धर्ममा किन चासो लिने?
पृथ्वीको हरेक देशमा धर्मप्रति चासो लिएको पाइन्छ। अर्कोतर्फ धर्मप्रति कुनै चासो छैन भनी नहिचकिचाइ भन्ने व्यक्तिहरू नभएका पनि होइनन्। तर के तिनीहरूलाई सधैं त्यस्तो लागेको थियो?
मानवीय स्वभावले गर्दा कुनै पनि मानिस वास्तवमा भौतिक वस्तुहरूले मात्र सन्तुष्ट हुँदैन। मानिसहरूलाई आध्यात्मिकता पनि चाहिन्छ। शारीरिक खाँचो टार्दै यदाकदा मनोरञ्जन गर्दैमा मानिसको आन्तरिक आवश्यकता पूरा हुँदैन। ‘जीवनको उद्देश्य के हो?’ ‘के यो छोटो जीवन घाम-छायाँको सँगालो मात्र हो त?,’ जनावरहरूको विपरीत मानिसहरू यी प्रश्नहरूका जवाफ जान्न चाहन्छन्। के तपाईंले पनि यस्तै प्रश्नहरू सोध्नु भएको छैन र?
यद्यपि, आज बाँचिरहेका लाखौं मानिसहरू धर्ममाथि अर्थपूर्ण चासो लिन निरूत्साहित पार्ने वातावरणबीच हुर्के। त्यस्तो प्रभाव तिनीहरूका आमाबाबु, शिक्षकहरू, साथीहरू वा सरकारबाट समेत आएको हुनसक्छ।
साम्यवादी शासनको समयमा मानिसहरूलाई परमेश्वर छैन भनी सिकाइन्थ्यो भनेर अल्बेनियाका युवक स्कालाब्रिनो बताउँछन्। अझ भन्ने हो भने, धर्मको कुरै समेत गर्नु पनि तिनीहरूको लागि खतरनाक थियो; परिणाम जेल सजाय हुनसक्थ्यो। यद्यपि, १९९१ तिर स्वीटजरलैण्डमा शरणार्थी हुँदा तिनलाई बाइबल अध्ययन गर्ने मौका दिइयो र तिनले स्वीकारे। तर किन?
अल्बेनियामा हुँदा तिनले बाइबल नामक पुस्तक छ भनेर सुनेका थिए। तर वास्तवमा तिनलाई त्यसबारे केही थाहा थिएन। तसर्थ प्रारम्भमा शायद बाइबल बुझ्ने इच्छाले तिनलाई त्यति उत्प्रेरित नगरेको हुनसक्छ। तथापि, मानवजाति अनि पृथ्वीका लागि परमेश्वरको उद्देश्यबारे तिनले अध्ययन गर्न पाउनेछन् भनी तिनलाई भनिएको थियो र त्यसलाई आफ्नो स्थानीय भाषा उन्नति गर्ने राम्रो मौका देखे। तर आफूले सिकेका कुराहरूले आफ्नो गहिरो आध्यात्मिक तिर्खा मेटाइरहेको तिनले चाँडै नै महसुस गरे। सर्वत्र शान्ति छाउने अनि जीवनलाई चाहिने सबै कुराहरूको प्रशस्त मात्रामा आनन्द उठाउँदै मानिसहरू सधैंभरि जीवित रहन पाउने नयाँ संसारबारे परमेश्वरको प्रतिज्ञा सुनेर तिनले न्यानो अनुभूति महसुस गरे। आफू र आफ्नो परिवार त्यस नयाँ संसारको भागीदार हुनसक्छ भनेर सिकेपछि तिनको चासो झन् बढ्यो। यस्तो सुसमाचारलाई आफैमा सीमित नराखी तिनले अल्बेनियामा आफ्नो परिवारलाई फोन गरे।
बाइबलको यथार्थ ज्ञानले मानिसको जीवनमा पार्नसक्ने प्रभाव देखेर रूसका अलिक्स्या पनि छक्क परे। असह्य समस्याहरू अनि जीवनको उद्देश्यबारे चित्तबुझ्दो जवाफ पाउन नसकेर तिनले आत्महत्या गर्ने योजना बनाएका थिए। यद्यपि, पहिला आफ्नो साथीलाई भेट्न तिनी फिनलैण्ड गए। बाटोमा रेलयात्रा गर्दा तिनले सहयात्रीहरूलाई आफ्नो समस्या बताए। ती सहयात्रीहरूमध्ये यहोवाका साक्षी पनि एक थिइन्। उनले बाइबल अध्ययन गर्न आग्रह गर्दै बाइबलले त्यस्ता समस्याहरूको समाधान बताउँछ भनी बताइन्। तर तिनलाई त्यति विश्वास लागेन। पछि फिर्ती यात्रा गर्दा फेरि त्यस्तै घटना घट्यो। यसपटक तिनीसँग कुरा गर्ने अर्कै साक्षी थिई। त्यस साक्षीले आफूसँग पनि त्यस्तै समस्याहरू भएको र बाइबलले त्यस्ता समस्याहरूबाट उम्कन मदत गरेको कुरा बताइन्। त्यस साक्षीले पनि तिनलाई बाइबल अध्ययन गर्ने प्रोत्साहन दिइन्। घर फर्केपछि अर्की साथीले तिनलाई फोन गरी। तिनको यो साथी साक्षीहरूसित अध्ययन गर्दै थिई र साह्रै खुशी थिई। अब भने अलिक्स्यालाई कतै बाइबलले नै आफ्नो समस्याको समाधान दिने हो कि भनेर महसुस हुन थालेछ। तर कसैको मदतबिना त्यसलाई बुझ्न सकिंदैन भनेर तिनलाई थाहा थियो। अतः यहोवाका साक्षीहरूसित नियमित बाइबल अध्ययन गर्न तिनी सहमत भए र तिनीहरूको सभाहरू पनि धाउन थाले। त्यसपछि, सबै मानवजातिमाथि आइपर्ने समस्याहरू भोग्न परेपनि बाइबलका शिक्षाअनुरूप जीवन बिताउनेहरू किन आनन्दित हुन्छन् भनेर बुझ्न तिनलाई त्यति समय लागेन।
मानवीय स्वभावमाथि अन्तर्दृष्टि राख्नुहुँदै येशू ख्रीष्टले यसो भन्नुभयो: “मानिस भोजनले मात्र बाँच्तैन।” (मत्ती ४:४, द न्यु इङ्गलिस बाइबल) उहाँले यो पनि भन्नुभयो: “आफ्नो आध्यात्मिकताप्रति सजग हुनेहरू धन्यका हुन्।” (मत्ती ५:३ न्यु व.) तिनीहरू आनन्दित हुन्छन् किनभने तिनीहरू आफ्नो आवश्यकताप्रति पूर्ण सजग छन् अनि त्यसलाई सन्तुष्ट पार्न उचित कदम चाल्छन्। फलस्वरूप तिनीहरूले परमेश्वरको आशिषको आनन्द उठाउँछन्। तथापि, चर्चको सदस्य हुँदैमा वा कुनै धार्मिक उपासनामा बिथोलित हुँदैमा हाम्रो आध्यात्मिक आवश्यकता पूरा हुँदैन। थुप्रै रीतिथितिहरूले भरपूर धर्म भावनात्मक दृष्टिले मोहलाग्दो होला तर के त्यसले जीवनका समस्याहरूको वास्तविक समाधान दिन्छ र? कुनै कुनै धर्मले त्यस्ता केही आधारभूत सिद्धान्तहरूलाई समर्थन गर्ला तर जीवनको वास्तविक उद्देश्यको यथार्थता बताउन सक्दैन भने के त्यसले तपाईंको आध्यात्मिक आवश्यकतालाई पूरा गर्न सक्ला? योभन्दा अझ विचारणीय कुरा के हो भने, त्यस्तो धर्म पालन गर्नाले के परमेश्वरसँग राम्रो सम्बन्ध कायम राख्न सकिन्छ? किनकि यसको अभावमा साँचो सन्तुष्टिको कमी हुनेछ।
यस सम्बन्धमा थुप्रै मानिसहरू त्यस्तो कुराको खोजीमा लाग्दैछन्, जसलाई तिनीहरूले अझै भेट्टाएका छैनन्। (w94 6/1)
[पृष्ठ ३-मा भएको चित्र]
चर्चको सदस्य हुँदैमा के तपाईंका आध्यात्मिक आवश्यकताहरू साँच्चै पूरा हुनेछन्?
[पृष्ठ ४-मा भएको चित्र]
राम्ररी बाइबलको ज्ञान लिंदा जीवनले अर्कै मोड लिंदोरहेछ भनेर धेरैले महसुस गरेका छन्