प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १२/१ pp. १३-१८
  • हाम्रो विश्‍वासको पक्षमा खडा हुने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो विश्‍वासको पक्षमा खडा हुने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाह होस्‌”
  • कहिले चुपो लाग्ने, कहिले बोल्ने
  • हाम्रो बदनाम गरेर प्रचारप्रसार गर्दा नि?
  • कानुनी तवरमा सुसमाचारको रक्षा गर्ने
  • आम-आलोचनाको सामना मसीहीहरूले कसरी गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तिनीहरूको विश्‍वासको खातिर घृणित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • धार्मिकताका निम्ति सताइएका
    यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌
  • मसीहीहरू र आजको मानव समाज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १२/१ pp. १३-१८

हाम्रो विश्‍वासको पक्षमा खडा हुने

“ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, . . . सधैं तयार भइरहो।”—१ पत्रुस ३:१५.

१, २. विरोध आइपर्दा यहोवाका साक्षीहरू किन छक्क पर्दैनन्‌ तर तिनीहरू के इच्छा गर्छन्‌?

प्रायजसो मुलुकमा यहोवाका साक्षीहरू इमानदार, नीतिवान्‌ मानिसहरू भनेर चिनिन्छन्‌। धेरैले तिनीहरू अरूलाई दुःख नदिने असल छिमेकीहरू भनी चिन्छन्‌। यद्यपि, यहाँ व्यंग्यात्मक कुरा के हो भने यी शान्तिप्रिय मसीहीहरूले युद्धमा वा शान्त समयमा नै किन नहोस्‌, अन्यायपूर्ण सतावट भोगेका छन्‌। यस्तो विरोध आइपरेकोमा तिनीहरू छक्क परेका छैनन्‌। भनौं भने, त्यस्तो विरोध आउँछ भन्‍ने अपेक्षा गर्छन्‌। आखिर, तिनीहरूलाई थाह भएकै कुरा हो, सा.यु. प्रथम शताब्दीका विश्‍वासी मसीहीहरू त “घृणित” भए भने अहिले साँचो अनुयायीहरू हुन प्रयास गरिरहेकाहरूले त्योभन्दा बेग्लै व्यवहारको आशा गर्नु मिल्ला र? (मत्ती १०:२२) यसबाहेक, बाइबल यसो भन्छ: “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।”—२ तिमोथी ३:१२.

२ यहोवाका साक्षीहरू सतावट खोज्दैनन्‌ नता जरिबाना, थुना वा कठोर व्यवहारजस्ता कठिनाइ भोग्नुपर्दा नै रमाउँछन्‌। तिनीहरू परमेश्‍वरको राज्यको सुसमाचार कुनै रोकटोकबिना प्रचार गर्न सकियोस्‌ भनेर ‘शान्ति र चैनको जीवन बिताउने’ इच्छा गर्छन्‌। (१ तिमोथी २:१, २) तिनीहरू प्रायजसो देशमा उपासनाको सन्दर्भमा पाइरहेको धार्मिक स्वतन्त्रताको मूल्यांकन गर्छन्‌ र सरकारहरूलगायत “सबै मानिसहरूसँग शान्तिमा” रहन आफूले सकेजति गर्न होसियारीपूर्वक लाग्छन्‌। (रोमी १२:१८; १३:१-७) तापनि तिनीहरू किन “घृणित” हुन्छन्‌?

३. यहोवाका साक्षीहरूलाई अन्यायपूर्ण ढंगमा घृणा गर्नुको एउटा कारण के हो?

३ मुख्यतया, प्रारम्भिक मसीहीहरू र अहिले यहोवाका साक्षीहरूलाई सताइनुको कारण एउटै छ। सर्वप्रथम, यहोवाका साक्षीहरू आफ्नो धार्मिक विश्‍वासलाई व्यवहारमा उतार्छन्‌ जसले गर्दा कसै कसैको माझ अलोकप्रिय हुन्छन्‌। उदाहरणका लागि, तिनीहरू जोसका साथ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्छन्‌ तर मानिसहरू तिनीहरूको जोसको गलत अर्थ लगाएर तिनीहरूको प्रचारकार्यलाई “जबरजस्ती धर्मपरिवर्तन गराउने तरिका” भन्ठान्छन्‌। (प्रेरित ४:१९, २० तुलना गर्नुहोस्‌।) तिनीहरू राष्ट्रहरूको राजनीति तथा युद्धहरूमा तटस्थ रहन्छन्‌ र यसले गर्दा साक्षीहरू अवफादार व्यक्‍तिहरू हुन्‌ भन्‍ने गलत अर्थ कहिलेकाहीं लगाइन्छ।—मीका ४:३, ४.

४, ५. (क) यहोवाका साक्षीहरू कसरी झूटा आरोपहरूको तारो भएका छन्‌? (ख) यहोवाका सेवकहरूलाई सतावट दिन उस्काउने प्रमुख व्यक्‍तिहरू प्रायजसो को भएका छन्‌?

४ दोस्रो, यहोवाका साक्षीहरू झूटा आरोपहरूको तारो बनेका छन्‌। तिनीहरूको विश्‍वासबारे सरासर झूट र बांगोटिंगो कुराहरू फैलाइएका छन्‌। फलस्वरूप कुनै कुनै मुलुकमा तिनीहरू निराधार आक्रमणको तारो भएका छन्‌। साथै, ‘रगतबाट अलग बस्नू’ भन्‍ने बाइबलको आज्ञा पालन गर्ने इच्छाअनुरूप तिनीहरूले रक्‍तविहीन चिकित्सा उपचार खोज्ने हुँदा तिनीहरूलाई “बाल हत्याराहरू” र “आत्महत्या गर्ने गुट” इत्यादि जस्ता गलत नाउँहरू दिइएका छन्‌। (प्रेरित १५:२९) तर तथ्य के हो भने, यहोवाका साक्षीहरू जीवनलाई निकै मूल्यवान्‌ ठान्छन्‌ र आफू अनि आफ्ना छोराछोरीको लागि सर्वोत्तम चिकित्सा उपचार खोज्छन्‌। यहोवाका साक्षीहरूका थुप्रै बालबच्चाहरू रगत लिन इन्कार गरेकोले मर्छन्‌ भन्‍ने आरोप पूर्णतया निराधार हो। अहिलेसम्म त्यस्तो कुनै तथ्यांक उपलब्ध छैन। बाइबल सच्चाइले परिवारका सबै सदस्यहरूमाथि एकै प्रकारको प्रभाव नपार्ने हुँदा साक्षीहरूले परिवार टुक्राउँछन्‌ भन्‍ने आरोप लगाइएको छ। यद्यपि, यहोवाका साक्षीहरूसित परिचित व्यक्‍तिहरूलाई थाह छ, तिनीहरू परिवारलाई निकै मूल्यवान्‌ ठान्छन्‌ अनि पति र पत्नीले एकअर्कालाई प्रेम तथा आदर गर्ने र आफ्ना आमाबाबुहरूको एउटै विश्‍वास होस्‌ या नहोस्‌, छोराछोरीहरू आमाबाबुप्रति आज्ञाकारी हुनुपर्छ भन्‍ने बाइबलको आज्ञा पालन गर्ने प्रयास गर्छन्‌।—एफिसी ५:२१–६:३.

५ प्रायजसो अवस्थामा यहोवाका सेवकहरूलाई सताउन उस्काउने प्रमुख व्यक्‍तिहरू धार्मिक विरोधीहरू हुन्‌। तिनीहरूले साक्षीहरूको क्रियाकलापलाई दबाउन राजनैतिक अख्तियारवाला वा सञ्चारमाध्यमसित मिलोमतो गर्छन्‌। हामी यहोवाका साक्षीहरूले आफ्नो विश्‍वास अनि प्रचलन वा झूटा आरोपहरूको कारण त्यस्तो विरोध सामना गर्नुपर्दा कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

“तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाह होस्‌”

६. मसीही मण्डली बाहिरकाहरूप्रति सन्तुलित दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ?

६ सर्वप्रथम, हाम्रोजस्तै धार्मिक विश्‍वास नभएका व्यक्‍तिहरूप्रति हामीले सही दृष्टिकोण अर्थात्‌ यहोवाको दृष्टिकोण राख्नुपर्छ। अन्यथा, हामीले बिना कारण वैमनस्यता वा आलोचना निम्त्याइरहेका हुन्छौं। प्रेरित पावलले यसप्रकार लेखे: “तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाह होस्‌।” (फिलिप्पी ४:५) यसर्थ, बाइबलले हामीलाई मसीही मण्डलीमा नभएकाहरूप्रति सन्तुलित दृष्टिकोण राख्न प्रोत्साहन दिन्छ।

७. आफूलाई “दुनियाँबाट निष्कलंक” राख्न हामीले के के गर्नुपर्छ?

७ अर्कोतर्फ, धर्मशास्त्रले “[हामीलाई] दुनियाँबाट निष्कलंक” रहने स्पष्ट सल्लाह दिन्छ। (याकूब १:२७; ४:४) बाइबलको अरू थुप्रै ठाउँमा जस्तै यहाँ प्रयोग गरिएको “दुनियाँ” भन्‍ने पदावलीले साँचो मसीहीहरूबाहेकको विशाल जनसमुदायलाई संकेत गर्छ। हामी मानिसहरूको समुदायमा बाँचिरहेका छौं; काम गर्ने ठाउँ, स्कूल, टोलछिमेकमा तिनीहरूसित हाम्रो सम्पर्क भइरहन्छ। (यूहन्‍ना १७:११, १५; १ कोरिन्थी ५:९, १०) यद्यपि, परमेश्‍वरको धार्मिक स्तरसित नमिल्ने मनोवृत्ति, बोली अनि आचरण त्यागेर हामी संसारबाट निष्कलंक रहन्छौं। यस संसारसित अत्यन्तै घनिष्ठ हुनुको खतरा बुझ्नु पनि अत्यावश्‍यक छ र विशेषगरि यहोवाका स्तरहरू पूर्णतया बेवास्ता गर्ने व्यक्‍तिहरूदेखि होसियार हुनुपर्छ।—हितोपदेश १३:२०.

८. दुनियाँबाट निष्कलंक रहनू भन्‍ने सल्लाहले किन अरूलाई तुच्छ ठान्‍ने छुट दिंदैन?

८ तथापि, संसारबाट निष्कलंक रहनु भन्‍ने सल्लाहले गैरसाक्षीहरूलाई तुच्छ ठान्‍ने कुनै आधार दिंदैन। (हितोपदेश ८:१३) यसअघिको लेखमा छलफल गरिएको यहूदी धार्मिक नेताहरूको उदाहरण सम्झनुहोस्‌। तिनीहरूको धर्मले यहोवाको अनुग्रह पाएन नता यसले गैर-यहूदीहरूसित राम्रो सम्बन्ध कायम राख्न नै योगदान पुऱ्‍यायो। (मत्ती २१:४३, ४५) आफूलाई आत्म-धर्मी ठान्‍ने ती कट्टर मानिसहरूले अन्यजातिहरूलाई तुच्छ ठान्थे। हामीले गैर-साक्षीहरूप्रति त्यस्तो संकीर्ण दृष्टिकोण राखेर तिनीहरूप्रति तुच्छ व्यवहार गर्दैनौं। प्रेरित पावलजस्तै हामी पनि बाइबलको समाचार सुन्‍ने सबैले परमेश्‍वरको अनुग्रह पाएको चाहन्छौं।—प्रेरित २६:२९; १ तिमोथी २:३, ४.

९. हाम्रो भन्दा बेग्लै विश्‍वास राख्नेहरूबारे हाम्रो कुराकानीलाई सन्तुलित धर्मशास्त्रीय दृष्टिकोणले कस्तो प्रभाव पार्नुपर्ने हो?

९ गैर-साक्षीहरूबारे हामी जे जति कुरा गर्छौं, त्यसलाई सन्तुलित धर्मशास्त्रीय दृष्टिकोणले प्रभाव पारेको हुनुपर्छ। पावलले क्रेट टापुका मसीहीहरूलाई “कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू भनी” सम्झाउन तीतसलाई निर्देशन दिए। (तीतस ३:२) याद गर्नुहोस्‌, मसीहीहरूले “कसैको” अर्थात्‌ फटाहा, घिचुवा र अल्छी भनेर चिनिने कोही कोही गैर-मसीहीहरूको समेत बदनाम गर्नुहुँदैनथ्यो। (तीतस १:१२) अतः हाम्रो जस्तै विश्‍वास नभएका व्यक्‍तिहरूलाई सम्बोधन गर्दा अपमानजक पदावलीहरू प्रयोग गर्नु शास्त्रविपरीत हुनेछ। आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍ने मनोवृत्तिले अरूहरूलाई यहोवाको उपासनातिर आकर्षित गर्दैन। बरु, यहोवाको वचनमा दिइएको व्यवहारिक सिद्धान्तहरूअनुरुपको व्यवहार तथा दृष्टिकोण राख्यौं भने परमेश्‍वरको “सिद्धान्तको शोभा” बढाउँछौं।—तीतस २:१०.

कहिले चुपो लाग्ने, कहिले बोल्ने

१०, ११. (क) “चूप्प लाग्ने समय छ” (ख) “बोल्ने एउटा समय” छ भनी थाह भएको कुरा येशूले कसरी देखाउनुभयो?

१० उपदेशक ३:७ भन्छ, “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ। यही हो हाम्रो लागि चुनौती: विरोधीहरूको कुरा वास्ता नगरी कहिले चूप्प लाग्ने र हाम्रो विश्‍वासको पक्षमा कहिले बोल्ने भनी निर्णय गर्ने। जहिले पनि सही सुद्धीबुद्धी प्रकट गर्नुहुने येशूको सिद्ध उदाहरणबाट हामी निकै सिक्न सक्छौं। (१ पत्रुस २:२१) उहाँलाई “चूप्प लाग्ने समय” कहिले हो भनेर थाह थियो। उदाहरणका लागि, मुख्य पूजाहारी र बूढा-प्रधानहरूले पिलातसको सामु झूटो आरोप लगाउँदा येशूले “केही जवाफ दिनुभएन।” (मत्ती २७:११-१४) परमेश्‍वरको इच्छाअनुसार गर्न बाधा पुऱ्‍याउने केही पनि कुरा उहाँ भन्‍न चाहनुहुन्‍नथ्यो। बरु, आफ्नो कामलाई नै बोल्न दिनुभयो। तिनीहरूको घमण्डी मन अनि हृदयलाई सच्चाइले पनि कुनै फरक पार्नेछैन भनी उहाँलाई थाह थियो। त्यसकारण, उहाँले तिनीहरूको आरोपको वास्ता गर्नुभएन, बेकारमा आफ्नो मुख खोल्नुभएन।—यशैया ५३:७.

११ तथापि, “बोल्ने समय” कहिले हो भनेर पनि येशूलाई थाह थियो। एक चोटि उहाँले आफ्नो आलोचना गर्ने व्यक्‍तिहरूसित खुलेआम बहस गर्नुभएर तिनीहरूको झूटो आरोपको खण्डन गर्नुभयो। उदाहरणका लागि, उहाँले बालजिबुलद्वारा भूत निकाल्नुहुन्छ भनी शास्त्री तथा फरिसीहरूले भीडको सामु उहाँको निन्दा गर्न खोज्दा येशूले यी झूटो आरोप सुनेर चुपो लाग्नुभएन। एकदमै जोडदार तर्क तथा प्रभावशाली उदाहरणद्वारा उहाँले तिनीहरूको झूट उदांग पार्नुभयो। (मर्कूस ३:२०-३०; मत्ती १५:१-११; २२:१७-२१ पनि हेर्नुहोस्‌; यूहन्‍ना १८:३७) त्यस्तैगरि, विश्‍वासघातले गर्दा गिरफ्तार हुनुभएपछि येशूलाई महासभासामु हाजिर गराइयो। तब प्रधान पूजाहारी कैयाफाले धूर्त्याइँ देखाउँदै भने: “म जीवित परमेश्‍वरको नाउँमा तँलाई भन्दछु, हामीलाई भन्‌, तँ परमेश्‍वरको पुत्र ख्रीष्ट होस्‌ कि होइनस्‌!” यो पनि “बोल्ने समय” थियो किनभने चुपो लागेर बस्दा उहाँ ख्रीष्ट हुनुहुन्‍न भन्‍ने भान पर्नसक्थ्यो। त्यसकारण, येशूले यस्तो जवाफ दिनुभयो: “म हुँ।”—मत्ती २६:६३, ६४; मर्कूस १४:६१, ६२.

१२. पावल र बर्णाबासलाई आइकोनियममा साहससित बोल्न कस्तो परिस्थितिले उत्प्रेरित गऱ्‍यो?

१२ पावल तथा बर्णाबासको उदाहरणलाई पनि ध्यान दिनुहोस्‌। प्रेरित १४:१, २ यसो भन्छ: “आइकोनियममा यहूदीहरूको सभाघरमा तिनीहरू साथसाथै पसेर यसरी बोले कि यहूदीहरू र ग्रीकहरू समेतबाट एक ठूलो भीड़ले विश्‍वास गऱ्‍यो। तर अनाज्ञाकारी यहूदीहरूले चाहिं भाइहरूका विरुद्धमा अन्यजातिहरूको मन बहकाएर तिनीहरूलाई बङग्याइदिए।” द न्यु इंग्लिश बाइबल यसो भन्छ: “धर्मपरिवर्तन नगरेका यहूदीहरूले अन्यजातिहरूको मन विषाक्‍त तुल्याएर मसीहीहरू विरुद्ध उस्काए।” आफूले मात्रै सन्देश इन्कार गरेर नपुगेर यहूदी विरोधीहरूले मसीही विरुद्ध अन्यजातिहरूमा पूर्वाग्रह जगाउन निराधार आरोपहरू थोपरेर बदनाम गर्न थाले।a तिनीहरूले मसीहीधर्मलाई कत्तिको घृणा गर्दा रहेछन्‌, कल्पना गर्नुहोस्‌ त! (प्रेरित १०:२८ तुलना गर्नुहोस्‌।) पावल र बर्णाबासले यो “बोल्ने समय” थियो भन्‍ने महसुस गरे अन्यथा जनआलोचनाले गर्दा नयाँ चेलाहरू निरुत्साहित हुनसक्ने सम्भावना थियो। “प्रभुको भरोसामा साहससित बोल्दै धेरै समयसम्म [पावल र बर्णाबास] त्यहाँ रहे” र यहोवाको अनुमोदन भएको हुँदा तिनीहरूले चमत्कारपूर्ण कार्यहरू गर्ने शक्‍ति पाए। फलस्वरूप “कोही यहूदीहरूतर्फ र कोही प्रेरितहरूतर्फ लागे।”—प्रेरित १४:३.

१३. आलोचना गरिंदा प्रायजसो “चूप्प लाग्ने समय” कतिखेर हो?

१३ त्यसोभए हाम्रो आलोचना गरिंदा कस्तो प्रतिक्रिया देखाउने त? त्यो परिस्थितिमा निर्भर हुन्छ। कुनै कुनै अवस्थामा हामीले “चूप्प लाग्ने एउटा समय छ” भन्‍ने सिद्धान्त लागू गर्नुपर्ने हुन्छ। विशेषगरि हाम्रो विरोध गर्न सुरिएका विरोधीहरूले निरर्थक बहस गर्दा त्यसो गर्नुपर्ने हुन्छ। कोही कोही मानिसहरूलाई सच्चाइ सिक्ने पटक्कै इच्छा हुँदैन भनेर पनि हामीले बिर्सनुहुँदैन। (२ थिस्सलोनिकी २:९-१२) कुरा पटक्कै बुझ्न नचाहने घमण्डी व्यक्‍तिहरूसित तर्क गर्न खोज्नु बेकार हो। यसबाहेक, हामीलाई झूटो आरोप लगाउने हरेक व्यक्‍तिसित वादविवाद गर्न थाल्यौं भने बाइबल सच्चाइ साँच्चै सिक्न चाहने इमानदार हृदय भएका मानिसहरूलाई मदत गर्ने महत्त्वपूर्ण तथा इनामदायी कार्यबाट अलमलिनसक्छौं। त्यसकारण, हाम्रोबारेमा झूट फैलाउन कस्सिएका विरोधीहरूको सामना गर्नुपर्दा हामीले पालना गर्नुपर्ने ईश्‍वरप्रेरित सल्लाह हो: “तिनीहरूबाट हट।”—रोमी १६:१७, १८; मत्ती ७:६.

१४. हामी अरूको अगाडि कसरी विश्‍वासको पक्षमा खडा हुनसक्छौं?

१४ निस्सन्देह, यसको अर्थ हामी आफ्नो विश्‍वासको पक्षमा खडा हुँदैनौं भन्‍ने होइन। आखिर, “बोल्ने समय” पनि छ। हाम्रो अपमानजनक आलोचना सुन्‍ने सोझो हृदय भएका मानिसहरूको हामी चासो राख्छौं। हामीले भित्री हृदयदेखि विश्‍वास गरेका कुराहरू अरूलाई बताउन हामी इच्छुक छौं र त्यस्तो अवसरको स्वागत गर्छौं। पत्रुसले यसप्रकार लेखे: “ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) हामीले कदर गर्ने विश्‍वासहरूको प्रमाण साँच्चै बुझ्न चाहने, विरोधीहरूले उठाएका झूटा आरोपहरूबारे सोध्ने व्यक्‍तिहरूलाई बाइबलआधारित ठोस जवाफ दिएर आफ्नो विश्‍वासको पक्षमा बोल्नु हाम्रो जिम्मेवारी हो। साथै, हाम्रो असल आचरणले ठूलो साक्षी दिनसक्छ। हामीले परमेश्‍वरको धार्मिक स्तरअनुरूप जीवन बिताउन खोजेको खुला-मन भएका मानिसहरूले याद गरेपछि हाम्रो विरुद्ध लगाइएका आरोपहरू झूटा हुन्‌ भनेर बुझ्न तिनीहरूलाई धेरै समय लाग्दैन।—१ पत्रुस २:१२-१५.

हाम्रो बदनाम गरेर प्रचारप्रसार गर्दा नि?

१५. सञ्चारमाध्यमले यहोवाका साक्षीहरूबारे गलत जानकारी प्रस्तुत गरेका छन्‌ भनेर देखाउने एउटा उदाहरण के हो?

१५ कहिलेकाहीं सञ्चारमाध्यमले यहोवाका साक्षीहरूबारे गलत जानकारी प्रस्तुत गरेर तिनीहरूलाई सतावटको तारो बनाएका छन्‌। उदाहरणका लागि, अगस्त १, १९९७ मा एउटा रूसी अखबारले साक्षीहरूको बदनाम गर्दै एउटा लेख प्रकाशित गऱ्‍यो। अन्य थुप्रै कुराहरूसँगसँगै यो पनि भनिएको थियो, साक्षीहरूले आफ्नो जस्तै धार्मिक विश्‍वास नराख्ने ‘पत्नी, पति वा आमाबाबुलाई तिरस्कार गर्छन्‌।’ यहोवाका साक्षीहरूसित राम्ररी परिचित व्यक्‍तिलाई त्यो सरासर झूट हो भनेर राम्ररी थाह छ। मसीहीहरूले बेग्लै धार्मिक विश्‍वास भएको परिवारका सदस्यहरूलाई प्रेम र आदर गर्नुपर्छ भनी बाइबलले संकेत गर्छ र साक्षीहरू त्यो निर्देशन पालन गर्ने प्रयास गर्छन्‌। (१ कोरिन्थी ७:१२-१६; १ पत्रुस ३:१-४) तैपनि, त्यो लेख छापियो र फलतः थुप्रै पाठकहरूले गलत जानकारी पाए। हाम्रो आलोचना गरिंदा हामी कसरी आफ्नो विश्‍वासको पक्षमा खडा हुनसक्छौं?

१६, १७ र पृष्ठ १६ को पेटी. (क) सञ्चारमाध्यममा छापिने झूटो जानकारीप्रति प्रतिक्रिया व्यक्‍त गर्ने सन्दर्भमा प्रहरीधरहरा-ले एक चोटि के भनेको थियो? (ख) कस्ता परिस्थितिहरूमा यहोवाका साक्षीहरू सञ्चारमाध्यममा छापिएका नकारात्मक रिपोर्टलाई खण्डन गर्छन्‌?

१६ यहोवाका साक्षीहरूबारे सञ्चारमाध्यममा फैलाइएका झूटा जानकारीहरू सच्चाउने कि नसच्याउने? यस सन्दर्भमा पनि “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ। प्रहरीधरहरा-ले एकचोटि यसो भनेको थियो: “समाचार माध्यममा दिइएको गलत जानकारीलाई बेवास्ता गर्ने हो वा उपयुक्‍त उपायहरूद्वारा सत्यको पक्षमा लड्‌ने हो, त्यो परिस्थिति आलोचक र उसको लक्ष्यमा भर पर्छ।” कुनै कुनै अवस्थामा त्यस्ता नकारात्मक रिपोर्टहरूको वास्ता नगर्नु नै बेस हुन्छ र यसो गर्दा झूटको थप प्रचारप्रसार हुँदैन।

१७ कहिलेकाहीं भने ‘बोल्नुपर्ने’ हुन्छ। कुनै पत्यारिलो पत्रकार वा संवाददाताले यहोवाका साक्षीहरूबारे गलत जानकारी पाएको हुनसक्छ र हाम्रोबारे साँचो जानकारी पाउन इच्छुक हुनसक्छ। (“गलत अर्थलाई सच्चाउने” पेटी हेर्नुहोस्‌।) सञ्चारमाध्यमा छापिएको नकारात्मक रिपोर्टले हाम्रो प्रचारकार्यलाई बाधा पुऱ्‍याउने पूर्वाग्रह खडा गऱ्‍यो भने वाच टावर सोसाइटीको शाखा कार्यालयका प्रतिनिधिहरू कुनै उपयुक्‍त माध्यमद्वारा सत्यको पक्षमा खडा हुन अग्रसर हुनसक्छन्‌।b उदाहरणका लागि, दक्ष प्राचीनहरूलाई टिभी कार्यक्रमहरूमा तथ्य प्रस्तुत गर्न खटाउन सकिन्छ। यसो नगरेको खण्डमा यहोवाका साक्षीहरूसित कुनै जवाफ छैन भन्‍ने भान पर्नसक्छ। प्रत्येक साक्षीले यस्ता मामिलाहरूमा वाच टावर सोसाइटी र त्यसका प्रतिनिधिहरूको निर्देशन पालन गर्न बुद्धिमानीपूर्वक सहयोग गर्नुपर्छ।—हिब्रू १३:१७.

कानुनी तवरमा सुसमाचारको रक्षा गर्ने

१८. (क) प्रचार गर्न हामीलाई मानव सरकारहरूको अनुमति किन चाहिंदैन? (ख) प्रचार गर्ने अनुमति नदिइँदा हामी कस्तो मार्ग अपनाउँछौं?

१८ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने अख्तियार हामीले स्वर्गबाट पाएका हौं। हामीलाई यो काम अह्राउनुहुने येशूले “स्वर्ग र पृथ्वीमा सारा अधिकार” पाउनुभएको छ। (मत्ती २८:१८-२०; फिलिप्पी २:९-११) यसर्थ, प्रचार गर्न हामीलाई मानव सरकारहरूको अनुमति चाहिंदैन। तैपनि हामीलाई थाह छ, धार्मिक स्वतन्त्रताले राज्य सन्देश फैलाउन टेवा पुऱ्‍याउँछ। हाम्रो उपासना अघि बढाउन स्वतन्त्रता भएको मुलुकहरूमा त्यसलाई जोगाउन हामी कानुनी प्रणाली प्रयोग गर्नेछौं। हामीलाई त्यस्तो स्वतन्त्रता नदिइएको ठाउँमा कानुनी परिधिभित्र रहेर त्यो स्वतन्त्रता हासिल गर्ने प्रयास गर्नेछौं। हाम्रो लक्ष्य सामाजिक सुधार गर्ने होइन तर कानुनी तवरमा “सुसमाचारको रक्षा र समर्थन” गर्नु हो।c—फिलिप्पी १:७.

१९. (क) ‘जे जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई दिंदा’ कस्तो परिणाम हुनसक्छ? (ख) हामी के गर्न कटिबद्ध छौं?

१९ यहोवाका साक्षीहरूको हैसियतमा यहोवा, सार्वभौम सत्ताधारी हुनुहुन्छ भनेर हामी मानी लिन्छौं। उहाँका नियमहरू सर्वोत्कृष्ट छन्‌। हामी विचार पुऱ्‍याएर मानव सरकारहरूको आज्ञा पालन गर्दै “जे जे सिजरका हुन्‌, सिजरलाई” दिन्छौं। तर त्योभन्दा अति महत्त्वपूर्ण जिम्मेवारी अर्थात्‌ “जे जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई” दिन कुनै कुराले पनि हस्तक्षेप गर्न दिंदैनौं। (मत्ती २२:२१) त्यसो गर्दा हामी राष्ट्रहरूबाट “घृणित” हुनेछौं भनी राम्ररी बुझेका छौं तर चेला बन्दा हामीले चुकाउनुपर्ने मूल्यको एउटा भागको रूपमा स्वीकार्छौं। यस २० औं शताब्दीमा यहोवाका साक्षीहरूको कानुनी इतिहासले सत्यको पक्षमा खडा हुने हाम्रो कटिबद्धताको पुष्टि दिन्छ। यहोवाको मदत र आड पाएर हामी ‘सुसमाचार सुनाउन बन्द गर्नेछैनौं।’—प्रेरित ५:४२.

[पृष्ठ १६-मा भएको पेटी]

गलत अर्थलाई सच्याउने

“बोलिभियाको एउटा गाउँ, याक्वीबामा एउटा स्थानीय इसाई समूहले धर्मत्यागीहरूद्वारा निर्मित चलचित्र टिभीमा देखाउने प्रबन्ध मिलाए। त्यो कार्यक्रमले पारेको खराब असरलाई ध्यानमा राख्दै प्राचीनहरूले दुइटा टिभी स्टेसनमा गएर पैसा तिरी यहोवाका साक्षीहरूको संगठन र बाइबल—तथ्य र भविष्यवाणीको पुस्तक नामक दुइटा भिडियो जनसाधारणलाई देखाउने बन्दोबस्त मिलाए। सोसाइटीका भिडियोहरू हेरेपछि एउटा रेडियो स्टेसनका मालिक धर्मत्यागी कार्यक्रमहरूले प्रस्तुत गरेको गलत जानकारीप्रति रिसले चूर भए अनि यहोवाका साक्षीहरूको आउँदो जिल्ला अधिवेशनबारे निश्‍शुल्क विज्ञापन गरिदिए। आशा गरेभन्दा निकै बढी उपस्थिति भयो र सेवकाईमा भेट्‌ने थुप्रै इमानदार हृदय भएका मानिसहरूले यहोवाका साक्षीहरूलाई गहन प्रश्‍नहरू सोध्न थाले।”— यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९७, पृष्ठ ६१-२.

[फुटनोटहरू]

a सम्पूर्ण बाइबलबारे म्याथ्यु हेन्रीको टिप्पणी-अनुसार (अंग्रेजी) यहूदी विरोधीहरूले “आफ्नो चिनजान भएका त्यस्ता [अन्यजातिहरूकहाँ] गएर मसीहीधर्मबारे चुत्थो कुरा मात्र होइन तर कुभलो दृष्टिकोण राख्न लगाउन आफ्नो मन वा धूर्तताले भ्याएसम्म गर्थे।”

b रूसी अखबारमा (अनुच्छेद १५ मा उल्लेख गरिएको) अपमानजनक लेख छापिएपछि यहोवाका साक्षीहरूले उक्‍त लेखमा उल्लिखित झूटा आरोपहरूको पुनरावलोकन गर्ने निवेदन गर्दै सञ्चार जगत्‌मा देखापरेका विवाद सुल्झाउन रूसी महासंघको राष्ट्रपतिको न्यायिक कक्षलाई अपिल गरे। हालै अदालतले त्यस्तो अपमानजनक लेख छापेकोमा उक्‍त अखबारलाई दण्ड दिने निर्णय सुनायो।—ब्यूँझनुहोस्‌! (अंग्रेजी) नोभेम्बर २२, १९९८, पृष्ठ २६-७ हेर्नुहोस्‌।

c पृष्ठ १९-२२ मा “कानुनी तवरमा सुसमाचारको रक्षा गर्ने” लेख हेर्नुहोस्‌।

के तपाईंले सम्झनुभएको छ?

◻ यहोवाका साक्षीहरू किन “घृणित” हुन्छन्‌?

◻ हाम्रो भन्दा बेग्लै धार्मिक विश्‍वास राख्नेहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

◻ विरोधीहरूसित व्यवहार गर्ने सन्दर्भमा येशूले कस्तो सन्तुलित उदाहरण बसाल्नुभयो?

◻ “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ भन्‍ने सिद्धान्त हाम्रो आलोचना गरिंदा कसरी लागू गर्नसक्छौं?

[पृष्ठ १७-मा भएको चित्र]

एक चोटि येशूले आफ्नो आलोचना गर्नेहरूले लगाएको झूटो आरोपको खुलेआम खण्डन गर्नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने