राज्य प्रचारकहरूको रिपोर्ट
आफ्ना शत्रुहरूभन्दा यहोवा बलवान हुनुहुन्छ
झूटो धर्म र प्रेतवादलाई चलाएर दियाबल तथा त्यसका प्रेतहरूले सुसमाचार प्रचार-कार्यमा अवरोध पुऱ्याउन प्रयास गरेको निकै भइसक्यो। शैतानका दुष्ट मनसायहरूबारे बाइबलले २ कोरिन्थी ४:४ मा उल्लेख गरेको छ। त्यहाँ यसो भनिएको छ: “जसमा ख्रीष्टको, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस् भनेर यस संसारको देवले अविश्वासीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिएको छ।”
तर यहोवा परमेश्वर शैतानभन्दा बलवान हुनुहुन्छ। “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन्” भन्ने यहोवाको ईश्वरीय इच्छा पूरा हुनदेखि उहाँका शत्रुहरूको कुनै पनि प्रयासले रोक्न सक्दैन। (१ तिमोथी २:४) अस्ट्रेलियाका राज्य प्रचारकहरूको निम्न उल्लेखित रिपोर्टले उक्त कुरा प्रकाश पार्छ।
▫ बीस वर्षसम्म धर्मबाट अलग्गै बसेकी एउटी स्त्रीले पुनः बाइबल पढ्न थालिन्। बाइबल पढ्न पुनःजीवित यस इच्छाको कारण उनीसित अनगिन्ती प्रश्नहरू भए। अतः उत्तर पाउन उनले परमेश्वरसित प्रार्थना गरिन्। उनी सत्य खोज्न चाहन्थिन् तर आफ्नो पुरानो धर्ममा फर्कंदा समस्या समाधान हुँदैन भनी उनलाई थाहा थियो। बरु, उनले पुराना पुस्तकहरू बेचबिखन गर्ने किताब पसलमा धर्मसम्बन्धी कुनै पुस्तक छ कि छैन भनी खोज्न थालिन्।
आफूसित एउटा धार्मिक पुस्तक भएको किताब पसलको साहुनीलाई याद भयो तर त्यो घरमा थियो। यहोवाका साक्षीहरूद्वारा प्रकाशित उक्त पुस्तकको शीर्षक पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ थियो। त्यस स्त्रीले उत्सुकतापूर्वक पुस्तक पढिन् र बाइबलसम्बन्धी आफ्ना थुप्रै प्रश्नहरूको उत्तर भेट्टाइन्। टेलिफोन विवरणिकामा यहोवाका साक्षीहरूको फोन नम्बर खोजेपछि उनले अन्ततः तिनीहरूलाई भेट्टाइन् र नियमित बाइबल अध्ययन गर्न थालिन्।
▫ आफ्नो जन्तर बिक्री गर्न एउटी जवान स्त्रीले स्थानीय अखबारमा विज्ञापन छापिन्। विज्ञापनमा त्यसलाई ‘असाध्यै शक्तिशाली मध्यकालीन जन्तर’ भनी उल्लेख गरिएको थियो। यहोवाका एक साक्षीले त्यो विज्ञापन देखिन्। उनले त्यहाँ दिइएको टेलिफोन नम्बरमा सम्पर्क गरेर त्यस जन्तरको कथित शक्तिको स्रोतबारे कुरा गर्ने निधो गरिन्। पैशाचिक क्रियाकलापबारे बाइबलको दृष्टिकोणबारे छलफल भयो। जन्तर भएकी त्यस जवान स्त्रीले प्रेतहरूसित आफ्नो समस्या हुनाले मदतको निम्ति अघिल्लो दिन मात्र परमेश्वरलाई प्रार्थना गरेको कुरा उनलाई बताइन्। टेलिफोनद्वारा नै अर्को छलफल गर्न साक्षीले प्रबन्ध मिलाइन्।
उनले टेलिफोन गर्दा त्यस जवान स्त्री घरमा थिइनन्। तिनकी आमाले टेलिफोन उठाइन् र भनिन्: “तपाईंले मेरी छोरीलाई के भन्नुभयो त्यो त मलाई थाहा छैन तर जे भयो त्यो एउटा चमत्कार नै हो!” प्रथम टेलिफोन वार्तापश्चात् नै तिनकी छोरीले सबै शैतानी चित्र र पुस्तकहरू फ्याँकेकी र बाइबल पढ्न थालेकी आमाले बताइन्।
तत्कालै, त्यस जवान स्त्रीलाई व्यक्तिगत तवरमा गएर भेट्ने प्रबन्ध मिलाइयो। उनले त्यत्ति नै खेर यहोवाका साक्षीहरूसित नियमित बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारिन्। साक्षीहरूका मसीही सभाहरूमा उपस्थित भएर तिनीहरूसित सङ्गत गर्न पनि थालिन्। पुनः बाइबल सत्यताको सही ज्ञान चम्काउनुभएर यहोवाले प्रेतहरूलाई पराजित गर्नुभयो।