प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १/१ पृ. २२-२७
  • यहोवाले ईश्‍वरतन्त्रद्वारा शासन गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले ईश्‍वरतन्त्रद्वारा शासन गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा ईश्‍वरतन्त्रको जन्म
  • ईश्‍वरतन्त्रमा अख्तियार
  • अईश्‍वरतान्त्रिक काम तथा मनोवृत्ति
  • एउटा ईश्‍वरतन्त्रको अन्त
  • एउटा नयाँ ईश्‍वरतन्त्र
  • ईश्‍वरतन्त्रसित घनिष्ठ हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • ईश्‍वरतन्त्रमा गोठाला अनि भेडाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • हाम्रा महान सृष्टिकर्ताका साथ गोठालो काम गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • यहोवाको शासन सही ठहरियो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १/१ पृ. २२-२७

यहोवाले ईश्‍वरतन्त्रद्वारा शासन गर्नुहुन्छ

“परमप्रभुले [यहोवा न्यु व०] सधैंको निम्ति राज्य गर्नुहुनेछ।”—भजनसंग्रह १४६:१०.

मानव समाजमाथि शासन गर्न मानिसहरूले निम्रोदको समयदेखि विभिन्‍न तरिकाहरू अपनाइसकेका छन्‌। तानाशाही, राजतन्त्र, अल्पतन्त्र र अरू विभिन्‍न प्रकारका प्रजातान्त्रिक सरकारहरू आए। यहोवाले ती सबै शासन व्यवस्थालाई अनुमति दिनुभएको छ। निस्सन्देह परमेश्‍वर नै सम्पूर्ण अधिकारको मूल स्रोत हुनुभएकोले एक अर्थमा उहाँले नै विभिन्‍न शासकहरूलाई तिनीहरूको सापेक्षिक स्थानमा राख्नुभयो। (रोमी १३:१) तथापि, मानिसहरूले सरकारमार्फत्‌ गरेका सबै प्रयासहरू असफल भएका छन्‌। कुनै पनि मानव सरकारले स्थायित्व र न्याय प्रदान गर्ने चिरस्थायी समाज खडा गर्न सकेको छैन। बारम्बार “एउटा मानिसले अर्को मानिसलाई दुःख” दिएका छन्‌।—उपदेशक ८:९.

२ के यसले हामीलाई अचम्भित गराउनु पर्छ र? अवश्‍य पर्दैन! असिद्ध मानिसहरू आफैले शासन गर्न सृजिएका थिएनन्‌। “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) त्यसैकारण, सम्पूर्ण इतिहासभरि एउटै मात्र सरकार वास्तवमा सफल भएको छ। कुन हो त्यो सरकार? त्यो हो यहोवा परमेश्‍वरको ईश्‍वरतन्त्र। बाइबलमा प्रयोग गरिएको युनानी भाषाअनुसार “ईश्‍वरतन्त्र” को अर्थ परमेश्‍वरद्वारा [थिओस] शासन [क्रातोस] हुन्छ। यहोवा परमेश्‍वरको भन्दा उत्तम सरकार अरू कुन नै हुनसक्छ र?—भजनसंग्रह १४६:१०.

३ आदम र हव्वाले यहोवाको विद्रोह नगरुन्जेल केही समयसम्म अदनको बगैंचामा ईश्‍वरतन्त्रले शासन गऱ्‍यो। (उत्पत्ति ३:१-६, २३) अब्राहामको समयमा शालेमको शहरमा ईश्‍वरतन्त्र भएको प्रतीत हुन्छ जहाँका राजा तथा पूजाहारी मल्किसदेक थिए। (उत्पत्ति १४:१८-२०; हिब्रू ७:१-३) तथापि, यहोवा परमेश्‍वरको पहिलो राष्ट्रिय ईश्‍वरतन्त्र सा०यु०पू० १६-औं शताब्दीमा सीनैको उजाडस्थानमा स्थापित भयो। यो कसरी हुन गयो? र त्यस ईश्‍वरतान्त्रिक सरकारले कसरी काम गऱ्‍यो?

एउटा ईश्‍वरतन्त्रको जन्म

४ सा०यु०पू० १५१३-मा यहोवाले इस्राएलीहरूलाई मिस्रको दासत्वबाट छुटाउनु भयो र तिनीहरूलाई खेद्‌दै आएका फिरउनको सेनालाई लाल समुद्रमा नाश गर्नुभयो। त्यसपछि उहाँले इस्राएलीहरूलाई सीनै पर्वततर्फ लानुभयो। पर्वतको फेदमा तिनीहरूले डेरा जमाएपछि मोशाद्वारा परमेश्‍वरले यसो भन्‍नुभयो: “‘मैले मिस्रीहरूलाई के गरें, औ तिमीहरूलाई कसरी गरुड़का पखेटामाझ बोकेर मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। यसकारण अब यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गर्‌यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो।’” इस्राएलीहरूले यसो भन्दै प्रत्युत्तर दिए: “परमप्रभुले [यहोवाले न्यु व०] भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” (प्रस्थान १९:४, ५, ८) यसप्रकार एउटा वाचा बाँधियो र ईश्‍वरतान्त्रिक राष्ट्र इस्राएलको जन्म भयो।—व्यवस्था २६:१८, १९.

५ तर मानिसको नजरमा अदृश्‍य यहोवाले कसरी इस्राएलमाथि शासन गर्नुभयो? (प्रस्थान ३३:२०) यस अर्थमा कि राष्ट्रको व्यवस्था अनि पूजाहारीत्व यहोवाले दिनुभएको थियो। व्यवस्था पालन गर्ने र उहाँको ईश्‍वरीय निर्देशित प्रबन्धअनुसार उपासना गर्नेहरू जतिले महान ईश्‍वरतन्त्रवादी, यहोवाको सेवा गरिरहेका हुन्थे। यसको साथै प्रधान पूजाहारीसँग ऊरीम र तुम्मीम पनि थिए जसद्वारा आकस्मिक समयमा यहोवा परमेश्‍वरले निर्देशन दिनुहुन्थ्यो। (प्रस्थान २८:२९, ३०) यस बाहेक, योग्य बूढा प्रधानहरू ईश्‍वरतन्त्रमा यहोवाका प्रतिनिधिहरू थिए। तिनीहरूले परमेश्‍वरको व्यवस्था परिचालन भए नभएको हेर्थे। यीमध्ये केही मानिसहरूको विवरणलाई विचार गऱ्‍यौं भने हामीहरू कसरी परमेश्‍वरको शासनको अधीनमा बस्नु पर्ने रहेछ भनेर राम्ररी बुझ्नेछौं।

ईश्‍वरतन्त्रमा अख्तियार

६ इस्राएलमा अख्तियार पाउनेहरूको ठूलो विशेषाधिकार हुन्थ्यो। तर आफ्नो सन्तुलन कायम राख्नु तिनीहरूको निम्ति एउटा चुनौती थियो। यहोवाको नाउँको पवित्रीकरणभन्दा आफ्नो अहम्‌लाई कहिल्यै महत्त्व नदिन तिनीहरू होशियार हुनुपर्थ्यो। “आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन” भन्‍ने प्रेरित वचन बाँकि मानवजातिमाथिझैं इस्राएलीहरूमाथि पनि उत्तिकै लागू हुन्थ्यो। इस्राएल एउटा ईश्‍वतन्त्र हो र तिनीहरूले आफ्नो होइन यहोवाको इच्छा पूरा गर्नुपर्छ भनेर बूढा प्रधानहरूले ध्यानमा राख्दा मात्र इस्राएल फस्टायो। इस्राएल स्थापना भएको लगत्तै मोशाको ससुरो यित्रोले तिनीहरू कस्ता प्रकारका व्यक्‍ति हुनुपर्ने हो भनेर यसप्रकार सुहाउँदो वर्णन गरे, ‘परमेश्‍वरको भय मान्‍ने, योग्य, इमान्दार र चरित्रवान।’—प्रस्थान १८:२१.

७ इस्राएलमाथि उच्च अख्तियार चलाउने पहिलो व्यक्‍ति मोशा थिए। ईश्‍वरतान्त्रिक प्रबन्धअनुसार अख्तियार पाउने व्यक्‍तिको तिनी असल उदाहरण थिए। हो, एक पटक तिनले मानव कमजोरी नदेखाएका होइनन्‌। तैपनि मोशाले सधैं यहोवामाथि भरोसा राखे। पहिले समाधान नगरिएका विवाद उठ्‌दा मोशाले यहोवाकै निर्देशन खोजे। (गन्ती १५:३२-३६ तुलना गर्नुहोस्‌।) तर आफ्नो महिमाको लागि उच्च अख्तियार प्रयोग गर्ने प्रलोभनलाई मोशाले कसरी विरोध गरे? भनौं भने, लाखौं मानिसहरू भएका राष्ट्रलाई डोऱ्‍याएको भए तापनि तिनी “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए।” (गन्ती १२:३) तिनको व्यक्‍तिगत महत्त्वाकांक्षा थिएन बरु परमेश्‍वरको महिमाप्रति तिनी चिन्तित थिए। (प्रस्थान ३२:७-१४) मोशासँग बलियो विश्‍वास पनि थियो। राष्ट्रिय नेता बन्‍नुअघि तिनको अवस्थाबारे चर्चा गर्दै प्रेरित पावलले यसो भने: “अदृश्‍यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२७) स्पष्ट छ, यहोवा नै इस्राएलको वास्तविक शासक हुनुहुन्छ भन्‍ने कुरालाई मोशाले कहिल्यै भुलेनन्‌। (भजनसंग्रह ९०:१, २) आज हाम्रो निम्ति कस्तो उत्तम उदाहरण!

८ मोशा एक्लैलाई इस्राएलमाथि निरीक्षण गर्न कठिन पर्दा यहोवाले ७० जना बूढा प्रधानमाथि आफ्नो आत्मा खन्याउनुभयो। राष्ट्रको न्याय गर्ने काममा यिनीहरूले मोशालाई सहयोग गर्ने थिए। (गन्ती ११:१६-२५) पछि गएर हरेक शहरको आफ्नै बूढा प्रधानहरू हुनेथियो। (व्यवस्था १९:१२; २२:१५-१८; २५:७-९ तुलना गर्नुहोस्‌।) मोशाको मृत्युपश्‍चात्‌ यहोवाले यहोशूलाई राष्ट्रको नेता बनाउनु भयो। यो सुअवसर पाएपछि यहोशूले के मात्र गर्नु परेन होला भनेर हामी कल्पना गर्न सक्छौं। तथापि, यो एउटा काम चाहिं कहिल्यै छोड्‌नु हुँदैन भनेर यहोवाले भन्‍नुभयो: “व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्‌, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू।” (यहोशू १:८) एकछिन सोच्नुहोस्‌ त, ४० वर्षभन्दा बढी समय सेवा गरिसकेका यहोशूले व्यवस्था पढ्‌नु आवश्‍यक थियो। त्यस्तैगरि जति नै लामो समयदेखि सेवा गर्दै आएको होस्‌ वा जतिकै विशेषाधिकार पाएको होस्‌ हामीले पनि बाइबल अध्ययन गर्नु र यहोवाका नियम तथा सिद्धान्तहरूप्रति हाम्रो मनलाई ताजा बनाइराख्नु आवश्‍यक छ।—भजनसंग्रह ११९:१११, ११२.

९ यहोशूपछि थुप्रै न्यायकर्त्ताहरू आए। दुर्भाग्यवश, यिनीहरूको समयमा बारम्बार इस्राएलीहरूले ‘यहोवाको दृष्टिमा जे खराब थियो त्यही गरे।’ (न्यायकर्त्ता २:११) ती न्यायकर्त्ताहरूको समयलाई लिएर एउटा विवरणले यसो भन्छ: “त्यस बेला इस्राएलमा कुनै राजा थिएन, औ हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथियो।” (न्यायकर्त्ता २१:२५) हरेकले आचरण र उपासनासम्बन्धी आफै निर्णय गरे तर धेरै इस्राएलीहरूले गलत निर्णय गरे भनेर इतिहासले देखाउँछ। तिनीहरू मूर्तिपूजामा लागे र बेला-बेलामा भयानक अपराधहरू समेत गरे। (न्यायकर्त्ता १९:२५-३०) यद्यपि, कसै कसैले भने उदाहरणीय विश्‍वास देखाए।—हिब्रू ११:३२-३८.

१० इस्राएलका अन्तिम न्यायकर्त्ता, शमूएलको जीवनकालमा इस्राएल सरकारसम्बन्धी संकटमा फँस्यो। वरपरका शत्रु राष्ट्रहरूको राजतन्त्र देखेर इस्राएलीहरूले पनि राजा चाहिन्छ भनेर तर्क गरे। तिनीहरूको एउटा राजा हुनुहुन्छ र तिनीहरूको सरकार ईश्‍वरतन्त्र हो भनेर तिनीहरूले बिर्से। शमूएललाई यहोवाले यसो भन्‍नुभयो: “तिनीहरूले तँलाई इन्कार गरेका होइनन्‌। तिनीहरूले ता मलाईनै इन्कार गरेका हुन्‌, मलाईनै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्‌।” (१ शमूएल ८:७) आफ्नो आध्यात्मिक दृष्टिकोण गुमाउन अनि वरपरका संसारबाट प्रभावित हुन कति सजिलो रहेछ भनेर तिनीहरूको उदाहरणले हामीलाई स्मरण गराउँछ।—१ कोरिन्थी २:१४-१६ तुलना गर्नुहोस्‌।

११ तथापि, इस्राएलीहरूको मागलाई यहोवाले स्वीकृति दिनुभयो र तिनीहरूका प्रथम दुई राजा, शाऊल र दाऊदलाई आफैले छान्‍नुभयो। इस्राएल, यहोवा शासित ईश्‍वरतन्त्र नै भइ रह्‌यो। तिनीहरूका राजाहरूले “परमेश्‍वरको डर मान्‍न सिकोस्‌। . . . आफ्ना दाज्यू-भाइहरूका बीचमा घमण्डले नफूलोस्‌, र व्यवस्थाको मार्ग त्यागेर दाहिने वा देब्रे नलागोस्‌” भनेर व्यवस्थाको आफ्नै प्रति बनाइ दिनहुँ पढ्‌नु अनिवार्य छ भनी सम्झिनु आवश्‍यक थियो। (व्यवस्था १७:१९, २०) हो, उहाँको ईश्‍वरतन्त्रमा अख्तियार पाउनेहरूले आफैलाई उच्च नबनाउन्‌ र तिनीहरूका क्रियाकलापहरूमा उहाँको व्यवस्था प्रतिबिम्बित होउन्‌ भनेर यहोवा चाहनु हुन्थ्यो।

१२ यहोवामाथि राजा दाऊदको विशिष्ट विश्‍वास थियो र तिनी सधैंभरि शासन गर्ने राजवशंको पिता हुनेछ भनेर परमेश्‍वरले वाचा बाँध्नुभयो। (२ शमूएल ७:१६; १ राजा ९:५; भजनसंग्रह ८९:२९) दाऊदले नम्रतापूर्वक यहोवाप्रति देखाएको अधीनता अनुकरणीय छ। तिनले भने: “हे परमप्रभु [यहोवा न्यु व०] तपाईंकै सामर्थ्यमा राजाले आनन्द मनाउनुहुनेछ र तपाईंबाट हुने उद्धारमा उहाँ कति हर्षित हुनुहुनेछ।” (भजनसंग्रह २१:१) शारीरिक कमजोरीको कारण दाऊद कहिलेकाहीं चुके तापनि, नियमझैं गरी तिनले आफ्नो नभई यहोवाको सामर्थ्यमाथि भरोसा गरे।

अईश्‍वरतान्त्रिक काम तथा मनोवृत्ति

१३ इस्राएलका सबै नेताहरू मोशा र दाऊद जस्ता भएनन्‌। इस्राएलमा मूर्तिपूजा गर्न दिएर धेरैले ईश्‍वरतान्त्रिक प्रबन्धप्रति घोर अनादर देखाए। विश्‍वासी शासकहरू समेत बेला-बेलामा अईश्‍वरतान्त्रिक ढङ्‌गमा चले। सबैभन्दा दुःखलाग्दो उदाहरण त सुलेमान हुन्‌। तिनले प्रशस्त बुद्धि र समृद्धि पाएका थिए। (१ राजा ४:२, ५, २९) तर यहोवाको नियमलाई अवहेलना गर्दै तिनले धेरै पत्नीहरू ल्याए र इस्राएलमा मूर्तिपूजा गर्ने अनुमति दिए। स्पष्टतः सुलेमानको शासनको अन्तिम वर्षहरू दमन र अत्याचारले भरिएको थियो।—व्यवस्था १७:१४-१७; १ राजा ११:१-८; १२:४.

१४ सुलेमानको छोरा रहबामले आफ्नो प्रजाको बोझ हल्का पार्ने मागको सामना गर्नुपऱ्‍यो। तर परिस्थितिलाई कोमलतापूर्वक हल गर्नुको सट्टा तिनले सैन्य बल प्रयोग गरेर आफ्नो अधिकार जमाउन खोजे। फलस्वरूप तिनले १२ मध्ये १० कुल गुमाउन पऱ्‍यो। (२ इतिहास १०:४-१७) त्यस टुक्रिएको दश कुलको पहिलो राजा यारोबाम थिए। आफ्नो राज्य सँगिनी राष्ट्रसँग फेरि नमिलोस्‌ भनेर निश्‍चित गर्न तिनले बाछाको उपासना स्थापित गरे। राजनैतिक दृष्टिकोणमा यो चाल चतुर देखिएको होला तर यसले ईश्‍वरतन्त्रप्रति घोर अनादर देखायो। (१ राजा १२:२६-३०) पछि राजा आसाले घमण्डको कारण आफूले लामो समयदेखि गर्दै आएको विश्‍वासिलो सेवामा धब्बा लगाए। यहोवाको सल्लाह लिएर आफूसमक्ष हाजिर भएका अगमवक्‍तालाई तिनले दुर्व्यवहार गरे। (२ इतिहास १६:७-११) हो, कहिलेकाहीं बुज्रुगहरूलाई समेत सल्लाह चाहिन्छ।

एउटा ईश्‍वरतन्त्रको अन्त

१५ येशू ख्रीष्ट पृथ्वीमा हुनु हुँदा इस्राएल अझै पनि ईश्‍वरतन्त्र नै थियो। तर अफशोचको कुरा अधिकांश जिम्मेवार बूढा प्रधानहरूमा आध्यात्मिक झुकाव थिएन। तिनीहरू मोशाले देखाएको नम्रताको खेती गर्न साँच्चै नै असफल भए। येशूले यसो भन्‍नु हुँदै तिनीहरूको आध्यात्मिक भ्रष्टाचार औंल्याउनु भयो: “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्‌। यसकारण जे तिनीहरूले भन्दछन्‌ ती गर र मान, तर तिनीहरूकै काम जस्तो चाहिं नगर, किनकि तिनीहरूले भन्द ता छन्‌, तर गर्दैनन्‌।”—मत्ती २३:२, ३.

१६ येशूलाई पिलातसको हातमा सुम्पिसकेपछि ती यहूदी नेताहरूले आफू ईश्‍वरतान्त्रिक अधीनताबाट कुन हदसम्म तर्किसकेका थिए भनी देखाए। येशूलाई केरकार गरिसकेपछि पिलातसले उहाँलाई निर्दोष ठहराए। त्यसपछि येशूलाई यहूदीहरूसमक्ष ल्याउँदै पिलातसले यसो भने: “हेर तिमीहरूका राजा!” यहूदीहरूले सोर मच्चाउँदै येशूलाई प्राण-दण्ड दिन आग्रह गर्दा पिलातसले यसो भनेर सोधे: “के म तिमीहरूका राजालाई क्रूसमा टाँगू?” मुख्य पूजाहारीहरूले जवाफ दिए: “सिजरबाहेक हाम्रा अरू राजै छैन।” (यूहन्‍ना १९:१४, १५) ‘यहोवाको नाउँमा आउनुहुने’ येशूको सट्टा तिनीहरूले सिजरलाई आफ्नो राजा स्वीकारे!—मत्ती २१:९.

१७ येशूलाई तिरस्कार गरेर यहूदीहरूले ईश्‍वरतन्त्रलाई इन्कार गरे किनभने उहाँ नै भावी ईश्‍वरतान्त्रिक प्रबन्धको मुख्य व्यक्‍ति हुनु लाग्नु भएको थियो। येशू दाऊदको शाही पुत्र हुनुहुन्थ्यो जसले अनन्तसम्म राज्य गर्नुहुनेछ। (यशैया ९:६, ७; लूका १:३३; ३:२३, ३१) यसप्रकार, शारीरिक इस्राएल परमेश्‍वरले चुन्‍नुभएको राष्ट्र हुन छाड्यो।—रोमी ९:३१-३३.

एउटा नयाँ ईश्‍वरतन्त्र

१८ तथापि, परमेश्‍वरले शारीरिक इस्राएलको परित्याग गर्नुहुँदैमा पृथ्वीमा ईश्‍वरतन्त्रको अन्त भएन। येशू ख्रीष्टद्वारा यहोवाले एउटा नयाँ ईश्‍वरतन्त्र स्थापना गर्नुभयो। यो ईश्‍वरतन्त्र अभिषिक्‍त मसीही मण्डली थियो जुन वास्तवमा एउटा नयाँ राष्ट्र थियो। (१ पत्रुस २:९) प्रेरित पावलले यसलाई “परमेश्‍वरका इस्राएल” भनी सम्बोधन गरे र अन्ततोगत्वा “हरेक कुल, भाषा, मानिस र जाति”-बाट यसका सदस्यहरू आए। (गलाती ६:१६; प्रकाश ५:९, १०) आफू बस्ने ठाउँका मानव सरकारहरूको अधीनमा भए तापनि वास्तवमा यस नयाँ ईश्‍वरतन्त्रका सदस्यहरूमाथि परमेश्‍वरको शासन थियो। (१ पत्रुस २:१३, १४, १७) नयाँ ईश्‍वरतन्त्रको जन्म हुने बित्तिकै शारीरिक इस्राएलका शासकहरूले येशूका केही चेलाहरूलाई उहाँको आज्ञा मान्‍नदेखि रोक्न खोजे। यसको प्रत्युत्तर? “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरित ५:२९) साँच्चै नै कस्तो ईश्‍वरतान्त्रिक दृष्टिकोण!

१९ तर यस नयाँ ईश्‍वरतन्त्रले कसरी आफ्नो काम गर्थ्यो त? भनौं भने यस ईश्‍वरतन्त्रमा पनि एउटा राजा, येशू ख्रीष्ट हुनुहुन्थ्यो। उहाँले महान ईश्‍वरतन्त्रवादी, यहोवा परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्थ्यो। (कलस्सी १:१३) राजा स्वर्गमा अदृश्‍य हुनुभए तापनि उहाँको शासन प्रजाहरूका लागि वास्तविक थियो र उहाँको वचनले तिनीहरूको जीवन नियन्त्रण गर्थ्यो। दृश्‍य निरीक्षणका लागि आध्यात्मिक रूपमा दक्ष बूढा प्रधानहरूलाई नियुक्‍त गरिन्थ्यो। यस्ता व्यक्‍तिहरूको एक समूहले यरूशलेममा परिचालक निकायको रूपमा काम गर्थ्यो। पावल, तिमोथी र तितस जस्ता परिभ्रमण अध्यक्षहरूले यस निकायको प्रतिनिधित्व गर्थे। अनि हरेक मण्डलीलाई बूढा प्रधानहरूको समूह वा प्राचीनहरूद्वारा रेखदेख गरिन्थ्यो। (तितस १:५) मण्डलीमा कुनै कठिन समस्या आई पर्दा प्राचीनहरूले परिचालक निकाय वा पावल जस्ता त्यसका प्रतिनिधिहरूमध्ये कुनै एकसित सरसल्लाह लिन्थे। (प्रेरित १५:२; १ कोरिन्थी ७:१; ८:१; १२:१ तुलना गर्नुहोस्‌।) यस बाहेक मण्डलीको प्रत्येक सदस्यले ईश्‍वरतन्त्रलाई कायम राख्न आफ्नो भूमिका निर्वाह गर्थे। आफ्नो जीवनमा शास्त्रीय सिद्धान्तहरूलाई अपनाउन हरेक सदस्य यहोवा समक्ष उत्तरदायी थिए।—रोमी १४:४, १२.

२० प्रेरितहरूको मृत्युपश्‍चात्‌ धर्मत्याग सुरु हुनेछ भनेर पावलले चेतावनी दिएका थिए र वास्तवमा ठीक त्यस्तै भयो। (२ थिस्सलोनिकी २:३) समय बित्दै जाँदा आफूलाई मसीही हो भनी दाबा गर्नेहरू लाख र लाखबाट करोडौंमा पुगे। तिनीहरूले हाइआर्किकल, प्रेसबाइटेरियन र कंग्रिगेसनल जस्ता विभिन्‍न प्रकारका गिर्जा सरकारहरू विकास गरे। तर यी गिर्जाहरूको न ता आचरणले न विश्‍वासले नै यहोवाको शासनको प्रतिबिम्ब गऱ्‍यो। तिनीहरू ईश्‍वरतन्त्र थिएनन्‌।

२१ यस रीतिरिवाजको अन्तिम समयमा साँचो र झूटो मसीही छुट्टयाउने काम पनि हुनुपर्थ्यो। (मत्ती १३:३७-४३) ईश्‍वरतन्त्रको इतिहासको निर्णायक वर्ष, १९१९-मा यो काम सम्पन्‍न भयो। त्यसबेला यशैया ६६:८-को यस उज्ज्वल भविष्यवाणीको पूर्ति भयो: “यस्तो कुरा कसले देखेको छ? के एकै दिनमा एउटा देश उत्पन्‍न हुन्छ र? के एकै क्षणमानै एउटा जाति उत्पन्‍न हुन सक्छ र?” यस प्रश्‍नको उत्तरमा ठूलो आवाजमा हुन्छ भन्‍ने शब्द गुञ्जियो! सन्‌ १९१९-मा मसीही मण्डली पुनः एकपल्ट एउटा भिन्दै “जाति”-को रूपमा छुट्टियो। साँच्चै नै एकै दिनमा एउटा ईश्‍वरतान्त्रिक “देश”-को जन्म भयो! अन्तको समय बित्दै जाँदा यस नयाँ राष्ट्रको संगठनलाई यथासक्य प्रथम शताब्दीको जस्तै बनाउन बिभिन्‍न काँटछाँट गर्नुपऱ्‍यो। (यशैया ६०:१७) तर त्यो सधैं ईश्‍वरतन्त्र नै भइरह्‍यो। आचरण र विश्‍वासमा यसले सधैं शास्त्रको ईश्‍वर प्रेरित नियम तथा सिद्धान्तलाई नै प्रतिबिम्बत गऱ्‍यो। अनि सदैव गद्दिनसीन राजा, येशू ख्रीष्टको अधीनतामा रह्‍यो।—भजनसंग्रह ४५:१७; ७२:१, २.

२२ के तपाईं यस ईश्‍वरतन्त्रसँग सम्बन्धित हुनुहुन्छ? के यस ईश्‍वरतन्त्रमा तपाईंको अख्तियारपूर्ण ओहदा छ? यदि छ भने, तपाईंलाई ईश्‍वरतान्त्रिक ढङ्‌गमा चल्नुको अर्थ के हो थाहा छ? कुन कुन पासोहरूबाट बच्नु पर्छ के तपाईंलाई थाहा छ? यसपछिको लेखमा यी अन्तिम दुई प्रश्‍नहरूको छलफल गरिनेछ। (w94 1/15)

के तपाईं बयान गर्न सक्नुहुन्छ?

▫ ईश्‍वरतन्त्र के हो?

▫ कुन ढङ्‌गमा इस्राएल ईश्‍वरतन्त्र थियो?

▫ इस्राएल एउटा ईश्‍वरतन्त्र हो भनेर राजाहरूलाई सम्झना गराउन यहोवाले कस्तो प्रबन्ध गर्नुभयो?

▫ कुन ढङ्‌गमा मसीही मण्डली एउटा ईश्‍वरतन्त्र थियो र त्यो कसरी सङ्‌गठित गरिएको थियो?

▫ हाम्रो समयमा कुन ईश्‍वरतान्त्रिक संगठन स्थापित भएको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१, २. (क) मानिसहरूका शासनसम्बन्धी प्रयासहरू किन असफल भएका छन्‌? (ख) कुन चाहिं सरकार मात्र वास्तवमा सफल भएको छ?

३. पृथ्वीमा ईश्‍वरतन्त्र थियो भन्‍ने केही प्रारम्भिक उदाहरणहरू के के हुन्‌?

४. यहोवाले ईश्‍वरतान्त्रिक राष्ट्र इस्राएलको स्थापना कसरी गर्नुभयो?

५. यहोवाले कुन अर्थमा इस्राएलमा राज्य गर्नुभयो भन्‍न सकिन्छ?

६. ईश्‍वरतन्त्रमा अख्तियारको अभ्यास गर्नु किन मानिसहरूको लागि चुनौती थियो र यस किसिमको जिम्मेवारीको लागि कस्ता मानिसहरू चाहिन्थ्यो?

७. यहोवा परमेश्‍वरको अधीनमा अख्तियार पाउने व्यक्‍तिको रूपमा मोशा कुन तरिकामा उत्तम उदाहरण थिए?

८. यहोवाले यहोशूलाई के आज्ञा दिनुभयो र यो किन विचारणीय छ?

९. न्यायकर्त्ताहरूको समयमा इस्राएलमा के भयो?

१०. शमूएलको समयमा इस्राएलको सरकारमा कस्तो मूलभूत परिवर्तन भयो, र यस्तो कसरी हुनगयो?

११. (क) सरकार परिवर्तनको बावजूद राजाहरूको अधीनमा पनि इस्राएल ईश्‍वरतन्त्र नै रह्‍यो भनेर कसरी भन्‍न सकिन्छ? (ख) इस्राएलका राजाहरूलाई यहोवाले के आज्ञा दिनुभयो र कुन उद्देश्‍यका लागि?

१२. राजा दाऊदले निष्ठाको कस्तो रेकर्ड कायम गरे?

१३, १४. दाऊदका उत्तराधिकारीहरूले गरेका केही अईश्‍वरतान्त्रिक कामहरू के के थिए?

१५. येशू पृथ्वीमा हुनुहुँदा यहूदी नेताहरू ईश्‍वरतन्त्रमा उदाहरणीय अख्तियारप्राप्त व्यक्‍ति हुनदेखि कसरी असफल भए?

१६. प्रथम शताब्दीका यहूदी नेताहरूले कसरी ईश्‍वरतन्त्रप्रति अनादर देखाए?

१७. शारीरिक इस्राएल किन ईश्‍वरतान्त्रिक राष्ट्र भइरहेन?

१८. प्रथम शताब्दीमा कुन नयाँ ईश्‍वरतन्त्रको जन्म भयो? वर्णन गर्नुहोस्‌।

१९. प्रथम शताब्दीको मसीही मण्डलीलाई कुन अर्थमा ईश्‍वरतन्त्र भन्‍न सकिन्छ?

२०. प्रेरितपश्‍चात्‌ समयको ईश्‍वरतन्त्रबारे के भन्‍न सकिन्छ?

२१, २२. (क) अन्तको समयमा यहोवाले कसरी ईश्‍वरतन्त्रको पुनस्थापना गर्नुभयो? (ख) आउँदो लेखमा ईश्‍वरतन्त्रबारे कस्ता प्रश्‍नहरूको उत्तर दिइनेछ?

[पृष्ठ २४-मा भएको चित्र]

पिलातस समक्ष यहूदी शासकहरूले यहोवाद्वारा ईश्‍वरतान्त्रिक ढङ्‌गमा नियुक्‍त राजाको सट्टा सिजरलाई आफ्ना राजा स्वीकारे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने