प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ५/१ pp. १४-१९
  • यहोवाको प्रशंसा गाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको प्रशंसा गाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले यहोवाको प्रशंसा गर्न सक्ने तरिकाहरू
  • बाइबलको समयमा यहोवाको प्रशंसा गाएका
  • प्रशंसा गाउनु—हाम्रो उपासनाको महत्त्वपूर्ण भाग
  • गीत गाएर यहोवाको भलाइप्रति मूल्याङ्‌कन व्यक्‍त गर्नुहोस्‌
  • हर्षोल्लासका साथ गाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • वर्तमान समयको उपासनामा संगीतको भूमिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • यहोवाको स्तुति गाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ५/१ pp. १४-१९

यहोवाको प्रशंसा गाउनुहोस्‌

“म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँले ठूलो विजय गर्नुभएको छ।”—प्रस्थान १५:१.

भजनसंग्रह १५० ले तेह्र पटक यहोवा अथवा याहको प्रशंसा गर्ने आज्ञा दिन्छ। अन्तिम पदले यसरी घोषणा गर्छ: “सास हुने जति सबैले, [याहको] प्रशंसा गर। [याहको] प्रशंसा गर!” यहोवाका साक्षीहरू भएकोले उहाँ हाम्रो प्रशंसाको योग्य हुनुहुन्छ भनेर हामीलाई थाहा छ। उहाँ सार्वभौम सत्ताधारी, अति उच्च, अनन्तका राजा, हाम्रो सृष्टिकर्त्ता, हाम्रो उद्धारक हुनुहुन्छ। उहाँ धेरै प्रकारले बेजोड, अनुपम, अतुलनीय, अद्वितीय हुनुहुन्छ। उहाँ सर्वज्ञानी, सर्वशक्‍तिमान, न्यायसङ्‌गत र प्रेमको मूर्त रूप हुनुहुन्छ। उहाँ अरू सबैभन्दा असल हुनुहुन्छ; उहाँ निष्ठावान हुनुहुन्छ। (लूका १८:१९; प्रकाश १५:३, ४) के उहाँ हाम्रो प्रशंसाको योग्य हुनुहुन्छ? अवश्‍य हुनुहुन्छ!

२ यहोवा हाम्रो उपासना र प्रशंसाको मात्र होइन तर हाम्रो लागि गरिदिनुभएका हरेक कुराको निम्ति उहाँ कृतज्ञता तथा धन्यवादको योग्य हुनुहुन्छ। उहाँ “हरेक असल दान र हरेक उत्तम वरदान” का दाता हुनुहुन्छ। (याकूब १:१७) उहाँ सारा जीवनको मुहान अनि स्रोत हुनुहुन्छ। (भजनसंग्रह ३६:९) मानवजातिको सदस्य हुनाकारण हामीले आनन्द उठाउने सबै कुरा उहाँकै हुन्‌ किनभने उहाँ हाम्रो महान सृष्टिकर्त्ता हुनुहुन्छ। (यशैया ४२:५) उहाँको आत्मा, सङ्‌गठन र उहाँको वचनद्वारा आउने सारा आध्यात्मिक आशिषहरूको दाता पनि उहाँ नै हुनुहुन्छ। उहाँले आफ्नो पुत्रलाई हाम्रो निम्ति छुडौतीको बलिदानस्वरूप प्रबन्ध गरिदिनुभएकोले हाम्रा पापहरू क्षमा हुन सक्यो। (यूहन्‍ना ३:१६) ‘धार्मिकताले बास गर्ने नयाँ स्वर्ग र नयाँ पृथ्वीको’ राज्य आशा हामीसित छ। (२ पत्रुस ३:१३) सङ्‌गी मसीहीहरूसित हाम्रो राम्रो सङ्‌गति पनि छ। (रोमी १:११, १२) उहाँका साक्षीहरू हुन पाउनुको आदर र आशिष हामीसित छ। (यशैया ४३:१०-१२) अनि हामीसित प्रार्थनाको मूल्यवान सुअवसर छ। (मत्ती ६:९-१३) साँच्चै, यहोवालाई धन्यवाद दिने हामीसित थुप्रै कारणहरू छन्‌!

हामीले यहोवाको प्रशंसा गर्न सक्ने तरिकाहरू

३ यहोवाका समर्पित सेवकहरू भएर हामीले कसरी उहाँको प्रशंसा र उहाँप्रति कृतज्ञता व्यक्‍त गर्न सक्छौं? घर-घर साक्षी दिएर, पुनःभेटहरू गरेर, बाइबल अध्ययनहरू सञ्चालन गरेर र सडक साक्षी जस्ता मसीही सेवकाईमा भाग लिएर हामी त्यसो गर्न सक्छौं। हरेक उपयुक्‍त अवसरमा अनौपचारिक साक्षी दिएर पनि उहाँको प्रशंसा गर्न सक्छौं। साथै हाम्रो सदाचारिता, हाम्रो सफा तथा भद्र पहिरन र श्रृंगारले समेत यहोवाको प्रशंसा गर्न सक्छौं। यी क्षेत्रहरूमा अनुकरणीय हुँदा यहोवाका साक्षीहरूले धेरै पटक प्रशंसा पाएका छन्‌। यसबाहेक, प्रार्थनाद्वारा हामी यहोवाको प्रशंसा गर्न र उहाँलाई धन्यवाद दिन सक्छौं।—१ इतिहास २९:१०-१३ हेर्नुहोस्‌।

४ यसको अलावा, स्वर्गमा हुनुहुने हाम्रा मायालु पिताको प्रशंसा गर्ने अति सुन्दर तरिका सुरिला राज्य गीतहरू गाउँदै उहाँ र उहाँका सद्‌गुणहरूको गुनगान गर्नु हो। सबैभन्दा सुन्दर वाद्ययन्त्र मानिसको स्वर हो भन्‍ने कुरामा धेरै सङ्‌गीतकार र रचनाकारहरू सहमत छन्‌। गीत गाउँदा मानिसको स्वर उचालिएको हुन्छ र यो सुन्दा निकै सन्तुष्टि महसुस हुने हुनाले शास्त्रीय सङ्‌गीतका थुप्रै उस्तादहरू गीति कथाहरू लेख्न उत्प्रेरित भए।

५ मानिसहरूले गाइरहेको सुन्दा यहोवा कस्तो आनन्दित हुनुहुन्छ होला, विशेषगरि जब तिनीहरू प्रशंसा र कृतज्ञताको गीत गाइरहेका हुन्छन्‌! त्यसैले अवश्‍य पनि—मण्डलीका सभाहरू, क्षेत्रीय सम्मेलन, विशेष सम्मेलन दिन, जिल्ला सम्मेलन र अन्तर्राष्ट्रिय सम्मेलन जस्ता विभिन्‍न जमघटहरूमा राज्य गीतहरू गाउनुलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ। हाम्रो गीतिपुस्तक साँच्चै नै मनमोहक धुनहरूले भरपूर छ। त्यसको मिठासलाई सांसारिक व्यक्‍तिहरूले समेत बारम्बार पटक प्रशंसा गरेका छन्‌। हामी राज्य गीतहरू गाउन जति बढि तल्लीन हुन्छौं उति नै अरूलाई आनन्दित पार्छौं र आफ्नो निम्ति फाइदा ल्याउँछौं।

बाइबलको समयमा यहोवाको प्रशंसा गाएका

६ लाल समुद्रमा फिरऊनका सेनाहरूबाट छुटकारा पाउँदा मोशा र अरू इस्राएलीहरूले हर्षोल्लासका साथ गाए भनी परमेश्‍वरको वचनले भन्छ। यी शब्दहरूद्वारा तिनीहरूको गीत सुरु भएको थियो: “म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँले ठूलो विजय गर्नुभएको छ, घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभयो। परमप्रभुनै मेरो शक्‍ति र स्तुतिगान हुनुहुन्छ, र उहाँ मेरो उद्धार हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु।” (प्रस्थान १५:१, २) चमत्कारपूर्ण छुटकारापश्‍चात्‌ इस्राएलीहरूले कस्तो जोश र हर्षका साथ यी शब्दहरू गाए होलान्‌, हामी सजिलै कल्पना गर्न सक्छौं!

७ दाऊदले यरूशलेममा सन्दूक ल्याउँदा गीत र वाद्ययन्त्रहरू बजाएर यहोवाको प्रशंसा गरेको विवरण हामी १ इतिहास १६:१, ४-३६ मा पढ्‌छौं। त्यो साँच्चै नै एउटा हर्षमय अवसर थियो। राजा सुलेमानले यरूशलेमको मन्दिर समर्पण गर्दा पनि वाद्य धुनको साथै यहोवाको प्रशंसा गाइएको थियो। हामी २ इतिहास ५:१३, १४ मा यस्तो लेखिएको पाउँछौं: “तुरही बजाउनेहरू र गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले। औ तुरही, झ्याम्टा र बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई गीतको आवाज निस्क्यो, किनभने, ‘त्यसो गर्नु असल छ, किनकि उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ।’ औ भवन चाहिं परमप्रभुको महिमाको बादलले भरिएको थियो। बाक्लो धुवाँले गर्दा पूजाहारीहरूले सेवा गर्नसकेनन्‌, किनकि परमेश्‍वरको भवन परमप्रभुको महिमाले भरिएको थियो।” त्यसले के देखाउँछ? यहोवाले यस सुरिलो प्रशंसालाई सुनिरहनुभएको थियो र यसबाट प्रसन्‍न पनि हुनुभयो भनी त्यहाँ देखिएको असाधारण बाक्लो धूँवाले सङ्‌केत गऱ्‍यो। पछि, नहेम्याहको समयमा यरूशलेमको पर्खालको समर्पण गर्दा दुई वटा गायनदलले गाएका थिए।—नहेम्याह १२:२७-४२.

८ वास्तवमा भन्‍ने हो भने, मन्दिरमा उपासनाको महत्त्वपूर्ण अंश गीतहरू थियो भन्‍ने कुरा गायन सेवा पुऱ्‍याउन छुट्याइएका ४,००० लेवीहरूबाट प्रष्ट हुन्छ। (१ इतिहास २३:४, ५) यिनीहरूले गायकहरूको साथ दिन्थे। सङ्‌गीत, विशेषगरि उपासनामा गायकहरूको महत्त्वपूर्ण स्थान थियो। व्यवस्थाका गहन कुराहरू सिकाउन ता होइन तर उपासनाको निम्ति साँचो जोश प्रदान गर्न तिनीहरूको खाँचो थियो। जोशिलो भएर यहोवाको सेवा गर्न यसले इस्राएलीहरूलाई मदत गर्थ्यो। यो कार्य सम्पादन गर्न गरिने तयारी र पुऱ्‍याइने ध्यानलाई याद गर्नुहोस्‌: “तिनीहरूका कुटुम्बहरूका साथमा तिनीहरूको संख्या दुइ सय अठासी थियो।” (१ इतिहास २५:७) यहोवाको प्रशंसा गान तिनीहरूले कस्तो गम्भीरतापूर्वक लिए, त्यसलाई सम्झनुहोस्‌। तिनीहरू सङ्‌गीतमा प्रशिक्षित र प्रवीणहरू थिए!

९ सामान्य युगको प्रथम शताब्दीमा आइपुग्दा हामी के पाउँछौं? आफूलाई विश्‍वासघात गरिने रातमा येशूको मनमा निकै गहन विषयहरू थिए। तापनि निस्तार चाडको समापन र उहाँको मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्दा उहाँले यहोवाको प्रशंसा गाउनु पर्ने आवश्‍यकता महसुस गर्नुभयो। (मत्ती २६:३०) साथै, हामी यो पनि पढ्‌छौं, पिटाइ खाएर थुनिंदा “आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र त्यो अरू कैदीहरूले सुनिरहेका थिए।”—प्रेरित १६:२५.

प्रशंसा गाउनु—हाम्रो उपासनाको महत्त्वपूर्ण भाग

१० राज्य गीतहरू गाउन तपाईंले त्यत्ति धेरै हार्दिक ध्यान दिनु पर्दैन जस्तो के तपाईंलाई लाग्छ? त्यस्तो लाग्छ भने, यहोवा परमेश्‍वर र येशू ख्रीष्टले प्रशंसा गानलाई कस्तो महत्त्व दिनुहुन्छ भन्‍ने दृष्टिकोणबाट के तपाईंले यस विषयलाई पुनः जाँच गर्नु पर्दैन र? भनौं भने, यहोवाको प्रशंसा गर्ने र उहाँको प्रशंसा भजन गाउने आज्ञाले परमेश्‍वरको वचन भरपूर छ! उदाहरणको लागि, यशैया ४२:१० मा हामी यसप्रकार पढ्‌छौं: “परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ, उहाँको प्रशंसा पृथ्वीको पल्लो छेउदेखि गर—हे समुद्रमा यात्रा गर्ने र त्यसमा भएका सारा थोक हो, हे समुद्र किनारका देश र तिनका सबै बासिन्दा हो।”—भजनसंग्रह ९६:१; ९८:१ पनि हेर्नुहोस्‌।

११ सङ्‌गीतले हामीलाई आनन्दित पार्न सक्छ भनी प्रेरित पावललाई थाहा थियो। त्यसकारण यस विषयमा उनले दुई पटक सल्लाह दिए। एफिसी ५:१८, १९ मा हामी यस्तो पढ्‌छौं: “आत्माले भरिपूर्ण भएका होओ। एउटाले अर्कोसँग भजन, गीत र आत्मिक गानमा बोल्दै प्रभुको निम्ति आफ्नो हृदयले गाउँदै र बजाउँदै” रह। अनि कलस्सी ३:१६ मा यसो पढ्‌छौं: “सारा ज्ञानमा ख्रीष्टको वचनले तिमीहरूमा प्रशस्तसँग बास गरोस्‌। तिमीहरू एउटाले अर्कोलाई सिकाएर अर्ती दिंदै भजन, स्तुतिगान र आत्मिक गानद्वारा आफ्ना हृदयमा अनुग्रहसाथ परमेश्‍वरका निम्ति गाओ।”

१२ ‘भजन, स्तुतिगान र आत्मिक गानद्वारा हृदयमा अनुग्रहसाथ गाओ’ भनी पावलले उल्लेख गर्दा प्रत्येक पटक सङ्‌गीतलाई सङ्‌केत गरेको पनि नबिर्सनुहोस्‌। साथै, यसो गर्दा हामी ‘अरूलाई सिकाउँदै’ जान सक्छौं भनी कलस्सीहरूलाई लेखेको उपरोक्‍त टिप्पणीको सुरुमै उनले भनेका छन्‌। हामी अवश्‍य त्यसो गर्छौ भनी हाम्रा गीतहरूको शीर्षकबाट नै देखिन्छ। केही उदाहरणहरू यसप्रकार छन्‌—“सारा सृष्टि, यहोवाको प्रशंसा गर्छन्‌!” (सङ्‌ख्या ५), “दृढ, स्थिर रहनुहोस्‌!” (सङ्‌ख्या १०), “राज्य आशाको निम्ति आनन्दित हुनुहोस्‌!” (सङ्‌ख्या १६), “तिनीहरूसित नडराउनुहोस्‌!” (सङ्‌ख्या २७), “हाम्रा परमेश्‍वर यहोवाको गुनगान गर्नुहोस्‌!” (सङ्‌ख्या १००)

१३ यी आज्ञाहरू अनुरूप “विश्‍वासी र बुद्धिमान दास” ले मण्डलीका सभाहरू, क्षेत्रीय सम्मेलन, विशेष सम्मेलन दिन,

जिल्ला सम्मेलन र अन्तर्राष्ट्रिय सम्मेलन जस्ता जमघटहरू राज्य गीतबाटै आरम्भ र समापन गर्ने प्रबन्ध गरेको छ। (मत्ती २४:४५) यसबाहेक यस्ता जमघटहरूको बीच-बीचमा पनि गीत गाउने कार्यक्रम बनाइएको हुन्छ। हाम्रा सभाहरू प्रायजसो राज्य गीतबाट आरम्भ हुने हुँदा उपासनाको यस भागमा सम्मिलित हुन के हामी समयमै पुग्नु पर्दैन र? अनि गीत गाएरै सभाहरू समापन हुने हुँदा के हामी समापन गीत र त्यसको लगत्तैपछि हुने प्रार्थना नसकुन्जेलसम्म बस्नु पर्दैन र?

१४ हाम्रा सभाहरूको कार्यक्रमसित राम्ररी मिल्ने गरी गीतहरू छानिएका हुन्छन्‌। उदाहरणको लागि, सन्‌ १९९३ को “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनमा मसीहीहरूलाई शैतान, संसार र पतित शरीर विरूद्ध लड्‌न प्रोत्साहित गरिएको “सच्चाइलाई आफ्नो बनाउनुहोस्‌” भन्‍ने गीत सङ्‌ख्या १९१ गाइएको थियो। त्यसको लगत्तैपछि ती शत्रुहरूसित कसरी लड्‌ने भन्‍ने विषयमा तीन वटा भाषण प्रस्तुत गरिएको थियो। त्यस्तैगरि, छोराछोरीहरूलाई प्रशिक्षण दिने आमाबाबुको दायित्वलाई प्रकाश पारेको लगत्तैपछि आमाबाबुको निम्ति सल्लाहहरूले ओतप्रोत “छोराछोरीहरू—परमेश्‍वरका मूल्यवान वरदानहरू” नामक गीत सङ्‌ख्या १६४ गाइएको थियो। यर्मियाका भविष्यवाणीसम्बन्धी भाषणहरूको श्रृंखला प्रस्तुत गर्नअघि “यर्मिया जस्तै होऊ” शीर्षक भएको गीत सङ्‌ख्या ७० गाइएको थियो। हाम्रो सेवकाईका विभिन्‍न पक्षमा केन्द्रित गोष्ठी भाषणपछि सेवकाईमा अति उत्प्रेरित गराउने “म चाहन्छु” नामक गीत सङ्‌ख्या १५६ गाइयो। प्रहरीधरहरा अध्ययन, सेवा सभा र ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको निम्ति गीत छनौट गर्दा पनि त्यस्तै ध्यान पुऱ्‍याइन्छ। प्राचीनहरूले जन भाषण कार्यक्रमको आरम्भमा गीत छनौट गर्दा पनि आफ्नो भाषणको मुख्य विषयलाई सुहाउँदो गीत छान्‍नुपर्छ।

१५ कुन गीत गाउने भनी उद्‌घोषण गर्दा गीतप्रति मूल्याङ्‌कन बढाउन अध्यक्षले त्यसको शीर्षक अथवा मुख्य विषय बताउन सक्छन्‌। हामी गीतको सङ्‌ख्या होइन तर शास्त्रीय विषयहरू गाउँछौं। साथै, शीर्षकको मुनि दिइएको शास्त्रपद उल्लेख गर्दा पनि मण्डलीले गीतको मूल्याङ्‌कन गर्न मदत पाउन सक्छन्‌। त्यसपछि सबैले यो गीतको भावनात्मक प्रकृतिअनुसार न्यानोपना, भावना, आनन्द अथवा दृढ निर्धक्कतासाथ गाउनुपर्छ भन्‍ने जस्ता टिप्पणीहरू पनि उपयुक्‍त हुन सक्छन्‌।

गीत गाएर यहोवाको भलाइप्रति मूल्याङ्‌कन व्यक्‍त गर्नुहोस्‌

१६ हाम्रा राज्य गीतका बोलहरू अर्थपूर्ण भएकाले गीत गाउँदा शब्दहरूमा ध्यान दिनुपर्छ। हामी प्रत्येक गीत जोशका साथ गाउन चाहन्छौं। प्रेम अर्थात्‌ आत्माको फल जस्ता विषयहरूमा केन्द्रित केही गीतहरू मर्मस्पर्शी हुन्छन्‌। (गलाती ५:२२) यी हामी तीब्रता र न्यानोपनाका साथ गाउँछौं। अरू गीतहरू चाहिं हर्षमय हुन्छन्‌, ती हामीले आनन्दित भएर गाउने प्रयास गर्नुपर्छ। अन्य गीतहरू जोडदार हुन्छन्‌ जसलाई हामीले जोश र निर्धक्कतासाथ गाउनुपर्छ। ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा हाम्रा प्रस्तुतिहरू न्यानोपना र जोशका साथ व्यक्‍त गर्न भनी हामीलाई सल्लाह दिइएको छ। तर गीत गाउँदा न्यानोपना, अनुभूति र जोश प्रकट गर्नु झन्‌ महत्त्वपूर्ण छ।

१७ राज्य गीतहरू गाउँदा गीतको बोललाई पूर्णतया मूल्याङ्‌कन नगरीकन, अरू कुराहरूमा मन डुलाउने गऱ्‍यौं भने के हामी ती अविश्‍वासी इस्राएलीहरू जस्तै हुँदैनौं र? तिनीहरूलाई ताडना दिइएको थियो किनभने तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा थियो तर ओंठले भने उहाँको प्रशंसा गर्थे। (मत्ती १५:८) राज्य गीत गाउने सम्बन्धमा त्यस्तो निन्दा लागेको हामी चाहँदैनौं, होइन र? राज्य गीतहरूप्रति उचित मूल्याङ्‌कन देखाएर आफूलाई मात्र होइन तर बच्चाहरू लगायत राज्य भवनमा आफू वरपर बस्ने अन्य व्यक्‍तिहरूलाई उत्प्रेरित गर्न सक्छौं। हो, राज्य भवनमा उपस्थित हुने सबैले यी गीतहरूका आग्रहहरूलाई गम्भीरतापूर्वक लिए भने सेवकाईमा जोशिलो हुन र खराब कामको पासोबाट अलग राख्न यो शक्‍तिशाली प्रोत्साहन साबित हुनेथिए।

१८ समय समयमा सांसारिक व्यक्‍तिहरू पनि हामीले गाएका राज्य गीतहरूबाट प्रभावित भएका छन्‌। द वाचटावर मा एक पटक यो लेख प्रकाशित भएको थियो: “[हामीले] गाउने राज्य गीतहरूले अरू व्यक्‍तिहरूलाई यहोवा परमेश्‍वरबारे ज्ञान दिन सक्छ भनी एउटी स्त्रीको उदाहरणले देखाउँछ। त्यस स्त्रीले १९७३ मा न्यु योर्क शहरको याङ्‌की रङ्‌गशालामा सम्पन्‍न ‘ईश्‍वरीय विजय’ सम्मेलनमा बप्तिस्मा लिएकी थिइन्‌। सच्चाइमा आउनुअघि प्रथम पटक तिनी राज्य भवनमा एक्लै गएकी थिइन्‌ र दुवै सभामा बसिन्‌। त्यहाँ मण्डलीले . . . ‘तपाईंका आँखाहरू इनाममा केन्द्रित होस्‌’ भन्‍ने गाना गाउँदा तिनी त्यसको बोल र गीत गाइएको ढङ्‌गबाट निकै प्रभावित भइन्‌ र तिनी यहीं रहन चाहन्छिन्‌ भन्‍ने निर्णय पनि गरिहालिन्‌। त्यसपश्‍चात्‌ तिनले एक जना साक्षीकहाँ गएर बाइबल अध्ययन गर्ने आग्रह गरिन्‌ अनि उन्‍नति गरेर तिनी यहोवाको मसीही साक्षी भइन्‌।”

१९ तुलनात्मक रूपमा लिंदा, हाम्रा प्रायजसो सभाहरूमा स्रोताहरूले आफ्ना भावना तथा मूल्याङ्‌कन जाहेर गर्ने अवसर थोरै मात्र पाउँछन्‌। तर हृदय खोलेर राज्य गीतहरू गाउँदै यहोवाको भलाइप्रति हामी कस्तो महसुस गर्छौ भनी व्यक्‍त गर्न सक्छौं। यसबाहेक, एकसाथ भेला हुँदा के हामी आनन्दित हुँदैनौं र? त्यसकारण हामी गीत गाउन उत्साही हुनुपर्छ! (याकूब ५:१३) हो, हामी यहोवाको भलाइ र उहाँको विशेष अनुग्रहको जति मूल्याङ्‌कन गर्छौं उत्तिनै पूरा मनतनले उहाँको प्रशंसा गाउनेछौं। (w94 5/1)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

▫ यहोवाको प्रशंसा गर्नुको दुई मुख्य कारणहरू के के हुन्‌?

▫ हामीले कस्ता बेग्लाबेग्लै ढङ्‌गमा यहोवाको प्रशंसा गर्न सक्छौं?

▫ हामीले यहोवाको प्रशंसा गर्ने सबैभन्दा सुन्दर तरिका के हो?

▫ गीत गाएर यहोवाको प्रशंसा गरेको कस्ता शास्त्रीय उदाहरणहरू हामीसित छन्‌?

▫ राज्य गीत गाउँदा हामीले कसरी सही मूल्याङ्‌कन व्यक्‍त गर्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

१. यहोवाको प्रशंसा गर्न उहाँसित कस्ता गुणहरू छन्‌?

२. यहोवाप्रति कृतज्ञता व्यक्‍त गर्न हामीसित कस्ता कारणहरू छन्‌?

३. हामी कस्ता बेग्लाबेग्लै ढङ्‌गमा यहोवाको प्रशंसा र उहाँलाई कृतज्ञता व्यक्‍त गर्न सक्छौं?

४. स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताको प्रशंसा गर्न सक्ने सबैभन्दा सुन्दर तरिका के हो?

५. कुन कारणहरूले गर्दा हामीले राज्य गीतहरू गाउनुलाई गम्भीरतापूर्वक लिनुपर्छ?

६. लाल समुद्रमा छुटकारा प्राप्त गर्दा इस्राएलीहरूले आफ्नो मूल्याङ्‌कन कसरी व्यक्‍त गरे?

७. इस्राएलीहरूले गीतद्वारा यहोवाको प्रशंसा गाएको अरू कुन उल्लेखनीय घटनाहरू हिब्रू शास्त्रमा उल्लेख गरिएको पाउँछौं?

८. इस्राएलीहरूले गीत गाउनुलाई गम्भीरतापूर्वक लिन्थे भनी कुन कुराले देखाउँछ?

९. मसीही युनानी शास्त्रमा गीत गाउनुलाई कस्तो जोड दिइएको छ?

१०. गीतद्वारा उहाँको प्रशंसा गर्नु भनी परमेश्‍वरको वचनले कस्ता आज्ञाहरू दिन्छ?

११. गीत गाउने सन्दर्भमा प्रेरित पावलले कस्तो सल्लाह दिए?

१२. गीत गाउनाले अरूलाई सिकाउन र अर्ती दिन मदत दिन्छ भन्‍ने कस्ता उदाहरणहरू छन्‌?

१३. हाम्रो उपासनाको भागअन्तर्गत गीत गाउनुको महत्त्व “विश्‍वासी र बुद्धिमान दास” ले कसरी देखाएको छ?

१४. हाम्रा कार्यक्रमहरूमा छानिने गीतहरू सुहाउँदो हुन्छन्‌ भन्‍ने कस्ता उदाहरणहरू हामीसित छ?

१५. गाउन लागेको गीतको मूल्याङ्‌कन सभाका अध्यक्षले कसरी बढाउन सक्छन्‌?

१६. हामी गीत गाउँदा कसरी जोशिलो हुन सक्छौं?

१७. (क) गीत गाउने सिलसिलामा अविश्‍वासी इस्राएलीहरूले जस्तै हामी कुन निन्दा पाउन चाहँदैनौं? (ख) हाम्रा गीतहरूका आग्रहहरूलाई गम्भीरतापूर्वक लिंदा के हुन्छ?

१८. राज्य गीत गाउँदा एउटी स्त्रीमाथि कस्तो प्रभाव पऱ्‍यो?

१९. मनतनका साथ राज्य गीतहरू गाउन हामीलाई कस्तो अन्तिम प्रोत्साहन दिइएको छ?

[पृष्ठ १७-मा भएको पेटी]

ती गीतहरू गाउन सिक्नुहोस्‌!

प्रायजसो गीत गाउन केहीलाई अलि गाह्रो परेको जस्तो देखिन्छ। तर, यो मानी लिनु पर्छ, बुक्लिन बेथेल परिवार साथै न्यु योर्कका केही मण्डलीहरूमा भने यी गीतहरू गाउन खास समस्या परेको देखिंदैन। शायद सुरुमा अलि गाह्रो लागेको गीत गाउन अलिक थप प्रयास मात्र चाहिएको होला। त्यस्ता गीतहरू गाउन सिकिसकेपछि थप प्रयास गरेर सिकेका गीतहरू गाउँदा मण्डलीले बढी आनन्द महसुस गर्छन्‌।

[पृष्ठ १८-मा भएको पेटी]

सामाजिक जमघटहरूमा राज्य गीतहरू गाउनुहोस्‌

राज्य भवनमा मात्र राज्य गीतहरू गाउनु पर्छ भन्‍ने छैन। झ्यालखानामा हुँदा पनि पावल र सिलासले यहोवाको प्रशंसा गाए। (प्रेरित १६:२५) अनि चेला याकूबले यसो भने: “के कोही आनन्दित छ? त्यसले [परमेश्‍वरलाई] भजन गाओस्‌।” (याकूब ५:१३) सामाजिक जमघटहरूमा सबै आनन्दित हुन्छन्‌। त्यसो भए राज्य गीत किन नगाउने? गीतको साथसाथै पियानो अथवा गिटार बजाइयो भने अझ रमाइलो हुन्छ। होइन भने, हाम्रा राज्य गीतहरूका पियानो टेपहरू छन्‌; धेरै साक्षी परिवारसित यी टेपका एल्बमहरू छन्‌। ती गीत गाउनको निम्ति मात्र होइन तर पृष्ठभूमिमा धुन बजाउन पनि साह्रै उपयुक्‍त हुन्छ।

[पृष्ठ १४-मा भएको चित्र]

लाल समुद्रमा छुटकारा पाएपछि गीतद्वारा इस्राएलले आफ्नो हर्ष व्यक्‍त गरे

[पृष्ठ १६-मा भएको चित्र]

हर्षमय गीतहरू आज मसीही उपासनाको भाग हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने