कमजोरी, दुष्टता र पश्चात्तापबीच भिन्नता छुट्ट्याउने
पाप भनेको मसीहीहरूले घृणा गर्ने कुरा हो—यहोवाका धार्मिक स्तरहरूबाट चुक्नु। (हिब्रू १:९) दुःखको कुरा, हामी सबै समय समयमा पाप गर्छौं। अन्तर्निहित कमजोरी र असिद्धता विरूद्ध हामी सबै सङ्घर्ष गर्छौं। तर प्रायजसो हामीले आफ्ना पापहरू यहोवासमक्ष स्वीकाऱ्यौं र ती नदोहोऱ्याउन साँचो प्रयत्न गऱ्यौं भने सफा अन्तस्करणले हामी उहाँलाई पुकार्न सक्छौं। (रोमी ७:२१-२४; १ यूहन्ना १:८, ९; २:१, २) हाम्रा कमजोरीहरूको बावजूद छुडौतीको बलिदानको आधारमा हाम्रो पवित्र सेवालाई स्वीकार्नु हुने हुनाले हामी यहोवालाई धन्यवाद दिन्छौं।
शारीरिक कमजोरीले गर्दा कोही व्यक्ति गम्भीर पापमा फँस्यो भने याकूब ५:१४-१६ मा औंल्याइएको तरिकाअनुरूप उनलाई तुरुन्तै रेखदेखको आवश्यकता हुन्छ। “के तिमीहरूमध्ये कोही [आध्यात्मिक तवरमा] बिरामी छ? त्यसले मण्डलीका धर्म-गुरुहरूलाई बोलाओस्, . . . यदि त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ। यसकारण तिमीहरू एउटाले अर्कोसँग आफ्नो आफ्नो पाप स्वीकार गर, र तिमीहरू निको होओ भनी एउटाले अर्कोको निम्ति प्रार्थना गर।”
यसर्थ, एक समर्पित मसीहीले गम्भीर पाप गर्दा त्यसलाई यहोवासमक्ष व्यक्तिगत तवरमा स्वीकार्नु बाहेक कदम चाल्नु पनि आवश्यक हुन्छ। मण्डलीको शुद्धता अथवा शान्ति खतरामा परेको हुँदा प्राचीनहरूले केही खास कदमहरू उठाउनु पर्छ। (मत्ती १८:१५-१७; १ कोरिन्थी ५:९-११; ६:९, १०) प्राचीनहरूले यो छुट्ट्याउनु पर्ला: के त्यो व्यक्ति पश्चात्तापी छ? पाप गर्न उसलाई कुन कुराले डोऱ्यायो? के त्यो कमजोरीको कुनै एक क्षणको परिणाम थियो? के त्यो पाप गर्ने बानी थियो? त्यसरी निर्धारण गर्नु सधैं सरल तथा स्पष्ट हुँदैन र निकै समझको जरुरी पर्छ।
तर गलत मार्ग पछ्याउनाले र दुष्ट आचरणले गर्दा पाप भएको छ भने नि? त्यतिखेर प्राचीनहरूको जिम्मेवारी स्पष्ट हुन्छ। कोरिन्थीको मण्डलीमा गम्भीर विषयवस्तुहरू सह्माल्नु पर्दा प्रेरित पावलले भने: “तिमीहरूले तिमीहरूको बीचबाट दुष्ट मानिसहरूलाई हटाओ।” (१ कोरिन्थी ५:१३) मसीही मण्डलीमा दुष्ट मानिसहरूको लागि कुनै ठाउँ छैन।
कमजोरी, दुष्टता र पश्चात्तापलाई तौलने
एक जना व्यक्ति पश्चात्तापी छ वा छैन भनेर प्राचीनहरूले कसरी थाहा पाउन सक्छन्?a यो एउटा सरल प्रश्न होइन। उदाहरणको लागि राजा दाऊदलाई सम्झनुहोस्। तिनले व्यभिचार र पछि हत्या पनि गरे। यद्यपि, यहोवाले दाऊदलाई बाँच्ने अनुमति दिनुभयो। (२ शमूएल ११:२-२४; १२:१-१४) त्यसपछि हननिया र सफीरालाई सम्झनुहोस्। ढोङ्गी भएर आफू बढ्तै उदारचित्तको छु भनी देखाउन तिनीहरूले झूटो बोलेर प्रेरितहरूलाई झुक्याउन खोजे। के त्यो गम्भीर कुरा हो? हो। हत्या र व्यभिचार जत्तिकै गम्भीर? त्यो चाहिँ पटक्कै होइन! यद्यपि, हननिया र सफीराले आफ्नो ज्यान गुमाउनु पऱ्यो।—प्रेरित ५:१-११.
किन बेग्लाबेग्लै न्याय? शारीरिक कमजोरीको कारण दाऊद गम्भीर पापमा फँसेका थिए। आफूले गरेको कुरा प्रकाशमा ल्याइएपछि तिनले पश्चात्ताप गरे र यहोवाले माफी दिनुभयो। तर आफ्नो पारिवारिक समस्याहरूद्वारा तिनलाई कठोर अनुशासन दिइयो। हननिया र सफीराले ढोङ्गी भएर मसीही मण्डलीलाई छक्याउन खोजे र ‘पवित्र आत्मासँग झूट बोलेर’ पाप गरे। त्यो दुष्ट हृदयको प्रमाण थियो। यसर्थ, तिनीहरूप्रति बढी कठोरतापूर्वक न्याय गरियो।
दुवै परिस्थितिमा यहोवाले न्याय गर्नुभयो र उहाँले हृदय जाँच्न सक्नु हुने हुनाले उहाँको न्याय सही थियो। (हितोपदेश १७:३) तर मानव प्राचीनहरूले त्यसो गर्न सक्दैनन्। त्यसोभए गम्भीर पाप दुष्टताको कारण नभई कमजोरीको प्रमाण हो भनी प्राचीनहरूले कसरी छुट्याउन सक्छन्?
वास्तवमा, सबै पाप दुष्ट हुन्छन् तर सबै पापीहरू दुष्ट हुँदैनन्। उस्तै खालका पापहरू एक व्यक्तिमा कमजोरीको कारण र अर्कोमा दुष्टताको कारण हुन सक्छ। निस्सन्देह, पाप गर्दा केही हदसम्म पापी व्यक्तिमा कमजोरी र दुष्टता दुवै समावेश हुन्छ। त्यो छुट्ट्याउने एउटा तत्त्व के हो भने, आफूले गरेको पापलाई पापीले कुन दृष्टिकोणले हेर्छ र त्यसबारे उसले के गर्ने विचार गरेको छ? के उसले पश्चात्तापी मनोवृत्ति देखाउँछ? यो थाहा लगाउन प्राचीनहरूलाई समझ चाहिन्छ। त्यो समझ तिनीहरूले कसरी प्राप्त गर्न सक्छन्? प्रेरित पावलले तिमोथीलाई यो आश्वासन दिए: “म के भन्दछु, त्यो विचार गर, किनभने यी सब कुराहरूमा प्रभुले तिमीलाई समझ दिनुहुनेछ।” (२ तिमोथी २:७) पावल र अन्य बाइबल लेखकहरूका प्रेरित वचनहरूलाई लगातार नम्रतापूर्वक “विचार” गरेमा मण्डलीमा पाप गर्नेहरूप्रति सही दृष्टिकोण राख्न प्राचीनहरूले समझ प्राप्त गर्नेछन्। तब तिनीहरूको निर्णयले आफ्नो नभइ यहोवाको सोचाइलाई प्रतिबिम्बित गर्नेछ।—हितोपदेश ११:२; मत्ती १८:१८.
यो कसरी गरिन्छ? एउटा तरिका हो, बाइबलले दुष्ट मानिसहरूलाई कसरी वर्णन गर्छ र आफूले व्यवहार गरिरहेको व्यक्तिसित त्यो विवरण मिल्छ कि मिल्दैन जाँचेर हेर्ने।
जिम्मेवारी वहन अनि पश्चात्ताप गर्नु
दुष्टताको मार्ग पछ्याउने प्रथम मानवहरू आदम र हव्वा थिए। सिद्ध र यहोवाका नियमहरूको पूर्ण ज्ञान हुँदाहुँदै तिनीहरूले ईश्वरीय सार्वभौमिकताको विद्रोह गरे। तिनीहरूको कार्य यहोवाले प्रकाशमा ल्याउनुहुँदा तिनीहरूले देखाएका प्रतिक्रियाहरू सम्झनु लायकका छन्—आदमले हव्वालाई दोष लगाए र हव्वाले सर्पमाथि दोष थोपारे! (उत्पत्ति ३:१२, १३) यसलाई दाऊदले देखाएको गहिरो विनम्रतासित तुलना गर्नुहोस्। आफ्ना गम्भीर पापहरू प्रत्यक्ष हुँदा तिनले दोष स्वीकारे अनि पश्चात्तापको निम्ति बिन्ती गर्दै यसो भने: “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”—२ शमूएल १२:१३; भजनसंग्रह ५१:४, ९, १०.
विशेषगरि एक वयस्कले गरेको गम्भीर पापको सामना गर्दा प्राचीनहरूले यी दुई उदाहरणहरूलाई ध्यान दिनु बेस हुनेछ। आफ्नो पापबारे यकिन भएपछि त्यस पापी के दाऊदझैं तुरुन्तै दोष स्वीकारेर मदत र माफी पाउन पश्चात्तापी भएर यहोवातर्फ फर्कन्छ? अथवा आफूले गरेको कार्यलाई नगण्य तुल्याउँदै शायद अरूमाथि थोपार्न खोज्छ? हो, पापी कार्यहरू कसरी हुन गए भनी उसले बताउन चाहला र उसलाई कसरी मदत गर्ने भनी निर्णय गर्दा प्राचीनहरूले अतित अथवा वर्तमानका परिस्थितिहरूलाई ध्यान दिनु पर्ने हुन सक्छ। (होशे ४:१४ तुलना गर्नुहोस्।) तर पापी ऊ स्वयं हो र यहोवाको सामु ऊ दोषी छ भनी उसले स्वीकार्नुपर्छ। नबिर्सनुहोस्: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चात्तापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भजनसंग्रह ३४:१८.
खराबी गर्ने बानी
भजनसंग्रहको पुस्तकमा दुष्ट मानिसहरूबारे निकै पटक उल्लेख गरेको पाइन्छ। त्यस्ता शास्त्रपदहरूले सो व्यक्ति वास्तवमा दुष्ट हो या कमजोर भनी छुट्ट्याउन अझ मदत गर्छ। उदाहरणको लागि, राजा दाऊदको प्रेरित प्रार्थनालाई विचार गर्नुहोस्: “मलाई दुष्टहरू र अपराधका काम (आघात पुऱ्याउनेहरू, न्युव) गर्नेहरूसँग नघिस्याउनुहोस्, जो तिनका छिमेकीहरूसँग कुरा त मेलको गर्दछन्, तर तिनीहरूका हृदयमा दुष्ट्याइँ हुन्छ।” (भजनसंग्रह २८:३) याद गर्नुहोस्, दुष्ट मानिसहरूलाई “आघात पुऱ्याउनेहरू” सँगसँगै उल्लेख गरिएको छ। शारीरिक कमजोरीहरूको कारण पाप गर्ने व्यक्ति होशमा आउने बित्तिकै सम्भवतः उसले त्यसो गर्न छोड्छ। तर यदि खराबी गर्ने ‘बानी’ जीवनको हिस्सा भइसकेको छ भने त्यो दुष्ट हृदयको प्रमाण हुन सक्छ।
दुष्टता चिन्ने एउटा अर्को चिह्न दाऊदले त्यसै पदमा उल्लेख गरेका छन्। हननिया र सफीराजस्तै दुष्ट मानिसले मुखबाट राम्रा कुराहरू गर्छन् तर हृदयमा भने खराब कुराहरू राख्छ। येशूको दिनका ढोङ्गी फरिसीहरूझैं ऊ ‘बाहिर भने मानिसहरूका सामु धर्मी देखा पर्ने, तर भित्र भने कपट र अत्याचारले भरिएको’ हुन सक्छ। (मत्ती २३:२८; लूका ११:३९) यहोवाले ढोङ्गीपनालाई घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१९) न्यायिक समितिसमक्ष पनि कसैले ढोङ्गीपूर्वक आफ्ना गम्भीर पापहरू इन्कार गर्छ अथवा पाप पूर्णतया स्वीकार्नुको सट्टा अनकनाउँदै अरूले थाहा पाइसकेका कुराहरू मात्र मानी लिन्छ भने त्यो दुष्ट हृदयको प्रमाण हुन सक्छ।
अहङ्कारी भएर यहोवालाई बेवास्ता गर्नु
दुष्ट मानिसलाई चिनाउने अन्य चिह्नहरू भजनसंग्रह १० अध्यायमा उल्लेख गरिएका छन्। त्यहाँ हामी पढ्छौं: “दुष्टहरूको घमण्डमा दुःख पाएकाहरूलाई ज्यादै खेदो हुन्छ। . . . उहाँलाई हियाउँछ।” (भजनसंग्रह १०:२, ३) अहङ्कारी र यहोवालाई बेवास्ता गर्ने समर्पित मसीहीलाई हामीले कस्तो दृष्टिकोणले हेर्नुपर्छ? अवश्य पनि, यी दुष्ट मानसिक मनोवृत्तिहरू हुन्। कमजोरीले गर्दा पाप गर्ने व्यक्तिले आफ्नो पाप थाहा पाउनेबित्तिकै वा त्यो उसको ध्यानमा ल्याइदिने बित्तिकै पश्चात्ताप गर्छ र आफ्नो जीवनलाई सही मार्गमा ल्याउन कडा यत्न गर्छ। (२ कोरिन्थी ७:१०, ११) त्यसको विपरीत, भित्री मनदेखि यहोवालाई अनादर गरेर पाप गर्छ भने आफ्नो पापी मार्गमा पटक पटक फँस्न उसलाई कुन कुराले रोक्न सक्छ र? कोमलतापूर्वक दिइएको सल्लाहको बावजूद ऊ अहङ्कारी छ भने गम्भीरतापूर्वक साँचो पश्चात्ताप गर्न ऊसित विनम्रता कसरी होला र?
अलिकपछि त्यही भजनमा दाऊदले उल्लेख गरेका शब्दहरूलाई विचार गर्नुहोस्। “दुष्टले परमेश्वरलाई किन हियाउँछ? र त्यसको मनमा भन्छ, ‘तपाईं लेखा राख्नुहुन्न।’” (भजनसंग्रह १०:१३) मसीही मण्डलीको दुष्ट मानिसलाई सही र गलतबीचको भिन्नता थाहा हुन्छ तर दण्डबाट उम्किन सकिन्छ जस्तो लागेमा ऊ गलती गर्न हिचकिचाउँदैन। जबसम्म गलती प्रकाशमा ल्याइने डर हुँदैन उसले पापी झुकावहरूलाई पूर्णतया स्वतन्त्र छाडिदिन्छ। उसका पापहरू प्रकट भएमा दाऊदजस्तो नभएर उसले अनुशासनबाट उम्किने षडयन्त्र रच्नेछ। त्यस्तो मानिसले यहोवाको असाध्यै अनादर गर्छ। “परमेश्वरको डर त्यसको आँखाको सामने हुँदैन। . . . त्यसले खराबीलाई घिनाउँदैन।”—भजनसंग्रह ३६:१, ४.
अरूलाई हानि पुऱ्याउने
पापले प्रायजसो एकभन्दा बढी व्यक्तिहरूलाई असर गर्छ। उदाहरणको लागि, व्यभिचारीले परमेश्वरको विरूद्धमा पाप गर्छ; उसले आफ्नी पत्नी र छोराछोरीलाई ठग्छ; आफूले व्यभिचार गरेकी स्त्री विवाहित छ भने उसको परिवारलाई पनि ठग्छ; र मण्डलीको असल नाउँलाई कलङ्कित पार्छ। यी सबै कुराहरूलाई उसले कस्तो दृष्टिकोणले हेर्छ? के उसले साँचो पश्चात्तापको साथै भित्री हृदयदेखि दुःख व्यक्त गर्छ? अथवा भजनसंग्रह ९४ मा वर्णन गरिएको मनोवृत्ति देखाउँछ: “अधर्म काम गर्नेहरू सबै आफै शेखी गर्दछन्। हे परमप्रभु, तिनीहरूले तपाईंका प्रजालाई पेल्दछन्, र तपाईंका निज भागलाई दुःख दिन्छन्। तिनीहरूले विधवाहरू र विदेशीहरूलाई मार्दछन्। र टुहुरालाई हत्या गर्दछन्। औ तिनीहरू भन्छन्, ‘परमप्रभुले देख्नुहुनेछैन, नता याकूबका परमेश्वरले विचार गर्नुहुनेछ।’”—भजनसंग्रह ९४:४-७.
सम्भवतः, मण्डलीमा सामना गरिने पापहरू हत्या र मारकाटसित सम्बन्धित हुँदैनन्। यद्यपि, यो मनोवृत्ति अर्थात् आफ्नो व्यक्तिगत स्वार्थको लागि अरूलाई ठग्ने मनोवृत्ति प्राचीनहरूले गलत कार्यलाई जाँचपड्ताल गर्दा प्रष्ट हुन सक्छ। यो पनि हठीपन, दुष्ट मानिसको चिनारी हो। (हितोपदेश २१:४) आफ्नो भाइको लागि आफ्नो ज्यान दिन तत्पर साँचो मसीहीले देखाउने मनोवृत्तिको यो ठीक विपरीत हो।—यूहन्ना १५:१२, १३.
ईश्वरीय सिद्धान्तहरू अपनाउने
यहाँ दिइएका केही निर्देशनहरू नियमहरू बनाउनका लागि होइनन्। तर त्यसले हामीलाई यहोवाले साँच्चै दुष्ट ठान्नु हुने केही कुराहरू थाहा पाउन मदत दिन्छ। के गलतीको दोष स्वीकार्न इन्कार गर्छ? के पाप गर्ने व्यक्तिले पूर्वसल्लाहलाई अहङ्कारी भएर बेवास्ता गरेको थियो? के गम्भीर गलती गर्ने बानी बसिसकेको छ? के गलती गर्ने व्यक्तिले यहोवाका नियमहरूलाई खुल्लमखुल्ला बेवास्ता गर्छ? गलती ढाकछोप गर्न र अरूलाई पनि भ्रष्ट पार्न के उसले पूर्वतयारी गरेको छ? (यहूदा ४) गलती प्रकाशमा ल्याइँदा के त्यस्ता प्रयासहरू झन् झन् चर्किन्छन्? अरू र यहोवाको नाउँमा उसले पुऱ्याएको हानिप्रति के उसले पूर्ण बेवास्ता देखाउँछ? उसको मनोवृत्ति नि? मायालु शास्त्रीय सल्लाहपश्चात् के ऊ अहङ्कारी अथवा हठी छ? के उसको हृदयमा गलती दोहोऱ्याउनबाट अलग हुने चाहना छ? प्राचीनहरूले यी सबै कुराहरू सोचविचार गरेमा ऊ पश्चात्तापी छैन भन्ने बलियो प्रमाण पाउनेछ। उसले गरेको पाप केवल शारीरिक कमजोरीले नभइ दुष्टताको प्रमाण हो भन्ने निष्कर्षमा प्राचीनहरू पुग्न सक्छन्।
दुष्ट झुकाव भएको व्यक्तिसित व्यवहार गर्दा पनि प्राचीनहरूले धार्मिकताको मार्ग पछ्याउने आग्रह गरी नै रहनेछन्। (हिब्रू ३:१२) दुष्ट व्यक्तिहरू पश्चात्ताप गरेर परिवर्तन हुन सक्छन्। यदि त्यसो नहुँदो हो त, यहोवाले इस्राएलीहरूलाई किन यसरी आग्रह गर्नुहुन्थ्यो: “दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, औ उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।” (यशैया ५५:७) शायद, न्यायिक सुनुवाइ भइरहेकै बेलामा पश्चात्तापी स्वभाव र मनोवृति देखिएमा परिवर्तित हृदयको अवस्था प्राचीनहरूले याद गर्नेछन्।
एक जना व्यक्तिलाई बहिष्कार गर्दा समेत गोठालाहरूको हैसियतमा प्राचीनहरूले उसलाई पश्चात्ताप गरेर यहोवाको अनुग्रह प्राप्त गर्न पुनः फर्किन आग्रह गर्नेछन्। कोरिन्थीको “दुष्ट मानिस[लाई]” सम्झनुहोस्। स्पष्ट छ, पछि उसले आफ्नो मार्ग परिवर्तन गऱ्यो र उसलाई पुनःस्थापित गर्न पावलले सिफारिस गरे। (२ कोरिन्थी २:७, ८) मनश्शे राजालाई पनि सम्झनुहोस्। निस्सन्देह, तिनी असाध्यै दुष्ट थिए तर अन्ततः तिनले पश्चात्ताप गरे र यहोवाले तिनको पश्चात्तापलाई स्वीकार्नुभयो।—२ राजा २१:१०-१६; २ इतिहास ३३:९, १३, १९.
हो, एउटा अक्षम्य पाप छ—त्यो हो, पवित्र आत्मा विरूद्ध पाप। (हिब्रू १०:२६, २७) कसले त्यस्तो पाप गरेको छ भनी यहोवा आफैले छुट्ट्याउनु हुन्छ। त्यो छुट्ट्याउने अख्तियार मानिसहरूसित छैन। मण्डलीलाई सफा राख्नु र पश्चात्तापी पापीहरूलाई पुनःस्थापित हुन मदत दिने जिम्मेवारी प्राचीनहरूको हो। यहोवाको बुद्धिअनुसार निर्णयहरू गरेर समझ र विनम्रतापूर्वक प्रतिबिम्बित रेखदेख गर्ने यस पक्षलाई यहोवाले आशिष् दिनुहुनेछ।
[फुटनोट]
a थप जानकारीको लागि द वाचटावर सेप्टेम्बर १, १९८१ को पृष्ठ २४-६; इन्साइट अन द स्क्रिप्चर्स, खण्ड २, पृष्ठ ७७२-४ हेर्नुहोस्।
[पृष्ठ २९-मा भएको चित्र]
हृदयको दुष्टता प्रकट गर्दै हननिया र सफीराले ढोङ्गी भएर पवित्र आत्मासँग झूटो बोले