हालै के तपाईंले कसैलाई प्रोत्साहन दिनुभएको छ?
उनको गर्भाशयमा अर्बुद रोग भएको डाक्टरहरूले पत्ता लगाउँदा एलीना १७ वर्षकी मात्र थिइन्। असह्य पीडा भोगिरहेकी एलीनाको वेदना उनकी आमा, मारीले हेर्नु पऱ्यो।
अन्ततः, क्यानरी आइल्याण्डमा आफ्नो घरभन्दा १,९०० किलोमिटर टाढा माड्रिड, स्पेनको अस्पतालमा एलीनालाई सारियो। माड्रिडमा सहयोगी डाक्टरहरूको समूह रगतबिना शल्यक्रिया गर्न राजी भए। (प्रेरित १५:२८, २९) तर एलीना मरणान्त अवस्था छे भन्ने कुरा शल्यक्रियाको थोरै समयपश्चात् नै स्पष्ट भयो। अर्बुद रोग उनको शरीरभरि फैलिसकेको थियो र समस्या समाधान गर्न शल्यचिकित्सकहरूले गर्न सक्ने कुनै उपाय नै थिएन। माड्रिड पुगेको आठ दिनपछि एलीनाको मृत्यु भयो।
मारी कार्मेनले त्यस भयंकर दुःखदायी अनुभव एक्लै सहनु परेन। आफ्नै निजी खर्च बेहोरेर दुई मसीही प्राचीन उनी र उनको जेठो छोरा सँगै माड्रिड गए अनि एलीनाको मृत्युसम्मै त्यहाँ बसे। मारी बताउँछिन्: “मैले महसुस गरेकी असह्य शून्यताको भावना सहन उहाँहरूले मलाई मदत दिनुभयो। उहाँहरूले दिनु भएको प्रोत्साहन म कहिल्यै बिर्सने छैन। उहाँहरूले दिनु भएको आध्यात्मिक समर्थन र व्यावहारिक मदत अनमोल थियो। उहाँहरू साँच्चै नै ‘आँधी-बेह्रीबाट आड़ लिने ठाउँ’ हुनुहुन्थ्यो।”—यशैया ३२:१, २.
यस्ता मायालु गोठालाहरूले उहाँको भेडालाई कोमलतापूर्वक व्यवहार गरेकोमा यहोवा खुशी हुनुहुन्छ। (हितोपदेश १९:१७; १ पत्रुस ५:२-४) तर प्रोत्साहन दिनु प्राचीनहरूको मात्र विशेषाधिकार होइन। आध्यात्मिक निर्देशन प्राप्त गर्न र ‘एउटाले अर्कोलाई अर्ती दिन’ हामी सबै मसीहीहरू एकसाथ भेला हुन्छौं। (हिब्रू १०:२४, २५) प्रोत्साहन मसीही संगतिको अविछिन्न भाग हो।
प्रोत्साहनमा कुन कुरा समावेश छ?
पानीको अभावमा एउटा सुन्दर फूल लुत्रुक्क परेझैं परिवार र मण्डलीका व्यक्तिविशेषहरू पनि प्रोत्साहनको अभावमा ओइलाउन सक्छन्। अर्कोतिर, सामयिक प्रोत्साहनले सतावट सामना गर्नेहरूलाई मजबूत पार्न, निराश भएकाहरूलाई प्रफुल्लित पार्न र विश्वासीपूर्वक परमेश्वरको सेवा गरिरहेकाहरूलाई स्फूर्ति प्रदान गर्न सक्छ।
“प्रोत्साहन” भनी अनुवाद गरिएको युनानी शब्दमा ढाढस, आग्रह र सान्त्वना दिनु भन्ने विचार समावेश छ। तसर्थ, कसैले राम्रो गरिरहेको छ भन्नुमा मात्र प्रोत्साहन सीमित छैन। यसमा व्यावहारिक सहयोग र आध्यात्मिक मदत प्रदान गर्नु पनि समावेश हुन सक्छ।
वास्तवमा, “प्रोत्साहन” भनी अनुवाद गरिएको युनानी शब्दको अक्षरसः अर्थ “कसैको उपस्थितिमा आउन निमन्त्रणा दिनु” हो। हाम्रा आध्यात्मिक भाइ-बहिनीहरू सँगसँगै हिंड्यौं भने तिनीहरूमध्ये कोही एक थाक्दा वा ठोकर खाँदा हामी तत्कालै टेवा दिन सक्छौं। (उपदेशक ४:९, १०) चाखलाग्दो कुरा, यहोवाका जनहरू “एकै हृदयको भएर उहाँको सेवा” गर्छन्। (सपन्याह ३:९) अनि प्रेरित पावलले एक मसीहीलाई “सच्चा जोड़ीदार” भने। (फिलिप्पी ४:३) एउटै जुवामुनि काँधमा काँध मिलाएर सेवा गर्नाले विशेषगरि आध्यात्मिकतामा कमजोरहरूको भारी हलुको हुन्छ।—तुलना गर्नुहोस् मत्ती ११:२९.
तिनीहरूले प्रोत्साहन दिए
प्रोत्साहन त्यत्तिको महत्त्वपूर्ण भएकोले केही शास्त्रीय उदाहरणहरूमा हामी ध्यान देऔं। परमेश्वरको अगमवक्ता मोशा आफ्नो जीवनको अन्ततिर आइपुग्दा इस्राएलीहरूको नेता हुन यहोवाले यहोशूलाई जिम्मा लगाउनुभयो। यो कार्यभार सजिलो थिएन भनेर मोशालाई राम्ररी थाहा थियो। (गन्ती ११:१४, १५) यसप्रकार, “यहोशूलाई आज्ञा दे, र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना” भनी यहोवाले मोशालाई भन्नुभयो।—व्यवस्था ३:२८.
इस्राएलका न्यायकर्त्ताहरूको समयमा यहोवाको मन्दिरमा सेवा गर्न यिप्तहकी छोरीले आफ्नो बुबाको भाकल पूरा गर्न र आफ्नो परिवार बसाउन सक्ने सम्भावनालाई पनि स्वेच्छापूर्वक त्यागिन्। के उनको त्याग व्यर्थै गयो? गएन किनभने न्यायकर्त्ता ११:४० ले यसो भन्छ: “इस्राएलका छोरीहरू प्रत्येक वर्ष चार दिनसम्म यिप्तहकी छोरीको स्मृतिमा जानपर्ने एउटा परम्परा भयो।” त्यस्ता भेटघाटहरू यिप्तहकी आत्मत्यागी छोरीको लागि निकै प्रोत्साहनवर्धक भएको हुनुपर्छ।
प्रोत्साहन दिंदा कहिलेकाहीं साहसको खाँचो हुन्छ। प्रेरित पावलको प्रथम मिसनरी यात्रामा एसिया माइनरका थुप्रै शहरहरूमा उनले भीषण विरोध सामना गर्नुपऱ्यो। उनी एन्टिओकबाट निष्कासित गरिए, आइकोनियममा मृत्युदण्डबाट बल्लतल्ल उम्के, ढुंगाले हानेर मरेतुल्य गरी लिस्त्रामा छोडिए। तर त्यसको थोरै समयपश्चात् “चेलाहरूका आत्मालाई स्थिर गराउँदै तिनीहरूलाई विश्वासमा रहिरहेर अनेक कष्ट सही परमेश्वरको राज्यमा पस्नैपर्छ भन्ने तिनीहरूलाई उत्साह दिंदै” पावल र उनका सहचरहरू ती शहरहरूमा फर्के। (प्रेरित १४:२१, २२) यी नयाँ चेलाहरूलाई प्रोत्साहन दिन पावल आफ्नो ज्यान खतरामा पार्न तयार थिए।
यद्यपि, प्रोत्साहनको खाँचो पर्ने मसीहीहरू यी नयाँ चेलाहरू मात्रै होइनन्। धेरै वर्षपश्चात् रोमतर्फ कठिन यात्रामा पावल गए जहाँ उनको पुपर्क्ष हुन लागेको थियो। आफ्नो गन्तव्य स्थान नजिकै पुग्दा उनी कताकता हतोत्साहित भएको हुन सक्छ। तर रोमबाट ७४ किलोमिटर दक्षिणपूर्वमा आइपुग्दा उनी प्रोत्साहित भए। किन? किनभने रोमका भाइहरू उनलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भन्ने ठाउँमा आएका थिए। “यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढ़ाए, र हौसला दिए।” (प्रेरित २८:१५) त्यस्तै प्रकारका अवरसहरूमा हाम्रो उपस्थिति मात्र पनि सँगी उपासकहरूको लागि निकै प्रोत्साहनजनक हुन सक्छ।
प्रोत्साहन दिन अवसहरूको सदुपयोग गर्नुहोस्
निस्सन्देह, प्रोत्साहन दिने अवसरहरू धेरै हुन्छन्। ईश्वरतान्त्रिक सेवकाई पाठशालामा कुनै भाइ या बहिनीले विद्यार्थी भाषण राम्ररी प्रस्तुत गर्दा के तपाईंको हृदय उत्प्रेरित भएको थियो? मण्डलीमा आध्यात्मिक तवरले बलिया किशोर-किशोरीहरू भएकोमा के तपाईं प्रसन्न हुनुहुन्छ? के वृद्धहरूको धीरजले तपाईंलाई प्रभावित गरेको छ? घर-घरको सेवकाईमा एक अग्रगामीले शास्त्रपद चलाएको ढंग देखेर के तपाईं चकित हुनुभएको थियो? त्यसो भए सराहना गर्नुहोस् र केही प्रोत्साहनजनक कुरा भन्नुहोस्।
परिवार लगायत मण्डलीमा प्रोत्साहनले अत्यावश्यक भूमिका खेल्छ। यसले छोराछोरीहरूलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर्न” आमाबाबुलाई मदत दिन सक्छ। (एफिसी ६:४) आफ्नो छोरा वा छोरीलाई श्याबासी दिंदा र दिनुको कारण बताउनु असाध्यै प्रोत्साहनजनक हुन सक्छ! किशोरवस्थामा जवानहरूले थुप्रै प्रलोभन र दबाब सामना गर्ने हुँदा निरन्तर प्रोत्साहन दिनु अत्यावश्यक छ।
बाल्यावस्थामा प्रोत्साहनको अभाव निकै हानिकारक हुन सक्छ। अहिले मसीही प्राचीन, माइकल मिलनसार छन् तर उनी भन्छन्: “मैले राम्रो गरें भनेर बुबाले मलाई कहिल्यै भन्नुभएन। त्यसैले हुर्कंदै जाँदा मभित्र आत्मसम्मानको कमी भयो। . . . अहिले म ५० वर्ष पुगिसके तापनि प्राचीनको हैसियतमा मैले राम्रो गरिरहेछु भनी साथीहरूले आश्वासन दिंदा अझै पनि म मूल्यांकन गर्छु। . . . अरूलाई प्रोत्साहन दिनु कत्तिको महत्त्वपूर्ण छ भनी आफ्नै अनुभवले मलाई सिकाएको छ र अरूलाई प्रोत्साहन दिन म सक्दो प्रयत्न गर्छु।”
प्रोत्साहन कसलाई चाहिन्छ?
कडा परिश्रम गर्ने प्राचीनहरू प्रोत्साहनको योग्य छन्। पावलले यसप्रकार लेखे: “हे भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौं, कि तिमीहरूमा परिश्रम गर्नेहरू, प्रभुमा अगुवा हुनेहरू र तिमीहरूलाई चेताउनी दिनेहरूको आदर गर। औ तिनीहरूका कामको खातिर तिनीहरूलाई अति उच्च आदर गर।” (१ थिस्सलोनिकी ५:१२, १३) प्राचीनहरूको कडा मिहेनतप्रति कृतज्ञता व्यक्त नगरिकन बस्नु सजिलो छ। तर साँचो मूल्यांकन र प्रोत्साहनजनक शब्दहरूले तिनीहरूको भारीलाई हलुंगो पार्न सक्छ।
हामीमध्ये कठिन परिस्थितिहरू भोगिरहेकाहरूलाई पनि प्रोत्साहन चाहिन्छ। बाइबलले यसरी सल्लाह दिन्छ: “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर।” (१ थिस्सलोनिकी ५:१४) एकल आमाबाबु, विधवा, किशोर-किशोरी, वृद्ध तथा बिरामीहरू समय समयमा निराशित हुने अथवा आध्यात्मिकतामा कमजोर हुने खालका मानिसहरू हुन्।
मरिया एउटी मसीही स्त्री हुन् जसले आफू अचानक पतिबाट त्यागिएको पाइन्। उनले भनिन्: “अय्यूबझैं म कहिलेकाहीं मर्न चाहन्थें। [अय्यूब १४:१३] तापनि मैले प्राप्त गरेको प्रोत्साहनले गर्दा हरेस खाइनँ। पूर्ण-समय सेवा लागिरहनुको महत्त्व बुझ्ने मदत दिन मैले राम्ररी चिनेका दुई प्राचीनहरूले मसित घण्टौं बिताए। अनि मैले आफ्ना समस्याहरू पोख्दा धैर्यपूर्वक सुनेर दुई समझदार बहिनीहरूले पनि मलाई आश्वासन दिए। परिस्थितिलाई यहोवाको दृष्टिकोणबाट हेर्न मदत दिन तिनीहरूले बाइबल प्रयोग गरे। भजनसंग्रह ५५:२२ हामीले कति चोटि पढ्यौं त्यो त मलाई याद छैन तर मलाई यति थाहा छ, यो शास्त्रपद प्रयोग गरेर मैले बिस्तारै आध्यात्मिक तथा भावनात्मक सन्तुलन कायम गर्न सकें। यो घटना १२ वर्षअघिको हो तर अहिलेसम्म पूर्ण-समय सेवामै लागिरहेकोमा म प्रसन्न छु। कहिलेकाहीं आइपर्ने भावनात्मक पीडाको बावजूद पनि मेरो जीवन इनामदायी र सुखमय छ। त्यस्ता घडिहरूमा प्रोत्साहन प्राप्त गर्नाले जीवनमा ठूलो फरक पार्न सक्छ भनेर म विश्वस्त छु।”
गल्तीहरू गरेको र त्यसलाई सुधार्न अहिले संघर्ष गरिरहेको हुँदा केहीलाई प्रोत्साहन चाहिन्छ। शायद तिनीहरूले मायालु ताडना पाएका छन्। (हितोपदेश २७:६) शास्त्रीय सल्लाह अपनाएको देख्दा सराहना गर्न ती प्राचीनहरू सतर्क हुन सक्छन् जसले ताडना दिएका छन्। तिनीहरूका प्रोत्साहनजनक शब्दहरूको द्विपक्षीय लाभ हुनेछ—गल्ती गर्नेप्रति प्रेमको पुष्टि दिन्छ ताकि उ “झन् बढ़ता शोकले” नडुबोस् र सल्लाह अपनाउनुको लाभ उसलाई स्मरण गराउँछ।—२ कोरिन्थी २:७, ८.
एक प्राचीनले गम्भीर पाप गरे र मण्डलीमा सुपरिवेक्षणको विशेषाधिकार गुमाए। उनी भन्छन्: “म प्राचीनबाट हटाइएको घोषणा मण्डलीमा गरिंदा भाइहरूले मेरो बीच अप्ठ्यारो महसुस गर्नेछन् जस्तो लागेको थियो। तर प्राचीनहरूले त्यसो हुनुको कारणलाई असाध्यै गोप्य राखे र मलाई प्रोत्साहन दिन यथासक्दो गरे। त्यस्तैगरि मण्डलीका बाँकि सदस्यहरूले पनि मप्रति प्रेम र संगति प्रदान गरे। यसले गर्दा मेरो आध्यात्मिक निवारण साँच्चै छिटो भयो।”
प्रोत्साहनदायी हुनुहोस्
हाम्रो व्यस्त जीवनमा प्रोत्साहन दिन सजिलै भुल्न सकिन्छ। तर प्रोत्साहन दिनु निकै लाभदायक हुन सक्छ! प्रभावशाली प्रोत्साहन दिन तपाईंले दुइटा कुरा मनमा राख्नुपर्छ। प्रथमतः, के भन्ने भनेर सोच्नुहोस् ताकि तपाईंको प्रोत्साहन स्पष्ट हुनेछ। दोस्रो, सराहना योग्य अथवा हौसलाको खाँचो भएको व्यक्तिलाई प्रोत्साहन दिने अवसर खोज्नुहोस्।
जति बढी यसो गर्नुहुन्छ, तपाईं उति नै खुशी हुनुहुनेछ। आखिरमा, येशूले हामीलाई यस्तो आश्वासन दिनुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) अरूलाई प्रोत्साहन दिंदा तपाईं पनि प्रोत्साहित हुनुहुनेछ। प्रत्येक दिन कसैलाई प्रोत्साहन दिने लक्ष्य बनाए कसो होला?