प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१ pp. १३-१९
  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दिनहुँ पढ्‌ने
  • बारम्बार बाइबल पढ्‌नुपर्ने आवश्‍यकता
  • बाइबल पढाइ कहिले गर्न सकिन्छ
  • बाइबल पढ्‌ने विभिन्‍न तरिकाहरू
  • आफूले पढेका कुराको अर्थ बुझ्ने
  • बाइबल पढाइ–लाभदायी तथा आनन्ददायी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • पढ्‌ने काममा लागिरहनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • परमेश्‍वरको वचन पढेर प्रसन्‍न हुनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • तपाईँ कसरी बाइबल पढाइबाट धेरै फाइदा उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१ pp. १३-१९

दैनिक बाइबल पढाइबाट लाभ उठाउने

“त्यो मानिस धन्य हो, जो . . . परमप्रभुको व्यवस्थामानै . . . प्रशन्‍न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा . . . ध्यान दिन्छ।”—भजन १:१, २.

१. (क) वाच टावर सोसाइटीको मुख्यालयमा भवनको एकातिर कस्तो महत्त्वपूर्ण साइनबोर्ड टांगिएको छ? (ख) यो सल्लाहलाई व्यक्‍तिगत तवरमा हृदयंगम गर्दा हामी कसरी लाभान्वित हुनेछौं?

“दिनहुँ परमेश्‍वरको वचन पवित्र बाइबल पढ्‌नुहोस्‌।” ब्रूकलिन, न्यु योर्कस्थित वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा बाइबल तथा बाइबल साहित्यहरू छापिने भवनको एकातिर ठूलो अक्षरमा उपरोक्‍त शब्दहरू लेखिएका छन्‌। यो सल्लाह त्यो साइनबोर्ड देख्ने बटुवाहरूका लागि मात्र होइन। यहोवाका साक्षीहरूले पनि यो सल्लाहलाई हृदयंगम गर्नुपर्ने आवश्‍यकता महसुस गर्छन्‌। नियमित तवरमा बाइबल पढ्‌ने अनि त्यसलाई प्रयोग गर्ने मानिसहरूले बाइबलले प्रदान गर्ने धार्मिकताअनुरूपको शिक्षा, अर्ती र अनुशासनबाट लाभ उठाउँछन्‌।—२ तिमोथी ३:१६, १७.

२. बाइबल पढाइको महत्त्वलाई भाइ रसलले कसरी जोड दिए?

२ यहोवाका साक्षीहरू प्रहरीधरहरा-लगायत अन्य बाइबल अध्ययन सहायक सामग्रीहरूको धेरै मूल्यांकन गर्छन्‌ र त्यसको नियमित प्रयोग गर्छन्‌। तर तीमध्ये कुनैले बाइबलको स्थान लिन सक्दैन भनेर तिनीहरूलाई थाह छ। वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका प्रथम अध्यक्ष चार्ल्स टेज रसलले सन्‌ १९०९ तिर वाच टावर पत्रिकाका पाठकहरूलाई यसरी लेखे: “बाइबल हाम्रो स्तर निर्धारक हो भनेर कहिल्यै नभुल्नुहोस्‌। ईश्‍वर-प्रदत्त मदतहरू केवल ‘मदतहरू’ मात्र हुन्‌ बाइबलको प्रतिस्थापक होइनन्‌।”

३. (क) “परमेश्‍वरको वचन” पढ्‌न पाउने व्यक्‍तिहरूमाथि त्यसले कस्तो प्रभाव पार्छ? (ख) बिरियाका मानिसहरूले कति चोटि शास्त्र पढ्‌थे र अध्ययन गर्थे?

३ अरू कुनै पुस्तकमा नभएको गहिराइ अनि बल प्रेरित शास्त्रमा छ। “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) बिरियाका मानिसहरू “उत्तम (अरूभन्दा समझदार न्युव)” थिए भनेर लूकाले हार्दिक प्रशंसा गरे। प्रेरित पावल र तिनका संगी सिलासले प्रचार गरेको वचन उत्साहपूर्वक ग्रहण गर्नुका साथै आफूले सिकेका कुराहरूको शास्त्रीय आधार जाँच्न तिनीहरू “दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।”—प्रेरित १७:११.

दिनहुँ पढ्‌ने

४. हामीले कति चोटि बाइबल पढ्‌नुपर्छ भनेर शास्त्रले के संकेत गर्छ?

