प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १/१५ pp. २४-२९
  • परमेश्‍वरको भय राख्नेहरूसित भेला हुने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको भय राख्नेहरूसित भेला हुने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘परमेश्‍वरको भय राख्‌ र उहाँका आज्ञा पालन गर्‌’
  • ‘ईश्‍वरीय भय र डरसहित पवित्र सेवा चढाऊ’
  • “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देओ”
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको डर मान्‍नुहोस्‌ र उहाँको पवित्र नाउँको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो परमेश्‍वरको भय राख्नुका परिणामहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १/१५ pp. २४-२९

परमेश्‍वरको भय राख्नेहरूसित भेला हुने

“सबै मानिसहरू जताततै हिंसाको भय; बेरोजगारीताको भय र गम्भीर बिमारीको भयजस्ता सबै भयबाट स्वतन्त्रता हुने इच्छा गर्छन्‌। . . . त्यसो भए भय कसरी खेती गर्ने भनी हामी किन छलफल गर्दैछौं त?” त्यो चाखलाग्दो प्रश्‍न, १९९४ जून महिनादेखि प्रारम्भ भएको प्रत्येक “ईश्‍वरीय भय” जिल्ला सम्मेलनको मुख्य भाषणको वक्‍ताले गरेका थिए।

पहिले उत्तरी अमेरिका, त्यसपछि युरोप, मध्य तथा दक्षिण अमेरिका, अफ्रिका, एसिया र समुद्रका टापुहरूमा उपस्थित सबै त्यस्तो भय खेती गर्न सिक्न उत्सुक थिए। किन? किनभने यहोवा परमेश्‍वरले आफ्ना जनहरूलाई दिनुहुने आशिष्‌को भागिदार हुने कुरा हामीमा ईश्‍वरीय भय हुनुमा निर्भर छ। ईश्‍वरीय भय सिक्न ती सबै व्यक्‍तिहरू सम्मेलनमा भेला भएका थिए र तीन दिने कार्यक्रममा यस अत्यावश्‍यक मसीही गुणबारे तिनीहरूले निकै कुराहरू सिके।

‘परमेश्‍वरको भय राख्‌ र उहाँका आज्ञा पालन गर्‌’

सम्मेलनको प्रथम दिनको उपरोक्‍त विषय उपदेशक १२:१३ मा आधारित थियो। परमेश्‍वरको भय राख्नुको अर्थ के हो? ईश्‍वरीय भयले यहोवाप्रतिको विस्मय अनि गहिरो श्रद्धा तथा उहाँलाई अप्रसन्‍न तुल्याउने स्वस्थकर त्रास प्रतिबिम्बित गर्छ भनी कार्यक्रमको सुरुतिर सम्मेलनका सभापतिले वर्णन गरे। त्यस्तो ईश्‍वरीय भय थरथर काँप्ने त्रास होइन; यो स्वस्थकर र उचित हुन्छ।

यस स्वस्थकर भयले हामीलाई कसरी लाभ पुऱ्‍याउँछ? त्यसपछि, “थकित भई हार नमान्‍नुहोस्‌” भन्‍ने भाषणले आनन्दसाथ यहोवाका आज्ञाहरू पालन गर्न ईश्‍वरीय भयले हामीलाई कसरी उत्प्रेरित गर्नेछ भनी वर्णन गऱ्‍यो। परमेश्‍वर र छिमेकीप्रति प्रेमको साथसाथै त्यस्तो भयले हामीलाई आध्यात्मिक बल प्रदान गर्नेछ। हो, अनन्त जीवनको दौडमा थकित भई हार नमान्‍न ईश्‍वरीय भयले हामीलाई मदत गर्न सक्छ।

ईश्‍वरीय भयले हामीलाई सँभाल्न सक्छ भन्‍ने जीवन्त प्रमाणस्वरूप त्यसपछिको कार्यक्रममा अन्तर्वा- र्ताहरू प्रस्तुत गरिएको थियो। भावशून्यता, उदासीनता वा सतावटको बावजूद सेवकाईमा लागिरहन परमेश्‍वरको श्रद्धेय भयले पारेको प्रभाव र कठिन व्यक्‍तिगत परीक्षाहरू सहन कसरी मदत गऱ्‍यो भनी अन्तर्वार्ता दिनेहरूले बताए।

तापनि कसैमा ईश्‍वरीय भय हुनु र कसैमा नहुनुको कारण के हो? “ईश्‍वरीय भय खेती गर्ने र त्यसबाट फाइदा उठाउने” नामक मुख्य भाषणका वक्‍ताले यर्मिया ३२:३७-३९ व्याख्या गरे। त्यहाँ भनिएको थियो, परमेश्‍वरले उहाँका जनहरूलाई ईश्‍वर-भीरू हृदय दिनुहुनेछ। यहोवाले हाम्रो हृदयमा ईश्‍वरीय भय रोपिदिनुहुन्छ। तर कसरी? उहाँको पवित्र आत्मा र उहाँको प्रेरित वचन, बाइबलद्वारा। स्पष्ट छ, परमेश्‍वरको वचन अध्ययन गर्न र उहाँले दिनुभएका प्रशस्त आध्यात्मिक प्रबन्धहरूबाट पूर्ण लाभ उठाउन हामीले साँचो प्रयास गर्नुपर्छ। यसमा हामीलाई ईश्‍वरीय भय सिक्न मदत दिने सम्मेलनहरू र मण्डलीका सभाहरू समावेश छन्‌।

यहोवा र उहाँको वचनमा भरोसा राख्ने सल्लाहका साथ अपराह्नको कार्यक्रम प्रारम्भ भयो। त्यसपछि मसीहीहरूको हैसियतमा राज्यले हाम्रो जीवनलाई असर गर्नुपर्ने आधारभूत तरिकाहरू छलफल गरियो।

त्यसपश्‍चात्‌ सम्मेलनका तीनमध्ये प्रथम गोष्ठी भाषण भयो। गोष्ठीको विषय “ईश्‍वरीय भयले हामीलाई ईश्‍वरीय आवश्‍यकताहरू पालन गर्न उत्प्रेरित गर्छ” भन्‍ने थियो। यसले परिवारमाथि आफ्नो ध्यान केन्द्रित गऱ्‍यो। प्रदान गरिएको शास्त्रीय तथा व्यावहारिक सल्लाहको नमूना निम्नानुसार छ।

◻ पतिहरूका लागि: आफ्नी पत्नीलाई आफ्नै शरीरझैं प्रेम गर्न पतिलाई ईश्‍वरीय भयले प्रेरित गर्नुपर्ने हो। (एफिसी ५:२८, २९) एक पुरुषले जानाजानी आफ्नो शरीरलाई चोट पुऱ्‍याउँदैन, आफ्ना साथीहरू अगाडि आफ्नो बेइज्जत गर्दैन नता आफ्ना भूलहरूबारे निन्दाचर्चा गर्छ। त्यसोभए, उसले आफ्नी पत्नीलाई आफूलाई जस्तै सम्मान र आदरपूर्ण व्यवहार गर्नुपर्छ।

◻ पत्नीहरूका लागि: ‘सधैं परमेश्‍वरलाई मन पर्ने कुराहरू गर्न’ येशूलाई ईश्‍वरीय भयले प्रेरित गऱ्‍यो। (यूहन्‍ना ८:२९) आफ्ना पतिहरूसित व्यवहार गर्दा पत्नीहरूले अनुसरण गर्न सक्ने यो असल मनोभाव हो।

◻ आमाबाबुहरूका लागि: छोराछोरीहरू यहोवाले दिनुभएको धन सम्झी आमाबाबुले तिनीहरूप्रति निभाउनु पर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गरेर मसीही आमाबाबुले ईश्‍वरीय भय देखाउन सक्छन्‌। (भजनसंग्रह १२७:३) आमाबाबुहरूको मुख्य लक्ष्य आफ्ना छोराछोरीहरूलाई साँचो मसीहीहरू बनाउने हुनुपर्छ।

◻ छोराछोरीहरूका लागि: “प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन” गर्न यहोवाले छोराछोरीहरूलाई निर्देशन दिनु भएको छ। (एफिसी ६:१) यसर्थ, आमाबाबुको आज्ञा पालन गर्नु भनेको परमेश्‍वरको आज्ञा पालन गर्नु हो।

त्यस दिनको समापन भाषणले हाम्रा भावनाहरूलाई असर गऱ्‍यो किनभने मृत्युको कारण आफ्नो प्रिय जनलाई गुमाउनु पर्दा हामी सबैले अनुभव गर्ने गहिरा भावनाहरू यसमा छलफल गरियो। तर भाषणको बीचतिर सबै छक्क परे। जब तपाईंको प्रिय जनको मृत्यु हुन्छ नामक नयाँ पुस्तिका विमोचनको घोषणा गरेर वक्‍ताले सम्पूर्ण श्रोतागणलाई हर्षित तुल्याए। यस ३२ पृष्ठ भएको रंगीन प्रकाशनले शोकाकूलहरूका भावनाहरू बुझ्न र प्रिय जनको मृत्युपश्‍चात्‌ उर्लने भावनाहरूको सामना गर्न मदत दिने निकै कुरा बतायो। शोक सन्तप्तलाई के भन्‍ने भनी के तपाईं कहिल्यै अलमल्ल पर्नुभएको छ? शोकाकूलहरूलाई कसरी मदत दिन सकिन्छ भनी यस पुस्तिकाको एउटा भागले छलफल गर्छ। वक्‍ताले भाषण दिइरहँदा स्रोतागणमध्ये धेरैले यो नयाँ पुस्तिकाबाट लाभ उठाउन सक्ने व्यक्‍तिहरूबारे सोचिरहेका थिए।

‘ईश्‍वरीय भय र डरसहित पवित्र सेवा चढाऊ’

दोस्रो दिनको उक्‍त विषय हिब्रू १२:२८ मा आधारित थियो। बिहानको कार्यक्रममा दोस्रो गोष्ठी, “यहोवाको भयमा चल्ने मण्डलीहरू” थियो। पहिलो भागले सभाहरूमा उपस्थितबारे छलफल गऱ्‍यो। सभाहरूमा हाम्रो उपस्थितिले परमेश्‍वर र उहाँका आध्यात्मिक प्रबन्धहरूप्रति आदर प्रदर्शित गर्छ। सभाहरूमा उपस्थित भएर हामी उहाँको नाउँको भय राख्न र उहाँको इच्छाअनुसार गर्न इच्छुक छौं भनेर देखाउँछौं। (हिब्रू १०:२४, २५) पूरै मण्डली यहोवाको भयमा चल्न व्यक्‍तिविशेषले असल चालचलन कायम राख्नु आवश्‍यक छ भनेर दोस्रो वक्‍ताले वर्णन गरे। सारा मसीहीहरूले पाएको विशेषाधिकार र कर्तव्यबारे अन्तिम वक्‍ताले बताए—त्यो हो, निरन्तर सुसमाचार सुनाउनु। हामी कतिन्जेल प्रचार गरिरहनेछौं? जबसम्म यहोवाले पुग्यो भन्‍नुहुन्‍न।—यशैया ६:११.

अहिले यस पत्रिकाको अध्ययन लेखमा छलफल गरिएको विषय “यहोवाको आनन्द तपाईंको गढ हो” त्यसपछिको भाषणको विषय थियो। (नहेम्याह ८:१०) यहोवाका जनहरू किन आनन्दित छन्‌? वक्‍ताले थुप्रै कारणहरू उल्लेख गरे। पृथ्वीका मानिसहरूमध्ये आनन्दित हुनुको सबैभन्दा उल्लेखनीय कारण परमेश्‍वरसितको घनिष्ठ सम्बन्ध हो। सम्मेलनमा आएकाहरूलाई वक्‍ताले स्मरण गराउँदै भने, यहोवाले येशू ख्रीष्टतर्फ खिंच्नुभएका मानिसहरू हुन पाउनुको विशेषाधिकार हामीसित छ। (यूहन्‍ना ६:४४) आनन्दित हुने कस्तो शक्‍तिशाली कारण!

हरेक सम्मेलनको मुख्य आकर्षण बप्तिस्मा हो र “ईश्‍वरीय भय” जिल्ला सम्मेलन कुनै अपवाद थिएन। “यहोवाको भयमा समर्पण र बप्तिस्मा” नामक भाषणमा बप्तिस्मा प्राप्त व्यक्‍तिहरूको चौपक्षीय जिम्मेवारीबारे वक्‍ताले बुझाए। (१) बाइबललाई बुझ्न अनि प्रयोगमा ल्याउन मदत गर्ने सबै प्रकाशनहरूको सहायताद्वारा हामीले परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ; (२) हामीले प्रार्थना गर्नुपर्छ; (३) मण्डलीका सभाहरूमा सँगी विश्‍वासीहरूसित हामीले संगत गर्नुपर्छ; र (४) यहोवाको नाउँ र राज्यको साक्षी दिनुपर्छ।

“यहोवाद्वारा नत्यागिएका जनहरू” भन्‍ने भाषणबाट शनिवार अपराह्नको कार्यक्रम आरम्भ भयो। पैंतीस शताब्दीअघि इस्राएल राष्ट्रले कठिन परीक्षाहरू सामना गर्दा मोशाद्वारा यहोवाले यस्तो ग्यारेन्टी दिनुभयो: “परमप्रभु परमेश्‍वरले . . . तिमीहरूलाई त्याग्नुहुनेछैन।” (व्यवस्था ३१:६) प्रतिज्ञात्‌ देशमा प्रवेश गरेर त्यसलाई कब्जा गर्न इस्राएलीहरूलाई जोगाउनुहुँदा यहोवाले आफ्नो ग्यारेन्टी पूरा गर्नुभयो। आज, हामीले कठिन परीक्षाहरू सामना गर्दा यहोवाले हामीलाई त्याग्नुहुनेछैन भनी पूर्ण भरोसा राख्न सक्छौं तर त्यसको लागि हामी उहाँको नजिक भएर उहाँको वचन पालन गर्नुपर्छ।

बाइबल पढेर तपाईं कसरी आनन्दित हुन सक्नुहुन्छ? “दिनहुँ परमेश्‍वरको वचन, पवित्र बाइबल पढ्‌नुहोस्‌” भन्‍ने भाषणमा जिज्ञासु मन लिएर पढ्‌न र आफूसँग निम्न प्रकारका प्रश्‍नहरू सोध्न वक्‍ताले सुझाव दिए: यहोवाका गुणहरू र तौरतरिकाहरूबारे यो विवरणले मलाई के सिकाउँछ? यी क्षेत्रहरूमा म कसरी अझ बढी यहोवाजस्तै हुन सक्छु? यसप्रकार बाइबल पढ्‌नु आनन्ददायी र इनामदायी अनुभव हो।

त्यसपछि कार्यक्रमको तेस्रो गोष्ठीमा ध्यान केन्द्रित गरियो। त्यो थियो, “यहोवाको भय मान्‍नेहरूलाई मदत गर्ने प्रबन्धहरू।” यहोवाले आज आफ्ना सेवकहरूको खातिर चमत्कारहरू नगर्नु भएता पनि उहाँको भय राख्नेहरूलाई उहाँले निस्सन्देह मदत गर्नुहुन्छ। (२ पत्रुस २:९) यी डरलाग्दा समयमा हामीलाई मदत गर्ने यहोवाको चार प्रबन्धबारे यो गोष्ठीले छलफल गऱ्‍यो: (१) यहोवाले आफ्नो आत्माद्वारा हाम्रो शक्‍तिले नभ्याउने कार्यहरू सम्पन्‍न गर्नुहुन्छ। (२) उहाँको वचनद्वारा हामीलाई सल्लाह र डोऱ्‍याई प्रदान गर्नुहुन्छ। (३) छुटकाराको मोलद्वारा उहाँले हामीलाई सफा अन्तस्करण दिनुहुन्छ। (४) उहाँको सङ्‌गठन र प्राचीनहरू मार्फत हामीलाई निर्देशन र सुरक्षा प्रदान गर्नुहुन्छ। (लूका ११:१३; एफिसी १:७; २ तिमोथी ३:१६; हिब्रू १३:१७) यी प्रबन्धहरूको पूर्ण सदुपयोग गरेर हामीले धैर्य धारण गर्न र यहोवाको अनुमोदन प्राप्त गर्न सक्नेछौं।

शनिवार अपराह्न कार्यक्रमको अन्तिम भाषणको विषय मलाकीको भविष्यवाणीमा आधारित “यहोवाको डरलाग्दो दिन नजिकै छ” थियो। सा.यु. ७० मा यरूशलेममाथि न्याय गर्दा प्राचीन इतिहासमा डरलाग्दो दिन थियो। तर सम्पूर्ण मानव अनुभवमा सबैभन्दा भयङ्‌कर दिन यहोवाको आउँदै गरेको दिन, “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला दिंदा” हुनेछ। (२ थिस्सलोनिकी १:६-८) त्यो कति चाँडै हुनेछ? वक्‍ताले भने: “अन्त नजिकै छ! यहोवालाई त्यो दिन र घडी थाहा छ। उहाँले आफ्नो समय तालिका परिवर्तन गर्नुहुनेछैन। हामीलाई धीरजी भएर उहाँको बाटो हेर्न भनिएको छ।”

दुई दिन बितिसकेको त पत्तै भएन। अन्तिम दिनको कार्यक्रम कस्तो हुनेछ?

“परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देओ”

तेस्रो दिनको विषय प्रकाश १४:७ मा आधारित थियो। बिहानको कार्यक्रममा श्रृंखलाबद्ध भाषणहरूले यहोवाका साक्षीहरू अरू धार्मिक संगठनहरूभन्दा कसरी अलग छन्‌ भनी देखाउने केही धर्मसिद्धान्तहरूमाथि प्रकाश पाऱ्‍यो।

“धर्मीहरूको पुनरुत्थान हुनेछ” भन्‍ने भाषणमा वक्‍ताले एउटा चाखलाग्दो प्रश्‍न उठाए: “शैतानको रीतिरिवाजको अन्ततिर विश्‍वासी भएर मर्नेहरूको पुनरुत्थान त्यस हजार वर्षीय न्यायको दिनमा कतिखेर हुनेछ?” वक्‍ताले भने, “कहिले हुनेछ भनी बाइबलले बताउँदैन। तर न्यायको दिनभरि चल्ने विशाल शैक्षिक कार्यमा भाग लिन आरमागेडोन पार गर्ने ठूलो भीडलाई यस काममा सहयोग गर्न हाम्रा समयमा मर्नेहरूको चाँडै पुनरुत्थान हुनु के तर्कपूर्ण कुरा होइन र? अवश्‍य हो!” के त्यहाँ बाँच्नेहरू हुनेछन्‌? पक्कै हुनेछन्‌। “महासंकष्टबाट बचाइएका मानिसहरू” नामक अर्को भाषणमा वर्णन गरिएका बाइबलका शिक्षाहरू र उदाहरणहरूले यसको पुष्टि दिन्छ।

बाइबलले दुइटा आशाहरू प्रदान गर्छ भनी यहोवाका साक्षीहरूले निकै समयदेखि बुझेका छन्‌—अनगिन्ती लाखौं व्यक्‍तिहरूका लागि पार्थिव प्रमोदवनमा अनन्त जीवन र ख्रीष्टसित उहाँको राज्यमा शासन गर्ने सीमित संख्यालाई स्वर्गमा अमरत्व। “ए सानो बगाल, नडराओ” भन्‍ने भाषणमा स्वर्गीय आशाबारे छलफल गरिएको थियो। (लूका १२:३२) वर्तमान विश्‍व-परिस्थितिलाई दृष्टिगत गर्दा सानो बगाल निडर हुनुपर्छ; तिनीहरूमध्ये प्रत्येकले अन्तसम्मै धीरज धारण गर्नुपर्छ। (लूका २१:१९) वक्‍ताले भने, “तिनीहरूको निडरताले ठूलो भीडलाई प्रोत्साहित गर्छ। पृथ्वीले अनुभव गरेको सबैभन्दा समस्याग्रस्त समयबाट छुटकाराको प्रत्याशा गर्दा तिनीहरूले पनि निडरताको मनोवृत्ति खेती गर्नुपर्छ।”

बिहानको कार्यक्रमको समाप्तिमा स्रोतागणले रमाइलो मानेर बाइबल नाटक तपाईंले सामना गर्ने छनौटहरू हेरे। यहोशू र अगमवक्‍ता एलियाको दिनमा इस्राएलीहरू दोसाँधमा थिए। एउटा छनौट गर्नुपरेको थियो। एलियाले यसो भने: “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभुनै परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याऊ। तर यदि बाल परमेश्‍वर हो भने त्यसलाई पछ्याऊ।” (१ राजा १८:२१) आज पनि मानवजाति दोसाँधमा छ। दोधारमा बसिरहरने ठाउँ नै छैन। सही छनौट के हो? पुरातन यहोशूले गरेजस्तै छनौट। उनले भने: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”—यहोशू २४:१५.

चालै नपाइकन आइतवार अपराह्न भइसकेको थियो र “साँचो परमेश्‍वरको भय अहिले नै किन मान्‍ने?” शीर्षक भएको जन भाषण सुन्‍ने बेला भइसकेको थियो। प्रकाश १४:६, ७ मा सारा मानवजातिलाई यो आग्रह गरिएको छ: “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देओ।” अहिले नै परमेश्‍वरको डर राख्नु किन जरूरी छ? किनभने शास्त्रले अझै यसो भन्छ: “उहाँको ठूलो इन्साफको समय आएको छ।” परमेश्‍वरको स्वर्गीय राज्यमा अहिले शासनारूढ राजाको हैसियतमा उहाँको पुत्र मार्फत यस वर्तमान अशुद्ध, विद्रोही रीतिरिवाजलाई यहोवाले अन्त गर्नुहुनेछ। परमेश्‍वरको भय राख्ने र हाम्रो पार्थिव घरलाई बचाउने यही एक मात्र तरिका हो भनी वक्‍ताले वर्णन गरे। वर्तमान समय यस रीतिरिवाजका समापन दिन भएकोले अहिले नै साँचो परमेश्‍वरको भय राख्नु जरूरी छ!

त्यस हप्ताको प्रहरीधरहराको सारांशपश्‍चात्‌ अन्तिम वक्‍ता भाषण दिन मञ्चमा आए। सम्मेलन कार्यक्रमले गर्दा उपस्थित सबैलाई ईश्‍वरीय भयले अझ महत्त्वपूर्ण अर्थ दिएको छ भनी उनले बताए। परमेश्‍वरको भय मान्‍नेहरूले पाउने थुप्रै आशिष्‌हरूमाथि वक्‍ताले जोड दिए। वक्‍ताले नयाँ भिडियो चलचित्र—ईश्‍वरीय शिक्षाद्वारा एकत्रित विमोचन भएको घोषणा गरे। यसले १९९३-९४ मा सम्पन्‍न “ईश्‍वरीय शिक्षा” अन्तर्राष्ट्रिय सम्मेलनहरूका अनुपम पक्षहरू प्रकाश पार्छ। भाषण टुङ्‌गिनै लाग्दा धेरैले सोच्न थालिसकेका थिए, ‘अर्को वर्ष हामी के प्रतिक्षा गर्न सक्छौं?’ धेरै ठाउँहरूमा हामी तीन दिने जिल्ला सम्मेलनहरू प्रतिक्षा गर्न सक्छौं।

अन्तमा वक्‍ताले मलाकी ३:१६ लाई उल्लेख गरे। त्यहाँ यसो भनिएको छ: “तब परमप्रभुको डर मान्‍नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्‍नुभयो, औ उहाँको डर मान्‍नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” यहोवाको नाउँबारे सोच्न र ईश्‍वरीय भयका साथ उहाँको सेवा गर्न पूर्ण कटिबद्ध भई सम्मेलनमा उपस्थित भएकाहरू फर्के।

[पृष्ठ २४-मा भएको चित्र]

बप्तिस्मा लिने उम्मेदवारहरूले ईश्‍वरीय भय प्रदर्शन गरी नै रहनुपर्छ

[पृष्ठ २५-मा भएको चित्र]

“तपाईंले सामना गर्ने छनौटहरू” नाटकले श्रोतागणलाई यहोवाको सेवा गर्दा निर्णायक हुनु पर्ने आवश्‍यकतामाथि जोड दियो

[पृष्ठ २६-मा भएको चित्र]

“जब तपाईंको प्रिय जनको मृत्यु हुन्छ” नामक नयाँ पुस्तिका पाउँदा सम्मेलनमा उपस्थित हुनेहरू हर्षित भए

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने