आनन्दसाथ अख्तियारको अधीनमा बस्ने
“[तिमीहरू] आफ्ना हृदयबाट त्यसैलाई मान्ने भयौ।”—रोमी ६:१७.
“अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा” आज चारैतिर छ्यापछ्याप्ती देखिएको छ। यो आत्मा, “आकाशको शक्तिको मालिक,” शैतानबाट उत्पन्न बेलगाम स्वतन्त्रताको आत्मा हो। यो आत्मा, यो “हावा” अर्थात् स्वार्थ र अनाज्ञाकारिताको प्रबल मनोवृत्तिले अधिकांश मानवमाथि “अख्तियार” अथवा बल प्रयोग गर्छ। संसारले सामना गर्नुपरेको सङ्कट जसलाई अख्तियारको सङ्कट पनि भनिन्छ, त्यसको एउटा कारण यो पनि हो।—एफिसी २:२, न्यु व.।
२ खुशीको कुरा, आज यहोवाका समर्पित सेवकहरूले यस्तो दूषित “हावा” अर्थात् विद्रोहको आत्माले आफ्नो आध्यात्मिक फोक्सो भर्दैनन्। “अनाज्ञाकारिताको सन्तान- माथि परमेश्वरको क्रोध आउँछ” भनेर तिनीहरूलाई थाहा छ। प्रेरित पावलले अझ यसो भने: “यसकारण तिनीहरूसँग सह-भागी नहोओ।” (एफिसी ५:६, ७) बरु साँचो मसीहीहरू “[यहोवाको] आत्माले भरिपूर्ण” भएर “माथिबाट आउने ज्ञान” पिउँछन्, जो “पवित्र, त्यसपछि मिलापी, व्यावहारिक, आज्ञाकारी” छ।—एफिसी ५:१७, १८; याकूब ३:१७, न्यु व.।
राजीखुशी यहोवाको सार्वभौमिकताको अधीनमा बस्ने
३ राजीखुशी अधीनमा बस्ने कुञ्जी वैध अख्तियारलाई स्वीकार्नु हो। यहोवाको सार्वभौमिकतालाई अस्वीकार गरेर आनन्दित हुन सकिंदैन भनेर मानव इतिहासले बताउँछ। त्यस्तो अस्वीकारले आदम र हव्वालाई आनन्दित बनाएन न ता तिनीहरूलाई विद्रोह गर्न उक्साउने शैतान अर्थात् दियाबललाई नै त्यसले आनन्दित बनायो। (उत्पत्ति ३:१६-१९) आफ्नो वर्तमान पतित अवस्थामा शैतान “ठूलो क्रोध” मा छ किनभने त्यसलाई आफ्नो अल्पबारे थाहा छ। (प्रकाश १२:१२) मानवजाति तथा सम्पूर्ण ब्रह्माण्डको शान्ति र आनन्द यहोवाको धार्मिक सार्वभौमिकताको विश्वव्यापी मान्यतामा भर पर्छ।—भजनसंग्रह १०३:१९-२२.
४ यद्यपि, अद्भुत ढङ्गमा सन्तुलित आफ्ना गुणहरूको कारण यहोवा भावशून्य आज्ञाकारिताले सन्तुष्ट हुनुहुन्न। उहाँ शक्तिशाली हुनुहुन्छ र त्यसमा कुनै सन्देह छैन! तर उहाँ निरंकुश हुनुहुन्न। उहाँ प्रेमको परमेश्वर हुनुहुन्छ र आफ्ना बौद्धिक प्राणीहरू प्रेमले विभोर भइ राजीखुशी आफ्नो आज्ञा मानेको चाहनु हुन्छ। तिनीहरू आफ्नो सार्वभौमिकताको अधीनमा बसेको यहोवा चाहनु हुन्छ किनभने तिनीहरू आफै उहाँको धार्मिक र वैध अधिकारको छत्रछाया मनि रहन चाहन्छन् र सधैंभरि उहाँको आज्ञा पालन गर्नुभन्दा असल अरू केही हुनसक्दैन भनेर तिनीहरू विश्वस्त छन्। यहोवाले आफ्नो ब्रह्माण्डमा देख्न चाहनुहुने प्रकारको व्यक्तिले भजनरचयिताले जस्तै महसुस गर्छन्। तिनले लेखे: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। परमप्रभुको आदेश ठीक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने। परमप्रभुको भय शुद्ध छ, अनन्तकालसम्मै ठहर्ने, परमप्रभुको न्यायको वचन सच्चा र बिलकुलै धर्ममय छन्।” (भजनसंग्रह १९:७-९) यहोवाको नयाँ संसारमा बाँच्न चाहन्छौं भने उहाँको सार्वभौमिकताको औचित्य र धार्मिकतामाथि पूर्ण भरोसा राख्ने हाम्रो मनोवृत्ति हुनुपर्छ।
आनन्दसाथ हाम्रो राजाको अधीनमा बस्ने
५ आफ्नो स्वर्गीय पिताको अधीनमा बस्ने सम्बन्धमा ख्रीष्ट येशू आफै अत्युत्तम उदाहरण हुनुहुन्छ। उहाँ “मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो” भनेर हामी पढ्छौं। पावल अझ यसो भन्छन्: “त्यसैकारणले पनि परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।” (फिलिप्पी २:८-११) हो, हामी नम्रतापूर्वक हाम्रा नेता तथा शासनारूढ राजा ख्रीष्ट येशूअघि आफ्नो घुँडा टेक्छौं।—मत्ती २३:१०.
६ हाम्रा नेताको रूपमा ख्रीष्टबारे यहोवाले यो भविष्यवाणी गर्नुभयो: “हेर, मैले त्यसलाई जातिहरूका बीचमा साक्षी, र जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।” (यशैया ५५:४) आफ्नो पार्थिव सेवकाईद्वारा र आफ्नो मृत्यु अनि पुनरुत्थानपश्चात् स्वर्गबाट प्रचार कार्यलाई निर्देशित गरेर येशूले आफूलाई सारा राष्ट्रका मानिसहरूबीच यहोवाको “विश्वासयोग्य र साँचो साक्षी” प्रमाणित गर्नुभइसकेको छ। (प्रकाश ३:१४; मत्ती २८:१८-२०) यस्ता राष्ट्रिय समूहलाई आज बढ्दो “ठूलो भीड़” ले चित्रण गर्छ जसले ख्रीष्टको नेतृत्वमा “महा सङ्कष्ट” पार गर्नेछ। (प्रकाश ७:९, १४) तर येशूको नेतृत्व यतिकैमा अन्त हुँदैन। उहाँको “शासन” हजार वर्षसम्म चल्नेछ। आज्ञाकारी मानिसहरूका लागि उहाँले “उदेकको युद्धि निकाल्नुहुने, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार” भन्ने आफ्नो नाउँ अनुरूप काम गर्नुहुनेछ।—यशैया ९:६, ७; प्रकाश २०:६.
७ यदि थुमा, ख्रीष्ट येशूले धार्मिक हृदय भएकाहरूलाई डोऱ्याउनु हुने स्थान, “जीवनका पानीहरूका फोहोरा” द्वारा लाभान्वित हुने इच्छा गर्छौं भने राजाको हैसियतमा उहाँको अख्तियारको अधीनमा आनन्दसाथ बस्न चाहन्छौं भनेर हामीले तुरुन्तै आफ्नो कामद्वारा प्रमाणित गरिहाल्नुपर्छ। (प्रकाश ७:१७; २२:१, २; तुलना गर्नुहोस् भजनसंग्रह २:१२) येशूले भन्नुभयो: “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। मलाई प्रेम गर्ने त्यही हो, जसले मेरा आज्ञा मान्दछ, र तिनलाई पालन गर्दछ, जसले मलाई प्रेम गर्दछ, त्यो मेरा पिताको पनि प्रेमी हुनेछ, औ म त्यसलाई प्रेम गर्नेछु।” (यूहन्ना १४:१५, २१) के तपाईं येशू र उहाँको पिताले प्रेम गरेको चाहनु हुन्छ? त्यसोभए उहाँहरूको अख्तियारको अधीनमा बस्नुहोस्।
निरीक्षकहरू आनन्दसाथ आज्ञा पालन गर्छन्
८ “मण्डली ख्रीष्टको अधीनमा छ।” मण्डलीको निरीक्षकको हैसियतमा उहाँले मण्डलीको “उन्नतिको लागि” “मानिसहरूमा वरदान” को प्रबन्ध गर्नुभएको छ। (एफिसी ४:८, ११, १२, न्यु व.; ५:२४) यी आध्यात्मिक धर्मगुरुहरूलाई आफ्नो “जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण” भएर “परमेश्वरको बगालको गोठालो होओ” भनिएको छ। (१ पत्रुस ५:१-३) त्यस बगालको मालिक यहोवा हुनुहुन्छ भने ख्रीष्ट त्यसको “असल गोठालो” हुनुहुन्छ। (यूहन्ना १०:१४) यहोवा र ख्रीष्टले जिम्मा दिनुभएका भेडाहरूले राजीखुशी सहयोग गरोस् भनेर निरीक्षकहरूले उचित आशा गर्ने हुँदा तिनीहरू आफै पनि अधीनताको असल उदाहरण हुनुपर्छ।—प्रेरित २०:२८.
९ प्रथम शताब्दीमा अभिषिक्त निरीक्षकहरूलाई लाक्षणिक रूपमा ख्रीष्टको दाहिने “बाहुलीमा” भएको भनी चित्रण गरिन्थ्यो। यसले मण्डलीको शिरको रूपमा उहाँप्रति तिनीहरूको अधीनतालाई देखाउँथ्यो। (प्रकाश १:१६, २०; २:१) आज यहोवाका साक्षीहरूको मण्डलीभित्र निरीक्षकहरूले ठीक त्यस्तैगरि येशूको निर्देशनको अधीनमा बसेर ‘परमेश्वरका बलवान बाहुलीमनि आफैलाई नम्र तुल्याउनुपर्छ।’ (१ पत्रुस ५:६) न्यायिक मामिलाहरू सुल्झाउन आग्रह गरिंदा सुलेमानले आफू विश्वासी छँदा गरेजस्तै तिनीहरूले यहोवालाई प्रार्थना गर्नुपर्छ: “तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्ने मन दिनुहोस्, र त्यसले असल खराबको भेद छुट्ट्याउनसकोस्।” (१ राजा ३:९) बुझ्ने मनले एक जना प्राचीनलाई यहोवा र ख्रीष्ट येशूले जस्तै दृष्टिकोण राख्न प्रेरित गर्नेछ ताकि पृथ्वीमा गरिएको निर्णय स्वर्गमा गरिएको निर्णयसँग यथाशक्य मेल खाओस्।—मत्ती १८:१८-२०.
१० त्यस्तैगरि परिभ्रमण निरीक्षकहरू र मण्डलीका प्राचीनहरूले पनि ख्रीष्टले भेडाहरूसित गर्नुहुने व्यवहारको अनुकरण गर्नेछन्। फरिसीहरूले जस्तै येशूले मानिसहरूमाथि पालनै गर्न नसक्ने तीन थुप्रो नियमहरू लाद्नु भएन। (मत्ती २३:२-११) उहाँले भेडाखालका मानिसहरूलाई यसो भन्नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) ‘हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्ने’ कुरा साँचो भए तापनि निरीक्षकहरूले येशूको उदाहरणलाई सम्झनु पर्छ र आफूले बोक्नु पर्ने मसीही जिम्मेवारीको भारी “सजिलो” र “हलका” महसुस गराउन भाइहरूलाई मदत गर्नुपर्छ।—गलाती ६:५.
ईश्वरतान्त्रिक अधीनता
११ ईश्वरतन्त्र परमेश्वरको शासन हो। पहिलो कोरिन्थी ११:३ मा अभिव्यक्त गरिएको शिरत्वको सिद्धान्त यसमा समावेश छ। तर यो त्यतिमै सीमित छैन। कुनै व्यक्तिले शिरत्वलाई आदर देखाएको जस्तो देखिएला तर पूरा अर्थमा ऊ ईश्वरतान्त्रिक नभइरहेको हुनसक्छ। तर कसरी? उदाहरणको लागि, प्रजातन्त्र प्रजाको सरकार हो र प्रजातन्त्रवादीलाई “प्रजातन्त्रको आदर्शमाथि विश्वास राख्ने” भनेर परिभाषित गरिएको छ। कुनै व्यक्तिले आफूलाई प्रजातन्त्रवादी हुँ भनी दाबी गर्ला, चुनावमा भाग लेला र सक्रिय राजनीतिज्ञ समेत होला। तर उसको सामान्य आचरणले प्रजातन्त्रको आदर्श र त्यसमा मुछिएका सबै सिद्धान्तहरूको अवहेलना गर्छ भने के उसलाई सच्चा प्रजातन्त्रवादी भन्न सकिन्छ र? त्यस्तैगरि वास्तविक ईश्वरतान्त्रिक हुन एक व्यक्तिले शिरत्वको नाउँ मात्रको अधीनमा बसेर पुग्दैन। उसले यहोवाका तौरतरिकाहरू र गुणहरू अनुकरण गर्नुपर्छ। ऊ हर तवरमा साँच्चै नै परमेश्वरबाट डोऱ्याइएको हुनुपर्छ। र यहोवाले आफ्नो पुत्रलाई पूरा अख्तियार दिइसक्नु भएकोले ईश्वरतान्त्रिक हुनुको अर्थ येशूको नकल उतार्नु पनि हो।
१२ स्मरण रहोस्, प्रेमले प्रेरित भइ राजीखुशी अधीनमा बसेको यहोवा चाहनु हुन्छ। विश्व ब्रह्माण्डलाई शासन गर्ने यो उहाँको तरिका हो। उहाँ प्रेमको मूर्त रूप हुनुहुन्छ। (१ यूहन्ना ४:८) ख्रीष्ट येशू, “उहाँको महिमा . . . र परमेश्वरकै तत्त्वको प्रतिबिम्ब” हुनुहुन्छ। (हिबू १:३) उहाँ आफ्नो चेलाहरूले आपसमा प्रेम गरेको चाहनु हुन्छ। (यूहन्ना १५:१७) अतः ईश्वरतान्त्रिक हुन अधीनमा बसेर मात्रै पुग्दैन तर मायालु पनि हुनुपर्छ। यस कुरालाई सङ्क्षेपमा यसो भन्न सकिन्छ: ईश्वरतन्त्र परमेश्वरको शासन हो; परमेश्वर प्रेम हुनुहुन्छ; तसर्थ ईश्वरतन्त्र प्रेमको शासन हो।
१३ ईश्वरतान्त्रिक हुन भाइहरूले हर प्रकारका नियमहरू मान्नु पर्छ भनेर कुनै प्राचीनले सोच्न सक्छ। “विश्वासी र बुद्धिमान दास” ले समय-समयमा दिएका सुझावहरूबाट केही प्राचीनहरूले नियम बनाएका छन्। (मत्ती २४:४५) उदाहरणको लागि, मण्डलीका भाइहरूलाई अझ राम्ररी चिन्न राज्य भवनमा सधैं एउटै कुर्सीमा बस्नु उपयुक्त नहुनसक्छ भनेर केही समयअघि सुझाव दिइएको थियो। यो व्यवहारिक सुझाव मात्र थियो, कुनै ठोस नियम होइन। तर केही प्राचीनहरूले यसलाई नियम बनाउन खोज्लान् र त्यसलाई पालन नगर्नेजति ईश्वरतान्त्रिक होइनन् भनेर महसुस गर्लान्। यद्यपि, कुनै भाइ वा बहिनी एउटै ठाउँमा बस्न चाहनुको थुप्रै राम्रा कारणहरू हुनसक्छ। यदि प्राचीनले त्यस्ता कुरालाई ध्यानमा राख्दैन भने के ऊ आफै नै ईश्वरतान्त्रिक हुन्छ र? ईश्वरतान्त्रिक हुन तपाईंले जे गर्नुहुन्छ “ती सबै प्रेममा गरिएका होऊन्।”—१ कोरिन्थी १६:१४.
आनन्दसाथ सेवा गर्ने
१४ ईश्वरतान्त्रिक हुनुको अर्थ यहोवालाई आनन्दसाथ सेवा गर्नु पनि हो। यहोवा “आनन्दित परमेश्वर” हुनुहुन्छ। (१ तिमोथी १:११, न्यु व.) आफ्ना उपासकहरूले आनन्दसाथ सेवा गरून् भनी उहाँ चाहनु हुन्छ। नियमलाई लिएर आपत्ति जनाउनेहरूले यो सम्झनुपर्छ, इस्राएलीहरूले “ख्याल राखेर मान्नपर्ने” विधि-विधानहरूमध्ये एउटा यो पनि थियो: “तिमीहरूले आफ्ना काममा परमप्रभु आफ्ना परमेश्वरको सामने आनन्द मनाउनू।” (व्यवस्था १२:१, १८) यहोवाको सेवामा हामीले गर्ने जुनसुकै काम बोझ नभइ आनन्ददायी हुनुपर्छ। यथाशक्य यहोवाको सेवा गर्न भाइहरूलाई आनन्दित महसुस गराउन निरीक्षकहरूले निकै मदत पुऱ्याउन सक्छन्। अर्कोतर्फ प्राचीनहरू होशियार भएनन् भने तिनीहरूले कुनै कुनै भाइहरूको आनन्द खोस्न सक्छन्। उदाहरणको लागि, साक्षी दिने काममा मण्डलीले बिताउने औसत घण्टा बराबर समय बुझाउने वा त्योभन्दा बढी बुझाउनेहरूको सराहना अनि नबुझाउनेहरूको आलोचना गरेर प्राचीनहरूले तुलना गर्न थाल्यो भने ग्राह्य कारणले गर्दा कम समय बुझाउनेहरूले कस्तो महसुस गर्लान्? के त्यसले अनावश्यक दोषी भावना नजगाउला भन्न सकिन्छ र? के त्यसले तिनीहरूको आनन्द खोस्दैन र?
१५ कुनै व्यक्तिको उमेर, स्वास्थ्य र अन्य परिस्थितिहरूलाई ध्यानमा राख्ने हो भने आम साक्षी दिने कार्यमा कम समय बिताउने केही व्यक्तिहरूले धेरै समय बिताउनेले भन्दा बढी प्रयत्न गरिरहेको हुनसक्छ। यस सम्बन्धमा प्राचीनहरूले तिनीहरूको न्याय गर्नु मुनासिब हुनेछैन। निस्सन्देह, यहोवाले “फैसला गर्ने अधिकार” येशूलाई दिनुभएको छ। (यूहन्ना ५:२७) साधारण मानिसहरूले बुझाउने भन्दा कम बुझाई भनेर के येशूले गरीब विधवाको आलोचना गर्नुभयो? अहँ, गर्नुभएन। ती दुई सिक्का बुझाउन तिनलाई कति मेहनत गर्नु पऱ्यो होला भनेर येशूले बुझ्नुभयो। त्यो तिनको “सारा जीविकानै” थियो। साँच्चै त्यसले यहोवाप्रतिको कति गहिरो प्रेम दर्शायो! (मर्कूस १२:४१-४४) सङ्ख्यात्मक रूपमा सबै कुरा “औसत” भन्दा तल हुनेहरूले गरेको मायालु यत्नप्रति के प्राचीनहरूले त्यस्तैगरि बुझ्नु पर्दैन र? यहोवाप्रतिको प्रेमको आधारमा भन्ने हो भने त्यस्तो यत्न औसतभन्दा निकै माथि हुनसक्छ!
१६ सङ्ख्याहरू अर्थात् औसतको समेत कहिल्यै उल्लेख गर्नुहुँदैन भनेर के अब यसलाई पनि एउटा नयाँ “नियम” बनाउनु मिल्छ होला त? अहँ, कदापि, मिल्दैन! बुझ्नु पर्ने कुरा के हो भने, भाइहरूलाई आफ्नो सेवकाई बढाउन प्रोत्साहन दिने र तिनीहरूलाई आनन्दसाथ यथाशक्य गर्न मदत दिनेबीच निरीक्षकहरू सन्तुलित हुनुपर्छ। (गलाती ६:४) येशूले बताउनुभएको तोडाको उखानमा मालिकले “आफ्ना आफ्ना खूबी अनुसार” दासहरूलाई आफ्नो सम्पत्ति बाँडे। (मत्ती २५:१४, १५) प्राचीनहरूले पनि त्यस्तैगरि हरेक राज्य प्रकाशकको क्षमतालाई ध्यानमा राख्नुपर्छ। यसको लागि समझदारीको आवश्यकता पर्छ। कसैलाई अझ बढी गर्न वास्तवमा प्रोत्साहन चाहिरहेको हुन सक्छ। आफ्नो क्रियाकलापलाई अझ व्यवस्थित बनाउन दिइएको मदतलाई तिनीहरूले मूल्याङ्कन गर्न सक्छन्। त्यस अवस्थामा यदि तिनीहरूले आनन्दसाथ जे-जति गर्न सक्छन् त्यति नै गर्न मदत दिइयो भने सम्भवतः तिनीहरूको आनन्दले तिनीहरूलाई आफ्नो मसीही क्रियाकलाप यथासम्भव वृद्धि गर्न बल प्रदान गर्नसक्छ।—नहेम्याह ८:१०; भजनसंग्रह ५९:१६; यर्मिया २०:९.
आनन्दसाथ अधीनमा बस्दा प्राप्त हुने शान्ति
१७ आनन्दसाथ यहोवाको वैध सार्वभौमिकताको अधीनमा बस्दा त्यसले हामीलाई ठूलो शान्ति दिनेछ। भजनरचयिताले आफ्नो प्रार्थनामा यहोवालाई यसो भने: “तपाईंको व्यवस्थामा प्रेम राख्नेहरूलाई ठूलो शान्ति हुन्छ र तिनीहरूले ठेस खाने कुनै कारणै रहँदैन।” (भजनसंग्रह ११९:१६५) परमेश्वरको नियम मानेर हामी आफै लाभान्वित हुन्छौं। यहोवाले इस्राएलीहरूलाई यसो भन्नुभयो: “परमप्रभु, जो तेरा उद्धारक र इस्राएलका पवित्र परमप्रभु हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, ‘म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरा फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोर्याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!’”—यशैया ४८:१७, १८.
१८ ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानले परमेश्वरसित हाम्रो शान्ति कायम गर्छ। (२ कोरिन्थी ५:१८, १९) पाप क्षमा गर्ने ख्रीष्टको रगतमाथि विश्वास राख्यौं र आफ्ना कमजोरीहरूप्रति सजग भइ लड्ने अनि परमेश्वरको इच्छा गर्ने कोशिश गऱ्यौं भने दोषी भावनादेखि हामी छुटकारा पाउनसक्छौं। (१ यूहन्ना ३:१९-२३) कामसहितको त्यस्तो विश्वासद्वारा हामी यहोवासमक्ष धर्मी ठहरिन्छौं र त्यस किसिमको विश्वासले हामीलाई “महा सङ्कष्ट” पार गरेर यहोवाको नयाँ संसारमा सधैंभरि बाँच्ने अद्भुत आशा प्रदान गर्छ। (प्रकाश ७:१४-१७; यूहन्ना ३:३६; याकूब २:२२, २३) ‘यदि हामीले परमेश्वरको आज्ञा पालन गऱ्यौं भने’ हामी यी सबै कुराको भागीदार हुनसक्छौं।
१९ हो, हाम्रो वर्तमान आनन्द र पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने हाम्रो आशा, विश्व ब्रह्माण्डको सार्वभौम प्रभु, यहोवाको अख्तियारको अधीनमा आनन्दसाथ बस्नुमा निर्भर रहनेछ। हाम्रा अनुभूति पनि सदा दाऊदका जस्तै होऊन्। तिनले भने: “हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ। औ अब, हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद दिंदैछौं औ तपाईंको महिमित नाउँको प्रशंसा गर्दैछौं।”—१ इतिहास २९:११, १३. (w94 7/1)
सम्झनु पर्ने बुँदाहरू
▫ आफ्ना सेवकहरूले कस्तो अधीनता र आज्ञाकारिता देखाओस् भनी यहोवा चाहनु हुन्छ?
▫ आफूले देखाउनुभएको आज्ञाकारिताका लागि येशूले कस्तो इनाम पाउनुभयो र हामीले आफ्नो कामद्वारा के प्रमाणित गर्नुपर्छ?
▫ भेडाहरूसित गर्नु पर्ने व्यवहारको सम्बन्धमा सबै प्राचीनहरूले कसरी येशूको अनुकरण गर्ने कोशिश गर्नुपर्छ?
▫ ईश्वरतान्त्रिक हुनुमा कुन कुरा समावेश छ?
▫ आनन्दसाथ अधीनमा बस्दा कस्ता आशिष्हरू हामी पाउनेछौं?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. (क) आज संसारमा कस्तो आत्मा प्रष्ट देखिएको छ र त्यसको स्रोत तथा प्रभाव के के हुन्? (ख) यहोवाका समर्पित सेवकहरूले कसरी आफूलाई भिन्दै देखाउँछन्?
३. राजीखुशी अधीनमा बस्ने कुञ्जी के हो र इतिहासले हामीलाई कस्तो ठूलो पाठ सिकाउँछ?
४. (क) आफ्ना सेवकहरूले कस्तो अधीनता र आज्ञाकारिता देखाओस् भनी यहोवा चाहनु हुन्छ? (ख) हामी कुन कुरामा विश्वस्त हुनुपर्छ र भजनरचयिताले यसलाई कसरी अभिव्यक्त गरे?
५. आफूले देखाउनुभएको आज्ञाकारिताका लागि येशूले कस्तो इनाम पाउनुभयो र कुन कुरा हामी सहर्ष स्वीकार्छौं?
६. कसरी येशू राष्ट्रिय समूहहरू समक्ष साक्षी र नेता साबित हुनुभएको छ र महासङ्कष्टपछि उहाँको “शासन” कसरी चलिरहनेछ?
७. येशू ख्रीष्टले हामीलाई “जीवनको पानीको फोहोरा” सम्मै पुऱ्याइदिऊन् भनी चाहन्छौं भने हामीले तुरुन्तै के गर्नुपर्छ र येशू तथा यहोवाको माया पाउन हामीलाई कुन कुराले प्रेरित गर्नेछ?
८, ९. (क) मण्डलीको उन्नतिको लागि ख्रीष्टले कसको प्रबन्ध गर्नुभएको छ र कुन ढङ्गमा यी मानिसहरू बगालको नमुना हुनुपर्छ? (ख) प्राचीनहरूको अधीनतालाई प्रकाशको पुस्तकमा कसरी चित्रण गरिएको छ र न्यायिक जाँच गर्दा तिनीहरूले कसरी “बुझ्ने मन” खोज्नुपर्छ?
१०. येशूले भेडाहरूसित गर्नुभएको व्यवहारलाई सबै प्राचीनहरूले कसरी अनुकरण गर्ने कोशिश गर्नुपर्छ?
११. (क) कुनै व्यक्तिले शिरत्वको आदर गरेर पनि कसरी ईश्वरतान्त्रिक नहुनसक्छ? प्रष्ट्याउनुहोस्। (ख) साँच्चै नै ईश्वरतान्त्रिक हुनुको अर्थ के हो?
१२, १३. (क) ईश्वरतान्त्रिक हुनुमा विशेषगरि कुन कुरा समावेश छ? (ख) ईश्वरतान्त्रिक हुन के थुप्रै नियमहरू मान्नुपर्छ? प्रष्ट्याउनुहोस्।
१४, १५. (क) एक जना प्राचीनले कुनै भाइ वा बहिनीले यहोवाको सेवामा पाएको आनन्द कसरी खोस्न सक्छ र यो किन ईश्वरतान्त्रिक हुनेछैन? (ख) हाम्रो सेवाको मात्राले नभइ त्यसले दर्शाउने प्रेमलाई मूल्याङ्कन गर्नुहुन्छ भनेर येशूले कसरी देखाउनुभयो? (ग) प्राचीनहरूले कुन कुरालाई ध्यानमा राख्नुपर्छ?
१६. (क) आफ्नो भाषणमा तथ्याङ्कहरूको प्रयोग गर्दा निरीक्षकहरूलाई किन समझदारी र राम्रो सन्तुलनको आवश्यकता पर्छ? (ख) आफ्नो सेवकाई बढाउन भाइहरूलाई मदत दिने उत्तम तरिका के हो?
१७, १८. (क) आनन्दसाथ अधीनमा बस्दा त्यसले किन शान्ति र धार्मिकता ल्याउँछ? (ख) परमेश्वरका आज्ञाहरूलाई साँच्चै नै पालन गऱ्यौं भने कुन कुरा हाम्रो हुनसक्छ?
१९. हाम्रो वर्तमान आनन्द र अनन्त जीवनको आशा कुन कुरामा निर्भर छ र हाम्रो हार्दिक विश्वासलाई दाऊदले कसरी व्यक्त गरे?
[पृष्ठ १८-मा भएको चित्र]
प्राचीनहरूले बगाललाई आनन्दसाथ यथाशक्य गर्न प्रोत्साहित गर्छन्
[पृष्ठ २०-मा भएको चित्र]
हृदयदेखि उहाँको आज्ञा पालन गर्नेहरूलाई यहोवाले मन पराउनुहुन्छ