४ हामीले कति चोटि बाइबल पढ्‌नुपर्छ भनेर बाइबलले तोकेरै भन्दैन। तथापि, बुद्धिमानी ढंगमा चल्न अनि ईश्‍वर-प्रदत्त जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न ‘दिन-रात त्यसमाथि ध्यान दिनू’ भनी यहोवाले यहोशूलाई सल्लाह दिनुभएको घटना भने बाइबलमा लिपिबद्ध छ। (यहोशू १:८) पुरातन इस्राएलमा राजा हुने जोसुकैले “आफ्नो जीवनभरि” शास्त्र पढ्‌नुपर्थ्यो भनेर पनि त्यसले हामीलाई बताउँछ। (व्यवस्था १७:१९) त्यसले अझ यसो भन्छ: “त्यो मानिस धन्य हो, जो . . . परमप्रभुको व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा . . . ध्यान दिन्छ।” (भजन १:१, २) यसबाहेक शैतानले प्रलोभित गर्ने प्रयत्न गर्दा येशू ख्रीष्टले प्रेरित हिब्रू शास्त्र उद्धृत गर्दै यसो भन्‍नुभयो भनेर पनि मत्ती रचित सुसमाचारले बताउँछ: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।’” (मत्ती ४:४) हामीलाई शारीरिक भोजन कत्तिको चाहिन्छ? हरेक दिन! तर दिनहुँ आध्यात्मिक भोजन खानु त्योभन्दा झनै महत्त्वपूर्ण छ किनभने त्यसले अनन्त जीवन प्राप्त गर्ने हाम्रो प्रत्याशालाई असर गर्छ।—व्यवस्था ८:३; यूहन्‍ना १७:३.

५. हाम्रो विश्‍वासको परीक्षा हुँदा “प्रभुको योग्य चालमा चल्न” दैनिक बाइबल पढाइले हामीलाई कसरी मदत गर्नसक्छ?

५ हामी सबैलाई दिनहुँ परमेश्‍वरको वचनको बल चाहिन्छ। घर, कार्यालय, स्कूल, सडक, बजार र हाम्रो क्षेत्र सेवकाईमा हरेक दिन हाम्रो विश्‍वासमाथि चुनौतीहरू आइपर्छन्‌। हामी यी चुनौतीहरूको सामना कसरी गर्न सक्छौं? बाइबलका आज्ञा तथा सिद्धान्तहरू के हाम्रो मनमा झट्टै आइहाल्छन्‌? आत्मनिर्भरताको भावनालाई प्रोत्साहित गर्नुको साटो बाइबलले यस्तो चेताउनी दिन्छ: “म खड़ा छु भन्‍ने जसले विचार गर्दछ, त्यो होशियार रहोस्‌, नत्रता त्यो लड़छ।” (१ कोरिन्थी १०:१२) दिनहुँ बाइबल पढ्‌नाले त्यसले हामीलाई यस संसारबाट प्रभावित हुन दिनेछैन बरु “हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न” त्यसले हामीलाई मदत गर्नेछ।—कलस्सी १:९, १०; रोमी १२:२.

बारम्बार बाइबल पढ्‌नुपर्ने आवश्‍यकता

६. बारम्बार बाइबल पढ्‌नु किन लाभदायी छ?

६ काल्पनिक कृतिहरू पढ्‌नु र बाइबल पढ्‌नुमा धेरै भिन्‍नता छ। अति लोकप्रिय काल्पनिक कृतिहरू एक पटक पढे पुग्छ; एक पटक कथावस्तु थाह पाएपछि त्यसको उद्देश्‍य त्यतिकैमा टुंगिन्छ। तर यसको विपरीत हामीले जतिसुकै पटक बाइबल पढेको किन नहोस्‌, त्यो बारम्बार पढ्‌दा झन्‌ धेरै लाभान्वित हुन्छौं। (हितोपदेश ९:९) समझदार व्यक्‍तिको निम्ति शास्त्रले हरेक पल्ट एउटा नयाँ अर्थ लिन्छ। हालैका महिनाहरूमा आफूले देखेका, सुनेका र व्यक्‍तिगत तवरमा अनुभव गरेका कुराहरूको आधारमा ऊ झनै अन्तिम दिनका भविष्यवाणीहरूद्वारा प्रभावित हुन्छ। (दानियल १२:४) जीवनमा अनुभवहरू बटुल्दै समस्याहरूसित सामना गर्दै जाँदा समझदार बाइबल पाठकले बितेका समयमा अपर्झट पढेका सल्लाहको अझ मूल्यांकन गर्छ। (हितोपदेश ४:१८) कुनै कारणले गम्भीर बिरामी भएको छ भने, पीडा हटेर स्वस्थ जीवन पुनर्स्थापना हुनेछ भन्‍ने बाइबलका प्रतिज्ञाहरू उसको निम्ति पहिलेभन्दा झन्‌ अर्थपूर्ण हुन्छ। घनिष्ठ मित्र अनि परिवारका सदस्यहरूको मृत्यु हुँदा पुनरुत्थानको प्रतिज्ञा अझ मूल्यवान हुन्छ।

७. जीवनमा नयाँ जिम्मेवारीहरू स्वीकार्दा कुन कुराले हामीलाई मदत गर्छ र किन?

७ वर्षौंको दौडान तपाईंले व्यक्‍तिगत तवरमा बाइबल पढ्‌नुका साथै त्यसको सल्लाह पनि पालन गर्नुभएको होला। तर शायद अहिले आफ्नो जीवनमा नयाँ जिम्मेवारीहरू स्वीकार्दै हुनुहुन्छ होला। के तपाईं विवाह गर्ने योजना बनाउँदै हुनुहुन्छ? के तपाईं आमा वा बाबु हुन लाग्नुभएको छ? के तपाईंलाई मण्डलीको प्राचीन वा सहायक सेवकको जिम्मेवारी दिइएको छ? के तपाईंले पूर्ण-समय सेवक बनेर प्रचार गर्ने अनि सिकाउने थप सुअवसरहरू लिनुभएको छ? त्यसोभए यी नयाँ जिम्मेवारीहरूलाई मनमा राख्दै पुनः एकपटक पूरै बाइबल पढ्‌नु कति लाभदायी हुनेछ।—एफिसी ५:२४, १५; ६:४; २ तिमोथी ४:१, २.

८. परिवर्तित परिस्थितिले गर्दा आफूलाई थाह छ भनी महसुस गरिएका कुराहरू फेरि सिक्नुपर्ने आवश्‍यकता कसरी देखिन सक्छ?

८ बितेका समयमा तपाईंले आत्माका फलहरू राम्ररी प्रकट गर्नुभएको होला। (गलाती ५:२२, २३) यद्यपि, परिवर्तित परिस्थितिहरूले गर्दा तपाईंले यी ईश्‍वरीय गुनहरूबारे अझ धेरै सिक्नु आवश्‍यक परेको हुनसक्छ। (हिब्रू ५:८ तुलना गर्नुहोस्‌।) आफ्ना वृद्ध आमा-बाबुको हेरचाह गर्न विशेष सेवा छाड्‌नु परेको एक भूतपूर्व परिभ्रमण निरीक्षकले यसो भने: “मैले राम्ररी आत्माका फलहरू प्रकट गरिरहेको छु भनेर म सोच्ने गर्थें। तर अहिले म फेरि सुरु गर्दैछु जस्तो लाग्छ।” त्यस्तैगरि शारीरिक वा भावनात्मक तवरमा अस्वस्थ भएको पति वा पत्नीको व्यक्‍तिगत हेरचाह गर्नुपर्दा कहिलेकाहीं तनावले निरुत्साहित भएको अनुभव हुनसक्छ। नियमित बाइबल पढाइ ठूलो सान्त्वना र मदतको स्रोत हो।

बाइबल पढाइ कहिले गर्न सकिन्छ

९. (क) व्यस्त व्यक्‍तिले दैनिक बाइबल पढाइका लागि कसरी समय निकाल्नसक्छ? (ख) प्राचीनहरूले परमेश्‍वरको वचन पढ्‌नु किन विशेषगरि महत्त्वपूर्ण छ?

९ निस्सन्देह, नियमित तवरमा थप काम गर्ने समय निकाल्नु व्यस्त मानिसहरूको निम्ति चुनौती हुनसक्छ। तथापि, यहोवाको उदाहरणबाट हामी लाभान्वित हुनसक्छौं। उहाँले “निश्‍चित समयमा” काम गर्नुहुन्छ भनेर बाइबलले प्रकट गर्छ। (उत्पत्ति २१:२; प्रस्थान ९:५; लूका २१:२४; गलाती ४:४) नियमित तवरमा परमेश्‍वरको वचन पढ्‌नु कति महत्त्वपूर्ण छ भनी मूल्यांकन गर्नाले हाम्रो दैनिक तालिकामा त्यसका लागि समय छुट्याउने मदत पाउनसक्छौं। (एफिसी ५:१५-१७) विशेषगरि प्राचीनहरूले नियमित बाइबल पढाइको निम्ति समय छुट्याउनुपर्छ ताकि तिनीहरूले दिने सल्लाह बाइबलका सिद्धान्तहरूमा निर्विवाद आधारित होस्‌ अनि तिनीहरूले प्रकट गर्ने मनोभावले ‘माथिबाट आउने ज्ञानलाई’ प्रतिबिम्बित गरोस्‌।—याकूब ३:१७; तितस १:९.

१०. दिनहुँ बाइबल पढ्‌नेहरूले कहिले पढ्‌ने समय निकाल्छन्‌?

१० व्यक्‍तिगत बाइबल अध्ययन गर्न सफल हुने अधिकांश मानिसहरू आफ्नो दिनचर्या सुरु गर्नुअघि बिहान सबेरै उठेर बाइबल पढ्‌छन्‌। कसै-कसैलाई चाहिं अरू कुनै समय फेरबदल नगरी पढ्‌नु बेस लाग्छ। त्यस्तैगरि यात्रामा लाग्ने समयको सदुपयोग गर्न बाइबल श्रव्य क्यासेटहरूले मदत गर्छन्‌ र केही साक्षीहरूले साबिकबमोजिम घर-गृहस्थीका कामहरू गर्दा त्यस्ता क्यासेटहरू सुन्‍ने गर्छन्‌। युरोप, अफ्रिका, उत्तर तथा दक्षिण अमेरिका अनि एसियाली मुलुकहरूका साक्षीहरूलाई मदत पुऱ्‍याउने कार्यक्रम “तिनीहरू कहिले पढ्‌छन्‌ र कसरी लाभ उठाउँछन्‌” नामक लेखअन्तर्गत पृष्ठ २० र २१ मा दिइएको छ।

११. सीमित समयको बावजूद कसरी बाइबल पढाइ गर्न सकिन्छ?

११ जुनसुकै बेला पढ्‌नुहोस्‌, बाइबल पढाइमा तपाईंले लगाउनुभएको समयभन्दा नियमितता बढी महत्त्वपूर्ण छ। विषयवस्तुसँग अझ राम्ररी परिचित हुन थप अनुसन्धान गर्दै एक घण्टा वा त्योभन्दा बढी समय बाइबल पढाइमा लगाउनु तपाईंलाई इनामदायी लाग्नसक्छ। तर नियमित तवरमा त्यसो गरिरहन के तपाईंको तालिकाले अनुमति दिन्छ? बाइबल नपढिकन त्यतिकै दिनहरू बित्न दिनुभन्दा हरेक दिन १५ मिनेट वा ५ मिनेट मात्र भए पनि पढ्‌नु बेस हुनेछैन र? दिनहुँ बाइबल पढ्‌ने निर्णय गर्नुहोस्‌। त्यसपछि सम्भव भएमा पढाइको अलावा गहिरो अनुसन्धान गर्नुहोस्‌।

बाइबल पढ्‌ने विभिन्‍न तरिकाहरू

१२. बेथेल परिवारका नयाँ सदस्य अनि गिलियड स्कूलका नयाँ विद्यार्थीहरूका निम्ति बाइबल पढाइको कस्तो कार्यक्रम छ?

१२ बाइबल पढ्‌ने थुप्रै तरिकाहरू छन्‌। उत्पत्तिदेखि प्रकाशसम्म पढ्‌नु लाभदायी कुरा हो। मुख्यालय वा सोसाइटीका शाखाहरूमा सेवा गर्ने बेथेल परिवारका सदस्यहरूले आफ्नो बेथेल सेवाको पहिलो वर्षभित्र पूरै बाइबल पढ्‌नु आवश्‍यक छ। (त्यसका लागि प्रायः दिनहुँ तीन वा पाँच अध्यायहरू अथवा मात्रा हेरेर चार-पाँच पन्‍ना पढ्‌नुपर्ने हुन्छ।) वाचटावर बाइबल स्कूल अफ गिलियडका विद्यार्थीहरूले स्नातक हुनुअघि सुरुदेखि पुछारसम्म बाइबल पढ्‌नु नितान्त आवश्‍यक छ। आशा छ, दैनिक बाइबल पढाइलाई आफ्नो जीवनको भाग बनाउन यसले तिनीहरूलाई मदत गर्नेछ।

१३. भर्खरै बप्तिस्मा लिनेहरूलाई कस्तो लक्ष्य राख्ने सुझाव दिइन्छ?

१३ भर्खरै बप्तिस्मा लिनेहरूले पूरै बाइबल पढ्‌ने लक्ष्य राख्नु लाभदायी कुरा हो। सन्‌ १९७५ तिर फ्रान्सका एक जना युवक बप्तिस्माका लागि तयारी गर्दै गरेको बेला एक जना प्राचीनले बाइबल पढाइको निर्दिष्ट कार्यक्रम छ कि छैन भनेर सोधे। त्यस समयदेखि तिनी वर्षेनी पूरै बाइबल पढ्‌छन्‌ र प्रायः बिहान उठेर काममा जानुअघि आफ्नो पढाइ गर्ने गर्छन्‌। यसको नतिजाबारे तिनी यसो भन्छन्‌: “म यहोवासँग अझ राम्ररी परिचित भएको छु। उहाँको हरेक काम कसरी उहाँको उद्देश्‍यसँग सम्बन्धित छन्‌ र बाधाविघ्नहरू आइपर्दा उहाँले कस्तो प्रतिक्रिया देखाउनुहुन्छ भनेर मैले बुझ्नसकेको छु। र आफ्ना सबै कामहरूमा यहोवा धर्मी अनि असल हुनुहुन्छ भनेर पनि बुझ्छु।”

१४. (क) पछिसम्म कायम रहने व्यक्‍तिगत बाइबल पढाइ कार्यक्रम सुरु गर्न के आवश्‍यक छ? (ख) बाइबलको प्रत्येक पुस्तक पढ्‌दा त्यसको सामान्य ज्ञानलाई मनमा राख्न कुन कुराले हामीलाई मदत दिनसक्छ?

१४ के तपाईंले पूरै बाइबल पढ्‌नुभएको छ? पढ्‌नुभएको छैन भने, सुरु गर्ने राम्रो समय अहिले नै हो। एउटा निश्‍चित कार्यक्रम बनाएर त्यसअनुसार चल्नुहोस्‌। हरेक दिन कति पृष्ठ वा अध्याय पढ्‌ने हो, निर्धारण गर्नुहोस्‌ अथवा कहिले कति समय लगाउने हो, त्यो निर्णय गर्नुहोस्‌। सबैले एक वर्षमा पूरै बाइबल पढ्‌न सक्दैनन्‌ तर यथासम्भव दिनहुँ नियमित तवरमा परमेश्‍वरको वचन पढ्‌नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। बाइबल पढ्‌दै जाँदा आफूले पढेको विषयवस्तुको सामान्य ज्ञानलाई मनमा राख्न कुनै कुनै सन्दर्भ पुस्तकहरू चलाउनु तपाईंलाई मदतकारी लाग्नसक्छ। तपाईंको भाषामा इन्साइट अन द स्क्रिप्चर्स (शास्त्रमा अन्तर्दृष्टि) उपलब्ध छ भने बाइबलको कुनै पुस्तक पढ्‌नुअघि इन्साइट-मा (अन्तर्दृष्टि) त्यसबारे दिइएको संक्षिप्त मुख्य बुँदाहरूको पुनरावृत्ति गर्नुहोस्‌।a मोटो अक्षरको शीर्षकअन्तर्गत दिइएका कुराहरूलाई विशेष ध्यान दिनुहोस्‌। अथवा त्यस्तै किसिमले “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल”-मा (सम्पूर्ण शास्त्र परमेश्‍वरद्वारा प्रेरित तथा लाभदायी छन्‌) दिइएको अझ विस्तृत सारांशको प्रयोग गर्नुहोस्‌।b

१५. (क) पृष्ठ १६ र १७ मा दिइएका कस्ता सुझावहरूले तपाईंको बाइबल पढाइमा उन्‍नति ल्याउनसक्छ? (ख) रीति पूरा गर्ने ढंगमा केही पृष्ठहरू पढ्‌नुभन्दा कुन अत्यावश्‍यक कुरालाई हामीले बढी ध्यान दिनुपर्छ?

१५ क्रमिक रूपले बाइबल पढाइ गर्नु लाभदायी छ तर रीति पूरा गर्ने ढंगमा पढ्‌ने नगर्नुहोस्‌। एक वर्षभित्र पूरै बाइबल पढ्‌न सिध्याएँ भन्‍न सकूँ भन्‍ने किसिमले दिनहुँ केही पृष्ठहरू पढ्‌ने नगर्नुहोस्‌। “तपाईंको बाइबल पढाइ उन्‍नति गर्ने सुझावहरू” नामक पेटीमा (पृष्ठ १६ र १७) देखाइएझैं तपाईंले पढ्‌नुका साथै आनन्द उठाउने थुप्रै तरिकाहरू छन्‌। जुनसुकै उपाय चलाउनुहोस्‌ तर आफ्नो मन अनि हृदयलाई आध्यात्मिक कुराले भर्न नभुल्नुहोस्‌।

आफूले पढेका कुराको अर्थ बुझ्ने

१६. आफूले पढेका कुराहरू मनन गर्ने समय निकाल्नु किन महत्त्वपूर्ण छ?

१६ आफ्ना चेलाहरूलाई सिकाउनुहुँदा उहाँले भन्‍नुभएका कुराहरू तिनीहरूले बुझ्नु महत्त्वपूर्ण छ भनेर येशूले जोड दिनुभयो। तर बौद्धिक तवरमा बुझ्नु सबैभन्दा महत्त्वपूर्ण कुरा थिएन। आफ्नो जीवनमा ती कुराहरू लागू गर्न तिनीहरूले ‘हृदयदेखि बुझ्नुपर्ने थियो’। (मत्ती १३:१४, १५, १९, २३) मानिसको भित्री व्यक्‍तित्व कस्तो छ, त्यो नै परमेश्‍वरका लागि महत्त्वपूर्ण छ र त्यसलाई हाम्रो हृदयले चित्रण गर्छ। (१ शमूएल १६:७; हितोपदेश ४:२३) तसर्थ, बाइबलको पद्यांशले के भन्छ, त्यो हामीले बुझेका छौं वा छैनौं भनेर निश्‍चित गर्नुका साथै, हामीले त्यसमाथि मनन गर्नु र ती कुराहरू हाम्रो जीवनमा कसरी लागू हुन्छ भनी विचार गर्नुपर्छ।—भजन ४८:९; १ तिमोथी ४:१५.

१७. शास्त्रमा पढेका कुराहरूलाई मनन गर्न सकिने केही पक्षहरू के के हुन्‌?

१७ बाइबलका विवरणहरूभित्र लुकेका सिद्धान्तहरू चिन्‍ने प्रयत्न गर्नुहोस्‌ ताकि त्यस्तै परिस्थितिको सामना गर्नुपर्दा त्यसलाई प्रयोग गर्न सकियोस्‌। (मत्ती ९:१३ तुलना गर्नुहोस्‌; १९:३-६) यहोवाका अद्‌भुत गुनहरूबारे पढ्‌दा वा मनन गर्दा, उहाँसितको व्यक्‍तिगत सम्बन्धलाई अझ बलियो बनाउन अनि आफूभित्र ईश्‍वरीय भक्‍तिको बलियो भावना विकास गर्न उक्‍त मौकाको सदुपयोग गर्नुहोस्‌। यहोवाको उद्देश्‍यसित सम्बन्धित विवरणहरू पढ्‌दा तीअनुरूप चल्न तपाईं के गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्‌। प्रत्यक्ष सल्लाह पढ्‌नुहुँदा ‘मलाई थाह भएकै कुरा हो’ भन्‍नुभन्दा आफैलाई सोध्नुहोस्‌ ‘के मैले यहाँ भनेझैं गरिरहेको छु?’ यदि गर्दैहुनुहुन्छ भने ‘म कसरी “झन्‌ बढ़दै” जानसक्छु?’ भनेर सोध्नुहोस्‌। (१ थिस्सलोनिकी ४:१) परमेश्‍वरका आवश्‍यकताहरूबारे पढ्‌नुहुँदा तीअनुरूप जीवन बिताउने अनि नबिताउने मानिसहरूबारे बाइबलमा दिइएको सत्य घटनामा आधारित उदाहरणहरू पढ्‌नुहोस्‌। तिनीहरूले कस्तो मार्ग किन पछ्याए अनि कस्तो नतिजा भयो, त्यो विचार गर्नुहोस्‌। (रोमी १५:४; १ कोरिन्थी १०:११) येशू ख्रीष्टको जीवनीबारे पढ्‌नुहुँदा, यहोवाले सारा संसारमाथि राज्य गर्ने अभिभारा उहाँलाई सुम्पनुभएको छ भनेर सम्झनुहोस्‌ र परमेश्‍वरको नयाँ संसारप्रति आफ्नो लालसालाई अझ तीव्र पार्न यस मौकाको उपयोग गर्नुहोस्‌। साथै कुन कुन ढंगमा तपाईंले अझ राम्ररी परमेश्‍वरको पुत्रको अनुकरण गर्न सक्नुहुन्छ भनेर केलाउनुहोस्‌।—१ पत्रुस २:२१.

१८. बाइबल पढाइ र “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” प्रबन्ध गरिएका अध्ययन सामग्रीहरूबीच हामी कसरी सन्तुलन कायम गर्नसक्छौं?

१८ निस्सन्देह “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” प्रबन्ध गरिएका अत्युत्तम अध्ययन सामग्रीहरूलाई नपढेर बाइबल पढाइ मात्र गर्नु नहुने हो। किनभने त्यो पनि यहोवाले गर्नुहुने प्रबन्धको अमूल्य भाग हो। (मत्ती २४:४५-४७) नियमित तवरमा परमेश्‍वरको वचन पढ्‌ने कामले तपाईंको जीवनमा महत्त्वपूर्ण स्थान ओगटोस्‌ भनी निश्‍चित गर्नुहोस्‌। यथासम्भव “दिनहुँ परमेश्‍वरको वचन पवित्र बाइबल पढ्‌नुहोस्‌।”

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्कद्वारा प्रकाशित।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्कद्वारा प्रकाशित।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ दिनहुँ बाइबलको केही अंश पढ्‌नु किन लाभदायी छ?

◻ हामीले बारम्बार किन बाइबल पढिरहनुपर्छ?

◻ तपाईंको तालिकाअनुसार दैनिक बाइबल पढाइ गर्ने राम्रो समय कुन हो?

◻ बारम्बार बाइबल पढ्‌दा कुन कुराले तपाईंको कार्यक्रममा नयाँपन ल्याउनसक्छ?

◻ आफूले पढेका कुराहरूमा मनन गर्नु किन ज्यादै महत्त्वपूर्ण छ?

[पृष्ठ १६, १७-मा भएको पेटी]

तपाईंको बाइबल पढाइ उन्‍नति गर्ने सुझावहरू

(१) चलनचल्तीअनुसार उत्पत्तिदेखि प्रकाशसम्म जुन क्रममा बाइबलका पुस्तकहरू छापिएका छन्‌ त्यसै क्रमअनुरूप अधिकांश मानिसहरू पढ्‌ने गर्छन्‌। सुरुमा जुन क्रममा ती पुस्तकहरू लेखिएका थिए त्यस क्रमअनुसार पनि तपाईं पढ्‌न सक्नुहुन्छ। बाइबल ६६ वटा प्रेरित पुस्तकहरूको संगालो, एउटा ईश्‍वरीय पुस्तकालय हो भनेर मनमा राख्नुहोस्‌। पृष्ठहरूको क्रमअनुसार पढ्‌नुको साटो तपाईंले विविधताका लागि इतिहाससँग सम्बन्धित केही पुस्तकहरू त्यसपछि अधिकांश भविष्यसूचक वचनहरू भएको पुस्तक अनि त्यस्तैगरि सल्लाहले भरिपूर्ण पत्रहरू पढ्‌न सक्नुहुन्छ। आफूले कति पढ्यो त्यसको रिकर्ड राख्नुहोस्‌ र पूरै बाइबल पढ्‌न नभुल्नुहोस्‌।

(२) शास्त्रको एउटा अंश पढेपछि आफैलाई सोध्नुहोस्‌, यहोवा, उहाँको उद्देश्‍य र उहाँका तौर-तरिकाहरूबारे यसले के बताउँछ; यसले मेरो जीवनमा कस्तो प्रभाव पार्नुपर्ने हो; अरूलाई मदत गर्न त्यसलाई कसरी चलाउन सकिन्छ।

(३) इन्साइट अन द स्क्रिप्चर्स-मा (शास्त्रमाथि अन्तर्दृष्टि) [साथै “अल स्क्रिप्चर्स इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल” (“सम्पूर्ण शास्त्र परमेश्‍वरद्वारा प्रेरित तथा लाभदायी छ”)] “येशू ख्रीष्ट” शीर्षकमुनि दिइएको “येशूका पार्थिव जीवनका मुख्य घटनाहरू” नामक चार्टलाई निर्देशकको रूपमा चलाउँदै क्रमबद्ध तरिकाले सुसमाचारका पुस्तकहरूको एक एक अंश पढ्‌नुहोस्‌। त्यसपछि आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष-बाट सोही अंशसित सम्बन्धित भाग पढेर थप जानकारी प्राप्त गर्नुहोस्‌।

(४) प्रेरितहरूको पुस्तकबाट पावलको जीवनी तथा सेवकाईसँग सम्बन्धित विवरण पढ्‌दा त्यससँग सम्बन्धित प्रेरित पत्रहरू पनि पढ्‌नुहोस्‌। यसप्रकार पावलले प्रचार गरेका विभिन्‍न शहर अथवा क्षेत्रहरूको उल्लेख हुने बित्तिकै पछि तिनले त्यस ठाउँका संगी मसीहीहरूलाई लेखेका पत्रहरू पढ्‌नुहोस्‌। न्यु वर्ल्ड ट्रान्सलेसन-को (नयाँ विश्‍व अनुवाद) आवरण पृष्ठपछाडि दिइएको नक्सा वा अन्य कुनै नक्सा हेर्दै यात्राक्रममा तिनी कहाँ पुगे भनेर जाँच्नु पनि मदतकारी हुन्छ।

(५) प्रस्थानदेखि व्यवस्थासम्म पढ्‌दा भविष्यसूचक नमुनाहरूको स्पष्टीकरणका लागि हिब्रूहरूलाई लेखेको पत्र पढ्‌नुहोस्‌। त्यसपछि इन्साइट अन द स्क्रिप्चर्स-मा (शास्त्रमाथि अन्तर्दृष्टि) “व्यवस्था” शीर्षकअन्तर्गत “व्यवस्था करारका केही पक्षहरू” नामक चार्ट हेर्नुहोस्‌।

(६) भविष्यसूचक पुस्तकहरू पढ्‌दा बाइबलमा त्यससँग सम्बन्धित ऐतिहासिक पृष्ठभूमि पढ्‌न समय छुटाउनुहोस्‌। उदाहरणको लागि, यशैयाको पुस्तक पढ्‌नुहुँदा यशैया १:१ मा उल्लिखित राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाहबारे अन्य पुस्तकहरूमा के भनिएको छ भनेर पुनरावृत्ति गर्नुहोस्‌। (२ राजा, अध्याय १५-२०; २ इतिहास, अध्याय २६-३२) अथवा हाग्गै र जकरियाको पुस्तक पढ्‌नुहुँदा एज्राको पुस्तकमा दिइएका कुराहरू पुनरावृत्ति गर्न समय निकाल्नुहोस्‌।

(७) बाइबलको कुनै एउटा पुस्तक छान्‍नुहोस्‌, त्यसको कुनै अंश (अथवा कुनै एक अध्याय) पढ्‌नुहोस्‌ त्यसपछि वाच टावर पब्लिकेशन इन्डेक्स (वाच टावर सोसाइटीका प्रकाशन अनुक्रमणिका) वा आफ्नै भाषामा कम्प्युटर प्रविधियुक्‍त वाचटावर लाइब्रेरी उपलब्ध छ भने त्यसमा अनुसन्धान गर्नुहोस्‌। सिकेका कुराहरूलाई आफ्नो जीवनमा कसरी लागू गर्न सक्नुहुन्छ विचार गर्नुहोस्‌। त्यसलाई भाषण तथा क्षेत्र सेवकाईमा प्रयोग गर्नुहोस्‌ अनि त्यसपछि अर्को भाग पढ्‌नुहोस्‌।

(८) बाइबलको पुस्तक वा अंशबारे वाच टावर प्रकाशनमा टिप्पणीहरू दिइएका छन्‌ भने सो पुस्तक वा अंश पढ्‌दा बेलाबेलामा ती टिप्पणीहरूलाई हेर्नुहोस्‌। [उदाहरणका लागि, श्रेष्ठगीतबारे द वाचटावर, डिसेम्बर १, १९५७, पृष्ठ ७२०-३४; इजकिएलबारे “द नेशन्स श्‍याल नो द्याट आइ एम जेहोभा”—हाउ? (“म यहोवा हुँ भनेर सारा राष्ट्रहरूले जान्‍नेछन्‌”—कसरी?); दानियलबारे “योर विल बि डन अन अर्थ” (“तपाईंको इच्छा पृथ्वीमा पूरा हुनेछ”) वा आवर इनकमिंग वर्ल्ड गभर्मेन्ट—गड्‌स किंगडम; (हाम्रो सन्‍निकट विश्‍व सरकार—परमेश्‍वरको राज्य) हाग्गै र जकरियाबारे पारडाइड रिस्टोर्ड टु म्यानकाइन्ड—बाइ थिओक्रसि (मानवजातिका लागि पुनर्स्थापित प्रमोदवन—ईश्‍वरतन्त्रद्वारा); प्रकाशबारे प्रकाश—त्यसको चरमोत्कर्ष निकट!]

(९) पढ्‌दैजाँदा केही प्रतिसंकेतहरू हेर्नुहोस्‌। मसीही युनानी शास्त्रमा प्रत्यक्ष उद्धृत हिब्रू शास्त्रका ३२० पद्यांशहरूका साथै संकेत गरिएका सयौं पद्यांशहरू तथा त्यसका प्रयोगहरूलाई ध्यान दिनुहोस्‌। प्रतिसंकेतले पूर्ति भएको भविष्यवाणीबारे बाइबलमा दिइएको रिकर्ड, जीवनी वा भौगोलिक विवरण र तपाईंलाई बुझ्न कठिन परेका अभिव्यक्‍तिहरूको अर्थ खोल्ने समानान्तर विचारहरूलाई औंल्याउँछ।

(१०) तपाईंको भाषामा न्यु वर्ल्ड ट्रान्सलेसन-को (नयाँ विश्‍व अनुवाद) सन्दर्भ सामग्री समाविष्ट संस्करण छ भने तपाईंले पढिरहनुभएको अंशसित सम्बन्धित फुटनोट तथा परिशिष्ट लेखहरू हेर्नुहोस्‌। यसले त्यहाँ प्रयोग गरिएका अनुवादित शब्दहरूको आधार तथा महत्त्वपूर्ण अभिव्यक्‍तिहरूलाई अनुवाद गर्न सकिने अन्य ढंगहरू देखाउँछ। इच्छाअनुसार कुनै कुनै पदहरूको अनुवादलाई तपाईं अन्य बाइबल अनुवादहरूसँग तुलना गर्न सक्नुहुन्छ।

(११) हरेक अध्याय पढेपछि त्यसमा व्यक्‍त गरिएको मुख्य विचारको सार-संक्षेप लेख्नुहोस्‌। अनि पछि पुनरावृत्ति र मनन गर्ने आधारको रूपमा त्यसलाई चलाउनुहोस्‌।

(१२) बाइबल पढ्‌दा आफूले विशेषगरि स्मरण गर्न चाहनुभएका पदहरूमा चिन्ह लगाउनुहोस्‌ वा कार्डमा सारेर हरेक दिन आफूले देख्ने ठाउँमा राख्नुहोस्‌। ती पदहरूलाई मुखस्त गर्नुहोस्‌; मनन गर्नुहोस्‌ र तिनीहरूको प्रयोग गर्नुहोस्‌। एकै चोटि धेरै पदहरू मुखस्त गर्ने कोसिस नगर्नुहोस्‌, हरेक हप्ता शायद एक वा दुइ पद मुखस्त गर्नु यथेष्ट हुनेछ; अनि त्यसपछि अर्को पटक बाइबल पढ्‌दा अझ धेरै पदहरू छान्‍नुहोस्‌।

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईं दिनहुँ बाइबल पढ्‌नु वा बाइबलका क्यासेटहरू सुन्‍नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने