आणविक खतरा स्थायी रूपले निर्मूल!
मानवजाति डरले काँप्दै बाँचेको परमेश्वर चाहनुहुन्न। उहाँ “आनन्दित परमेश्वर” हुनु भएकोले मानिसहरूले शान्ति अनुभव गरेको र सुरक्षित महसुस गरेर बाँचेको चाहनुहुन्छ। छोटकरीमा भन्ने हो भने, तिनीहरू आनन्दित भएको उहाँ चाहनुहुन्छ। (१ तिमोथी १:११, न्यु व.) आणविक खतराले भरिपूर्ण संसारमा स्पष्टतया यो असम्भव छ।
“शान्ति र सुरक्षा”—एउटा भ्रम
अहिले आणविक खतराबाट मुक्त भइहालेका छैनौं भनी स्पष्ट हुनुपर्ने हो। राजनैतिक, आर्थिक तथा सामाजिक अशान्तिको बावजूद राष्ट्रहरू साधारणतया अझै आशावादी नै देखिन्छन्। सन् १९८६ लाई सरासं ले अन्तर्राष्ट्रिय शान्ति वर्ष घोषणा गरेदेखि आणविक खतरालाई साम्य गर्ने लगनशील प्रयास प्रष्ट देखिन्छ।
गत दशकमा द बुलेटिन अफ द एटोमिक साइन्टिस्टस् ले आणविक युद्धको सम्भाव्यता सूचित गर्ने तरिका अर्थात् विनाशको घडीमा विनाशको क्षण हुन ३ मिनेट बाँकिलाई १७ मिनेट बाँकि गराएको छ। सन् १९८९ मा स्टकहोल्म् इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटले “दोस्रो विश्व-युद्धको अन्तपश्चात् शान्तिपूर्ण प्रस्तावनाहरू गर्न सकिने आशा अहिले सबैभन्दा बलियो देखिन्छ” भनी टिप्पणी गऱ्यो।
हालका वर्षहरूमा अन्तर्राष्ट्रिय समस्याग्रस्त क्षेत्रहरूमा आवश्यक कदमहरू चाल्न संयुक्त राष्ट्रलाई सुदृढ पारिएको छ। पूर्ण रूपले नभए पनि यसले हासिल गरेको सफलता आशावादी हुन सामान्यतया यथेष्ट देखिएको छ। सम्भवतः भविष्यमा नयाँ तथा सफल प्रगतिहरू हुनेछन्। शायद “शान्ति र सुरक्षा” को आवाज झन् झन् चर्को र तीव्र हुनेछ। तिनीहरूले विश्वसनीयता समेत प्राप्त गर्लान्।
तर होशियार रहनुहोस्! बाइबलले यसरी चेताउनी दिन्छ: “जब मानिसहरूले शान्ति र सुरक्षा भनिरहेका हुन्छन्, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं अचानक तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।” तसर्थ, “शान्ति र सुरक्षा” को आवाजले “[आणविक प्रदूषण लगायत अन्य ढङ्गमा हानि पुऱ्याउने] पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्ने परमेश्वरको समयलाई सङ्केत गर्नेछ।—१ थिस्सलोनिकी ५:३, ४; प्रकाश ११:१८.
याद गर्नुहोस्, राष्ट्रहरूले “शान्ति र सुरक्षा” प्राप्त गर्नेछन् भनी बाइबलले भनेको छैन। प्रष्ट छ, तिनीहरूले अपूर्व ढङ्गमा आशा र विश्वस्तता व्यक्त गरेर अनुपम ढङ्गमा यसबारे कुरा गरिरहेका हुनेछन्। शान्ति र सुरक्षा प्राप्त गर्ने सम्भावना पहिलेभन्दा निकै निकट देखिनेछ। निरन्तर आणविक खतराको बावजूद सुरक्षाको झूटो आभासप्रति राष्ट्रहरू बहकिनेछन्।
तर साँचो मसीहीहरू भने झुक्किने छैनन्। गहिरो इच्छुकतासाथ मानव शान्ति र सुरक्षाभन्दा उत्तम स्रोतको तिनीहरूले मुख ताक्नेछन्!
साँचो शान्ति र सुरक्षा
भजनसंग्रह ४:८ अनुसार साँचो शान्ति र सुरक्षा यहोवा परमेश्वरको प्रबन्धद्वारा मात्र पाउन सकिन्छ: “शान्तिमा म पल्टूँला र निदाऊँला; किनकि हे परमप्रभु तपाईंले मात्र मलाई सुरक्षित रहनदिनुहुन्छ।” यहोवाको राज्य प्रबन्ध बाहेक व्यक्त गरिने “शान्ति र सुरक्षा” को आवाज केवल भ्रम हुनेछ। दीर्घकालीन फाइदा पुऱ्याउने कुनै कुरा यसले प्राप्त गर्न सक्दैन।
ख्रीष्ट अधीनस्थ परमेश्वरको राज्य अधकल्चो समाधानहरू दिन पाए सन्तुष्ट हुनेछैन। ईश्वरीय सरकारले आणविक हतियारहरू कटौती गर्नुको अलावा ती लगायत युद्धका अन्य सबै हातहतियारहरू पूर्णतया नाश गर्नेछ। भजनसंग्रह ४६:९ ले यो प्रतिज्ञा गर्छ: “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”
त्यस्तैगरि, त्रुटिपूर्ण आणविक भट्टीहरू तथा रेडियोएक्टिभ फोहोरले गर्दा हुने आणविक खतरा अतीतका कुराहरू हुनेछन्। अन्यथा यी शब्दहरू झूटो साबित हुनेछन्: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरा भनेको छ।” परमेश्वरले झूट बोल्नु हुन्न। उहाँको वचनमा शङ्का गर्ने कुनै आधार छैन।—मीका ४:४; तितस १:२.
सदाको लागि आणविक खतरा हटाइएको संसारमा बाँच्ने आशा के तपाईं पाउन चाहनुहुन्छ? तपाईंले प्राप्त गर्न सक्नुहुन्छ किनभने त्यसलाई प्राप्त गर्न पूरा गर्नुपर्ने आवश्यकताहरू परमेश्वरको वचनले स्पष्टसित बताएको छ। ती आवश्यकताहरू सिकेर अनि त्यसअनुसार जीवन बिताएर एक दिन तपाईंले लामो सुस्केरा हाल्दै भन्न सक्नुहुनेछ: “आणविक खतरा—स्थायी रूपले निर्मूल!” (w94 8/10)
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरको नयाँ संसारमा आणविक खतरारहित शान्ति छाउनेछ