के तपाईं येशूले जस्तै सिकाउनुहुन्छ?
“भीड़ उहाँका शिक्षाले छक्क परे। किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन, तर अख्तियार भएकाले जस्तो गरी सिकाउनुहुन्थ्यो।”—मत्ती ७:२८, २९.
येशू जहाँ-जहाँ जानुहुन्थ्यो भीड त्यहीं जम्मा हुन्थे। उहाँ “तिनीहरूका सभाघरहरूमा सिकाउँदै र राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरी निको पार्दै, सारा गालीलभरि घुम्नुभयो।” उहाँको कीर्ति फैलिंदै जाँदा “गालील, डिकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला ठूला भीड़हरू उहाँको पछि लागे।” (मत्ती ४:२३, २५) तिनीहरूलाई देखेर “उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” उहाँले शिक्षा दिनु हुँदा तिनीहरूले दया अथवा कोमल स्नेहको अनुभूति पाउँथे; तिनीहरूका लागि त्यो सञ्चो पार्ने मलहमजस्तै थियो र त्यसले तिनीहरूलाई उहाँप्रति आकर्षित गऱ्यो।—मत्ती ९:३५, ३६.
२ येशूले कति चमत्कारपूर्ण शारीरिक निवारण गर्नुभयो! फलतः कोरीहरू निको भए, बहिराले फेरि सुन्न सके, अन्धाले देखे, लुलो-लङ्गडो हिंडे र मृत व्यक्ति फेरि जीवित भए! येशूमाथि क्रियाशील यहोवाको शक्तिको यस्तो असाधारण प्रदर्शनले अवश्य ठूलो भीडलाई आकर्षित गर्नेथियो! तर चमत्कारहरूले गर्दा मात्र तिनीहरू आकर्षित भएका होइनन्; येशूले शिक्षा दिनुहुँदा प्रदान गर्नुहुने आध्यात्मिक निवारणका लागि पनि ठूलो भीड ओइरिन्थे। उदाहरणको लागि, डाँडाको प्रसिद्ध उपदेशपश्चात् भीडले देखाएको प्रतिक्रियालाई याद गर्नुहोस्: “येशूले यी कुरा गरिसक्नुभएपछि भीड़ उहाँको शिक्षाले छक्क परे। किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन, तर अख्तियार भएकाले जस्तो गरी सिकाउनुहुन्थ्यो।” (मत्ती ७:२८, २९) आफ्नो शिक्षाहरूको समर्थन गर्न तिनीहरूका रब्बीहरूले पुरातन रब्बीहरूको मौखिक रीतिरिवाजहरू उद्धृत गर्थे। तर येशूले परमेश्वरबाट पाउनुभएको अख्तियारसाथ तिनीहरूलाई शिक्षा दिनुहुन्थ्यो: “म जे बोल्दछु, पिताले मलाई भन्नुभएअनुसार बोल्दछु।”—यूहन्ना १२:५०.
उहाँको शिक्षाले हृदय छुन्थ्यो
३ येशूले प्रदान गर्नुहुने शिक्षा र शास्त्री तथा फरिसीहरूले दिने शिक्षाबीचको भिन्नता केवल विषयवस्तु अर्थात् परमेश्वरले दिनुभएको सत्य कुरा अनि मानिसहरूका बोझिला मौखिक रीतिरिवाज मात्र थिएनन्। शिक्षा दिइने ढङ्ग पनि भिन्न थियो। शास्त्री र फरिसीहरू टर्रो अनि रुखो मिजासका थिए र ठूलो मान खोज्थे। मानिसहरूका भीडलाई तिनीहरूले “श्रापित मानिसहरू” जस्तै व्यवहार गर्थे र तिनीहरूको हाँसो उडाएर ख्यालै गर्दैनथे। तर येशू विनम्र, कोमल, दयालु, सहानुभूतिशील र अरूसमक्ष झुक्नु हुन्थ्यो। उहाँको हृदय तिनीहरूका लागि दयाले भरेर आउँथ्यो। उहाँले ठीक-ठीक शब्दहरूद्वारा मात्र नभइ स्रोताहरूको हृदय छुने मोहक शब्दहरूद्वारा शिक्षा दिनु हुन्थ्यो। उहाँको आनन्दित समाचारले गर्दा मानिसहरू उहाँतर्फ आकर्षित हुन्थे, उहाँको शिक्षा सुन्न तिनीहरू सबेरै मन्दिरमा आउँथे, उहाँको नजीक भएर पछिपछि लाग्थे र रमाइलो मानेर उहाँको कुरा सुन्थे। भीडका भीड मानिसहरू यसो भन्दै उहाँको कुरा सुन्न आउँथे: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।”—यूहन्ना ७:४६-४९; मर्कूस १२:३७; लूका ४:२२; १९:४८; २१:३८.
४ निस्सन्देह, मानिसहरू उहाँप्रति आकर्षित हुनुको एउटा कारण, शिक्षा दिनुहुँदा उहाँले चलाउनुहुने दृष्टान्तहरू पनि हुन्। मानिसहरूले जे देख्थे त्यही उहाँले देख्नुहुन्थ्यो तर उहाँले त्यस्ता कुराहरूबारे सोच्नुहुन्थ्यो जसबारे मानिसहरूले कहिल्यै सोचेका हुँदैनन् थिए। खेतमा फुलिरहेका लिलि फूलहरू, गुँड बनाइरहेका चराहरू, अन्न छर्दै गरेको मानिस, हराएका पाठाहरू खोजेर ल्याइरहेका गोठालाहरू, पुरानो लुगा टालिरहेका महिलाहरू, बजारको चौकमा खेलिरहेका केटाकेटीहरू, जाल तानिरहेका जलारीहरूजस्ता सबैले देखिरहेका साधारण कुराहरू येशूको दृष्टिमा साधारण थिएनन्। आफूले देखेजति सबै कुराहरूमा परमेश्वर र उहाँको राज्य अथवा आफू वरपरको मानव समाजलाई चित्रण गर्न मिल्ने कुराहरू उहाँले देख्नुहुन्थ्यो।
५ मानिसहरूले दिनहुँ कैयन् पटक देखिसकेका कुराहरू नै येशूका दृष्टान्तहरूको आधार हुन्थे। यस्ता परिचित कुराहरूसित सत्यलाई जोड्दा स्रोताहरूको मनमा त्यसले तुरुन्तै गहिरो छाप पार्थ्यो। फलतः त्यस्ता सत्य कुराहरू कानले सुनेका मात्र नभई मनको आँखाले देखे सरह हुन्थ्यो र पछि त्यसलाई सजिलै पुनःस्मरण गर्न सकिन्थ्यो। येशूका दृष्टान्तहरू सरल अनि सत्य कुराहरू बुझ्न मानिसहरूलाई दखल वा बाधा दिने अनावश्यक कुराहरूदेखि मुक्त हुन्थे। उदाहरणको लागि, मिलनसार सामरीको उखानलाई विचार गर्नुहोस्। उखान सुन्नेबित्तिकै असल छिमेकी कस्तो हुन्छ भनेर तपाईं ज्वलन्त रूपमा देख्नुहुन्छ। (लूका १०:२९-३७) अनि दुई जना छोराहरूबारे दिनुभएको उदाहरणलाई विचार गर्नुहोस्। जसमध्ये काम गर्न जान्छु भन्ने छोरा काममा गएन भने जान्नँ भन्ने चाहिं गयो। उखान सुन्नेबित्तिकै वास्तवमा आज्ञाकारी हुन अह्राएको काम गर्नुपर्ने रहेछ भनेर प्रष्ट बुझिन्छ। (मत्ती २१:२८-३१) येशूको सजीव शिक्षाको दौडान न कोही निद्राले झुल्थे न ता कसैको मन डुल्थ्यो। तिनीहरू सुन्न र हेर्नमा व्यस्त हुन्थे।
प्रेमले उपयुक्त ठहऱ्याउँदा येशू झुक्नुहुन्थ्यो
६ व्यवहारिक हुने सम्बन्धमा बाइबलले कुरा उठाउँदा त्यसको अर्थ झुक्नु हो भनेर प्राय फुटनोटमा देखाइन्छ। केही हदसम्म माफी दिन मिल्ने किसिमका परिस्थितिहरू सृजना हुँदा परमेश्वरबाट आउने बुद्धि त्यससमक्ष झुक्दछ। हामी पनि समय समयमा व्यवहारिक वा झुक्नुपर्ने हुन्छ। यदि प्रेमले उपयुक्त ठहऱ्याउँछ र कुनै व्यक्तिको पश्चात्तापले त्यसलाई आधार दिन्छ भने प्राचीनहरू झुक्न तयार हुनुपर्छ। (१ तिमोथी ३:३; याकूब ३:१७) झुक्ने सम्बन्धमा येशूले अद्भुत उदाहरण बसाल्नुभयो। दया र सहानुभूति देखाउनु पर्ने ठाउँमा उहाँले सामान्य नियमहरूभन्दा बाहिर बसेर काम गर्नुभयो।
७ एकपटक येशूले यसो भन्नुभएको थियो: “जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु इन्कार गर्नेछु।” तर पत्रुसले तीन-तीन पटक उहाँलाई इन्कार गर्दा पनि उहाँले तिनलाई इन्कार गर्नुभएन। पत्रुसको परिस्थिति केही हदसम्म माफी दिन मिल्ने किसिमको थियो र प्रष्ट छ येशूले त्यसलाई ध्यानमा राख्नुभयो। (मत्ती १०:३३; लूका २२:५४-६२) रगत बग्ने रोग लागेकी अशुद्ध स्त्रीले मोशाको नियम उल्लङ्घन गरेर भीडको बीचमा आउनु पनि माफी दिन मिल्ने किसिमकै परिस्थिति थियो। येशूले तिनलाई दोषी ठहराउनुभएन। उहाँले तिनको निराशाजनक स्थिति बुझ्नुभयो। (मर्कूस १:४०-४२; ५:२५-३४; लूका ५:१२, १३ पनि हेर्नुहोस्।) उहाँलाई मसीह भनेर नचिनाउन येशूले आफ्ना प्रेरितहरूलाई भन्नुभएको थियो, तर उहाँले त्यस कुरामा ढिपी कस्नुभएन र इनार छेउ सामरी स्त्रीलाई आफ्नो परिचय मसीहको रूपमा दिनुभयो। (मत्ती १६:२०; यूहन्ना ४:२५, २६) यी सबै परिस्थितिहरूमा प्रेम, दया र सहानुभूतिले त्यस्तो किसिमले झुक्ने प्रवृत्तिलाई उचित बनायो।—याकूब २:१३.
८ यो कुरा ढिट शास्त्री र फरिसीहरूसँग पटक्कै मेल खाँदैन थियो। आफ्ना साँढेहरूलाई पानी खुवाउने ठाउँतर्फ लगेर तिनीहरू आफैले बनाएका विश्राम दिनका रीतिरिवाजहरू भङ्ग गर्थे। अथवा आफ्नो साँढे वा छोरा इनारमा खस्यो भने त्यसलाई बचाउन विश्राम दिन भङ्ग गर्थे। तर सर्वसाधारणको कुरा आउँदा चाहिं तिनीहरू अलिकति पनि झुक्दैन थिए। “तिनीहरू आफैले भने आफ्ना औंलाले पनि ती [विश्राम दिनसम्बन्धी आवश्यकताहरू] सारिदिने मन गर्दैनन्।” (मत्ती २३:४; लूका १४:५) येशूका लागि मानिसहरू अधिकांश नियमहरूभन्दा बढी महत्त्वपूर्ण थिए; तर फरिसीहरूका लागि मानिसभन्दा नियमहरू बढी महत्त्वपूर्ण थिए।
“व्यवस्थाको पुत्र” हुने
९ येशूको बाल्यावस्थासम्बन्धी एउटा मात्र घटना रेकर्ड गरिएकोमा केही व्यक्तिहरू दुःख प्रकट गर्छन्। यद्यपि, धेरैले त्यस घटनाको गहन महत्त्वलाई बुझेका छैनन्। हाम्रो लागि त्यो घटना लूका २:४६, ४७ मा यसरी रेकर्ड गरिएको छ: “तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर सुन्दै र सोद्धै गरिरहनुभएको भेट्टाए। सुन्नेहरू सबै उहाँको समझ र जवाफहरूमा छक्क पर्दथिए।” किट्टेलको थियोलोजिकल डिक्सनरी अफ द न्यु टेस्टामेन्ट अनुसार यहाँ “सोद्धै” भनेर चलाइएको युनानी शब्दको अर्थ केटाकेटीले देखाउने कौतूहलता मात्र थिएन। उपरोक्त शब्दले न्यायिक जाँच, छानबिन, प्रतिवाद र मर्कूस १०:२ र १२:१८-२३ मा उल्लेख गरिएजस्तो “फरिसी र सदुकीहरूको गहन तथा धूर्त प्रश्नहरूलाई” समेत सङ्केत गर्छ।
१० सोही शब्दकोशले फेरि यसो भन्छ: “शब्दको यस्तो प्रयोगको आधारमा [लूका] २:४६ ले कतै येशूको प्रश्नबोधक कौतूहलतालाई नभइ उहाँको सफल वादविवादलाई पो देखाएको होइन भनी प्रश्न गर्न सकिन्छ।” अन्तिम बुँदासित [पद] ४७ मेल खान्छ।a रदरहामले गरेको पद ४७ को अनुवादले त्यसलाई नाटकीय मुठभेडको रूपमा प्रस्तुत गर्छ: “उहाँको कुरा सुन्ने जति सबै उहाँको समझ र जवाफ देखेर साह्रै उत्तेजित भए।” रबर्टसनको वर्ड पिक्चर्स इन द न्यु टेस्टामेन्ट अनुसार तिनीहरू छक्क परिरहनुको अर्थ “मानौं आँखै बाहिर निस्केला जस्तोगरि साह्रै उत्तेजित हुनु” हो।
११ पछि येशूका आमाबाबु मन्दिरमा आइपुग्दा उहाँलाई देखेर “तिनीहरू अचम्म माने।” (लूका २:४८) रबर्टसनको भनाइअनुसार यस अभिव्यक्तिमा चलाइएको युनानी शब्दको अर्थ “झट्का वा जोरदार मुक्का खानु” हो। त्यसपछि यो थप्छन्, आफूले देखेका र सुनेका कुराले गर्दा यूसुफ र मरियमले “झट्का खाए”। अर्को अर्थमा भन्ने हो भने, येशू विलक्षणको शिक्षक साबित भइसक्नुभएको थियो। अनि मन्दिरमा घटेको यस घटनाको आधारमा किट्टेलको पुस्तक के दावा गर्छ भने, “किशोरावस्थामा छँदै येशूले धार्मिक नेताहरू विरुद्ध आफ्नो विरोधको सुरुआत गरे जससमक्ष उहाँका विरोधीहरूले अन्ततः हार स्वीकार्नै पर्ने थियो।”
१२ तिनीहरूले हार स्वीकारे! वर्षौंपछि त्यस्तै प्रश्न गरेर येशूले फरिसीहरूलाई यति नराम्रोसँग हराउनुभयो, “त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्न आँट” भएन। (मत्ती २२:४१-४६) सदुकीहरूले पुनरुत्थानसम्बन्धी प्रश्न उठाउँदा तिनीहरूलाई पनि त्यस्तैगरि चुप गराउनुभएको थियो र “फेरि तिनीहरूले उहाँलाई कुनै प्रश्न सोध्ने आँट गरेनन्।” (लूका २०:२७-४०) शास्त्रीहरूको पनि त्यस्तै हविगत भयो। तिनीहरूमध्ये एक जनासित येशूले वादविवाद गर्नुभएपछि “उहाँलाई प्रश्न गर्ने कसैको हिम्मत भएन।”—मर्कूस १२:२८-३४.
१३ येशूको किशोरावस्थाका थुप्रै घटनाहरूमध्ये मन्दिर र शिक्षकहरूसित सम्बन्धित यस घटना मात्र किन उल्लेख गरिएको? किनकि येशूको जीवनमा त्यो एउटा मोड थियो। बाह्र वर्षको हुँदा उहाँ त्यस्तो व्यक्ति बन्नुभयो जसलाई यहूदीहरूले व्यवस्थाका सारा नियम-कानुन पालन गर्ने “व्यवस्थाको पुत्र” भनी सम्बोधन गर्ने थिए। येशूको कारण आफूले र यूसुफले सहनु परेको मानसिक तनावबारे मरियमले गुनासो गर्दा तिनको छोराले दिएको जवाफले सम्भवतः आफ्नो जन्मको चमत्कारपूर्ण प्रकृति र मसीह भविष्यबारे येशूलाई थाहा थियो भन्ने सङ्केत दिन्छ। परमेश्वरलाई आफ्नो पिता भनी गर्नुभएको प्रत्यक्ष सम्बोधनमा यसको सङ्केत पाइन्छ: “तपाईंहरू मलाई किन खोजिरहनुभयो? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाह थिएन?” संयोगवश, यी शब्दहरू बाइबलमा रेकर्ड गरिएका येशूका पहिलो शब्दहरू हुन् र आफूलाई पृथ्वीमा पठाउनुपछाडि यहोवाको उद्देश्यप्रति उहाँ जानकार हुनुहुन्थ्यो भनेर त्यसले देखाउँछ। तसर्थ, यस सम्पूर्ण विवरण सारगर्भित छ।—लूका २:४८, ४९.
येशूले केटाकेटीहरूलाई बुझ्नु अनि माया गर्नुहुन्छ
१४ यो विवरण विशेषतः जवानहरूका लागि रोमाञ्चकारी हुनुपर्छ। पूर्ण वयस्क नहोउञ्जेल येशूले कति लगनशील भएर अध्ययन गर्नुभयो होला भनी यसले देखाउँछ। यस बाह्र वर्षीय “व्यवस्थाको पुत्र” को बुद्धि देखेर मन्दिरका रब्बीहरू तीनछक परे। यद्यपि, उहाँ यूसुफ अनि मरियमको “अधीनमा बस्दै” सिकर्मीको काम गरिरहनुभयो र “परमेश्वर र मानिसको अनुग्रहमा बढ़दै जानुभयो।”—लूका २:५१, ५२.
१५ आफ्नो पार्थिव सेवकाईको दौडान येशूले जवानहरूलाई निकै प्रोत्साहित गर्नुहुन्थ्यो: “तर मुख्य पूजाहारीहरू र शास्त्रीहरू चाहिं उहाँले गर्नुभएको अचम्मका काम र केटाकेटीहरू मन्दिरमा होसन्ना दाऊदका पुत्रलाई भन्दै चिच्याएका देखेर क्रोधित भए, र तिनीहरूले उहाँलाई भने, ‘के सुन्छौ, यिनीहरूले के भनिरहेका छन्?’ तब येशूले तिनीहरूलाई भन्नुभयो, ‘हो, म सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ? दूधे-बालक र काखको बालकहरूका मुखबाट तपाईंले स्तुति पूरा गर्नुभयो।’” (मत्ती २१:१५, १६; भजनसंग्रह ८:२) आज पनि आफ्नो निष्ठा कायम राख्ने र उहाँको प्रशंसा गर्ने हजारौं जवानहरूलाई उहाँ समर्थन गर्नुहुन्छ, जसमध्ये केहीले त्यसका लागि ज्यान समेत गुमाएका छन्!
१६ को ठूलो भनेर प्रेरितहरूले आपसमा भनाभन गर्दा येशूले ती १२ प्रेरितहरूलाई यसो भन्नुभयो: “‘कोही मानिस पहिलो हुने इच्छा गर्छ भने, त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनेछ।’ औ एउटा सानो बालकलाई लिएर उहाँले त्यसलाई तिनीहरूका बीचमा राख्नुभयो, र त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो ‘जसले यस्ता साना बालकहरूमध्ये एउटालाई मेरो नाउँमा स्वीकार गर्ला, त्यसले मलाईनै स्वीकार गर्दछ, र जसले मलाई स्वीकार गर्ला, त्यसले मलाई होइन, तर मलाई पठाउनेलाई स्वीकार गर्दछ।’” (मर्कूस ९:३५-३७) यसबाहेक भयानक अनि कठिन परीक्षा र मृत्युको सामना गर्न अन्तिम पटक यरूशलेमतर्फ यात्रा गर्नुहुँदा उहाँले केटाकेटीहरूका लागि समय निकाल्नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।” त्यसपछि “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राख्दै आशीर्वाद दिनुभयो।”—मर्कूस १०:१३-१६.
१७ वयस्क संसारमा बालक हुन कति कठिन छ भनेर येशूलाई थाहा छ। उहाँले वयस्कहरूसँग जीवन बिताउनुभयो, तिनीहरूसँग काम गर्नुभयो, तिनीहरूको अधीनमा बस्नुभयो र तिनीहरूको मायाको न्यानो अनि सुरक्षित अनुभूति पाउनुभयो। केटाकेटीहरू हो, यही येशू तपाईंहरूको मित्र हुनुहुन्छ; उहाँ तपाईंका लागि मर्नुभयो; तपाईंहरूले उहाँका आज्ञाहरू पालन गर्नुभयो भने सधैंभरि जीवित रहनुहुनेछ।—यूहन्ना १५:१३, १४.
१८ येशूका आज्ञाहरू पालन गर्नु कठिन लाग्ला तर वास्तवमा त्यति कठिन छैन। जवानहरू हो, मत्ती ११:२८-३० मा भनेझैं तपाईं र सबैलाई मदत गर्न उहाँ हरबखत तयार हुनुहुन्छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, [अथवा “मेरो जुवामनि आओ” फुटनोट न्युव] र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” यसो कल्पना गर्नुहोस्, यहोवाको सेवामा आफ्नो जीवन बिताउँदै जाँदा, येशू तपाईं सँगसँगै हिंड्नुहुन्छ र तपाईंको जुवालाई सजिलो र हलका बनाउनुहुन्छ। यो कुरा सोच्दा हामी सबै रोमाञ्चित हुन्छौं!
१९ येशूले शिक्षा दिनुभएका केही तरिकाहरूको यसरी पुनरावृत्ति गरेपछि हामीहरू आफै पनि के त्यस्तै किसिमले शिक्षा दिइरहेका पाउँछौं? शारीरिक तवरमा बिरामी वा आध्यात्मिक तवरमा भोका व्यक्तिहरूलाई देख्दा के हामी दयाले भरिएर यथाशक्य मदत दिन प्रेरित हुन्छौं? अरूलाई प्रशिक्षण दिंदा के हामी परमेश्वरको वचन सिकाउँछौं वा फरिसीहरूले जस्तै आफ्नै विचारहरू सिकाउँछौं? आध्यात्मिक सच्चाइलाई स्पष्ट पार्न, सजीव बनाउन, ठोस रूप प्रदान गर्न र अझ राम्ररी बुझाउन आफ्नो वरपर दैनिक जीवनका चीजबीजहरूलाई चलाउन सकिन्छ कि भनेर के तपाईं सजग हुनुहुन्छ? प्रेम र दया देखाएर झुक्न उपयुक्त देखिने परिस्थिति छ भने के हामी त्यस्ता नियमहरूप्रति ढिपी कसेर बस्नदेखि टाढा बस्छौं? केटाकेटीहरूबारे के भन्न सकिन्छ नि? के हामी येशूले देखाउनुभए जस्तै कोमल चिन्ता अनि करुणा तिनीहरूप्रति देखाउँछौं? केटो छँदा येशूले गर्नुभए जस्तैगरि अध्ययन गर्न के तपाईं आफ्ना छोराछोरीहरूलाई प्रोत्साहित गर्नहुन्छ? येशूजस्तै दृढ तर पश्चातापी व्यक्तिहरूलाई, कुखुरीले आफ्नो पखेटामनि चल्लाहरू बटुलेजस्तै हृदयदेखि स्वीकार्न के तपाईं तयार हुनुहुन्छ?—मत्ती २३:३७.
२० येशूले जस्तै शिक्षा दिन हामीले यथाशक्य प्रयत्न गऱ्यौं भने निस्सन्देह उहाँले हामीलाई ‘उहाँसँगै मिलेर जुवा बोक्ने मौका दिनुहुनेछ।’—मत्ती ११:२८-३०. (w94 10/15)
[फुटनोटहरू]
a निस्सन्देह येशूले आफूभन्दा पाको व्यक्तिहरू, विशेषगरि केश फुलेका वृद्धहरू र पूजाहारीहरूलाई उचित आदर देखाउनुभएको हुनुपर्छ भनी विश्वास गर्ने प्रशस्त कारणहरू छन्।—तुलना गर्नुहोस् लेवी १९:३२; प्रेरित २३:२-५.
के तपाईंलाई सम्झना छ?
◻ भीड किन येशूकहाँ झुम्मिन्थे?
◻ समय समयमा केही नियमहरूसमक्ष येशू किन झुक्नुभयो?
◻ मन्दिरका शिक्षकहरूलाई येशूले गर्नुभएको प्रश्नबाट हामी के सिक्नसक्छौं?
◻ येशू र केटाकेटीहरूबीचको सम्बन्धबाट हामी कस्ता शिक्षाहरू लिनसक्छौं?
[अध्ययनका लागि प्रश्नहरू]
१. गालीलमा शिक्षा दिनुहुँदा येशूको पछि को लागे र येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो?
२. येशूका चमत्कारहरू बाहेक अर्को कुन कुराले ठूलो भीडलाई आकर्षित गऱ्यो?
३. येशूले शिक्षा दिनुहुने तरिका र शास्त्री तथा फरिसीहरूले शिक्षा दिने तरिकामा के भिन्नता थियो?
४. येशूले गर्नुभएको प्रचार-कार्यको विशेषगरि कुन चाहिं कुराले थुप्रै मानिसहरूलाई आकर्षित गऱ्यो?
५. येशूले कस्ता कुराहरूमा आफ्ना उदाहरणहरू आधारित गर्नुभयो र कुन कुराले उहाँको उखानहरूलाई प्रभावकारी बनायो?
६. विशेषगरि कस्तो परिस्थितिमा व्यवहारिक अथवा झुक्नु मदतकारी हुन्छ?
७. येशू झुक्नुभएको केही उदाहरणहरू के के हुन्?
८. शास्त्री र फरिसीहरूले कहिले नियमहरूलाई बङग्याउँथे र कहिले त्यसो गर्दैनथे?
९, १०. यरूशलेममा फर्कंदा येशूका आमाबाबुले उहाँलाई कहाँ भेट्टाए र येशूले गर्नुभएको प्रश्नको के महत्त्व छ?
११. आफूले देखेका र सुनेका कुराले गर्दा मरियम र यूसुफले कस्तो प्रतिक्रिया देखाए र धर्मविज्ञान सम्बन्धी शब्दकोशले कस्तो सुझाव दिन्छ?
१२. पछि येशूले धार्मिक नेताहरूसित गर्नुभएको वादविवादलाई चिह्नित गर्ने कुरा के थियो?
१३. मन्दिरमा घटेको घटनालाई येशूको जीवनीमा सारगर्भित घटना बनाउने कुरा के थियो र कुन थप जानकारी यसले सुझावित तर्कको रूपमा पेश गर्छ?
१४. मन्दिर र जवान येशूसित सम्बन्धित घटनाले कुन चाहिं चाखलाग्दो बुँदाप्रति जवानहरूलाई सजग गराउन सक्छ?
१५. आफ्नो पार्थिव सेवकाईको दौडान येशूले कसरी जवानहरूलाई प्रोत्साहित गर्नुभयो र आज जवानहरूका लागि त्यसले के अर्थ राख्छ?
१६. (क) आफ्ना प्रेरितहरूबीच सानो बालकलाई उभ्याउनुभएर येशूले तिनीहरूलाई कस्तो पाठ सिकाउनुभयो? (ख) आफ्नो जीवनको कस्तो सङ्कटकालीन समयमा पनि येशूले केटाकेटीहरूका लागि समय निकाल्नुभयो?
१७. येशूले केटाकेटीहरूलाई कसरी सजिलैसँग बुझ्न सक्नुभयो र केटाकेटीहरूले उहाँबारे कुन कुरा सम्झनुपर्छ?
१८. अन्य समयमा र विशेषगरि तनावग्रस्त वा सङ्कटकालीन परिस्थितिमा कुन रोमाञ्चकारी कुरा हामी सबैले आफ्नो मनमा राख्नुपर्छ?
१९. येशूले शिक्षा दिनुहुने तरिकाहरूबारे कस्ता प्रश्नहरूको समय समयमा पुनरावृत्ति गर्नुपर्छ?
२०. हाम्रो परमेश्वरको सेवामा अगि बढ्दै जाँदा कस्तो मिठो विचारका साथ हामी आफैलाई सान्त्वना दिनसक्छौं?