हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै
एडिथ माइकलको वृत्तान्तमा आधारित
हामी सन् १९३० दशकको सुरुतिर सं.रा.अ., मिसोरी, सेन्ट लुविस नजीकै बस्थ्यौं। र त्यही छँदा यहोवाको साक्षी हाम्रो घरमा आए। त्यति नै खेर, लुगा सुकाउने डोरी चुँडेर आमाका सेता चहकिला लुगाहरू सबै हिलोमा खसे। त्यस साक्षी स्त्री जाओस् भनेर आमाले पुस्तकहरू लिनुभयो र तख्तामा राख्नुभएपछि त्यसबारे बिर्सिहाल्नुभयो।
ती आर्थिकमन्दीका वर्षहरू थिए र बुबा बेरोजगार हुनुहुन्थ्यो। घरमा कुनै पाठ्यसामग्री छ कि भनी उहाँले एक दिन सोध्नुभयो। आमाले उहाँलाई ती पुस्तकहरूबारे बताउनुभयो। उहाँले पढ्न थाल्नुभयो र एक छिनपछि यस्तो उद्गार व्यक्त गर्नुभयो: “एडिथकी आमा, सत्य यही हो!”
“उफ्, त्यो पनि अरूजस्तै पैसा बटुल्ने धर्म हो,” आमाले जवाफ दिनुभयो। तथापि, बुबाले आमालाई पनि आफूसितै बसेर शास्त्रपदहरू केलाउन आग्रह गर्नुभयो। त्यसो गर्नुभएपछि आमा पनि विश्वस्त हुनुभयो। त्यसपछि उहाँहरूले साक्षीहरूलाई खोज्न थाल्नुभयो र सेन्ट लुविसको मध्य भाग नजीकै भाडामा लिएको भवनमा तिनीहरू भेला हुन्छन् भनी पत्ता लगाउनुभयो। त्यो भवनमा नाचगान तथा अन्य क्रियाकलापहरू पनि हुने गर्थे।
म त्यतिबेला तीन वर्षकी मात्र थिएँ र आमाबुबाले मलाई पनि सँगै लग्नुभयो तर त्यहाँ नाचगान चलिरहेको थियो। बुबाले सभा सञ्चालन हुने समय पत्ता लाउनुभयो र हामी पछि फेरि गयौं। साथै, हाम्रो घर नजीकै हुने साप्ताहिक बाइबल अध्ययनमा पनि उपस्थित हुन थाल्यौं। हामीकहाँ सबैभन्दा पहिलो चोटि आएकी त्यस स्त्रीको घरमा सभा सञ्चालन हुँदो रहेछ। उहाँले भन्नुभयो, “छोराहरूलाई पनि ल्याउनुहोस् न।” तिनीहरूको जुत्ता छैन भन्न आमालाई लाज लाग्यो। आखिरमा उहाँले भन्नुभएपछि जुत्ताको बन्दोबस्त मिलाइयो र मेरा दाइहरू पनि हामीसँगै सभामा उपस्थित हुन थाल्नुभयो।
आमालाई हाम्रो घर छेउको इलाकामा प्रचार गर्न खटाइयो र उहाँले घर घरको सेवकाई थाल्नुभयो। उहाँको पछिपछि म पनि जान्थें। उहाँले गाडी चलाउन सिक्नुअघि सेन्ट लुविसका सभाहरूसम्म जाने बस भेटाउन एक किलोमिटर जति हिंड्नुपर्थ्यो। हिउँ परेर सडकमा टम्मै बरफ हुँदा समेत हामीले सभाहरू कहिल्यै छुटाएनौं।
सन् १९३४ मा आमा र बुबाले बप्तिस्मा लिनुभयो। म पनि बप्तिस्मा लिन चाहन्थें र मैले असाध्यै जिद्दी गरेकी हुँदा आमाले एक पाको साक्षीलाई मसित कुरा गर्न आग्रह गर्नुभयो। मैले बुझ्न सक्ने प्रकारका थुप्रै प्रश्नहरू उहाँले सोध्नुभयो। मलाई बप्तिस्मा लिनदेखि रोक्नु हुँदैन अन्यथा मेरो आध्यात्मिक प्रगतिमा बाधा पुग्नसक्छ भनेर उहाँले मेरा आमाबाबुलाई भन्नुभयो। अतः त्यसपछिको सालको ग्रीष्म ऋतुमा मैले बप्तिस्मा लिएँ। त्यतिबेला म छ वर्षकी मात्र थिएँ।
मलाई घर र आनन्द (अंग्रेजी) पुस्तिका असाध्यै मन पर्ने भएकोले कहिल्यै छाड्दिनथें र सुत्दा समेत सिरानीमुनि राख्थें। मलाई कण्ठस्थ नहोउञ्जेल त्यो पुस्तिका पढिदिन आमालाई पिरोलिरहन्थें। त्यसको अन्तिम पृष्ठमा एउटी सानी केटी प्रमोदवनमा सिंहसित बसिरहेकी चित्र थियो। त्यो सानी केटी म नै हुँ भन्थें। त्यस चित्रले मलाई परमेश्वरको नयाँ संसारमा जीवनको इनामलाई दृष्टिगत गर्न मदत गरेको छ।
म असाध्यै लजालु थिएँ तर थरथर काँप्दै भए पनि मण्डलीको प्रहरीधरहरा अध्ययनमा सधैं जवाफ दिन्थें।
दुःखको कुरा, जागिर गुम्ने डरले गर्दा बुबाले साक्षीहरूसित संगत गर्न छाड्नुभयो। मेरा दाइहरू पनि उहाँकै पछि लाग्नुभयो।
पूर्ण-समय सेवकाई
हाम्रो घरपछाडिको चोकमा आमाले अग्रगामी वा पूर्ण-समय सेवकहरूका सवारीसाधनहरू बिसाउन दिनुहुन्थ्यो र स्कूलबाट फर्केपछि म तिनीहरूसित सेवकाईमा जान्थें। म यथासम्भव चाँडो अग्रगामी गर्न चाहन्थें तर थप शिक्षा चाहिन्छ भन्ठान्नु भएर बुबाले यसको विरोध गर्नुभयो। अन्ततः मलाई अग्रगामी गर्ने अनुमति दिन आमाले बुबालाई राजी गराउनुभयो। अतः १४ वर्षकी हुँदा सन् १९४३ जून महिनामा मैले पूर्ण-समय सेवकाई थालें। घरखर्चमा सहयोग पुऱ्याउन मैले आंशिक र कहिलेकाहीं पूर्ण-समय जागिर खान्थें। यद्यपि, मैले प्रचारकार्यमा प्रत्येक महिना १५० घण्टा बिताउन सकें।
समयमा मैले अग्रगामी साथी, डोरोथी क्राडेन भेट्टाएँ र तिनले १७ वर्षकी हुँदा सन् १९४३ को जनवरी महिनादेखि अग्रगामी गर्न थालेकी रहिछन्। तिनी एक भक्त क्याथोलिक थिइन् तर छ महिना बाइबल अध्ययन गरेपछि बप्तिस्मा लिएकी रहिछन्। हामी दुवैले वर्षौंसम्म एकअर्कालाई प्रोत्साहन तथा साथ दियौं। हामी दिदीबहिनीभन्दा घनिष्ठ भयौं।
सन् १९४५ को प्रारम्भदेखि हामीले मिसोरीका स-साना गाउँहरूमा सँगै अग्रगामी गऱ्यौं। त्यतिबेला त्यहाँ मण्डलीहरू थिएनन्। हामीले बाउलिंग ग्रीन नामक गाउँको एउटा सभाभवनलाई सफा गऱ्यौं र मदत गर्न आमा पनि आउनुभयो। त्यसपछि हामी हरेक हप्ता त्यहाँका सबै घरहरूमा गएर मानिसहरूलाई जनभाषण सुन्न निमन्त्रणा दिन्थ्यौं। सेन्ट लुविसका भाइहरूले त्यहाँ भाषण दिन हामीले प्रबन्ध मिलाएका थियौं। यहाँ हरेक हप्ता ४०, ५० जति उपस्थित हुन्थे। पछि हामीले लुइजियानामा पनि त्यसै गऱ्यौं र मेसोनी समुदायको भवन भाडामा लियौं। भाडा तिर्न हामीले चन्दा बाकसहरू राख्यौं र हरेक हप्ताको खर्च बेहोर्न सक्यौं।
त्यसपछि हामी मिसोरीस्थित मेक्सिको शहरमा गयौं र सडक छेवैको कोठा भाडामा लियौं। त्यहाँको सानो मण्डलीको लागि त्यो ठाउँ सफा गऱ्यौं। त्यो भवनसितै जोडिएका कोठाहरूमा हामी बस्थ्यौं। हामीले मेक्सिकोमा पनि जनभाषणहरूको प्रबन्ध मिलायौं। त्यसपछि हामी मिसोरी प्रान्तको राजधानी, जेफर्सन शहर गयौं र आइतबारबाहेक हरेक दिन बिहान सरकारी अधिकृतहरूलाई तिनीहरूकै कार्यालयमा भेट्थ्यौं। हामी राज्यभवनको माथिल्लो तल्लामा स्टेला विलिसँग बस्थ्यौं र उनी हाम्री आमाजस्तै थिइन्।
त्यहाँबाट हामी तीनै जना फेस्टस र क्रिस्टल शहरहरूमा गयौं। ती शहरहरूबीचको दूरी धेरै थिएन। एक जिज्ञासु परिवारको घर पछाडि कुखुराको खोरलाई सानो कोठा बनाइएको थियो र हामी त्यहीं बस्थ्यौं। बप्तिस्माप्राप्त पुरुषहरू कोही नभएकाले हामीले नै सबै सभाहरू सञ्चालन गर्थ्यौं। आंशिक जागिरको रूपमा सिंगारसामग्रीहरू बेच्थ्यौं। हामीसित भौतिक कुराहरू छँदैथिएन भने पनि हुन्छ। भनौं भने, जुत्ताको प्वाल टाल्नसमेत पैसा हुँदैनथियो। त्यसैले हरेक बिहान जुत्तामा कडा कागज हाल्थ्यौं र आफूसित भएको एक जोर लुगा राती धुन्थ्यौं।
सन् १९४८ को सुरुतिर म १९ वर्षकी हुँदा डोरोथी र मैले मिसनरीहरूका लागि वाचटावर बाइबल स्कूल अफ गिलियडको १२औं कक्षाको लागि निमन्त्रणा पायौं। पाँच महिने तालिमपछि सन् १९४९, फेब्रुअरी ६ तारिखका दिन एक सय जना विद्यार्थीहरू स्नातक भए। यो असाध्यै खुशीको क्षण थियो। मेरा आमाबाबु क्यालिफोर्नियामा सरिसक्नुभएको थियो तर यस अवसरमा उपस्थित हुन आमाले त्यहाँदेखि त्यति लामो यात्रा गर्नुभयो।
खटाइएको ठाउँतर्फ
इटालीमा अठाइस जना स्नातकहरू खटाइए, डोरोथी र मलगायत अन्य छ जना चाहिं मिलान शहरमा खटाइयौं। सन् १९४९ मार्च ४ तारिखका दिन हामी इटालेली जहाज भल्कानिया चढेर न्यु योर्कबाट बिदा भयौं। यात्रा ११ दिन लामो थियो र त्यो समुद्री छालले गर्दा हामीमध्ये धेरैजसोलाई रिंगटा लाग्यो। हामीलाई भेटेपछि रेलबाट मिलान लैजान भाइ बनान्टी जेनोआ बन्दरगाहमा आउनुभयो।
मिलानको मिसनरीगृहमा एउटी इटालेली केटीले हामी प्रत्येकको कोठामा फूलहरू राखेकी रहेछिन्। वर्षौंपछि यही केटी, मारिया मराफिना गिलियडमा गइन्, इटाली फर्किन् र हामी दुवैले मिसनरीगृहमा सँगै सेवा गऱ्यौं!
मिलान पुगेको भोलिपल्ट बिहान हामीले स्नानगृहको झ्यालबाट बाहिर हेऱ्यौं। बम विष्फोटनले क्षतिग्रस्त भएको ठूलो आवासगृह त्यहाँ रहेछ। सन् १९४५ मा दोस्रो विश्वयुद्ध अन्त भएपछि एउटा अमेरिकी विमानले दुर्घटनावश बम खसालेकोले त्यहाँ बस्ने ८० वटै परिवारको मृत्यु भएको रहेछ। अर्को चोटि भने, युद्धको दौडान कारखानामा हानेको बम उछिट्टेर एउटा स्कूलमा परेछ र ५०० केटाकेटीहरू मरेका थिए। त्यसकारण यहाँका मानिसहरूले अमेरिकीहरूलाई मन पराउँदैनथिए।
त्यहाँका मानिसहरू युद्धदेखि वाक्कव्याक्क भइसकेका थिए। अर्को युद्ध सुरु भयो भने बमबाट जोगिन अन्त कतै शरण नलिई घरभित्रै ग्याँसमा निस्सासिए मर्नेछौं भनी थुप्रलै भन्ने गर्थे। हामी, संयुक्त राज्य वा मानव निर्मित कुनै सरकारको नभई परमेश्वरको राज्यका प्रतिनिधि हौं र यसले सबै युद्धहरूका साथै दुःखकष्ट अन्त गर्नेछ भनी तिनीहरूलाई आश्वासन दिन्थ्यौं।
मिलानको ठूलो शहरमा अवस्थित एक मात्र मण्डलीका लगभग २० जना जति मानिसहरू मिसनरीगृहमा भेला हुन्थे। त्यतिञ्जेल त्यहाँ प्रचार इलाकाहरू छुट्याइका थिएनन्। त्यसैले ठूलो आवासगृहमा साक्षीकार्य थाल्यौं। हामीले पहिलो ढोकामा श्री. जान्डेनोटी भेट्यौं। तिनी आफ्नी पत्नीले चर्च छाडोस् भन्ने चाहन्थे। त्यसकारण तिनले हाम्रो एउटा प्रकाशन स्वीकारे। श्रीमती जान्डेनोटी निष्कपट थिइन् र उनका थुप्रै प्रश्नहरू थिए। उनले भनिन्, “तपाईंले इटालेली भाषा सिक्नुभएपछि म खुशी हुनेछु किनभने तपाईंले मलाई बाइबल सिकाउन सक्नुहुनेछ।”
उनीहरूको कोठाको छत साह्रै अग्लो र बत्ती मधुरो थियो। त्यसकारण उनले बत्तीको नजीकै बसेर बाइबल पढ्न टेबलमाथि मेच राख्थिन्। उनले सोधिन्, “मैले तपाईंसित बाइबल अध्ययन गरें भने पनि के म फेरि चर्च जानसक्छु?” त्यो त आफ्नै निर्णयको कुरा हो भनेर हामीले उनलाई बतायौं। उनी आइतबार बिहान चर्च जान्थिन् र दिउँसो चाहिं हाम्रा सभाहरूमा आउँथिन्। पछि एक दिन उनले भनिन्, “अबदेखि म कहिल्यै चर्च जाँदिनँ।”
हामीले सोध्यौं, “किन?”
“किनभने त्यहाँ बाइबल सिकाउँदैन तर तपाईंसित बाइबल अध्ययन गरेर मैले सत्य पाएकी छु।” उनले बप्तिस्मा लिइन् र दिनहुँ चर्च धाउने थुप्रै स्त्रीहरूसित अध्ययन गरिन्। पछि उनले हामीलाई भनेअनुसार हामीले उनलाई चर्चमा नजाऊ भनेका भए अध्ययन गर्न छाडेर सत्य कहिल्यै सिक्ने थिइनन् होली।
नयाँ कार्यभारहरू
समयमा डोरोथी र मलगायत अन्य चार जना मिसनरीहरूलाई ट्रिएस्ट भन्ने इटालेली शहरमा खटाइयो र त्यो त्यतिबेला बेलाइती तथा अमेरिकी सेनाको कब्जामा थियो। त्यहाँ केवल दश साक्षीहरू थिए तर त्यो संख्या बढ्यो। हामीले ट्रिएस्टमा तीन वर्षसम्म प्रचार गऱ्यौं र त्यो ठाउँ छाडुञ्जेल राज्य प्रकाशकहरूको संख्या ४० पुगिसकेको थियो। त्यसमध्ये १० जना अग्रगामी थिए।
हामीलाई खटाइएको अर्को ठाउँ भेरोना शहर थियो। त्यहाँ कुनै मण्डली थिएन। तर त्यहाँको चर्चले सांसारिक अख्तियारवालाहरूमाथि दबाब दिएपछि हामी त्यो शहर छाड्न बाध्य भयौं। डोरोथी र मलाई रोममा खटाइयो। त्यहाँ हामीले सरसामान सबै भएको कोठा भाडामा लियौं र भ्याटिकन नजीकैको इलाकामा प्रचार गऱ्यौं। त्यहीं छँदा नै जोन चिमिक्लिससित विवाह गर्न डोरोथी लेबनान गइन्। हामीले झन्डै १२ वर्ष सँगै बिताएका थियौं, त्यसैले मलाई असाध्यै न्यास्रो लाग्यो।
सन् १९५५ मा रोमको अर्को क्षेत्र, न्यु एप्पीयन वे नामक सडकमा एउटा नयाँ मिसनरीगृह खोलियो। त्यस गृहमा बस्ने चार जनामध्ये एक, मारिया मेराफिना थिइन्। मिलान आइपुग्दा हाम्रा कोठाहरूमा फूल राख्ने केटी उनै थिइन्। शहरको यस इलाकामा एउटा नयाँ मण्डली स्थापित भयो। त्यसै सालको ग्रीष्म ऋतुतिर रोममा सम्पन्न अन्तरराष्ट्रिय अधिवेशनपछि मैले न्युरेम्बर्ग, जर्मनीको अधिवेशनमा उपस्थित हुने अवसर पाएँ। हिटलरको शासनको दौडान धैर्यधारण गरेका व्यक्तिहरूलाई भेट्न पाउँदा म निकै रोमाञ्चित भएँ!
पुनः संयुक्त राज्यमा
स्वास्थ्य समस्याहरूको कारण सन् १९५६ मा बिरामी बिदा लिई म संयुक्त राज्य फर्कें। तर यहोवालाई अहिले र उहाँको नयाँ संसारमा सधैंभरि सेवा गर्ने इनामलाई भने मैले कहिल्यै बिर्सिनँ। मैले इटाली फर्कने योजना बनाइरहेकी थिएँ। तथापि, मैले ओर्भल माइकललाई भेटें र तिनी ब्रूक्लिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको विश्व मुख्यालयमा सेवा गर्थे। न्यु योर्क शहरमा सम्पन्न सन् १९५८ को अन्तरराष्ट्रिय अधिवेशनपछि हामीले विवाह गऱ्यौं।
त्यसको लगत्तैपछि हामी फ्रंट रोयल, भर्जिनियामा सऱ्यौं र त्यहाँको सानो मण्डलीमा होऊञ्जेल निकै रमाइलोसित समय बितायौं। हामी राज्यभवनपछाडिको सानो डेरामा बस्थ्यौं। अन्ततः, हाम्रो खर्च टार्न सन् १९६० मार्च महिनामा ब्रूक्लिन फर्की जागिर खोज्नुपर्ने भयो। पूर्ण-समय सेवकाईलाई नछाड्न हामी राती बैंकहरू सफा गर्ने काम गर्थ्यौं।
हामी ब्रूक्लिनमै छँदा मेरो बुबाको मृत्यु हुनुका साथै सासूलाई मन्द हृदयघात भयो। अतः आफ्ना आमाहरूको नजीकै बस्न ओरिगन सर्ने निर्णय गऱ्यौं। हामी दुवैले आंशिक जागिर पायौं र अग्रगामी सेवकाईमा लागिरह्यौं। पिट्स्बर्ग, पेन्सिलभानियास्थित वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीको वार्षिक सभामा उपस्थित हुन सन् १९६४ को शरद् ऋतुमा हामी दुइ र हाम्रा आमाहरू संयुक्त राज्यको एक छेउबाट अर्को छेउमा पुग्यौं।
हामी रोड आइलण्डमा छँदा परिभ्रमण निरीक्षक, आर्लिन मायर र तिनकी पत्नीले हामीलाई राज्य प्रकाशकहरूको निकै खाँचो भएको ठाउँ अर्थात् राजधानी, प्रोभिडेन्स्मा सर्न प्रोत्साहन दिए। हाम्रा आमाहरूले हामीलाई यस नयाँ कार्यभार स्वीकार्न आग्रह गर्नुभयो। त्यसकारण ओरिगन फर्कने बित्तिकै हाम्रा अधिकांश घरायसी सरसामानहरू बेचेर बसाइँ सऱ्यौं।
पुनः गिलियड स्कूलमा
हामी सन् १९६५ को ग्रीष्म ऋतुमा यान्की स्टेडियममा सम्पन्न अधिवेशनमा उपस्थित भयौं। त्यहाँ छँदा हामीले विवाहित दम्पतीको हैसियतमा गिलियड स्कूलका लागि निवेदन दियौं। एक महिना जतिपछि आवेदन फारामहरू पाउँदा हामी छक्कै पऱ्यौं। यो आवेदन फाराम ३० दिनभित्र बुझाइसक्नु पर्नेथियो। आमाको स्वास्थ्य राम्रो नभएकोले विदेशमा जान नपरोस् भनेर म चिन्तित हुन्थें। तर उहाँले मलाई यसरी प्रोत्साहन दिनुभयो: “आवेदन भर। तिमीलाई थाहै छ, यहोवाले दिनुहुने सेवाको जुनसुकै अवसरलाई सधैं स्वीकार्नुपर्छ!”
समस्या सुल्झिहाल्यो। हामीले आवेदनहरू भरेर पठायौं। हामीले ४२औं कक्षाको लागि निमन्त्रणा पाउँदा असाध्यै छक्क पऱ्यौं! सन् १९६६ अप्रिल २५ तारिखका दिन कक्षा सुरु भयो। त्यतिबेला गिलियड स्कूल ब्रूक्लिन, न्यु योर्कमा थियो। पाँच महिना नबित्दै सन् १९६६ सेप्टेम्बर ११ तारिखका दिन हामी १०६ जना स्नातक भयौं।
अर्जेन्टिनामा खटाइयो
स्नातक भएको दुइ दिनपछि हामी पेरूभियाली विमानबाट अर्जेन्टिनातर्फ लाग्यौं। हामीलाई ब्युनोस आयर्स विमानस्थलमा शाखा निरीक्षक, चार्ल्स आइजनहावरले भेट्नुभयो। उहाँले भन्सार पार गर्न मदत गर्नुभयो र त्यसपछि शाखा कार्यालयतिर लैजानुभयो। सरसामानहरू तह लगाउन हामीसित एक दिन थियो र त्यसपछि हाम्रा स्पेनी कक्षाहरू सुरु भए। हामीले पहिलो महिनामा दिनको ११ घण्टा स्पेनी भाषा अध्ययन गर्थ्यौं। दोस्रो महिना भने दिनको चार घण्टा भाषा अध्ययन गरेर क्षेत्र सेवकाईमा भाग लिन थाल्यौं।
हामी ब्युनोस आयर्समा पाँच महिना बस्यौं र त्यसपछि हामीलाई रेलबाट उत्तरतर्फ चार घण्टा जति यात्रा गर्नुपर्ने ठूलो शहर, रोजारियोमा खटाइयो। त्यहाँ १५ महिना सेवा गरेपछि अझ टाढा उत्तरमा पर्ने सान्टियागो डेल एस्टेरोमा पठाइयो र यो शहर उष्ण मरुभूमि क्षेत्रमा पर्थ्यो। हामी त्यहाँ छँदा सन् १९७३ जनवरी महिनामा मेरी आमाको मृत्यु भयो। मैले उहाँलाई नदेखेको चार वर्ष भइसकेको थियो। पुनरुत्थानको आशाको साथै आमाले चाहनुभएकै ठाउँमा सेवा गरिरहेकी छु भन्ने थाह पाएकीले त्यस्तो शोकसन्तप्त घडीमा आफूलाई सँभाल्न सकें।—यूहन्ना ५:२८, २९; प्रेरित २४:१५.
सान्टियागो डेल एस्टेरोका मानिसहरू मित्रैलो भएकाले बाइबल अध्ययनहरू थाल्न सजिलो थियो। सन् १९६८ मा यहाँ आइपुग्दा सभामा २०, ३० जना उपस्थित हुन्थे तर आठ वर्षपछि हाम्रो मण्डलीमा सयभन्दा बढी प्रकाशकहरू भइसकेको थियो। यसबाहेक, नजीकैका शहरहरूमा २५ देखि ५० जना प्रकाशकहरूको दुइटा नयाँ मण्डली खडा भयो।
पुनः संयुक्त राज्यमा
स्वास्थ्य समस्याहरूका कारण सन् १९७६ मा हामीलाई पुनः संयुक्त राज्यको फेयतभिल्, नर्थ क्यारोलाइनामा विशेष अग्रगामीहरूको हैसियतमा खटाइयो। त्यहाँ मध्य र दक्षिण अमेरिका, डोमिनिकन रिपब्लिक, पोर्टो रिको र स्पेनबाट समेत आएका स्पेनीभाषी मानिसहरू थुप्रै थिए। हाम्रा बाइबल अध्ययनहरू थुप्रै थिए र समयमा स्पेनी मण्डली थालियो। हामीले यहाँ आठ वर्षजति बितायौं।
तथापि, वृद्ध तथा असक्त सासूको नजीकै बस्नुपर्ने खाँचो भयो। उहाँ पोर्टल्याण्ड, ओरिगनमा बस्नुहुन्थ्यो। त्यसकारण हामीले पोर्टल्याण्ड नजीकैको भानकुभर, वाशिङ्टनस्थित स्पेनी मण्डलीमा सेवा गर्ने नयाँ कार्यभार पायौं। हामी सन् १९८३ डिसेम्बर महिनामा त्यहाँ पुग्दा मण्डली सानो थियो तर अहिले हामी थुप्रै नयाँ व्यक्तिहरू देख्दैछौं।
सन् १९९६ जून महिनामा मैले पूर्ण-समय सेवकाईमा ५३ वर्ष पूरा गरें र मेरो पतिले सन् १९९६ जनवरी १ मा ५५ वर्ष पूरा गर्नुभयो। यी अनेकन् वर्षहरूको दौडान परमेश्वरको वचनको सत्य ज्ञान लिएर यहोवाप्रति समर्पण गर्न मैले सयौंलाई मदत दिने अवसर पाएकी छु। तीमध्यै थुप्रै अहिले प्राचीन वा पूर्ण-समय सेवकहरूको हैसियतमा सेवारत छन्।
आफ्नै छोराछोरीहरू नभएकोमा नरमाइलो लाग्दैन भनी कहिलेकाहीं कसै कसैले सोध्ने गर्छन्। साँचो कुरा त के हो भने, यहोवाले मलाई थुप्रै आध्यात्मिक छोराछोरी तथा नातिनातिनीहरू दिनुभएको छ। हो, यहोवाको सेवामा मेरो जीवन अर्थपूर्ण तथा इनामदायी भएको छ। म यिप्तहकी छोरीलाई सम्झन्छु, जसले मन्दिरको सेवामा आफ्नो जीवन बिताइन् र सेवाको महान् सुअवसरले गर्दा कहिल्यै छोराछोरी जन्माइनन्।—न्यायकर्त्ता ११:३८-४०.
मैले सानी छँदा यहोवाप्रति गरेको समर्पण अझै बिर्सेकी छैन। प्रमोदवनको चित्र अहिले पनि त्यत्तिकै जीवन्त छ। मेरो हृदय अनि दृष्टि अझै पनि परमेश्वरको नयाँ संसारमा प्राप्त हुने अनन्त जीवनको इनाममै केन्द्रित छ। हो, ५० वर्ष मात्र होइन तर यहोवाको राज्य शासनअन्तर्गत सधैंभरि उहाँको सेवा गर्ने मेरो इच्छा छ।
[पृष्ठ २३-मा भएको चित्र]
मेरो काँधमा हात राखेकी डोरोथी क्रेडन र सँगी अग्रगामीहरूसित सन् १९४३ मा
[पृष्ठ २३-मा भएको चित्र]
सन् १९५३ मा सँगी मिसनरीहरूसित रोम, इटालीमा
[पृष्ठ २५-मा भएको चित्र]
मेरो पतिसित