प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १०/१ pp. १३-१८
  • प्रेमपूर्वक परमेश्‍वरको बगाललाई चराउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमपूर्वक परमेश्‍वरको बगाललाई चराउने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असल गोठालोको उदाहरण
  • इस्राएलका क्रूर गोठालाहरू
  • मसीही मण्डलीमा मायालु गोठालाहरू
  • स्वेच्छाको कदर गर्नुहोस्‌
  • गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • यहोवाले रोज्नुभएका गोठालाहरूप्रति आज्ञाकारी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • हाम्रा महान सृष्टिकर्ताका साथ गोठालो काम गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १०/१ pp. १३-१८

प्रेमपूर्वक परमेश्‍वरको बगाललाई चराउने

“तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ।”—१ पत्रुस ५:२.

प्रेम परमेश्‍वरको प्रबल गुण हो भनेर पवित्र शास्त्रभरि प्रष्ट पारिएको छ। “परमेश्‍वर प्रेम हुनुहुन्छ,” १ यूहन्‍ना ४:८ ले बताउँछ। उहाँको प्रेम कामद्वारा प्रकट हुने भएकोले “परमेश्‍वरले तिमीहरूको फिक्री गर्नुहुन्छ” भनेर १ पत्रुस ५:७ ले भन्छ। यहोवाले आफ्ना जनहरूप्रति राख्नुहुने चासोलाई बाइबलमा मायालु गोठालोले आफ्ना भेडाहरूप्रति राख्ने कोमल चासोसँग तुलना गरिएको छ: “हेर, परमप्रभु परमेश्‍वर . . . आफ्नो बगाललाई गोठालालेझैं चराउनुहुनेछ। उहाँले थुमाहरूलाई आफ्नै अङ्‌गालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माऊलाई चाहिं बिस्तार बिस्तार डोर्‌याएर उहाँले लैजानुहुनेछ।” (यशैया ४०:१०, ११) “परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही खाँचो हुँदैन।” यी शब्दहरू व्यक्‍त गर्न सकेकोमा दाऊदले कति सान्त्वना पाए होलान्‌।—भजनसंग्रह २३:१.

२ अतः, परमेश्‍वरले अनुमोदन गर्नुहुने व्यक्‍तिहरूलाई बाइबलले भेडाहरूसँग तुलना गर्नु उपयुक्‍त छ। किनकि भेडाहरू शान्तिप्रिय, आज्ञाकारी हुन्छन्‌ र तिनीहरू आफ्नो हेरचाह गर्ने गोठालोको अधीनमा बस्छन्‌। मायालु गोठालोको हैसियतमा यहोवाले आफ्ना भेडाखाले जनहरूको गहिरो चिन्ता गर्नुहुन्छ। भौतिक तथा आध्यात्मिक कुराहरूको प्रबन्ध गर्नुभएर अनि यस दुष्ट संसारको कठिन “आखिरी दिन” बीच डोऱ्‍याउनुहुँदै आउँदो धार्मिक नयाँ संसारसम्म पुऱ्‍याउनुभएर उहाँले आफ्नो चिन्ता व्यक्‍त गर्नुहुन्छ।—२ तिमोथी ३:१-५, १३; मत्ती ६:३१-३४; १०:२८-३१; २ पत्रुस ३:१३.

३ यहोवाले आफ्ना भेडाहरूप्रति देखाउनुहुने मायालु चासोलाई याद गर्नुहोस्‌: “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌। . . . धर्मात्माहरूले पुकारा गरे, र परमप्रभुले सुन्‍नुभयो, र तिनीहरूका सबै दुःखबाट तिनीहरूलाई छुटाउनुभयो। टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ। धर्मात्माहरूलाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।” (भजनसंग्रह ३४:१५-१९) आफ्ना भेडाखाले जनहरूका लागि सार्वभौम गोठालाले कति ठूलो सान्त्वना प्रदान गर्नुहुन्छ!

असल गोठालोको उदाहरण

४ परमेश्‍वरको पुत्र, येशूले आफ्नो पिताको उदाहरण राम्ररी सिक्नुभयो किनकि बाइबलले येशूलाई “असल गोठालो” भनी सम्बोधन गर्छ। (यूहन्‍ना १०:११-१६) परमेश्‍वरको बगालका लागि उहाँले गर्नुभएको अत्यावश्‍यक सेवा प्रकाश अध्याय ७ मा उल्लेख गरिएको छ। पद ९ मा हाम्रो समयका परमेश्‍वरका सेवकहरूलाई “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” भनी सम्बोधन गरिएको छ। त्यसपछि पद १७ ले यसो भन्छ: “थुमा [येशू] तिनीहरूका रखवाला [गोठाला न्युव] हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” येशूले परमेश्‍वरका भेडाहरूलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्यको पानीसम्म डोऱ्‍याउनुहुनेछ। (यूहन्‍ना १७:३) याद गर्नुहोस्‌, येशूलाई “थुमा” भनी सम्बोधन गरिएको छ। यसले उहाँको भेडाखाले गुणहरूलाई संकेत गर्छ किनकि विनम्रता र परमेश्‍वरको अधीनमा बस्ने सम्बन्धमा उहाँ प्रमुख नमुना हुनुहुन्छ।

५ पृथ्वीमा हुनुहुँदा येशूले मानिसहरूबीच जीवन बिताउनुभयो र तिनीहरूको दयनीय अवस्था देख्नुभयो। तिनीहरूको दुर्दशाप्रति उहाँले कस्तो दृष्टिकोण राख्नुभयो? “उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) गोठालो नहुने भेडाहरूले भक्षकहरूको हातबाट निकै कष्ट भोग्छन्‌ र लापरवाही गोठालो हुने भेडाहरूको अवस्था पनि त्योभन्दा कम हुँदैन। तर येशू आफ्ना भेडाहरूको साह्रै चिन्ता गर्नुहुन्थ्यो किनकि उहाँ आफैले यसो भन्‍नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु! मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।”—मत्ती ११:२८-३०.

६ येशूले मानिसहरूसित प्रेमपूर्ण व्यवहार गर्नुहुनेछ भनेर बाइबलले यसप्रकार भविष्यवाणी गरेको थियो: “परमप्रभु परमेश्‍वरको आत्मा ममाथि छ, . . . नम्रहरूलाई सुसमाचार सुनाउनलाई . . . मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई।” (यशैया ६१:१, २; लूका ४:१७-२१) गरीब अनि आपद्‌मा परेकाहरूलाई उहाँले कहिल्यै हेला गर्नुभएन। बरु उहाँले यशैया ४२:३ का यी शब्दहरूलाई पूरा गर्नुभयो: “चूर पारिएको निगालोलाई तिनले भाँच्नेछैनन्‌, र निभ्नै लागेको सलेतोलाई तिनले निभाउनेछैनन्‌।” (मत्ती १२:१७-२१ तुलना गर्नुहोस्‌।) कष्टमा परेकाहरू भाँचेका निगालो अनि तेल नभएर निभ्नै लागेको सलेतोजस्तै थिए। तिनीहरूको दयनीय अवस्था देखेर येशूले तिनीहरूप्रति सहानुभूति देखाउनुभयो र बल अनि आशा प्रदान गर्नुभएर तिनीहरूलाई आध्यात्मिक तथा शारीरिक तवरमा निको पार्नुभयो।—मत्ती ४:२३.

७ बथानका बथान भेडाखाले मानिसहरूले येशूको कुरा सुने। उहाँको शिक्षा यति मनमोहक थियो, उहाँलाई गिरफ्तार गर्न पठाएका अफिसरले यस्तो रिपोर्ट दिए: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।” (यूहन्‍ना ७:४६) यहाँसम्म, ढोङ्‌गी धार्मिक नेताहरूले यसो भनेर गुनासो गरे: “संसारै त्यसको पछि लागिसक्यो!” (यूहन्‍ना १२:१९) तर येशूले कहिल्यै आफ्नै आदर वा सम्मान खोज्नुभएन। उहाँले मानिसहरूलाई आफ्नो पितातर्फ डोऱ्‍याउनुभयो। यहोवाको प्रशंसनीय गुणहरूप्रतिको प्रेमबाट उत्प्रेरित भई उहाँको सेवा गर्न येशूले तिनीहरूलाई सिकाउनुभयो: “तैंले परमप्रभु, आफ्नो परमेश्‍वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले, र आफ्नो सारा शक्‍तिले, र आफ्नो सारा मनले प्रेम गर।”—लूका १०:२७, २८.

८ यहोवाप्रतिको प्रेमको आधारमा उहाँका भेडाखाले मानिसहरूले उहाँको सार्वभौमसत्तालाई दिएको समर्थनद्वारा यहोवाको महिमा हुन्छ। उहाँको मायालु गुणहरूबारे ज्ञान पाएकोले तिनीहरू स्वेच्छापूर्वक उहाँको सेवा गर्न रोज्छन्‌। संसारका नेताहरूलाई दिइने सेवाभन्दा कति भिन्‍न! किनकि तिनीहरूका प्रजाहरूले डर वा असन्तोष प्रकट गर्दै वा नभए स्वार्थपूर्तिका लागि तिनीहरूको आज्ञा मान्छन्‌। रोमन क्याथोलिक चर्चका पोपबारे जे भनियो, त्यो यहोवा अथवा येशूको सम्बन्धमा कहिल्यै भन्‍न सकिंदैन: “धेरैले पोपको प्रशंसा गरे, सबैले डर राखे तर कसैले प्रेम गरेनन्‌।”—पिटर दे रोजाको भिकार्स अफ क्राइस्ट—द डार्क साइड अफ दि पापेसी।

इस्राएलका क्रूर गोठालाहरू

९ येशूको विपरीत इस्राएलका समकालीन धार्मिक नेताहरूसित भेडाहरूप्रति कुनै प्रेम थिएन। तिनीहरू इस्राएलका पूर्ववर्ती शासकहरूजस्तै थिए, जसबारे यहोवाले यसो भन्‍नुभएको थियो: “वाह! इस्राएलका गोठालाहरू, जसले आफ्नै मात्र वास्ता गर्दछन्‌! के गोठालाले भेड़ाहरूको वास्ता गर्नुपर्ने होइन र? . . . तिमीहरूले थकितलाई प्रेरणा दिएका छैनौ, बिरामीलाई सह्‍यार गरेका छैनौ, बाटो बिराएकोलाई बाटोमा ल्याएका छैनौ, हराएकोलाई खोजेका छैनौ। बलियोलाई पनि तिमीहरूले असह्‍य निष्ठूरतासित धपाएका छौ।”—इजकिएल ३४:२-४.

१० प्रथम शताब्दीका यहूदी धार्मिक नेताहरू ती राजनैतिक गोठालाहरूजस्तै कठोर हृदयका थिए। (लूका ११:४७-५२) यस कुरालाई चित्रण गर्न डाँकूद्वारा लुटपिट भई बाटोमा अधमरो अवस्थामा छोडिएको यहूदीबारे येशूले बताउनुभयो। एक जना इस्राएली पूजाहारी त्यही बाटो भएर जाँदै थिए तर त्यस यहूदीलाई देख्ने बित्तिकै बाटोको अर्कोपट्टि लागे। त्यसपछि लेवी आए र तिनले पनि त्यसै गरे। अन्तमा एक जना गैर-इस्राएली, हेलाको पात्र सामरी आए र लुटपिट गरिएको त्यस यहूदीप्रति दया देखाए। तिनले त्यस यहूदीको घाऊमा मलहम पट्टी लगाए। तिनलाई गधामा राखेर पौवामा लगे र त्यहाँ तिनको स्याहार गरे। तिनले पौवाका मालिकको पैसा तिरे र पछि फेरि फर्केर थप खर्च समेत बेहोर्ने वचन दिए।—लूका १०:३०-३७.

११ येशूको समयका धार्मिक नेताहरू यति भ्रष्ट थिए, येशूले लाजरसको पुनरुत्थान गर्नुहुँदा प्रधान पूजाहारीहरू र फरिसीहरूले महासभालाई बोलाएर यसो भने: “अब हामी के गरौं? किनभने यस मानिसले [येशू] ता धेरै चिह्नहरू गरिरहेछ। यसलाई यसै छोडिदियौं भने सबैले यसलाई विश्‍वास गर्नेछ, र रोमीहरूले आएर हाम्रा ठाउँ र जातिलाई समेत लैजानेछ।” (यूहन्‍ना ११:४७, ४८) त्यस मृत व्यक्‍तिमाथि येशूले गर्नुभएको उपकारको तिनीहरूले वास्तै गरेनन्‌। तिनीहरूलाई आफ्नो ओहोदाको मात्र चिन्ता थियो। अतः “त्यस दिनदेखि तिनीहरूले उहाँलाई [येशू] मार्ने मतो बाँधे।”—यूहन्‍ना ११:५३.

१२ एकपछि अर्को दुष्टयाइँ गर्दै प्रधान पूजाहारीहरूले त्यसपछि “लाजरसलाई समेत मार्नालाई मतो गरे। किनभने तिनैले गर्दा यूहदीहरूमध्ये धेरै जना गएर येशूलाई विश्‍वास गरेका थिए।” (यूहन्‍ना १२:१०, ११) तर आफ्नो ओहोदा जोगाउन तिनीहरूले गरेको स्वार्थी प्रयत्न व्यर्थ थियो किनकि तिनीहरूलाई येशूले यसो भन्‍नुभएको थियो: “तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िनेछ।” (मत्ती २३:३८) ठीक येशूले भन्‍नुभएजस्तै त्यही पुस्ताभित्र रोमीहरूले ‘तिनीहरूको ठाउँ, तिनीहरूको राष्ट्र’ अनि जीवनलाई समेत खोसेर लगे।

मसीही मण्डलीमा मायालु गोठालाहरू

१३ आफ्नो बगालको हेरविचार गर्न यहोवाले क्रूर अनि स्वार्थी गोठालाहरूको सट्टा असल गोठालो येशूलाई खटाउनु हुनेथियो। भेडाहरूको हेरविचार गर्न उहाँले मायालु उपगोठालाहरू पनि खटाउने प्रतिज्ञा गर्नुभयो: “म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु जसले तिनीहरूको हेरचाह गर्नेछन्‌, तब तिनीहरू नता डराउनेछन्‌, न घबराउनेछन्‌।” (यर्मिया २३:४) तसर्थ प्रथम शताब्दीका मसीही मण्डलीहरूमा जस्तै आज पनि “हरेक शहरमा धर्म-गुरुहरू नियुक्‍त” गरिन्छ। (तितस १:५) शास्त्रमा उल्लिखित योग्यताहरू भएका यी आध्यात्मिक धर्म-गुरुहरूले “परमेश्‍वरको बगालको गोठालो” गर्नुपर्छ।—१ पत्रुस ५:२; १ तिमोथी ३:१-७; तितस १:७-९.

१४ भेडाहरूको हेरविचार गर्दा प्राचीनहरूले “सबैभन्दा बढ़ता” तिनीहरूप्रति “प्रगाढ़ प्रेम” राख्नुपर्छ। (१ पत्रुस ४:८) तर आफ्नो मर्यादा र ओहोदाको साह्रै चिन्ता गर्ने येशूका चेलाहरूले यो कुरा सिक्नुपरेको थियो। त्यसैकारण येशूका दुई चेलाहरूकी आमाले “तपाईंको राज्यमा यी मेरा दुइ छोराहरूमध्ये एउटा तपाइँको दाहिने हातपट्टि, र एउटा तपाईंको देब्रे हातपट्टि बस्न पाउनालाई हुकुम गर्नुहोस्‌” भनेर आग्रह गर्दा अरू चेलाहरू रुष्ट भए। त्यसपछि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “अन्य जातिका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्‌, र तिनीहरूका ठूला ठूलाहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्‌। तिमीहरूमा चाहिं ता यस्तो हुनेछैन तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ।”—मत्ती २०:२०-२८.

१५ अर्को पटक चेलाहरूले ‘को ठूलो हो भनी आपसमा विवाद’ गरिसकेपछि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “कोही मानिस पहिलो हुने इच्छा गर्छ भने, त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनेछ।” (मर्कूस ९:३४, ३५) नम्रता अनि सेवा गर्ने तत्परता तिनीहरूको व्यक्‍तित्वको भाग हुनुपर्ने थियो। यद्यपि त्यस्तो विचार त्याग्न चेलाहरूलाई गाह्रो परिरहेको थियो, किनकि येशूको मृत्यु हुनुभन्दा अगिल्लो रात, तिनीहरूबीच सबैभन्दा ठूलो को भनेर “चर्को वादविवाद” भएको थियो! प्राचीनले कसरी बगालको सेवा गर्नुपर्छ भनेर बताउनुभएपछि नम्रतापूर्वक तिनीहरूको पाऊ धोइदिएर देखाउनु हुँदा हुँदै पनि तिनीहरूले त्यस्तो गरे। उहाँले भन्‍नुभयो: “यदि मैले प्रभु र गुरु भईकन तिमीहरूका खुट्टा धोएको छु भने, तिमीहरूले पनि एका अर्काको खुट्टा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।”—लूका २२:२४; यूहन्‍ना १३:१४, १५.

१६ प्राचीनहरू येशूले भन्‍नुभए जस्तै हुनुपर्छ भनेर यहोवाका साक्षीहरूले सधैं सिकाउँदै आएका छन्‌। झण्डै एक शताब्दीअघि अप्रिल १, १८९९ को वाच टावर ले १ कोरिन्थी १३:१-८ मा दिइएका पावलका शब्दहरू उल्लेख गरेपछि यसो भन्यो: “ज्ञान र वाक्पटुता हुनु नहुनु सबैभन्दा महत्त्वपूर्ण जाँच होइन तर हाम्रो हृदय अनि सारा जीवनपद्धति प्रेमले भरिएर हाम्रो नश्‍वर शरीरलाई परिचालन तथा नियन्त्रण गरिरहेको छ कि छैन भन्‍ने कुरा हाम्रो वास्तविक परीक्षा अनि हाम्रो ईश्‍वरीय सम्बन्धको वास्तविक प्रमाण हो भनी प्रेरित पावलका शब्दहरूले स्पष्ट उल्लेख गर्छ। . . . चर्चको सेवकको रूपमा स्वीकृत हुन र पवित्र कुराहरूको सेवा गर्न कुनै पनि व्यक्‍तिमा हुनुपर्ने प्रमुख गुण प्रथमतः प्रेमको आत्मा हो।” प्रेमले विभोर भई नम्रतापूर्वक सेवा नगर्ने पुरुषहरू “खतरनाक शिक्षकहरू हुन्‌ र सम्भवतः तिनीहरूले असलभन्दा बढी हानि नै गर्नेछन्‌” भनेर पनि उक्‍त पत्रिकाले उल्लेख गऱ्‍यो।—१ कोरिन्थी ८:१.

१७ तसर्थ, धर्म-गुरुहरूले भेडाहरूमाथि ‘अधिकार जमाउनु’ हुँदैन। (१ पत्रुस ५:३) बरु “एक अर्कोप्रति कोमल मनको र दयालु” भई तिनीहरूले नेतृत्व लिनुपर्छ। (एफिसी ४:३२) यस कुरालाई पावलले यसरी जोड दिए: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर। . . . र यी सबै कुराभन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।”—कलस्सी ३:१२-१४.

१८ पावलले त्यसो गर्न सिके। तिनले यसो भने: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं। त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्‍वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” (१ थिस्सलोनिकी २:७, ८) ती शब्दहरूअनुरूप तिनले यसो भने: “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर, सबैसँग सहनशीलता देखाओ।” (१ थिस्सलोनिकी ५:१४) भेडाले जस्तोसुकै समस्या ल्याएपनि प्राचीनहरूले हितोपदेश २१:१३ लाई सम्झनुपर्छ: “कसैले असहायको बिन्ती सुनेन भने त्यसले पनि सहायताको निम्ति पुकारा गर्दा त्यसको बिन्ती सुनिनेछैन।”

१९ प्रेमपूर्वक बगालको गोठालो गर्ने धर्म-गुरुहरू भेडाहरूका लागि आशिष्‌ हुन्‌। यशैया ३२:२ ले यस्तो अगमवाणी गऱ्‍यो: “औ प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै हुनेछ।” हामी खुशी छौं, आज हाम्रा अधिकांश प्राचीनहरू त्यस स्फूर्तिदायी विवरणसित मेल खान्छ। तिनीहरूले निम्न सिद्धान्तलाई पालन गर्न सिकेका छन्‌: “भ्रातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ। मनमा एउटाले अर्कोको बढ़ता कदर गर।” (रोमी १२:१०) प्राचीनहरूले यस्तो किसिमको प्रेम अनि विनम्रता देखाउँदा भेडाहरूले “तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ उच्च आदर” दिन्छन्‌।—१ थिस्सलोनिकी ५:१२, १३.

स्वेच्छाको कदर गर्नुहोस्‌

२० आफैले निर्णयहरू गर्ने स्वेच्छासाथ यहोवाले मानिसहरू सृजनुभएको थियो। प्राचीनहरूले सल्लाह वा अनुशासन दिन सक्ने भए तापनि तिनीहरूले अरूको जीवन अथवा विश्‍वासलाई नियन्त्रण गर्न मिल्दैन। पावलले यसो भने: “तिमीहरूका विश्‍वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दका सहयोगी हौं, किनकि विश्‍वासबाटनै तिमीहरू स्थिर छौ।” (२ कोरिन्थी १:२४) हो, “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:५) उहाँको नियम तथा सिद्धान्तका परिधिभित्र यहोवाले हामीलाई प्रशस्त स्वतन्त्रता दिनुभएको छ। तसर्थ शास्त्रीय सिद्धान्तहरू नमुछिएका क्षेत्रहरूमा नियमहरू बनाउनदेखि प्राचीनहरू अलग बस्नुपर्छ। र कसैले त्यस्ता विचारधाराप्रति असहमति प्रकट गर्दा आफ्नै व्यक्‍तिगत विचारलाई सिद्धान्तको रूपमा थोपर्नु अथवा आफ्नो अहम्‌ भावना घुसाउने प्रवृत्तिको तिनीहरूले प्रतिरोध गर्नुपर्छ।—२ कोरिन्थी ३:१७; १ पत्रुस २:१६.

२१ रोममा कैदी हुँदा पावलले एसिया माइनरको कलस्सीमा बस्ने दासको मसीही मालिक फिलेमोनसित कस्तो व्यवहार गरे याद गर्नुहोस्‌। फिलेमोनको दास ओनसिमस रोम भागेर त्यहीं नै मसीही बनेका थिए र पावललाई मदत गर्दैथिए। पावलले फिलेमोनलाई यसरी लेखे: “त्यसलाई सुसमाचारको बन्धनमा, तिम्रो पक्षमा मेरो सेवा गरोस्‌ भनेर, म आफैकहाँ राख्नेथिएँ। तर तिम्रो सल्लाहविना म केही गर्नचाहन्‍नँ, तिम्रो भलाइ अनिवार्य जस्तोगरी होइन, तर स्वेच्छाबाट होस्‌।” (फिलेमोन १३, १४) ओनसिमससित मसीही भाइलाईजस्तै व्यवहार गर्न आग्रह गर्दै पावलले तिनलाई फिलेमोनकहाँ फर्काइदिए। बगाल आफ्नो होइन भनेर पावललाई थाहा थियो; त्यो परमेश्‍वरको थियो। तिनी त्यसका मालिक होइन तर सेवक थिए। पावलले फिलेमोनमाथि हैकम चलाएनन्‌ बरु तिनको स्वेच्छाको कदर गरे।

२२ परमेश्‍वरको सङ्‌गठन बढ्‌दै जाँदा अझ धेरै प्राचीनहरू नियुक्‍त गरिन्छन्‌। तिनीहरू लगायत अनुभवी प्राचीनहरूले आफ्नो ओहोदा विनम्र सेवाका लागि हो भनी बुझ्नुपर्छ। तब मात्र परमेश्‍वरले नयाँ संसारतर्फ आफ्नो सङ्‌गठनलाई डोऱ्‍याउँदै लानुहुँदा उहाँको इच्छाबमोजिम वृद्धि हुँदै जानेछ। अर्थात्‌ सुसङ्‌गठित रूपमा त्यो वृद्धि हुनेछ तर कार्यक्षमताको नाउँमा प्रेम र सहानुभूतिलाई अवहेलना गरिनेछैन। यसप्रकार, भेडाखाले मानिसहरूका लागि उहाँको सङ्‌गठन अझ आकर्षक बन्‍नेछ र “परमेश्‍वरलाई प्रेम गर्नेहरू[का] . . . निम्ति . . . सब कुरा मिलेरनै तिनीहरूका भलाइको निम्ति काम गर्दछन्‌” भन्‍ने प्रमाण त्यसमा देख्नेछन्‌। प्रेममा आधारित सङ्‌गठनबाट त्यस्तै आशा गर्न सकिन्छ, किनकि “प्रेम कहिल्यै टल्दैन।”—रोमी ८:२८; १ कोरिन्थी १३:८. (w94 10/1)

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ यहोवाले आफ्ना जनहरूप्रति राख्नुहुने चिन्तालाई बाइबलले कसरी वर्णन गर्छ?

◻ परमेश्‍वरको बगालको हेरचाह गर्ने सम्बन्धमा येशूले कस्तो भूमिका निभाउनुहुन्छ?

◻ प्राचीनहरूमा हुनुपर्ने प्रमुख गुण के हो?

◻ प्राचीनहरूले किन भेडाहरूको स्वेच्छालाई विचार गर्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१, २. यहोवाको प्रबल गुण के हो र यो कसरी प्रकट हुन्छ?

३. यहोवाले आफ्ना भेडाहरूको हेरचाह गर्नुहुने तरिकाबारे भजनरचयिताले कसरी वर्णन गरे?

४. परमेश्‍वरको बगालको हेरचाह गर्ने सम्बन्धमा येशूको कस्तो भूमिका छ?

५. मानिसहरूप्रति येशू कस्तो महसुस गर्नुहुन्थ्यो?

६. बोझले लादिएका मानिसहरूको येशूले कसरी ख्याल राख्नुभयो?

७. आफ्नो कुरा सुन्‍ने मानिसहरूलाई येशूले कोतर्फ डोऱ्‍याउनुभयो?

८. परमेश्‍वरका जनहरूले देखाउने आज्ञाकारिता अनि सांसारिक शासकहरूप्रति अरूले देखाउने आज्ञाकारिता कसरी भिन्‍न छ?

९, १०. पुरातन इस्राएल र प्रथम शताब्दीका धार्मिक नेताहरू कस्ता थिए वर्णन गर्नुहोस्‌।

११, १२. (क) येशूको समयका धार्मिक नेताहरूको दुष्टता कसरी चुलिसम्मै पुग्यो? (ख) अन्तमा रोमीहरूले ती धार्मिक नेताहरूलाई के गरे?

१३. यहोवाले आफ्नो बगाललाई चराउन कसलाई पठाउने प्रतिज्ञा गर्नुभयो?

१४, १५. (क) कस्तो मनोवृत्ति विकास गर्न चेलाहरूलाई कठिन पऱ्‍यो? (ख) प्राचीनहरू नम्र सेवकहरू हुनुपर्छ भनेर येशूले कसरी देखाउनुभयो?

१६. प्राचीनहरूमा हुनुपर्ने महत्त्वपूर्ण गुणबारे १८९९ मा वाच टावर ले कस्तो टिप्पणी गऱ्‍यो?

१७. प्राचीनहरूमा हुनुपर्ने गुणहरूबारे बाइबलले कसरी प्रकाश पार्छ?

१८. (क) भेडाहरूसित व्यवहार गर्ने सम्बन्धमा पावलले कस्तो असल उदाहरण बसाले? (ख) प्राचीनहरूले किन भेडाहरूका आवश्‍यकताहरूलाई बेवास्ता गर्नुहुँदैन?

१९. मायालु प्राचीनहरू किन आशिष्‌ हुन्‌ र भेडाहरूले त्यस्तो प्रेमको कस्तो प्रत्युत्तर दिन्छन्‌?

२०. प्राचीनहरूले स्वेच्छाको कदर किन गर्नुपर्छ?

२१. फिलेमोनप्रति पावलले देखाएको मनोवृत्तिबाट के सिक्न सकिन्छ?

२२. (क) प्राचीनहरूले आफ्नो ओहोदालाई कस्तो सम्झनुपर्छ? (ख) यहोवाले कस्तो किसिमको सङ्‌गठन विकास गर्दै हुनुहुन्छ?

[पृष्ठ १४-मा भएको चित्र]

“असल गोठालो,” येशूले सहानुभूति देखाउनुभयो

[पृष्ठ १५-मा भएको चित्र]

भ्रष्ट धार्मिक नेताहरूले येशूलाई मार्ने षडयन्त्र रचे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने