आणविक खतरा आखिरमा के यसको अन्त भयो?
“दोस्रो विश्व-युद्धदेखि यता विश्व शान्तिको सम्भावना अहिले सबैभन्दा बढी देखिन्छ।” उल्लेखनीय निरस्त्रीकरण सन्धिहरू र अप्रत्याशित राजनैतिक उथलपुथलहरूले गर्दा शीत-युद्धको अन्त भएकोले सन् १९८९ मा समाचार सम्वाददाताले उपरोक्त आशावादी टिप्पणी गरेका थिए। पहिलेका विश्वशक्तिहरूको द्वन्द जस्तै के यो आणविक खतरा पनि अन्त भयो? के अनन्तकालीन शान्ति र सुरक्षा छिट्टै प्राप्त गर्न सकिएला?
आणविक शक्तिहरूको वृद्धिले गर्दा पैदा भएको सङ्कट
शीत-युद्धको दौडान शक्तिको सन्तुलनमा भर परेर शान्ति कायम गर्ने शान्तिपूर्ण टुङ्गोमा आइपुग्न शक्तिशाली राष्ट्रहरूले आणविक कारखानाहरू बनाउने अनुमति दिए। तर आणविक हातहतियारहरू बनाउन सक्ने राष्ट्रहरूको सङ्ख्या भने सीमित राख्न स्वीकार गरे। सन् १९७० मा न्युक्लियर ननप्रोलिफरेशन सन्धि कार्यान्वयन भयो; पछि १४० राष्ट्रहरूले यस सन्धिलाई समर्थन गरे। यद्यपि, अर्जेन्टिना, इजराएल, ब्राजिल र भारत जस्ता सम्भाव्य आणविक शक्ति राष्ट्रहरूले आजसम्म पनि त्यस सन्धिमा हस्ताक्षर गर्न मानेका छैनन्।
तर सन् १९८५ मा अर्को सम्भाव्य आणविक शक्ति राष्ट्र, उत्तर कोरियाले त्यस सन्धिमा हस्ताक्षर गऱ्यो। अतः मार्च १२, १९९३ मा त्यस देशले उक्त सन्धिबाट आफ्नो नाउँ फिर्ता लिंदा विश्व चिन्तित हुनु स्वाभाविक थियो। जर्मन समाचारपत्रिका डर स्पिगल ले यस्तो टिपोट गऱ्यो: “न्युक्लियर ननप्रोलिफरेशन सन्धिबाट आफ्नो नाउँ हटाउनाले परिस्थिति पहिलेको जस्तै भएको छ: अहिले एसियामा आणविक हतियारको होडबाजी सुरु भएको छ र त्यो शक्तिशाली राष्ट्रहरूबीच अणु बमको वैमनस्यताभन्दा भयानक हुन सक्छ।”
राष्ट्रियताको कारण अचम्मलाग्दो दरमा नयाँ राष्ट्रहरू जन्मिरहेको हुँदा आणविक शक्ति राष्ट्रहरूको सङ्ख्या पनि सम्भवतः बढ्नेछ। (पेटी हेर्नुहोस्।) पत्रकार चार्ल्स क्राउथमर यस्तो चेताउनी दिन्छन्: “सोभियत खतराको अन्त आणविक खतराको अन्त होइन। खतरा वास्तवमा आणविक शक्ति राष्ट्रहरूको वृद्धि हो र यो वृद्धि भर्खरै सुरु भएको छ।”
बमहरू बिक्रीमा
आणविक हातहतियारहरूले प्रदान गर्ने प्रतिष्ठा र शक्ति प्राप्त गर्न यी सम्भाव्य आणविक शक्ति राष्ट्रहरू तत्पर छन्। एउटा राष्ट्रले काजकस्तानबाट कम्तिमा दुई वटा आणविक क्षेप्यास्त्रहरू किनेको अनुमान गरिएको छ। ती क्षेप्यास्त्रहरूलाई यस पहिलेको सोभियत गणतन्त्रले “हराएका” भनी औपचारिक तवरमा सूचीबद्ध गरेको छ।
अति रेडियोएक्टिभ पदार्थ, २०० ग्राम सेसियम ल्याएको अभियोगमा अक्टोबर १९९२ मा फ्राङ्कफर्ट, जर्मनीमा केही मानिसहरू गिरफ्तार भएका थिए। त्यति परिमाणको सेसियम त्यस शहरको सम्पूर्ण जलस्रोतलाई विषाक्त गर्न पर्याप्त थियो। त्यसको एक हप्तापछि २.२ किलोग्राम युरेनियम सहित सात तस्करहरू म्युनिकमा पक्राउ परे। दुई हप्ता भित्रै दुई वटा तस्कर गिरोहहरू पत्ता लाग्दा अधिकृतहरू स्तब्ध भए किनभने गत वर्षसम्म विश्वभरि त्यस्ता पाँच वटा गिरोहहरू मात्र रिपोर्ट गरिएको थियो।
यी व्यक्तिहरूले आतङ्ककारीहरू अथवा राष्ट्रिय सरकारहरूमध्ये कसलाई बेच्न चाहन्थे भन्ने कुरा थाहा भएको छैन। कारण जेसुकै होस्, आणविक आतङ्कको सम्भावना बढिरहेको छ। यूरोपियन प्रोलिफरेशन इन्फर्मेशन सेन्टरका डा. डेभिड लरीले खतराको व्याख्या यसरी गर्छन्: “एक जना आतङ्ककारीले सशक्त युरेनियमको सानो अंश प्रमाणस्वरूप ख्यातिप्राप्त अख्तियारवालाकहाँ पठाए मात्र पुग्छ। किनकि त्यसो गर्नु अपहरणकारीले अपहृत व्यक्तिको कान काटेर पठाउनु बराबर छ।”
शान्तिपूर्ण “टाइम बम” र “मृत्युका पासोहरू”
सन् १९९२ को सुरुतिर बिजुली उत्पादन गर्ने शान्तिपूर्ण प्रयासमा ४२० वटा आणविक भट्टीहरू संलग्न थिए; अरू ७६ वटा बनिंदै थिए। तर समय बित्दै जाँदा ती भट्टीहरूमा हुने दुर्घटनाहरूको कारण बिमारीहरू, गर्भपतन तथा जन्म विकारहरू हुने सङ्ख्या बढेको छ। एउटा रिपोर्टअनुसार सन् १९६७ मा सोभियत प्लुटोनियम संयन्त्रले चेर्नोबिलको विध्वंसभन्दा तीन गुणा बढी रेडियोएक्टिभिटि फ्याँकिरहेको थियो।
निस्सन्देह, अप्रिल १९८६ मा चेर्नोबिल, युक्रेनमा भएको पछिल्लो दुर्घटनाले सञ्चार माध्यमको व्यापक ध्यानाकर्षण गऱ्यो। सन् १९७० को दशकमा चेर्नोबिल संयन्त्रका प्रमुख डेपुटी आणविक इन्जिनीयर, ग्रिगोरी मेडभडेफको वर्णनअनुसार वायुमण्डलमा फ्याँकिएको “अत्यधिक मात्राको चिरस्थायी रेडियोएक्टिभ पदार्थ हिरोशिमामा खसालिएको बमको दश गुणा थियो।”
आफ्नो पुस्तक, चर्नोबल्सकाया क्रोनिका मा मेडभडेफले १९८० को दशकको मध्यसम्म पहिलेको सोभियत सङ्घमा भएको ११ वटा र संयुक्त राज्यमा भएको १२ वटा गम्भीर दुर्घटनाहरूको सूची तयार गर्छन्। संयुक्त राज्यमा घटेका दुर्घटनाहरूमध्ये सन् १९७९ मा थ्री माइल आइल्याण्डमा भएको दुर्घटना पनि समाविष्ट थियो। त्यस घटनाबारे मेडभडेफले यस्तो टिप्पणी गरे: “यस घटनाले प्रथम पटक आणविक शक्तिको ख्यातिलाई घात पुऱ्यायो र सबैको नभएपनि धेरैको मनमा आणविक भट्टीहरूको सुरक्षाप्रति विश्वास हरायो।”
दुर्घटनाहरू अझै किन हुन्छन् भनेर यसबाट बुझ्न सकिन्छ। सन् १९९२ मा रूसमा त्यस्ता दुर्घटनाहरू झन्डै २० प्रतिशत बढे। त्यसै सालको मार्च महिनामा रूसको सेन्ट पिटर्सबर्गमा अवस्थित सोसनोभी बोर विद्युत स्टेशनमा भएको यस्तै एउटा दुर्घटनापछि उत्तरपूर्वी बेलाइतमा विकिरणको तह ५० प्रतिशतले बढ्यो र एस्टोनिया तथा दक्षिणी फ्रान्समा अनुमति दिइने तहभन्दा दोब्बर वृद्धि भयो। न्युकासल युनिभर्सिटीका प्राध्यापक जोन आर्कटले मानी लिए: “सोस्नोभी बोरले गर्दा नै विकिरणको तह बढ्यो भनी म प्रमाणित गर्न त सक्दिन—तर त्यो सोस्नोभी बोरले गर्दा होइन भने कुनले त?”
चेर्नोबिल ढाँचाका भट्टीहरू त्रुटिपूर्ण छन् र सञ्चालन गर्न असाध्यै खतरनाक छन् भनी केही विशेषज्ञहरू भन्छन्। तैपनि विद्युत आपूर्तिको ठूलो माग पूरा गर्न त्यस्ता एक दर्जनभन्दा बढी भट्टीहरू अहिले पनि चालू अवस्थामा छन्। विद्युत उत्पादन बढाउन केही भट्टी सञ्चालकहरूले सुरक्षा उपकरणहरू बन्द गर्छन् भन्ने आरोप पनि लगाइएको छ। यस्ता रिपोर्टहरूले फ्रान्स जस्ता देशहरूलाई भयभीत तुल्याउँछ किनभने ती देशहरूले ७० प्रतिशत जति विद्युत उत्पादन गर्न आणविक भट्टीहरू प्रयोग गर्छन्। “चेर्नोबिल” जस्तो अर्को दुर्घटना घटेमा फ्रान्सका यस्ता थुप्रै भट्टीहरू सदाको निम्ति बन्द गर्न बाध्य हुनेछन्।
“सुरक्षित” भट्टीहरू समेत वषौंको प्रयोगपछि असुरक्षित हुन्छन्। सन् १९९३ को सुरुतिर नियमित सुरक्षा जाँच गर्दा जर्मनीको पुराना भट्टीहरूमध्ये एक, ब्रन्स्बटको स्टिल पाइप लाइन सयौं ठाउँमा चर्किएको पाइयो। फ्रान्स र स्वीट्जरलैण्डका भट्टीहरू पनि त्यस्तै प्रकारले चर्किएको भेट्टिएका छन्। जापानी आणविक संयन्त्रमा सन् १९९१ मा प्रथम पटक त्यस्तो दुर्घटना भएको थियो र सम्भवतः संयन्त्र पुरानो भएकोले त्यसो भएको हुन सक्छ। यसले संयुक्त राज्यमा पनि यस्तै दुर्घटनाहरू हुन सक्छन् भन्ने सङ्केत दिन्छ जहाँ लगभग दुई तिहाइ व्यापारिक भट्टीहरू १० वर्षभन्दा पुरानो भइसकेका छन्।
आणविक भट्टीमा दुर्घटनाहरू जुनसुकै बेला जहाँकहीं पनि हुन सक्छन्। जति बढी आणविक भट्टीहरू हुन्छन्, खतरा उति नै बढी हुन्छ; भट्टीहरू जति पुराना हुन्छन्, जोखिम उति नै बढी हुन्छ। एउटा पत्रिकाले ती आणविक भट्टीहरूलाई टाइम बम र रेडियोएक्टिभ मृत्युका पासोहरू भनी सही नामाकरण गरेका छन्।
तिनीहरूले आणविक फोहोरहरू कहाँ फ्याल्ने?
हालै, फ्रान्सेली हिमाली क्षेत्रको नदी किनाराको वनभोज थलोमा बार लगाइएको र सिपाहीहरूले रक्षा गरिरहेको देख्दा मानिसहरू छक्क परेका थिए। दी युरोपियन नामक पत्रिकाले यसरी वर्णन गऱ्यो: “बेरिलियमको विषादीले गर्दा दुई महिनाअघि एउटी स्थानीय स्त्रीको मृत्युपछि नियमित जाँच गरिएको थियो। जाँच गर्दा त्यस वनभोज थलोमा रेडियोएक्टिभिटीको मात्रा वरपरका क्षेत्रहरूमाभन्दा १०० गुना बढी भएको पाइयो।”
विभिन्न प्रक्रियाहरूद्वारा उत्पादन हुने बेरिलियम धातु असाध्यै हलुको हुन्छ। यो विमान उद्योगमा प्रयोग हुनुको साथै विकिरणपश्चात् आणविक भट्टीहरूमा प्रयोग हुन्छ। प्राप्त प्रमाणहरूअनुसार बेरिलियम उत्पादन गर्ने भट्टीले खतरनाक विकिरण-प्रविधिद्वारा उत्पन्न हुने फोहोरलाई त्यस वनभोज थलो अथवा नजिकै फ्याँकेको हुनुपर्छ। सोही पत्रिका दी युरोपियन ले टिप्पणी गऱ्यो: “विकिरणको प्रभावमा नपर्दा पनि औद्योगिक फोहोरहरूमध्ये सबैभन्दा विषाक्त धूलो बेरिलियम हो।”
त्यसै अवधिमा नोभाया जेम्लीयाको तटवर्ती पानीहरूमा ३० वर्षसम्म १७,००० ड्रम रेडियोएक्टिभ फोहोरहरू फ्याँकिएको रिपोर्ट गरिएको छ, जुन ठाउँलाई पहिलेको सोभियत सङ्घले सन् १९५० को दशकतिर आणविक परीक्षण थलोको रूपमा प्रयोग गरेका थिए। त्यस अतिरिक्त, आणविक पनडुब्बीका आणविक खण्डहरू र कम्तिमा १२ वटा भट्टीहरू त्यस सुविधाजनक थलोमा फ्याँकिएको छ।
जानाजानी गरिएको होस् वा नहोस्, आणविक प्रदूषण खतरनाक हुन्छ। सन् १९८९ मा नर्वेको तटमा डुबेको पनडुब्बीबारे टाइम पत्रिकाले यस्तो टिप्पणी गऱ्यो: “यस दुर्घटनाले गर्दा अहिले नै अर्बुद रोग लाग्न सक्ने आइसोटोप, सेसियम-१३७ चुहिरहेको छ। अहिलेसम्म त्यो चुहावटले समुद्री जीवजन्तुहरू तथा मानव स्वास्थ्यलाई पार्ने असर नगण्य मानिएको छ। तर त्यस पनडुब्बी, कम्समोल्येट्स ले १३ किलोग्राम प्लुटोनियमको दुई वटा आणविक जल गोलाहरू पनि बोकेको थियो। प्राकृतिक प्रक्रियाद्वारा पचास प्रतिशत मात्र निष्क्रिय हुन पनि २४,००० वर्ष लाग्छ र त्यो असाध्यै विषाक्त हुने भएकोले एक थोपा प्लुटोनियम एक जना व्यक्तिलाई मार्न पर्याप्त हुन्छ। प्लुटोनियम पानीमा पोखिन सक्छ र सन् १९९४ सम्ममा समुद्रलाई दूषित पार्न सक्छ भनी रूसी विशेषज्ञहरूले चेताउनी दिएका छन्।”
निस्सन्देह, फ्रान्स र रूसले मात्र रेडियोएक्टिभ फोहोरहरू फ्याँक्ने समस्याको सामना गर्नु परेको होइन। टाइम पत्रिकाले यस्तो रिपोर्ट गर्छ: “संयुक्त राज्यसित रेडियोएक्टिभ फोहोरहरूको डुङ्गुर नै छ तर जम्मा गर्ने कुनै स्थायी ठाउँ भने छैन।” कुनै पनि बेला “नोक्सानी, चोरी र लापर्वाहीको कारण वातावरणीय क्षति हुन सक्ने” गरी यी डरलाग्दा पदार्थहरू अस्थायी अवधिको लागि लाखौं ड्रमहरूमा राखिएका छन् भनी सोही पत्रिकाले भन्छ।
यस खतरालाई चित्रण गर्न नै भनौं, सन् १९९३ अप्रिल महिनामा टम्स्क्, साइबेरियामा पहिलेको हातहतियार संयन्त्रको आणविक फोहोर ट्याङ्की विष्फोट भयो। फलतः मानिसहरूको मनमा दोस्रो चेर्नोबिलको डरलाग्दा दृश्यहरू पैदा भएको थियो।
निस्सन्देह, तथाकथित आणविक खतराको अन्तको आधारमा गरिने शान्ति र सुरक्षाका आवाजहरू निराधार छन्। यद्यपि, शान्ति र सुरक्षा नजिकै छ। त्यो हामी कसरी थाहा पाउन सक्छौं? (w94 8/1)
[पृष्ठ ४-मा भएको पेटी]
आणविक शक्तिहरू
१२ देशहरू र यसको सङ्ख्या बढ्दैछ
घोषित अथवा तथ्यगत: इजराएल, काजकस्तान, चीन, दक्षिण अफ्रिका, पाकिस्तान, फ्रान्स, बेलाइत, बेलारूस, भारत, युक्रेन, रूस, संयुक्त राज्य
सम्भाव्य: अल्जेरिया, अर्जेन्टिना, इराक, इरान, उत्तर कोरिया, ताइवान, दक्षिण कोरिया, ब्राजिल, लिविया, सिरिया
[पृष्ठ ५-मा भएको चित्र]
आणविक शक्तिको शान्तिपूर्ण प्रयोग समेत खतरनाक हुन सक्छ