प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv chap. ४ pp. ४१-५५
  • हामीले किन अख्तियारको आदर गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले किन अख्तियारको आदर गर्नुपर्छ?
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यो एउटा चुनौती हो—किन?
  • अख्तियारको आदर गर्नुपर्छ—किन?
  • परिवारमा आदर देखाउनुपर्छ—कसरी?
  • मण्डलीमा आदर देखाउनुपर्छ—कसरी?
  • सांसारिक अख्तियारलाई आदर गर्नुपर्छ—कसरी?
  • ४. हामीले किन अख्तियारको आदर गर्नुपर्छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • तपाईंमाथि अख्तियार हुनेहरूको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • अख्तियार सम्बन्धी मसीही दृष्टिकोण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यहोवाको अख्तियार स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv chap. ४ pp. ४१-५५
A father teaching his family

अध्याय ४

हामीले किन अख्तियारको आदर गर्नुपर्छ?

“हरप्रकारका मानिसहरूको आदर गर।”—१ पत्रुस २:१७.

१, २. (क) अख्तियारप्रति आदर देखाउनु किन गाह्रो छ? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

सानो बालकलाई मन नपर्ने काम गर्न लगायो भने उसले के गर्छ, के तपाईंले याद गर्नुभएको छ? उसलाई के गरूँ कसो गरूँ भएको कुरा तपाईं उसको अनुहारबाटै देख्नुहुन्छ होला। आमाबाबुले के भनिरहेका छन्‌ उसले त्यो नसुनेको होइन अनि आमाबाबुको अख्तियार स्वीकार्नुपर्छ भन्‍ने कुरा पनि उसलाई थाह छ। तर अहिले ऊ आज्ञा पालन गर्न चाहँदैन। यो  उदाहरणको जस्तै परिस्थिति हामी सबैले कहिलेकाहीं भोग्नुपर्ने हुन्छ।

२ अख्तियारप्रति आदर देखाउनु सधैं सजिलो हुँदैन। आफूमाथि केही हदसम्म अख्तियार पाएका व्यक्‍तिप्रति आदर देखाउन के तपाईंलाई कहिलेकाहीं गाह्रो भएको छ? त्यसो हो भने यस्तो गाह्रो परिस्थितिको सामना गर्ने व्यक्‍ति तपाईं मात्र हुनुहुन्‍न। अहिले हामी अख्तियारप्रति एकदमै कम आदर देखाउने समयमा बाँचिरहेका छौं। तर बाइबलले हामीलाई अख्तियारवालाहरूप्रति आदर देखाउनै पर्छ भनेर बताएको छ। (हितोपदेश २४:२१) यदि हामी परमेश्‍वरको प्रेम पाउन लायक भइरहन चाहन्छौं भने यसो गर्नु आवश्‍यक छ। त्यसो भए हाम्रो मनमा स्वाभाविक रूपमा यस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌: अख्तियारको आदर गर्नु किन यत्ति गाह्रो छ? यहोवाले किन हामीबाट यसको माग गर्नुभयो? आज्ञा पालन गर्न हामीलाई केले मदत गर्नेछ? आखिर हामी कसरी अख्तियारप्रति आदर देखाउन सक्छौं?

यो एउटा चुनौती हो—किन?

३, ४. पाप र त्रुटिपूर्ण अवस्थाको सुरुवात कसरी भयो? अनि हाम्रो पापपूर्ण स्वभावले गर्दा अख्तियारको आदर गर्न हामीलाई किन चुनौती हुन्छ?

३ अख्तियारप्रति आदर देखाउनु किन गाह्रो छ, त्यसबारे बुझ्न हामी दुइटा कारण छोटकरीमा विचार गर्नेछौं। पहिलो, हामी त्रुटिपूर्ण छौं; दोस्रो, हामीमाथि अख्तियार जमाउनेहरू पनि त्रुटिपूर्ण छन्‌। धेरै वर्ष पहिले अदनको बगैंचामा आदम र हव्वाले परमेश्‍वरको अख्तियारको विद्रोह गरेदेखि नै मानिसहरू पाप र त्रुटिपूर्ण अवस्थाको खाडलमा परेका हुन्‌। त्यसैले विद्रोह गरिसकेपछि पापको जन्म भयो। अहिलेसम्म पनि हामीमा विद्रोह गर्ने झुकाव जन्मजातै छ।—उत्पत्ति २:१५-१७; ३:१-७; भजन ५१:५; रोमी ५:१२.

४ पापपूर्ण स्वभावले गर्दा हामीमध्ये धेरैजसो सजिलै घमन्डी अनि अहङ्‌कारी बन्‍न पुग्छौं। यसको विपरीत नम्रता भन्‍ने गुण फाट्टफुट्ट मात्र पाइन्छ। त्यसैले यो गुण खेती गर्न अनि त्यसलाई कायम राखिरहन हामीले कडा परिश्रम गर्नै पर्छ। परमेश्‍वरको सेवामा विश्‍वासी भई लामो समय बिताए तापनि हामी अट्टेरी वा घमन्डी बन्‍न सक्छौं। कोरहको उदाहरणलाई नै विचार गर्नुहोस्‌। कैयौं कठिनाइ आइपरे तापनि तिनी यहोवाका जनहरूमाझ विश्‍वासी भइरहेका थिए। तर तिनले पछि थप अख्तियार पाउने चाहना गरे र त्यतिबेलाका सबैभन्दा नम्र व्यक्‍ति मोशाको विरोध गर्ने काममा लाज पचाएर नेतृत्व लिए। (गन्ती १२:३; १६:१-३) उज्जियाहको उदाहरणलाई पनि विचार गर्नुहोस्‌। घमन्डी भएर तिनी यहोवाको मन्दिरभित्र पसे अनि पूजाहारीहरूले मात्र गर्नुपर्ने पवित्र काम गरे। (२ इतिहास २६:१६-२१) तिनीहरूले विद्रोह गरेको कारण त्यसको सजाय पाए। तिनीहरूको नराम्रो उदाहरण हामी सबैको लागि उपयोगी सम्झौटा हुन्‌। घमन्डी स्वभावले गर्दा अख्तियारको आदर गर्न गाह्रो हुन्छ। त्यसैले हामीले यस्तो स्वभाव त्याग्नै पर्छ।

५. त्रुटिपूर्ण मानिसहरूले आफूले पाएको अख्तियारको दुरुपयोग कसरी गरेका छन्‌?

५ अर्कोतर्फ अख्तियार पाएका त्रुटिपूर्ण मानिसहरूले पनि आदर गुमाउने थुप्रै काम गरेका छन्‌। धेरैजसो अख्तियारवाला कठोर, दुर्व्यवहार गर्ने वा तानाशाही भएका छन्‌। वास्तवमा इतिहासको पाना पल्टाउने हो भने हामी शक्‍तिको दुरुपयोग गर्नेहरूको लामो सूची नै पाउन सक्छौं। (उपदेशक ८:९) उदाहरणको लागि राजा शाऊललाई लिनुहोस्‌। यहोवाले राजाको रूपमा छान्दा तिनी असल अनि नम्र थिए। तर पछि तिनी घमन्ड अनि डाहको वशमा परे अनि विश्‍वासी पुरुष दाऊदलाई तिनले सताउन थाले। (१ शमूएल ९:२०, २१; १०:२०-२२; १८:७-११) दाऊदको कुरालाई विचार गर्ने हो भने पनि तिनी इस्राएलीहरूको इतिहासकै सबैभन्दा प्रिय राजा बनेका थिए तर पछि तिनले आफ्नो शक्‍तिको दुरुपयोग गरे। तिनले हित्ती उरियाहकी स्वास्नीलाई सुटुक्क आफ्नो बनाए अनि ती निर्दोष व्यक्‍तिलाई मार्नको लागि लडाइँ खूब मच्चिएको ठाउँमा अघिल्लो पङ्‌क्‍तिमा लड्‌न पठाए। (२ शमूएल ११:१-१७) हो, त्रुटिपूर्ण भएको कारण मानिसहरूलाई आफ्नो शक्‍ति उचित तरिकाले प्रयोग गर्न गाह्रो हुन्छ। त्यसमाथि पनि यदि शक्‍ति पाएकाहरूले यहोवाको आदर गर्दैनन्‌ भने त तिनीहरूले झनै शक्‍तिको दुरुपयोग गर्ने गर्छन्‌। केही क्याथोलिक पोपहरूले जताततै सताएको कुरा उल्लेख गरिसकेपछि एक जना बेलायती राजनीतिज्ञले यसो भने: “थोरै शक्‍ति थोरै भ्रष्ट, धेरै शक्‍ति धेरै भ्रष्ट।” अख्तियारको दुरुपयोग गरेको यो इतिहासलाई विचार गर्दै हामी यो प्रश्‍न विचार गरौं: हामीले अख्तियारको आदर किन गर्नुपर्छ?

अख्तियारको आदर गर्नुपर्छ—किन?

६, ७. (क) यहोवाप्रतिको प्रेमले हामीलाई के गर्न उत्प्रेरित गर्छ र किन? (ख) अधीनमा बस्नुमा कस्तो मनोवृत्ति समावेश छ? हामी अधीनमा बसेका छौं भनेर कसरी देखाउन सक्छौं?

६ अख्तियारको आदर गर्नुपर्ने मूल कारण प्रेम हो—अर्थात्‌ यहोवाप्रतिको प्रेम, सँगी मानवहरूप्रतिको प्रेम अनि आफैलाई गरिने प्रेम हो। यहोवालाई जत्तिको माया हामी अरू कसैलाई गर्दैनौं, त्यसैले त हामी उहाँको मनलाई आनन्दित बनाउन चाहन्छौं। (हितोपदेश २७:११; मर्कूस १२:२९, ३०) अदनको बगैंचामा विद्रोह गरेदेखि नै उहाँको सार्वभौमिकता अर्थात्‌ ब्रह्‍माण्डमा शासन गर्ने उहाँको अधिकारमाथि चुनौती दिइएको छ र थुप्रैले शैतानको पक्ष लिएर यहोवाको शासनलाई तिरस्कार गरेका छन्‌ भन्‍ने कुरा हामीलाई थाह छ। तर हामीचाहिं खुसीसाथ यहोवाको सार्वभौमिकताको समर्थन गर्छौं। प्रकाश ४:११ मा लेखिएका शानदार शब्दहरू पढ्‌दा हाम्रो मनमा केही गरूँगरूँ भन्‍ने भाव पैदा हुन्छ। ब्रह्‍माण्डलाई शासन गर्ने अधिकार पाएको व्यक्‍ति यहोवा मात्र हुनुहुन्छ भनेर हामीले प्रस्टै बुझेका छौं। दैनिक जीवनमा यहोवाको नियमबमोजिम चलेर हामी उहाँको सार्वभौमिकताको समर्थन गर्छौं।

७ यसरी आदर देखाउनु भनेको आज्ञाकारी हुनु मात्र होइन। यहोवालाई प्रेम गर्ने भएकोले हामी आनाकानी नगरी उहाँको आज्ञा पालन गर्छौं। तर आज्ञाकारी हुनु कहिलेकाहीं निकै गाह्रो हुन सक्छ। त्यस्तो बेला सुरुमा उल्लेख गरिएको बालकले अधीनमा बस्न सिक्नुपरे जस्तै हामीले पनि अधीनमा बस्न सिक्नुपर्ने हुन्छ। एकदमै चुनौतीपूर्ण देखिने परिस्थितिमा समेत आफ्नो पिताको इच्छा पूरा गर्नको लागि अधीनमा बस्न तयार येशूलाई पनि हामी सम्झन्छौं। उहाँले आफ्नो पितालाई यसो भन्‍नुभयो: “मेरो होइन तर तपाईंको इच्छाबमोजिम होस्‌।”—लूका २२:४२.

८. (क) आज यहोवाको अख्तियारको अधीनमा बस्नुमा के समावेश छ? यस सन्दर्भमा यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर कुन कुराले देखाउँछ? (ख) सल्लाह सुन्‍न अनि अनुशासन स्वीकार्न हामीलाई कुन कुराले मदत गर्न सक्छ? (पृष्ठ ५२-५३ मा भएको पेटी हेर्नुहोस्‌।)

८ अहिले हामी प्रत्येकसित यहोवा स्वयम्‌ बोल्नुहुन्‍न। उहाँले आफ्नो वचन अनि पृथ्वीमा भएका मानव प्रतिनिधिहरू चलाउनुहुन्छ। प्रायजसो त हामी यहोवाले जसलाई हामीमाथि अख्तियार चलाउन खटाउनुभएको छ वा जसलाई त्यस स्थानमा रहने अनुमति दिनुभएको छ उसलाई आदर गरेर उहाँको सार्वभौमिकताको अधीनमा बसेका छौं भनेर देखाउँछौं। यदि हामी त्यस्ता व्यक्‍तिहरूको विद्रोह गर्छौं, जस्तै: तिनीहरूले दिएको धर्मशास्त्रीय सल्लाह तथा सुधार स्वीकार्दैनौं भने हामीले परमेश्‍वरलाई दुःखी तुल्याइरहेका हुन्छौं। इस्राएलीहरूले मोशा विरुद्ध गनगन गर्दा अनि विद्रोह गर्दा यहोवाले उहाँलाई नै गनगन गरेको अनि विद्रोह गरेको ठान्‍नुभयो।—गन्ती १४:२६, २७.

९. सँगी मानवलाई प्रेम गर्दा अख्तियारको आदर गर्न हामी किन उत्प्रेरित हुन्छौं? उदाहरण दिनुहोस्‌।

९ सङ्‌गी मानवहरूलाई प्रेम देखाउने भएकोले पनि हामी अख्तियारको आदर गर्छौं। कसरी? कल्पना गर्नुहोस्‌, तपाईं एक जना सैनिक हुनुहुन्छ। सेनाको सफलता वा तिनीहरू बच्ने वा नबच्ने कुरासमेत अफिसरहरूलाई सहयोग गर्ने, उनीहरूको आज्ञा मान्‍ने अनि उनीहरूलाई आदर गर्ने कुरामा निर्भर हुन्छ। यदि तपाईं एक जनाले अफिसरको कुरा सुन्‍नुभएन भने तपाईंका साथीहरू सबैको ज्यान जोखिममा पर्नेछ। हो, मानव सेनाले संसारमा थुप्रै विध्वंस मच्चाएको छ। तर यहोवाको सेनाले भने अरूलाई लाभै-लाभ पुऱ्‍याउँछ। बाइबलमा सयौं पटक परमेश्‍वरलाई “सेनाहरूका परमप्रभु” भनिएको छ। (१ शमूएल १:३) उहाँ अनगिन्ती शक्‍तिशाली आत्मिक प्राणीहरूको कप्तान हुनुहुन्छ। कहिलेकाहीं यहोवाले पृथ्वीमा रहेका आफ्ना सेवकहरूलाई पनि सेनाको दलसित तुलना गर्नुभएको छ। (भजन ६८:११; इजकिएल ३७:१-१०) हामीमाथि अख्तियार चलाउन यहोवाले खटाएका व्यक्‍तिहरूको विद्रोह गऱ्‍यौं भने के हामीले हाम्रा आध्यात्मिक सँगी सैनिकहरूको ज्यान जोखिममा पारिरहेका हुँदैनौं र? यदि कुनै ख्रीष्टियनले एल्डरहरूको विद्रोह गर्छ भने मण्डलीका अरूले पनि दुःख पाउन सक्छन्‌। (१ कोरिन्थी १२:१४, २५, २६) परिवारमा कुनै बालकले विद्रोह गर्दा पूरै परिवारले दुःख पाउँछ। त्यसैले हामी आदरपूर्ण अनि सहयोगी भाव विकास गर्दै सँगी मानवलाई प्रेम देखाउँछौं।

१०, ११. आफूलाई फाइदा पुऱ्‍याउने उचित चाहनाले अख्तियारप्रति आज्ञाकारी हुन कसरी उत्प्रेरित गर्छ?

१० हाम्रो आफ्नै फाइदा हुने भएकोले पनि हामी अख्तियारको आदर गर्छौं। यहोवाले अख्तियारको आदर गर भन्दा त्यसले के-कस्तो लाभ पुऱ्‍याउँछ त्यो पनि प्रायजसो बताउनुहुन्छ। उदाहरणको लागि, उहाँले बालकहरूलाई आफ्ना आमाबुबाको आज्ञा पालन गर भन्‍नुभएको छ। यसो गर्दा तिनीहरूको भलो हुनेछ अनि आयु पनि लामो हुनेछ। (व्यवस्था ५:१६; एफिसी ६:२, ३) त्यसैगरि उहाँले हामीलाई मण्डलीका एल्डरहरूको आदर गर भन्‍नुभएको छ। तर हामीले त्यसो गरेनौं भने यहोवा परमेश्‍वरसितको सम्बन्धमा असर पुग्नेछ। (हिब्रू १३:७, १७) साथै हाम्रो सुरक्षाको खातिर सांसारिक अख्तियारको आदर गर भनेर उहाँले भन्‍नुभएको छ।—रोमी १३:४.

११ हामी आज्ञाकारी भएको यहोवा किन चाहनुहुन्छ भन्‍ने कारण बुझेपछि के हामी अख्तियारको आदर गर्ने मदत पाउँदैनौं र? त्यसो भए आउनुहोस्‌, जीवनको मुख्य तीन क्षेत्रमा हामीले अख्तियारको आदर गरेका छौं भनेर कसरी देखाउन सक्छौं, त्यो विचार गरौं।

परिवारमा आदर देखाउनुपर्छ—कसरी?

१२. यहोवाले पति तथा बुबालाई परिवारमा कस्तो भूमिका दिनुभएको छ? तिनले त्यो भूमिका कसरी पूरा गर्न सक्छन्‌?

१२ परिवारको प्रबन्ध यहोवा स्वयम्‌ले गर्नुभएको हो। सधैं व्यवस्थित रहने परमेश्‍वरले परिवार सफल होस्‌ भनेर नै यसको प्रबन्ध गर्नुभएको हो। (१ कोरिन्थी १४:३३) उहाँले पति तथा बुबालाई परिवारको शिरको रूपमा अख्तियार दिनुभएको छ। पतिले आफ्नो शिर येशू ख्रीष्टलाई आदर गरेको देखाउनुपर्छ। कसरी? येशूले जसरी मण्डलीमा शिरत्वको भूमिका निर्वाह गर्नुहुन्छ, त्यसको अनुकरण गरेर। (एफिसी ५:२३) त्यसैले पतिले आफ्नो जिम्मेवारी पन्छाउनुहुँदैन, बरु साहसी भई त्यो जिम्मेवारी बोक्नुपर्छ। तिनी तानाशाही वा कठोर पनि हुनुहुँदैन तर मायालु, व्यावहारिक अनि दयालु हुनुपर्छ। आफ्नो अख्तियार यहोवाको अख्तियारभन्दा उच्च छैन भनेर तिनले सधैं मनमा राख्नुपर्छ।

ख्रीष्टले जुन तरिकामा शिरत्वको प्रयोग गर्नुभयो, ख्रीष्टियन बुबाले त्यसको अनुकरण गर्छन्‌

१३. पत्नी तथा आमाले परिवारमा यहोवालाई खुसी तुल्याउने तरिकामा कसरी आफ्नो भूमिका पूरा गर्न सक्छिन्‌?

१३ पत्नी तथा आमा पतिको सहयोगी हुनुपर्छ अर्थात्‌ तिनले पूरकको भूमिका खेल्नुपर्छ। बाइबलमा “आमाको अर्ती” भनेर लेखिएको कारण तिनको पनि परिवारमा अख्तियार चल्छ भनेर हामी बुझ्न सक्छौं। (हितोपदेश १:८) तर तिनको अख्तियार पतिको जत्ति नै त हुँदैन। पतिलाई परिवारको शिरको भूमिका निर्वाह गर्न मदत गरेर ख्रीष्टियन पत्नीले पतिको अख्तियारको आदर गरेको देखाउँछिन्‌। तिनले पतिलाई तुच्छ व्यवहार गर्ने, औंलामा नचाउने वा हैकम चलाउने गर्दिनन्‌। बरु तिनी पतिलाई समर्थन गर्छिन्‌ र सहयोग गर्छिन्‌। पतिले मन नपर्ने निर्णय गरे भने तिनी आदरपूर्वक आफ्नो विचार व्यक्‍त गर्न सक्छिन्‌ तर त्यतिबेला पनि तिनी पतिको अधीनमा हुन्छिन्‌। यदि तिनका पति विश्‍वासी होइनन्‌ भने तिनले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। तर तिनी अधीनमा बसेकी छिन्‌ भने पति यहोवाको खोजी गर्न उत्प्रेरित हुन सक्छन्‌।—१ पत्रुस ३:१.

A father lovingly corrects his son who has brought mud into the house

१४. छोराछोरीले आमाबुबा अनि यहोवालाई कसरी आनन्दित तुल्याउन सक्छन्‌?

१४ आफ्नो बुबा र आमाको आज्ञा पालन गरेर छोराछोरीले यहोवाको मन खुसी पार्छन्‌। तिनीहरू आमाबुबाको पनि आदर गर्छन्‌ र तिनीहरूलाई आनन्दित तुल्याउँछन्‌। (हितोपदेश १०:१) आमा वा बुबामात्र भएको परिवारमा पनि छोराछोरीले आज्ञाकारिताको यही सिद्धान्त लागू गर्नुपर्छ। यसो गर्दा तिनले आमा वा बुबालाई समर्थन र सहयोगको धेरै खाँचो परेको हुन सक्छ भन्‍ने कुरा बुझ्नुपर्छ। परिवारका सम्पूर्ण सदस्यले परमेश्‍वरले तोकिदिएको भूमिका निर्वाह गरेका छन्‌ भने परिवारमा अपार शान्ति र खुसी छाउनेछ। यसले सम्पूर्ण परिवारको सुरुवातकर्ता यहोवा परमेश्‍वरप्रति आदर झल्काउँछ।—एफिसी ३:१४, १५.

मण्डलीमा आदर देखाउनुपर्छ—कसरी?

१५. (क) यहोवाको अख्तियारको आदर गर्छौं भनेर हामी मण्डलीमा कसरी देखाउन सक्छौं? (ख) अगुवाइ लिनेहरूप्रति आज्ञाकारी हुन हामीलाई कुन-कुन सिद्धान्तले मदत गर्न सक्छ? (पृष्ठ ५४-५५ मा भएको पेटी हेर्नुहोस्‌।)

१५ यहोवाले आफ्नो छोरालाई ख्रीष्टियन मण्डलीको शासकको रूपमा नियुक्‍त गर्नुभएको छ। (कलस्सी १:१३) येशूले पनि आफ्ना “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई पृथ्वीमा रहेका परमेश्‍वरका जनहरूको आध्यात्मिक आवश्‍यकताको देखभाल गर्न खटाउनुभएको छ। (मत्ती २४:४५-४७) यहोवाका साक्षीहरूको परिचालक निकायले दास वर्गको प्रतिनिधित्व गर्छ। प्रथम शताब्दीको ख्रीष्टियन मण्डलीमा जस्तै आज पनि एल्डरहरूले परिचालक निकायबाट निर्देशन र सल्लाह पाउँछन्‌। त्यो निर्देशन र सल्लाह सीधै अथवा परिभ्रमण निरीक्षकजस्ता प्रतिनिधिहरूमार्फत प्राप्त हुन्छ। हामी प्रत्येकले ख्रीष्टियन एल्डरहरूको अख्तियारको आदर गर्दा यहोवाको आज्ञा पालन गरिरहेका हुन्छौं।—हिब्रू १३:१७.

१६. एल्डरहरूलाई कुन अर्थमा पवित्र शक्‍तिद्वारा नियुक्‍त गरिन्छ?

१६ एल्डर तथा सहायक सेवकहरू पनि त्रुटिपूर्ण छन्‌। तिनीहरू पनि हामीले जस्तै गल्ती गर्छन्‌। तर एल्डरहरू ‘वरदानको रूपमा दिइएका पुरुषहरू’ हुन्‌ जसले मण्डलीका सबैलाई यहोवासित बलियो सम्बन्ध राखिराख्न मदत गर्छन्‌। (एफिसी ४:८) एल्डरहरूलाई पवित्र शक्‍तिमार्फत नियुक्‍त गरिन्छ। (प्रेषित २०:२८) कसरी? यस्ता पुरुषहरूले परमेश्‍वरको पवित्र शक्‍तिबाट प्रेरणा पाएर लेखिएको वचनमा लिपिबद्ध योग्यता पहिला हासिल गरेको हुनै पर्छ। (१ तिमोथी ३:१-७, १२; तीतस १:५-९) साथै कुनै भाइ योग्य छन्‌ कि छैनन्‌ भनेर केलाउने एल्डरहरूले पनि यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइको लागि जोडदार प्रार्थना गर्छन्‌।

१७. मण्डलीका कुनै-कुनै गतिविधि सँभाल्दा ख्रीष्टियन बहिनीले किन शिर ढाक्नुपर्छ?

१७ मण्डलीको कुनै-कुनै जिम्मेवारी, जस्तै: क्षेत्र सेवाको सभा सञ्चालन गर्ने जिम्मेवारी खासगरि एल्डर तथा सहायक सेवकलाई मात्र दिइन्छ। तर कहिलेकाहीं मण्डलीमा त्यस्तो जिम्मेवारी सँभाल्ने भाइहरू नहुन सक्छन्‌। यस्तो अवस्थामा बप्तिस्मा गरेका कुनै भाइले त्यो जिम्मेवारी सँभाल्न सक्छन्‌। यदि बप्तिस्मा गरेका भाइ पनि छैनन्‌ भने योग्य ख्रीष्टियन बहिनीले त्यो जिम्मेवारी पूरा गर्न सक्छिन्‌। तर बप्तिस्मा गरेका भाइको लागि दिइएको त्यो जिम्मेवारी पूरा गर्दा बहिनीले शिर ढाक्नुपर्छ।a (१ कोरिन्थी ११:३-१०) यस्तो माग गरेर स्त्री जातिलाई होच्याउन खोजेको होइन। बरु परिवार अनि मण्डलीमा यहोवाले प्रबन्ध गरिदिएको शिरत्वप्रति आदर देखाउने मौका दिइएको हो।

सांसारिक अख्तियारलाई आदर गर्नुपर्छ—कसरी?

१८, १९. (क) रोमी १३:१-७ मा दिइएको सिद्धान्तलाई तपाईं कसरी बुझाउनुहुन्छ? (ख) सांसारिक अख्तियारवालाहरूलाई हामी कसरी आदर देखाउँछौं?

१८ साँचो ख्रीष्टियनहरूले रोमी १३:१-७ मा दिइएको सिद्धान्त होसियारीसाथ पालन गर्नुपर्छ। यी पदहरू पढ्‌दै जानुभयो भने “उच्च अख्तियारवालाहरू” संसारका सरकारहरू हुन्‌ भनेर तपाईंले थाह पाउनुहुनेछ। यी मानव शक्‍तिहरूलाई यहोवाले जबसम्म रहिरहने अनुमति दिनुहुन्छ तबसम्म तिनीहरूले महत्त्वपूर्ण कामहरू गर्छन्‌। तिनीहरूले केही हदसम्म विभिन्‍न कुराको व्यवस्था मिलाउँछन्‌ र आवश्‍यक सेवा उपलब्ध गराउँछन्‌। तिनीहरूले दिएका नियमहरू पालन गरेर हामी यी अख्तियारवालाहरूको आदर गर्न सक्छौं। तिर्नुपर्ने करहरू तिरेका छौं कि छैनौं, सरकारले माग गरेको फाराम वा कागजातहरू ठीक तरिकाले भरेका छौं कि छैनौं अनि परिवार, व्यापार र सम्पत्तिसम्बन्धी नियम पालन गरेका छौं कि छैनौं भनेर हामीले पक्का गर्नुपर्छ। तर यदि ती सांसारिक अख्तियारवालाहरूले हामीलाई परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्न लगाउँछन्‌ भने हामी त्यस्तो अवस्थामा तिनीहरूको अधीनमा बस्दैनौं। बरु येशूका प्रेषितहरूको जस्तै प्रतिक्रिया देखाउँछौं: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषित ५:२८, २९; पृष्ठ ४८ मा भएको “मैले कसको अख्तियार स्वीकार्नुपर्छ?” शीर्षकको पेटी हेर्नुहोस्‌।

मैले कसको अख्तियार स्वीकार्नुपर्छ?

सिद्धान्त: ‘यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ। यहोवा हाम्रा शासक हुनुहुन्छ। यहोवा हाम्रा राजा हुनुहुन्छ।’—यशैया ३३:२२.

आफैलाई सोध्नुहोस्‌

  • यहोवाको स्तर उल्लङ्‌घन गर्न भनियो भने म के गर्नेछु?—मत्ती २२:३७-३९; २६:५२; यूहन्‍ना १८:३६.

  • यहोवाको आज्ञा मान्‍न छोड भनेर आदेश दिइँदा म के गर्नेछु?—प्रेषित ५:२७-२९; हिब्रू १०:२४, २५.

  • अख्तियारमा भएकाहरूको आज्ञा खुसीसाथ पालन गर्न मलाई केले मदत गर्न सक्छ?—रोमी १३:१-४; १ कोरिन्थी ११:३; एफिसी ६:१-३.

१९ अरूसित व्यवहार गर्ने शैलीबाट पनि हामी सांसारिक अख्तियारवालाहरूलाई आदर गरेको देखाउँछौं। कहिलेकाहीं हामीले सोझै सरकारी अधिकारीहरूसित व्यवहार गर्नुपर्ने हुन्छ। प्रेषित पावलले पनि राजा हेरोद अग्रिपा अनि राज्यपाल फेस्तससित व्यवहार गर्नुपरेको थियो। तिनीहरूले गम्भीर गल्ती गरेका थिए तैपनि पावलले तिनीहरूलाई आदरपूर्वक सम्बोधन गरे। (प्रेषित २६:२, २५) शक्‍तिशाली शासकलाई सम्बोधन गर्दा होस्‌ वा स्थानीय प्रहरीलाई—हामी पावलको यो उदाहरण अनुकरण गर्छौं। ख्रीष्टियन जवानहरूले स्कूलका शिक्षकलाई, स्कूलका अधिकारीहरूलाई तथा कर्मचारीलाई यसरी नै आदर देखाउने कोसिस गर्नुपर्छ। हाम्रो विश्‍वासलाई समर्थन गर्नेहरूलाई मात्र होइन, यहोवाका साक्षीहरूको विरोध गर्नेहरूसित व्यवहार गर्दा पनि हामी यस्तै आदर देखाउँछौं। वास्तवमा भन्‍ने हो भने, विश्‍वासमा नभएकाहरूले हामी तिनीहरूको आदर गर्छौं भनेर महसुस गर्न सक्नेगरि हामीले व्यवहार गर्नुपर्छ।—रोमी १२:१७, १८; १ पत्रुस ३:१५.

२०, २१. अख्तियारप्रति उचित आदर देखाउँदा कस्ता आशिष्‌पाइन्छ?

२० आदर देखाउँदा कन्जुस्याइ नगरौं। प्रेषित पत्रुसले लेखे: “हरप्रकारका मानिसहरूको आदर गर।” (१ पत्रुस २:१७) अरूलाई साँच्चै आदर गर्छौं भन्‍ने कुरा हामीले तिनीहरूलाई महसुस गराइसकेपछि तिनीहरू एकदमै प्रभावित हुन सक्छन्‌। याद गर्नुहोस्‌, यो गुण अहिले दिन-प्रतिदिन हराउँदै गएको छ। अरूलाई आदर देखाउँदा हामीले एक तरिकामा येशूको यो आज्ञा पालन गरिरहेका हुन्छौं: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।”—मत्ती ५:१६.

२१ कालो बादल मडारिरहेको यो संसारमा पनि असल व्यक्‍तिहरू आध्यात्मिक ज्योतिको बाटोतर्फ आकर्षित भएका छन्‌। त्यसैले परिवारमा, मण्डलीमा अनि सांसारिक कुराहरूमा आदर देखाउँदा कोही-कोही आकर्षित हुन सक्छन्‌ र हामीसँगै ज्योतिको बाटोमा हिंड्‌न तिनीहरू उत्प्रेरित हुन सक्छन्‌। कस्तो शानदार आशा! यदि त्यसो भएन भने पनि एउटा कुराचाहिं पक्का छ—मानिसहरूलाई आदर देखाउँदा यहोवा परमेश्‍वर खुसी हुनुहुनेछ र उहाँको प्रेम पाउन लायक भइरहन हामी मदत पाउनेछौं। यो भन्दा ठूलो इनाम अरू के नै होला र?

a पृष्ठ २३९-२४२ मा दिइएको अतिरिक्‍त लेखमा यो सिद्धान्त लागू गर्ने केही व्यावहारिक तरिकाहरू बताइएको छ।

“दिएको सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर”

सैतानको जस्तै विद्रोही अनि झगडालु मनोभाव अहिले संसारमा छ्यासछ्यासती पाइन्छ। त्यसैले त बाइबलले सैतानलाई “हावासरि फैलिएको मनोभावको शासक” भनेको छ अनि त्यस्तो “मनोभावले अहिले अनाज्ञाकारी सन्तानहरूमा काम गरिरहेको छ” भनेर पनि बाइबलमा बताइएको छ। (एफिसी २:२) आजका थुप्रै मानिसहरू अरूको अख्तियारको अधीनमा बस्नै चाहँदैनन्‌। दुःखको कुरा ख्रीष्टियन मण्डलीमा समेत कोही-कोहीलाई यस्तो हावाले छोएको छ। उदाहरणको लागि, कुनै एक जना एल्डरले अनैतिक अनि हिंस्रक मनोरञ्जनको खतराबारे दयालु हुँदै सल्लाह देलान्‌ तर केहीले यसको विरोध गर्लान्‌ वा कोही त रिसाउलान्‌ पनि। हामी प्रत्येकले हितोपदेश १९:२० मा दिइएको सल्लाह पालन गर्नै पर्छ: “दिएको सल्लाह राम्ररी सुन, र अर्ती [अनुशासन, NW] ग्रहण गर, यसरी बुद्धिमान भएर तिमी मर्नेछौ।”

सल्लाह स्वीकार्न हामीलाई केले मदत दिन सक्छ? मानिसहरू सल्लाह वा अनुशासन दिंदा किन विरोध गर्छन्‌, त्यसका तीनवटा सामान्य कारण र त्यसबारे बाइबलको दृष्टिकोण विचार गरौं।

  • “मलाई यो सल्लाह ठीक लागेन।” जुन सल्लाह हामीलाई दिइयो त्यो हाम्रो परिस्थितिसित मेल खाँदैन अथवा सल्लाह दिने व्यक्‍तिले हाम्रो कुरा पूरै बुझेको छैन जस्तो हामीलाई लाग्न सक्छ। साथै तुरुन्तै जवाफ फर्काउँदा हामीले सल्लाहलाई तुच्छसमेत बनाइरहेका हुन सक्छौं। (हिब्रू १२:५) हामी सबै त्रुटिपूर्ण छौं। त्यसो भए के हामीले यस विषयमा आफ्नो दृष्टिकोण छाँटकाँट गर्नुपर्दैन र? (हितोपदेश १९:३) सल्लाह दिने व्यक्‍तिले कुनै ठोस कारणविना नै सल्लाह दिन्छ होला र? त्यसकारण आफूले किन सल्लाह पाएको हो त्यसलाई हामीले ध्यान दिनै पर्छ। परमेश्‍वरको वचन यस्तो सल्लाह दिन्छ: “अर्तीलाई समातिराख्‌ र त्यसलाई कहिल्यै नछोड्‌, त्यसलाई राम्ररी पालन गर्‌, किनभने त्यो तेरो जीवन हो।”—हितोपदेश ४:१३.

  • “यसरी पनि सल्लाह दिने हो त?” सल्लाह दिने उत्तम तरिका कस्तो हो, परमेश्‍वरको वचनले बताएको छ। (गलाती ६:१) तर बाइबल यसो पनि भन्छ: “सबैले पाप गरेका छन्‌ अनि परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌।” (रोमी ३:२३) यदि हामी आफूलाई दिइने सल्लाह वा सल्लाह दिइने तरिकामा कुनै खोट नहोस्‌ भन्‍ने चाहन्छौं भने त्यो सल्लाह त्रुटिरहित व्यक्‍तिबाट आएको हुनुपर्छ। (याकूब ३:२) तर यहोवाले हामीलाई सल्लाह दिन त्रुटिपूर्ण मानिसहरू चलाउनुहुन्छ, त्यसैले सल्लाह कसरी दिइन्छ त्यसमा ध्यान नदिनु नै राम्रो। त्यसको साटो कस्तो सल्लाह दिइयो त्यसमा ध्यान दिनुहोस्‌ अनि त्यसलाई कसरी लागू गर्न सकिन्छ भनेर सोच्नुहोस्‌ र प्रार्थना गर्नुहोस्‌।

  • “मलाई सल्लाह दिनुभन्दा पहिला आफैले लागू गर्नु नि!” सल्लाह दिने व्यक्‍तिकै कमजोरी देखेका छौं भने हामीलाई उसको सल्लाह स्वीकार्न गाह्रो हुन सक्छ। त्यतिबेला हामीले माथि उल्लिखित कुरामा ध्यान दिनै पर्छ। त्यतिमात्र होइन आफ्नो उमेर, अनुभव वा मण्डलीमा पाएको जिम्मेवारीको कारण अरूको सल्लाह चाहिंदैन भन्‍ने लाग्छ भने हामीले आफ्नो सोचाइ बदल्नै पर्छ। पुरातन समयको इस्राएलमा राजाले ठूलठूला जिम्मेवारी पाएका हुन्थे। तर पनि तिनले अगमवक्‍ता, पुजारी अनि अरू कोही-कोही प्रजाको कुरा सुन्‍नुपर्थ्यो। (२ शमूएल १२:१-१३; २ इतिहास २६:१६-२०) आज पनि यहोवाको सङ्‌गठनले सल्लाह दिनको लागि त्रुटिपूर्ण मानिसहरूलाई चलाउँछ। तर परिपक्व ख्रीष्टियनले खुसीसाथ उनीहरूले दिएको सल्लाह सुन्‍नुपर्छ र त्यसअनुसार गर्नुपर्छ। हामीसित अरूको भन्दा धेरै जिम्मेवारी वा धेरै अनुभव हुन सक्छ। यस्तो हो भने सल्लाह स्वीकारेर अनि त्यसअनुसार गरेर व्यावहारिक हुने र नम्र हुने सन्दर्भमा राम्रो उदाहरण बसाल्नु एकदमै आवश्‍यक छ भनेर झनै सजग हुनुपर्छ।—१ तिमोथी ३:२, ३; तीतस ३:२.

कुरा स्पष्ट छ, सल्लाह नचाहिने व्यक्‍ति कोही पनि छैन। त्यसैले तयारी मनले सल्लाह स्वीकार्न कटिबद्ध होऔं, आज्ञाकारी हुँदै सल्लाहअनुरूप कदम चालौं अनि जीवन बचाउने यो वरदानको लागि यहोवालाई मनैदेखि धन्यवाद चढाऔं। सल्लाह पाउनु यहोवाको प्रेमको अभिव्यक्‍ति हो, हामी उहाँको प्रेम पाउन लायक भइरहन चाहन्छौं।—हिब्रू १२:६-११.

“जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ”

पुरातन इस्राएलमा एउटा कुराको तड्‌कारो आवश्‍यकता पऱ्‍यो। डरलाग्दो उजाडस्थानमा यात्रा गरिराखेका लाखौं मानिसलाई मोशा एक्लैले रेखदेख गर्न सकेनन्‌। तिनले के गरे? “मोशाले सारा इस्राएलीमध्येका योग्य-योग्य मानिसहरूलाई छाने, औ तिनीहरूलाई मानिसहरूमाथि मुखिया बनाए, अर्थात्‌ हजार-हजारका नायक, सय-सयका नायक, पचास-पचासका नायक र दश-दशका नायक।”—प्रस्थान १८:२५.

आज पनि ख्रीष्टियन मण्डलीलाई व्यवस्थित गर्न त्यस्तै आवश्‍यकता परेको छ। त्यसैले त क्षेत्र सेवा समूहमा एक जना निरीक्षक हुन्छन्‌, मण्डलीमा एल्डरहरू हुन्छन्‌, मण्डलीहरूको लागि क्षेत्रीय निरीक्षक हुन्छन्‌, अनि देशको लागि कन्ट्री कमिटी वा शाखा समिति हुन्छ। यस्तो व्यवस्था मिलाइएको कारणले नै प्रत्येक गोठालाले आफ्नो जिम्मामा भएका यहोवाका भेडाहरूलाई ध्यान दिन सकेका छन्‌। यस्ता गोठालाहरूले यहोवा अनि ख्रीष्टलाई लेखा दिनुपर्ने हुन्छ।—प्रेषित २०:२८.

मण्डलीलाई यसरी व्यवस्थित बनाइएको हुँदा हामी सबै नै आज्ञाकारी हुनुपर्छ र अधीनमा बस्नुपर्छ। आफ्नो मण्डलीमा नेतृत्व लिनेहरूलाई आदर नदेखाउने डियोत्रिफस जस्तो हामी कहिल्यै हुन चाहँदैनौं। (३ यूहन्‍ना ९, १०) बरु हामी प्रेषित पावलले भनेअनुसार चल्न चाहन्छौं। तिनले यस्तो लेखे: “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस, किनकि परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌। तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन, नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।” (हिब्रू १३:१७) अगुवाइ लिने व्यक्‍तिले निर्देशन दिंदा त्यो चित्त बुझेमा कोही-कोहीले स्वीकार्छन्‌। तर आफूलाई चित्त नबुझ्ने निर्देशन आयो वा त्यो निर्देशन पाउनुको कारण बुझेका छैनन्‌ भने कसै-कसैले त्यसलाई ठाडै इन्कार गर्छन्‌। नबिर्सनुहोस्‌, अधीनमा बस्नु भनेको हामीलाई मन नलाग्दा समेत आज्ञाकारी हुनु हो। त्यसो भए हामीले आफैलाई यस्ता प्रश्‍न सोध्नुपर्छ, ‘के म आफ्ना अगुवाहरूको आज्ञा पालन गर्छु? अनि तिनीहरूको अधीनमा बस्छु?’

परमेश्‍वरको वचनले मण्डलीको गतिविधिमा टेवा पुऱ्‍याउन आवश्‍यक हरेक प्रबन्ध वा तौरतरिकाको सूची नै त दिएको छैन। तैपनि बाइबल यसो भन्छ: “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले होस्‌।” (१ कोरिन्थी १४:४०) मण्डलीको कामकुरा सुचारु अनि व्यवस्थित बनाउन विभिन्‍न मदतकारी तरिका वा निर्देशनहरू बनाइदिएर परिचालक निकायले बाइबलको उक्‍त निर्देशन पालन गर्छ। एल्डर र सहायक सेवकहरू खुसीसाथ यस्ता प्रबन्धहरू स्वीकार्छन्‌ र आज्ञाकारिताको राम्रो उदाहरण बसाल्छन्‌। साथै रेखदेख गर्ने जिम्मा सँभाल्नेहरूप्रति पनि तिनीहरू “व्यावहारिक र आज्ञाकारी” हुन्छन्‌। (याकूब ३:१७) त्यसैले प्रत्येक समूह, मण्डली, क्षेत्र, अनि देशमा साक्षीहरूको व्यवस्थित अनि एकताबद्ध समूह छ। तिनीहरू आनन्दित परमेश्‍वरको महिमा गर्छन्‌।—१ कोरिन्थी १४:३३; १ तिमोथी १:११.

अर्कोतर्फ हिब्रू १३:१७ मा पावलले लेखेका शब्दहरूमा अनाज्ञाकारी हुनु किन हानिकारक छ भनेर बताएको पनि पाउँछौं। हामी अनाज्ञाकारी भयौं भने जिम्मेवारी बोकेकाहरूले “सुस्केरा हाल्दै” काम गर्नुपर्ने हुन्छ। यदि कुनै भाइले मिलेर काम नगर्ने र विद्रोही मनोभाव झल्काउने व्यक्‍तिसित व्यवहार गर्नुपऱ्‍यो भने यहोवाको सेवा गर्दा वा भाइहरूलाई मदत गर्दा जुन स्फूर्ति तिनले पाउनुपर्ने हो त्यो पाउँदैनन्‌ अनि यही कुरा तिनको निम्ति भार बन्‍न पुग्छ। फलस्वरूप ‘तपाईंहरूका लागि’ अर्थात्‌ पूरै मण्डलीको लागि नतिजा हानिकारक हुनेछ। कुनै व्यक्‍ति यहोवाको प्रबन्धको अधीनमा बस्न चाहँदैनन्‌ भने अवश्‍य पनि तिनले अर्कै किसिमको हानि भोग्छन्‌। स्वर्गका बुबासित टाढिएर उहाँको अधीनमा नबस्दा तिनले यहोवासितको सम्बन्ध बिगारिरहेका हुन्छन्‌। (भजन १३८:६) त्यसो भए आउनुहोस्‌, हामी सबै आज्ञाकारी भइरहन अनि अधीनमा बसिरहन कटिबद्ध होऔं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने