आम-आलोचनाको सामना मसीहीहरूले कसरी गर्छन्
तपाईंको आलोचना गर्दा वा झूटो कुरा फैलाउँदा तपाईंलाई कस्तो लाग्छ? स्वाभाविकतः तपाईंको मनमा ठूलो चोट लाग्छ। समाचार माध्यमद्वारा गलत वा मिथ्यापूर्ण जानकारीको शिकार हुनुपर्दा यहोवाका साक्षीहरू त्यस्तै महसुस गर्छन्। तर मत्ती ५:११, १२ मा येशूले भन्नुभएझैं तिनीहरूसँग आनन्दित हुने कारण अझै पनि छ।
उदाहरणको लागि, “प्रत्येक साक्षीले आफ्नो आम्दानीको १७ देखि २८ प्रतिशत आफ्नो सम्प्रदायको मुख्यालयमा पठाउन अनिवार्य छ” भनेर जर्मनीको क्याथोलिक पत्रिकाले दाबी गरेको थियो। तथापि, यहोवाका साक्षीहरू सम्प्रदाय होइन र तिनीहरूको काम पूर्णतया स्वेच्छाकृत चन्दाद्वारा सञ्चालन हुन्छ। यी गलत जानकारीहरूले गर्दा थुप्रै पाठकहरू भ्रममा परेका थिए। यो कुरा यहोवाका साक्षीहरूका निम्ति खेदपूर्ण छ। तर समाचार माध्यमहरूद्वारा गरिने त्यस्तो आलो- चनाप्रति साँचो मसीहीहरूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुपर्छ?
मसीहीहरूको निम्ति अनुकरणीय उदाहरण
धार्मिक विरोधीहरूको ढोंग र छललाई येशूले कसरी भर्त्सना गर्नुभयो भनेर मत्ती २३ अध्यायले ज्वलन्त विवरण पेश गर्छ। आलोचकहरूको सामना कसरी गर्ने भनेर के यसले आज मसीहीहरूको निम्ति नमुना प्रदान गर्छ? त्यसो भन्नु त्यति मिल्दैन। स्रोताहरूको ठूलो भीडको हितलाई ध्यानमा राख्नुहुँदै परमेश्वरको पुत्रले आफ्नो अनुपम अख्तियार र अन्तर्दृष्टिको आधारमा धार्मिक विरोधीहरूको भर्त्सना गर्नुभएको थियो।
येशूका चेलाहरूले यहूदी रीतिरिवाजलाई अवहेलना गरेकोले उहाँको आलोचना गरिएको कुरा मत्ती १५:१-११ ले बताउँछ। येशूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो त? उहाँ दृढ र अटल भएर बस्नुभयो। कुनै कुनै बेला येशूले आफ्ना आलोचकहरूको गलत दृष्टिकोण सच्याउनुहुँदै तिनीहरूसँग खुल्लमखुल्ला विवाद गर्नुहुन्थ्यो। सरल भाषामा भन्ने हो भने, आज आफ्नो काम वा शिक्षाहरूबारे गलत धारणाहरू फैलाइँदा मसीहीहरूले तार्किक र व्यवहारिक ढंगमा स्पष्टीकरण दिंदै त्यसलाई सच्याउन खोज्नु गलत कुरा होइन। यहोवाका साक्षीहरूको आलोचना अनुचित, निन्दनीय छ भनेर इमान्दार हृदय भएका मानिसहरूले जानून् भन्ने हेतुले तिनीहरू त्यसो गर्छन्।
तर केही समयपश्चात् येशूका चेलाहरूले यसो भनेर कुरा लाउँदा येशूले के जवाफ दिनुभयो, याद गर्नुहोस्: “यो भनाइ सुनेर फरिसीहरू चिढिए भनी के तपाईंले थाह पाउनुभयो?” ती फरिसीहरू “चिढिए।” अर्को शब्दमा भन्ने हो भने, तिनीहरू केवल विचलित भएका थिएनन् तर तिनीहरू सुधार्नै नमिल्ने किसिमले विरोधीहरू भएर निस्के, जसलाई येशूले इन्कार गर्नुभयो। त्यसैकारण उहाँले यस्तो जवाफ दिनुभयो: “तिनलाई जान देओ, ती अन्धा अगुवाहरू हुन्।” त्यस्ता महाविरोधीहरूसँग थप छलफल गर्नु बेकार थियो र व्यर्थको तर्कवितर्क मात्र हुनसक्थ्यो। (मत्ती ७:६; १५:१२-१४; २७:११-१४ तुलना गर्नुहोस्।) येशूले दिनुभएको उक्त जवाफले “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय छ” भनी देखायो।—उपदेशक ३:७.
आफ्नो विषयमा सबैले राम्रै कुरा गर्छन् भनेर यहोवाका साक्षीहरू अपेक्षा गर्दैनन्। तिनीहरू येशूका यी शब्दहरूलाई मनमा राख्छन्: “हाय, तिमीहरू जब सबै मानिसहरूले तिमीहरूको असल बोल्नेछन्! किनकि यसरीनै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेका थिए।” (लूका ६:२६) एक पटक सि. टि. रसललाई किन आलोचनाको विरोध नगरेको भनेर प्रश्न गर्दा तिनले यस्तो जवाफ दिए: “बाटोमा भुक्ने सबै कुकुरलाई लात हान्दै बस्यो भने तपाईं कहिल्यै अघि बढ्न सक्नुहुन्न।”
अतः हाम्रो विरोध गर्न दृढ संकल्पित व्यक्तिहरूका टिप्पणीहरूले गर्दा आफूलाई परमेश्वरको सेवामा अलमल्याउन दिनु हुँदैन। (भजन ११९:६९) हामी सबै जना साँचो मसीहीहरूको काम अर्थात् प्रचार-कार्यमा ध्यान देऔं। स्वाभाविकतः व्यक्तिविशेषको नैतिकता सुधार्ने र परमेश्वरको वचनबाट शिक्षा दिने क्रममा प्रश्नहरूको जवाफ दिने अनि हाम्रो कामबारे वर्णन गर्ने मौकाहरू हामीले पाइहाल्नेछौं।—मत्ती २४:१४; २८:१९, २०.
आलोचनाको खण्डन गर्ने?
येशूले आफ्ना अनुयायीहरूबारे यसो भन्नुभयो: “तिमीहरू यस संसारका होइनौ . . . यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” (यूहन्ना १५:१९) यहोवाका साक्षीहरूको आलोचना गर्ने थुप्रै प्रेस रिपोर्टहरू यस्तो घृणाको अभिव्यक्ति हो र त्यस्ता कुराहरूलाई हामीले बेवास्ता गर्नुपर्छ। तथापि, बेला-बेलामा समाचार माध्यमहरूले साक्षीहरूको विषयमा ज्ञानको कमी भएको वा मिथ्यापूर्ण वा गलत अर्थ लगाइएका जानकारीहरू प्रस्तुत गर्नसक्छन्। केही पत्रकारहरूले एकतर्फी दृष्टिकोण प्रस्तुत गर्ने स्रोतहरूबाट विषयवस्तु तयार पार्नसक्छन्। समाचार माध्यममा दिइएको गलत जानकारीलाई बेवास्ता गर्ने हो वा उपयुक्त उपायहरूद्वारा सत्यको पक्षमा लड्ने हो, त्यो परिस्थिति आलोचक र उसको लक्ष्यमा भर पर्छ।
कहिलेकाहीं सम्पादकलाई उचित ढंगमा पत्र लेख्दा र पूरै पत्र प्रकाशित भइदिंदा गलत तथ्यहरूलाई सच्याउन सकिन्छ। तर त्यस्तो पत्रले उल्टो नतिजा पनि ल्याउनसक्छ। कसरी? हामीले सच्याउन खोजेको गलत कुरा झनै प्रचार हुनसक्छ वा विरोधीलाई थप झूट वा लाञ्छना छाप्ने मौका मिल्नसक्छ। प्रायजसो सम्पादकलाई चिट्ठी लेख्ने वा नलेख्ने कुरा प्राचीनहरूको जिम्मामा छाड्नु नै बेस हुनेछ। नकारात्मक प्रेस रिपोर्टले गर्दा पूर्वाग्रह खडा भएमा वाच टावर सोसाइटीको शाखा कार्यालयले त्यस देशका मण्डलीहरूलाई जानकारी दिनेछ। फलतः सबै प्रकाशकहरूले खोजीनिती गर्नेहरूलाई चित्तबुझ्दो जवाफ दिन सक्नेछन्।
त्यस्तो मिथ्यापूर्ण आरोपमा के तपाईं व्यक्तिगत तवरमा मुछिनु आवश्यक छ? “तिनलाई जान देओ,” अर्थात् तिनीहरूको वास्ता नगर भनी येशूले दिनुभएको सल्लाह स्पष्ट रूपले यस्ता विरोधीहरूको समूहमा लागू हुन्छ। वफादार मसीहीहरूसँग धर्मत्यागी र तिनीहरूको दृष्टिकोणदेखि अलग बस्ने बाइबल आधारित कारणहरू छन्। (१ कोरिन्थी ५:११-१३; तितस ३:१०, ११; १ यूहन्ना २:१९; २ यूहन्ना १०, ११) यदि कसैले साक्षीहरूको त्यस्तो आलोचना तथ्य हो वा मिथ्या भनी साँच्चै जान्न चाहेमा त्यसको जवाफ दिन तपाईंको तर्कपूर्ण ठोस ज्ञान प्रायः पर्याप्त हुनुपर्छ।—मार्च १५, १९८६, द वाचटावर-को पृष्ठ १३ र १४ हेर्नुहोस्।
समाचार पत्रमा कुनै मिथ्यापूर्ण कुरा छापिएको पाउनुभयो भने हितोपदेश १४:१५ मा दिइएको सल्लाहलाई हृदयंगम गर्नुहोस्: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यकतालाई बुझ्छ।” स्विटजरल्यान्डमा नातेदारहरूले चिकित्सकहरूलाई रक्तक्षेपण गर्ने अनुमति नदिएकोले एक जवान महिला साक्षीको मृत्यु भयो भन्ने प्रेस रिपोर्ट छापिंदा थुप्रै मानिसहरू रुष्ट भएका थिए। तर के यो कुरा तथ्यपूर्ण थियो? थिएन। त्यस जवान महिलाले आफ्नो धर्मको आधारमा रक्तक्षेपण गर्न अस्वीकार गरेकी थिइन् र वैकल्पिक रक्तविहीन उपचार गर्न तिनी राजी थिइन्। कुनै थप कठिनाइबिना यो उपचार गर्न सकिन्थ्यो र सायद तिनको जीवन पनि बच्थ्यो होला। तथापि, अस्पतालले अनावश्यक रूपमा ढिलाइ गर्दा तिनको मृत्यु भयो। तर प्रेस रिपोर्टले यी तथ्यहरू उल्लेख गरेको थिएन।
तसर्थ, त्यस्ता रिपोर्टहरू कति सत्य छन् भनेर राम्ररी जाँच्नुहोस्। त्यस्ता परिस्थितिहरूलाई स्थानीय प्राचीनहरूले प्रेमपूर्ण अनि बाइबलका निर्देशनअनुरूप सँभाल्छन् भनेर हामी सोधपुछ गर्ने मानिसहरूलाई बताउन सक्छौं। जवाफ दिनुअघि सिद्धान्तहरूलाई ध्यानमा राख्यौं भने अनावश्यक नतिजाहरूमा पुग्नदेखि हामी बच्नेछौं।—हितोपदेश १८:१३.
प्रत्यक्ष जानकारी अत्यावश्यक
प्रथम शताब्दीमा मानिसहरूले येशू ख्रीष्टको बदनाम गर्न झूटहरू फैलाएका थिए र कसै-कसैले उहाँलाई देशद्रोहको अभियोगसमेत लगाए। (लूका ७:३४; २३:२; मत्ती २२:२१ तुलना गर्नुहोस्।) पछि, नयाँ मसीही मण्डलीले धार्मिक तथा सांसारिक तत्त्वहरूबाट व्यापक विरोधको सामना गर्नु पऱ्यो। “परमेश्वरले संसारका मूर्ख कुराहरूलाई” छान्नुभएकोले उहाँका सेवकहरूलाई धेरैले तुच्छ नजरले हेर्थे। (१ कोरिन्थी १:२२-२९) त्यस्तैगरि आज साँचो मसीहीहरूले आलोचनाहरूलाई सामना गर्नैपर्छ जुन एक प्रकारको सतावट नै हो।—यूहन्ना १५:२०.
तथापि, आफूसँग कुराकानी गर्ने व्यक्ति निष्पक्ष हुँदा र पावलले रोममा भेटेका केही मानिसहरूको जस्तो मनोवृत्ति तिनीहरूले देखाउँदा यहोवाका साक्षीहरू मूल्यांकन गर्छन्, जसले यसो भनेका थिए: “तपाईंको राय के हो? सो तपाईंबाट सुन्नचाहन्छौं। किनकि यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्दछन्।”—प्रेरित २८:२२.
गलत जानकारी पाउने मानिसहरूलाई स्पष्टीकरण दिने प्रस्ताव राखेर विनम्रतापूर्वक बताउनुहोस्। (रोमी १२:१४; २ तिमोथी २:२५ तुलना गर्नुहोस्।) यहोवाका साक्षीहरूमाथि लगाइने झूटा आरोपहरूको बहकाउमा नपर्न तिनीहरूलाई साक्षीहरूबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न आमन्त्रित गर्नुहोस्। हाम्रो संगठन, त्यसको इतिहास र शिक्षाहरूबारे विस्तृत जानकारी दिन तपाईंले वाच टावर सोसाइटीद्वारा प्रकाशित स्पष्टीकरणहरू प्रयोग गर्न सक्नुहुन्छ।a एक पटक फिलिपले नथनेललाई छोटो जवाफ दिएका थिए: “आएर हेर।” (यूहन्ना १:४६) हामी पनि त्यसै भन्न सक्छौं। यहोवाका साक्षीहरू कस्ता मानिसहरू हुन् र तिनीहरूले के विश्वास गर्छन् भनेर जान्न कोही व्यक्ति इच्छुक छन् भने उनलाई स्थानीय राज्य भवनमा न्यानो स्वागत छ।
विरोधीहरूदेखि नडराउनुहोस्
मानिसहरूलाई यहोवाका साक्षीहरू बन्नदेखि आलोचनाले रोक्दैन भनेर थाह पाउनु कति प्रोत्साहनजनक छ! जर्मनीको टेलिभिजन अन्तर्वार्ता कार्यक्रमको दौडान धर्मत्यागीहरूले साक्षीहरू विरुद्ध थुप्रै झूट बोलेछन्। तर धर्मत्यागीहरूले त्यसरी थपथाप गरेका कुराहरू काल्पनिक हुन् भनेर एक जना दर्शकले झट्टै थाह पाइहालेछ र त्यसले गर्दा साक्षीहरूसँग आफ्नो बाइबल अध्ययन कायम गर्न उत्प्रेरित भएछ। हो आम-आलोचनाले कहिलेकाहीं सकारात्मक नतिजाहरू ल्याउँछ।—फिलिप्पी १:१२, १३ तुलना गर्नुहोस्।
कसैले कसैले सत्यमाभन्दा “दन्त्यकथाहरूतिर” बढी ध्यान दिनेछन् भनेर प्रेरित पावललाई थाह थियो। त्यसैकारण तिनले यो लेखे: “सब कुराहरूमा सचेत होऊ, कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।” (२ तिमोथी ४:३-५) अतः अरूको कुरामा परेर नअलमलिनुहोस् र ‘विरोधीहरूसँग केही कुरामा नडराउनुहोस्।’ (फिलिप्पी १:२८) शान्त रहनुहोस् र आफ्नो शिर ठाडो पारेर आनन्दपूर्वक सुसमाचार प्रचार गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंले अटल भएर आम-आलोचनाको सामना गर्न सक्नुहुनेछ। हो, येशूको प्रतिज्ञालाई सम्झिनुहोस्: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्, र खेदो गर्नेछन्, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरीनै तिमीहरूका अघिका अगमवक्ताहरूलाई तिनीहरूले खेदो गरेथे।”—मत्ती ५:११, १२.
[फुटनोट]
a जेहोभाज् विट्नेसेज्—युनाइटेडली डुइंग गड्स विल वर्ल्डवाइड (यहोवाका साक्षीहरू—विश्वभरि एकताबद्ध भएर परमेश्वरको इच्छा गरिरहेका छन्), जेहोभाज् विट्नेसेज् इन द ट्वेन्टिइथ सेन्चुरी (बीसौं शताब्दीमा यहोवाका साक्षीहरू) र जेहोभाज् विट्नेसेज्—प्रोक्लेमर्स अफ गड्स किंगडम (यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू) नामक प्रकाशनहरू हेर्नुहोस्।
[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]
विरोधीहरूको सामना गर्नुपर्दा येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभएको थियो: “तिनलाई जानदेओ।” यसको अर्थ के हो?
[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]
“धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्, र खेदो गर्नेछन्, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्।”—मत्ती ५:११