प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १२/१ pp. २५-३०
  • प्रेमको सिद्ध गाँठोमा एकताबद्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमको सिद्ध गाँठोमा एकताबद्ध
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्ञानसित जोडिएको सामञ्जस्यता
  • अलमल्याउने कुराले सामञ्जस्यतामा हानि पुऱ्‍याउनसक्छ
  • फुस्लाउने तर्कहरूदेखि होशियार हुनु आवश्‍यक
  • यहोवाले तपाईंलाई शक्‍तिशाली बनाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • ‘उनमा छिपेका’ खजानाहरू प्राप्त गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • अरूलाई यहोवाको योग्य चालमा चल्न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मानवजातिलाई परमेश्‍वरको ज्ञान चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १२/१ pp. २५-३०

प्रेमको सिद्ध गाँठोमा एकताबद्ध

“प्रेममा एकसाथ [गाँसिऔं]।”—कलस्सी २:२.

सुन्‍नुहोस्‌! स्वर्गको चारैकुनामा एउटा ठूलो आवाजले के भनिरहेको छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:१२) वर्षेनी यो समाचार पृथ्वीका बासिन्दाहरूलाई झन्‌ झन्‌ अनिष्टकारी हुँदै गएको छ।

२ यहोवाको सबैभन्दा ठूलो शत्रुलाई धेरैअघि विरोधी (शैतान) र निन्दक (दियाबल) भनी परिचित गराइसकेको छ। तर यो ठगाहाले अहिले अर्कै दुष्ट भूमिका निभाउँदै आएको छ—त्यो हो क्रोधित ईश्‍वरको! किन? किनभने १९१४ मा स्वर्गमा सुरु भएको युद्धमा माइकल र तिनका दूतहरूले त्यसलाई त्यसका दूतहरू समेत स्वर्गबाट फ्याँकिदिएको थियो। (प्रकाश १२:७-९) परमेश्‍वरको उपासना गर्नदेखि सबै मानिसलाई तर्काउन सक्छु भन्‍ने आफ्नो चुनौती प्रमाणित गर्न अब कम समय मात्र बाँकि छ भनेर दियाबललाई थाहा छ। (अय्यूब १:११; २:४, ५) कतै उम्कने ठाउँ नपाएकोले शैतान र त्यसका दूतहरू रीसले चूर भएका मौरीहरूको झुण्डजस्तै अस्थिर मानवजातिमाथि जाइलागेको छ।—यशैया ५७:२०.

३ आज सारा मानवजातिबीच भइरहेको नैतिक पतनको कारण मानव चक्षुदेखि ओझल यस्ता घटनाहरूले बताउँछ। सँगै मिलेर बस्नै नसक्ने राष्ट्रहरूबीच आएको फाटोलाई टाल्न मानिसहरूले किन व्यग्र प्रयास गर्दैछ भनेर पनि त्यसले बताउँछ। जातीय तथा साम्प्रदायिक समूहहरूले एकअर्कामाथि नृशंस आक्रमण गरेर लाखौं व्यक्‍तिहरूलाई घरवारविहीन अनि छरप्रष्ट पारेका छन्‌। साँच्चै भन्‍ने हो भने, अपूर्व रूपमा अधर्म बढेको छ! येशूले अगमवाणी गर्नुभएझैं ‘धेरैको प्रेम सेलाउँदै गएको छ।’ जता हेर्नुहोस्‌ अस्थिर मानवतालाई आज वैमनस्यता अनि प्रेमशून्यताले चिह्नित गरेको देखिन्छ।—मत्ती २४:१२.

४ संसारको यस्तो परिस्थितिले गर्दा आफ्ना अनुयायीहरूका लागि येशूले गर्नुभएको प्रार्थना अझ सार्थक हुन जान्छ: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूहन्‍ना १७:१५, १६) आज, विशेषगरि “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” हरूमाथि त्यस “दुष्ट” ले आफ्नो रीस पोखाइरहेको छ। (प्रकाश १२:१७) यहोवाले मायालु चिन्ता लिएर निगरानी नगर्नुभएको भए शायद उहाँको एउटै पनि विश्‍वासी साक्षी बाच्ने थिएन होला। हाम्रो जीवन परमेश्‍वरले हाम्रो आध्यात्मिक सुरक्षा तथा हितका लागि गर्नुभएका सम्पूर्ण प्रबन्धहरूको लाभ उठाउनुमाथि निर्भर छ। यसमा कलस्सी १:२९ मा प्रेरित पावलले भनेझैं ख्रीष्टद्वारा सञ्चालित परमेश्‍वरको शक्‍तिअनुरूप चल्न यत्न गर्नु पनि समावेश छ।

५ कलस्सीका भाइहरूसित सम्भवतः प्रत्यक्ष भेटघाट नभए तापनि पावलले उनीहरूलाई प्रेम गर्थे। तिनले उनीहरूलाई यसो भने: “मलाई तिमीहरूको कत्ति चिन्ता लाग्छ भनी तिमीहरूले थाहा पाए हुन्थ्यो जस्तो मलाई लाग्छ।” (कलस्सी २:१, जे. बी. फिलिप्सको द न्यु टेस्टामेन्ट इन मोडर्न इङ्‌गलिस) येशूका अनुयायीहरू यस संसारका भाग नभएकोले त्यस “दुष्ट” ले भाइहरूबीच संसारको आत्मा छरेर तिनीहरूको एकता तोड्‌ने कोशिश गर्ने थियो। वास्तवमा केही हदसम्म त्यस्तो भएको थियो भनेर कलस्सीबाट इप्राफासले ल्याएको समाचारले सङ्‌केत गर्छ।

६ आफ्ना मसीही भाइहरूप्रति पावलले व्यक्‍त गरेका चिन्ताहरूमध्ये एउटालाई सङ्‌क्षेपमा यसो भन्‍न सकिन्छ: ‘प्रेममा एकसाथ गाँसिऔं।’ फूट अनि प्रेमशून्यताले भरिएको आजको यस संसारमा पावलका शब्दहरूको विशेष महत्त्व छ। पावलको सल्लाहलाई हृदयङ्‌गम गऱ्‍यौं भने यहोवाले हामीप्रति राख्नुहुने चिन्ताको लाभ उठाउनेछौं। साथै यस संसारको दबाबको प्रतिरोध गर्न हामीलाई मदत गर्ने उहाँको आत्माको शक्‍ति हाम्रो जीवनमा क्रियाशील भएको पनि अनुभव गर्नेछौं। कस्तो बुद्धिमतापूर्ण सल्लाह! अतः सन्‌ १९९५ का लागि कलस्सी २:२ मुख्य पद हुनेछ।

७ यसअघि कोरिन्थीलाई लेखेको पत्रमा प्रेरित पावलले मानव शरीरलाई उदाहरणको रूपमा चलाएका थिए। अभिषिक्‍त मसीही मण्डलीहरूबीच कुनै “फूट नहोस्‌” बरु “एउटाले अर्कोको निम्ति एकै किसिमको वास्ता राखून्‌” भनी तिनले लेखे। (१ कोरिन्थी १२:१२, २४, २५) कस्तो अद्‌भुत उदाहरण! हाम्रा हातहरू एकआपसमा निर्भर अनि शरीरका बाँकि अङ्‌गहरूसित जोडिएका छन्‌। अभिषिक्‍त जन तथा पार्थिव प्रमोदवनमा बाँच्ने आशा लिएका लाखौं व्यक्‍तिहरू मिलेर बनेको हाम्रो विश्‍वव्यापी भ्रातृत्वमा पनि त्यही सिद्धान्त लागू हुन्छ। पराधिन भएर बाँच्न हामीले आफैलाई सङ्‌गी भाइचाराको शरीरदेखि पटक्कै अलग गर्नु हुँदैन! ख्रीष्ट येशूद्वारा सञ्चालित परमेश्‍वरको आत्मा हाम्रा भाइहरूसितको हाम्रो सङ्‌गति मार्फत ठूलो मात्रामा प्रवाह हुन्छ।

ज्ञानसित जोडिएको सामञ्जस्यता

८ पावलको सल्लाहका मुख्य बुँदाहरूमध्ये एक, मसीही सामञ्जस्यता विशेषगरि ख्रीष्टसँग सम्बन्धित ज्ञानसित जोडिएको छ भन्‍ने थियो। मसीहीहरू “प्रेममा एकसाथ गाँसिएको भई, समझको पूर्ण निश्‍चयताको सारा सम्पत्तिमा . . . परमेश्‍वरको रहस्य, अर्थात्‌ ख्रीष्टलाई चिनून्‌” भनी पावलले लेखे। (कलस्सी २:२) परमेश्‍वरको वचन अध्ययन गर्न थालेदेखि हामीले ज्ञान अर्थात्‌ तथ्यहरू आर्जन गरेका छौं। ती तथ्यहरू परमेश्‍वरको उद्देश्‍यमा कसरी मिल्छन्‌ भनेर बुझ्ने सम्बन्धमा हामी येशूको निर्णायक भूमिकाबारे बुझ्छौं। “जसमा ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌।”—कलस्सी २:३.

९ येशू र उहाँले परमेश्‍वरको उद्देश्‍यमा निभाउनुहुने भूमिकाबारे के तपाईं त्यस्तै महसुस गर्नुहुन्छ? येशूलाई स्वीकारेका छौं र उहाँद्वारा बचाइएका छौं भनी मसीहीजगतका धेरै मानिसहरू दावा गर्दै उहाँबारे फ्याट्ट बोलिहाल्छन्‌। तर के वास्तवमा तिनीहरूले साँच्चै नै उहाँलाई चिनेका छन्‌ त? अहँ छैनन्‌, किनकि अधिकांश व्यक्‍तिहरू गैर-शास्त्रीय त्रिएक सिद्धान्तमाथि विश्‍वास गर्छन्‌। तर तपाईंसित यससम्बन्धी सत्य कुरा मात्र नभई सम्भवतः येशूले भन्‍नु अनि गर्नुभएका कुराहरूको विस्तृत ज्ञान पनि होला। लाखौं व्यक्‍तिहरूले आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष नामक जानकारीमूलक पुस्तकबाट त्यस्तो ज्ञान पाउने मदत पाएका छन्‌। यद्यपि, येशू अनि उहाँका तौर-तरिकाहरूबारे हामीले आफ्नो ज्ञान बढाउँदै लानुपर्छ।

१० येशूमै “ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌” भन्‍नुको तात्पर्य हामीले त्यस्तो ज्ञान र बुद्धि बुझ्नै सक्दैनौं भनेको होइन। बरु, त्यसलाई खुला खानीसँग तुलना गर्न सकिन्छ। खानी खुला छ भने कहाँदेखि खन्‍न सुरु गर्नु पर्ला भनेर हामीले ठूलो क्षेत्रमा धुइँधुइँती खोज्दै हिंड्‌नु पर्दैन। साँचो ज्ञान, येशू ख्रीष्टबारे बाइबलले प्रकट गर्ने कुराहरूबाट सुरु हुन्छ भनेर हामीले पहिल्यै थाहा पाइसक्यौं। यहोवाको उद्देश्‍य पूरा गर्न येशूले निभाउनु हुने भूमिकालाई अझ राम्ररी बुझ्दै जाँदा साँचो बुद्धि र सही ज्ञानको गाड धन भेट्टाउँछौं। अतः हामीले गर्नुपर्ने काम आफूले खनिसकेको स्रोतलाई झन्‌ झन्‌ गहिराइसम्म खन्दै त्यसमा भएका रत्न तथा अमूल्य कुराहरू निकाल्नु हो।—हितोपदेश २:१-५.

११ उदाहरणको लागि, येशूले आफ्ना प्रेरितहरूको पाउ धुनुभएको थियो भनेर हामीलाई थाहा होला। (यूहन्‍ना १३:१-२०) तर त्यस उदाहरणद्वारा उहाँले सिकाइरहनुभएको शिक्षा अनि देखाउनुभएको मनोवृत्तिमाथि के हामीले मनन गरेका छौं? त्यसो गरेमा बुद्धिको गाड धन निकाल्नेछौं र कुनै भाइ वा बहिनीको व्यक्‍तित्वले गर्दा धेरैअघिदेखि चिढिएका रहेछौं भने आफ्नो व्यवहार परिवर्तन गर्ने मदतका साथै उत्प्रेरणा पाउनेछौं। अथवा आफूलाई त्यति मन नपर्ने खालको काम दिइएको छ भने यूहन्‍ना १३:१४, १५ को पूरा अर्थ बुझेपछि शायद हाम्रो राय अर्कै हुनसक्छ। यसप्रकार ज्ञान र बुद्धिले हामीलाई असर गर्छ। ख्रीष्टबारे सिकेको थप ज्ञानलाई राम्ररी आफ्नो व्यवहारमा उताऱ्‍यौं भने त्यसले अरूमाथि कस्तो असर पार्ला? शायद पूरै बगाल ‘प्रेममा अझ एकसाथ गाँसिएका हुन सक्लान्‌।’a

अलमल्याउने कुराले सामञ्जस्यतामा हानि पुऱ्‍याउनसक्छ

१२ यदि सही ज्ञानले हामीलाई ‘प्रेममा एकसाथ गाँस्छ’ भने “ज्ञान कहिलिएका झूटा” कुराहरूले कस्तो नतिजा ल्याउँछ? ठीक विपरीत—वादविवाद, मतभेद र विश्‍वासदेखि तर्किनु। अतः पावलले तिमोथीलाई चेतावनी दिएझैं हामी पनि त्यस्ता झूटा ज्ञानहरूदेखि सावधान हुनैपर्छ। (१ तिमोथी ६:२०, २१) पावलले यो पनि लेखे: “म यो भन्छु, कि कसैले फकाइफुस्लाइको बातले तिमीहरूलाई नछलोस्‌। होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:४, ८.

१३ कलस्सीका मसीहीहरू कपटपूर्ण प्रभाव अर्थात्‌ ज्ञान कहलिएका झूटा कुराहरूले घेरिएका थिए। कलस्सी र वरपरका थुप्रै मानिसहरूले युनानी तत्त्वज्ञानहरूलाई ठूलो मान्यता दिन्थे। चाडका दिन र भोजनसम्बन्धी रीतिथितिजस्ता मोशाका व्यवस्था मसीहीहरूलाई मनाउन लगाएर यहूदी रीतिरिवाजलाई कायमै राख्न खोज्ने केही धूर्त मानिसहरू पनि त्यहाँ थिए। (कलस्सी २:११, १६, १७) आफ्ना भाइहरूले साँचो ज्ञान आर्जन गरेकोमा पावलले विरोध गर्न चाहेका थिएनन्‌ तर जीवन तथा अन्य क्रियाकलापप्रति सामान्य मानवी विचार राख्न फुस्लाउने तर्कहरूद्वारा विश्‍वस्त गराएर कसैले आफूलाई शिकार नबनाऊन्‌ भनेर तिनीहरू होशियार हुनुपर्थ्यो। मण्डलीका कुनै पनि सदस्यले आफ्नो विचार-पद्धति अनि निर्णयहरूलाई जीवनप्रतिको त्यस्ता अशास्त्रीय सिद्धान्त तथा धारणाहरूद्वारा नियन्त्रित हुन दिएमा मण्डलीका सदस्यहरूबीच विद्यमान एकता अनि प्रेममा किन दखल पुग्छ भनेर अब तपाईं बुझ्न सक्नुहुन्छ।

१४ तर तपाईं सोच्नुहोला, ‘हो, कलस्सीहरूले सामना गर्नुपरेको खतरालाई मैले पनि बुझें तर अमर आत्मा वा त्रिएक परमेश्‍वरजस्ता युनानी सिद्धान्तहरू प्रभावित हुनसक्ने खतरामा म छैन; र झूटो धर्मबाट उम्किसकेकोले गैरमसीही छुट्टीहरूदेखि लोभिने खतरामा पनि म छैन।’ शास्त्रमा दिइएका येशूद्वारा प्रकटित आधारभूत सत्य कुराहरूको श्रेष्ठतामाथि पूर्ण रूपले पक्का हुनु राम्रो कुरा हो। तथापि, कतै यस्तो नहोस्‌, हामी आज संसारमा व्याप्त अन्य तत्त्वज्ञान वा मानव दृष्टिकोणबाट प्रभावित हुने खतरामा पो छौं कि?

१५ तीमध्ये यो एउटा मनोवृत्ति निकै अघिदेखि चलिआएको छ: “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पूर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरि सबै कुरा चलिआएका छन्‌।” (२ पत्रुस ३:४) त्यस्तो अनुभूतिलाई बेग्लै ढङ्‌गमा पनि प्रस्तुत गर्न सकिएला तर दृष्टिकोण भने त्यस्तै हुन्छ। उदाहरणको लागि, कसैले यसो भनेर तर्क गर्ला, ‘दश-बीस वर्षअघि मैले सच्चाइ सिक्दा भोलि नै अन्त आउला जस्तो थियो तर खै त? अहिलेसम्म केही भएको छैन र कहिले आउने हो कसलाई के थाहा?’ हो, अन्त कहिले आउने हो त्यो कसैलाई थाहा छैन। यद्यपि, येशूले कस्तो दृष्टिकोण राख्न आग्रह गर्नुभयो, ध्यान दिनुहोस्‌: “होशियार रहो, जागा बस . . . किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ।”—मर्कूस १३:३२, ३३.

१६ अन्त आउने कहिले हो कहिले त्यसकारण अहिले नै सन्तृप्त र तथाकथित “सामान्य” जीवनको योजना बनाउनुपर्छ भन्‍ने दृष्टिकोण अपनाउनु कति खतरनाक हुनेछ! त्यस्तो धारणा यसो भनेर तर्क गर्नुमा पनि झल्किन सक्छ, ‘राम्रो आम्दानी हुने र आरामदायी जीवन बिताउन मिल्ने जागिर मैले (वा मेरा छोराछोरीले) खोजे त्यस्तो के बिग्रन्छ र? अवश्‍य म मसीही सभाहरू धाइहाल्छु र बेला मौकामा प्रचारमा पनि गइहाल्छु तर त्यसमै सारा बल खर्च गर्न वा ठूल-ठूला त्यागहरू किन गर्नु पऱ्‍यो र?’—मत्ती २४:३८-४२.

१७ तथापि, सुसमाचार प्रचार गर्न बाँकि कम समयलाई ध्यानमा राख्दै प्रयत्नशील हुन र त्यागहरू गर्न इच्छुक हुँदै बाँच्न येशू अनि उहाँका प्रेरितहरूले सुझाव दिनुभएको थियो भन्‍ने कुरामा दुई मत छैन। पावलले यस्तो लेखे: “तर ए भाइ हो, म यो भन्दछु, कि समय अल्प भएको छ, र अब उप्रान्त पत्नी भएका मानिसहरू पत्नी हुँदै नभएकाहरूजस्तै होऊन्‌, . . . [र धन सम्पत्ति भएकाहरू नभएका जस्तै होउन्‌ न्युव], औ यस संसारका रीतिमा चल्नेहरू नचल्नेहरूजस्ता होऊन्‌, किनभने यस संसारको रूप बितेर जाँदैछ।”—१ कोरिन्थी ७:२९-३१; लूका १३:२३, २४; फिलिप्पी ३:१३-१५.; कलस्सी १:२९; १ तिमोथी ४:१०; २ तिमोथी २:४; प्रकाश २२:२०.

१८ आरामदायी जीवनलाई आफ्नो लक्ष्य बनाउने सुझाव दिनुको सट्टा पावलले प्रेरणाद्वारा यो लेखे: “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं। . . . विश्‍वासको उत्तम लड़न्त लड़। अनन्त जीवन पक्री राख, जसमा तिमीलाई बोलावट भएको थियो, र धेरै गवाहीहरूका सामनेमा उत्तम धर्मको सारलाई स्वीकार गरेका थियौ।”—१ तिमोथी ६:७-१२.

१९ ‘असल गवाही दिन’ कडा प्रयत्न गर्ने जोशिला मसीहीहरू मिलेर मण्डली बनेको छ भने स्वाभाविकतः त्यहाँ सामञ्जस्य हुन्छ। तिनीहरू यस्तो मनोवृत्ति अपनाउँदैनन्‌, ‘धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति मेरोनिम्ति थुप्रिएको छ। त्यसकारण आरामीसित बस्छु खान्छु, पिउँछु, र रमाइलो गर्छु।’ (लूका १२:१९) बरु, फेरि कहिल्यै नदोहरिने प्रचार-कार्यमा यथासम्भव धेरैभन्दा धेरै भाग लिन तिनीहरू त्यागहरू गर्न इच्छुक हुन्छन्‌ र त्यसका लागि एक भएर यत्न गर्छन्‌।—फिलिप्पी १:२७, २८ तुलना गर्नुहोस्‌।

फुस्लाउने तर्कहरूदेखि होशियार हुनु आवश्‍यक

२० ‘प्रेममा एकसाथ गाँस्न’ नदिने ‘फुस्लाउने तर्कहरू’ वा फोस्रो छलहरूदेखि मसीहीहरू बहकिन सक्ने अन्य तरिकाहरू नभएका होइनन्‌। जमर्नीस्थित वाच टावर सोसाइटी शाखा कार्यालयले यस्तो रिपोर्ट दियो: “एउटा मामिलाले गर्दा थुप्रै मण्डलीहरूमा निकै वादविवाद भयो, प्रकाशकहरू र प्राचीनहरू समेत एक जना भाइले अपनाएको उपचार-विधिको पक्ष विपक्ष लिन थाले।” तिनीहरूले यो पनि थपे: “विभिन्‍न उपचार-विधि र थुप्रै रोगीहरूले गर्दा यो विवादास्पद विषय बन्‍न पुगेको हो र उपचार-विधिमा कुनै धार्मिक भावना मुछिएको छ भने त्यसले खतरा ल्याउन सक्छ।”—एफिसी ६:१२.

२१ परमेश्‍वरको उपासना गर्न सकोस्‌ भनेर मसीहीहरू जीवित अनि स्वस्थ रहन चाहन्छन्‌। तैपनि असिद्धताको कारण हामी यस रीतिरिवाजमा वृद्ध अनि रोगी हुन्छौं। अतः स्वास्थ्यसम्बन्धी विवादहरूमाथि जोड दिनुको सट्टा हामीले आफ्नो अनि अरूको हित हुने वास्तविक समाधानतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। (१ तिमोथी ४:१६) पावलले कलस्सीहरूलाई दिएको सल्लाहको केन्द्रबिन्दु येशू हुनुभएझैं यस समाधानको केन्द्रबिन्दु पनि उहाँ नै हुनुहुन्छ। तर स्मरण रहोस्‌, ख्रीष्टेदखि हाम्रो ध्यान फर्काएर, सम्भवतः निदान-विधि, उपचार-विधि वा भोजनतर्फ लैजान केही व्यक्‍तिहरू “फुस्लाइको बात” लिएर आउँछन्‌ भनेर पावलले सङ्‌केत दिएका थिए।—कलस्सी २:२-४.

२२ सारा संसारका मानिसहरूमाथि हर प्रकारका उपचार तथा निदान-विधिहरूको विज्ञापन अनि प्रमाणपत्रहरू एकसाथ थोपरिएका छन्‌। तीमध्ये केही विधिहरू व्यापक रूपमा प्रयोग गरिन्छन्‌ र मान्यताप्राप्त पनि छन्‌; तर अरू केही भने व्यापक रूपमा आलोचना र शङ्‌का उपशङ्‌काको तारो भएका छन्‌।b आफ्नो स्वास्थ्यको लागि के गर्ने के नगर्ने त्यो व्यक्‍तिविशेषको जिम्मेवारी हो। तर ज-जसले कलस्सी २:४, ८ मा पावलले दिएको सल्लाहलाई स्वीकार्छन्‌ तिनीहरू त्यस्तो “फुस्लाइको बात” वा “फोस्रो छल” बाट बहकनदेखि बच्नेछन्‌ जसले गर्दा धेरै व्यक्‍तिहरू भर्मिएका छन्‌ र राज्य आशा गुमाएकोले मदतको साह्रै खाँचोमा परेका छन्‌। यदि एक जना मसीहीलाई त्यस्तो कुनै उपचार-विधि आफ्नो लागि असल लागेछ नै भने पनि उसले मसीही भ्रातृत्वमा त्यसको प्रचार-प्रसार गर्नु नहुने हो, किनकि त्यो व्यापक छलफल र वादविवादको विषय बन्‍नसक्छ। यसरी एक जना मसीहीले मण्डलीको सामञ्जस्यताको महत्त्वलाई ठूलो आदर गर्छ भनी देखाउनसक्छ।

२३ मसीही सामञ्जस्यता साँचो आनन्दको आधार हो भनी प्रेरित पावलले जोड दिए। निस्सन्देह तिनको समयमा आजभन्दा कम मण्डलीहरू थिए। तैपनि कलस्सीहरूलाई तिनले यो लेख्न सके: “किनकि शरीरमा म अनुपस्थित भए तापनि तिमीहरूको चाल-ढङ्‌ग र ख्रीष्टमा तिमीहरूको विश्‍वासको स्थिरता हेरेर रमाउँदै, म आत्मामा तिमीहरूसँग छु।” (कलस्सी २:५, साथै कलस्सी ३:१४ पनि हेर्नुहोस्‌) हामी आनन्दित हुने कति ठूलो कारण! सारा संसारमा छरिएका परमेश्‍वरका जनहरूको सामान्य स्थिति प्रतिबिम्बित गर्ने हाम्रो आफ्नै मण्डलीमा हामीले सामञ्जस्यता, सुव्यवस्था र दृढ विश्‍वास देख्न सकेका छौं। अतः यस वर्तमान रीतिरिवाजमा बाँकि भएको कम समयमा हामी सबै “प्रेममा एकसाथ गाँसिएको” हुन कटिबद्ध हौं। (w94 12/15)

[फुटनोटहरू]

a हामीले शिक्षा पाउन सक्ने विवरणहरू प्रशस्त भए तापनि निम्न उदाहरणहरूबाट व्यक्‍तिगत तवरमा येशूबारे सिकेर आफ्नो मण्डलीको एकतामा के योगदान दिन सक्नुहुन्छ, जाँचेर हेर्नुहोस्‌: मत्ती १२:१-८; लूका २:५१, ५२; ९:५१-५५; १०:२०; हिब्रू १०:५-९.

b द वाचटावर, जून १५, १९८२, पृष्ठ २२-९ हेर्नुहोस्‌।

के तपाईंले याद गर्नुभयो?

◻ यहोवाका साक्षीहरूका लागि १९९५ को वार्षिक पद कुन हो?

◻ कलस्सीका मसीहीहरू किन प्रेममा एकसाथ गाँसिनु आवश्‍यक थियो र आज हामी पनि त्यस्तै किन हुनुपर्छ?

◻ जीवनप्रति कस्तो कपटपूर्ण दृष्टिकोण राख्नदेखि आज विशेषगरि मसीहीहरू सतर्क हुनुपर्छ?

◻ स्वास्थ्य अनि निदान-विधिसम्बन्धी फुस्लाउने तर्कहरूदेखि नबहकिन मसीहीहरू किन सतर्क हुनुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१, २. फूट ल्याउने कस्तो प्रभाव विशेषगरि आजकल महसुस गरिन्छ?

३. आज हाम्रो समयमा शैतानको पतित अवस्थाको कस्तो असर परिरहेको छ?

४. परमेश्‍वरका जनहरू किन विशेष खतरामा छन्‌?

५, ६. कलस्सीका मसीहीहरूबारे पावलले कस्तो महसुस गरे, र १९९५ लागि छानिएको मूल पद किन उपयुक्‍त छ?

७. साँचो मसीहीहरूबीच कस्तो सामञ्जस्यता हुनुपर्छ?

८, ९. (क) मण्डलीको सामञ्जस्यताका लागि हामीले दिने योगदानको आधार के हो? (ख) तपाईंले कसरी ख्रीष्टको ज्ञान लिनु भएको छ?

१०. छिपेको ज्ञान हाम्रोनिम्ति कसरी उपलब्ध छ?

११. येशूबारे मनन गरेर हाम्रो ज्ञान अनि बुद्धिलाई कसरी बढाउन सक्छौं? (येशूले चेलाहरूको पाउ धुनुभएको वा अन्य कुनै उदाहरण चलाउनुहोस्‌।)

१२. कुन ज्ञानको सम्बन्धमा हामी सतर्क हुनु आवश्‍यक छ?

१३, १४. (क) ज्ञानको सम्बन्धमा कलस्सीका भाइहरू किन खतरामा थिए? (ख) त्यस्तो खतरामा छैनन्‌ भनेर आज केही व्यक्‍तिहरूले किन महसुस गर्न सक्छन्‌?

१५, १६. जीवनप्रतिको कस्तो दृष्टिकोणले मसीही सोचाइलाई असर गर्नसक्छ?

१७, १८. येशू तथा प्रेरितहरूले हामीलाई कस्तो दृष्टिकोण राख्न आग्रह गरे?

१९. मण्डलीका सदस्यहरूले जीवनप्रति येशूले समर्थन गर्नुभएको दृष्टिकोण राख्नाले पूरै मण्डलीमा त्यसको कस्तो असर पर्छ?

२०. मसीहीहरू बहकिन सक्ने अर्को क्षेत्र कुन हो?

२१. आज एक जना मसीहीले सही ठाउँमा ध्यान केन्द्रित गर्नदेखि कसरी चुक्नसक्छ?

२२. निदान तथा उपचारसम्बन्धी अनगिन्ती दावीहरूको सम्बन्धमा हामीले कस्तो सन्तुलित दृष्टिकोण राख्नु पर्ने हो?

२३. विशेषगरि हामीसित आनन्दित हुने कारण किन छ?

[पृष्ठ २९-मा भएको चित्र]

के तपाईंका भावी योजनाहरू येशूको उपस्थितिमाथि केन्द्रित छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने