्बेनियामा ब्रेस्टन नाउँ गरेको सानो पहाडी गाउँ छ। त्यही गाउँमा सन्‌ १९०७ तिर मेरो जन्म भएको थियो। पाँच वर्षको हुँदा म ग्रीक स्कूल जान थालें। तर प्रथम विश्‍वयुद्धको दौडान इटालियन सेनाले हमला गरेपछि मेरो पढाइ रोकियो। युद्धपछि मेरो स्कूल सुरु त भयो तर पढाइ अल्बेनियाली भाषामा भयो।

मेरो आमाबाबु त्यति धर्मकर्म गर्ने खालको नहुनु भए तापनि अल्बेनियाली अर्थोडक्स चर्चका रीतिथितिहरू भने पालन गर्नुहुन्थ्यो। मेरो काकाबाजे ब्रेस्टनको पादरी हुनुहुन्थ्यो। अतः म चर्चमा काम गर्न थालें। साथै त्यहाँभित्र हुने गतिविधिहरू राम्ररी देख्ने मौका पनि पाएँ। मलाई चर्चका रीतिरिवाजहरू साह्रै आडम्बरी लाग्थ्यो र मानिसहरूको कपट देखेर दिक्क लाग्थ्यो।

स्थानीय परम्पराअनुसार आमाबाबुले मेरो बिहे गर्न कन्या छान्‍नुभयो। आरजिरो, ग्राबोभा भन्‍ने पल्लो गाउँकी युवती थिइन्‌ र सन्‌ १९२८ मा हाम्रो बिहे भयो। त्यतिबेला तिनी १८ वर्षकी थिइन्‌।

बाइबल सच्चाइ सिक्ने

त्यही समयतिर मैले संयुक्‍त राज्यबाट आएको मेरो भाइ पर्नेलाई अर्थोडक्स चर्चको गुनासो सुनाएँ। तिनले जवाफ दिए, “अमेरिकामा मेरो घर नजीकै मानिसहरूको समूह छ। तिनीहरू चर्च जाँदैनन्‌ तर बाइबल अध्ययन भने गर्दा रहेछन्‌।” चर्च नगइकन बाइबल अध्ययन गर्ने विचार मलाई मन पऱ्‍यो। अतः मैले भाइलाई केही बाइबल साहित्यहरू पठाउन आग्रह गरें।

हाम्रो यो कुराकानीलाई मैले चट्टै बिर्सिसकेको थिएँ। वर्ष दिनपछि मिलअकी, विसकन्सन भन्‍ने ठाउँबाट पोको पाएपछि मात्र मैले सम्झें। पोकोभित्र अल्बेनियाली भाषाको द हार्प अफ गड (परमेश्‍वरको वीणा) र ग्रीक भाषाको प्रहरीधरहरा रहेछ। सरसरती किताप पल्टाएर हेर्दा साँचो चर्चबारे उल्लेख गरेको भेट्टाएँ। त्यसले गर्दा म विचलित भएँ। “चर्चसँग सम्बन्धित कुनै कुरा मलाई चाहिंदैन” भनेर मैले मनमनै भनें। अतः ती कितापहरू मैले राम्ररी पढिनँ।

सन्‌ १९२९ मा म सेनामा भर्ती भएँ र मलाई अल्बेनियाको राजधानी टिरानेमा खटाइयो। त्यहाँ मैले स्थाथी मुसीलाई भेटें। तिनी ग्रीक बाइबल पढ्‌दैथिए। “तपाईं चर्च जानुहुन्छ?” मैले सोधें। “अहँ जान्‍न। मैले चर्च छोडिसकें। अहिले म इन्टरनेशनल बाइबल स्टुडेण्ट हुँ।” पछि अर्को एक जना सिपाही र म स्थाथीसित आइतबारको दिन सभामा गयौं। त्यहाँ मैले साँचो चर्च कुनै भवन वा धर्म नभई ख्रीष्टका अभिषिक्‍त सेवकहरूको समूह भनेर सिकें। त्यसपछि बल्ल त्यो द हार्प अफ गड (परमेश्‍वरको वीणा) भन्‍ने कितापमा लेखेको कुरा बुझें।

नाशो इद्रिजी र स्पाइरो भ्रुहो सन्‌ १९२० दशकको मध्यतिर संयुक्‍त राज्यबाट अल्बेनिया फर्केका रहेछन्‌ र त्यतिबेला आफूले बाइबलबाट सिकेका सत्य कुरा फैलाइरहेका रहेछन्‌। केही मुठीभर बाइबल स्टुडेण्टसँग मिलेर म पनि टिरानेमा सभाहरू धाउन थालें। मैले यहोवाको संगठन पाएको रहेछु भनेर छिट्टै स्पष्ट देख्न थालें। सन्‌ १९३० अगस्त ४ तारिखका दिन नजीकैको खोलामा बप्तिस्मा लिएँ।

त्यसपछि ब्रेस्टन फर्केर जुत्ता बनाउने मेरो पुरानो पेशा सुरु गरें। तर त्योभन्दा महत्त्वपूर्ण कुरा, आफूले बाइब- लबाट सिकेका कुरा अरूसित बाँड्‌न थालें। म तिनीहरूलाई भन्थें: “येशू ख्रीष्ट त्यो चर्चमा झुण्डाएको मूर्ति जस्तो निर्जीव हुनुहुन्‍न। उहाँ जीवित हुनुहुन्छ!”

विरोधको बावजूद प्रचार

सन्‌ १९२५ मा अहमद बा जोगीले सत्ता पल्टाएर सन्‌ १९२८ मा आफैलाई राजा जोग प्रथम बनाए। तिनले सन्‌ १९३९ सम्म शासन गरे। मानव अधिकारसम्बन्धी तिनका मन्त्रीहरूले मसीही कार्यलाई स्वीकृति दिएका थिए। तैपनि, हाम्रा समस्याहरू थिए। गृहमन्त्री मुसा जुका र रोमको पोपबीचको घनिष्ठ सम्बन्ध त्यसको कारण थियो। जुकाले तीनवटा धर्मलाई मात्र मान्यता दिए। ती हुन्‌, मुस्लिम, अर्थोडक्स र रोमन क्याथोलिक। प्रहरीहरूले हाम्रा कितापहरू जफत गरेर प्रचारकार्य रोक्न खोजे तर सफल भएनन्‌।

सन्‌ १९३० दशकतिर म अल्बेनियाको ठूलो शहर बेरातमा प्रायजसो जाने गर्थें। मिहाल बिकीले यहींबाट हाम्रो प्रचार कार्यलाई निर्देशन दिन्थे। हामीले अधिराज्यभर प्रचार भ्रमणको प्रबन्ध मिलायौं। एक पटक दुइ हप्ताका लागि श्‍कोडर शहरमा पठाइँदा मैले थुप्रै साहित्य बाँड्‌न सकें। सन्‌ १९३५ मा किलसिरी शहरमा प्रचार गर्न हामीले समूह बनाएर बस भाडामा लियौं। त्यसपछि एरसेक (अहिले कलोन्या), एलबसान, कोर्च, परमेट, पोग्रादेट्‌स र लेस्कोभिक शहरहरूमा प्रचार गर्न हामीले अल्बेनियामा ठूलो यात्राको तालिका बनायौं। हामीले समयमै भ्रमण सकाएर ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन टिराने फर्क्यौं।

आध्यात्मिक आहार पाइरहेको हुँदा हामी आध्यात्मिक तवरमा बलियो भइरहने मदत पायौं। अतः हामीले कहिल्यै त्यागिएको महसुस गरेनौं। सन्‌ १९३० देखि १९३९ सम्म मैले नियमित रूपमा ग्रीक प्रहरीधरहरा पाएँ। हरेक दिन कम्तीमा एक घण्टा बाइबल पढ्‌नु पनि मेरो लक्ष्य थियो र आँखाले देख्न छोड्‌नुअघि ६० वर्षसम्म मैले त्यसै गरें। अल्बेनियाली भाषामा सम्पूर्ण बाइबल उपलब्ध हुन थालेको केही साल मात्र भयो। त्यसैले सानै छँदा ग्रीक भाषा सिक्न पाएकोमा म खुशी छु। सम्पूर्ण बाइबल पढ्‌न सकोस्‌ भनेर दोस्रो विश्‍वयुद्धअघिका अन्य अल्बेनियाली साक्षीहरूले पनि ग्रीक भाषा सिकेका थिए।

सन्‌ १९३८ मा आरजिरोले बप्तिस्मा लिइन्‌। सन्‌ १९३९ सम्ममा हाम्रा दश जना छोराछोरीमध्ये सात जनाको जन्म भइसकेको थियो। दुःखको कुरा, हाम्रा पहिलो सात छोराछोरीमध्ये तीन जना कलिलै उमेरमा मरे।

दोस्रो विश्‍वयुद्धताका कठिनाइ

अप्रिल, सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु हुनअघि, इटालियन फाशिस्ट सेनाहरूले अल्बेनियामा आक्रमण गऱ्‍यो। केही समयभित्रै यहोवाका साक्षीहरूको काममाथि प्रतिबन्ध लगाइयो। तैपनि ५० जना जति राज्य उद्‌घोषकहरू मिलेर बनेको हाम्रो सानो समूहले प्रचार गर्न छाडेन। दोस्रो विश्‍वयुद्धताका लगभग १५,००० जति हाम्रा पुस्तक पुस्तिकाहरू जफत गरेर नष्ट गरिए।

जानी कोमिनोको घरमा साहित्य राख्ने ठूलो कोठा थियो। हाम्रा साहित्यहरू संयुक्‍त राज्यमा छापिंदा रहेछन्‌ भनेर थाह पाउँदा इटालियन सिपाहीहरू विचलित भए। “तिमीहरूले अफवाह फैलाउन खोजेको हो! संयुक्‍त राज्य इटालीको विरुद्धमा छ!” तिनीहरूले भने। थोमाइ र वसिली कामा नाउँ गरेका जोशिला जवान भाइहरूलाई गिरफ्तार गरियो। तिनीहरूले वितरण गरेका कितापहरू कोमिनोबाट प्राप्त भएको हो भन्‍ने थाह पाएपछि तिनलाई पनि गिरफ्तार गरियो। चाँडै मलाई पनि प्रहरीहरूले सोधपुछका लागि बोलाए।

“यिनीहरूलाई चिन्छौ?”

“चिन्छु।”

“के तिमी यिनीहरूसित काम गर्छौ?”

“हो, काम गर्छु। हामी यहोवाका साक्षीहरू हौं। हामी सरकार विरोधी होइनौं। हामी निष्पक्ष छौं।”

“के तिमीले पनि यी साहित्यहरू वितरण गर्थ्यौ?”

मैले स्पष्ट जवाफ दिंदा तिनीहरूले मलाई हतकडी लगाए। त्यसपछि सन्‌ १९४० जुलाई ६ तारिख मलाई जेल हालियो। त्यहाँ मेरै गाउँका अरू पाँच जना—जोसेफ कासी, लुकान बार्को, जानी कोमिनो र कामा दाजुभाइलाई भेटें। जेल छँदा अरू तीन जना साक्षी—गोरी नासी, निकोधिम शिटी र लियोनिदास पोपलाई पनि हामीले भेट्यौं। हामी नवै जनालाई १.८ मिटर चौडाइ र ३.७ मिटर लम्बाइ भएको कोठामा कोचेर राखियो।

केही दिनपछि हामी सबैलाई सिक्रीले बाँधेर परमेट शहर लगियो। तीन महिनापछि त्यहाँबाट हामीलाई टिराने जेल लगियो र आठ महिनासम्म कुनै फैसला नसुनाइकन त्यतिकै थुनेर राखियो।

अन्ततः हामीलाई सैनिक अदालत लगियो। भाइ शिटी र मलाई २७ महिना, भाइ कोमिनोलाई २४ महिनाको जेल सजाय भयो। बाँकीलाई चाहिं १० महिनापछि रिहा गरियो। अदालतको फैसलापछि हामीलाई गिरकास्टर जेलमा लगियो। भाइ गोले लोकोले सन्‌ १९४३ मा हामीलाई त्यहाँबाट छुटाउनुभयो। त्यसपछि म आफ्नो परिवारसहित परमेट शहरमा सरें र त्यहीं सानो मण्डलीको निरीक्षक पनि भएँ।

हाम्रो काममाथिको प्रतिबन्ध, त्यसमाथि छिमेकी देशहरूमा दोस्रो विश्‍वयुद्ध चर्किरहेको भए तापनि राज्य समाचार प्रचार गर्ने हाम्रो जिम्मेवारी पूरा गर्न हामीले यथाशक्य गऱ्‍यौं। (मत्ती २४:१४) सन्‌ १९४४ मा १५ जना साक्षीहरू थुनामा थिए। यस्तो कठिन परिस्थितिको बावजूद हामीले कहिल्यै यहोवाले त्याग्नुभएको महसुस गरेनौं।

तटस्थताको कारण हाम्रो परीक्षा

सन्‌ १९४५ मा युद्ध अन्त त भयो तर हाम्रा समस्याहरू भने पहिलेभन्दा झन्‌ झन्‌ कठिन हुँदै गए। सरकारले सन्‌ १९४६ डिसेम्बर २ तारिख सबैलाई जबरजस्ती भोट दिनुपर्ने घोषणा गऱ्‍यो। भोट नदिने व्यक्‍तिलाई सरकारको शत्रु मानिन्थ्यो। अतः परमेट मण्डलीका भाइहरूले “के गर्ने?” भनेर सोध्न थाले।

मैले जवाफ दिएँ, “यहोवामाथि भरोसा गर्नुहुन्छ भने, के गर्ने भनेर मलाई सोध्नै पर्दैन। यहोवाका जनहरू तटस्थ रहन्छन्‌ भनेर तपाईंहरूलाई थाहै छ। हामीहरू यो संसारका भाग होइनौं।”—यूहन्‍ना १७:१६.

चुनावको दिन पनि आयो र सरकारी प्रतिनिधिहरू हाम्रा घर आए। सुरुमा तिनीहरूले नम्र भएर कुरा गरे, “पहिले कफी पिऔं अनि त्यसपछि कुरा गरौंला। आज केको दिन हो, तपाईंलाई थाह छ?”

“थाह छ। आज चुनावको दिन हो,” मैले जवाफ दिएँ।

“त्यसोभए तुरुन्त गइहाल्नुहोस्‌, नत्र ढिलो हुन्छ,” एक जना अफिसरले जवाफ दिए।

“तर हजुर मेरो जाने विचार छैन, किनभने हामीले यहोवालाई भोट दिइसक्यौं,” मैले जवाफ दिएँ।

“त्यसोभए ठीक छ हाम्रो विपक्षीलाई भोट देऊ।”

मैले यहोवाका साक्षीहरू पूर्णतया तटस्थ रहन्छन्‌ भनेर बयान गरें। हाम्रो अडान सर्वत्र फैलिंदा हामीमाथि झनै दबाब बढ्यो। हामीलाई सभाहरू बन्द गर्ने आज्ञा दिइयो। अतः हामी लुकीछिपी भेला हुनथाल्यौं।

म आफ्नो गाउँ फर्कें

सन्‌ १९४७ मा आफ्नो परिवारसहित म ब्रेस्टन फर्कें। केही समय नबित्दै डिसेम्बरको चिसो महिनामा एक दिउँसो मलाई सिगुरिमी-को (गुप्ती प्रहरी) कार्यालयमा हाजिर हुन बोलाइयो। “मैले तिमीलाई किन बोलाएँ, थाह छ?,” अफिसरले सोधे।

“मेरो विचारमा तपाईंले मेरो विरुद्धमा कुनै उजुरी सुन्‍नुभएको हुनुपर्छ,” मैले जवाफ दिएँ। “तर संसारले हामीलाई घृणा गर्छ भनेर बाइबलले बताएको हुनाले मेरो विरुद्धमा कसैले उजुरी गरेमा मलाई अचम्म लाग्दैन।”—यूहन्‍ना १५:१८, १९.

“मलाई बाइबलको कुरा सुनाउनुपर्दैन,” तिनले नमीठो जवाफ दिए। “नत्र नराम्रो कुटाइ खानेछौ।”

मलाई बाहिर चिसोमा उभाएर अफिसर र तिनका मानिसहरू कार्यालयबाट गए। केही समयपछि मलाई आफ्नो कार्यालयमा बोलाएर तिनले मेरो घरमा सभाहरू नगर्ने आज्ञा दिए। “तिम्रो गाउँमा कति जना मान्छे छन्‌?,” तिनले सोधे

मैले जवाफ दिए, “एकसय बीस।”

“तिनीहरू कुन धर्म मान्छन्‌?”

“अल्बेनियाली अर्थोडक्स।”

“अनि तिमी?”

“म यहोवाको साक्षी हुँ।”

“एक सय बीस जना मान्छे एकतर्फ अनि तिमीचाहिं अर्कोतर्फ?” त्यसपछि तिनले मलाई चर्चमा मैनबत्ती बाल्ने आज्ञा दिए। मैले इन्कार गर्दा तिनले मलाई डण्डाले पिटे। एक बजे बिहान मात्र मलाई रिहा गरियो।

साहित्य आउन बन्द हुन्छ

दोस्रो विश्‍वयुद्धको अन्तपछि हामीले पुनः हुलाक सेवाद्वारा प्रहरीधरहरा पाउन थाल्यौं। तर अन्ततः हाम्रो घरमा ती पत्रिका आउन छोड्यो। त्यतिकैमा एक रात दश बजेतिर मलाई गुप्ती प्रहरीले हाजिर हुने आज्ञा दियो। “ग्रीक भाषामा पत्रिका आएको छ र त्यसमा के लेखिएको छ हामीलाई भन्‌,” तिनीहरूले मलाई भने।

मैले जवाफ दिएँ, “खै हजुर, म ग्रीक त्यति राम्ररी जान्दिन। तर मेरो छिमेकीलाई ग्रीक राम्ररी आउँछ। शायद उहाँले तपाईंलाई मदत गर्न सक्नुहुन्छ कि।”

“होइन, तिमीले नै बताऊ,” एउटा अफिसरले केही प्रति ग्रीक प्रहरीधरहरा निकाल्दै भने।

“ओहो, हजुर यो त मेरै पत्रिका हो नि! यसबारे म बताउनसक्छु। यी पत्रिकाहरू ब्रूकलिन, न्यु योर्कबाट आउँछन्‌ र यहोवाका साक्षीहरूको मुख्यालय त्यहीं छ। म पनि यहोवाको साक्षी हुँ। तर हजुर, तिनीहरूले गल्ती गरेजस्तो छ। यी पत्रिका त तपाईंकहाँ नआएर मकहाँ पो आउनुपर्ने,” मैले उत्तेजित हुँदै जवाफ दिएँ।

तर तिनीहरूले पत्रिकाहरू दिएनन्‌ र झन्डै ४० वर्षपछि सन्‌ १९९१ देखि मात्र हामीले अल्बेनियाली भाषामा बाइबल साहित्यहरू पाउन थाल्यौं। ती ४० वर्षको दौडान हामीले बाइबल मात्र चलाएर भएपनि प्रचार गरिरह्‍यौं। सन्‌ १९४९ मा २० जना साक्षीहरू जेलमा थिए। तिनीहरूमध्ये कसै कसैले पाँच वर्षको जेल सजाय पाएका थिए।

कठिनाइहरू बढ्‌छन्‌

सन्‌ १९५० दशकमा मानिसहरूलाई सेनाको समर्थन गर्छौं भन्‍ने पुर्जी बोक्ने आज्ञा दिइयो। तर यहोवाका साक्षीहरूले त्यस्ता पुर्जी बोक्न इन्कार गरे। फलस्वरूप भाइ कोमिनो र मैले अर्को दुइ महिना जेलमा बिताउनुपऱ्‍यो।

सरकारले दुइ-चार धर्महरूलाई अनुमोदन दिंदा हामीले केही हदसम्म स्वतन्त्रता पाएका थियौं। तथापि, सन्‌ १९६७ मा सरकारले सबै धर्ममाथि प्रतिबन्ध लगाएपछि अल्बेनिया आधिकारिक तवरमा पूर्ण नास्तिक देश बन्यो। साक्षीहरूले सभाहरू गर्न प्रयास जारी नै राखे तापनि त्यसो गर्नु झन्‌ झन्‌ कठिन हुँदै गइरहेको थियो। हामीमध्ये कसै कसैले कोटभित्र गोप्य खल्ती सिलाएका थियौं। त्यही खल्तीमा सानो बाइबल लुकाएर खेतमा गएर पढ्‌थ्यौं।

तर टिरानेका साक्षीहरूले बाइबल पढिरहेको भेटाइयो र तीन जनालाई सुदूर श्रम शिविरमा पाँच वर्षको सजाय दिइयो। फलतः तिनीहरूको परिवारले निकै दुःख भोग्नुपऱ्‍यो। तर शहरदेखि टाढा स-साना गाउँमा बस्ने साक्षीहरूलाई सरकारले गम्भीर खतरा नसम्झेकोले हामीलाई चाहिं श्रम शिविर पठाइएन। तर हाम्रो तटस्थताले गर्दा राशन नामावलीबाट हाम्रो नाउँ काटियो। तसर्थ, जीवन असाध्यै कठिन थियो। साथै, हाम्रा अरू दुइ छोराछोरी मरे। तैपनि, यहोवाले त्याग्नुभएको कहिल्यै महसुस गरेनौं।

अल्बेनियामा भय व्याप्त थियो। सबै जनामाथि नजर राखिएको हुन्थ्यो र सत्तारूढ पार्टी विपरीत विचारधारा कसैले प्रकट गर्ने हिम्मत गरेमा गुप्ती प्रहरीले रिपोर्ट गरिदिन्थ्यो। अतः हाम्रो गतिविधिबारे लिखित रिपोर्ट लेख्ने सम्बन्धमा हामी असाध्यै होशियार थियौं। आध्यात्मिक प्रोत्साहनका लागि हामी दुइ वा तीन जनाभन्दा धेरै एकै ठाउँमा भेला हुनसक्दैन थियौं। तैपनि, हामीले प्रचार गर्न छोडैनौं।

हाम्रा भाइहरूबीच गोलमाल मच्चाउन गुप्ती प्रहरीले टिरानेका मान्यवर साक्षी जासूस थियो भन्‍ने हल्ला फैलाए। यसले गर्दा केही व्यक्‍तिहरूको भरोसा डाँवाडोल भयो र हाम्रो एकता केही हदसम्म भंग भयो। कुनै ताजा बाइबल साहित्य तथा यहोवाको दृश्‍य संगठनसित कुनै सम्पर्क नभएकोले केही व्यक्‍तिहरू डरले गर्दा पछि हटे।

साथै, अख्तियारवालाहरूले अल्बेनियाका अति सम्मानित मसीही प्राचीन स्पाइरो भ्रुहोले आत्महत्या गरे भन्‍ने हल्ला फैलाए। तिनीहरू यसो भन्थे, “हेर, भ्रुओ जस्तो मानिसले समेत हार मान्यो।” वास्तवमा भाइ भ्रुओको हत्या गरिएको थियो भनेर पछि प्रमाणित भयो।

सन्‌ १९७५ मा आरजिरो र म छोरासित केही महिनाका लागि टिराने गयौं। चुनावको दौडान शहरका अधिकारीहरूले हामीलाई यसो भन्दै धम्काए: “भोट दिएनौ भने तिम्रो छोराको जागिर खोसिनेछ।”

जवाफमा मैले भनें, “हेर्नुहोस्‌, मेरो छोराले जागिर खाएको २५ वर्ष भइसक्यो। अनि तपाईंहरूले कर्मचारी रेकर्डमा ऊ र उसको परिवारको सविवरण कुरा लेख्नुभएकै होला। मैले भोट नदिएको ४० वर्ष भइसक्यो। यो कुरा तपाईंहरूको त्यो कर्मचारी रेकर्डमा हुनुपर्ने हो नि। यदि छैन भने, त्यसको अर्थ, तपाईंहरू राम्ररी रेकर्ड राख्नुहुन्‍न। हैन, रेकर्डमा छ भने, यतिका वर्षसम्म मेरो छोरालाई काम गर्न दिएर तपाईंहरूले आफ्नो पार्टीसित धोकाबाजी गर्नुभएको होइन त।” मेरो कुरा सुनेपछि ती अधिकारीहरूले म ब्रेस्टन फर्केमा अझ विवाद चर्काइने छैन भनेर मलाई भने।

नाटकीय परिवर्तन

सन्‌ १९८३ मा हामी ब्रेस्टनबाट लाक शहरमा बसाइँ सऱ्‍यौं। हामी सरेको केही समयभित्र सन्‌ १९८५ मा तानाशाहको मृत्यु भयो। तिनले सन्‌ १९४६ मा जबरजस्ती सबैलाई भोट खसाल्न लगाएको समयदेखि शासन गर्दै आएका थिए। समयमा टिरानेको मुख्य चोकमा ठड्याइएको तिनको र स्टालिनको मूर्ति पनि ढालियो।

हाम्रो गतिविधिमा प्रतिबन्ध लाग्दा थुप्रै साक्षीहरूमाथि निर्ममपूर्वक व्यवहार गरिएको थियो र कति त मारिए पनि। एक जना वृद्ध व्यक्‍तिले सडकमा केही साक्षीहरूलाई यसो भने: “साम्यवादीहरूले शासन गर्दा हामी सबैले आफ्नो परमेश्‍वरलाई त्याग्यौं। यहोवाका साक्षीहरू मात्र परीक्षा र कठिनाइका बावजूद परमेश्‍वरसित विश्‍वासी भएर बसे।”

अझ धेरै स्वतन्त्रता प्राप्त हुँदै गएपछि जून, १९९१ मा नौ जनाले आफ्नो मसीही सेवकाईबारे रिपोर्ट दिए। हाम्रो काममाथि प्रतिबन्ध फुकुवा गरेको महिना दिनपछि, जून, १९९२ मा ५६ जनाले प्रचार कार्यमा भाग लिए। त्यही वर्षको प्रारम्भमा ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा ३२५ जना उपस्थित हुँदा हामी हर्षले गदगद्‌ भएका थियौं। त्यहाँदेखि यता प्रचारकहरूको संख्या बढेर ६०० भन्दा बढी नाघिसक्यो र अप्रिल १४, १९९५ मा मनाइएको स्मरणार्थ उत्सवमा ३,४९१ जना उपस्थित भएका थिए। हालसालै थुप्रै जवान व्यक्‍तिहरू हाम्रो मण्डलीमा थपिएको देख्न पाउँदा म यति धेरै खुशी भएको छु, भनेर साध्यै छैन।

आरजिरो यहोवासमक्ष विश्‍वासी भइरहिन्‌ र यतिका वर्षसम्म मप्रति वफादार भएर बसिन्‌। म जेलमा वा प्रचार भ्रमणमा हुँदा तिनले गनगन नगरिकन धैर्यपूर्वक हाम्रो परिवारको आवश्‍यकता पूरा गरिन्‌। हाम्रो एक जना छोरा र तिनकी पत्नीले सन्‌ १९९३ मा बप्तिस्मा लिंदा हामी असाध्यै रमायौं।

परमेश्‍वरको राज्यका लागि मात्र

अल्बेनियामा यहोवाको संगठनले यति विघ्न एकता र आध्यात्मिक समृद्धिको आनन्द उठाउँदै गरेको देख्न पाएकोमा म खुशी छु। म यरूशलेमको त्यो वृद्ध शिमियोनजस्तै महसुस गर्छु जसले पूर्व प्रतिज्ञा गरिएको मसीहलाई देख्ने अनमोल सुअवसर पाएका थिए। (लूका २:३०, ३१) अहिले कसैले मलाई कुन सरकार मन पर्छ भनेर सोध्यो भने म यस्तो जवाफ दिन्छु: “मलाई साम्यवाद र पुँजीवाद दुवै मन पर्दैन। यो देश जनताको होस्‌ वा सरकारको, त्यो त्यति महत्त्वपूर्ण छैन। सरकारले बाटो बनाउँछ, टाढा टाढाको गाउँसम्म बिजुली पुऱ्‍याउँछ र केही हदसम्म सुव्यवस्था कायम राख्छ। तर यहोवाको सरकार, स्वर्गीय सरकार हो र अल्बेनियाका साथै सारा संसारका मानिसहरूले भोगिरहेका कठिनभन्दा कठिन समस्याको एक मात्र समाधान उहाँकै राज्य हो।”

आज सारा संसारमा परमेश्‍वरका जनले राज्यको प्रचार गरिरहेका छन्‌। यो कुनै मानिसको काम होइन तर परमेश्‍वरको काम हो। हामीहरू उहाँका सेवकहरू हौं। अल्बेनियामा हामीले असाध्यै दुःख भोग्नुपऱ्‍यो र वर्षौंसम्म यहोवाको दृश्‍य संगठनसित हाम्रो कुनै सम्पर्क भएन। तैपनि यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन। उहाँको आत्मा सधैं हामीसित थियो। हाम्रो हरेक कदमलाई उहाँले डोऱ्‍याउनुभयो। मेरो जीवनभर मैले यो देखेको छु।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने