प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १२/१५ pp. १४-१९
  • अरूलाई यहोवाको योग्य चालमा चल्न मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूलाई यहोवाको योग्य चालमा चल्न मदत गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कलस्सी मण्डलीकाहरूको लागि
  • तोकेरै प्रार्थना गर्नुहोस्‌
  • अरूलाई बलियो बनाउन प्रयास गर्नुहोस्‌
  • इप्राफास—“ख्रीष्टका एक विश्‍वासी सेवक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • परिपक्व भई सम्पूर्ण रूपले निर्धक्क भएका होओ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवाले तपाईंलाई शक्‍तिशाली बनाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • एकअर्कालाई सुदृढ पार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १२/१५ pp. १४-१९

अरूलाई यहोवाको योग्य चालमा चल्न मदत गर्नुहोस्‌

“हामीले . . . तिमीहरूका निम्ति प्रार्थना र बिन्ती गर्न छोड़ेका छैनौं, [ ताकि] हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै [ जाओ]।”–कलस्सी १:९, १०.

१, २. खास गरेर कुन कुरा आनन्द अनि सन्तुष्टिको स्रोत हुनसक्छ?

“हामी एउटा खेतको सानो घरमा बस्छौं। आफ्नो जीवन सरल बनाएर हामीले थुप्रै स्थानीय मानिसहरूलाई सुसमाचार सुनाउन समय निकाल्न सकेका छौं। फलस्वरूप, यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्न थुप्रैलाई मदत दिने सुअवसर पाएका छौं।”—दक्षिण अफ्रिकामा पूर्ण-समय सेवा गर्ने विवाहित दम्पती।

२ अरूलाई मदत गर्दा आनन्द प्राप्त हुन्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न? कसै कसैले बिरामी, गरिब वा एक्लोहरूलाई नियमित तवरमा मदत गर्ने कोसिस गर्छन्‌ र त्यसबाट सन्तुष्टि प्राप्त गर्छन्‌। साँचो मसीहीहरू अरू मानिसलाई दिनसक्ने सबैभन्दा ठूलो मदत, यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टको ज्ञान लिन सहयोग गर्नु हो भनेर निश्‍चित छन्‌। यसद्वारा मात्र मानिसहरू येशूको छुडौतीको बलिदान स्वीकार्न, परमेश्‍वरसित असल सम्बन्ध विकास गर्न अनि अनन्त जीवनको निम्ति योग्य हुनसक्छन्‌।—प्रेरित ३:१९-२१; १३:४८.

३. कस्तो प्रकारको मदतले हाम्रो ध्यान आकर्षण गर्नुपर्ने हो?

३ तथापि, परमेश्‍वरको सेवा गरिरहेकाहरूलाई परमेश्‍वरको “मार्ग[मा]” हिंड्‌न मदत गर्नेबारे चाहिं के भन्‍न सकिन्छ? (प्रेरित १९:९) निस्सन्देह, तिनीहरूप्रति निकै चासो राख्नुहुन्छ तर तपाईंलाई अझ बढी मदत दिने तरिका थाह नहुनसक्छ। अथवा आफ्नो व्यक्‍तिगत परिस्थितिले गर्दा अरूलाई मदत गर्ने सन्दर्भमा आफूले चाहेजति गर्न नसकिरहेको महसुस हुनसक्छ। अतः पूर्ण सन्तुष्टि प्राप्त भएको छैन होला। (प्रेरित २०:३५) यी दुवै पक्षबारे हामी कलस्सीको पुस्तकबाट सिक्नसक्छौं।

४. (क) पावलले कलस्सी मण्डलीलाई पत्र लेख्दा तिनको अवस्था कस्तो थियो? (ख) इप्राफास कसरी यसमा संलग्न भए?

४ प्रेरित पावलले कलस्सी मण्डलीका मसीहीहरूलाई पत्र लेख्दा तिनी रोममा नजरबन्द थिए। तर तिनले मानिसहरूलाई भेट्‌न पाउँथे। तपाईंले अनुमान लगाउनुभएझैं, पावलले आफ्नो सीमित स्वतन्त्रता चलाएर परमेश्‍वरको राज्य प्रचार गरे। (प्रेरित २८:१६-३१) सँगी मसीहीहरूले पावललाई भेट्‌न पाउँथे र सायद कोही कोही त तिनीसँगै कहिलेकाहीं बन्दी पनि भए होलान्‌। (कलस्सी १:७, ८; ४:१०) तीमध्ये एक, एसिया माइनरमा (अहिले टर्की) एफिससको पूर्वी पठार देश फ्रिगियाको कलस्सी शहरबाट आएका जोसिलो सुसमाचारक इप्राफास थिए। कलस्सीमा मण्डली स्थापना गर्न इप्राफासले निर्णायक भूमिका निर्वाह गरेका थिए अनि तिनले नजिकैको लाओडिसिया र हिरापोलिस मण्डलीहरूको लागि पनि निकै परिश्रम गरेका थिए। (कलस्सी ४:१२, १३) इप्राफास पावललाई रोममा भेट्‌न किन गए र हामीले पावलको प्रतिक्रियाबाट के सिक्नसक्छौं?

कलस्सी मण्डलीकाहरूको लागि

प्रभावकारी मदत

५. पावलले कलस्सी मण्डलीलाई किन त्यस्तो पत्र लेखे?

५ कलस्सी मण्डलीको अवस्थाबारे पावलसित सल्लाह गर्नका लागि इप्राफासले रोमसम्मको कष्टदायी यात्रा गरेका थिए। तिनले त्यहाँका मसीहीहरूको विश्‍वास, प्रेम र प्रचार गर्ने प्रयासबारे रिपोर्ट गरे। (कलस्सी १:४-८) यद्यपि, कलस्सी मण्डलीको आध्यात्मिकता नै खतरामा पार्नसक्ने नकारात्मक प्रभावहरूबारे तिनलाई लागिरहेको चिन्ता पनि पावललाई बताएको हुनुपर्छ। पावलले यसको जवाफमा एउटा प्रेरित पत्र लेखे र झूटा शिक्षकहरूले फैलाइरहेको केही शिक्षाहरूको प्रतिरोध गरे। विशेष गरी, येशू ख्रीष्टले निर्वाह गर्नुपर्ने मुख्य भूमिकातिर तिनले ध्यानाकर्षण गरे।a के यो मदत महत्त्वपूर्ण बाइबल सत्यहरूमा जोड दिनुमा मात्र सीमित थियो? तिनले कलस्सी मण्डलीलाई अरू कुन तरिकामा मदत गर्नसक्थे र यसबाट हामीले अरूलाई मदत गर्ने सन्दर्भमा कस्तो पाठ सिक्नसक्छौं?

६. पावलले कलस्सी मण्डलीलाई लेखेको पत्रमा कुन कुरालाई जोड दिए?

६ पावलले आफ्नो पत्रको सुरुमा हामीले बेवास्ता गर्नसक्ने कुरामा अन्तरदृष्टि प्रदान गरे। पावल र इप्राफास कलस्सीबाट टाढा भएको कारण त्यो प्रभावकारी मदत दिने एउटा माध्यम थियो। पावलले निश्‍चयताका साथ यसो भने: “हामी आफ्ना प्रभु येशू ख्रीष्टका पिता परमेश्‍वरलाई तिमीहरूका निम्ति सधैं प्रार्थना गर्दै धन्यवाद चढ़ाउँछौं।” हो, कलस्सी मण्डलीका मसीहीहरूको निम्ति यो तोकेरै गरिएको प्रार्थना थियो। पावलले अझ यसो भने: “हामीले त्यो सुनेको दिनदेखि सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले तिमीहरू पूर्ण होओ भनेर हामीले पनि तिमीहरूका निम्ति प्रार्थना र बिन्ती गर्न छोड़ेका छैनौं।”—कलस्सी १:३, ९.

७, ८. हाम्रो व्यक्‍तिगत र मण्डलीमा गरिने प्रार्थनामा अक्सर कस्ता विषयहरू समावेश गरिन्छ?

७ हामीलाई यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ भनेर थाह छ। त्यसैले, हामीले उहाँको इच्छाअनुरूप प्रार्थना गर्दा उहाँ सुन्‍न तयार हुनुहुन्छ भनेर विश्‍वस्त हुनसक्छौं। (भजन ६५:२; ८६:६; हितोपदेश १५:८, २९; १ यूहन्‍ना ५:१४) तर अरूको लागि प्रार्थना गर्ने सन्दर्भमा हाम्रो प्रार्थना कस्तो छ?

८ हामी अक्सर ‘यस संसारमा भएका सम्पूर्ण दाज्यू-भाइहरूबारे’ विचार गरेर प्रार्थना गर्छौं होला। (१ पत्रुस ५:९) वा प्राकृतिक प्रकोप अथवा अन्य दुःखद्‌ घटनाहरूबाट प्रभावित भएका मसीहीहरू र अरूबारे यहोवालाई पुकार्छौं होला। प्रथम शताब्दीताक यहूदियामा अनिकाल परेको कुरा अन्य ठाउँमा बस्ने चेलाहरूले सुन्दा तिनीहरूले उद्धार कोषहरू पठाउनुअघि नै आफ्ना भाइहरूको निम्ति निकै चोटि प्रार्थना गरेको हुनुपर्छ। (प्रेरित ११:२७-३०) अहिले हाम्रो समयमा सम्पूर्ण भ्रातृत्व वा भाइहरूको ठूलो समूहको निम्ति मण्डलीहरूमा सार्वजनिक प्रार्थना गरिने हुँदा सबैले बुझ्नुपर्छ र “आमिन” भन्‍नसक्ने हुनुपर्छ।—१ कोरिन्थी १४:१६.

तोकेरै प्रार्थना गर्नुहोस्‌

९, १०. (क) व्यक्‍तिविशेषहरूको निम्ति प्रार्थना गर्नु पनि उचित हो भनेर कस्ता उदाहरणहरूले देखाउँछ? (ख) पावल कसरी खास प्रार्थनाका विषय हुन पुगे?

९ यद्यपि, बाइबलमा हामी तोकेरै व्यक्‍तिविशेषको निम्ति गरिएका प्रार्थनाहरूको उदाहरण पाउँछौं। लूका २२:३१, ३२ मा लिपिबद्ध गरिएको येशूको टिप्पणीलाई विचार गर्नुहोस्‌। उहाँसँग ११ जना विश्‍वासी प्रेरितहरू थिए। आउन लागेको कठिन समयमा तिनीहरू सबैलाई परमेश्‍वरको सहयोगको खाँचो पर्ने थियो र येशूले तिनीहरूको निम्ति प्रार्थना गर्नुभयो। (यूहन्‍ना १७:९-१४) तैपनि, येशूले पत्रुसको मात्र नाउँ लिनुभएर खास गरी तिनको निम्ति प्रार्थना गर्नुभयो। यस्तै अन्य उदाहरण पनि छन्‌, जस्तै: एलीशाले एक जना खास मानिस अर्थात्‌ तिनको चाकरको मदतको निम्ति परमेश्‍वरलाई प्रार्थना गरे। (२ राजा ६:१५-१७) प्रेरित यूहन्‍नाले गायस शारीरिक तथा आध्यात्मिक तवरमा कुशल रहोस्‌ भनेर प्रार्थना गरे। (३ यूहन्‍ना १, २) अनि त्यस्तै अन्य प्रार्थना सीमित समूहमा केन्द्रित थिए।—अय्यूब ४२:७, ८; लूका ६:२८; प्रेरित ७:६०; १ तिमोथी २:१, २.

१० पावलका पत्रहरूले तोकेरै गरिएका प्रार्थनाहरूतर्फ हाम्रो ध्यानाकर्षण गर्छ। तिनले, तिनी वा तिनी अनि तिनका सँगीहरूको निम्ति प्रार्थना गर्न आग्रह गरे। कलस्सी ४:२, ३ मा हामी यस्तो लेखिएको पाउँछौं: “धन्यवादसाथ त्यसमा सतर्क रहेर दृढ़सँग प्रार्थनामा निरन्तर लागिरहो, साथसाथै हाम्रा निम्ति पनि प्रार्थना गर्दैगर, ख्रीष्टको त्यो रहस्य बोल्नालाई परमेश्‍वरले हाम्रा निम्ति वचनको ढोका खोलिदिऊन्‌, जसको निम्ति म बाँधिएको पनि छु।” यी अन्य उदाहरणहरूलाई पनि विचार गर्नुहोस्‌: रोमी १५:३०; १ थिस्सलोनिकी ५:२५; २ थिस्सलोनिकी ३:१; हिब्रू १३:१८.

११. रोममा छँदा इप्राफासले कसको निम्ति प्रार्थना गरिरहेका थिए?

११ रोममा पावलका सँगीहरूको सन्दर्भमा पनि यो कुरा सही साबित भयो। “प्रार्थनामा तिमीहरूका निम्ति बराबर प्रयत्न गर्दै . . . तिमीहरूमध्येका एक, इप्राफासले तिमीहरूलाई सलाम भन्दछन्‌।” (कलस्सी ४:१२) यहाँ उल्लिखित “प्रयत्न” शब्दको अर्थ पुरातन खेलहरूमा जिम्नास्टीक खेलाडीहरूले गर्नुपर्ने “संघर्ष” जस्तो पनि हुनसक्छ। के इप्राफासले विश्‍वभरिका विश्‍वासीहरूका लागि मात्र वा एसिया माइनरभरि भएका साँचो उपासकहरूका लागि पनि व्यग्र प्रार्थना गरिरहेका थिए? इप्राफासले खास गरी कलस्सी मण्डलीका भाइबहिनीहरूका लागि प्रार्थना गर्दै थिए भनी पावलले संकेत गरे। इप्राफासलाई तिनीहरूको अवस्था थाह थियो। हामीलाई तिनीहरू सबैको नाउँ थाह छैन न त तिनीहरूले सामना गर्नुपरेका समस्याहरूबारे नै थाह छ तर केही सम्भावनाहरू विचार गर्नुहोस्‌। सायद, लिनस भन्‍ने युवकले त्यतिबेलाका दर्शनहरूको प्रभावमा नपर्न संघर्ष गरिरहेका थिए र रूफसलाई पहिलेको यहूदी धर्मको रीतिथितिप्रति आकर्षित नहुन बल चाहिएको थियो होला। बेग्लै धर्म मान्‍ने पति भएको परसीसलाई आफ्ना छोराछोरी प्रभुमा हुर्काउन धीरज र बुद्धि अनि घातक रोगबाट पीडित असिंक्रितसलाई थप सान्त्वना चाहिएको थिएन होला र? हो, इप्राफासले आफ्नो स्थानीय मण्डलीका ती सबैलाई चिन्थे र तिनले निष्कपटतासाथ तिनीहरूको निम्ति प्रार्थना गरे किनभने तिनी र पावल दुवै ती समर्पित व्यक्‍तिहरू यहोवासामु योग्य चालमा चलेको चाहन्थे।

१२. हामी कसरी आफ्नो व्यक्‍तिगत प्रार्थनामा अझ खास खास बुँदा समावेश गर्नसक्छौं?

१२ अरूलाई मदत गर्ने सन्दर्भमा के तपाईंले हाम्रोनिम्ति उदाहरण पाउनुभयो? माथि उल्लेख गरिएझैं मसीही सभाहरूमा गरिने सार्वजनिक प्रार्थना विविध श्रोताहरूको कारण एउटा खास विषयमा निर्दिष्ट हुँदैन। तर हाम्रो व्यक्‍तिगत वा पारिवारिक प्रार्थना खास विषयमा गर्नसक्छौं। सबै परिभ्रमण निरीक्षक वा आध्यात्मिक गोठालाहरूलाई डोऱ्‍याउनुका साथै आशिष्‌ दिनुहोस्‌ भनेर हामीले परमेश्‍वरलाई प्रार्थना गरे तापनि हामीले कहिलेकाहीं तोकेरै प्रार्थना गरे कसो होला? उदाहरणका लागि, तपाईंको मण्डलीमा भ्रमण गरिरहेका क्षेत्रीय निरीक्षक वा तपाईंको पुस्तक अध्ययन सञ्चालकको निम्ति तिनीहरूको नाउँ नै लिएर प्रार्थना गरे कसो होला? फिलिप्पी २:२५-२८ र १ तिमोथी ५:२३ मा इपाफ्रोडाइटस र तिमोथीको स्वास्थ्यबारे पावलको चिन्ता व्यक्‍त गरिएको छ। के हामी पनि बिरामी भइरहेकाहरूको लागि नाउँ लिएर नै प्रार्थना गरेर त्यस्तो चासो देखाउन सक्दैनौं र?

१३. हाम्रो व्यक्‍तिगत प्रार्थनामा कस्ता कस्ता अवस्था समावेश गर्नसक्छौं?

१३ हो, हामीले अरूको व्यक्‍तिगत मामिलामा हात हाल्ने गर्नु हुँदैन तर हामीले चिन्‍ने र ख्याल राख्ने मानिसहरूबारे साँचो चासो प्रार्थनामा प्रकट गर्नु उचित हो। (१ तिमोथी ५:१३; १ पत्रुस ४:१५) कुनै भाइले जागिर गुमाएको हुनसक्छ र हामीले तिनलाई अर्को जागिर त दिन सक्दैनौं। तैपनि, हामीले आफ्नो व्यक्‍तिगत प्रार्थनामा तिनको नाउँ नै लिएर तिनका समस्याहरू उल्लेख गर्नसक्छौं। (भजन ३७:२५; हितोपदेश १०:३) के हामीले “प्रभुमा मात्र” विवाह गर्ने निधो गरेकीले पति र केटाकेटीविना नै बूढी भएकी अविवाहित बहिनीलाई चिनेका छौं? (१ कोरिन्थी ७:३९) तपाईंको व्यक्‍तिगत प्रार्थनामा यहोवासँग उनलाई आशिष्‌ दिन र सेवामा वफादार भएर लागिरहन मदत मागे कसो होला? अर्को उदाहरण लेऔं, दुई जना प्राचीनहरूले गल्ती गरेका भाइलाई सल्लाह दिएका हुनसक्छन्‌। तिनीहरू दुवैले आ-आफ्नो व्यक्‍तिगत प्रार्थनामा कहिलेकाहीं तिनको नाउँ उल्लेख गरे कसो होला?

१४. तोकेरै गरिने प्रार्थना अरूलाई मदत गर्नेसित कसरी सम्बन्धित छ?

१४ यहोवाको समर्थन, सान्त्वना, बुद्धि, पवित्र आत्मा वा उहाँका आत्माको अन्य कुनै फल चाहिरहेको हामीले चिनेका व्यक्‍तिविशेषहरूको नाउँ आफ्नो व्यक्‍तिगत प्रार्थनामा समावेश गर्नसक्छौं। आफू टाढा भएकोले वा अन्य परिस्थितिहरूको कारण उनीहरूलाई आफूले चाहेजस्तो भौतिक सहयोग वा प्रत्यक्ष मदत दिन सकिंदैन जस्तो तपाईंलाई लाग्नसक्छ। तर आफ्ना भाइबहिनीको निम्ति प्रार्थना गर्न नबिर्सनुहोस्‌। तिनीहरू यहोवासामु योग्य चालमा चल्न चाहन्छन्‌ भनेर तपाईंलाई थाह छ तर अन्तसम्म स्थिर रहन तिनीहरूलाई साँच्चै मदतको खाँचो परिरहेको हुनसक्छ। अरूलाई मदत गर्ने मुख्य तरिका तपाईंको प्रार्थना हो।—भजन १८:२; २०:१, २; ३४:१५; ४६:१; १२१:१-३.

अरूलाई बलियो बनाउन प्रयास गर्नुहोस्‌

१५. कलस्सीको पुस्तकको अन्तिम भागमा हामीले किन चासो लिनुपर्छ?

१५ निस्सन्देह, अरूलाई र अझ विशेष गरी आफ्नो नजिकका प्रिय जनहरूलाई मदत गर्ने एउटै मात्र तरिका तोकेरै गरिने प्रार्थना होइन। यो कुरा कलस्सीको पुस्तकले स्पष्ट पार्छ। थुप्रै शास्त्रविद्‌का अनुसार पावलले सैद्धान्तिक निर्देशन र व्यावहारिक सल्लाह दिइसकेपछि व्यक्‍तिगत अभिवादन तथा सलाम पनि पठाए। (कलस्सी ४:७-१८) त्यसो नभएर, यस पुस्तकका अन्तिम भागमा उल्लेखनीय सल्लाहहरू हुनुका साथै यसबाट धेरै कुरा सिक्न सकिन्छ भनेर हामीले थाह पाइसक्यौं।

१६, १७. कलस्सी ४:१०, ११ मा उल्लेख गरिएका भाइहरूबारे हामी के भन्‍नसक्छौं?

१६ पावलले यस्तो लेखे: “मेरा सँगी-कैदी अरिस्तार्खसले तिमीहरूलाई सलाम भन्दछन्‌। बर्णाबासको भाइ पर्ने मर्कूसले पनि, (जसको विषयमा लिएर कतै तिनी तिमीहरूकहाँ आइपुगे भने तिनलाई सत्कार गर्न भन्‍ने आज्ञा तिमीहरूले पाएका छौ) औ जस्तस भन्‍ने येशूले, यिनीहरू खतना भएका हुन्‌, परमेश्‍वरको राज्यको निम्ति मेरा सहकर्मी र मलाई सान्त्वना दिने मानिसहरू, यिनीहरू मात्र हुन्‌।”—कलस्सी ४:१०, ११.

१७ पावलले विशेष ध्यान दिन योग्य केही खास भाइहरूबारे बताए। तिनले बताएअनुसार तिनीहरू यहूदी पृष्ठभूमिका खतना गरिएकाहरू थिए। रोममा खतना गरिएका थुप्रै यहूदीहरू थिए र तिनीहरूमध्ये कोही कोही मसीही भइसकेका थिए। तैपनि, पावलले उल्लेख गरेकाहरू तिनको सहयोगको निम्ति जुटेका थिए। सम्भवतः अन्यजातिबाट आएका मसीहीहरूसित संगत गर्न तिनीहरू हिचकिचाएनन्‌ र तिनीहरूले खुसीसाथ अन्यजातिहरूलाई प्रचार गर्ने काममा पावललाई साथ दिएको हुनुपर्छ।—रोमी ११:१३; गलाती १:१६; २:११-१४.

१८. पावलले आफूसँग भएका कसै कसैको कसरी सराहना गरे?

१८ पावलको टिप्पणीलाई ध्यान दिनुहोस्‌: “मलाई सान्त्वना दिने [“सुदृढ पार्ने,” NW] मानिसहरू, यिनीहरू मात्र हुन्‌।” तिनले चलाएको युनानी शब्द बाइबलमा यहीं एक चोटि मात्र प्रयोग भएको पाइन्छ। थुप्रै अनुवादकले यसलाई “सान्त्वना” भनेर अनुवाद गर्छन्‌। तथापि, “सान्त्वना”-को निम्ति सामान्यतया अर्कै युनानी शब्द (पाराकालिओ) प्रयोग गरिन्छ। यसै पत्रको अन्य ठाउँहरूमा पावलले यो शब्द चलाए तर कलस्सी ४:११ मा होइन।—मत्ती ५:४; प्रेरित ४:३६; ९:३१; २ कोरिन्थी १:४; कलस्सी २:२; ४:८.

१९, २०. (क) पावललाई रोममा मदत गर्ने भाइहरूको निम्ति तिनले प्रयोग गरेका अभिव्यक्‍तिको अर्थ के हो? (ख) ती भाइहरूले पावललाई कुन तरिकामा मदत गरेको हुनुपर्छ?

१९ पावलले नाउँ लिएकाहरूले तिनलाई मौखिक सान्त्वना मात्र दिएको हुन सक्दैन। कलस्सी ४:११ मा “सुदृढ पार्ने” भनी अनुवाद गरिएको युनानी शब्द स्वास्थ्यसम्बन्धी पुस्तकहरूमा पीडा कम गर्ने औषधीको मिश्रणको नाउँको रूपमा पनि कहिलेकाहीं प्रयोग गरिन्थ्यो। न्यु लाइफ भर्सन-मा यस्तो लेखिएको छ: “तिनीहरू मेरोनिम्ति ठूलो मदत साबित भएका छन्‌!” टुडेज इंग्लिस भर्सन-ले यस्तो वाक्यांश चलाएको छ: “तिनीहरू मेरोलागि निकै मदत साबित भएका छन्‌।” पावलसँगै भएका ती मसीही भाइहरूले तिनलाई सहयोग गर्न के के गरेको हुनुपर्छ?

२० मानिसहरूले पावललाई भेट्‌न पाउँथे तर तिनले गर्न नसक्ने अन्य थुप्रै कुरा थियो। जस्तै, खाना तथा जाडोको निम्ति आधारभूत लुगाफाटाहरू किन्‍न सक्दैन थिए। अध्ययनको निम्ति चर्मपत्र र लेख्नका लागि सामग्रीहरू कहाँबाट ल्याउने? (२ तिमोथी ४:१३) ती भाइहरूले पावलका आधारभूत आवश्‍यकताहरू पूरा गर्न बजार जाने वा तिनको निम्ति अन्य कामहरू गरिदिएको के तपाईं कल्पना गर्न सक्नुहुन्‍न र? तिनी कुनै मण्डलीको अवस्था जानेर प्रोत्साहन दिन चाहन्थे होला। थुनिएकोले तिनी त्यसो गर्न असमर्थ थिए। त्यसैले, ती भाइहरूले पावलका सन्देशहरू लैजान र रिपोर्टहरू ल्याउन यात्रा गरेको हुनुपर्छ। कस्तो प्रोत्साहनदायी कुरा!

२१, २२. (क) कलस्सी ४:११ का शब्दहरू हाम्रोनिम्ति किन चासोको विषय हुनुपर्छ? (ख) पावलसित रोममा भएकाहरूको हामीले अनुकरण गर्नसक्ने केही तरिकाहरू के हुन्‌?

२१ “सुदृढ पार्ने” भन्‍ने पावलको अभिव्यक्‍तिबाट हामीले अरूलाई मदत गर्ने सन्दर्भमा अन्तरदृष्टि पाउनसक्छौं। यहोवाको नैतिक स्तर पालन गरेर, मसीही सभाहरू धाएर र प्रचारकार्यमा भाग लिएर तिनीहरू उहाँको योग्य चालमा चलेका हुनसक्छन्‌। त्यसको लागि तिनीहरू हाम्रो प्रशंसाको योग्य छन्‌। तर पावलसँग भएका ती भाइहरूले जस्तै के हामी पनि अझ ‘सुदृढ पार्नसक्छौं?’

२२ के तपाईं १ कोरिन्थी ७:३७ बुद्धिमानीपूर्वक पालन गरेका कोही बहिनी तपाईंले चिन्‍नुहुन्छ? अहिले तिनको नजिकको परिवार कोही पनि छैन भने के तपाईं तिनलाई तपाईंको कुनै पारिवारिक गतिविधि जस्तै, खाना खान बोलाउने वा साथी वा नातेदारहरूको सानो जमघटमा बोलाउन सक्नुहुन्छ? तपाईंको परिवारसँगै अधिवेशन वा बिदामा जान आमन्त्रित गर्न सक्नुहुन्छ कि? यसबाहेक तपाईं तिनलाई पायक पर्ने बेला आफूसँगै बजार जान बोलाउन सक्नुहुन्छ। विधवा वा विधुरहरू अथवा यताउता आफै गर्न नसक्ने असमर्थ भएकाहरूलाई पनि त्यस्तै गर्न सक्नुहुन्छ। तिनीहरूको अनुभव सुन्‍ने वा राम्रो फलफूल वा बच्चाहरूको लुगा छान्‍ने जस्तो सामान्य कुरामा पनि तिनीहरूको राय लिनु इनामदायी हुनसक्छ। (लेवी १९:३२; हितोपदेश १६:३१) यसो गर्दा स्वतः सम्बन्ध अझ घनिष्ठ हुन्छ। अतः कुनै औषधी वा त्यस्तै अन्य केही चीज किन्‍नुपर्दा तपाईंसित मदत माग्न अप्ठ्यारो महसुस गर्नेछैनन्‌। पावलसँग रोममा भएका भाइहरूले तिनलाई व्यावहारिक ढंगमा सुदृढ पारेका हुनसक्छन्‌ र तपाईंले पनि त्यसै गर्न सक्नुहुन्छ। पहिले र अहिले, प्रेमको बन्धनलाई अझ बलियो बनाउने र हामीसँगै मिलेर वफादारीपूर्वक यहोवाको  सेवा गर्ने दृढ संकल्प थप आशिष्‌ हो।

२३. हामी प्रत्येकले कुन कुरामा समय बिताउनु उचित हो?

२३ हामी प्रत्येकले यस लेखमा उल्लेख गरिएका परिस्थितिहरूबारे विचार गर्नसक्छौं। तिनीहरू केवल उदाहरण मात्र भए तापनि ती उदाहरणहरूले हामीलाई आफ्ना भाइबहिनीहरूलाई के कस्तो अवस्थामा ‘सुदृढ पार्नसक्छौं’ भनेर सम्झाउनसक्छ। यहाँ हामीले मानवतावादी भाव विकास गर्नुपर्छ भन्‍न खोजेको होइन। कलस्सी ४:१०, ११ मा उल्लेख गरिएका भाइहरूको उद्देश्‍य त्यो थिएन। तिनीहरू “परमेश्‍वरको राज्यको निम्ति सहकर्मी” थिए। सुदृढ पार्ने प्रभाव सीधै त्यससित सम्बन्धित थियो। हाम्रो सन्दर्भमा पनि त्यस्तै होस्‌।

२४. अरूको निम्ति प्रार्थना गर्नु र अरूलाई सुदृढ पार्न खोज्नुको हाम्रो मुख्य कारण के हो?

२४ हामी आफ्नो व्यक्‍तिगत प्रार्थनामा अरूको नाउँ नै लिएर सम्झन्छौं र उनीहरूलाई सुदृढ पार्ने प्रयास गर्छौं। किनकि हाम्रा भाइबहिनीहरू अन्तसम्मै “हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न” चाहन्छन्‌ भनी हामी विश्‍वस्त छौं। (कलस्सी १:१०) त्यो कुरा इप्राफासले कलस्सी मण्डलीको लागि गरेको प्रार्थनाको सन्दर्भमा पावलले लेखेका अर्को कुरासित सम्बन्धित छ। त्यो हो, तिनीहरू “परमेश्‍वरका सब इच्छामा सिद्ध र पूरा निश्‍चय भएका” होऊन्‌। (कलस्सी ४:१२) हामी व्यक्‍तिगत तवरमा यो कसरी प्राप्त गर्नसक्छौं? आउनुहोस्‌, हामी हेरौं।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ ४९०-१ र “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल” पृष्ठ २२६-८ हेर्नुहोस्‌।

के तपाईंले याद गर्नुभयो ?

• हाम्रो व्यक्‍तिगत प्रार्थनामा हामी कसरी अझ मदतकारी हुनसक्छौं?

• कुन अर्थमा केही मसीहीहरू पावलका निम्ति ‘सुदृढ पार्ने’ स्रोत भएका थिए?

• कस्ता परिस्थितिहरूमा हामी “सुदृढ पार्ने[हरू ]” हुनसक्छौं?

• हामीले अरूको निम्ति प्रार्थना गरेर तिनीहरूलाई सुदृढ पार्न खोज्नुको मुख्य कारण के हो?

[पृष्ठ १८-मा भएको चित्र]

तपाईंको पारिवारिक गतिविधिमा अरू मसीही भाइबहिनीलाई पनि समावेश गर्न सक्नुहुन्छ कि ?

[स्रोत]

Courtesy of Green Chimney’s Farm

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने