प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १/१ pp. २०-२३
  • अरूसित बाँड्‌ने बहुमूल्य धन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूसित बाँड्‌ने बहुमूल्य धन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आमाको प्रेरणादायी उदाहरण
  • हाम्रा धनहरू पूर्ण-समय बाँड्‌नु
  • लक्ष्य पूरा गर्दै
  • माल्टा र लिब्या
  • नयाँ निर्दिष्ट कार्यभार
  • कुष्ठ रोगीहरूको बस्ती
  • धनले सह्‍मालिएको
  • यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • सृष्टिकर्ताको सेवा गरिरहने अठोट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • “सबै किसिमका मानिसहरूका लागि सबै कुरा भएको छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १/१ pp. २०-२३

अरूसित बाँड्‌ने बहुमूल्य धन

ग्लोरिया मालास्पीनाको वृत्तान्तमा आधारित

जसै समुद्री तटबाट सिसिलीको दृश्‍य विलीन हुँदै गयो, मेरो पति र मैले हाम्रो गन्तव्यस्थान अर्थात्‌ भूमध्य सागरको माल्टा टापूमा ध्यान केन्द्रित गर्न थाल्यौं। माल्टामा जानु कस्तो उत्साहवर्धक प्रत्याशा थियो! जहाज समुद्र पारी पुगेपछि हामीले प्रथम शताब्दीमा प्रेरित पावलको माल्टामा भएको अनुभव सम्झन थाल्यौं।—प्रेरित २८:१-१०.

यो १९५३ सालतिरको कुरा हो र त्यतिबेला माल्टाले यहोवाका साक्षीहरूको प्रचार-कार्यलाई कानूनी मान्यता दिएको थिएन। त्यसको एक वर्षअघि वाचटावर बाइबल स्कूल अफ गिलियडबाट हामीले स्नातक प्राप्त गरेका थियौं र हामीलाई इटालीमा खटाइएको थियो। केही समयसम्म इटालेली भाषा अध्ययन गरिसकेपछि माल्टा जान हामी उत्सुक थियौं।

म, एउटी जवान स्त्री विदेशी मिसनरी कसरी बन्‍न पुगें? कुरा यस्तो हो।

आमाको प्रेरणादायी उदाहरण

सन्‌ १९२६ मा हाम्रो परिवार ओन्टारियो, क्यानाडाको फोर्ट फ्रान्सेस्‌मा छँदा बाइबल विद्यार्थीबाट (त्यतिबेला यहोवाका साक्षीहरू यही नाउँले चिनिन्थे) मेरी आमाले मिलियन्स्‌ नाऊ लिभिङ्‌ग विल नेभर डाई नामक पुस्तिका स्वीकार्नु भयो। तीव्र चासोका साथ उहाँले त्यो पढ्‌नुभयो र त्यही हप्ता वाच टावर पत्रिका प्रयोग गरेर सामूहिक बाइबल अध्ययनमा उपस्थित हुनुभयो। मेरी आमा बाइबल पढ्‌न असाध्यै मन पराउनुहुन्थ्यो र आफूले खोजिरहेको धनझैं उनले राज्य समाचारलाई स्वीकार्नुभयो। (मत्ती ६:३३; १३:४४) बुबाको हिंस्रक सतावट र तीन स-साना छोरीहरू पालनपोषण गर्नुपर्ने जिम्मेवारीको बावजूद सत्यको पक्षमा खडा हुन उनी दृढ हुनुभयो।

त्यसपछिको २० वर्षसम्म मेरी आमाले कायम गर्नुभएको अटल विश्‍वासले म र मेरी दुई दिदीहरू, थेल्मा र भियोलालाई धार्मिकताको नयाँ संसारमा अनन्त जीवनको अद्‌भुत आशाबारे सजग बनायो। (२ पत्रुस ३:१३) मेरी आमाले निकै कठिन परीक्षाहरू सामना गर्नुभयो तर उहाँले छान्‍नुभएको मार्गको सत्यताबारे हामीले कहिल्यै शङ्‌का गरेनौं।

म दश वर्षकी मात्र हुँदा सन्‌ १९३१ मा हामी सं.रा.अ. को उत्तरी मिनेसोटामा बसाइँ सऱ्‍यौं। त्यहाँ पुगेपछि यहोवाका साक्षीहरूको नियमित सङ्‌गतिबाट हामी चटक्कै छुट्यौं तर बाइबल आधारित आमाको निर्देशन भने हामीले पाइनै रह्‍यौं। कल्पोरट्योर अर्थात्‌ पूर्ण-समय सेवकको हैसियतमा आमाको समर्पित सेवाले त्यस काममा भाग लिन मलाई प्रेरित गऱ्‍यो। सन्‌ १९३८ मा डुलुथ, मिनेसोटामा सम्पन्‍न सम्मेलनमा मेरी दुई दिदीहरू र मैले यहोवाप्रति हाम्रो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दियौं।

मैले अग्रगामीको (कल्पोरट्योरको नयाँ नाउँ) हैसियतमा आफ्नो आर्थिक खाँचो टार्न सकोस्‌ भनेर १९३८ मा स्कूलको पढाइ सिद्धिएपछि मेरी आमाले मलाई व्यापारिक दक्षताहरू बढाउने तालिम लिन प्रोत्साहन गर्नुभयो। यो सल्लाह फाइदाजनक साबित भयो विशेषगरि जब बुबाले हामीलाई छाडेर जाने निर्णय गर्नुभयो।

हाम्रा धनहरू पूर्ण-समय बाँड्‌नु

अन्ततः म क्यालिफोर्नियामा बसाइँ सरें र सन्‌ १९४७ मा सान फ्रान्सिस्कोमा अग्रगामी कार्य थालें। लस एन्जलसमा “सारा राष्ट्रहरूको विस्तार” सम्मेलनको लागि पूर्वतयारीमा संलग्न हुँदा मैले फ्रान्सिस्‌ मालास्पीनालाई भेटें। हामी दुवैको मिसनरी कार्य गर्ने एउटै लक्ष्यले गर्दा एउटा मायालु सम्बन्ध थालनी भयो। सन्‌ १९४९ मा हाम्रो विवाह भयो।

सेप्टेम्बर १९५१ मा फ्रान्सिस्‌ र मैले गिलियडको १८ औं कक्षामा भर्ना हुने निमन्त्रणा पायौं। पाँच महीने तीव्र प्रशिक्षणपश्‍चात्‌ स्नातक हुने दिन, फेब्रुअरी १०, १९५२ मा हामीलाई पठाइने देशहरूको नाउँ वर्णानुक्रमअनुसार स्कूलका अध्यक्ष नेथन एच. नोरले पढेर सुनाउनुभयो। जसै उहाँले “भाइ तथा बहिनी मालास्पीना इटाली जानुहुनेछ” भन्‍नुभयो, उति नै खेर हामीले हाम्रो यात्राबारे परिकल्पना गर्न थाल्यौं।

दश दिने यात्रापश्‍चात्‌ जेनोआ, इटाली पुग्ने जहाज हामी केही हप्तापछि न्यु योर्कबाट चढ्यौं। ब्रुक्लिन मुख्यालयका जोभानी डाचेकी र म्याक्स्‌ लार्सन हामीलाई बिदाइ दिन नावाश्रयमा पुगिसकेका थिए। देशभित्र पस्न अध्यागमनसम्बन्धी सानातिना जटिल औपचारिकताहरूबारे अवगत मिसनरीहरूले जेनोआमा हाम्रो स्वागत गरे।

आफू वरपरका सबै कुराहरू देखेर रमाउँदै हामी बोलोनातर्फ जाने रेलमा चढ्यौं। हामी पुगेको सानो शहर, दोस्रो विश्‍व-युद्धका बमबारीहरूले अस्तव्यस्त पारेको अवस्था यथावतै थियो। तर त्यहाँ थुप्रै मनोरम कुराहरू पनि थिए, जस्तै बिहानीपख भुटेको कफीको मनमोहक सुगन्ध र अनेक प्रकारका पास्ताहरू तयार गर्न बनाइएका लेदोहरूका बास्ना।

लक्ष्य पूरा गर्दै

कण्ठस्थ तयार गरेको प्रस्तुतिबाट हामीले क्षेत्र सेवकाई थाल्यौं र हाम्रो समाचार स्वीकार नगरुन्जेल अथवा ढोका बन्द नगरुन्जेल हामीले त्यो प्रस्तुति दोहोऱ्‍यायौं। आफ्ना भावनाहरू व्यक्‍त गर्ने इच्छाले हामीलाई लगनशीलतापूर्वक भाषा सिक्न प्रेरित गऱ्‍यो। चार महिनापछि हामीलाई नेपल्स्‌मा अवस्थित नयाँ मिसनरी घरमा खटाइयो।

यो ठूलो शहर यसका रमणीय दृश्‍यहरूको लागि चिनिन्छ। हामीलाई त्यहाँ सेवकाई रमाइलो लाग्यो तर अर्को चार महिनापछि मेरो पतिलाई क्षेत्रीय अथवा परिभ्रमण कार्यमा खटाइयो। त्यसका लागि रोमदेखि सिसिलीबीचका मण्डलीहरू भ्रमण गर्नुपर्थ्यो। समयको दौडान हामी माल्टा र उत्तरी अफ्रिकाको लिबिया पनि गयौं।

त्यतिखेर नेपल्स्‌देखि सिसिलीसम्म रेलमा यात्रा गर्नु भनेको शारीरिक धैर्यताको जाँच थियो। हामी खचाखच भरिएको रेलमा चढ्‌थ्यौं र कहिलेकाहीं छदेखि आठ घण्टासम्म भीडमा उभेकै हुन्थ्यौं। तर यसले हामीलाई आफू वरपरका मानिसहरूको राम्ररी अध्ययन गर्ने राम्रो मौका प्रदान गऱ्‍यो। घरमा बनाइएको रक्सी राख्ने साँघुरो घाँटी भएको बडेमानको शीशीले निकै पटक त्यसको मालिकको लागि सीटको काम गर्थ्यो। अनि लामो यात्रा गर्दा कहिलेकाहीं आफ्नो प्यास मेटाउन पिउने पनि गर्थ्यो। मित्रैलो यात्रुहरूले पाउरोटी र सलामी हामीलाई प्रायजसो बाँड्‌थे। यस्तो आतिथ्य, हृदयग्राही अभिव्यक्‍तिलाई हामी असाध्यै मूल्याङ्‌कन गर्थ्यौं।

सिसिलीमा हामी हाम्रा भाइहरूलाई भेट्‌थ्यौं। पहाडको टुप्पाको मण्डलीसम्म हाम्रो सुटकेस पुऱ्‍याउन उहाँहरू साढे तीन घण्टासम्म हिंडेको हिंड्यै गर्नुहुन्थ्यो। हाम्रा मसीही भाइहरूको न्यानो स्वागतले हामी हाम्रो थकान बिर्सन्थ्यौं। कहिलेकाहीं हामी भरपर्दा खच्चरहरू चढ्‌थ्यौं तर हामीले कहिल्यै भीरमुनि हेर्दैन थियौं किनभने एउटा कदम एताउता पर्नेबित्तिकै हामी सोझै तल पुग्न सक्थ्यौं। कठिनाइहरू बावजूद बाइबल सत्यप्रति हाम्रा भाइहरूको दृढ अडानले हामीलाई सुदृढ पाऱ्‍यो र हामीप्रति देखाइएको प्रेमले हामीलाई तिनीहरूप्रति कृतज्ञ बनायो।

माल्टा र लिब्या

सिसिलीका भाइहरूको यादगारले ओतप्रोत भएर हामी माल्टातर्फ लाग्यौं। प्रेरित पावलले त्यहाँ असल मानिसहरू भेटेका थिए र हामीले पनि भेट्यौं। सेन्ट पल्स्‌ बे नामक खाडीमा आएको तूफानले हामीलाई प्रथम शताब्दीमा साना जहाजहरूले सामना गर्नुपरेको खतरा बुझ्न मदत गऱ्‍यो। (प्रेरित २७:३९–२८:१०) हाम्रो अर्को भ्रमण लिब्या थियो। हाम्रो कार्य प्रतिबन्धित भएको यस अफ्रिकी मुलुकमा हामीले कतिको सफलता प्राप्त गर्न सक्थ्यौं?

पुनः एक पटक हामीले पूर्णतया भिन्‍न संस्कृति अनुभव गऱ्‍यौं। भित्री शहरमा दायाँ बायाँ खम्बाहरू भएका सडकहरूमा हिँड्‌दा त्रिपोली शहरको दृश्‍य र आवाजले मेरो ध्यानाकर्षण गऱ्‍यो। दिउँसो सहारा मरुभूमिको ताप र रातको चिसोबाट जोगिन त्यहाँ पुरुषहरूले ऊँटको रौंबाट बनेका वस्त्रहरू लगाउँथे। आफू बस्ने ठाउँको वातावरणीय अवस्थाअनुसार मानिसहरूले छाँटकाँट गर्ने तरिकालाई पनि हामीले बुझ्न र आदर गर्न सिक्यौं।

यहोवामा पूरा भरोसा राख्नु पर्ने र त्यस्ता परिस्थितिहरूमा प्रचार गरेर बढी अनुभव बटुलेका ज्ञानी व्यक्‍तिहरूको निर्देशनहरू पछ्याउनु पर्ने आवश्‍यकताबारे हाम्रा भाइहरूको चनाखो जोशले हामीलाई धेरै कुरा सिकायो। हाम्रा मसीही भाइहरू बेग्लाबेग्लै राष्ट्रियताका थिए; यद्यपि यहोवाको सेवामा तिनीहरूले एकसाथ काम गरे।

नयाँ निर्दिष्ट कार्यभार

हाम्रो प्रचार-कार्यमा विरोध आएको हुँदा हामीले इटाली छाड्‌नुपऱ्‍यो तर सन्‌ १९५७ मा ब्राजिलमा नयाँ कार्यभार आनन्दपूर्वक स्वीकार्यौं। फ्रान्सिस्‌ र म त्यहाँको जीवन तथा रीतिथितिमा घुलमिल भयौं अनि आठ महिनापछि फ्रान्सिस्‌ले क्षेत्रीय कार्य गर्ने निमन्त्रणा पाए। हामीले बस, हवाइजहाज र पैदल यात्रा गऱ्‍यौं। यस बृहत्‌ सुन्दर देशमा यात्रा गर्नु हाम्रो लागि भूगोलको पाठ पढ्‌नु जस्तै थियो।

हाम्रो प्रथम क्षेत्रीय कार्यमा साऊ पाउलो शहरका दश मण्डलीहरू साथै साऊ पाउलो प्रान्तका भित्री र दक्षिणी तटवर्ती क्षेत्रका दश साना गाउँहरू समावेश थिए। त्यतिबेला ती गाउँहरूमा कुनै मण्डलीहरू थिएनन्‌। हामी बस्ने ठाउँ खोज्थ्यौं र त्यहाँ बस्ने चाँजोपाँजो मिलाइसकेपछि राज्य सुसमाचार लिएर घर-घर प्रचार गर्थ्यौं। वाच टावर सोसाइटीको एउटा शैक्षिक चलचित्रको निमन्त्रणा दिन हातेपर्चाहरू पनि मानिसहरूलाई दिन्थ्यौं।

चलचित्र, प्रोजेक्टर, ट्रान्सफर्मर, फाइल, साहित्य, निमन्त्रणा, र निमन्त्रणाहरूमा चलचित्र देखाइने स्थान छाप्ने रबर स्ट्याम्प बोकेर बसमा यात्रा गर्नु सजिलो कुरा थिएन। तुलनात्मक हिसाबमा लुगाफाटाहरू भएको हाम्रो सुटकेस त्यति ठूलो थिएन। खराब सडकहरूको कारण प्रोजेक्टर नबिग्रोस्‌ भनेर त्यसलाई हाम्रो काखमा नहल्लिने गरी राख्नुपर्थ्यो।

चलचित्र देखाउने ठाउँ भेट्टाइसकेपछि चलचित्र हेर्न आउन हामी घर-घर गएर निमन्त्रणाहरू बाँड्‌थ्यौं। कहिलेकाहीं हामीले रेस्टुरेन्ट अथवा होटेलमा चलचित्र देखाउने अनुमति पायौं। अन्य समयमा भने खुला मैदानमा चलचित्र देखाउन दुइटा लट्ठीहरूको बीचमा तन्‍ना टाङ्‌गथ्यौं। अधिकांश दर्शकहरूले पहिले कहिल्यै चलचित्र हेरेका थिएनन्‌। मूल्याङ्‌कनसहित यी दर्शकहरू त्यहाँ उभिएर फ्रान्सिस्‌को कथनलाई ध्यान दिएर सुन्थे। त्यसपछि हामी बाइबल साहित्यहरू वितरण गर्थ्यौं।

गाउँहरूसम्म पुग्न हामी बसबाट यात्रा गर्थ्यौं। केही नदीहरूमा पुलहरू नबनाइएकाले बसलाई एउटा ठूलो फल्याकमाथि राखेर अर्को छेउसम्म पुऱ्‍याइन्थ्यो। हामीलाई बसबाट ओर्लिने सल्लाह दिइएको थियो र हामी पानीमा नडुबोस्‌ भन्‍नाको लागि बस एकातिर नदीमा खसिरहेको देखेमा अर्को छेऊमा हाम्फाल्न पनि भनिएको थियो। तर खुशीको कुरा, हामीले यात्रा गरेको बस पानीमा कहिल्यै डुबेन। त्यसो नहुनु आनन्दको कुरा थियो किनभने त्यो नदी मांसाहारी पिराह्ना माछाहरूले टन्‍न थियो!

सन्‌ १९५८ मा न्यु योर्कमा अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएपछि हामी ब्राजिलमा फर्क्यौं। त्यहाँ हामीले छिट्टै हाम्रो परिभ्रमण कार्य थाल्यौं। हाम्रो जिल्ला स्तरीय परिभ्रमण कार्यले गर्दा हामी दक्षिणतर्फ ऊरुग्वेको सीमाक्षेत्र, पश्‍चिममा पाराग्वे, उत्तरमा पर्नाम्बुको प्रान्त र पूर्वी ब्राजिलमा आन्द्र महासागरसम्म पुग्यौं।

कुष्ठ रोगीहरूको बस्ती

सन्‌ १९६० को दशकको मध्यतिर कुष्ठ रोगीहरूको बस्तीमा सोसाइटीको एउटा चलचित्र देखाउने निमन्त्रणा हामीले स्वीकार्यौं। मलाई कताकता डर लागिरहेको थियो। बाइबलमा पढेका कुराहरूबाहेक कुष्ठ रोगबारे हामीलाई निकै कम थाहा थियो। सेतो रङ्‌ग पोतिएको इलाकामा प्रवेश गर्ने बित्तिकै हामीलाई एउटा ठूलो प्रेक्षालयमा लगियो। हामी बस्न र हाम्रा सरसामानहरू राख्न डोरीले बीच भागमा एक खण्ड छुट्याइएको थियो।

हामीलाई मदत गरिरहेका बिजुली मिस्त्री त्यसै बस्तीको ४० वर्षीय निवासी थिए। नाडीमुनि र शरीरका अन्य भागहरू कुष्ठ रोगले झरेको हुनाले उनी असाध्यै कुरूप देखिन्थे। सुरुमा त म झस्किएँ तर उनको हँसिलो मिजास र काम गर्नमा निपुणताले गर्दा मैले असजिलो महसुस गर्न छाडें। आवश्‍यक तयारीहरू गर्दा गर्दै हामीले निकै विषयहरूमा कुराकानी गऱ्‍यौं। त्यस शिविरका एक हजार रोगीहरूमध्ये दुई सयभन्दा बढी उपस्थित थिए। तिनीहरू खोच्याउँदै आउँदा हामीले त्यस रोगको विभिन्‍न चरणहरू देख्यौं। यो हाम्रो लागि कस्तो हृदयस्पर्शी, भावनात्मक अनुभव थियो!

“हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ” भनी येशूलाई बिन्ती गर्ने कुष्ठ रोगीलाई हामीले सम्झ्यौं। त्यस मानिसलाई छुँदै येशूले यस्तो आश्‍वासन दिनुभयो, “म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।” (मत्ती ८:२, ३) कार्यक्रम समाप्त भएपछि धेरैले हामी त्यहाँ आएकोमा धन्यवाद दिए। तिनीहरूको विकृत शरीर मानवजातिले भोगिरहेको असह्‍य पीडाको जीवन्त प्रमाण थियो। पछि, अझ बढी सिक्न चाहने जिज्ञासुहरूले स्थानीय साक्षीहरूसित बाइबल अध्ययन गरे।

गम्भीर स्वास्थ्य समस्याहरू हुनाले हामी १९६७ मा संयुक्‍त राज्य अमेरिकामा फर्क्यौं। स्वास्थ्य समस्याहरूको हेरचाह गर्दागर्दै हामीले पुनः क्षेत्रीय कार्यमा सेवा गर्ने अवसर पायौं। त्यसपछि अर्को २० वर्षसम्म संयुक्‍त राज्य अमेरिकामा फ्रान्सिस्‌को परिभ्रमण कार्यमा म सँगै गएँ। यस समयावधिमा उनले ईश्‍वरीय सेवकाई पाठशालामा पनि पढाए।

आफूलाई दिइएको जस्तोसुकै कार्यभार निभाउने मायालु पति तथा विश्‍वासी साथी पाउनु कति ठूलो प्रोत्साहनको स्रोत थियो! एकसाथ मिलेर चार महादेशका विभिन्‍न ठाउँहरूमा हामीले बाइबल सत्यताका धनहरू बाँड्‌ने सुअवसर पायौं।

धनले सह्‍मालिएको

सन्‌ १९५० तिर आमाले सन्‌ १९२४ मा बप्तिस्माप्राप्त विश्‍वासी भाइ, डेभिड एस्टरसित विवाह गर्नुभयो। उहाँहरूले सँगै निकै वर्ष पूर्ण-समय सेवकाईमा बिताउनु भयो। तर आमाका अन्तिम वर्षहरूतिर उहाँमा आल्जमेयरको रोग देखा पर्न थाल्यो। रोगले उहाँलाई सुस्त र शिथिल तुल्याउँदा बढी हेरचाहको खाँचो भयो। पूर्ण-समय सेवकाईमा हामीले पाइरहेका विशेष अवसरहरू नछाडोस्‌ भनेर मेरा सहयोगी दिदीहरू र सौतेलो बुबाले उहाँको हेरचाह गर्ने ठूलो जिम्मेवारी लिनुभयो। सन्‌ १९८७ मा आफ्नो मृत्युसम्मै उहाँले बसाल्नुभएको विश्‍वासी उदाहरणले हामीलाई आफ्नो जीवनपद्धतिको योजना बनाउन निकै मदत गर्नुको साथै उहाँले कदर गर्नुभएको स्वर्गीय इनामको आशाले सान्त्वना प्रदान गऱ्‍यो।

सन्‌ १९८९ तिर फ्रान्सिस्‌ पहिलेजस्तो फूर्तिलो नभएको मैले महसुस गर्न थालें। संसारका अधिकांश भागहरूमा सुपरिचित रोग, सिस्टोसोमासिसले फ्रान्सिस्‌मा पारिरहेको हानिकारक प्रभावबारे हामीलाई थाहै भएन। यहोवाको सेवामा ४० वर्ष सँगै बिताइसकेको प्रिय जीवनसाथीलाई सन्‌ १९९० मा यो निष्ठूर रोगको कारण मैले गुमाउनु पऱ्‍यो।

छाँटकाँटहरू जीवनका अंश हुन्‌। केही सजिला हुन्छन्‌ त केही गाह्रा। तर बाइबलका सत्यहरूको बहुमूल्य धनका दाता, यहोवाले आफ्नो सङ्‌गठन र मेरो परिवारको प्रेम अनि प्रोत्साहनद्वारा मलाई सह्‍माल्नुभयो। यहोवाका सारा अचूक भविष्यवाणीहरू पूरा हुन उत्सुकतापूर्वक पर्खिरहँदा म अहिले पनि सन्तुष्टि प्राप्त गर्छु।

[पृष्ठ २३-मा भएको चित्र]

मेरो पति र म इटालीमा मिसनरी हुँदा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने